Biplav Dhakal – Chyau Ko Jungle

विप्लव ढकाल – च्याउको जङ्गल

यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा
र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट
बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा !
तिमीहरुले
चामलको दानामा लेखेछौ
मेरो इतिहास !
सागको पातमा लेखेछौ
मेरा गीतहरु !
मेरै विचारलाई सिक्री बनाएर
पशुको तबेलामा बाँधेछौ मलाई !
मेरै हड्डीलाई मुरली बनाएर
आवाजको विपक्षमा बजाएछौ मलाई !
म गर्छु अब समुद्रमन्थन
र पिउँछु हलाहल विष !
म खोस्छु कृष्णको हातबाट मुरली
र उठाउँछु सुमेरु पर्वत !
विष्णुलाई जमिनमा ओरालेर
म चढ्छु अब गरुडमाथि !
महादेवको घाँटीबाट निकालेर
म लउँछु अब सर्पको मफलर !
मरुभूमिमा
पसिनाले बालुवा मुछेर खाएको छु मैले !
अफ्नै रगतको घुट्काले
भिजाएको छु घाँटी !
बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म !
मेरो खप्परभित्र केही छैन – विचारशून्य छु म !
यो च्याउको जङ्गलभित्र
एउटा निर्जीव भीडको विपक्षमा उभिएर
उखेल्छु आफ्नै टाउको
र भुइँभरि टक्टक्याइदिन्छु !
केही बिस्कुटका खोल
रोटीका टुक्रा चप्पलको फिता
मृत उडुस र पुत्लीकिराहरु
खस्छन् मेरो मस्तिष्कबाट !
यति रित्तो बनेछु म
कि यो विचारशून्यता नै मेरो शक्ति हो !
यही विचारशून्यताको हतियारले
म अब आक्रमण गर्छु
र जलाउँछु तिम्रो विचारको लङ्का !
के थाहा तिमीहरुलाई-
मभित्र कसरी उम्लिरहेको छ खरानी
के थाहा तिमीहरुलाई-
म किन निदाउन सक्दिनँ रातभरि
युद्धमा मरेका केटाकेटीहरु
उखुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छु !
तरबारमा झुन्डिएका टाउकाहरु
गीत गाउँदै लखेट्छन् मलाई
खरानीबाट उठेर
क्षतविक्षत कङ्कालहरु
आफ्नो जीवनको मूल्य माग्दै
लखेट्छन् मलाई
म झन्डाले मुख छोपेर आँसु पुछ्छु !
संसार बदल्न िहंडेको म
अब आफैं बदलिएँ !
यो च्याउको जङ्गलभित्र
िरंगटा लागिरहेको छ मलाई !
यो मेसिनको शरीरभित्र
तरङ्गिदै छ जीवनको कम्पन !
म तिम्रा आदेशहरुलाई अस्वीकार गर्छु-
अब मान्छेको लासमा घोटेर
खुकुरीमा धार लगाउन चाहन्नँ म !
अब मान्छेको रगतको मूल्यमा
आफैंलाई गुमाउन चाहन्नँ म !
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !!

– नयाँ बानेश्वर
काठमाडौं

Biplav Dhakal – Jal Devi Ko Geet

विप्लव ढकाल – जलदेवीको गीत
(मधुपर्क माघ, २०६७)

रातभरि
आँसुले नुहाइदिएर
सुकिलो बनाएको जून
कहाँ पुगिसक्यो !
कोक्रोमा सुताएर
तेल घसीघसी
हुर्काएका ताराहरू
कहाँ पुगिसके !
बिहानै डोलीमा राखेर
कलिलो बेहुलोजस्तो घामसँग
अन्माएर पठाइदिएको
माली चरो पनि
कहाँ पुगिसक्यो !
जलदेवी
नदीको बगरमा उभिएर
पानीले बगाइरहेको
आफ्नो छाया हेरिरहेको छ !
थाहै नपाई
माटोमा झरिसकेछ
शिरको गुलाफ !
निभ्नै लागेछन्
आँखाका जोरबत्तीहरू !
ओहो ! कसरी यति धेरै
चिरा परे अनुहारमा ?
पानीले पखाल्दा पखाल्दै
मेटिन लागेछ अनुहारको ज्योति !
शरीरबाट चुँडिएर
झर्नै लागेछन् हातहरू !
झर्नै लागेछन् खुट्टाहरू !
नदीको पल्लो किनारमा
सुताएर आएकी थिई
जूनकीरीजस्ती छोरीलाई
थाहै नपाई
शिरानीमा लुकिसकेछ
हरियो सर्प !
ढाकरमा नून
र मट्टतिेल बोकेका
अभागी भरियाहरू
आज आउँछन् कि आउँदैनन् ?
झोलामा सिन्की
र चिउरा बोकेका
गरिब बटुवाहरू
आज आउँछन् कि आउँदैनन् ?
कर्कटपाताको भारी
र पानीको पाइप बोकेका
थकित गाउँलेका लस्करहरू
आज आउँछन् कि आउँदैनन् ?
माथि पहाडबाट
परालको भारी बोकेर
बूढा गोरुहरूको बथान धपाउँदै
तराई झरिरहेका खरितेहरू
आज आउँछन् कि आउँदैनन् ?
कतारको मरुभूमिमा
ऊँट चराएर फर्किएका
परदेशी छोराहरू
आज आउँछन् कि आउँदैनन् ?
मलेसियाको सडक बनाउँदा
हात चुँडाएर फर्किएका
यो देशका नौजवानहरू
आज आउँछन् कि आउँदैनन् ?
शरीरको रातो रगत
पहेंलो बनिसकेपछि
रगतकै टाटाले भिजेको
पुरानो गुन्युँ लगाएर
सिमाना पारिबाट फर्किएका चेलीहरू
आज आउँछन् कि आउँदैनन् ?
र भन्छन् कि भन्दैनन् उसलाई मझिनी !
टाढा पुग्नु छ टाढा….
पुग्नु छ सपनाको गाउँमा
यो नदीजस्तो जिन्दगी
तारिदेऊ न हामीलाई !
कोही पनि आएनन्
आज अबेरसम्म !
हिजो त यही बाटो भएर
केही राजाहरू
जङ्गलबाट दरबारतिर गएका थिए
र केही राजाहरू
दरबारबाट जङ्गलतिर गएका थिए !
भरभराउँदो जवानीजस्तै
भरिएको थियो
जलदेवीको डुङ्गा
तर आज
ओहो ! फेरि कहाँ पहिरो गयो ?
धमिलो बनिरहेको छ
नदीको पानी !
कहाँबाट बग्दै आइरहेका हुन्
यी सिलबरका थालबटुकाहरू ?
कहाँबाट बग्दै आइरहेका हुन्
यी तीतेपातीले बारेका झुपडीहरू ?
कहाँबाट बग्दै आइरहेका हुन्
यी कोक्रोमा निदाएका नानीहरू ?
आएनन्
आज कोही पनि आएनन् !
थकित बटुवाहरू आएनन् !
हारेका परदेशीहरू आएनन् !
रित्तै छन् गाउँका कोखहरू
रित्तै छन् आमाका काखहरू !
कोक्रोमा सुताएर
तेल घसीघसी हुर्काएका
जूनताराहरू पनि आज आएनन् !
नदीको पल्लो किनारमा
सुताएर् आएकी जूनकीरी पनि
ब्यूँझिएर रोइसकेको होली !
नदीको ओल्लो किनारमा
जीवनजस्तै रित्तो डुङ्गामा बसेर
जलदेवी
पानीले बगाइरहेको