Mitra Pathak – Ja… Da… (Nepali Laghu Katha)

मित्र पाठक – ज…द.. (लघुकथा )

बाटोमा पुरानो साइकल डोराउदै हिड्दै थिए अचानक राति कारको टि-टिट हर्नले झस्किएँ । गाडी तर्फ फर्केर हेरें मलेसियामा सँगै काम गरेको साथी आफैं कार चलाएर हिंडेको । उसलाई देख्नासाथ मैले भनिहालें – “मलेसिया जान छाडेर यहीं कार चलाउन थालेको ?”

उसले अल्लि अफ्ठ्यारो मान्दै भन्यो- “हैन आफ्नै हो । ”

मैले थपेँ- “तेरो जोक गर्ने पुरानो बानी अझै उस्तै छ है..।”

उसले मलाई विश्वास दिलाउन सकेन । र, “ल ल फेरि भेटेर कुरा गरौंला” भन्दै अगाडी बढ्यो ।

सुरुदेखिनै हाम्रो कुरा सुनिराखेको एउटा मान्छे मेरो नजिकै आयो र भन्यो- “उसले ठिकै भन्यो त । त्यो कार उसको आफ्नै हो । अहिले त ऊ यो एरियाको चिनिएको ज.. ..द हो त ! कार चढ्नु के ठुलो कुरा भो र! उसले त करोड कमाई सक्यो ।”

मैले आत्तिएर सोधें- “के हो यो ज.. ..द भनेको ?”

“जग्गा दलाल,” उक्त मान्छे पनि यति भन्यो र आफ्नो बाटो लाग्यो ।

म पनि सबै कुरा बुझें अनि थोत्रो साइकल डोर्याउँदै लागें आफ्नो गन्तब्यतिर…….।

Mitra Pathak – Bhashan Ra Byabahar (Nepali Laghu Katha)

मित्र पाठक – भाषण र व्यवहार (लघुकथा)

समाजमा भलाद्मी र समाजसेवी गनिएको उसले आजपनि चोक बजारमा सबैका सामू चर्को चर्को भाषण दियो – “छोरा र छोरी दुइमा केहि फरक छैन । छोरीले पनि छोराले बराबर गरेर देखाउन सक्छन, यदि अवसर पाए भने ।”

यति भन्दा नभन्दै उसले झल्लक सम्झियो उसलाई आज अलि हतार थियो । २-४ दिन भित्रै उसको दोस्रो बिहे हुन लागेको थियो । त्यो पनि छोरो पाउने श्रीमतीको साथमा । उसले आफ्नो कुरा टुंग्यायो र मनमनै सोच्दै अगाडी बढ्यो – “छन त छोरा र छोरी दुइमा केहि फरक छैन तर……..।”

मित्र पाठक “राजु”
देवचुली-८ , सिताबास , नवलपरासी
हाल: किर्तिपुर, काठमाडौँ

Mitra Pathak – Farak Farak Ruwaai (Nepali Laghu Katha)

मित्र पाठक – फरक फरक रुवाई

‘नाई, आज म अघाउन्जेल खाने हो’ पाँच दिन अगाडि म सदरमुकाम गएर आएपछि अघाउन्जेल भातै खालास भन्नु भएको होइन ? जाजरकोटको एउटा गाउँमा छोरो बाउसँग रुँदै थियो अघाउन्जेल सेतै भात खान पाउनु पर्छ भन्ने माग राख्दै ………।

त्यति नै बेला राजधानी को एउटा घरमा काम गर्ने नोकर हकारिंदै थियो – ‘पाजी, यत्रो वर्ष काम गर्दा पनि तँलाई अक्कल छैन? मेरो पप्पीले चिकन खाँदैन भन्ने थाहा हुँदा-हुँदै झुक्काएर मटनको ठाउमा चिकन दिन्छ्स, चाँडो मासु-मासु छानेर प्लेटमा राखिदे…. हेर त बिचरा मेरो पप्पी रोइरहेको ……. ।’

आखिर ती रुवाई…. रुवाईहरू नै थिए जेसुकै मागका लागि होउन्…….।

मित्र पाठक “राजु”
देवचुली-८ सिताबास , नवलपरासी
हाल: किर्तिपुर, काठमाडौँ