Mitra Pathak – Farak Farak Ruwaai (Nepali Laghu Katha)

मित्र पाठक – फरक फरक रुवाई

‘नाई, आज म अघाउन्जेल खाने हो’ पाँच दिन अगाडि म सदरमुकाम गएर आएपछि अघाउन्जेल भातै खालास भन्नु भएको होइन ? जाजरकोटको एउटा गाउँमा छोरो बाउसँग रुँदै थियो अघाउन्जेल सेतै भात खान पाउनु पर्छ भन्ने माग राख्दै ………।

त्यति नै बेला राजधानी को एउटा घरमा काम गर्ने नोकर हकारिंदै थियो – ‘पाजी, यत्रो वर्ष काम गर्दा पनि तँलाई अक्कल छैन? मेरो पप्पीले चिकन खाँदैन भन्ने थाहा हुँदा-हुँदै झुक्काएर मटनको ठाउमा चिकन दिन्छ्स, चाँडो मासु-मासु छानेर प्लेटमा राखिदे…. हेर त बिचरा मेरो पप्पी रोइरहेको ……. ।’

आखिर ती रुवाई…. रुवाईहरू नै थिए जेसुकै मागका लागि होउन्…….।

मित्र पाठक “राजु”
देवचुली-८ सिताबास , नवलपरासी
हाल: किर्तिपुर, काठमाडौँ

Rajesh Natansh – Ateet Ka Ti Palharu

राजेश नतांश – अतीतका ती पलहरू

अनायासै, मध्यरातमा एक्कासि म ब्यूझिएँ। सानो मैनबत्तिको धिपधिप गर्ने प्रकाशमा म केही लेख्न खोज्दै थिएँ। वातावरण सुनसान थियो। दिमागमा एकआपसमा पात्रहरू तयार भएर बसिरहेका थिए। बस् त्यसलाई कापीमा उतार्नुपर्ने थियो। छिमेकमा दुई बुढाबुढी एकआपसमा घर–सल्लाह गर्दै थिए। उनीहरूको प्रष्ट संवाद सोझै मेरो कानमा तरङ्गित भईरहेको थियो। उता उर्मि भने चाहिँ आफ्नो तन्द्रालाई अँगाल्न सकेकी थिइन। कसरी पाओस् त सुत्न। दिनभरि चर्किलो घाममा लेभरकाम गिट्टी, ढुङ्गा, इट्टा बोक्नुपर्ने बाध्यता त्यही माथि श्वासको बिमारी। उनको छोरो ‘संकल्प’ पनि बेस्सरी रूँदै थियो। उर्मि खोक्दै फुल्याउँदै थिई। त्यसलाई के भएको थियो कुन्नी थाहा थिएन।

मध्यरात। आकाशमा जुन ताराहरू लागिरहेका छन्। उज्यालो हुन लागेको हुन लागेको भाना भईरहेको थियो। चकमन्न त्यस समयमा एउटा आवाजले मलाई ब्युँझाएको थियो। गाउँमा कतै कहालीलाग्दो किसिमले कुकुर रोइरहेको थियो। त्यो कुन वेदनामा रोइरहेको थियो स्पष्ट थिएन। यसअघि मैले यसरी कुकुर रोएको कहिल्यै सुनेको थिइन।

रातको ठूलो घम्साघम्सीपछि विहानीको सूर्यको किरण मेरो ओछ्यानसम्म आइपुग्यो। उठ्न मन लागेको थिएन मलाई। त्यैपनि दैनिक कर्मकाण्डका लागि म उठेँ। बाहिर निक्कै हल्ला–खल्ला थियो। धेरै मान्छेहरू जम्मा भएका थिए, उर्मिको आँगनमा। कोही, “विचरी” अनि कोही चाहिँ, “अब यो कसरी बाँच्छ होला।” भन्दै थिए। मलाई के भएको हो भनि ठम्याउन मुश्किल पर्यो।

अचम्म! उर्मिलाई सेतो कपडाले बेरेर सुताइएको थियो। संकल्प,“आमा! आमा!!” भनेर उठाउन प्रयासरत थियो। तर त्यो कोमल आवाज उर्मिले सुनेकी थिइन। यस्तो उल्लासपूर्ण दृश्य देखेर म मलिन भएँ। अनायासै मेरा आँखाहरू रसाउन थाले। मैले आफूलाई रोक्नै सकिनँ। मैले उनको पीडादायक अतीतहरूलाई सम्झेँ।

कति दुःखी र मेहनती थिई उर्मि। कति सपनाहरू उनले मसँग सजाएकी थिई। उनलाई मेरो खाँचो थियो। उनको जीवनमा दुःख शिवाय अरू केही थिएन्। बिचरी! विहान सखारै उठ्थी। घर–कसेर लगाउँथी। हरेक सर्जाम गरेर बिहानीको खाजा तयार गर्थि। त्यही खाजाको भरमा दिनभर दुःखसँग लड्थी उर्मि। आफ्नो गर्जो भर्न दिनहुँ आफूभन्दा अजङ्गको भारी बोक्नुपर्ने बाध्यता थियो उनमा। सधैंजसो बिमारी परिरहन्थी ऊ। लाऊ–लाऊ, खाऊ–खाऊ भन्ने समयमा उनले जस्तो दुःख अरू कसैले गरेको थिएन।

ख्याउटी, पातली, दुब्ली उर्मि दिनभरिको कष्टप्रद क्षणलाई परास्त गरेर जब घर फर्किन्थी ऊ। म सधैँजसो पढिरहेको देखेर, आफ्नो सम्पूर्ण दुःख बिसाउँदै भन्ने गर्थि,“राजेश मैले पैसा जम्मा गरिसक्या छु, अब त संकल्पको स्कूल हाल्ने बेला पनि भयो होला, यसलाई नि पढ्न सिका हैं। के गर्नु! म भ्याउँदिन्। दिनभरिको कामले गलेर निद्रा लागिहाल्छ।”

लोग्ने भनाउँदो बुद्धिमान उर्मिलाई दोबाटो छाडेर कहाँ गएको थियो पत्तो थिएन। अनेकन वाचा–कसमहरू खाएर जालमा पारेको थियो त्यसले उर्मिलाई। रोमियो–जुलियट, लैला–मजनु, हिर–राँझा, सिरी–फरहद, मुना–मदन, शाहजहाँ–मुमताजजस्ताको आदर्श प्रेमलाई छविकरण गर्दै सँगै मर्ने, सँगै बाँच्ने कसम खाएको थियो उसले तर ति वाचा–कसमहरूलाई बिर्सिएर अदृश्य भएको थियो ऊ।

बिचरी उर्मिले आफ्नो लोग्नेलाई नखोजेको पनि होइन। थाना, अड्डा, प्रहरी, प्रशासन आदि सबैमा चहारेकी थिई उसले तर अफसोच भेट्न सकिन आफ्नो बुद्धिमानलाई।

उसले आफूभन्दा बढी माया गरेकी थिई बुद्धिमानलाई। उसको प्रेमका खातिर उर्मिले आफ्ना आमाबुवा, नातागोता, पढाई, मित्रजन सम्पूर्ण कुराहरूलाई त्यागेकी थिई तर अफसोच सम्पूर्ण कुराको त्याग गर्ने उर्मिलाई बुद्धिमानले विनाकारण नै त्यागेको थियो। तर महान छिन् उर्मि, यस्तो छलि संसारलाई चुनौती दिदैँ अन्ततः उनले आफ्नो नासोलाई जन्म दिने नै वाचा गरि।

“राजेश दादा! आमालाई के भो? किन आँगनमा सुत्नु भो?” यस्तो अबोध प्रश्नले म आफैँमा भस्किएँ। मैले त्यस बालकलाई कसरी ‘तेरो आमा मरि’ भनुँ। म कसरी ‘तेरो आमाले तलाई यो संसारबाट एक्लै छोडे गई’ भनुँ। म नाजवाफ भएँ। ऊ सधैँ मेरो घरमा आउथ्यो र अक्सर भन्ने गर्दथ्यो,“दादा म पनि थुलो भएर, तपाइ दस्तै कम्पुतर चलाउँछु, धेरै पध्छु र आमालाई पाल्छु।” म उसको यस्तो सपना देखेर म उसप्रति गर्भान्वित भएको थिएँ। किनकी उसको त्यो सपनामा आफ्नो आमालाई छुट्टाएको थिएन्, उसले आफ्नो आमाको दुःख देखेको थियो। तर आज ति सपनाहरू सबै चकनाचूर भएँ। खहरेमा आएको बाढीको भेलझँै उसका ती सपनाहरू भताभुङ्ग पारेर लगेको थियो। उर्मिले उसलाई टुहुरो बनाएर गएकी थिई। उसको सपनालाई तोडेर गएकी थिई।

Adarsha Khatri – Sukumbaasi (Laghu Katha)

आदर्श खत्री – सुकुम्बासी
मधुपर्क, चैत २०६७

भएको जम्मा एक विघाहा बारी उसलाई पचेन । ऊ मात्र होइन देशभरिका हजारौँलाई बेउब्जाउ जग्गाले पोलिरहेको थियो र त सबैजना हानथाप गर्दै अर्कैलााई दिन उद्धत थिए । उसलाई घरमा रहेकी दोजिया श्रीमतीको चिन्ता पटक्कै थिएन, न त साठी काटिसकेकी बूढीआमाको नै । छोरालाई उच्चशिक्षा पढाउनु पर्ने थाहा पाएर पनि ऊ निश्चित सुकुम्बासीको बिल्ला पाउन लालायित थियो । महिनौंको भनसुन र चाकरीपछि बल्लतल्ल उसको पालो आयो । आज उसमा खुसीको सीमा नै रहेन । आफूलाई आधुनिक जमानाको अनौठो युद्ध जितेर घर फर्किएको योद्धाझैँ सम्भिmरहेको थियो । उसको खुसीमा परिवारका हरेक सदस्यले गर्व महसुस गरे ।

अब उसको श्रीमती विशेष सेवाका साथ उच्चस्तरीय अस्पतालमा सुत्केरी हुन पाउने भइन् बूढीआमाले सुसारे पाउने भइन् । छोरा उच्चशिक्षाको लागि अमेरिका जाने पक्का भयो । परिवारको आर्थिक समस्यामा टाउको दुखाइरहनु पर्ने भएन । काठमाडौँका चिल्ला सडकहरूमा पजेरो हुँइकाएर हिँड्न पाउने भयो । सुरक्षाको लागि बडीगार्ड पायो ।

समाजसेवीका नामले देश-विदेश भ्रमण गर्न पाउने भयो । किनकि उसले आफ्नो सम्पूर्ण सम्पत्ति पार्टीका नाममा नामसारी गरेको थियो ।

– नारायणपुर, दाङ, हालः काठमाडौँ

Dr. Rishi Raj Baral – Cantonment Number 3730

डा. ऋषिराज बराल – क्यान्टोनमेन्ट नम्बर ३७३०
(Source: मधुपर्क २०६५ चैत)

हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो यसयलआर र माथिदेखि तलसम्म सुमसुम्यायो । उसका आँखा कतै केन्दि्रत भए । कतै हराएजस्तो, कतै टोलाएजस्तो देखियो ऊ । सायद ऊ केही सोच्न थाल्यो । हातमा पर्नेबित्तिकै ऊ त्यसलाई सुमसुम्याउँछ, मायाँ गर्छ । छातीमा टासौँटासौँ जस्तो लाग्छ, अँगालो हालिरहौँ जस्तो लाग्छ । कक गर्छ-हावामा त्यसै निसाना लगाउँछ-कहिले रूखतिर तेस्र्याउँदै र कहिले परको डाँडोतिर तेस्र्याउँदै । यस्तो बेला भित्रभित्रै उकुसमुकुस भएको तातो हावा एकै सासमा बाहिर निस्किने गर्छ ।

आज फेरि हतियार सफा गर्ने दिन हो । यसका लागि पनि समय र दिन तोकिएको छ । एउटा रूटिनमा छ जीवन । यस क्यानटोनमेन्टमा बसेको पनि दुई वर्ष हुन लागेछ । यो यसयलआरबाट गोली नछुटेको पनि दुई वर्ष भएछ । गोली लोड गरेर एकपल्ट पड्काउन पाए हुन्थ्यो-परको त्यो रूखलाई निसाना बनाएर । यस्तै लाग्छ उसलाई । खिया लाग्यो कि, चिन्ता लाग्छ उसलाई ।

क्यान्टोनमेन्ट ।

लाग्छ, यो क्यान्टोनमेन्ट होइन कैदखाना हो, झ्यालखाना हो । केही पनि त सुविधा छैन । यही घेरा, यही कम्पाउन्ड, काँढेतार भित्रको जीवन । यता घुम्यो उता घुम्यो फेरि त्यही पानी चुहुने छाप्रो । मालचरीको बथानझैँ कहिले पूर्व, कहिले पश्चिम कति स्वतन्त्र र कति फुक्का थियो त्यो जीवन । “आमा, हामी दुश्मनको क्याम्प कब्जा गर्न जाँदैछौँ, लौ रातो टीका लगाइदिनोस् ।” आहा, ती दिनहरू सम्भिmँदासम्भिmँदै मन केके हुन्छ । कहिलेकाहीँ काम विशेषले बाहिर निस्किए पनि बेलुका फेरि आउनुपर्ने त्यहीँ हुन्छ । बाहिर निस्किएको निस्किएै गरौँजस्तो लाग्छ उसलाई तर फेरि तान्छ त्यही प्यारो यसयलआरले । कसरी छोड्न सक्छ ऊ यसलाई । राइफल भन्छ ऊ यसलाई, यही नाम प्यारो लाग्छ, भन्न पनि सजिलो-राइफल । किन छाडेर जाने ? किन भाग्ने ऊ ? हतियारबिना एकछिन पनि कस्तोकस्तो लाग्ने मान्छ हो ऊ । यहीँ क्यान्टोनमेन्टमा त हतियारबिना असुरक्षित असुरक्षित लाग्छ उसलाई । अहँ भाग्ने त कुरै छैन । के भन्लान् घर-परिवार, गाउँले र कामरेडले । ऊ त युद्ध जितेर आएको सिपाही हो । दुश्मनलाई हायलकायल पारेर, प्रत्याक्रमणको चरण पूरा गरेर आएको जनमुक्ति सेना हो, जनगणतन्त्र-जिन्दावाद । फलानो डिभिजन र कम्पनी नम्बर यतिको कमान्डर भाग्यो…. । यस्तो भनाइ ऊसित जोडियोस्, उसलाई मन पर्दैन । भगुवा, अँह यस्तो हुनै सक्तैन । विद्रोह, यो शब्द उसलाई असाध्यै मनपर्छ-विद्रोह गर्नु ठीक हो । कायरहरू अनि पलायनवादीहरू मात्र भाग्छन् । एक्लै मुन्टो हल्लाउँछ ऊ अस्वीकृतिमा ।

“के सोच्तै हुनुहुन्छ हौ कमरेड”-सपना कमरेडको स्वर परैबाट चिन्दछ ऊ ।

“युद्ध, क्यान्टोनमेन्ट र लोकतन्त्र सोचेको ।”

स्वरमा केही आक्रोश र पीडाजस्तो पनि छ ।

“अब त केही टुङ्गो लाग्छ होला होइन ?” “तर हामी हतियार बुझाउँदैनौँ । जनताका दुश्मनहरू हतियार बुझाउने र नष्ट गर्ने कुरा गर्दैछन्, मान्य छैन हामीलाई यो ।” साँच्चिकै आवेगमा थियो ऊ ।

फेरि एक हातमा रेडियो घन्काउँदै र अर्को हातमा यसयलआर समाउँदै कमरेड विक्रम आइपुग्यो ।

एउटै कम्पनिका हुन् यिनीहरू ।

“हाम्रो पछिल्लो मूल मोर्चा सिराहा हो नि ,हैन त कमरेड ?” भुइँमा बस्तै सोध्यो उसले ।

“हो सिराहा हो ।”सासको गति रोकेजस्तो गरी उसले जवाफ दियो र एकोहोरिएर यसयलआरमा आँखा केन्दि्रत गर्यो ।

कति साहसका साथ लडेका थिए उनीहरू त्यो मोर्चामा ।

छेउमै पड्किएका गोली र बारूदका बीच क्रलिङ् गर्दै कसरी अघि बढेका थिए उनीहरू ।

हरायो फेरि सन्तोष कमरेड, नं ३७३० कमरेड । उसैले त कमान्डिङ गरेको थियो पूर्वतिरको आर्कको । लामो इतिहसा छ उसित । करिबकरिब सबै मोर्चाको अनुभव छ उसित । स्क्वायर्डमा पसेको हो ऊ । तेह्रथुम, चैनपुर, भिमान, रूम्जाटार र भोजपुर, यस्ता थुप्र्रै मोर्चाहरूको अनुभव छ उसित । ठूलो किताबका पन्नाहरूझैँ सरसरती एकएक गरेर उभिन्छन् ती दिनहरू । ती मोर्चाहरूमा साथीहरू ढले, थुप्रै होनहार साथीहरू ढले । उनीहरू एकैचोटि पसेका थिए महासमरमा । चैनपुर र रूम्जाटार जित्ताजित्तै हारेको मोर्चा थियो । सम्झदा पनि मन कस्तोकस्तो हुन्छ ।

छुटे, धेरै साथीहरू छुटे ।

कति निर्मम हुन्छ युद्ध । पानीपानी भनेर छटपटिँदै गरेको साथीलाई पानी त के छुन पनि नपाई अघि बढ्नुपर्ने स्थिति, कति नमीठो हुन्छ ।

इलाम एम्बुसमा दुईवटा गाडी उडाएको त्यो घटना संझिँदा पनि मन रोमाञ्चित हुन्छ ।

लाहान मोर्चा उसको सबैभन्दा रोचक मोर्चा थियो र सबैभन्दा साहसिलो मोर्चा मलङ्वा मोर्चा थियो । कसरी झारेका थिए उनीहरूले दुश्मनको हेलिकप्टर ।

“दुश्मनको हेलिकप्टर नजिक आउँदैछ, फायर फायर”-उत्साह र आवेग दुवै थियो । साँच्चै हो मोर्चाको बेला सबै कुरा बिर्सिंदो रहेेछ, मात्र आँखामा दुश्मन आउँदोरहेछ । यस्तो लाग्छ ऊ अहिले त्यही मोर्चामा छ र उसका आँखा, हात र मुटु त्यहीँ छन् ।

फेरि तातो हावा छातीबाट निस्कियो ।

उसका हातखुट्टा र अनुहारको चाल र ताल नियालिरहेको विक्रम कमरेडले हाँस्तै सोध्यो-“क्या हो कमरेड ?”

गीतमा मस्त भएर यसयलआर सफा गर्दै गरेकी सपना कमरेडले एकपल्ट पुलुक्क हेरी र गीतमैँ व्यस्त भई-नरुनोस् आमा लडाइँको मैदान…।

कमरेड सन्तोषको ध्यान पनि गीततिर मोडियो ।

हो त पछिलोपल्ट घर जाँदा आमाले सोधेको पहिलो प्रश्न एकदमै थाहा छ उसलाई, “हाम्रा कामरेडहरू कोही मन्त्री भएका छन्, कोही सांसद भएका छन्, सबै खुला छन्, तिमीहरू चाहिँ कति दिन त्यसरी बस्छौ ?”

कति गाह्रो प्रश्न, पीडादायी पनि । कति गाह्रो परेको थियो उत्तर दिन । सानोसानो भाषण नै गर्नु परेको थियो आमालाई बुझाउन । ऊ पनि त त्यही कुरा छातीमा राखेर बसेको छ- कहिलेसम्म बन्दीझैँ क्यान्टोनमेन्टमा बसिरहने ? आहा, खुला जीवनको अर्थ नै अर्कै छ ।

आमाले बुझी बुझिनन्, सायद बुझिनन् त्यो भाषणजस्तो भनाइ । अनुहारको भावले त्यसै भन्थ्यो । साना बहिनी र भाइले भन्दै थिए- “ए अब त हामी जान दिदैनौँ, आमा रातीराती रोइरहनुहुन्छ ।”

भावुक बनेको थियो ऊ त्यतिबेर ।

“अब सबै कुरा मिलिसक्यो, छिटै घर आउँछु ।”

अमिलो मन लिएर घरबाट हिँडेको थियो ऊ । बाबु छैनन्, एक्ली आमा ।

साँच्चै हो, गम्भीर बन्दै गएको थियो ऊ । अरूलाई सम्झाउन त सजिलो छ, तर आफैँलाई सम्झाउन गाह्रो परेको छ उसलाई । पटक्कै मन छैन, त्यहाँ बस्न । मन रमाउँदैन त्यहाँ । पानी पनि राम्रोसित खान पाइँदैन । स्वास्थ पनि कमजोर भएको छ । पढ्ने-लेख्ने वातावरण छैन । घर जाने ? समायोजन हुने ? हातहतियार सबै बुझाउने ? के सकियो युद्ध, लक्ष्य प्राप्ति भयो ? केका लागि बगेको थियो रगत ? केका लागि भएको थियो त्यत्रो शहादत ? जितेको युद्धको हारेको परिणाम दिएर के घर जाने, के समायोजन हुने- प्रश्नहरू छरपस्ट छन् । घुम्न थाल्छ विगत र वर्तमान । छाती पोल्न थाल्छ । साँच्चै हो, भित्र पनि चैन छैन, बाहिर पनि चैन छैन ।

थरीथरीका कुराहरू सुनिन्छन् । कुनैकुनै कुराले त मनै कस्तोकस्तो हुन्छ । जब हतियारको कुरा आउँछ, छातीको गति बढ्न थाल्छ । अझ हतियार बुझाउने कुराले त केके हुन्छहुन्छ छाती । सबै कुरा गुमाएजस्तो लाग्छ । हिजो बेलुकाको छलफलमा यस्तै कुरा उठेको थियो । स्तब्ध भएका थिए सबै । ज्वालामुखीभित्रको मौनता झन् डरलाग्दो हुँदोरहेछ । सबैको अनुहार भिन्नै भएको थियो । सकियो युद्ध ? आयो जनगणतन्त्र ? कसलाई बुझाउने हतियार ? सबैको अनुहारले यसै भनिरहेझैँ लाग्थ्यो । आगोको भुङ्ग्रोको सामु सबै उभिएका छन् जस्तो बोध भएको थियो ।

त्यही कुरा मनमा खेलाउँदाखेलाउँदै उसको मुखबाट निस्कियो- “अहँ, यत्तिकैमा बुझाइँदैन ।” उसको आवाज सुनेर बीचैमा बोली सपना कमरेड- “के भन्नुभएको कमरेड ?” पहिले त ऊ झस्कियो तर तुरुन्तै उत्तर दियो- “कति दिन बस्ने कैदीझैँ भएर ? अब विद्रोह गर्ने भनेको ।” केही बुझेजस्तो र केही नबुझेजस्तो अनुहार पारेर हेरी सपना कमरेडले । लगातार स्टि्रगर दबाएर यसयलआर घुमायो चारैतिर- ट्याक-ट्याक-ट्याक । मानौँ ऊ दुश्मनलाई गोली हानिरहेको छ ।

“खेर जाने भयो बगाएको रगत” एक्लै फतफतायो ।

हत्तपत्त आवेगमा आउने मान्छे होइन ऊ तर आज केही फरक देखिएको छ । के भएको हो यसलाई ? साथीहरू उसलाई हेर्नथाले ।

घाम निकै माथि आइसकेका थिए ।

अब फेरि हतियार थन्क्याउने बेला भयो । यसै गरी निकाल्यो र तलदेखि माथिसम्म टुलुटुलु हेर्यो, सुमसुम्यायो र थन्क्यायो । गन्ति नै छैन कतिवटा मोर्चा लड्योलड्यो यसले । यसलाई हातमा लिँदा मात्र पनि कति फुर्ति आउँछ उसमा । आत्मबल बढेर आउँछ । यो नहुँदा केके हराएजस्तो, केके नभएजस्तो रित्तो अनुभव हुन्छ उसलाई । सुरुमा थन्क्याएको कति दिनसम्म त निन्द्रा पनि लागेन उसलाई ।

साँच्चै हो, त्यो रात रातभरिजसो रोयो ऊ । छट्पटी मात्रै भयो । सिङ्गै लडाइँ हारेस्तो भयो । कतिपल्ट मनमा आएको पनि हो- भागौँ योसित । उसलाई थाहा छ, हतियारबाट हतियार आउँछ । गोली, खोइ गोली ? छैन गोली उसित । गोलीबिनाको राइफल झन् खतरनाक हुन्छ । हुन्न यसो गर्नु झन् हुन्न । फेरि छापामार लडाइँ ? मनमा सबै कुरा आउँछन् । कहिले मुक्त हुने यो कैदखानाबाट ? चिन्ता त छ तर यसरी भाग्दैन ऊ । ऊ त बहादुर सिपाही हो ।

Sharmila Khadka Dahal – Ma Harayeko Samaya

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुद्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइरहेका हुन्छन् । म तिनीहरूलाई समेट्न खोज्छु, कहिले ती आँफै फुत्किएर जान्छन्, कहिले म आफैँ अन्तै मोडिएको हुन्छु । गतिवान् जीवन गुडिरहेको गाडीको पांग्राझैँ गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन गर्न गइरहेकी छु ।

काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम काठमाडौँको सडकमा गाडी जाम हुनु सामान्यजस्तै भइसकेको छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधबँैसे महिला, एक जना ड्राइभर, म र चार जना वयस्क केटाहरू छौँ, झन्डै १८ देखि २२ वर्षसम्मका ठिटाहरू । गाडी निकै लामो समयसम्म जाममा पर्छ । म उनीहरूको वार्तालाप सुन्न बाध्य हुन्छु । एउटा केटो जो धेरै बोलिरहेको छ, ऊ पातलो जीउ भएको गोरो चिटिक्क अनुहार परेको छ । ऊ झट्ट हेर्दा मंगोलियनजस्तो लाग्छ । अर्को पातलो अलिक अग्लो कालोकालो केटो झट्ट हेर्दा उस्तैजस्तो लाग्छ । त्यस्तै अरू दुई जो सुनी मात्र रहन्छन्, केही बोल्दैनन्, ती पनि त्यस्तै कुनै जातको जस्तो लाग्छ । म आफ्नो सिटमा बसेर मन नलागीनलागी पनि त्यो धेरै बोल्ने केटोको कुरो सुन्न बाध्य हुन्छु । ऊ भन्छ, “यार ऽ…ऽ, त्यो सहायकमन्त्री छ नि के के हो याँ…ऽ त्यो त क्रिमिनल मान्छे हो नि !”

दोस्रोचाहिँ भन्छ, “हो यस्तै क्रिमिनल त मन्त्री हुन पुग्छन् ।”

उनीहरू यस्तै राजनीति गफ गर्छन् । अनि, एकछिन पछि नगरकोट जाने कुरा गर्छन् ।

उही पहिलो केटो बोल्छ, “याँ…ऽ…ऽ… नगरकोट जाने हो याँ…ऽ केटी लिएर जाने भा पो यार ?”

दोस्रो बोल्छ, “मलाई भन न म मिलाइहाल्छु नि !”

पहिलो बोल्छ, “छोड् यार. याँ…ऽ अस्तिको कुरा सुन न क्या त्यो अनलाइन कि छे नि याँ…? त्यो केटीलाई गुह्येश्वरीमा बोलाएको याँ..ऽ आई क्या !”

अरू ध्यानमग्न भएर उसका कुरा सुनिरहन्छन् । म आफ्नो अनलाइनको घटना सम्झन पुग्छ । अहिले समय नै फेसबुक र ब्लगको छ । फेसबुकमा साथीहरूसँग एउटा घरपरविारको जस्तो गफ गर्न सकिन्छ र विश्वास पनि । फेसबुकमा नयाँनयाँ घटनाहरू थाहा पाइराखिन्छ । आफू पनि दिनको दुई घन्टा फेसबुकमा हराउने गर्छु । फेसबुकको च्याटमा मान्छे चिनिने हुनाले च्याट गर्दा पनि विश्वास हुन्छ । अनलाइनमा नचिनेका धेरैले च्याटका लागि निम्तो गर्छन्, त्यसैले म अनलाइन च्याटमा बस्न त्यति रुचाउँदिनँ र जहिले पनि इन्भिजिएवल अर्थात् अदृश्यमा बसेर काम गर्छु । तर, एकदिन के भएर हो के भिजिएवलमा अर्थात् दृश्यमा रहेछु । कसैले च्याटका लागि आमन्त्रण गर्‍यो । मैले ‘एसेप्ट’ गरिदिएँ । एक-दुईचोटिको गफमा नै उसले ‘आई लभ यू’ भनेर प्रस्ताव राख्यो । म छक्क परेँ । मैले उसलाई सोधेँ, “मलाई चिन्नुहुन्छ, म को हो ?” उसले भन्यो, “अँह !” “त्यसो हो भने यो आई लभ यू शब्दलाई किन यति सस्तो बनाउनुहुन्छ !”

उसले अन्तिममा ‘सरी’ भन्यो । मलाई लाग्यो, यो केटो पनि उही मलाई ‘आई लभ यू’ भन्ने केटोको ड्याङको रहेछ ।

ऊ आफ्नो कुरा बोल्दा नक्कली लवजले छोपुलाझैँ गरी बोल्दै थियो,

“यार ऽ..ऽ मेरो त हेर याँ..ऽ के भा’को याँ..ऽ केटीहरू त्याँ..ऽ भुतुक्कै हुन्छ । त्यस अनलाइनकीलाई याँ ऽ गुह्येश्वरी बोलाएको याँ..ऽ.. ऊ आई अनि क्या घर जान्छु भन्दै थिई …याँ ..ऽ मैले काँ..ऽ …घर जाने भनेर बोलाएको हुँ र …याँ..ऽ …गेस्ट हाउस जाने नि याँ..ऽ उसलाई लिएर म गेस्टहाउस गएँ । क्या बोर याँ..ऽ त्यहाँ त उसको गाउँको मान्छे रहेछ । याँ..ऽ … उसलाई पैसा दिएर पन्छाएँ याँ ..ऽ अनि क्या मज्जा यार !’

उसले यसरी बोल्न सुरु गर्दा नै मैले मेरो नाक, कान र मुख छोपिसकेकी थिएँ । किनभने, मलाई यस्तो कुरा सुन्नु नपरोस् जस्तो लाग्छ । त्यो बोल्ने केटो कुनै लाज, घीन, सरम नमानी आफ्नो व्यक्तिगत अश्लीलता ओकलिरहेको थियो । यो केटो कस्तो परविारमा हुर्केको होला ? किनभने, व्यक्तिको चरत्रि र आचरणमा उसको जन्मे-हुर्केको परविेशले पूरै असर पारेको हुन्छ भन्ने मैले सोचेँ । चरत्रिहीन केटाहरू यौन र वासनालाई कसरी महत्त्व दिँदै सोझासाझा केटीहरूलाई प्रेमको जालमा फसाएर यौनसुख भोगेर छोड्छन् भन्ने कुरा मलाई थाहा थियो । तर, यसरी सार्वजनिक स्थलमा आमासरहको महिला दिदीबहिनीका अगाडि यस्तो घृणित कार्यको बारे व्याख्यान गर्दा केही सरम-लाज त मान्नुपर्ने हो नि ! मैले त्यो केटोको अनुहार पुलुक्क हेरेँ । अँह ! उसको अनुहारमा लाजडरको कुनै लक्षण थिएन । ऊ लज्जास्पद वाक्यलाई केही ढाकछोप गर्ने पाराले भन्दै थियो ।

त्यसपछि मलाई हेर्न पनि लाज लाग्यो । अहिले मैले मुख सबै छोपेँ । उनीहरूको कार्यको विरोध जनाउन पनि मैले यसो गरेकी थिएँ । गाडी अझ जाममा थियो ।

“यार ऽ.. छचोटि याँ..ऽ क्या मज्जा या..ऽ च्वाँक !”

त्यसपछिका वाक्यहरू मैले सुन्न सकिनँ । उसका अभिव्यक्तिलाई पचाउन उसका साथीहरूलाई पनि सायद मुस्किल पररिहेको थियो । किनभने, उनीहरूले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

मलाई टेम्पोबाट ओर्लूं-ओर्लूं लाग्यो । तर, ओर्लने अनुकूलता थिएन । बाटो पूरै जाममा थियो । एक मनले लाग्यो, त्यो केटोलाई भनूँ, “भाइ हेर्नोस्, तपाइर्ंको अगाडि आमा, दिदी-बहिनीहरू छन्, यस्तो ठाउँमा यस्तो असभ्य कुरा नगर्नुहोस् । तपाइर्ंमा अलिकति सरम-लाज छैन । तपाईंका आमा, दिदी-बहिनीहरू छैनन् ।” तर, मेरो वाक्य घाँटीको कण्ठमा नै अड्किएर रह्यो । यस्ता सोमतहीन अव्यावहारकि केटाहरूलाई यसो भन्दा आफैँमाथि जाइलाग्ने हो कि ! कुनै ठोस नियम-कानुन नभएको देशमा जिल्लाको सुरक्षाका लागि खटिएको सीडीओ त कुटिनु पर्छ भने हामी सामान्य नागरकिको के मूल्य होस् र ! फेर िउनीहरू ठूलाठूला क्रिमिनल मन्त्रीहरूका बारेमा कुरो गररिहेका थिए । हे भगवान्, यो देशको हालत के हुने हो ? भोलि यो समाजको हविगत के होला नि ? म पशुहरूको पति पशुपतिको शरणमा परेँ किनभने नेपालमा मानिसहरूभन्दा पशुहरू नै सभ्य छन् जस्तो लाग्न थाल्यो मलाई ।”

म त्यो अनलाइनकी केटीका बारेमा सोच्न थालेँ, कस्ती केटी हो ! कस्तो घर-खानदानकी होली ! केटोले बोलाउनेबित्तिकै जाने ? हुन त अहिले धेरैजसो युवाहरू विदेशिएका हुनाले धेरै केटीहरू विवाह नगरी बस्न बाध्य छन् । अलिक राम्रा र पढेलेखेका केटाहरू देखेपछि केटीहरू मरिहित्ते हाल्ने गरेको कुरा मैले सुन्दै आएकी छु । पाश्चात्य खुला यौन संस्कारले प्रवेश पाइसकेको हाम्रो समाजमा यसरी धेरै केटीहरू खराब केटाहरूको मायाजालमा फसेर आफ्नो अस्तित्व लुटाउन बाध्य छन् । हुन त खराब केटीहरूले पनि केटाहरूलाई फसाउँदैनन् भन्न खोजिएको होइन् तर यो स्वतन्त्रताको सदुपयोग जति केटाहरूले लिन्छन्, केटीहरूले त्यसको कम उपभोग गरेका हुन्छन् । म सोच्छु, पूर्वीय संस्कारले पनि केटीहरू पराश्रति, बन्धित बनाएको छ । पाश्चात्य समाजमा जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरूलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर, नारीहरू जसरी पनि ठगिएका छन् । यो मेरो मान्यता हो ।

त्यो केटो बोलुञ्जेल मलाई त्यो ठाउँबाट बिलाइजाऊँ, हराइजाऊँजस्तो लाग्यो । तर, त्यो सम्भव थिएन । एकछिनपछि उनीहरू सहिदगेटमा झरे, मैले राहतको सास फेरँे ।

दिनभर किनमेल गरुञ्जेल त्यो केटाले बोलेका बेसोमती कुराहरू मस्ितष्कमा घुमिरह्यो । जति बिर्सूं भन्दा पनि बिर्सन सकिनँ । त्यसपछि काम सकेर म घर फकर्ंे ।

घरको नित्यकाम सकेर म सदाझैँ कम्प्युटरमा बसेँ । कम्प्युटरमा छोरीले आफ्नो मेल साइन आउट गरेकी रहिनछ । खोल्नेबित्तिकै उसको मेल देखियो । उसको इनबक्समा दुईवटा मेल आएका रहेछन् । त्यो के रहेछ भन्ने उत्सुकताले हेरेँ । पहिलोमा हेरेँ- अंग्रेजीको रोमनमा मुस्किलले बुझ्न सकिने गरी लेखिएको थियो ।

‘मैयाँ …..याँ….क्या त्यो दिन त गेस्टहाउस गएको दिन क्या विक भएँ नि ! दिनभर घरमा रेस्ट गरेर सुतेँ । अनि, तिम्रो के खबर छ ? या फेरि भेट्ने होइन ?”

यो मेल पढेर म छाँगोबाट खसेजस्तै भएँ । तर पनि मेल अस्पष्ट भएकाले के हो के हो बुझिनँ । त्यसपछि अर्को मेल खोलेँ । अर्को मेलमा फाइल अटेच गरएिको रहेछ । त्यो फाइल खोलेँ । त्यो फाइल फोटोको रहेछ, खुल्न निकै समय लाग्यो । जब त्यो फाइल पूरै खुल्यो, तब मलाई ममुनिको जमिन भासिएझैँ लाग्यो । त्यहाँ उही केटोको फोटोसँग छोरीको फोटो थियो । फोटो उत्तेजक अवस्थामा खिचिएको थियो । तीनवटा फोटो सबै पालैपालो हेरेँ । मलाई रँिगटा लाग्दै गयो । मैले दुई दिनअगाडि मात्र ‘छोरीले साथीको घरमा पूजा छ, म त्यहीँ बस्न जान्छु’ भनेको कुरा सम्झेँ ।

मेरा अगाडिका सबै दृश्य घुम्न थाले । थामिनसक्नुको पीडाको भारी पलंगमा बिसाउन सिरक उचालेँ । सिरक पटक्कै उचाल्न सकिनँ । मेरो शरीर मलाई आफँैलाई फूलको थुँगाजस्तो लाग्यो । यो के भयो, म छक्क परेँ । आफूले आफैँलाई हेर्न ऐना अगाडि गएँ । तर अचम्म, अहँ ऐनामा मेरो प्रतिविम्ब पटक्कै देखिएन, यो के भएको ? म छक्क परेँ ।

म चिच्याएँ । म चिच्याएको कसैले सुनेनन् । ऐनामा मैले राखेको टीका र पोते देखेँ । मलाई लाग्यो, यो ठाउँमा हराइसकेकी रहेछु । यहाँ त मेरो आकृति मात्र नाचिरहेको रहेछ ।

मलाई अरू सबैभन्दा धेरै माया मेरो टीका र पोतेको लाग्यो । ऐनामा म हराएको समय नाचिरहेको थियो चलचित्र बनेर ।