Dr. Rishi Raj Baral – Hatiyaar (Nepali Laghu Katha)

डा. ऋषिराज बराल – हतियार (लघु कथा)
(Source: गोरखापत्र)

पार्टीमा शुद्धीकरण र फौजीकरणको अभियान चलेको थियो । सबै क्षेत्रका कार्यकर्ताहरू जनमुक्ति सेनामा जाने निर्णय भएको थियो । मोर्चाबाट सेनामा जानेहरूको सूची, पद र कामको विवरणको जानकारी पनि गराइएको थियो । लामो अवधिसम्म सांस्कृतिक मोर्चाको विभिन्न पदमा बसेर काम गरिसकेको कमरेड प्रवीणको नाम पनि जनमुक्ति सेनामा जानेमा परेको थियो ।

सबैलाई जम्मा गरियो र वैचारिक प्रशिक्षण पनि दिइयो । युद्धमोर्चा पनि तोकियो । थप भेटघाट र विशेष निर्देशन दिने काम पनि भयो ।

कामको सुपरिवेक्षण र अनुगमन गर्न विशेष कार्यदल तत-तत् क्षेत्रमा तीन महिनापछि आउने कुरा पनि सुनाइयो । हातहतियार र गोलिगट्ठा पनि सबैलाई थमाइयो । सबैले खुसी भएर आआफ्नो झोला बोके ।

कमरेड प्रवीण भने केही बोलेन , मौन, चूपचाप र गम्भीर देखियो ।

कार्यदलका कमाण्डरले फेरि उनै कुरा दोहोर्‍याए ।

प्रवीणले आफ्नो कुरा राख्यो—”खोइ मेरो हतियार ?”

“तपाईंलाई यत्रो अत्याधुनिक हातहतियार र गोलिगट्ठा दिइएको छ ,फेरि तपाईं ?”—कमान्डर झोक्कियो ।

प्रवीणको अनुहार व्यङ्ग्यात्मक देखियो ।

एकछिन त कमाण्डर केही नबुझेझैँ गरी घोरियो । त्यसपछि एक जनालाई अरायो र प्रवीणको सामु झोला राख्दै भन्यो- “ल यसमा अरू तीन सय गोली छन् ।”

प्रवीण भने केही बोलेन । उभिरहृयो, मौन र गम्भीर भएर । अनुहारको भाव अर्कै थियो- एकदमै व्यङ्ग्यात्मक ।

“तपाईंले मलाई खास हतियार नै दिनु भएको छैन ?”

कमाण्डरको अनुहार एकदमै भिन्नै भयो- आक्रोशित ।

“तपाईंले क्रान्तिको मर्मलाई बुझ्नु भएन कमरेड ?”

“बुझेर नै मैले बन्दुकसँगै कलम पनि मागेको हुँ ।”

कमाण्डर रिसले थरथर काम्दै के के बोल्दै थियो ।

प्रवीण कमरेड भने व्यङ्ग्यात्मक अनुहार लगाएर एकटकले कमाण्डरतिर हेरिरहेको थियो ।

माघ-२०, २०६५

Dr. Rishi Raj Baral – Cantonment Number 3730

डा. ऋषिराज बराल – क्यान्टोनमेन्ट नम्बर ३७३०
(Source: मधुपर्क २०६५ चैत)

हातमा लिनेबित्तिकै उसको मुखबाट लामो सास निस्कियो, थाहै नपाई निस्कियो । यो सास पनि होइन, यो त तातो वाफ हो । अझ भनौँ-उसको छातीबाट ज्वालामुखीको लाभा निस्कियो । एक हातले पुगेन उसलाई । दुई हातले च्याप्प समात्यो यसयलआर र माथिदेखि तलसम्म सुमसुम्यायो । उसका आँखा कतै केन्दि्रत भए । कतै हराएजस्तो, कतै टोलाएजस्तो देखियो ऊ । सायद ऊ केही सोच्न थाल्यो । हातमा पर्नेबित्तिकै ऊ त्यसलाई सुमसुम्याउँछ, मायाँ गर्छ । छातीमा टासौँटासौँ जस्तो लाग्छ, अँगालो हालिरहौँ जस्तो लाग्छ । कक गर्छ-हावामा त्यसै निसाना लगाउँछ-कहिले रूखतिर तेस्र्याउँदै र कहिले परको डाँडोतिर तेस्र्याउँदै । यस्तो बेला भित्रभित्रै उकुसमुकुस भएको तातो हावा एकै सासमा बाहिर निस्किने गर्छ ।

आज फेरि हतियार सफा गर्ने दिन हो । यसका लागि पनि समय र दिन तोकिएको छ । एउटा रूटिनमा छ जीवन । यस क्यानटोनमेन्टमा बसेको पनि दुई वर्ष हुन लागेछ । यो यसयलआरबाट गोली नछुटेको पनि दुई वर्ष भएछ । गोली लोड गरेर एकपल्ट पड्काउन पाए हुन्थ्यो-परको त्यो रूखलाई निसाना बनाएर । यस्तै लाग्छ उसलाई । खिया लाग्यो कि, चिन्ता लाग्छ उसलाई ।

क्यान्टोनमेन्ट ।

लाग्छ, यो क्यान्टोनमेन्ट होइन कैदखाना हो, झ्यालखाना हो । केही पनि त सुविधा छैन । यही घेरा, यही कम्पाउन्ड, काँढेतार भित्रको जीवन । यता घुम्यो उता घुम्यो फेरि त्यही पानी चुहुने छाप्रो । मालचरीको बथानझैँ कहिले पूर्व, कहिले पश्चिम कति स्वतन्त्र र कति फुक्का थियो त्यो जीवन । “आमा, हामी दुश्मनको क्याम्प कब्जा गर्न जाँदैछौँ, लौ रातो टीका लगाइदिनोस् ।” आहा, ती दिनहरू सम्भिmँदासम्भिmँदै मन केके हुन्छ । कहिलेकाहीँ काम विशेषले बाहिर निस्किए पनि बेलुका फेरि आउनुपर्ने त्यहीँ हुन्छ । बाहिर निस्किएको निस्किएै गरौँजस्तो लाग्छ उसलाई तर फेरि तान्छ त्यही प्यारो यसयलआरले । कसरी छोड्न सक्छ ऊ यसलाई । राइफल भन्छ ऊ यसलाई, यही नाम प्यारो लाग्छ, भन्न पनि सजिलो-राइफल । किन छाडेर जाने ? किन भाग्ने ऊ ? हतियारबिना एकछिन पनि कस्तोकस्तो लाग्ने मान्छ हो ऊ । यहीँ क्यान्टोनमेन्टमा त हतियारबिना असुरक्षित असुरक्षित लाग्छ उसलाई । अहँ भाग्ने त कुरै छैन । के भन्लान् घर-परिवार, गाउँले र कामरेडले । ऊ त युद्ध जितेर आएको सिपाही हो । दुश्मनलाई हायलकायल पारेर, प्रत्याक्रमणको चरण पूरा गरेर आएको जनमुक्ति सेना हो, जनगणतन्त्र-जिन्दावाद । फलानो डिभिजन र कम्पनी नम्बर यतिको कमान्डर भाग्यो…. । यस्तो भनाइ ऊसित जोडियोस्, उसलाई मन पर्दैन । भगुवा, अँह यस्तो हुनै सक्तैन । विद्रोह, यो शब्द उसलाई असाध्यै मनपर्छ-विद्रोह गर्नु ठीक हो । कायरहरू अनि पलायनवादीहरू मात्र भाग्छन् । एक्लै मुन्टो हल्लाउँछ ऊ अस्वीकृतिमा ।

“के सोच्तै हुनुहुन्छ हौ कमरेड”-सपना कमरेडको स्वर परैबाट चिन्दछ ऊ ।

“युद्ध, क्यान्टोनमेन्ट र लोकतन्त्र सोचेको ।”

स्वरमा केही आक्रोश र पीडाजस्तो पनि छ ।

“अब त केही टुङ्गो लाग्छ होला होइन ?” “तर हामी हतियार बुझाउँदैनौँ । जनताका दुश्मनहरू हतियार बुझाउने र नष्ट गर्ने कुरा गर्दैछन्, मान्य छैन हामीलाई यो ।” साँच्चिकै आवेगमा थियो ऊ ।

फेरि एक हातमा रेडियो घन्काउँदै र अर्को हातमा यसयलआर समाउँदै कमरेड विक्रम आइपुग्यो ।

एउटै कम्पनिका हुन् यिनीहरू ।

“हाम्रो पछिल्लो मूल मोर्चा सिराहा हो नि ,हैन त कमरेड ?” भुइँमा बस्तै सोध्यो उसले ।

“हो सिराहा हो ।”सासको गति रोकेजस्तो गरी उसले जवाफ दियो र एकोहोरिएर यसयलआरमा आँखा केन्दि्रत गर्यो ।

कति साहसका साथ लडेका थिए उनीहरू त्यो मोर्चामा ।

छेउमै पड्किएका गोली र बारूदका बीच क्रलिङ् गर्दै कसरी अघि बढेका थिए उनीहरू ।

हरायो फेरि सन्तोष कमरेड, नं ३७३० कमरेड । उसैले त कमान्डिङ गरेको थियो पूर्वतिरको आर्कको । लामो इतिहसा छ उसित । करिबकरिब सबै मोर्चाको अनुभव छ उसित । स्क्वायर्डमा पसेको हो ऊ । तेह्रथुम, चैनपुर, भिमान, रूम्जाटार र भोजपुर, यस्ता थुप्र्रै मोर्चाहरूको अनुभव छ उसित । ठूलो किताबका पन्नाहरूझैँ सरसरती एकएक गरेर उभिन्छन् ती दिनहरू । ती मोर्चाहरूमा साथीहरू ढले, थुप्रै होनहार साथीहरू ढले । उनीहरू एकैचोटि पसेका थिए महासमरमा । चैनपुर र रूम्जाटार जित्ताजित्तै हारेको मोर्चा थियो । सम्झदा पनि मन कस्तोकस्तो हुन्छ ।

छुटे, धेरै साथीहरू छुटे ।

कति निर्मम हुन्छ युद्ध । पानीपानी भनेर छटपटिँदै गरेको साथीलाई पानी त के छुन पनि नपाई अघि बढ्नुपर्ने स्थिति, कति नमीठो हुन्छ ।

इलाम एम्बुसमा दुईवटा गाडी उडाएको त्यो घटना संझिँदा पनि मन रोमाञ्चित हुन्छ ।

लाहान मोर्चा उसको सबैभन्दा रोचक मोर्चा थियो र सबैभन्दा साहसिलो मोर्चा मलङ्वा मोर्चा थियो । कसरी झारेका थिए उनीहरूले दुश्मनको हेलिकप्टर ।

“दुश्मनको हेलिकप्टर नजिक आउँदैछ, फायर फायर”-उत्साह र आवेग दुवै थियो । साँच्चै हो मोर्चाको बेला सबै कुरा बिर्सिंदो रहेेछ, मात्र आँखामा दुश्मन आउँदोरहेछ । यस्तो लाग्छ ऊ अहिले त्यही मोर्चामा छ र उसका आँखा, हात र मुटु त्यहीँ छन् ।

फेरि तातो हावा छातीबाट निस्कियो ।

उसका हातखुट्टा र अनुहारको चाल र ताल नियालिरहेको विक्रम कमरेडले हाँस्तै सोध्यो-“क्या हो कमरेड ?”

गीतमा मस्त भएर यसयलआर सफा गर्दै गरेकी सपना कमरेडले एकपल्ट पुलुक्क हेरी र गीतमैँ व्यस्त भई-नरुनोस् आमा लडाइँको मैदान…।

कमरेड सन्तोषको ध्यान पनि गीततिर मोडियो ।

हो त पछिलोपल्ट घर जाँदा आमाले सोधेको पहिलो प्रश्न एकदमै थाहा छ उसलाई, “हाम्रा कामरेडहरू कोही मन्त्री भएका छन्, कोही सांसद भएका छन्, सबै खुला छन्, तिमीहरू चाहिँ कति दिन त्यसरी बस्छौ ?”

कति गाह्रो प्रश्न, पीडादायी पनि । कति गाह्रो परेको थियो उत्तर दिन । सानोसानो भाषण नै गर्नु परेको थियो आमालाई बुझाउन । ऊ पनि त त्यही कुरा छातीमा राखेर बसेको छ- कहिलेसम्म बन्दीझैँ क्यान्टोनमेन्टमा बसिरहने ? आहा, खुला जीवनको अर्थ नै अर्कै छ ।

आमाले बुझी बुझिनन्, सायद बुझिनन् त्यो भाषणजस्तो भनाइ । अनुहारको भावले त्यसै भन्थ्यो । साना बहिनी र भाइले भन्दै थिए- “ए अब त हामी जान दिदैनौँ, आमा रातीराती रोइरहनुहुन्छ ।”

भावुक बनेको थियो ऊ त्यतिबेर ।

“अब सबै कुरा मिलिसक्यो, छिटै घर आउँछु ।”

अमिलो मन लिएर घरबाट हिँडेको थियो ऊ । बाबु छैनन्, एक्ली आमा ।

साँच्चै हो, गम्भीर बन्दै गएको थियो ऊ । अरूलाई सम्झाउन त सजिलो छ, तर आफैँलाई सम्झाउन गाह्रो परेको छ उसलाई । पटक्कै मन छैन, त्यहाँ बस्न । मन रमाउँदैन त्यहाँ । पानी पनि राम्रोसित खान पाइँदैन । स्वास्थ पनि कमजोर भएको छ । पढ्ने-लेख्ने वातावरण छैन । घर जाने ? समायोजन हुने ? हातहतियार सबै बुझाउने ? के सकियो युद्ध, लक्ष्य प्राप्ति भयो ? केका लागि बगेको थियो रगत ? केका लागि भएको थियो त्यत्रो शहादत ? जितेको युद्धको हारेको परिणाम दिएर के घर जाने, के समायोजन हुने- प्रश्नहरू छरपस्ट छन् । घुम्न थाल्छ विगत र वर्तमान । छाती पोल्न थाल्छ । साँच्चै हो, भित्र पनि चैन छैन, बाहिर पनि चैन छैन ।

थरीथरीका कुराहरू सुनिन्छन् । कुनैकुनै कुराले त मनै कस्तोकस्तो हुन्छ । जब हतियारको कुरा आउँछ, छातीको गति बढ्न थाल्छ । अझ हतियार बुझाउने कुराले त केके हुन्छहुन्छ छाती । सबै कुरा गुमाएजस्तो लाग्छ । हिजो बेलुकाको छलफलमा यस्तै कुरा उठेको थियो । स्तब्ध भएका थिए सबै । ज्वालामुखीभित्रको मौनता झन् डरलाग्दो हुँदोरहेछ । सबैको अनुहार भिन्नै भएको थियो । सकियो युद्ध ? आयो जनगणतन्त्र ? कसलाई बुझाउने हतियार ? सबैको अनुहारले यसै भनिरहेझैँ लाग्थ्यो । आगोको भुङ्ग्रोको सामु सबै उभिएका छन् जस्तो बोध भएको थियो ।

त्यही कुरा मनमा खेलाउँदाखेलाउँदै उसको मुखबाट निस्कियो- “अहँ, यत्तिकैमा बुझाइँदैन ।” उसको आवाज सुनेर बीचैमा बोली सपना कमरेड- “के भन्नुभएको कमरेड ?” पहिले त ऊ झस्कियो तर तुरुन्तै उत्तर दियो- “कति दिन बस्ने कैदीझैँ भएर ? अब विद्रोह गर्ने भनेको ।” केही बुझेजस्तो र केही नबुझेजस्तो अनुहार पारेर हेरी सपना कमरेडले । लगातार स्टि्रगर दबाएर यसयलआर घुमायो चारैतिर- ट्याक-ट्याक-ट्याक । मानौँ ऊ दुश्मनलाई गोली हानिरहेको छ ।

“खेर जाने भयो बगाएको रगत” एक्लै फतफतायो ।

हत्तपत्त आवेगमा आउने मान्छे होइन ऊ तर आज केही फरक देखिएको छ । के भएको हो यसलाई ? साथीहरू उसलाई हेर्नथाले ।

घाम निकै माथि आइसकेका थिए ।

अब फेरि हतियार थन्क्याउने बेला भयो । यसै गरी निकाल्यो र तलदेखि माथिसम्म टुलुटुलु हेर्यो, सुमसुम्यायो र थन्क्यायो । गन्ति नै छैन कतिवटा मोर्चा लड्योलड्यो यसले । यसलाई हातमा लिँदा मात्र पनि कति फुर्ति आउँछ उसमा । आत्मबल बढेर आउँछ । यो नहुँदा केके हराएजस्तो, केके नभएजस्तो रित्तो अनुभव हुन्छ उसलाई । सुरुमा थन्क्याएको कति दिनसम्म त निन्द्रा पनि लागेन उसलाई ।

साँच्चै हो, त्यो रात रातभरिजसो रोयो ऊ । छट्पटी मात्रै भयो । सिङ्गै लडाइँ हारेस्तो भयो । कतिपल्ट मनमा आएको पनि हो- भागौँ योसित । उसलाई थाहा छ, हतियारबाट हतियार आउँछ । गोली, खोइ गोली ? छैन गोली उसित । गोलीबिनाको राइफल झन् खतरनाक हुन्छ । हुन्न यसो गर्नु झन् हुन्न । फेरि छापामार लडाइँ ? मनमा सबै कुरा आउँछन् । कहिले मुक्त हुने यो कैदखानाबाट ? चिन्ता त छ तर यसरी भाग्दैन ऊ । ऊ त बहादुर सिपाही हो ।

Dr. Rishi Raj Baral – Ghodchadhi (Nepali Laghu Katha)

डा. ऋषिराज बराल – घोडचढी (लघु कथा)
(Source: गोरखापत्र)

नयाँ सरकार बनेपछि गाउँ पुग्ने इच्छा, उत्सुकता र आवश्यकताबोध गरेर एक जना पत्रकार सहरबाट गाउँतिर लाग्यो । गाडीबाट झरेपछि उसले एक जना गाउँलेलाई पनि साथमा लियो ।

दिनभरिको हिँडाइपछि गोधुलीमा ऊ एउटा भञ्झ्याङ अर्थात् नेटोमा पुग्यो । चौतारी थियो, पसिना ओभाउन , सुस्ताउन चाह्यो । त्यति नै बेला दुई जना कुद्दै र पसिना पनि पुछ्दै स्याँस्याँ र फ्याँफ्याँ गर्दै त्यतैतिर आउँदै थिए । पत्रकार अलि डराए जस्तो पनि भयो- बन्दुक बोकेका ती दुई जना देखेर । उसले पुलुक्क हेर्‍यो गाउँलेतिर ।

“सेनाका मान्छे हुन्”- गाउँलेले विश्वस्त पार्‍यो ।

ती दुई बन्दुकधारीले पनि चौतारामा बस्नेहरूलाई पुलुक्क हेरे र फेरि कुदे ।

पत्रकार र गाउँले पनि ओरालो लागे । दस मिनेट तल जति गाउँ थियो । गाउँको मुखमै पुगे । त्यहाँ पनि बन्दुक बोकेको एउटा मान्छे कुद्दै अघिअघि आउँदै थियो र अलिकति पर चार पाँच जना घोडचढीहरू त्यतै आउँदै थिए । उनीहरू तल झर्दै गए, घोडचढीहरूसितको दूरी कम हुँदै गयो । पत्रकारमा केही मात्रामा भय पनि थियो र कौतुहलता पनि । घोडचढी र पत्रकारबीचको दूरी झन् कम भयो ।

बन्दुक बोकेर अघिअघि कुदेको मान्छेले आफ्नो गति बढायो ।

सबैभन्दा अगाडि कालो घोडा थियो । यस्यल्आर् बोकेको सेनाको मान्छे त्यहाँ थियो । त्यसपछि सेतो घोडा थियो, युवा कामरेड त्यसमा थियो । त्यसपछि थियो- रातो घोडा । त्यसमा केही अग्लो, मोटो, भुँडीवाल, खाइलाग्दो, जीउडाल र अनुहार परेको मान्छे चढेको थियो, त्यसको पछाडि खैरो घोडा थियो । त्यसमा एक जना अधबैंसे थियो र घोडाहरूको पछाडि यस्एल्आर बोकेका दुई जना , घोडालाई पछ्याउँदै कुद्दै थिए ।

घोडाहरू एउटा घरको आँगनबाट धुलो उडाउँदै कुदे, मान्छेलाई मिच्तै कुदे । कुखुराका चल्लाहरू यताउति कुदे, केटाकेटी छेउ-किनारा लागे । एक जना बूढीआमै घरको पिँढीमा बसेकी थिइन्, डरले भित्र कुदिन् । जान्न मन लाग्यो र सोधिन् ः

“फेरि बडाहाकिमहरू आउन थाले कि क्या हो गाउँमा ?”

”कस्तो नचिन्नु भा’को हाम्रा नयाँ मन्त्री होइनन्” – नातिनीले उत्तर दिई ।

उनले हावामा हात हल्लाइन्, हात हल्लाइको भाव अनुहारमा झल्कियो ।

त्यसको लगत्तैजसो एक जना गाउँलेले डोकोमा, मोर्चामा घाइते भएर दुवै खुट्टा गुमाएको जनमुक्ति सेनालाई बोकेर ल्याउँदै थियो ।

पत्रकारले पछाडि फर्केर हेर्‍यो । घोडचढीहरू पर पुगिसकेका थिए । बाटोमा धुलो उडेर कुइरिमन्डल भएको थियो ।

घाइतेलाई बोक्ने गाउँलेले भिन्नै अनुहारका साथ घोडचढीहरूलाई हेर्‍यो र लामो सास फेर्‍यो ।

पत्रकारको मुखबाट अनायास लामो उच्छवास निस्कियो ।

हिमालको चुचुरोबाट बाफ निस्किरहेको थियो ।