Atmaram Sharma – Dosh Rahit Dosh

आत्माराम शर्मा – दोषरहित दोष
(Source: असोज मधुपर्क, २०६८)

सोहनलाल चौधरीले एकाबिहानै फोन गर्दै भन्यो- “मुकुन्द, जरुरी काम छ, आज मलाई अफिसमा भेट्न सक्छौ ?”

के काम छ त्यस्तो जरुरी ? अर्को कुनै दिन फुर्सदमा भेट गरे हुँदैन ? मैले भनेँ ।

तिम्रो अनुकूल छ भने आजै भेट गर्न पाए हुन्थ्यो, उसले पुनः अनुरोध गर्‍यो । के काम छ ? फोनमा बताउन मिल्छ ? मैले उसलाई केर्दै सोधेँ ।

“हेर न मुकुन्द, एउटा नयाँ केस आयो । यो विषय अलि जटिल छ । लेखकको आवश्यकता पर्‍यो । साहित्यिक भाषामा लेखिएका इमेलका पत्रको अध्ययन गरेर घटनाको छानबिन गर्नुपर्ने भयो । तिमी साहित्यकार भएकोले सहयोग गर्छाैं कि भन्ने आशले फोन गरेको” उसले अनुरोधको भाषामा भन्यो ।

भेटघाटको विषय छ्याङ्ग भएपछि अपरान्ह पाँच बजे भेट्ने निधो गर्दै मैले फोन राखेँ ।

सोहनलाल मेरो कलेज पढ्दाको हितैषी साथीे हो । अपराध अनुसन्धान शाखामा डीएसपी छ । प्रहरीमा उजुरी परेका कतिपय घटना र अपराधका केस ऊ मलाई सुनाउने गर्छ । म ती घटनालाई लिएर साहित्य सिर्जना गर्छु । यो घटना पनि कथाको राम्रो प्लट हुन सक्छ भन्ने सोच्दै साँझ साढे पाँच बजे म उसको कार्यालयमा गएँ ।

सागर भन्ने मानिस बेपत्ता भएकोमा खोजी गरिदिन उसका छोरा, छोरी र श्रीमतीले केही प्रमाणसहित रिपोर्ट गरेका रहेछन् । सोहनलालले खोजबिनको क्रममा सागरसँग आदानप्रदान भएका तीनवटा इमेल अध्ययन गरेर कसको कारणले घटना घट्यो भन्ने पत्ता लगाउनुपर्ने केस रहेछ । उसले ती सबै इमेल पि्रन्ट गरेर मलाई दिँदै भन्यो -“मुकुन्द यी सबै गहिरो अध्ययन गर । दोषी को हुनसक्छ ? मलाई बताऊ ।” सोहनलालले निकै जोड दिँदै मलाई भन्यो ।

उसले दिएका ती इमेलपत्र यस्ता थिए-

सहृदयी दिदी अनुजा

मीठो सम्झना

आज बुद्ध पूणिर्मा, आकाशमा कहीँ कतै बादलका टाटा छैनन् । सफा आकाशमा जुनको टहटह हेर्दै म टोलाइरहेकी छु । यो मनको अथाह खुसी तिमीसम्म पुर्‍याउने शब्दको खोजीमा घोत्लिरहेकी छु । कुन शब्दैले मेरा उमङ्ग व्यक्त

गरौँ ? सोच्दै लेखिरहेकी छु । घरव्यवहार र साथीसङ्गीका धेरै कुरा यस अगाडि लेखिसकेकी छु । दाजु सागरको सहयोग र प्रेरणाले मैले लोकसेवाको अन्तर्वार्ता पास गरेँ । खरदारको जागिर खाएको पाँच वर्ष नबित्दै अधिकृतमा पास गरेकीले मैले थेग्नै नसक्ने गरी बधाई र सुभेक्षा प्राप्त गरेँ ।

अधिकृतको नियुक्तिपत्र लिएको दिन मेरो जीवनको उल्लासमय दिन थियो । कस्तो संयोग परेको अनुजा त्यो- दिन मेरो श्रीमान्को जन्म दिन, हाम्रो विवाह भएको र मैले अधिकृतको नियुक्तिपत्र बुझेको एकै दिन परेछ । यस्तो संयोग त बिरलै हुन्छ, हैन त अनुजा ?

आज यो उमङ्गको क्षणमा पनि मेरो पेट भतभती पोलिरहेछ । मेरा यी खुसी तिमीसँग साट्न पाइनँ । न त दाजु सागरसँग नै रमाउन पाएँ । खै के काम परेर हो गएको दुई दिनदेखि उहाँ अफिस आउनुभएको रहेनछ । लिखितमा मेरो नाम प्रकाशित भएपछि दाजुले धेरै पटक मलाई भन्नुभएको थियो -“लता म तिम्रै प्रगति हेर्न यो जागिरमा अल्भिmरहेको छु । घरको चाँजोपाँजो मिलेपछि अब म छिटै जागिर छाड्छु ।”

उहाँले यस्ता वैरागलाग्दा कुरा धेरै पटक गर्नुभयो । उहाँका उदास कुरा सुनेर मैले एक दिन बोल्दाबोल्दै बीचमै रोकेर भनेँ – दाजु Û तपाइर्ंका यस्ता दिक्कलाग्दा कुरा म सुन्दिनँ । अचानक मेरो मुखबाट त्यस दिन यस्ता शब्द निस्किएछन् । मेरा कुरा सुनेर त्यही क्षण उहाँले मलाई भन्नुभयो -“लता आजदेखि म मेरा कुनै पनि कुरा सुनाउदिनँ । तिमी पनि घरव्यवहार, उपहार साटासाट गरेका र तिम्रा दाम्पत्य जीवनका कुरा नसुनाऊ ।” अनुजा किन होला उहाँले त्यस दिन यस्तो कटुबचन बोल्नुभएको ?

गएको वर्ष श्रीमान्को जन्मदिनमा उपहार दिएकी थिएँ । यो कपडा दाजु सागरलाई मनपर्ने गेरु रङको थियो । श्रीमान्लाई यो रङ मन परेनछ । कस्तो जोगी रङको कपडा किनेकी ? मलाई जोगी बनाउने विचार छ कि कसो ? उहाँले टट्टा गर्दै भन्नु भएको थियो । तपाईं जोगी बन्नुभयो भने म पनि जोगिनी हुन्छु नि त – मेले जवाफ दिएकी थिएँ । यसपछि हामी दुवै पेट मिचीमिची हाँसेका थियौं । यो कुरा मैले सागर दाजुलाई सुनाउँदा उहाँले अनुहार नमीठोसँग खुम्च्याउनु भयो । यस पटक दिएको घ्यू रङको सुट पिस सागर दाजुलाई देखाउँदा उहाँले मन खिन्न पार्दै भन्नुभयो – मलाई यस्ता उपहारका कुरा नदेखाऊ ।

यसपछि हाम्रो भेट भएको थिएन । अधिकृत पद वहाली गरेको दिन उहाँलाई भेट्न गएँ । कोठामा उहाँ हुनुहुन्न थियो । त्यही दिनदेखि बेपत्ता भएको दाजुलाई आजसम्म मैले भेट्न सकिनँ । यो घटनाले मलाई निकै टेन्सन भएको छ । सागर दाजु कहाँ र कुन अवस्थामा हुनुहोला ? केही अनुमान गर्न सक्छ्यौ अनुजा ? मलाई छिट्टै इमेल गर ल ।

उही, लता लिम्बू,

स्नेही लता, हृदयभरिको माया । स-परिवार आराम छौँ । सम्पूर्ण परिवारको सुस्वास्थ्यको कामना गर्दछु । पछिल्लो पटक १० तारिखमा तिमीले पठाएको इमेल मैले पाएँ । हाँसो र आँसु दुवै मिसिएको इमेल पढेर म भावुक भएँ । पत्र पढेको रात खोई किन हो मेरा आँखा जोडिएनन् । अतीतको सम्झनामा मन रुमलियो ।

अहिले बिहानको ठीक चार बजेको छ । उठेर बिछ्यौना मिलाए । बाथरुम गएर नुवाइधुवाई गरेँ । मन अलि हल्का भयो र इमेल लेख्दैछु ।

देश छोडेर अमेरिका आएको सात वर्ष बितेछ । समयका पात कति छिटै झरेछन् । सम्झँदा आफैँलाई अनौठो लाग्यो । जीवनको भोगाई र नियति सम्झेर म छक्क परेकी छु । पहाड गाउँमा बितेका दुःखका ती दिन सम्भिmँदा मन अमिलो भएर आउँछ । पाँचथरको त्यो दुर्गम हिमाली गाउँमा बितेका हाम्रा दिन सम्झेर अहिले पनि मनमा गाँठो पर्छ । भावुकतामा डुब्दै कहिले काहीँ ती दुःखका आनन्दमा रमाउँछु ।

कतिपय घटना सम्झँदा अहिले पनि मन अत्तालिन्छ । हामी दुःखका साथी दिदीबहिनी थियौँ । मेरो पनि आˆनो भन्नु को थियो र ? मनको कुरा पोख्ने मेरालागि तिमी थियौँ, तिम्रा लागि म थिएँ । आमाले आत्महत्या गरेपछि झड्केलो बाबुले गरेको घृणा र अपमान तिमीलाई थाहा छँदैछ । मामाघरबाट सहयोग नपाएको भए मेरो पनि नियति आमाको जस्तै हुन सक्थ्यो । यिनै दुःखसुखका कुरा गर्दै हामी दुई घण्टा पैदल स्कुल जान्थ्यौँ । स्कुल जाउआउ गर्दा धेरैजसो सँगै हुन्थ्यौँ । बाटोको खाजा मकै, भटमास र रोटी खाँदै हामी घर र्फकन्थ्यौँ । कहिलेकाहीँ खाजा नहँुदा भोकले जीउ गल्दथ्यो । हिँड्न नसकेर गोडा फतक्क गल्थे । तिमीलाई सम्झना छ हैन त लता ? करिब पाँच वर्ष यसरी नै बिते । कक्षा अन्तरले गर्दा एक वर्ष अगाडि मैले एस. एल. सी. पास गरँे । तिमीले दोस्रो वर्ष गर्‍यौँ । जे भए पनि बाल्यकालदेखि नै मेरो मन मिल्ने साथी तिमी नै थियौँ ।

जीवन नदीजस्तै रहेछ ठोकिँदै बहनु पर्ने । कतै भँगालोमा पस्नु पर्ने, कतै सलल बगिरहन पाइने । नदीको गतिजस्तै रहेछ हाम्रो जीवन । कलेज पढ्दा हामीलाई अभाव र गरिवीले थचक्कै थिच्यो । गाउँमा भन्दा पनि बढी लखट्यो । हामी काठमाडौँका गल्लीमा भौतारिँदै हिँडिरहेका थियौ । बाटो बिराएका यात्रीजस्तै बरालिएका थियौँ । बागबजारको घुमाउरो गल्लीमा टाढाको नाता पर्ने सागर दाजुसँग हाम्रो भेट भयो । मलाई लाग्छ – त्यही भेटले तिमीलाई यहाँसम्म पुर्‍यायो र मलाई अमेरिकासम्म ल्यायो ।

लोकसेवाले हामीलाई दुईपटक अयोग्य सावित गरिसकेको थियो । यिनै चोट र खोटले गर्दा दुवैले डीभी भर्‍यौँ । मलाई डीभी पर्‍यो र मैले देश छोडेँ । तिमीले तेस्रो पटकमा लोकसेवा पास गर्‍यौ र जागिर खायौ । हो, आज म ती बितेका दिनहरू सम्झँदै इमेल गर्दैछु । म अमेरिका हिँड्दा तिमी भक्कानिएर रोएकी थियौ । मैले पनि मन सम्हाल्न सकिन र घोप्टो परेर रोएँ । अनगिन्ति हण्डर, ठक्कर खाँदै म अमेरिका आइपुगेँ । सेटल हुन यहाँ मैले गरेका दुःख लेखिसाध्य छैन । बर्मा गए पनि कर्मसँगै- पुर्खाले भनेको सायद यही रहेछ ।

मेरो जीवनको सबैभन्दा खुसीको क्षण तिमीले लोकसेवा पास गरेको दिन हो । आहा Û यो खबर सुनेको दिन म कति खुसी भएँ -म व्यक्त गर्नै सक्तिनँ । त्यो खुसी थेग्न नसकेर कोठामा म छम्छमी नाँचेथेँ । अमेरिकामा नजिक रहेका नेपालीबीच खुसी साट्दै मैले भनेँ – मेरी साथी लता लिम्बूले अधिकृतमा पास गरी । खुसीले उनीहरू पनि उम्लिए र मैले पाँच सय डलर खर्च गरेर उनीहरूलाई भोज खुवाएथेँ ।

सागर दाजुको सुझाव र विशेष सहयोगले म अमेरिका आएँ । उहाकै प्रेरणाले तिमीले लोकसेवा पास गर्‍यौ । कस्तो संयोग- तिम्रो पोस्टिङ उहाँकै कार्यालयमा भयो । खरदारबाट सुरु भएको तिम्रो जागिरे जीवन सागर दाजुकै सहयोगले अधिकृत भयौ । एउटै कोखको दाजुले गर्ने सहयोगभन्दा पनि बढी उहाँको सहयोग पाएर जागिरमा तिमीले गरेका प्रगतिका खबर सुन्दा म खुसीले बुर्लुक्क उप|mन्थँे ।

तिम्रो पिरले मलाई सधैँ सताइरहन्थ्यो । पहाड गाउँदेखि नै सौतेनी आमाको पेलाइले उदासिएको तिम्रो अनुहार सागर दाजुको अपनत्वले उज्यालिँदै गएको थाहा पाउँदा म फुरुङ्ग हुन्थेँ । उहँाकै आडभरोसामा त्यो बिरानो काठमाडौँमा तिमीलाई छाडेकी थिएँ । हुन त म अमेरिका उड्ने भएपछि दाजुले मलाईभन्दा पनि बढी माया तिमीलाई गर्न थाल्नुभएको थियो । मलाई थाहा छ उहाँले नै लोकसेवाको र्फम भरिदिनुभएको थियो । काठमाडौँमा कसरी बाँच्नुपर्छ ? लाठे केटाहरूका क्षेप्यास्त्रजस्ता हेराईबाट कसरी जोगिनुपर्छ ? उहाँले नै हामीलाई सिकाउनु भयो ।

बहिनी लता

लोग्नेमानिसको मनलाई तिमीले अझै नजिकबाट बुझ्न सकेकी रहिनछ्यौ । उनीहरूको हृदयलाई सूक्ष्मरूपले नियाल । केटा मान्छेको मन भाँचियो भने काठजस्तै टुक्रिन्छ । पछि जति जोडेर टाँसे पनि भाँचिएको काठ छुटिन्छ र कमजोर हुन्छ । सागर दाजु मेरो टाढाको आफन्त भएकोले उहाँको बारेमा थोरबहुत मलाई थाहा थियो । उहाँको व्यक्तिगत जीवन सफल छैन भन्ने कुरा तिमीलाई केही सङ्केत गरेकी थिएँ । यो कुरा सुनेर उतिखेर तिमीले भनेकी थियौ -“यसै कारणले होला उहाँको मुहार सधैँ उदास देखिन्छ” मानिसको व्यक्तिगत जीवन असफल भएपछि उनीहरू रूखा हुन्छन् । मैले मनोविज्ञानमा पढेकी थिएँ – जीवनदेखि निस्सासिएका मानिसलाई नारीको कोमलताले पगाल्छ । हाम्रो धार्मिक कथाहरूमा यस्ता धेरै प्रसङ्ग छन् । हामीले थोरबहुत पढेका र सुनेका छौँ ।

लता Û धेरै के लेखौँ ? काममा जान हतार भइसक्यो । तिमी आफू थोरै पग्लिएर भए पनि सागर दाजुलाई सम्हाल । उहाँ जस्तो असल मान्छे हामीलाई मात्र होइन अरू धेरैलाई आवश्यक पर्छ । म आशा गर्छु, बहिनी तिमीले उहाँलाई जीवनदेखि पलायन हुन रोक्नेछ्यौ र उहाँको खोजी गरेर सम्हाल्नेछ्यौ भन्ने विश्वास गरेकी छु ।

उही अनुजा, दिदी अनुजा Û

जीवनमा निकै परिपक्व भएँ र खारिएँ भन्ने लागेको थियो तर होइन रहेछ । यात्राको ठाडो भीर रहेछ जीवन । कुन भीरबाट को कतिखेर खस्छ केही भन्न सकिँदोरहेनछ । अघिल्लो महिना अधिकृतको तालिम लिन म केन्द्रमा १५ दिन काजमा गएकी थिएँ । त्यसको भोलिपल्ट सागर दाजुले जागिर राजिनामा गर्नु भएछ । यो कुरा थाहा पाएर मैले उहाँलाई मोवाइलमा सम्पर्क गरेँ । उहाँको छोरोले उठायो । बाबा खोइ त बाबु भनेर सोद्धा -“उहाँ कहाँ जानु भयो, हामीलाई पनि थाहा छैन । एक हप्तादेखि बाबा बेपत्ता हुनु भयो, खोजी गरिदिन पुलिसमा हामीले रिपोर्ट गरेका छौँ” उसले हडबडाउँदै जवाफ दियो । उसको कुरा सुनेर म खङ्रङ्गै भएँ । यो खबर सुनेदेखि दिन मेरा लागि रात बन्यो । रात आँसुको पोखरीमा परिणत भयो । उहाँ बेपत्ता भएको दुई महिनापछि हिजो मात्र हुलाकीले अफिसमा आएर चिठी दिएर गयो । चिठी पढ्दापढ्दै म भक्कानिएर रोएँ । मैले नजिकबाट उहाँलाई चिहृन सकिँनछु । टाढाबाट जति चिने त्यो परिचय अपूरो रहेछ । सागर दाजुले लेखेको त्यो चिठी मैले स्क्यानिङ गरेर इमेल गरेकी छु । पढेपछि मलाई इमेल गर ल अनुजा ।

बहिनी लता

हृदयको सम्झना,

उज्ज्वल भविष्यको कामना गर्दछु । जीवनमा कुनै चोट र अप्ठेरा नपरुन् हृदयदेखि नै प्रार्थना गर्दछु ।

मैले धेरै पटक जागिर छोड्ने प्रयास गर्दा तिमीले मलाई भनेकी थियौ – “अरू कुनै काम नभई जागिर छोड्नु हुँदैन । खाली दिमागमा सैतानले बास गर्छ ।” तिम्रो यही सल्लाहले मैले जागिर छोड्न सकिनँ । तिमीले जागिरमा गरेको प्रगति मलाई जागिरमै बसेर हेर्ने रहर थियो । योे उत्कट चाहना तिमीले पूरा गरिदियौ । धन्यवाद छ मेरो इच्छा पूरा गरिदिएकोमा । अधिकृतको पत्र बुझेपछि तिमी तालिममा गयौँ । तिमी गएको दोस्रो दिन मैले जागिर राजिनामा गरे । मलाइ माफ गर -मैले भेटेर भन्नु पर्दथ्यो तर भन्न सकिनँ ।

पाँच दिनपछि राजिनामा स्वीकृत भएको पत्र पाएँ र त्यही दिनदेखि मैले आफूलाई बदले । यसको मतलव म नास्तिकबाट आस्तिकमा रूपान्तरण भएको होइन । पूर्वजले भन्दै र मान्दै आएको ईश्वरीयसत्ताको खोजीमा म लागेँ । अहिले भौतिकवाद र आध्यात्मवादको अन्तर खोतल्ने प्रयासमा छु । हाम्रो पूर्वजको ईश्वरीयसत्ताको गहिराई बुझ्न मन लाग्यो र मैले बाटो परिवर्तन गरेको हुँ । सम्पूर्णरूपले आफूलाई बदलेको होइन ।

बहिनी Û तिमीलाई अचम्म लाग्ला- यति छिटो ममा यत्रो परिवर्तन कसरी आयो ? यो मेरो कुनै लहड र सनक होइन । विगत केही वर्षदेखि मैले खोजेको कुरा हो । सबैतिरबाट हारेका र जीवनदेखि विरक्तिएका धेरै मानिस आशाको मसिनो त्यान्द्रोमा अल्झेर बाँचेका छन् । मैले पनि आध्यात्मवादको अध्ययन गरेर बाँकी जीवन बिताउने निर्णय गरे । यो संसारमा धेरै महापुरुष, जोगी, सन्न्यासी जसरी वरत्र विर्सिएर परत्र सपार्ने धुनमा आफूलाई बिर्सिरहेछन् । मेरो पनि अवस्था विगत केही वर्षदेखि यस्तै थियो । टाढा क्षितिजमा धीपधीप बलेको प्रकाश हेरेर म बाँचिरहेको थिएँ । आज त्यो क्षितिजको बत्ती निभ्यो र मैले घर छोडेँ । सीधा भाषामा भन्नुपर्दा – वरत्र छोडेर म परत्रको यात्री बनेँ ।

पाँच वर्ष एउटै कार्यालयमा सहकार्य गर्दा मेरो ओइलाएको अनुहार नियालेर पक्कै केही अन्दाज गरेकी थियौ होली ? अरू कसैले कानेखुसी गर्दै केही भनेका पनि होलान् । मेरो पारिवारिक जीवन खोतल्न खोज्दै तिमीले कुनै दिन भनेकी थियौ -“दाजु संसारका कुनै पनि मानिस सुखी छैनन् र कोही दुःखी पनि छैनन् । दुःखलाई जसले सुख सम्झेर भोग्छ त्यही व्यक्ति सुखी र सफल हुन्छ ।” अर्को कुनै दिन घुमौरो भाषामा तिमीले मलाई सोधेकी थियौ- “सागर दाजु, तपाईंलाई दुःखको कुन पहाडले थिचेको छ ? मनको पीडा अरूलाई बतायो भने हलुका हुन्छ भन्छन्” । यस विषयमा अरू कुनै दिन कुरा गरौँला, मैले भनेको तिमीलाई सम्झना छ हैन त लता ?

बहिनी

मनको मैलो म पखाल्न चाहान्थे । मिचीमिची म धुन खोज्दै थिएँ । तिमीले कुनै दिन अवश्य सोध्नेछ्यौ भन्ने मैले सोचेको थिएँ । तिम्रा प्रश्नको जवाफ दिन दुई वर्षसम्म मैले पर्खे । खोई किन हो ? मेरो व्यक्तिगत जीवन खोतल्न चाहिनौ । दुःखीको सङ्गत गरेर किन दुःख बढाउनु भन्ने सोचेर होला । मेरा पीडाका पुस्तक पढ्न त परै जाओस्, त्यसको अनुहारसमेत हेर्न चाहिनौँ । म चाहन्थेँ दमित मनमा पुरिएको अथाह पीडाको पोखरी तिमीलाई देखाउन । रहर थियो- तिम्रो काखमा घोप्टो परेर पोखिन । भित्रभित्रै पाकेका घाउका पीप तिम्रो हातबाट निचोर्न चाहन्थे । कटु बचनले तिछोरिएका शरीरका डाममा मलम लगाइदिन्थ्यौ कि भन्ने आशा थियो । धिक्कार Û मैले कस्तो इच्छा राखेछु ।

बहिनी मनमा गुम्सेका अटेसमटेस भावना बाहिर निस्किए । आज ४५ हिउँद पार गर्दासमेत मैले कसैबाट सम्झना प्राप्त गर्न सकिनँ । म अपमानको पहाडले थिचिएको दुःखी मानिसको अगाडि तिम्रा जन्म दिन, विवाहको वर्ष गाँठमा भएका आदान-प्रदान तिमी देखाउँथ्यौ । भोकले छट्पटाएको मानिसलाई खाना देखाएर ईख्याएजस्तै लाग्थ्यो तिम्रो त्यो व्यवहार । मेरो भत्किएको जीवन थाहा हुँदाहुँदै यी सबै काम मेराअगाडि गथ्यौँ । किन यसो गर्‍यौ ? मैले बुझ्न सकेको छैन । म सधैँ खुसी रहन्थेँ -तिम्रो त्यो उल्लासमय जीवन देखेर । भित्रभित्रै म खुसीले गदगद हुन्थे तिम्रो प्रगति र उन्नति हेरेर ।

बहिनी मलाई माफ गर मन दुःखेको कुरा गरेँ । यति खेर म सोचिरहेको छु – दोष तिम्रो होइन मेरै हो । धेरैलाई साथी बनाएँ कतिपयलाई गुमाएँ । जसलाई मैले साथी बनाए, तीमध्ये कसैलाई पनि आˆनो बनाउन सकिनँ ।

बहिनी घर छोड्ने दिन फोन गर्छु भन्दाभन्दै अनुकूल नमिलेर फोन गर्न सकिनँ । त्यसदिन म निकै व्यस्त भएँ । बिहान चार बजे उठेर कपडा धोएँ । खाना खाएर तीर्थयात्राको टिकट लिएँ र केन्द्रीय कार्यालयमा गएर पेन्सनपट्टा बनाएँ । बाबु हुनुको कर्तव्य पूरा गर्न छोरा छोरीको बैङ्क खातामा बिहादानका लागि केही पैसा जम्मा गरिदिएँ ।

साँझ पशुपति गएँ । मुक्तिमण्डलमा बसेर जोगीसँगै गाँजा तानेँ । धेरै वर्ष भयो यो जोगीसँग मेरो सङ्गत भएको । उसलाई केही पैसा दिए । भोलि म तीर्थयात्रामा हरिद्वार जाँदैछु भन्दा ऊ धेरै खुसी भयो । “अब बाँकी जीवन बिताउन म पनि उतै आउँछु । अर्को वर्ष तपाईंलाई हरिद्वारमै भेट्नेछु ।” म हिँड्ने बेलामा जोगीले भन्यो ।

जोगीको अखडाबाट उठेर म पारि गएर बसे । गायक भक्तराज आचार्यको स्वरमा भजन गुन्जिरहेको थियो –

एक दिन मैले प्रभुसँग सोधे

कसरी शान्ति मिल्छ

कस्तो कस्तो कर्म गरेपछि

प्रभुको दर्शन मुक्ति मिल्छ ।

भजनको तालमा मानिसहरू झुलिरहेका थिए । कोही आँखा चिम्लिदै भजनको भावमा चुर्लुम्म डुबेका थिए । छेउमा गाजाको राग उडिरहेको थियो । इहलिला समाप्त भएका दुईवटा लाश ब्रहृमनालको दायाँबाँया तेसिर्ंएका थिए । सुन्दर मानवीय जीवन लाशमा बदलिएको दुःखद हविगत देखेर मानिसहरू टोलाइरहेका देखिन्थे । आफन्तहरू लाशको नजिकै झुम्मिएर रूँदै कराउँदै थिए । आर्यघाटका कुनै चिता खाली थिएनन् सबै जलिरहेका थिए । केही लाश पालोको प्रतीक्षामा छन् । मानिसको अस्तित्व समाप्त भएर आकाशमा बिलीन भएको धूवाँ हेर्दै म टोलाइरहेको थिएँ ।

बहिनी Û आखिर के रहेछ र मानिसको जीवन ? पिता पुर्खा गएको बाटो सबैले जानैपर्नै रहेछ । नाथे यो एकबारको जीवनमा मानिस किन घमण्ड गर्छ ? मात्र धुवाँमा विलय हुने जीवनमा मानिस किन अहङ्कार गर्छ ?

सतकर्म नभई चित्त शुद्ध हँुदैन

चित्त शुद्ध नभई सन्तोष हुँदैन

सन्तोष नभई मन स्थिर हँुदैन

मन स्थिर नभई शान्ति हुँदैन ।

भजनको अर्को अनुच्छेद सुन्दै म उठेँ । त्यो दिन १४ तारिख थियो । मसान वैराग्य बोकेर घर र्फकेँ । घर भन्नु नै के थियो र फगत रातको बास थियो । जरुरी कपडाको सानो पोको बनाएँ । बिहानको तीन बजेको थियो । घरको मूलढोका बिस्तारै खोलेँ । बाहिर तुलसीको मोठलाई परिक्रमा गरेर ढोगेँ । अलिपर पुगेर एक पटक घरलाई नियालेर हेरेँ । त्यही क्षण मनले भन्यो – यो ठाउँमा तेरो भोग यत्ति नै रहेछ ।

– उही, सागर

माथिका इमेल मैले दोहोर्‍याएर पढेँ । दुई दिनपछि पुनः गहिरो अध्ययन गरँे । सागर पलायन हुनुमा दोष कसको हुन सक्छ ? भनेर निकै घोत्लिए । साथी सोहनलाल चौधरीको अनुसन्धानमा शङ्कास्पद देखिएका बहिनी लता, अनुजा, सागरको घरपरिवार र जोगी, यीमध्ये को दोषी छन् ? इमेल अध्ययन गरेर मलाई भन –

चौधरीले पटकपटक मोबाइलमा मलाई भनेको थियो ।

धेरै दिन घोरिएँ, मैले कुनै अनुमान नै गर्न सकिनँ ।

यो कथा पढेर दोषरहित दोषी को हो ? तपाईंले अनुमान गर्नु भयो कि ?

Deepak Sapkota – Sapana Ma Tireko Udharo

दीपक सापकोटा – सपनामा तिरेको उधारो
(असोज मधुपर्क, २०६८)

माघको दोस्रो हप्ता मध्याहृनको करिब १२ बजे कोठामा छिर्ने घामको लोभमा कुर्सीलाई झ्यालतिर बढाएर कम्प्युटरमा केही खोजिरहेको थिएँ । के खोजे नेटमा त्यो पनि आफँैंलाई राम्ररी थाहा थिएन । शरीर सन्चो नभएकोले होला, त्यति फूर्ति पनि थिएन । अफिसको काम, घरको आफ्नो, सबैतिरको टेन्सनले के काम गर्ने, के काम नगर्ने दोधारमा रुमलिँदै थिए । मोबाइलमा घन्टी बज्यो । पहिलो पटकको घन्टी मैले त्यति वास्ता गरिन । घन्टी फेरि बज्यो । नम्बर हेरे चिनेजस्तो लाग्यो । कसको भन्ने छुट्याउन सकिनँ । दोस्रो पटक पनि घन्टी बज्यो । रिसिभ गरिनँ । फेरि पनि घन्टी बज्यो मैले बोल्नु भन्दा पहिला नै उताबाट आवाज आयो “दाइ फोन उठाउन पनि कति गाह्रो ? मेरो नम्बर चिन्नु भएन ?” “चिनेजस्तो लाग्यो तर ठम्याउन सकिनँ” मैले उत्तर दिए । “ल भन्नोस् त म को हो ?” उसले सोधी ।

मलाई गाह्रो पर्‍यो । मैले भनेँ “अ…………”

उसैले मलाई सजिलो बनाई “म उषा” “ए उषा Û सन्चै छौ, अनि आज धेरैपछि कताबाट सम्भिmयौ त” मैले प्रश्न गरे ।

“दाइ हजुरलाई पनि बिर्सन सकिन्छ र, हजुरले पो माया मार्नु भयो” उसले भनी ।

“एउटाले माया मारेपछि अर्कोले माया त मार्नै पर्‍यो नि

हैन ?” मैले पनि सोच्दै नसोची बोलिदिएँ ।

ऊ थोरै हाँसेको मैले फोनमा सुनेँ । उसलाई कफी खान मैले अफिसमा निम्त्याएँ । उसले कफी खान स्वीर्कादै भनी “दाइ कफी खान त आउँछु तर हाम्रो पुरानो कफी सपमा” मैले “हुन्छ” भनी दिएँ । बेलुकी ५ः३० बजे कफी खाने निश्चित भयो । उसले मलाई बेलुकी कफी सपमा भेट्ने अनि कुरा गर्ने भन्दै “बाइ” भनी मैले पनि “बाइ” भनी दिएँ ।

उसले पहिला फोन राखी । उषा पोखरेल उसको नाम । काठमाडौँ बाहिर पूर्वतिरको केटी । पढेलेखेकी, मिहिनेति, सरल र सीधा । अफिसको कामको सन्दर्भमा मैले भेटेको । उसको उमेर त मैले सोधेको छैन । सायद २२ नाघेकी छैन होली । डिगि्रसम्मको अध्ययन पूरा गरेकी छ । उसको कम्प्युटरमा नेपाली टाइप राम्रो छ । टाइप गर्नु पर्दा प्रायः म उसैकोमा जान्छु । उसले नेपाली टाइप गरी दिन्छे । पैसा लिन मान्दिन । ऊ मलाई असाध्यै आदर गर्छे । म पनि उसलाई इज्जत गर्छु । केही सिकाइ दिन्छु । ऊभन्दा जान्ने भएर होइन, उमेरमा ऊभन्दा पाको भएर ।

गोरी छे, हँसिली छे बेलाबेलामा जिस्काउँछु । ऊ हाँसेर टारी दिन्छे । खोई म आफैँलाई थाहा छैन किन ऊप्रति मेरो धेरै झुकाव छ । उसलाई नभेट्दा के के सोच्छु, मनमा अनेक कुरा खेल्न थाल्छ । मनमनै कार्यक्रम पनि तयार हुन्छ जब उसलाई भेट्छु अगाडिका सबै कुरा बिर्सन्छु । उसलाई इज्जत गर्छु, उसको अभिभावक बनिदिन्छु । ऊ निश्चिन्त हुन्छे । ऊप्रति मेरो दुईवटा सोच भएको जस्तो मलाई आभास हुन्छ । ती दुवै आभास ती दुवै सोचलाई उसले राम्ररी सुधेकी छे । मेरो नजानिँदो बासना पनि उसलाई पचेको छ । मैले दिएको इज्जत पनि उसले बुझेकी छे । त्यस्तैगरी उसलाई पनि मैले राम्ररी बुझेको छु । मप्रति उसको चाहना हुँदै नभएको पनि होइन छ भनेर प्रस्ताव गरी हाल्ने पक्षमा पनि ऊ होइन भन्ने आभास मैले पाएको छु । मलाई आदर गर्छे, इज्जत गर्छे । फरक यो मानेमा छैन, हामीले एक अर्कालाई बुझाउन सक्याँै भने हामीभित्र लुकेको त्यो आभास कुनै ठूलो होइन । जरुरत भयो भने हामी सक्षम छौँ होलाजस्तो मलाई लाग्छ । एकले अर्कालाई आदर गर्दागर्दै हामी राजीखुसीको त्यो चरणमा आउनै सकेनौँ, आउनै भ्याएनौँ । त्यतिकैमा उसको बिहेको साइत जुर्‍यो । बिहेको दिन म जान नसक्ने भए । उसको बिहेको खबर नै मलाई नमीठो लाग्यो । नजिकको मान्छे छुट्टिएर जान लागेको जस्तो । आफ्नै बहिनी अन्माएर पठाउन लागेजस्तो । कस्तोकस्तो आफ्नो मनको कुनामा लुकेर बसेको कुनै इच्छा पूरा नभएजस्तो ।

उनी दुलही हुने दिनको अघिल्लो साँझ मैले उनलाई कफी सपमा बोलाए । ऊ विना शङ्कोच आई । दुवैले सँगै कफी खायौँ । मैले मेरो तर्फबाट उपहार दिए । उसले धन्यवाद पनि भन्न सकिनँ । ऊ काली-नीली भई, फुङ्ग उडेको हाँसो हाँसी “भोलि बिहेमा आउनुहोस् न दाइ” वाक्य यति बोली “मैले कोसिस गरौँला” भने । उसले म जाऊ भनी मैले उसको कानमा मुख राखेर भने “तिमी मेरी उधारी भयौ ” उसले बुझिन र सोधी “मैले त बुझिन” । “ठीकै छ बुझ्यौ भने सोची हेर्नु” भन्दै उसलाई नजिक तानेर निधारमा माया गरी दिए । त्यो माया विछोडको माया आत्मीयता र अभिभावकत्वको माया थियो । उसले २ थोपा आँसु झारी मलाई उसको त्यो आँसु पुछ्ने इच्छा भएन उसको गालामा आँसु बगेको राम्रो लाग्यो । उसको मोबाइलमा घन्टी बज्यो उसले मोबाइलतिर हेर्दै “दाइ राति भई सक्यो तपाईंसँगै बसेर धेरै कुरा गरेर रुने मन त थियो तर के गर्ने मलाई घरमा मार्छन् ?” भन्दै उसले मेरो हात सुमसुम्याएर माया गरी र हातभरि आँसु झारेर आफ्नो पाइला अगाडि बढाई । म टाढासम्म उसलाई टोलाएर हेरी रहे । विगतका यही मीठानमीठा कुरालाई सम्भिmएर म कफी सपमा उसलाई पर्खी बसिरहेको थिएँ । ऊ मलिन अनुहार लिएर आई र मेरो मेचको सामुन्नेको कुर्सीमा बसी । थोरै हाँसी र टाउको टेबुलमा झुकाएर बसी रही । मैले निक्कैबेर उसलाई हेरिरहेँ केही बोलिनँ । म मौन बसेँ । मैले उसलाई “उषा” “उषा” भन्दा पनि उसले हेरिन । उसको टाउको बिस्तार उचालेको त ऊ बलिन्द्रधारा आँसु बगाइरहेकी थिई । त्यो देखेर म पनि बोल्न सकिनँ । त्यतिकैमा मगाएको कफी आयो । मैले “कफी खाऊ” भने उसले व्याग खोलेर केही खोजेजस्तो गरी । सायद रुमाल खोजेकी होली भनेर मैले खल्तीबाट रुमाल झिकेर ऊतिर बढाएँ । उसले रुन्चे हाँसो हाँसी र रुमाल समातेर आँसु पुछी । मैले कफीको सुर्को लगाए । उसलाई पुनः कफी खान आग्रह गरेँ उसले पुनः आँसु पुछ्दै रुमाल मतिर फर्काई । मैले “राख” फेरि चाहिएला भनेँ । उसले रुन्चे मुस्कानमा रुमाल व्यागमा राखी । मैले सोधे, “अब बोल्न सक्छौँ ?” उसले हाँस्दै भनी “सक्छु दाइ हजुरलाई नराम्रो लाग्यो होला नजिकको जस्तो लाग्यो भने आँसु आउँदोरहेछ । “किन के भयो ? मैले सक्ने सहयोग गर्न म तयार छु” मैले भने । “हजुरको पनि हातमा भए पो ।” उसले मलिन स्वरमा भनी । “के भयो घरमा झगडा पर्‍यो ?” मैले प्रश्न गरे । “झगडा भएको भए त मिल्न पनि सकिन्थ्यो नि दाइ” उसले भनी, “अनि के भयो त” मैले प्रश्न गरे । ऊ उत्तर नदिई रुन थाली । किन “विकास बिरामी छ ?” मैले फेरि सोधे । उसले मुन्टो हल्लाएर ईशाराले “हो” भनी । “के भएको छ ?” “किन आत्तिएको बिरामी भए पनि निको भइहाल्छ नि” मैले सान्त्वना दिँदै भने । “निको नहुने रोग दाइ अब म के गरौं ?” । उसले रुँदै भनी मेरो मनमा चिसो पस्यो । मन ढुक्क फुल्यो र मेरो मुखबाट अनायसै निस्क्यो “एड्स” । ऊ डाँको छोडेर रुन थाली । कफी सपका सबै मान्छेको ध्यान हामीतिर गयो । मलाई के गरौँ के गरौँजस्तो असजिलो भयो उठेर ऊतिर गए । टाउको सुमसुम्याए, ऊ घुक्कघुक्क गर्न थाली म एकछिन उसको टाउकोमा हात राखेर उभिरहे । मान्छेहरूको ध्यान बिस्तार हामीबाट हटेजस्तो लाग्यो । अलि शान्त भएपछि म आफ्नो कुर्सीमा गएर बसे । दोस्रो पटक कफी मगाए । दुवै जनाले कफी बोल्दै नबोली खायौँ । कफी सिद्धिन लागेको थियो उसको मोबाइलमा घन्टी बज्यो उसले फोन उठाई र भनी “हुन्छ” । त्यसपछि उसले मलाई भनी “उसको फोन आएको छ दाइ म जान्छु” । म पनि जान्छु भन्दै “ऊसँगै उठे “। ऊ मसँग छुट्टनि खोजी । “किन मेरो वाइकमा बस्नु हँुदैन ?” मैले प्रश्न गरे । उसले रुन्चे अनुहारले मेरो पाखुरामा चिमोटी र वाइकको पछाडि बसी उसको घरको तल उसलाई छोडेर म फर्किए ।

घरमा खाना खान पनि मन लागेन । राति निद्रा पनि आएन श्रीमतीजीले “किन झोक्राएको सन्चो भएन” भनिन् मैले “सन्चै छ तिमी सुत भनी” ऊ कोल्टे फर्केर घुर्न थाली । मेरो मन उषातिरै गयो । विवाहको कुरा हुँदा उसले मलाई

भनेकी थिई “८।१० वर्ष खाडी मुलुक बसेर आएको रे दाइ केटो त्यत्ति राम्रो त छैन, पढाइ पनि मेरो भन्दा कमैजस्तो छ । आफ्नो अवस्थाले गर्दा हुन्छ भनी दिएँ । मेरो पनि राम्रो कमाई राम्रो जागिर काठमाडौँमा घर भएको भए फूर्ति साथ इन्कार गर्ने थिए के गर्नु अर्काको खुट्टामा बाँच्नु परिरहेछ” । “तिमीमा के कमी छ र उषा जस्तो पायो त्यस्तैसँग सम्बन्ध गास्नु पर्छ ?” मैले उसलाई भनेको थिए । “तपाईं पो त्यसो भन्नु हुन्छ र मेरो आफ्नो भन्नेहरू नै मलाई चिन्दैनन् म के गरौँ ?” उसले मतिर प्रश्न गरेकी थिई । मैले उसलाई ढाडस दिँदै भनेको थिए “हेर विवाह भनेको लेखेर ल्याएको हुन्छ, भाग्यमा जे हुन्छ त्यो भएरै छाड्छ ।”

आफूले रोजेजस्तो खोजेजस्तो हुँदैन । तिमी सक्षम छौ, मेहिनेती छौ तिम्रोे भित्री मनले नै मानेको छैन भने अलग कुरा, होइन भने यो एउटा सम्झौता हो हस्ताक्षर गरी दिनु अगाडि भगवान्ले हेर्ने छन्” । ऊ त्यति बेला मुसुक्क हाँसेकी थिई । उसलाई मैले त्यति बेला भनेको थिए “बरू तिमीलाई एउटा कुरा भन्छु अन्यथा नलिनु ।” “भन्नोस् न दाइ हजुरले भनेकोमा म कसरी गलत अर्थ लाउन सक्छु र ।” मैले उसलाई भनेको थिएँ । “बरू ऊसँग सम्पर्क राख्नु अगाडि ब्लड टेस्ट गराउनु किनकि ऊ धेरै वर्ष विदेशमा बसेको केटो रहेछ” । “दाइ त्यो सम्भव छ र ? हजुरले भनेको त सही हो तर त्यो गर्ने कसरी ?” उसले भनेकी थिई । उसलाई मैले सम्झाएको थिएँ “के गर्नुपर्छ त्यो त तिमी नै तय गर तर कुनै निहुँमा उसँग सम्पर्क गर्नु अगाडि रगत अवश्य जचाउनु । तिमी पढेलेखेकी मान्छे मैले सिकाई राख्नु पर्दैन । तैपनि मनमा शङ्का नराख्न एक पटक त्यसो गरे होला कि भनेको मात्रै हो, विचार तिम्रो ।” उसले मसँग हात मिलाउँदै भनेकी थिई “ठीक छ दाइ अवश्य म त्यसो गर्नेछु” । यस्तै छटपटीमा कतिबेर निदाएँ, कुन्नि ।

अफिसमा बसिरहेको थिएँ । उसको फोन आयो उसलाई मैले विकाससँग सम्बन्धविच्छेद गरेर अर्कोसँग विवाह गर्ने सल्लाह दिएँ । मेरो सल्लाहमा ऊ सहमत भइन् र उसले भनी “दाइ उसलाई पनि थाहा रहेनछ ऊ रोगी भएको कुरा, थाहा भएको भए मसँग बिहे नगर्ने रहेछ । मसँग मात्र होइन कोहीसँग पनि । ऊ अहिले धेरै पछुताइरहेछ । मसँग रुन्छ, माफी माग्छ । एक नवजवान केटो, ऊ मेरो पति भइसक्यो । अब उसलाई छाड्न सक्दिनँ । बाँचुन्जेल म उसको पत्नी भएर रहने छु । उसको सेवा गर्नेछु । नजानेर गरेको गल्तीमा म उसलाई सजाय दिन सक्दिनँ ।” उसको कुराले मेरो त वाक्य नै फुटेन । नतमस्तक भएँ । “किन दाइ मेरो कुरा चित्त बुझेन ।” “तिमी यति महान् रहिछौँ खोई तिमीलाई कसरी बुझाँउ र सम्मान गरौँ” मैले भने । उसले भनी “सम्मान होइन दाइ मलाई तर हजुरको सहयोग चाहिन्छ ।” “के सहयोग भन न” मैले भने । उसले भनी-हजुरको सल्लाहले त म बाँचे, मेरो पति कहिलेसम्म उसलाई ईश्वरले

बचाउँछन् ? त्यो त भन्न सक्दिन । अहिले भने भगवान् भएर तपाईंले हामीलाई बचाई दिनुभयो । मैले सुहागरातको पहिलो चरणमै हामी दुवैको रगत जँचाएपछि मात्र एकअर्कोलाई छुने कुरामा उसलाई सहमत गराएँ । ऊ सहमत भयो । त्यसको नतिजा हजुरले थाहापाईहाल्नुभयो । ऊ मेरो लोग्ने, म उसकी स्वास्नी तर हामीबीचको पतिपत्नीको सम्बन्धमा भने भगवान्ले हामीलाई ठगे । हजुरले मेरो कुरा पत्याउनुहुन्छ हगि ? उसले मलाई छोएको छैन दाइ ।” उसले एक सासमा भनी । मैले भनँे “तिमीले भनेको तर मैले विश्वास नगरेको केही कुरा छ ।” उसले भनी “छैन दाइ” । “अब भन म तिमीलाई के सहयोग गर्न सक्छु ?” मैले भनँे । उसले भनी “दाइ ऊसँग मेरो कुरा भइसक्यो । ऊ सहमत भइसक्यो ।” मैले सोधेँ “के कुरामा ?” । ऊ र म लोग्नेस्वास्नी भएर रहने । “अनि” मैले भने । उसले भनी- “हजुरले हामीलाई खुसी राख्ने ।” “कसरी ?” मैले सोधे । “हजुरले हामीलाई एउटा नानी दिनु पर्छ । उसलाई ईश्वरले मबाट कहिले खोसेर लान्छन् म भन्न सक्दिन तर म त्यही नानीको साहारामा जिन्दगीको बाँकी दिन काट्ने कोसिस गर्नेछु । विन्ति दाइ नाइँ नभन्नुस् उसले भनी । मैले भनँे “मैले त बुझिनँ त ?” “हजुरले भनेको होइन म हजुरकी उधारी भए भनेर भगवान्ले मलाई हजुरको ऋण तिर्न नै लेखेका रहेछन् । उधारो त तिर्नु पर्‍यो नि दाइ, म उधारो तिर्न तयार छु ।”

म झङ्ङ्ग भए ब्यूझँदा त बिहानको ७ बजिसकेको रहेछ ।

Laxmi Guragain – EDV

लक्ष्मी गुरागाईं – यी !!! डीभी !

न्युयोर्कमा हिउँ परेको बिहानी । सडक छेउछाउका पार्कमा जताततै हिउँ नै हिउँ!
“यी !! डीभी ! यी !! डीभी ! यी ! डीभी !!” भनेर चिच्याउँदै, एउटा हातले लोप्पा खुवाउँदै अर्को हातले जमिनको हिउँ शरीरमा दलिरहेकी एक निःवस्त्र महिलामाथि सबैका आँखा थिए । एउटी खैरीले भनी “अ म्याड ओमन !”

सुनिताले झ्याल बाहिर हेरिन् ।

“आम्मै ! भाउजू त !!” उनले जिब्रो टोकिन ! “बिचरा ! दाइ पनि काममा गका होलान् ! हेर भाउजूको हरि विजोग ! होटलको काम छाडेर फर्केका दिनदेखि बिरामी भन्ने सुन्थे ! खुस्कीसकेछ, बिचरा !”

ब्ल्याङ्केट च्यापेर त्यतै कुदिन सुनिता । ब्ल्याङ्केटले छ्याप्प छोपिन् । तान्दै कोठमा ल्याइन । “ल, लुगा लाउनुस् !! के नाटक हो यो !!”
महिला चिच्याइन् “यी !! डीभी ! यी !! डीभी !”

“भाउजू, यसो नगर्नुहोस् न, दाजु काममा जानुभा छ क्यारे । तपाईंलाई चाँडै नेपाल लाने कुरा छ रे उहाँले भन्या । हेर्नुहोस्, नेपालीको आज कत्रो बेइज्जेत भयो । हामीजस्तो त होइन नि । काठमाडौँमा घर, गाडी, नोकरचाकर त्यत्रो ठूलो जागिर भएर पनि तपाईंहरूले दुःख बेसाउनु भो । अहिले यस्तो भयो । उपचारै गराउन पर्ने भएछ । म दाइलाई फोन गरेर बोलाइदिन्छु ।”
सुनिताका कुरालाई वास्तै नगरी उनी भने चिच्याइरहिन् “यी !! डीभी ! यी ! डीभी !”

युवामञ्च २०६७ असोज

Narayan Tiwari – Nidayen (Nepali Laghu Katha)

नारायण तिवारी – निदाएँ (लघुकथा)
(Source: Gorkhaptra/शनिवार)

मृगौलाको डायलसिस गर्दा-गर्दा मरणतुल्य भएको छु । आर्थिक हैसियत छैन, गरिब छु । कतिदिन अझ बाँच्ने छु – केही ठेगान छैन । श्रीमतीका आँखामा हेर्छु – त्यहाँ आँसु छन् । अबोध छोराछोरी, हुर्कि नसकेका छोराछोरीका आँखामा हेर्छु – त्यहाँ एकसाथ आँसु र विछोडको भय छ । आफ्नो शिरबाट अभिभावकको हात सदाका लागि छुट्दा के होला – सोचेर, कलिला नानीहरूको हृदयमा तूफान छ, चोट छ, व्यथा छ ।

श्रीमतीले सबै गरिसकिन् – बेचिसकिन् सबै चल-अचल ज्यथा ! अब केही त छैन, यो एउटा दुःखगरी सिर्जना गरेको १० धुर जमिन र दुई कोठाको ससानो घर बाहेक । उनी यो पनि बेच्न भन्दैछिन् । म अड्डी लिंदैछु – अहँ हुँदैन । मेरो शेष पछि उनीहरूलाई फुटपाथमा मैले पुर्‍याउनु हुँदैन…।

त्यसैले उनीसित मेरो कलह छ । आँखामा आँसु त उस्तै हो, मेरो पनि छ, उनको पनि छ…।

एउटा ससानो जागीर रोगी भएकैले छुट्यो – प्राइभेट जागिरमा त्यस्तै हो । मालिकले समर्थहुँदा सम्म काम लियो असक्त भएपछि माखो झिकेर फ्याँकेझैं फ्याँकिदियो ।

गरिब भनेर निम्न वर्गीय गरिबको कोटीमा पनि परिन – जहाँ यो रोग भन्ने पनि पत्तो नपाई दिनहुँ कति-कति मरिरहेका होलान् । म त्यस्तो गरिब भएँ, अलि-अलि पढेलेखेको, अलि-अलि हातमुख जोड्न समर्थ, अलि-अलि सभ्य, जसलाई सजिलै मरिदिन पनि कठिन भयो ।

”के दियो यो परिवर्तनले तपाईंलाई…? खूब लोकतन्त्र गणतन्त्र भन्नुहुन्थ्यो, कुद्नुहुन्थ्यो, यो रोगले च्याप्दा के दियो तपाईंलाई ?……!” श्रीमती रुन्छिन्, चिच्याउँछिन् । साँच्चै यो देशका गरिबहरूलाई के दियो राज्यले…जिउँदैमा के दियो ? मलाई पनि चिच्याई दिन मन लाग्छ । तर म ज्यानको बाजी थापेर ल्याएको लोकतन्त्रलाई,गणतन्त्रलाई ह्रृदयबाट सहजै मिल्क्याउन सक्दिन…।

आज बजेट भाषण सुनिरहेको छु । पछाडि परेका जातजातीलाई छ बजेट । कोही धनी नै भए पनि ‘दलित’ भए देखिन् उसलाई पनि अरे बजेट । तर म गरिब नै भए पनि, रोगी नै भए पनि बाहुन अरे, मलाई थिएन । दलितलाई, महिलालाई, अपाङ्गलाई, वृद्ध-वृद्धालाई छ बजेट तर अहँ, मैले ध्यान दिएर सुनें – म गरिब रोगीलाई एक पैसा छैन ।

अचानक मृगौला डायलासिस निशुल्क राज्यले गरिदिने सुनें र तत्काल बाँच्ने चाहना जागेर आयो । तर तत्काल मुर्झाएँ । किनभने त्यो ७५ वर्षको बूढोलाई अरे, म ४५ वर्षको, अझै बाँच्ने चाहना भइरहेको गरिब रोगीलाई होइन अरे ! म गरिब, परिवर्तनका लागि जतिसुकै जनआन्दोलनमा चिच्याई-चिच्याई निरंकुशताको विरोधमा सडकमा ज्यानको बाजी राखेर उपि|mए पनि केही-केही छैन अरे…!

बोल्दा-बोल्दै निदाउन थालें । श्रीमतीलाई भन्छु – पीर नगर्नु ! राम्ररी छोराछोरीको हेर-विचार गर्नु । मैले केही दिन सकिन । एकदिन यसैगरी सुतेको सुतेई सदाका लागि विदा हुन्छु…! उनी बोल्दिनन् । रून्छिन् केवल…! म बोल्दा-बोल्दै निदाउन लागें । नि..दा..एँ….!

Bimal Nibha – Afimachi

विमल निभा – अफिमची

काठमाडौ, आश्विन २२ –

‘रे रामचन्दर
खिसियाइल बन्दर
मठिया के छुछुन्दर
रे रामचन्दर…।’

हामी केटाकेटी उसलाई चारैतिरबाट घेरेर उभिन्थ्यौं ।

ऊ फुटेको टाउको उचालेर हेर्थ्यो । त्यहाँबाट रगत भलभली बगिरहेको हुन्थ्यो । अर्धनग्न शरीरभरि पनि स-साना घाउ नै घाउ हुन्थे । अनगन्ती घाउ ।

‘का भइल रामचन्दर ?’ हामी (कराउन छाडेर) भन्थ्यौं ।

आफ्नो गालाको रगत गमछाले पुछेर ऊ हामीलाई ठूलठूलो आँखाले (ख्याउटे अनुहारमा दुई आँखा भने असामान्य किसिमले ठूला) हेर्थ्यो । त्यहाँ भयङ्कर क्रोध हुन्थ्यो ।

हामी डराएर भाग्थ्यौं ।

ऊ अलखियामठमै बस्थ्यो । त्यहीँको भण्डारामा खान्थ्यो । र धुनीछेउ साधु-सन्न्यासीहरूसँग बसेर साँझको चिलिम तान्ने गर्थ्यो । तर गाँजाभन्दा अफिमको बेसी सौखिन थियो । त्यसैले सबै उसलाई ‘अफिमची रामचन्दर’ भन्थे । यही नामले ऊ टोलभरि प्रसिद्ध थियो । उसको पूरा नाम कसैलाई थाहा थिएन ।

घुँडासम्म पुगेको धर्के अन्डरवेयरको इँजार तुर्लुङ्ग झुन्ड्याएर हिँड्ने रामचन्दर टोलमा हास्यको पात्र थियो । असाध्यै दुब्लो-पातलो शरीरमा यामानको टाउको । कुनै लठ्ठीमा हाँडी राखेको जस्तो । कालो हाँडीका दुवै गाला भने भित्रसम्म धसिएका थिए । कहिलेकाहीँ आधा बाहुको थोत्रो गन्जी लगाउँथ्यो । धेरैजसो मयलले कट्कटिएको नाङ्गो जीउमा यताउता डुलिरहन्थ्यो । कपाल जिङ्रिङ्ग । रामचन्दरलाई नुहाएको कसैले देखेको थिएन । ऊ पानीले मुख धुनसम्म असाध्यै गाह्रो मान्थ्यो ।

‘रामचन्दर नुहाउने हो ?’

‘…………. ।’

‘ननुहाएको कति भयो ?’ टोलवासी उसलाई जिस्क्याइरहन्थे ।

‘………… ।’

‘यो वर्षभरिमा एकपटक पनि नुहाएको छस् या छैनस् रामचन्दर ?’

रामचन्दरका दुई खोपिल्लाभित्रका ठूलठूला आँखा चम्किरहन्थे ।

‘एकलोटा पानी आफ्नो जीउमा खन्याउने हो भने पाँच रुपियाँ दिन्छु ।’ उसलाई नोट देखाइन्थ्यो ।

‘………. ।’

‘नोट नलिने रामचन्दर ?’

‘भाग चुतियाहरू… ।’ ऊ एक्कासी जंगिन्थ्यो ।

अलखियामठ पछाडि बाँसको घना झ्याङ थियो । त्यहीँनेर गएर अफिमची रामचन्दर बेस्सरी उफिन्थ्यो । भुइँमा लडीबुडी हुन्थ्यो । आफैंले मुड्की तानेर आफैंलाई बङबङ हिर्काउँथ्यो । ढ्याङ्ग पछारिन्थ्यो । र यताउताका ढुङ्गामा ठोक्किएर घाइते हुन्थ्यो ।

यस्तो महिनामा दुई-तीनचोटी हुने गर्थ्यो ।

घटीबढी पनि हुन्थ्यो ।

बीचमा अफिमची रामचन्दर एक-डेढ वर्षसम्म गायव थियो । एक बिहान मठियाको बाँस झ्याङनेर एकतमासले उफिरहेको देखापर्‍यो ।

‘रामचन्दरले यो के गरेको हो बमबम ?’ एकदिन हामीले बमबम (अलखियामठका मुख्य साधुलाई यसैगरी सम्बोधन गरिन्थ्यो) सँग सोध्यौं ।

‘तिमीहरूलाई किन चाहियो ?’ बमबमले हप्काए ।

‘होइन बमबम, भन्नोस्, यो रामचन्दरले यस्तो किन गर्छ ?’ हामीले जिद्दी गर्‍यौं ।

‘रामचन्दरले कुस्ती लडेको हो ।’ बमबम मुस्कुराए ।

हामीलाई चकित पाएर बमबम फेरि मुस्कुराए । अनि जोडले उद्घोष गरे- बमबम… । र हामीतिर हेरेर मधुर स्वरमा भने, ‘केटाकेटी भएर यस्तो पचडामा नपर, जाऊ, आ-आफ्ना घर जाऊ ।’

एकदिन अफिमची रामचन्दरकै पछि-पछि लागेर अफिम खानथालेको धनीरामको छोरो बाहुनले (सबैले बाहुन-बाहुन भन्दाभन्दै नाम नै बाहुन भइसकेको) मलाई सुटुक्क बतायो, ‘रामचन्दरले भूतसित कुस्ती लडेको हो ।’

‘भूतसित कुस्ती… ?’ मेरो स्वरमा आश्चर्य थियो ।

‘भूत नदेखिने भएकोले रामचन्दरले एक्लै कुस्ती लडेको जस्तो देखिएको हो ।’

‘हो र बाहुन ?’

‘अब म पनि भूतसित लड्ने विचार गरिरहेछु ।’ बाहुन गम्भीर थियो ।

धेरैपछि थाहा भयो, अफिमची रामचन्दरले भूतसित कुस्ती लड्नुपर्ने कारण अफिम नै थियो । अफिम खान नपाएर छट्पटी भएपछि ऊ यस्तो गर्थ्यो । र घाइते शरीर लिएर घर-घर डुल्थ्यो । यो बदमास भूतलाई मैले लडेर रोकिन भने टोलभरि उपद्रो गर्छ भन्थ्यो । अनि पैसा माग्थ्यो । सबै उसलाई अलिअलि चन्दा दिन्थे । यसैको ऊ अफिम किनेर खाने गर्थ्यो । अफिमची रामचन्दरको भूतसित कुस्तीको यही रहस्य थियो ।

आज अफिमची रामचन्दर अलि बढी नै घाइते देखिन्थ्यो ।

ऊ मठको केही उँचो स्थानमा रहेको पक्की इनारछेउ (आश्चर्य) उदास मुद्रामा बसेको थियो ।

‘रे रामचन्दर
खिसियाइल बन्दर
मठिया के छुछुन्दर
रे रामचन्दर… ।’

हामी सबै केटाकेटी सधैंझैं उसलाई घेरेर उभियौं ।

उसले क्रोधविहीन ठूलठूलो आँखाले हामीलाई हेर्‍यो ।

‘का भइल रामचन्दर ?’ हामीले एकसाथ भन्यौं ।

अफिमची रामचन्दरले केही नभनेर आफ्नो ताजा घाउ सुमसुम्याउन थाल्यो ।

(Source of this story: कान्तिपुर)