Rajkumar Karki – Ma Hunu Ko Artha

राजकुमार कार्की – म हुनुको अर्थ

यो ब्रम्हाण्ड
मेरो लागि “अब्र्स्टयाक आर्ट” जस्तै भएको छ
म फगत एक्लो
ग्याँस च्याम्बरको नियती भोग्दैछु
मान्छेहरु एक हुल
पूर्व जान्छन्
अर्को हुल
पश्चिम जान्छन्
निरुद्देश्य,
म फुटबलजस्तै
कहिले ओल्लो गोल पोष्टमा
कहिले पल्लो गोल पोष्टमा
निरन्तर ठोक्किरहेको छु
हो,
मेरा दिनचर्याहरु यसरी नै
व्यतित भइरहेका छन्
म हुनुको अर्थ
यही कोलाहल, भीँड र बजारमा
खोजिरहेको छु
मेरो अस्तित्वमाथि
धावा बोलेर
कुलंगारहरुले
युद्ध जितिरहेका छन्
म भन्नु एउटा
फगत, विरोधको पर्याय बनेको छ
मेरो अस्तित्व भन्नु
फगत, रोमाञ्चक अतित बनेको छ
मैले होस गुमाएको बेला
मेरा जिजिविसाहरु विकेन्द्रीकृत हुन्छन्
जब होस् आउँछ
वर्तमानमा भोग्नुपरेको पीडा सम्झेर
कठै यी आँखाहरुबाट अविरल बग्छ इन्द्रावती
म पल प्रतिपल
मुर्दातुल्य भएको छु
यसैले हेरिरहन्छु निर्निमेष
म आफ्नै मृत्युको
मलामीमा सामेल भएको दृश्य।