Atmaram Sharma – Dosh Rahit Dosh

आत्माराम शर्मा – दोषरहित दोष
(Source: असोज मधुपर्क, २०६८)

सोहनलाल चौधरीले एकाबिहानै फोन गर्दै भन्यो- “मुकुन्द, जरुरी काम छ, आज मलाई अफिसमा भेट्न सक्छौ ?”

के काम छ त्यस्तो जरुरी ? अर्को कुनै दिन फुर्सदमा भेट गरे हुँदैन ? मैले भनेँ ।

तिम्रो अनुकूल छ भने आजै भेट गर्न पाए हुन्थ्यो, उसले पुनः अनुरोध गर्‍यो । के काम छ ? फोनमा बताउन मिल्छ ? मैले उसलाई केर्दै सोधेँ ।

“हेर न मुकुन्द, एउटा नयाँ केस आयो । यो विषय अलि जटिल छ । लेखकको आवश्यकता पर्‍यो । साहित्यिक भाषामा लेखिएका इमेलका पत्रको अध्ययन गरेर घटनाको छानबिन गर्नुपर्ने भयो । तिमी साहित्यकार भएकोले सहयोग गर्छाैं कि भन्ने आशले फोन गरेको” उसले अनुरोधको भाषामा भन्यो ।

भेटघाटको विषय छ्याङ्ग भएपछि अपरान्ह पाँच बजे भेट्ने निधो गर्दै मैले फोन राखेँ ।

सोहनलाल मेरो कलेज पढ्दाको हितैषी साथीे हो । अपराध अनुसन्धान शाखामा डीएसपी छ । प्रहरीमा उजुरी परेका कतिपय घटना र अपराधका केस ऊ मलाई सुनाउने गर्छ । म ती घटनालाई लिएर साहित्य सिर्जना गर्छु । यो घटना पनि कथाको राम्रो प्लट हुन सक्छ भन्ने सोच्दै साँझ साढे पाँच बजे म उसको कार्यालयमा गएँ ।

सागर भन्ने मानिस बेपत्ता भएकोमा खोजी गरिदिन उसका छोरा, छोरी र श्रीमतीले केही प्रमाणसहित रिपोर्ट गरेका रहेछन् । सोहनलालले खोजबिनको क्रममा सागरसँग आदानप्रदान भएका तीनवटा इमेल अध्ययन गरेर कसको कारणले घटना घट्यो भन्ने पत्ता लगाउनुपर्ने केस रहेछ । उसले ती सबै इमेल पि्रन्ट गरेर मलाई दिँदै भन्यो -“मुकुन्द यी सबै गहिरो अध्ययन गर । दोषी को हुनसक्छ ? मलाई बताऊ ।” सोहनलालले निकै जोड दिँदै मलाई भन्यो ।

उसले दिएका ती इमेलपत्र यस्ता थिए-

सहृदयी दिदी अनुजा

मीठो सम्झना

आज बुद्ध पूणिर्मा, आकाशमा कहीँ कतै बादलका टाटा छैनन् । सफा आकाशमा जुनको टहटह हेर्दै म टोलाइरहेकी छु । यो मनको अथाह खुसी तिमीसम्म पुर्‍याउने शब्दको खोजीमा घोत्लिरहेकी छु । कुन शब्दैले मेरा उमङ्ग व्यक्त

गरौँ ? सोच्दै लेखिरहेकी छु । घरव्यवहार र साथीसङ्गीका धेरै कुरा यस अगाडि लेखिसकेकी छु । दाजु सागरको सहयोग र प्रेरणाले मैले लोकसेवाको अन्तर्वार्ता पास गरेँ । खरदारको जागिर खाएको पाँच वर्ष नबित्दै अधिकृतमा पास गरेकीले मैले थेग्नै नसक्ने गरी बधाई र सुभेक्षा प्राप्त गरेँ ।

अधिकृतको नियुक्तिपत्र लिएको दिन मेरो जीवनको उल्लासमय दिन थियो । कस्तो संयोग परेको अनुजा त्यो- दिन मेरो श्रीमान्को जन्म दिन, हाम्रो विवाह भएको र मैले अधिकृतको नियुक्तिपत्र बुझेको एकै दिन परेछ । यस्तो संयोग त बिरलै हुन्छ, हैन त अनुजा ?

आज यो उमङ्गको क्षणमा पनि मेरो पेट भतभती पोलिरहेछ । मेरा यी खुसी तिमीसँग साट्न पाइनँ । न त दाजु सागरसँग नै रमाउन पाएँ । खै के काम परेर हो गएको दुई दिनदेखि उहाँ अफिस आउनुभएको रहेनछ । लिखितमा मेरो नाम प्रकाशित भएपछि दाजुले धेरै पटक मलाई भन्नुभएको थियो -“लता म तिम्रै प्रगति हेर्न यो जागिरमा अल्भिmरहेको छु । घरको चाँजोपाँजो मिलेपछि अब म छिटै जागिर छाड्छु ।”

उहाँले यस्ता वैरागलाग्दा कुरा धेरै पटक गर्नुभयो । उहाँका उदास कुरा सुनेर मैले एक दिन बोल्दाबोल्दै बीचमै रोकेर भनेँ – दाजु Û तपाइर्ंका यस्ता दिक्कलाग्दा कुरा म सुन्दिनँ । अचानक मेरो मुखबाट त्यस दिन यस्ता शब्द निस्किएछन् । मेरा कुरा सुनेर त्यही क्षण उहाँले मलाई भन्नुभयो -“लता आजदेखि म मेरा कुनै पनि कुरा सुनाउदिनँ । तिमी पनि घरव्यवहार, उपहार साटासाट गरेका र तिम्रा दाम्पत्य जीवनका कुरा नसुनाऊ ।” अनुजा किन होला उहाँले त्यस दिन यस्तो कटुबचन बोल्नुभएको ?

गएको वर्ष श्रीमान्को जन्मदिनमा उपहार दिएकी थिएँ । यो कपडा दाजु सागरलाई मनपर्ने गेरु रङको थियो । श्रीमान्लाई यो रङ मन परेनछ । कस्तो जोगी रङको कपडा किनेकी ? मलाई जोगी बनाउने विचार छ कि कसो ? उहाँले टट्टा गर्दै भन्नु भएको थियो । तपाईं जोगी बन्नुभयो भने म पनि जोगिनी हुन्छु नि त – मेले जवाफ दिएकी थिएँ । यसपछि हामी दुवै पेट मिचीमिची हाँसेका थियौं । यो कुरा मैले सागर दाजुलाई सुनाउँदा उहाँले अनुहार नमीठोसँग खुम्च्याउनु भयो । यस पटक दिएको घ्यू रङको सुट पिस सागर दाजुलाई देखाउँदा उहाँले मन खिन्न पार्दै भन्नुभयो – मलाई यस्ता उपहारका कुरा नदेखाऊ ।

यसपछि हाम्रो भेट भएको थिएन । अधिकृत पद वहाली गरेको दिन उहाँलाई भेट्न गएँ । कोठामा उहाँ हुनुहुन्न थियो । त्यही दिनदेखि बेपत्ता भएको दाजुलाई आजसम्म मैले भेट्न सकिनँ । यो घटनाले मलाई निकै टेन्सन भएको छ । सागर दाजु कहाँ र कुन अवस्थामा हुनुहोला ? केही अनुमान गर्न सक्छ्यौ अनुजा ? मलाई छिट्टै इमेल गर ल ।

उही, लता लिम्बू,

स्नेही लता, हृदयभरिको माया । स-परिवार आराम छौँ । सम्पूर्ण परिवारको सुस्वास्थ्यको कामना गर्दछु । पछिल्लो पटक १० तारिखमा तिमीले पठाएको इमेल मैले पाएँ । हाँसो र आँसु दुवै मिसिएको इमेल पढेर म भावुक भएँ । पत्र पढेको रात खोई किन हो मेरा आँखा जोडिएनन् । अतीतको सम्झनामा मन रुमलियो ।

अहिले बिहानको ठीक चार बजेको छ । उठेर बिछ्यौना मिलाए । बाथरुम गएर नुवाइधुवाई गरेँ । मन अलि हल्का भयो र इमेल लेख्दैछु ।

देश छोडेर अमेरिका आएको सात वर्ष बितेछ । समयका पात कति छिटै झरेछन् । सम्झँदा आफैँलाई अनौठो लाग्यो । जीवनको भोगाई र नियति सम्झेर म छक्क परेकी छु । पहाड गाउँमा बितेका दुःखका ती दिन सम्भिmँदा मन अमिलो भएर आउँछ । पाँचथरको त्यो दुर्गम हिमाली गाउँमा बितेका हाम्रा दिन सम्झेर अहिले पनि मनमा गाँठो पर्छ । भावुकतामा डुब्दै कहिले काहीँ ती दुःखका आनन्दमा रमाउँछु ।

कतिपय घटना सम्झँदा अहिले पनि मन अत्तालिन्छ । हामी दुःखका साथी दिदीबहिनी थियौँ । मेरो पनि आˆनो भन्नु को थियो र ? मनको कुरा पोख्ने मेरालागि तिमी थियौँ, तिम्रा लागि म थिएँ । आमाले आत्महत्या गरेपछि झड्केलो बाबुले गरेको घृणा र अपमान तिमीलाई थाहा छँदैछ । मामाघरबाट सहयोग नपाएको भए मेरो पनि नियति आमाको जस्तै हुन सक्थ्यो । यिनै दुःखसुखका कुरा गर्दै हामी दुई घण्टा पैदल स्कुल जान्थ्यौँ । स्कुल जाउआउ गर्दा धेरैजसो सँगै हुन्थ्यौँ । बाटोको खाजा मकै, भटमास र रोटी खाँदै हामी घर र्फकन्थ्यौँ । कहिलेकाहीँ खाजा नहँुदा भोकले जीउ गल्दथ्यो । हिँड्न नसकेर गोडा फतक्क गल्थे । तिमीलाई सम्झना छ हैन त लता ? करिब पाँच वर्ष यसरी नै बिते । कक्षा अन्तरले गर्दा एक वर्ष अगाडि मैले एस. एल. सी. पास गरँे । तिमीले दोस्रो वर्ष गर्‍यौँ । जे भए पनि बाल्यकालदेखि नै मेरो मन मिल्ने साथी तिमी नै थियौँ ।

जीवन नदीजस्तै रहेछ ठोकिँदै बहनु पर्ने । कतै भँगालोमा पस्नु पर्ने, कतै सलल बगिरहन पाइने । नदीको गतिजस्तै रहेछ हाम्रो जीवन । कलेज पढ्दा हामीलाई अभाव र गरिवीले थचक्कै थिच्यो । गाउँमा भन्दा पनि बढी लखट्यो । हामी काठमाडौँका गल्लीमा भौतारिँदै हिँडिरहेका थियौ । बाटो बिराएका यात्रीजस्तै बरालिएका थियौँ । बागबजारको घुमाउरो गल्लीमा टाढाको नाता पर्ने सागर दाजुसँग हाम्रो भेट भयो । मलाई लाग्छ – त्यही भेटले तिमीलाई यहाँसम्म पुर्‍यायो र मलाई अमेरिकासम्म ल्यायो ।

लोकसेवाले हामीलाई दुईपटक अयोग्य सावित गरिसकेको थियो । यिनै चोट र खोटले गर्दा दुवैले डीभी भर्‍यौँ । मलाई डीभी पर्‍यो र मैले देश छोडेँ । तिमीले तेस्रो पटकमा लोकसेवा पास गर्‍यौ र जागिर खायौ । हो, आज म ती बितेका दिनहरू सम्झँदै इमेल गर्दैछु । म अमेरिका हिँड्दा तिमी भक्कानिएर रोएकी थियौ । मैले पनि मन सम्हाल्न सकिन र घोप्टो परेर रोएँ । अनगिन्ति हण्डर, ठक्कर खाँदै म अमेरिका आइपुगेँ । सेटल हुन यहाँ मैले गरेका दुःख लेखिसाध्य छैन । बर्मा गए पनि कर्मसँगै- पुर्खाले भनेको सायद यही रहेछ ।

मेरो जीवनको सबैभन्दा खुसीको क्षण तिमीले लोकसेवा पास गरेको दिन हो । आहा Û यो खबर सुनेको दिन म कति खुसी भएँ -म व्यक्त गर्नै सक्तिनँ । त्यो खुसी थेग्न नसकेर कोठामा म छम्छमी नाँचेथेँ । अमेरिकामा नजिक रहेका नेपालीबीच खुसी साट्दै मैले भनेँ – मेरी साथी लता लिम्बूले अधिकृतमा पास गरी । खुसीले उनीहरू पनि उम्लिए र मैले पाँच सय डलर खर्च गरेर उनीहरूलाई भोज खुवाएथेँ ।

सागर दाजुको सुझाव र विशेष सहयोगले म अमेरिका आएँ । उहाकै प्रेरणाले तिमीले लोकसेवा पास गर्‍यौ । कस्तो संयोग- तिम्रो पोस्टिङ उहाँकै कार्यालयमा भयो । खरदारबाट सुरु भएको तिम्रो जागिरे जीवन सागर दाजुकै सहयोगले अधिकृत भयौ । एउटै कोखको दाजुले गर्ने सहयोगभन्दा पनि बढी उहाँको सहयोग पाएर जागिरमा तिमीले गरेका प्रगतिका खबर सुन्दा म खुसीले बुर्लुक्क उप|mन्थँे ।

तिम्रो पिरले मलाई सधैँ सताइरहन्थ्यो । पहाड गाउँदेखि नै सौतेनी आमाको पेलाइले उदासिएको तिम्रो अनुहार सागर दाजुको अपनत्वले उज्यालिँदै गएको थाहा पाउँदा म फुरुङ्ग हुन्थेँ । उहँाकै आडभरोसामा त्यो बिरानो काठमाडौँमा तिमीलाई छाडेकी थिएँ । हुन त म अमेरिका उड्ने भएपछि दाजुले मलाईभन्दा पनि बढी माया तिमीलाई गर्न थाल्नुभएको थियो । मलाई थाहा छ उहाँले नै लोकसेवाको र्फम भरिदिनुभएको थियो । काठमाडौँमा कसरी बाँच्नुपर्छ ? लाठे केटाहरूका क्षेप्यास्त्रजस्ता हेराईबाट कसरी जोगिनुपर्छ ? उहाँले नै हामीलाई सिकाउनु भयो ।

बहिनी लता

लोग्नेमानिसको मनलाई तिमीले अझै नजिकबाट बुझ्न सकेकी रहिनछ्यौ । उनीहरूको हृदयलाई सूक्ष्मरूपले नियाल । केटा मान्छेको मन भाँचियो भने काठजस्तै टुक्रिन्छ । पछि जति जोडेर टाँसे पनि भाँचिएको काठ छुटिन्छ र कमजोर हुन्छ । सागर दाजु मेरो टाढाको आफन्त भएकोले उहाँको बारेमा थोरबहुत मलाई थाहा थियो । उहाँको व्यक्तिगत जीवन सफल छैन भन्ने कुरा तिमीलाई केही सङ्केत गरेकी थिएँ । यो कुरा सुनेर उतिखेर तिमीले भनेकी थियौ -“यसै कारणले होला उहाँको मुहार सधैँ उदास देखिन्छ” मानिसको व्यक्तिगत जीवन असफल भएपछि उनीहरू रूखा हुन्छन् । मैले मनोविज्ञानमा पढेकी थिएँ – जीवनदेखि निस्सासिएका मानिसलाई नारीको कोमलताले पगाल्छ । हाम्रो धार्मिक कथाहरूमा यस्ता धेरै प्रसङ्ग छन् । हामीले थोरबहुत पढेका र सुनेका छौँ ।

लता Û धेरै के लेखौँ ? काममा जान हतार भइसक्यो । तिमी आफू थोरै पग्लिएर भए पनि सागर दाजुलाई सम्हाल । उहाँ जस्तो असल मान्छे हामीलाई मात्र होइन अरू धेरैलाई आवश्यक पर्छ । म आशा गर्छु, बहिनी तिमीले उहाँलाई जीवनदेखि पलायन हुन रोक्नेछ्यौ र उहाँको खोजी गरेर सम्हाल्नेछ्यौ भन्ने विश्वास गरेकी छु ।

उही अनुजा, दिदी अनुजा Û

जीवनमा निकै परिपक्व भएँ र खारिएँ भन्ने लागेको थियो तर होइन रहेछ । यात्राको ठाडो भीर रहेछ जीवन । कुन भीरबाट को कतिखेर खस्छ केही भन्न सकिँदोरहेनछ । अघिल्लो महिना अधिकृतको तालिम लिन म केन्द्रमा १५ दिन काजमा गएकी थिएँ । त्यसको भोलिपल्ट सागर दाजुले जागिर राजिनामा गर्नु भएछ । यो कुरा थाहा पाएर मैले उहाँलाई मोवाइलमा सम्पर्क गरेँ । उहाँको छोरोले उठायो । बाबा खोइ त बाबु भनेर सोद्धा -“उहाँ कहाँ जानु भयो, हामीलाई पनि थाहा छैन । एक हप्तादेखि बाबा बेपत्ता हुनु भयो, खोजी गरिदिन पुलिसमा हामीले रिपोर्ट गरेका छौँ” उसले हडबडाउँदै जवाफ दियो । उसको कुरा सुनेर म खङ्रङ्गै भएँ । यो खबर सुनेदेखि दिन मेरा लागि रात बन्यो । रात आँसुको पोखरीमा परिणत भयो । उहाँ बेपत्ता भएको दुई महिनापछि हिजो मात्र हुलाकीले अफिसमा आएर चिठी दिएर गयो । चिठी पढ्दापढ्दै म भक्कानिएर रोएँ । मैले नजिकबाट उहाँलाई चिहृन सकिँनछु । टाढाबाट जति चिने त्यो परिचय अपूरो रहेछ । सागर दाजुले लेखेको त्यो चिठी मैले स्क्यानिङ गरेर इमेल गरेकी छु । पढेपछि मलाई इमेल गर ल अनुजा ।

बहिनी लता

हृदयको सम्झना,

उज्ज्वल भविष्यको कामना गर्दछु । जीवनमा कुनै चोट र अप्ठेरा नपरुन् हृदयदेखि नै प्रार्थना गर्दछु ।

मैले धेरै पटक जागिर छोड्ने प्रयास गर्दा तिमीले मलाई भनेकी थियौ – “अरू कुनै काम नभई जागिर छोड्नु हुँदैन । खाली दिमागमा सैतानले बास गर्छ ।” तिम्रो यही सल्लाहले मैले जागिर छोड्न सकिनँ । तिमीले जागिरमा गरेको प्रगति मलाई जागिरमै बसेर हेर्ने रहर थियो । योे उत्कट चाहना तिमीले पूरा गरिदियौ । धन्यवाद छ मेरो इच्छा पूरा गरिदिएकोमा । अधिकृतको पत्र बुझेपछि तिमी तालिममा गयौँ । तिमी गएको दोस्रो दिन मैले जागिर राजिनामा गरे । मलाइ माफ गर -मैले भेटेर भन्नु पर्दथ्यो तर भन्न सकिनँ ।

पाँच दिनपछि राजिनामा स्वीकृत भएको पत्र पाएँ र त्यही दिनदेखि मैले आफूलाई बदले । यसको मतलव म नास्तिकबाट आस्तिकमा रूपान्तरण भएको होइन । पूर्वजले भन्दै र मान्दै आएको ईश्वरीयसत्ताको खोजीमा म लागेँ । अहिले भौतिकवाद र आध्यात्मवादको अन्तर खोतल्ने प्रयासमा छु । हाम्रो पूर्वजको ईश्वरीयसत्ताको गहिराई बुझ्न मन लाग्यो र मैले बाटो परिवर्तन गरेको हुँ । सम्पूर्णरूपले आफूलाई बदलेको होइन ।

बहिनी Û तिमीलाई अचम्म लाग्ला- यति छिटो ममा यत्रो परिवर्तन कसरी आयो ? यो मेरो कुनै लहड र सनक होइन । विगत केही वर्षदेखि मैले खोजेको कुरा हो । सबैतिरबाट हारेका र जीवनदेखि विरक्तिएका धेरै मानिस आशाको मसिनो त्यान्द्रोमा अल्झेर बाँचेका छन् । मैले पनि आध्यात्मवादको अध्ययन गरेर बाँकी जीवन बिताउने निर्णय गरे । यो संसारमा धेरै महापुरुष, जोगी, सन्न्यासी जसरी वरत्र विर्सिएर परत्र सपार्ने धुनमा आफूलाई बिर्सिरहेछन् । मेरो पनि अवस्था विगत केही वर्षदेखि यस्तै थियो । टाढा क्षितिजमा धीपधीप बलेको प्रकाश हेरेर म बाँचिरहेको थिएँ । आज त्यो क्षितिजको बत्ती निभ्यो र मैले घर छोडेँ । सीधा भाषामा भन्नुपर्दा – वरत्र छोडेर म परत्रको यात्री बनेँ ।

पाँच वर्ष एउटै कार्यालयमा सहकार्य गर्दा मेरो ओइलाएको अनुहार नियालेर पक्कै केही अन्दाज गरेकी थियौ होली ? अरू कसैले कानेखुसी गर्दै केही भनेका पनि होलान् । मेरो पारिवारिक जीवन खोतल्न खोज्दै तिमीले कुनै दिन भनेकी थियौ -“दाजु संसारका कुनै पनि मानिस सुखी छैनन् र कोही दुःखी पनि छैनन् । दुःखलाई जसले सुख सम्झेर भोग्छ त्यही व्यक्ति सुखी र सफल हुन्छ ।” अर्को कुनै दिन घुमौरो भाषामा तिमीले मलाई सोधेकी थियौ- “सागर दाजु, तपाईंलाई दुःखको कुन पहाडले थिचेको छ ? मनको पीडा अरूलाई बतायो भने हलुका हुन्छ भन्छन्” । यस विषयमा अरू कुनै दिन कुरा गरौँला, मैले भनेको तिमीलाई सम्झना छ हैन त लता ?

बहिनी

मनको मैलो म पखाल्न चाहान्थे । मिचीमिची म धुन खोज्दै थिएँ । तिमीले कुनै दिन अवश्य सोध्नेछ्यौ भन्ने मैले सोचेको थिएँ । तिम्रा प्रश्नको जवाफ दिन दुई वर्षसम्म मैले पर्खे । खोई किन हो ? मेरो व्यक्तिगत जीवन खोतल्न चाहिनौ । दुःखीको सङ्गत गरेर किन दुःख बढाउनु भन्ने सोचेर होला । मेरा पीडाका पुस्तक पढ्न त परै जाओस्, त्यसको अनुहारसमेत हेर्न चाहिनौँ । म चाहन्थेँ दमित मनमा पुरिएको अथाह पीडाको पोखरी तिमीलाई देखाउन । रहर थियो- तिम्रो काखमा घोप्टो परेर पोखिन । भित्रभित्रै पाकेका घाउका पीप तिम्रो हातबाट निचोर्न चाहन्थे । कटु बचनले तिछोरिएका शरीरका डाममा मलम लगाइदिन्थ्यौ कि भन्ने आशा थियो । धिक्कार Û मैले कस्तो इच्छा राखेछु ।

बहिनी मनमा गुम्सेका अटेसमटेस भावना बाहिर निस्किए । आज ४५ हिउँद पार गर्दासमेत मैले कसैबाट सम्झना प्राप्त गर्न सकिनँ । म अपमानको पहाडले थिचिएको दुःखी मानिसको अगाडि तिम्रा जन्म दिन, विवाहको वर्ष गाँठमा भएका आदान-प्रदान तिमी देखाउँथ्यौ । भोकले छट्पटाएको मानिसलाई खाना देखाएर ईख्याएजस्तै लाग्थ्यो तिम्रो त्यो व्यवहार । मेरो भत्किएको जीवन थाहा हुँदाहुँदै यी सबै काम मेराअगाडि गथ्यौँ । किन यसो गर्‍यौ ? मैले बुझ्न सकेको छैन । म सधैँ खुसी रहन्थेँ -तिम्रो त्यो उल्लासमय जीवन देखेर । भित्रभित्रै म खुसीले गदगद हुन्थे तिम्रो प्रगति र उन्नति हेरेर ।

बहिनी मलाई माफ गर मन दुःखेको कुरा गरेँ । यति खेर म सोचिरहेको छु – दोष तिम्रो होइन मेरै हो । धेरैलाई साथी बनाएँ कतिपयलाई गुमाएँ । जसलाई मैले साथी बनाए, तीमध्ये कसैलाई पनि आˆनो बनाउन सकिनँ ।

बहिनी घर छोड्ने दिन फोन गर्छु भन्दाभन्दै अनुकूल नमिलेर फोन गर्न सकिनँ । त्यसदिन म निकै व्यस्त भएँ । बिहान चार बजे उठेर कपडा धोएँ । खाना खाएर तीर्थयात्राको टिकट लिएँ र केन्द्रीय कार्यालयमा गएर पेन्सनपट्टा बनाएँ । बाबु हुनुको कर्तव्य पूरा गर्न छोरा छोरीको बैङ्क खातामा बिहादानका लागि केही पैसा जम्मा गरिदिएँ ।

साँझ पशुपति गएँ । मुक्तिमण्डलमा बसेर जोगीसँगै गाँजा तानेँ । धेरै वर्ष भयो यो जोगीसँग मेरो सङ्गत भएको । उसलाई केही पैसा दिए । भोलि म तीर्थयात्रामा हरिद्वार जाँदैछु भन्दा ऊ धेरै खुसी भयो । “अब बाँकी जीवन बिताउन म पनि उतै आउँछु । अर्को वर्ष तपाईंलाई हरिद्वारमै भेट्नेछु ।” म हिँड्ने बेलामा जोगीले भन्यो ।

जोगीको अखडाबाट उठेर म पारि गएर बसे । गायक भक्तराज आचार्यको स्वरमा भजन गुन्जिरहेको थियो –

एक दिन मैले प्रभुसँग सोधे

कसरी शान्ति मिल्छ

कस्तो कस्तो कर्म गरेपछि

प्रभुको दर्शन मुक्ति मिल्छ ।

भजनको तालमा मानिसहरू झुलिरहेका थिए । कोही आँखा चिम्लिदै भजनको भावमा चुर्लुम्म डुबेका थिए । छेउमा गाजाको राग उडिरहेको थियो । इहलिला समाप्त भएका दुईवटा लाश ब्रहृमनालको दायाँबाँया तेसिर्ंएका थिए । सुन्दर मानवीय जीवन लाशमा बदलिएको दुःखद हविगत देखेर मानिसहरू टोलाइरहेका देखिन्थे । आफन्तहरू लाशको नजिकै झुम्मिएर रूँदै कराउँदै थिए । आर्यघाटका कुनै चिता खाली थिएनन् सबै जलिरहेका थिए । केही लाश पालोको प्रतीक्षामा छन् । मानिसको अस्तित्व समाप्त भएर आकाशमा बिलीन भएको धूवाँ हेर्दै म टोलाइरहेको थिएँ ।

बहिनी Û आखिर के रहेछ र मानिसको जीवन ? पिता पुर्खा गएको बाटो सबैले जानैपर्नै रहेछ । नाथे यो एकबारको जीवनमा मानिस किन घमण्ड गर्छ ? मात्र धुवाँमा विलय हुने जीवनमा मानिस किन अहङ्कार गर्छ ?

सतकर्म नभई चित्त शुद्ध हँुदैन

चित्त शुद्ध नभई सन्तोष हुँदैन

सन्तोष नभई मन स्थिर हँुदैन

मन स्थिर नभई शान्ति हुँदैन ।

भजनको अर्को अनुच्छेद सुन्दै म उठेँ । त्यो दिन १४ तारिख थियो । मसान वैराग्य बोकेर घर र्फकेँ । घर भन्नु नै के थियो र फगत रातको बास थियो । जरुरी कपडाको सानो पोको बनाएँ । बिहानको तीन बजेको थियो । घरको मूलढोका बिस्तारै खोलेँ । बाहिर तुलसीको मोठलाई परिक्रमा गरेर ढोगेँ । अलिपर पुगेर एक पटक घरलाई नियालेर हेरेँ । त्यही क्षण मनले भन्यो – यो ठाउँमा तेरो भोग यत्ति नै रहेछ ।

– उही, सागर

माथिका इमेल मैले दोहोर्‍याएर पढेँ । दुई दिनपछि पुनः गहिरो अध्ययन गरँे । सागर पलायन हुनुमा दोष कसको हुन सक्छ ? भनेर निकै घोत्लिए । साथी सोहनलाल चौधरीको अनुसन्धानमा शङ्कास्पद देखिएका बहिनी लता, अनुजा, सागरको घरपरिवार र जोगी, यीमध्ये को दोषी छन् ? इमेल अध्ययन गरेर मलाई भन –

चौधरीले पटकपटक मोबाइलमा मलाई भनेको थियो ।

धेरै दिन घोरिएँ, मैले कुनै अनुमान नै गर्न सकिनँ ।

यो कथा पढेर दोषरहित दोषी को हो ? तपाईंले अनुमान गर्नु भयो कि ?