Sharmila Khadka Dahal – Shanti Harayeko Samaj

शर्मिला खड्का ‘दाहाल’ – शान्ति हराएको समाज

म यो सडकमा हिँडिरहेको छु । सडकलाई सडक हुनुको बोध गराइरहेको छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्याक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि हिस्सेदार बन्छु । यसरी हिउँदमा धूलो खानु र वषामा हिलो खानु यो सडकको नियति बनेको छ- मेरो भाग्यजस्तै । सडक धेरै लामो बगेको छ, मेरो जीवनको बगाइजस्तै । सडकको प्रस्थानबिन्दुमा सडकको बारेमा यसरी परिचय दिइएको छ – शान्तिमार्ग-२ किलोमिटर ।

सडकको प्रस्थानबिन्दुमा दिइएको परिचयजस्तै मेरो जीवनको पूर्वाद्घमा यसरी परिचय दिइएको थियो -शान्ति अब ठूली भई, शान्तिका जामा छोटा हुन थाले, शान्तिका हिमालचुली उम्रन थाले, शान्तिको बिहे गर्ने बेला भइसक्यो ।’

यी मेरा परिचयात्मक अभिव्यक्ति थिए- जीवनका पूर्वार्द्घका । मैले बारम्बार बिहे शब्दसँग साक्षात्कार हुनुपथ्र्यो । यो बिहे भनेको केहो – छोरीमान्छे अलिक ठूली हुन नपाउँदै किन अरूको घरमा पठाइन्छ – माइत बस्न किन हुँदैन – छोरीमान्छे पनि मानिस हो, केही गर्नुपर्छ भन्ने हौसला किन दिइँदैन – यी विरोधाभासका आवाजले म आन्दोलित हुन पुग्दथे । सामान्य लेखपढ भएको गाउँको एउटा घरमा मेरा आवाजहरू मसँगै कुस्ती खेल्दथे । मेरा सपनाका तारहरू बुनिँदै भत्कदै गर्दथे । मेरो भविष्य भनेको अर्काको घर गरेर खानुमा सीमित थियो । ममा बाहिरी सोचाइ कहिल्यै उमारिएन । मुस्किलले सात कक्षा पास गर्दा म भर्खर यौवनको खुड्किलो टेक्तै थिए । म आफ्नो भावी सपनाको राजकुमारको परिकल्पनामा डुब्न थालेको थिए । अचानक एक दिन मेरो कानमा गुन्जियो- ‘शान्ति, तेरो बिहे हुँदैछ, तेरो सपनाको राजकुमारसँग । अब तैँले घर खानुपर्छ । हुन त हामीलाई तँलाई अर्काको घर पठाउने इच्छा त कहाँ थियो र – चलिआएको चलन, घर गरेर खाएस् ।’
म झस्कन्छु । एउटा गोरुगाडा छेउबाट जान्छ । तराईको प्रचण्ड गर्मीको समय । म सडकमा छु । सडकले जस्तै जीवनको प्रचण्ड गर्मी सहेर म यहाँसम्म आएको छु । म कहाँ जाँदै छु – मलाई राम्ररी थाहा छ । हामी तीनजना सजीव प्राणी छौ -फिल्र्डवर्कका लागि पत्रकार उपनाम लिएर । साथीहरू के गफ गर्छन् म बुझदिन । भनौँ मलाई सरोकार छैन, म बग्छु फेरि सडकको लम्बाइसँगै ।
म घर खान सक्दिनँ । म मानिस थिएँ । मभित्र धेरै कुरा थिए, त्यसैले घर खान सकिनँ । सपनाको राजकुमार लोग्ने भनाउँदो लाटोबुङ्गोजस्तो थियो । कुनै लोककथाको नायकजस्तो । साथीहरूले जे भनेर उचाले पनि उचालिने अनि पछार्दा पछारिने । मैले उसको रिस खान सकिनँ । उसका यौनचाहना पचाउन सकिनँ । अरूको लहलहैमा लागेर स्वास्नीको चाहना बुझ्न नसक्ने, आत्मा पढ्न नसक्ने पनि कहीँ मेरो लोग्ने हुनसक्छ – मैले विदोह गरेँ । आवाज उठाएँ- म यस्तो घर खान सक्दिनँ जुन घरले मेरो घर खाने पाचनशक्तिको रातदिन ह्रास गर्दै लैजान्छ । त्यस समय मेरो जीवन अर्थशास्त्रीय सिद्धान्तमा चल्न थाल्यो । माग, आपुर्र्ति र उपभोक्ताको तालमेल बिगरन थाल्यो । जसले गर्दा अर्थशास्त्रीय हिसाबले मेरो जीवन असफल भएको साबित भयो । त्यसपछि मेरा बाआमाले मलाई अशान्त भएको हेर्न सकेनन् र माइतमा लगेर राखे । माइतमा म निस्प्रयोजन बस्न सकिनँ । म गाउँका पढेका दिदीहरूको साथमा पक्की सडक हुँदै सहर पसेँ । दिदीहरू पढेका हुनाले उनीहको भाँडा माझ्दै पढ्न थालेँ । कसरी एसएलसी पास गरेँ मलाई सपनाजस्तो लाग्यो । म धेरै कुरा गर्न सक्ने रहेछु भन्ने बोध हुन थाल्यो । एसएलसी पास गरेपछि एउटा प्रेसमा टाइपिङको काम गर्न थालेँ ।
कतै गाडीको हर्न बज्छ । म झस्कन्छु ।

‘साह्रै धूलो र गर्मी भयो । एकछिन पानी खाऊँ न । एउटा प्राणीको आवाज आउँछ ।

‘अब कति छ – धेरै हिँडियो यो सडक पनि ।’

‘अब आउनै आँट्यो । ऊ त्यो पल्लो गाउँ हो ।’ एउटा बाटो जान्ने प्राणी बोल्छ ।

हामी बलात्कारको रिपोर्ट लेख्ऩ जाँदैछौ- फिल्र्डवर्कमा । उसो त म त्यति फिल्र्डवर्कमा हिँड्दिनँ । तर बलात्कारको घटना स्वास्नीमानिससँग सजिलो हुन्छ भन्ने निर्ण्यले मलाई यो सडकमा हिँड्न बाध्य गरायो ।

सडक आपनै ठाउँमा छ । तर म बग्दै छु । म प्रेसमा काम गर्न थालेपछि मेरो जीवन गणितीय सिद्धान्तमा चल्न थाल्यो । काठमाडौँको ठाउँमा आफू बाँचेर, बाआमालाई पनि सास धान्न ऊर्जा पुर्याउनुपर्ने । मैले केही पाउँदै केही गुमाउँदै गएँ । कहिले गुमाइ मात्र रहेँ । बाआमालाई मैले कमाएर पठाएको सपनाजस्तो भयो । तर यो यथार्थ थियो । म उनीहरूको जीवन धान्ने ठूलो आधारस्तम्भ भएकी छु । म उनीहरूका लागि अपरिहार्य कथा बनेकी छु । जुन कथा कथेर कहिल्यै टुङ्गिदैन । जस्लाई उनीहले कसिङ्गर सम्झेर मिल्काएका थिए आज उही नै आँखाकी नानी भएकी छे ।

मैले जीवनको परिभाषालाई अङ्कहरूमा गणितीय हिसाबमा जोड, घटाउ भाग अनि गुणा गर्दै लगेँ । मैले सफलतालाई जोड्दै लगेँ अनि असफलतालाई घटाउँदै लगेँ । मेरो विगतको छवि शून्यमा बिलाउन पुग्यो भने वर्तमान उचालिएर अकास्सिन थाल्यो । मेरो जीवन अङ्कसँग मात्र होइन अङ्गसँग पनि सरोकार राख्थ्यो । जसलाइ मैले प्रापतीको यज्ञमा आहुति दिँदै गएँ ।
अचानक मेरो जीवनमा एउटा दिव्यपुरुषको प्रवेश भयो । उसले मलाई जीवनसम्बन्धी धेरैकुरा सिकायो । उसले मेरो विगतको छविलाई शून्यमा बिलाएर आगतलाई सम्पन्न बनायो । उसैको कारण आज म शान्तिमात्र हैन शान्तिमायाबाट पत्रकार सृष्टि भएकी छु । प्रेसमा काम गर्दागर्दै मैले धेरै अध्ययन गरिसकेको थिएँ । एक दिन एउटा लेख लेखेर सम्पादक भएठाउँ पुगेँ ।

‘यो लेख छापौ सर …-‘ भर्खर आएको सम्पादकलाई मैले अनुरोध गरेँ । यो सम्पादक धेरै मुडी छ, घमन्डी छ आदि विशेषणले विभूषित थियो ऊ ।

उसले सजिलै छाप्ने स्वीकृति दियो तर मेरो नाममा कमेन्ट गर्यो – ‘अहिलेको जमानामा यो शान्तिमाया नाम राम्रो हुदैन, बरु तपाई नामचाँहि बदल्नोस् । ल, सृष्टि राख्नोस् ।’

मैले उसको कुरालाई नाइँ भन्न सकिनँ । ऊसम्बन्धी फैलिएको वातावरणीय प्रदूषण सङ्लिदै गयो । त्यो मेरो लेखले निकै चर्चा पायो । फेरि अरू लेख लेखेँ त्यसले पनि चर्चा पायो । म चर्चाको विषय बन्न पुगे । मेरा समकक्षीहरूले मलाई प्रतिद्वन्द्वीको रूपमा हेर्न थाले, भनौँ मसँग खुलेर गफ गर्न छाडे । उनीहरूले मलाई उनीहरू चर्चामा आउने पौष्टिक आहार लुटेर म मौलाउँदै छु भन्ने भाव राख्न थाले । त्यसै पनि यो क्षेत्र प्रतिस्पर्धात्मक क्षेत्र थियो । जुनियरदेखि सिनियर स्टाफसमेत मसग तर्कन थाले । यस्तो परिवेशले उक्त सम्पादकसँग मेरो सम्बन्ध झाङ्गिँदै गयो । उक्त सम्पादकले मलाई कहिले प्रतिद्वन्द्वीको रूपमा हेरेन । उसले मलाई जीवनमा बाँच्नका लागि चाहिने पौष्टिक आहार दिँदै गयो । उसलाइ आफू रित्तिन्छु भन्ने डर थिएन किनभने ऊ आपनो ज्ञान, विवेक र प्रतिभामा पूणत विश्वस्त थियो । ऊ भन्थ्यो – ‘तिमीभित्र धेरै कुरा छ शान्ति, तिमीले यति चाँडै यत्रो प्रगति गर्यौ, तिमीले धरै कुरा गर्न सक्छ्यौ । तिमीभित्र कान्तिकारी भावनाहरू छन्, ज्वालामुखी छन् जुन ज्वालमुखी फुट्नैपर्छ र त्यसबाट निस्केको लावाले समाजका धेरै विकृति र विसङ्गतिहरूलाई जलाएर खरानी पार्नुपर्छ । तिमीजस्तो प्रतिभा, भावना, र संवेदना भएको नारी त मैले यो समाजमा देखेको नै छैन । तिमीजस्तो नारी पाएर यो समाजले गर्वित हुनुपर्छ ।’

वास्तवमा मलाई पाएर समाज कतिको गर्वित थियो त्योचाँहि मलाई थाहा थिएन तर मचाँहि उसलाई पाएर गर्वित थिएँ । उसले मेरो आत्मविश्वास बढाउँदै लग्यो । जसले गर्दा मैले पत्रकारितामा डिप्लोमा पास गरे । मलाई यति धेरै हार्दिर्कता र आत्मीयताका साथ सहयोग गर्ने व्यक्ति ऊ नै पहिलो थियो र सायद अन्तिम पनि होला । उसको र मेरो समीकरण मिल्दै गयो । तर ऊ अरूजस्तो पुरुष थिएन जो केही पाउन केही गुमाउँछ । उसको उदार हृदयले म प्रभावित भए । उसको आत्माभिमान र विवेकले म प्रभावित भए, त्यसैले म मेरो जीवनमा प्रमाणित हुन नसकेको समीकरण ऊसँग प्रमाणित भएको चाहना गर्न थाले । मैले उसबाट गुमाउँदै नगुमाई पाइ नै रहे । मैले आफूलाई ऊप्रति समर्पित गरेँ । त्यो समय, त्यो क्षण म बिर्सन सक्दिनँ जब हामी एक भएका थियौँ । वास्तवमा चोखो मायाको धरातल यति विशाल हुन्छ भन्ने अनुभव मैले कहिल्यै गरको थिइनँ । म आकृतिविहीन भएर हराएको थिएँ । मानिसहरू चोखो मायालाई डलरबाट रुपियाँमा रूपान्तर गरेझैँ व्यापारीकरण गरेर मात्र किन बाँच्छन् – म छक्क पर्थेँ । किनभने व्यापारमा बाँच्न सिकेको जिन्दगीले सत्य र यथार्थ भोग्न जानेको हुँदैन । तर यो समयले ल्याएको परिवर्तन पनि हो । जसलाई मान्छे त्याग्न खोजेर पनि सकेका छैनन् । तर म भाग्यमानी थिएँ जसलाई मैले सजिलै पाएको थिएँ । तर यो समय मसँग धेरै बित्न पाएन, भनौँ समयले मसँगर् इष्र्या गर्यो । ऊ मेरो मात्र हुन सकेन । ऊ विशाल ब्रह्माण्ड मा फैलन चाहन्थ्यो आकारविहीन भएर । त्यसैले मेरो आत्माले, मेरो भावनाले उसलाई छेक्न सकेन, रोक्न सकेन । उसको प्रतिभालाई यो समाजले चिन्न सकेन राष्ट्रले थाम्न सकेन । ऊ ज्ञान र विवेकको अविरल गङ्गा थियो जसलाई बाँध्न सकिँदैनथ्यो । त्यसैले ऊ पलायन भयो यो समाजबाट र यो राष्ट्रबाट । म भने उसको मायाको दियो बालेर अघि बढिरहेँ अँध्यारा गल्लीहरूलाई छिचोल्दै । उसले मजस्तो धेरै हन्डर, पीडा र कठिनाइ पार गर्दै आएकी शान्तिमायालाई सृष्टि बनाइसकेको थियो ।

यो सडक छोटिदै छ । यो सडकले जस्तो धूलोहिलो मेरो जीवनले खाइसकेको छ । तर अहिले मेरो जीवन कालोपत्रे सडक भएको छ । जहाँबाट हिँड्दा मानिसहरू गर्व गर्न थालेका छन् ।
हामी फिल्डमा पुग्यौँ । फिल्डमा सोधीखोजी गरिसकेपछि बलात्कार भएको घरमा पुग्यौँ । त्यहाँ सन्नाटा छ, उदासी छ, आकोश फैलिएको छ । मुस्किलले नेपाली भाषा बोल्नेसँग सर्म्पर्क राख्या । तर उसले पूरा कुरा गर्न मन गरेन । हामीले धेरै सम्झायौँ । अनि मात्र यथार्थ कुरा बाहिर आयो । हामीमध्ये एकजनाले फोटोग्राफ लियौँ । मैले उक्त महिलालाई प्रश्नन राखे। उसले मेरो प्रश्नन बुझी-बुझिन मलाई थाहा भएन । तर उसले आफ्नो भाषामा लामो आकोश व्यक्त गरी । म संवेदनशील भएँ । यदि उसको ठाउएमा म भएको भए  प्रकृतिले पनि महिलालाई मात्रै किन यसरी ठग्छन् – के उसले भोग्नुपरेको मानसिक र शारीरिक पीडा त्यति सजिलै हराउनसक्छ – उसले पाएको दुष्कलङ्क त्यति सजिलै मेटिन सक्छ – मानवीय मूल्य खोइ – बाँच्ने अधिकार खोइ – अहिलेको सुविधासम्पन्न आधुनिक युगभन्दा त पाषाण युग नै ठीक थियो । किनभने त्यसबेला यस्तो घृणित कार्य त हुदैनथ्यो । मानवीय मूल्य, मान्यता र भावनाहरूमा ठाडो आकमण भइरहेछ, खोइ मानवीयता – मानिस किन पशुभन्दा तल्लोस्तरमा गिरिरहेछ – यो गिर्नुको अर्थ के हो – म अत्यन्त भावुक र संवेदनशील बन्छु । यससम्बन्धी लामो लेख लेख्न मन लाग्यो ।

म सोच्न बाध्य हुन्छु । आज शान्ति हराइसकेको छ । उसको ठाउँमा म सृष्टि आएजस्तै शान्ति बिलाइसकेको छ । सायद सबैले शान्तिलाई आफूसँग राख्ने हैन अर्काको नासो हो भन्ने मान्यता राखेर नै यस्तो भएको हुन सक्छ । सबैले शान्तिलाई शान्तिको रूपमा विकसित गराउने चेष्टा गरेका भए मैले र समाजले जस्तो विभिन्न अवरोध, हन्डर र पीडा भोग्न बाध्य हुनुपर्ने थिएन । शान्ति हाम्रै हो, शान्ति हामीसँगै हुनुपर्छ, उसलाई हामीले नै हुकन, मौलाउन र फुल्न अवसर दिनुपर्छ भन्ने सोचाइ हाम्रो समाजमा कहिले आउला – क्षतविक्षत भएकी शान्तिलाई सृष्टि बनाउने महापुरुषको जन्म कहिले होला । यस समाजमा चेतनाको बीज कहिले उम्रेला ।

Sharmila Khadka Dahal – Niyati Le Janmayeko Kuntha

छोरीको आकस्मिक विमारीले मलाई अस्पताल पुयाउँछ । विमारी छोरी लिएर म आकस्मिक कक्षमा पुग्छु । आकस्मिक कक्षमा सबै डाक्टरलगायत अन्य कर्मचारी ब्यस्त देख्दछु । त्यहाँ कुर्सीमा गम्केर बसको डाक्टरलाई म विमारीको सबै लक्षण बताउँछु र आफूले घरमा नै गरेको प्राथमिक उपचारको जानकारी दिन्छु । सबै वृतान्त सुनेपछि उसले नजिकै बसेको अर्को डाक्टरलाई सम्बोधन गर्दै विमारी हेर्ने कुरा बताउँछ । उक्त ब्यक्तिको अनुहार मलाई चिरपरिचित लाग्दछ । मैले स्मरणको ढोका ढकढकाएँ अनि थाहा पाएँ ऊ मसँग पढ्ने प्रज्जवल रहेछ । उसले मलाई चिन्न सकेन । तर मैले उसलाई चिनेँ । नातावाद कृपावादले निलेको हाम्रो सामाजिक सस्कारलाई मपनि चाट्न पुग्दछु । मैले परिचयको ढोका उघारेँ । उसले मलाई नियालेर हेर्यो । मैले आफ्नो परिचय दिएँ । दश वर्षघिको सम्झना उसको मस्तिष्कमा ताजै रहेछ । हामीसँगै आइएस्सीमा पढथ्यौँ । उसले अन्य साथीभाइको बारेमा सोध्यो मैले पनि जाने जति बताएँ त्यसपछि उसले मलाई आत्मीयता देखायो । म पनि सोही चाहन्थेँ । छोरीलाई स्लाइन पानी दिनुपर्ने भयो दिइयो पनि ।

स्लाइनको पानीको थोपासँग म आफ्नो अतीत बगाउन पुग्दछु । मेरो जीवनले दश वर्षो साउने झरी बगाइसकेछ । प्रज्वल उही ब्यक्ति हो जसलाई म क्याम्पसमा मन पराउँदिनथेँ । ऊ आफ्नो सम्पूर्ण शक्ति खर्च गरेर मलाई रिझाउन खोज्दथ्यो । तर म उसको छायासम्म मन पराउँदिन थिएँ । ऊ साधारण परिवारको साधारण ब्यक्तित्व भएको थियो भने म उभन्दा निक्कै सम्पन्न परिवारको र रूपवती थिएँ । उसँग मेरो तुलना नै हुन सक्दैनथ्यो । उसले कुनै उपाय नलागेर अर्को ब्यक्ति मार्फ बिहेको प्रस्ताव पनि पठाएको थियो । जुन म लगायत मेरो परिवारकले ठाडै अस्वीकार गरेका थियौँ । यसबाट उसलाई नराम्रो मानसिक असर परेको हुनुपर्दछ । नत्र भने साधारण पढाइ भएको प्रज्वलले कसरी डाक्टरी पढ्न सक्थ्यो होला र – अहिले उसको व्यत्तित्व पनि निकै लोभलाग्दो देखिन्थ्यो । पहिलेको प्रज्वल र अहिलेको प्रज्वलमा आकाश जमिन फरक थियो । ऊ एउटा राम्री युवती लिएर अर्को कोठामा पस्छ । अनि ढोका लगाउँछ । ती दुइजना त्यहाँ किन पसे, मेरो ध्यान त्यतैतिर जान्छ । त्यो केटीसँग आएकी आइमाई मान्छे मसँग बोल्न खोज्दछे । ऊ सोधपुछ गर्न खोज्दछे । म पनि उसको बारेमा सोध्छु । उसले छोरीलाई जचाउन ल्याएकी रहिछे पिलो आएर । उनीहरू एउटै गाउँका रहेछन् । एकछिनपछि उसकी छोरी र प्रज्वल हाँस्दै कोठाबाहिर निस्कन्छन् । म उनीहरूलाई शङ्का र कपटपूर्ण हेर्राईले हेर्छु मलाई कताकता रिस उठ्छ । म आफ्नो स्थानमा बसेर हेरिरहन्छु । फेरि उही सहायक आएर कराउँछ । त्यो ब्यक्ति मसँग निकै नजिक हुन चाहन्छ । सायद प्रज्ज्वलले भनेर होला वा मेरो नारी सौर्न्दर्यपान गर्न हो, यी दुइटा कुरामा एउटा चाहिँ पक्कै हो भन्ने निष्कर्षा म पुग्दछु । तर जे भए पनि नौलो ठाउँमा कसैले आत्मीयता देखाएको हुनाले म खुसी नै हुन्छु । प्रज्वल स्वयम् मसँग चासो राख्दैन । किन होला – सायद विगतमा बिझेको काँडाले वर्तमानमा पनि झस्काउँदो होला उसलाई । म यसो बाहिर चियाउन पुग्छु । ऊ अर्को राम्री लेडी डाक्टरसँग हाँस्दै गफ गरिरहेको देख्छु । ऊ सायद प्रतिसोधको भावानाले मलाई जलाउन खोजिरहेछ, भन्ने म अनुमान गर्दछु । तर होइन उसँग काम परेर गफ गरेको पनि त हुनसक्छ नि, भनेर मभित्रको कुण्ठालाई दबाउँछु । मलाई अब उसको जीवनसँग के सरोकार, ऊ जोसग हाँसे पनि मलाई किन चासो परिरहेछ, थाहा छैन । म आफूभित्रको आवश्यकताभन्दा बाहिरको चिन्तनलाई मेटाइदिन्छु ।

म वर्तमानमा आएर छटपटिन्छु । मलाई प्रज्वलले विगतमा पाएको नियति भोग्न बाध्य गराएको छ । म न बाँच्न सक्छु, न त मर्न सक्छु । म कुण्ठित छु विखण्डित छु, कहिले नजोडिने गरी । व्यक्तिले गरेको निर्णय र सोचाइ कति गलत हुदोरहेछ भन्ने कुरा म आफैँले प्रमाणित गरेर देखाएको छु । म शून्यतामा मनोवाद गर्न पुग्दछु । सायद प्रज्वल मेरो वर्तमानबाट अनभिज्ञ छ । ऊ सोच्दो होला मैले राम्रो घरानामा बिहे गरेर खुसीसाथ बसेकी छु । जीवनमा पाउनु पर्ने खुसी सबै पाएको छु । तर उसलाई के थाहा म आ“सु पिएर बाँचेकी छु भन्ने । उसलाई म यो भन्न पनि चाहन्नँ किनभने उसले यो थाहा पायो भने मेरो स्थितिप्रति ऊ उपहास गर्नेछ अनि मलाई सहनुभूतिका अस्त्रहरू प्रयोग गरेर ऊ आफ्नो हृदयमा लागेको पीडामा मलहमपटी गर्नेछ । जुन म चाहन्नँ ।

केहीछिनपछि एउटी सिस्टर आउँछे । छोरीलाई अस्पतालमा भर्ना गर्नुपर्छ भनेर जान्छे । छोरीलाई वार्डमा लगिन्छ । म छोरीसँग हुन्छु । माइतमा फोन गरेर दाजुभाउजूलाई बोलाउँछु । घरमा फोन गर्नलाई कुनै औचित्य छैन । किनभने घर भन्नु मेरो चारपर्खालको गाह्रो मात्र छ । कान्छी छोरी माइतमा नै छ । घरमा को छ – उनीहरूका बुबा भनौँ मेरो लोग्ने, ऊ घरपरिवारको लागि निर्जिवसरह छ । उसको कुनै अवशेष बाँकी छ भने मात्र छोरीहरूको बाउ भन्ने एउटा पहिचान मात्र बाँकी छ । ओहो † यो पीडाले ठाउँ, बेठाउँ कतै पनि छोड्दैन । जुन बेला बढी दायित्व बोक्नु पर्ने ठाउँ पाउँछु पीडाले पोल्न थालिहाल्छ । यस्तो बेालमा बुबाको भूमिका प्रमुख रहन्छ बच्चाका लागि । तर…… त्यसैले त मुटु पोलिरहेछ । तर…… म पीडा पोख्न पनि सक्दिनँ। उकेल्न पनि सक्दिनँ । पीडाको आभाषसम्म दिन चाहन्नँ परिवेशलाई । त्यसैले त म बाँचिरहेको छु, एउटा शक्तिशाली नारी भएर । त्यहीँ शक्तिशाली नारी व्यक्तित्व दुर्गाको रूप लिएर ममाथि जाइलाग्छे किन सम्झन्छेस् उसलाई, तँलाई के दिएको छ उसले, पीडा, दुःख रोदन र एकाङ्की जीवन सिवाय, वास्तवमा उसले मलाई ठीक भनिरहेकी छे । किनभने ऊ अर्थात शेखरलाई म कति मन पराउँथे । ऊ मेरो हृदयको राजा थियो । उसको स्वर र सगीतप्रति मोहित भएर मैले मेरो माइतीको भावनालाई कुल्चाएर उसलाई अँगालेको थिए । ऊ मेरो सम्पूर्ण थियो, ऊ नै मेरो जिन्दगी थियो ऊ नै मेरो वर्तमान थियो, ऊ नै मेरो भविष्य थियो । ऊ विना एक छण पनि म कल्पना गर्न सक्दिनथेँ । उसको बोलीमा विश्वास गरेँ वाचालाई कबुल गरेँ। उसको सम्पूर्ण क्रियाकलापलाई विश्वास गरे अनि ऊप्रति सकारात्मक पाइलाहरू चाले“ ।

सुखद भविष्यको कल्पना गर्दै पाइलाहरू अघि बढ्न थालेँ । म ठान्दथेँ ऊ मेरो मात्रै हो अरू कसैको होइन । ऊ मेरो सिवाय अरू कसैको हुनै सक्दैन । मेरो अपरिपक्व सोचाईमा तब ठेस पुग्यो जब ऊ रातभर पनि घर आउँदैनथ्यो । उसलाई म र मेरो भावानाप्रति कुनै सरोकार थिएन । ऊ रातभर स्टुडियो, सुटिङ्ग, र रेकडिङ्गमा नै ब्यस्त रहन्थ्यो । बिस्तारै उसको गायन क्षेत्र मौलाउँदै गएको थियो ऊ राष्ट्रियस्तरको गायक तथा कलाकार बन्यो उसका फेनहरू धेरै भए । शुभचिन्तकहरू धेरै भए । ऊ मप्रति मात्र हैन छोरीहरूप्रति पनि उदासिन रहन थाल्यो । कान्छीछोरी जन्मँदा उसले मलाई आफ्नो वास्तविक चरित्र देखाएको थियो । ऊ एकपल्ट पनि अस्पतालमा मलाइ भेट्न आएन । ऊ धेरै माथि पुगिसकेको थियो । उसको लागि म साधारण महिलामात्र थिए । कतिले छोरी जन्म्यो भनेर नआएको होला पनि भने । सबैले आ-आफ्ना अडकलका बिस्कुन फिजाएका थिए । मैले त्यस्तो नाजुक अवस्थामा पनि आफूलाई सम्हालेँ । अनि छोरीहरूलाई पनि सम्हालेँ । त्यसपछि शेखर र मेरो असमझदारीको दूरी बढ्दै गयो । वास्तवमा ऊ, यही चाहन्थ्यो किनभने मसँग उसले खोजेको ग्लैमर्स, प्रतिभा, र सम्पत्ति केही थिएन । माइतीले दिएका केही सम्पत्ति पनि उसका एलबमहरूमा खर्च भइसकेका थिए । त्यसैले उसले मबाट पाउने कुरा केही थिएन । बरु उसको सफलतामा बाधा पर्ने तत्वहरू धेरै थिए मसँग । त्यसैले ऊ मदेखि धेरै टाढा हुँदै गयो । म भने मेरो कोमल नारी हृदयलाई विद्रोही अर्न्तभावले कठोर बनाउँदै लगेँ । अनि आफूलाई जस्तासुकै परिस्थितिमा पनि बाँच्न सक्ने शक्ति पैदा गर्दोरहेछ । जिन्दगीलाई सम्झौता र सङ्रघर्षका पयार्यकारूपमा लिएर पाइलाहरू अघि बढाउँदै लगे ।
पुनः प्रज्वल र अरू दुइ डाक्टर आएर मेरो एकाग्रता भङ्ग गर्न आइपुग्छन । छोरीलाई एपेन्डिक्सको अपे्रशन गर्नुपर्छ भनेर जान्छन् । म गहिरो चिन्तामा डुब्छु । भोलिपल्ट दिउँसो छोरीको अप्रेसन छ । म रातभर छटपटिन्छु । छोरीको पीडासँगै आफूपनि बग्छु । प्रज्वल किन हो त्यति आएन । रातभर स्लाइन पानी दिइयो । मनमा अनेकौ तर्कनाका ज्वारभाटाहरू उठ्तै, बस्तै गए । आफूले आफैलाई सान्त्वना दिए । तोकिएको समयमा अप्रेसन भयो । अप्रेसन सफल हुन्छ । अप्रेसन सकिएपछि र्सजन डाक्टरले मलाई बोलाउँछ । उसले भन्छ तपार्इँको छोरीको वास्तवमा एपेन्डिक्स फूलेको रहेनछ । हामीसँग भिडियो एक्सरेको मेसिन बिग्रेको हुनाले राम्रो डायग्नोसिस नगरी अप्रेसन गरेछौँ तर पनि केही भएको छैन । यो साधारण कुरो हो । म आक्रोसित बन्न पुग्दछु अनि क्रोधलाई शब्द शब्दका वाणमा परिवर्तन गर्न पुग्दछु । तपार्इ“हरूको लागि यो साधारण कुरो हो तर मेरो लागि होइन । तपाईँहरूले के ठान्नुभएको छ – मेरो छोरीलाई खसी काटेझैँ काट्दा साधारण भन्नु हुन्छ वा एउटा गोली खाएर निको हुने विमारलाई चिरफार गर्नुहुन्छ । मैले यतिका समयसम्म कति मानसिक वेथा सहे हु“ला । तपाईँहरूले यो कल्पना पनि गर्न सक्नु हुन्न । त्यसको क्षतिपूर्ति तिर्नसक्नु हुन्छ – यत्रो नाम चलेको अस्पतालमा एउटा भिडियो एक्सरे मेसिन तयारी अवस्थामा राख्नु पर्दैन । विमारीको जिन्दगीसँग खेलवाड गर्नुहुन्छ –

मेरो आवाजले अप्रेसनथियटरको बाहिरको कोठा थर्कन्छ । म आफूभित्रको कुण्ठा सबै पोख्दछु त्यो डाक्टरलाई । उसलाई झम्टन्छु । छुट्टयाउन प्रज्वल आइपुग्छ । मेरो आक्रोशित र व्रि्रोही हृदय पग्लेर आ“सुमा परिणत हुन पुग्दछ । म गल्छु, नियतिले भिज्छु, कुण्ठाले चुटिन्छ । प्रज्वल मूर्तिवत हुन पुग्दछ । यसमा उसको कुनै दोष थियो वा थिएन म भन्न सक्दिनँ । किनभने उसैले मेरो निकटता खोजेर मेरो छोरीको अप्रेसन गराएको पनि हुन सक्दछ । यसोगर्दा उसले मलाई उसको शान शौकत देखाएर मस“ग बदला लिन सक्थ्यो । म उसलाई शङ्कालु र दोषपूर्णहेर्राईले हेर्छु मलाई सबै पुरुषहरू देखि घृणा लागेर आउँछ । छोरीको अवस्था देख्दा मुटु फुटेर आउछ । सास थुनिएर आउँछ । मातृत्व वात्सल्यताले मुटु चिरिएर ज्वालामुखी निकाल्न खोज्दछ । म लामो सुस्केरा लिन पुग्छु । छोरीको नाजुक स्थितिले म छटपटिन्छु । त्यहाँ एक सेकेण्डपनि बस्न सक्दिन। त्यसपछि मेरा दाजुभाउजूलाई छोरीको हेरविचार जिम्मा लगाएर म हिड्छु कतै एकान्तमा जहाँ जाँदा पनि मेरो नियतिले भनिरहेको थियो – जसरी मैल प्रज्वलको प्रेमको एउटै गोली खाएको भएहुने ठाउँमा शेखरको प्रेमलाई राम्रा् डायग्नोसिस नगरी जीवनलाई नराम्ररी चिरफार गर्न पुगेँ त्यसरी नै यी डाक्टरहरूले मेरो छोरीले एउटा गोली खाँदा निको हुने विमारलाइ चिरफार गरेर मैले मेरो जिन्दगीमा भोग्नु परेको नियति भोग्न बाध्य गरायो । म जुन मानसिक पीडामा छटपटिरहेछु त्यहीँ पीडा भौतिकरूपले मेरी छोरीले भोग्न बाध्य भएकी छे ।

Sharmila Khadka Dahal – Sarita Malai Maaf Gara

दिनभरि अफिसमा अफिसियल कार्यको बोझले र हाकिमको आदेशले शिथिल भएको मस्तिष्क अनि घरमा पारिवारिक दायित्वले र श्रीमतीको आज्ञाले थाकेको शरीर लिएर म ओछ्यानमा पल्टिरहेको हुन्छु । त्यसै समयमा फोनको घन्टी बज्छ ।
‘हैलो…. हो˜ म.. विनोद ए˜˜ ।
फोनमा परिचित महिलाको स्वर सुन्नेबित्तिकै म रोमाञ्चित र उद्वेलित हुन पुग्दछु । साहित्यकार सरिताको स्वर – उनी भर्खर उदाउँदै गरेकी भविष्यको राम्रो नारी साहित्यकार हुन् । उनीसँग साक्षात्कार हुँदा वा फोनमा स्वर सुन्दा मात्रै पनि मेरो मेसिनजस्तो शरीरमा प्राण भरिएर आउँछ । म उनीसँग अतीतमा पुग्छु । उनीसँग साक्षात्कार भएको समयमा म आफूलाई सबै बन्धनबाट मुक्त भएर अर्कै संसारमा छु जस्तो लाग्दछ । अनि सधै यथार्थबाट टाढा रहुँ जस्तो लाग्छ । तर यो सम्भव छैन ।
फोनमा कुरा लम्बिन्छ ।
“ए˜ भेट्ने.. कहाँ – मैले हो˜˜ हुन्छ नि… ।”
फोनमा नचाहँदानचाहँदै मैले कुरा टुङ्ग्याउनु पर्ने हुन्छ । उनले फोनमा भनेकी थिइन् । मैले उनको सिर्जनशील मस्तिष्कमा सिर्जनाका बीउ छरिदिएँ अरे । म अचम्ममा परेँ । यो कसरी सम्भव भयो होला , बितेको हप्ता मेरो उनीसँग भेट्ने योजना त थियो तर भेट हुन सकेको थिएन । भेटै नहुँदा कसरी मैले उनको मस्तिष्कमा सिर्जनाको बीउ र्छन पुगेँ । कल्पना गर्दागर्दै भोलिको एघार बजेको प्रतीक्षामा आफूलाई निन्द्रादेवीको शरणमा पुयाउँछु ।
ठीक ठाउँ अनि ठीक समयमा हाम्रो भेट हुन्छ ।
“कतै बसेर गफ गरौँ न ।”
” हुन्छ जाऔँ न ” भन्दै नजिकको केविनवाला रेस्टुरेन्टमा हामी पस्यौँ ।
परिचित ठाउँमा एउटा महिलासँग रेस्टुरेन्टमा पस्दा मलाई केही असजिलो अवश्य महसुस भयो । किनभने यसरी रेस्टुरेन्टमा पस्ने समय त मेरो छोराको थियो । तर मैले ती सबै कुरा उनको उपस्थितिमा बिर्सिदिए ।
“के खाऊ, तातो कि चिसो -” उनले मेरो असहजतामा स्वभाविक व्यवहारले शब्दको प्रहार गरिन् । चिसो सिरोटोले बिदा माग्न गाह्रो मानिरहेको समयमा चिसो हैन , तातो खाने सल्लाह भयो ।
“तपाईँलाई भेट्न मैले पहिलो हप्तादेखि नै कोसिस गरिरहेकी थिए“ , विनोद सर । तर भेट भएन, एउटा कुरोचाहिँ पक्कै भयो ।”
“के कुरा सरिताजी – तपाईँले हिजो फोनमा पनि भन्दै हुनुहुन्थ्यो नि, म त सुन्नलाई एकदम उत्सुक भइरहेछु । ”
“कुरा खास केही होइन, साधारण हो विनोद सर, तर यसभित्र हाम्रो समाज यहाँको नारीहरूको मानसिकता अनि सिङ्गो देशको संस्कृतिको कुरा आउँछ । ”
उनी भन्दै गइन्- “थाहा छ विनोद सर , अस्ति तपाईँलाई फोन गर्दा भाउजूले मप्रति कस्तो व्यवहार गर्नुभयो । तपाईँले भोलिपल्ट भेट्ने सम्भावना छ भन्नुहुँदा म विराटनगर आएँ अनि फोनमा भाउजूलाई मसँग भेट्ने कुरा थियो, भन्दा त्यससमय तपाइहरू दुईजना बाहिर जाने कार्यक्रम रहेछ । तपाई“प्रति वहाँको अविश्वास मौलाएर हो वा के भएर हो – वहाँले मलाई अत्यन्त शङ्कालु व्यवहार गर्नु भयो….. तर म रिसाइन, विनोद सर … किनभने हाम्रो देशको अधिकांश महिलाहरूको प्रतिनिधित्व भाउजूले गर्दै हुनुहुन्थ्यो । यस्ता महिलाहरूप्रति मलाई रिस हैन दया र सहनुभूति जागेर आउँछ । ”
“ओहो ! यो ठीक भएन सरिताजी.., तपाईँ हाम्रोबीचको यति राम्रो मित्रतालाई दोषाउनु पाप हो । म त्यसको लागि तपाईँसँग माफी माग्छु ।”
“हैन विनोद सर, यो स्वाभाविक हो अनि यथार्थ पनि । यसमा तपाईँजस्तो वरिष्ठ साहित्यिक व्यक्तित्वले मजस्तो एउटा कनिष्ठ व्यक्तित्वसँग माफी माग्नुचाहिँ पाप हो । किनभने यो एउटी नारीले अर्को नारीप्रति गरिएको व्यवहार हो । यो हामीले नै सचेत भएर सुल्झाउनु पर्दछ । हुनसक्छ मैले पनि कुनै नारीलाई आफ्नो श्रीमान्लाई सोध्दा नजानेर यस्तो व्यवहार गरिएको हुनसक्छ ।”
“तर पनि हुँदैन सरिताजी˜ , तपाईँजस्तो एउटा पारिवारिक जिम्मेवारी बोकेकी , अफिसियल दायित्व बोकेकी , साहित्यिक फाँटमा चम्किलो ताराझैँ उदाउँदै गर्नुभएकी नारीमाथि विसगतिग्रस्त भएको नारीले अपराध चिताउनु पनि पाप हो ।
“होइन विनोद सर, तपाईँ यसलाई अन्यथा नलिनुहोला । यस्ता कुरालाई एउटा नारी साहित्यकारले सजिलै पचाइदिनु पर्दछ । यदि पचाउने शक्ति उसमा छैन भने साहित्यिक खुराकलाई परिमार्जन गर्ने शक्ति नै उसमा हुँदैन । हामी साहित्यिक मान्छे यस्तै कुराले संवेदनशील हुन्छौ । अनि भावानालाई शब्दस“ग साइनो गाँस्दै सिर्जना फुराउँछौ । अब हामी यसै कुरामा केन्द्रित नबनौँ । बरु अन्य व्यक्तिगत कुरा गरौँ न ।”
म सरिताजी र मेरो श्रीमतीबीच तुलना गर्न पुग्दछु । मेरी श्रीमती घरधन्दामा सीमित, लोग्नेको कमाइमा खटाइखटाइ घर्रखर्च गर्नुपर्ने अनि घरको चार पर्खाललाई नै संसार मानेर रमाउनु पर्ने मानसिकताले थिचिएकी नारी । अनि कहाँ सरिताजी आफनो जागिरले अर्थिक सम्पन्नता भएकी, आधुनिक नारीको प्रतिनिधित्व गर्दै जीवनको सत्य र खुशी खोज्दै हिँड्ने नारी ।”
“विनोद सर कहाँ हराउनुभयो तपाईँ… -” उनले मेरो कल्पनाको तन्द्रा चुडाइदिइन् । मैले कुरो बङग्याउदै भने- “हैन सरिताजी तपार्इँ र तपाईँको श्रीमान्मा यस्ता कुराले असर पार्छ कि पार्दैन । जस्तो कि तपाईँ मलाई भेट्न एक्लै आउनुहुन्छ अनि तपाईँको श्रीमान पनि अफिसियल कामले कति महिलासँग बाहिरिनुहुन्छ होला ।
“हो विनोद सर , हामी यस्तै गफ गरौ न ।”
उनी भावुक हुँदै भन्न थलिन्- “हेर्नोस्, न म यसरी कति एक्लै हि“ड्छु कहिले कहाँ – कहिले साहित्यिक कार्यक्रममा एक्लै हिँड्छु । तर हामीबीच दुइ आत्मालाई जोड्ने विश्वासको एउटा दह्रो झोलुङ्गे पुल छ । जुन पुल छोराछोरीको माया, पारिवारिक दायित्व अनि सामाजिक प्रतिष्ठाले बनेको छ । त्यो पुल चुडिने सम्भावाना नै छैन । हुनसक्छ कहिलेकाहीँ हल्लिन्छ अनि त्यो हल्लिने स्थिति बढी भयो भने चुडिन पनि सक्छ त्यसैले त्यसकोलागि हामीले आफूलाई स्थिर पार्नुपर्दछ । कहिलेकाहीँ मैले खोजेको कुरा उसमा भेट्दिन अनि उसले खोजेको कुरा ममा पाउदैन । हामी त्यसको विकल्प खोज्न थाल्दछौँ । हाम्रो विवाह भएको एकदुर्इ वर्षगर्दै केहीवर्षबितिसक्यो । सुरुमा जस्तो रोमाञ्चकता अनि त्यो अनुभूति हामीमा नहोला किनभने सधैसँगै बस्दा कतिकुरा हराउन पुग्दछ अनि कतिकुरा जन्मन थाल्दछ । हामी त्यो उदासिनता र निराशाबाट बच्न चाहन्छौँ । तर त्यसको मतलब परपुरुषगमन र परस्त्रीगमन होइन । त्यो म पटक्कै मान्दिनँ । जीवनलाई नयाँ उर्जा दिने अनि सिर्जनशील क्षमता बढाउन म तपाईँसँग आएर केही क्षण आफ्नो मस्तिष्कमा उर्जा थप्ने काम गर्छु किनभने म भावुक र संवेदनशील नारी पनि हु । त्यसरी नै ऊ पनि सम्भवत आफूलाई स्फूर्त राख्न र उर्जा थप्ने काम यसरी नै गर्छ होला । हामीले हाम्रो दुइको व्यक्तिगत स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप गर्दैनौँ यदि त्यो सामाजिक मान्यता भन्दा बाहिर छैन भने । हामी आधुनिकतामा रमाउन चाहन्छौ तर पूर्वीय सभ्यतालाई भुलेर हैन ।”
म सरिताजीको गफमा लटि्ठन्छु । एउटा सपेराको अगाडि र्सप लटि्ठएझैँ । सायद मेरो वैवाहिक जीवन पनि यस्तै भैदिएको भए एउटा विदत्व नारीको अगाडि मैले श्रीमतीको कारण लज्जित हुनुपर्ने थिएन । अनि उनले गरेको श्रीमान् र श्रीमती बीचको समझदारीको कुरा हाम्रोलागि आकाशको फलजस्तै थियो । तर पनि पुरुषप्रधान समाजमा जन्मेको मैले आफनो पुरुषत्वको उपभोग र व्यक्तिगत स्वतन्त्रताको फाइदा मनग्गै उठाएको छु ।
उनले फेरि मलाई आर्कषित पार्दै भनिन्- “विनोद सर साहित्यकारले जतिसुकै कठोर सिर्जना गरे पनि उसको हृदय शिशा जस्तै नरम हुँदो रहेछ हगि –
म आफनो तन्द्रा टुटाउँदै ‘हो’ भन्न पुग्दछु । तपाईँसँग बसेर यस्तै गफ गर्न अनि आफनो विश्वासमा ठेस पुगेको कुरा गर्दा मलाई असाध्यै आनन्द आउँछ । किनभने एउटा साहित्यकारको हृदय बुझ्ने व्यक्ति पनि साहित्यकार नै हुनुपर्दछ । जस्तो लाग्छ किन हो मलाई साहित्यिक रुचि नभएको व्यक्तिमा संवेदना हुँदैन , हृदय नै हुँदैन अनि आत्मा नै हुँदैन जस्तो लाग्छ , विनोद सर ।”
“तपाइँले भन्नुभएको यो कुरा अलिक ठीक लागेन सरिताजी मलाई । किनभने सबै व्यक्तिमा साहित्यिक रुचि हुन्छ नै भन्न सकिदैन तर त्यो नहुँदैमा उसमा कुनै कुरा हुँदैन भन्ने होइन । व्यक्तिको आआफ्नो जीवनलाई हेर्ने दृष्टिकोण हुन्छ अनि बाँच्ने शैली पनि । यसैमा ऊ रमाउँछ । यस्ता कुराको चिन्तन तपाई“ बिस्तारै गर्दै जानुहुनेछ । तपाई“को परिपक्वतासँगै यी कुरा माझिदै जानेछ सरिताजी । अहिले तपाईँले भन्नुभएको जीवनप्रतिको तपाईँको जुन दर्शन छ नि त्योचाहिँ मलाई खूब मन पर्यो तर तपाईँले भन्नु भएजर्स्तै र सोच्नु भएजस्तै सबैको जिन्दगी हुँदैन । त्यसैले जीवनको भोगाई पनि सबैको आ-आफ्नै खाले हुन सक्छ, सरिताजी ।
“विनोद सर, हो यस्तै साहित्यिक ज्ञान बढाउन म तपाईँलाई दुःख दिइरहन्छु । अन्यथा नलिनु होला । अनि तपाईँको हौसला , प्रेरणाले मलाई थप उर्जा पैदा गर्छ । नत्रभने म शिथिल हुन पनि सक्छु ।”
मैले पनि आफूले उनलाई भेट्दा बेग्लै अनुभूति आउँने कुरालाई आधा पचाएर आधा मात्र ओकले- “हो सरिताजी तपाई“सँग भेट्दा मलाई पनि मेरो साहित्यिक फाँटमा केही मलजल पुगेको अनुभूति हुन्छ ।”
“विनोद सर , हामी धेरै बेर गफ्यौ । अब मेरो हिँड्ने समय भइसक्यो । कुनै विदाको समय मिलाएर फेरि भेटौला हुन्न र -”
मैले मुख अमिलो पार्दै उनलाई बिदा गर्ने कुरामा सहमति जनाएँ । तर घरमा फर्केपछि एक तमासको भए कुनै खोलाले बगाएर किनारामा फ्याकेको डुङ्गाजस्तो सरिताका हरेक कुराहरू कानमा एकनास रिङ्रिगाइ रहे । मलाई कुनै सपनाबाट ब्युँझिए जस्तो लाग्यो । भित्र कताकता आफैँलाई सोध्न मन लाग्यो ‘के त“ सरितालाई प्रेम गर्न लागिस् – यो उमेरमा तँलाई सुहाउँछ । म अनासय कराएँ सरिता मलाई माफ गर….. ।’

Sharmila Khadka Dahal – Smriti Ko Canvas Ma

शर्मिला खड्का – स्मृतिको क्यानभासमा

(यो कथा कथोपन्यास ‘क्यानभासमा कथाहरू’को एउटा श्रृङ्खला हो। कथाकार अनामिकाको अचानक कथाकार दिवाकर नेपालीसँग ‘समयको क्यानभासमा’ कथामा भेट भएपछि जन्मिएका कथाहरू हुन् यी। त्यसैले यस कथामा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरिएको छ। – लेखिका)

कथाकार दिवाकर नेपालीज्यू, अहिले म आफ्नै कथा लेख्दै छु। मभित्र पनि धेरै कथाहरू छन्। म स्वयम् मेरो कथाको एउटा सशक्त पात्र हुँ। पात्रहरूसँगको बेमेल समीकरण, उनीहरूको पूरा गर्न नसकिने मागहरूदेखि म दिक्क भएर अहिले आफ्नै कथा लेख्दै छु। यो मेरो विगत्को वियोगान्त पे्रमकथा हो। प्रेम वियोगमा मात्र अमर हँुदो रहेछ। मेरो कथाको शब्ब्दकोषमा यो प्रेमकथाका शब्दहरू अमर भएर बाँचेका छन्। जसरी ताजमहल, रानीमहल प्रेमका प्रतिकका रूपमा अमर छन्। यो कथा मेरो फक्रदोँ यौवनकालको हो। जुनकालमा धेरैजसो यौवनाहरूको जीवनमा यस्तो घट्ना घट्ने गर्दछ। मात्र यति हो सबैले सार्वजनिक गर्न सक्दैनन्। जीवन एउटा कथाको सागर रहेछ यहाँ कति कथा लेखिन्छन् कति मेटिन्छन् थाहा हुँदैन रहेछ। हामी कलम चलाउनेहरूले नै लेखेनौँ भने अरू कसले लेख्छ र? त्यसैले मैले आफ्नो कथालार्ई सार्वजनिक गर्न रुचाएँ।

कथाकार दिवाकर नेपालीज्यू मेरो कथाको चरमोर्त्कस यस्तो छ –“छोरी तिमीले सुधांसुलाई छोडिदेऊ। उसँग हाम्रो जातभात, खान्दान केही मिल्दैन। बहिनीहलाई हेर, उनीहरूको बिहे गर्न गाह्रो हुन्छ। समाजमा हमीलाई मुख देखाइनसक्नु हुन्छ। तिमीले बिहे गर्‍र्यौ भने तिमीलेपनि दुःख पाउनेछौ। किनभने अग्रवाल परिवारले हाम्रो जातलाई स्वीकार गर्दैन। तिमीले ठूलो दुःख पाउनेछौ। त्यसैले मेरो यति बिन्ती सुनिदेऊ।’
मेरो कान्छाबुबाका अनुहार अहिले मेरो स्मृतिबिम्बमा एकाएक झलमल्ल् भएर बलिरहेका छन्। मेरो कान्छाबुबा मेरा लागि सबै थिए। मेरा कान्छाबुबा र कान्छीआमाले म सानी अनाथलाई हुर्काइबढाई क्याम्पस पढ्ने बनाउनु भएको थियो। पे्रममा अन्धा भएर मैले उहाँको विश्वासमा तुषरापात पार्न हुँदैनथ्यो। मेरो कान्छोबुबा र घर खान्दानको भावनाको अगाडि मेरो पे्रम लाचर भयो। मेरो हृदय, हृदयविहीन भयो। विचारहरू शुन्य भए। मेरो कान्छोबुबाको अनुनयविनयसँगै मेरो प्रेम सदाका लागि समाप्त भयो।
कथाकार दिवाकर नेपालीज्यू मेरो कथाको शुरुवात यस्तो छ –म सानी अनाथ केटी। कान्छाबुबा र कान्छीआमा भनौँ काका र काकीको आश्रयमा बाँचेकी निरीह केटी। बुबा सानैमा घर छोडेर हिँडका थिए। आमा अर्कैसँग बिहे गरेर गएकी थिइन्। काकीका दुई छोरीहरू थिए। काकी जसलाई म काकीआमा भन्ने गर्दथेँ। उनले शुरुमा त माया गथिन्। तर पछि सौतेनी आमाको व्यव्य व्यययययय
व्व्य व्व्व्ववव्यवहार गर्थिन् कोझै व्यवव
। मैले घरको सारा घरधन्दा हेर्नुपर्दथ्यो जाडोमा काम गर्दागर्दा हात–खुट्टा फुटेर हेरिनसक्नु हन्थ्यो भने गर्मीमा घमउरो र पिलोले औधी दुःख दिन्थ्यो। तर मेरी काकीआमा कहिल्यै माया र स्नेह देखाउँदिनथिन्। मेरा विवश र लाचार अवयवहरू उज्यालो भएदेखि दायित्वमा जोतिइरहन्थेँ गोरु जोतिएझैँ। तर पनि मेरी काकीआमा कहिल्यै सहानुभूतिका एक शब्दले अभिशेचित गर्दिनथिन्। मातृत्व वात्सल्यताको अभावले यो मन तडपन्थ्यो, काकाकुल तडपिएझैँ। पीडा वेदनाहरूसगँै लुकामारी खेल्दै मेरो बाल्यकाल बितेको मलाई पत्तै भएन। म नौँ– दश कक्षामा पढ्ने हुदा फुलझैँ सौन्दर्यले ढकमक्क भएरफक्रिसकेकी थिएँ। चारैतिर मेरो सौन्दर्यको वर्णन हुन थालेको थियो। भ्ट्ने जो कोहीले मेरो सौन्दर्यको वर्णन नगरे आफूलाई अधुरो ठान्दथ्यो। मेरी काकीआमाले यो सुन्नपर्‍यो भने कानमा तातो झर रोपेझँै हुन्थ्यो उनलाई। अझ प्रशंसा सुनेर प्रतिक्रिया दिनुपर्दथ्यो भने मृत्युदण्डको सजाय भोग्नुपरेझैँ पीडा हुने गर्दथ्यो उनलाई। यस्तो अवस्थामा तुरुन्त आफ्ना छोरीहरूको प्रशंसा गरेर मनलाई शान्त पार्न खोज्थिन्। मलाई मेरी काकी आमाले मेरो रूपको कारणले नै माया नगेकी पो हो कि भन्ने मलाई लाग्दथ्यो र ईश्वरले मलाई किन यस्तो रूप दिएका होलान् भनी मनमनै गुनासो पोख्ने गर्दथेँ। मातृत्वस्नेहको लागि मेरो आत्मा तड्पन्थ्यो। फक्रन लागेको यौवनमा आउने अनेकौँ जिज्ञासा, उत्कुण्ठा र समस्याका ताता आभाहरू आमाका शीतल छहारीमा पोख्न तीव्र आकाङक्षा हुने गर्दथ्यो। त्यो अभावको परिपूर्ति म पुस्तकबाट लिने गर्दथेँ त्यो पनि लुकेर।

काकीआमाका छोरीहरू बोडिङ्ग स्कुलमा पढ्ने गर्दथे। मैले उनीहरूको डेस खाजा सबै ठीक पार्ने गर्नुपर्दथ्यो। उनीहरूको पुस्तक, लुगा हेरेर म आँखाबाट आँसु झार्ने गर्दथेँ। उनीहरू स्कुलबाट घुम्न गएको, कार्यक्रममा नाचेको देख्दा मनमा बेचैनको ठूलो आँधी चल्ने गर्दथ्यो। दैवले मलाई यसरी नै ठगेछन् भन्दै मनको आँधीलाई आफैँभित्र साम्यपार्ने गर्दथेँ। मलाई पैसाको खुब खाँचो हुने गर्दथ्यो। किनभने उमेरसँगै आवश्यकताले पनि फट्को मार्दै गएको थियो। गाउँघरमा द्यौसीभैलो खेल्ने चलन थियो। यसरी द्यौसीभैलो खेल्दा निकै पैसा हुने गर्दथ्यो तर उमेर बढ्दै गएको हुनाले मलाई खेल्न नजाने गरी काकीआमाले उदीँ गरेकी थिइन्। एकपल्ट पैसाको मोहमा नसोची द्यौसी खेल्न गएकी थिएँ। द्यौसी खेल्दा खेल्दै हामीले निकै रात बितको थाहा पाएनौँ। म छिमेकीको घरमा नाच्दै थिएँ। मेरी काकीआमाले पछाडिबाट सिस्नोले खुट्टामा हानिन्। मध्यारातमा अरू कसैले देखेनन्। म सिस्नो पोलेर रुँदै घर आएँ। भोलिपल्ट मैले जीवनमा कहिल्यै नबिर्सनै गरी कुटाइ खानु परेकाले त्यसपश्चात मैले कहिल्यै विना इजाजत घरबाट बाहिर निस्किने आँट गर्न सकिनँ। मलाई उनको सामिप्य पर्न पनि डर लाग्दथ्यो। अझ रिसको तापक्रम बढेको बेला त सामुन्ने पर्न हुँदनथ्यो। म आफू डढेर खरानीझैँ हुन्थेँ। आफ्ना छोरीहरूले भनेको मानेनन् भने, पैसाको अभाव भयो भने वा आफूले भनेजस्तो भएन भने असाध्यै रिसाउँथिन्। त्यो रिस कन्टेनर बनेको मेरो भाग्यमा पोखिएपछि मात्र शान्त हुने गर्दथ्यो। यति धेरै पीडा बोकेर बाँच्नुपर्दा आफ्नो भाग्यलाई धिकाथे। मेरो अँध्यारो जीवनमा कतै खुसी र उमङ्गका झल्का भेटिन्छन् कि भनी खोज्ने गर्दथे।

कथाकार दिवाकर नेपालीज्यू, एकदिन मेरो जीवनमा खुसीको झल्का नयाँ ज्योति बनेर आयो। त्यो खुसी थियो एसएलसी पासको नतिजा। यो खुसीले मेरो जीवनमा नयाँ उमङ्गको पालुवाहरू पलाउन थाल्यो। म निकै परिपक्क भएकी थिएँ। मेरी काकीआमा मलाई पहिलाझैँ पिट्ने र गाली गर्ने कम गर्न थालेकी थिइन्। उमेरसँगै बढेको मेरो चाहना र आवश्यकतालाई बाध्यताको डोरीले बाध्नुपर्दा मेरा ओठका हाँसोपनि बाँधिन्थे। प्रायः म टोहलाएर र केके सोचेर बस्ने गदथेँ। घरमा कोही पहुना आयो भने मलाई सामुन्ने पर्न संकोच लाग्दथ्यो। जोकोही पाहुना मेरो रूपको प्रशसा गरिहाल्थे र सधैँ मेरी काकाीआमाको एउटै अभिव्यक्तिहुने गर्दथ्यो त्यो हो –“राम्रा मान्छेका बेहोरा राम्रा हुँदैनन् नि!”। वास्तवमा मेरो के बेहोरा राम्रो छैन भन्ने कुराको अनुसन्धान गर्दागर्दै म केही बोल्न नसक्ने हुन्थे। म आफूलाई अपमानित भएको महसुस गरी त्यहाँबाट हिँडिहाल्दथेँ।
क्याम्पसको पढाइसँगै मभित्र नयाँ उमङ्ग, जोशहरू अनेकौँ हाँगा भएर हलहल बढ्न थाले। मेरो खुसी मेरी काकीआमाको मुटुमा खिलझैँ गडिएको थियो। जब म पढ्नलाई खर्च माग्ने गर्दथेँ तब उनको गुम्सिएको पीडा अप्रत्यक्ष रुपमा व्यक्त हुने गर्दथ्य। तर म त्यसलाई सामान्य ठानी वेवास्ता गर्दथेँ। क्याम्पसमा एकपल्ट मलाई देखेपछि फर्केर नहेर्ने प्रायः कम हुन्थे। मेरो रूपको प्रशंसक धेरै थिए। मलाई भने मेरो रूपको अझ निखार ल्याउन केही मेकअप गर्ने र फैशन फेर्ने चाहना बढ्न थालेको थियो। तर अभावको खाडल यति ठूलो थियो मेरो चाहनाले कहिल्यै पुरिन सक्दैनथ्यो। पढेर जागिर खाएर म अभावको खाडल पुर्ने मेरो ठूलो धोको थियो।
दिवाकर नेपालीज्यू, क्याम्पस पढ्न जाँदाजाँदै मेरो जीवनमा एउटा अविस्मरणीय घट्ना घट्यो। क्याम्पसमा एकदिन एउटा केटाले मेरो छेउमा आएर ‘म तिमीलाई माया गर्छु’, भन्यो। यति भनेर ऊ कतै हिँडिहाल्यो। मैले उसको अनुहारपनि राम्रोसँग देख्न पाइँन। यो सुनेर म खङ्ग्रङ्ग भएँ। मलाई हजारौँ वोल्टको करेन्ट लागेजस्तो भयो। म डर र लाजले निलोकालो भएँ। यो घट्ना मैले कसैलाई सुनाइनँ। त्यसको केही दिनपश्चात त्यो केटाले पुनः मलाई एक्लै भएको मौका छोपेर त्यसै भन्यो। फेरि ऊ त्यहाँबाट हिँड्यो। यसपटक पनि मैले उसको अनुहार राम्रोसँग हेर्ने मौका पाइनँ। मैले यसपालिचाहिँ मेरी मिल्ने साथीहरूलाई यो घट्नाबारे सुनाएँ। उनीहरूले भने –’एक झापड हानिनौ?’।
मैले मनमनै सोचेँ अब फेरि भनेछ भने एक झापड दिनुपर्ला। त्यसको निकैदिनपछि उसले फेरि यस्तै मौका छोपेर उही कुरा काननेर आएर भन्यो। अहिले म डराइनँ। बरु एक झापड दिनुपर्ला भनेर हात उचालेको मात्र के थिएँ, ऊ फुत्त हिँडिहाल्यो। मलाई अब रिस उठ्न थाल्यो। अब फेरि त्यो केटाले मलाई त्यसै भन्नेछ भनेर मैले अनुमान लगाएकी थिएँ। त्यसलाई मैले र मेरा साथीहरूले चिनिसकेका थियौँ। अब त्यसको लागि के गर्ने भनेर हामीले सल्लाह गरेका थियौँ। अर्कोचोटि फेरि त्यस्तै–त्यस्तै साथीहरू भएको ठाउँमा आएर फैरि उसले त्यही कुरा दोहर्‍यायो। यसपालीचाहिँ मौका नगुमाउने सोचले तुरुन्त हात उठाएँ। मेरो मुटु ढुकढुक गर्‍यो। खुट्टा लगलग काम्न थाले। हात उचालेर हिर्काउन मात्र कै आँटेकी थिएँ, मेरा हात लालकलुलुक भए। म बेहोश हुँलाजस्ती भएँ। उसले फुर्तिसाथ मेरो हात उचालेर आफैँले झापड लगायो र भन्यो –“तिमीले यसरी हिर्काउन साहस गर्नेछौ भनेर नै म तिमीलाई जिस्काइरहन्थेँ। म सुधांशु हुँ। तिम्रो नाम के हो? यसो भनुञ्जेल उसले मेरो हात समाइरहेको थियो। मेरा साथीहरू धेरैअघिदैखि उसको व्यवहारबाट रुष्ट भएकाले सबै खनिए उमाथि र भुन्न थाले –“ए मिस्टर तपार्इँलाई उसको नाम किन चाहियो? तपार्इँ उसको को हो? तपार्इँले धेरै अघिदेखि उसलाई तनाव दिइरहनुभएको छ। हामी क्याम्पस प्रमुखकोमा कम्प्लेन गर्न जान्छौँ।’
म नर्भस भएर केही बोल्न नसक्ने भएकी थिएँ। सबैभन्दा धेरै डर मलाई मेरी काकीआमाको लागेको थियो। उनले कदम्कदाचित यो कुरा थाहा पाइन् भने मेरो जीवनमा दश रेक्टरको भूकम्प आउन सक्दथ्यो। त्यस भूकम्पले क्याम्पसको पढाइ बन्द भएर मेरो जीवन तहसनहस हुन सक्थ्यो। म घोसेमुन्टो लगाएर एकोहोरो जमिन छोडुलाझैँ हेरिरहेकी थिएँ। मलाई रुँ–रुँ कतै भागुँ–भागुँझैँ लागेको थियो। अझ यो जमिनलाई छेँडेर भित्रै भासिउँ वा उडेर आकाशमा विलीन हुँ झैँ लागेको थियो। सबै कराएको सुनेर मलाई होश आएझैँ लाग्यो। साथीहरूलाई उसलाई केही नगर्न अनुरोध गरेँ। त्यतिञ्जेलसम्ममा धेरै विद्यार्थी जम्मा भइसकेका थिए।
“के भयो? के भयो?”– भीडमा उत्सुकता उमि्रन थाले।
“ए लैलाको मजनु रहेछ। ए! यार दिवाना भएको रहेछ। झन्डै कुटाइ खाएन विचराले”।
ममा केही सोच्ने शक्ति आएको थिएन। यत्तिका मानिसले के भन्ठाने होलान् मलाई। आखिर केटाहरूले जति नै गल्ती गरेपनि उनीहरूको कालो चरित्रमा कालो दाग कसैले देख्दैनन्। दोष देखिने स्त्रीमा मात्र हो जसले हरदम सेतो कपडामा सेतो चरित्रलाई बेरेर हिँड्नु पर्दछ। मनमा अनेकौँ विचार आक्रोसका लहरहरू उठ्दै बस्दै गर्न थाले। मैले कक्षा लिन सकिनँ। त्यसपछि साइकल लिएर घर आएँ।
त्यसदिनको घटना बिर्सन म निकै दिन क्याम्पस गइँन। त्यसपछि हाम्रो घरमा भागवत महापुराण लगाइने भएको थियो। घरमा पुराण भएकोले म क्याम्पस जान नै सकिनँ। बिहानदेखि बेलुकासम्म कामको चटारो रहन्थ्यो। घरको आँगनमा पुराणको मण्डव बनाइएको थियो। पुराणवाचक पण्डित माइकबाट कथा भन्थे। आउने जानेको घुइँचो थियो। म भने काकीआमाका निर्देशनमा खटाइएका कामलाई निमिट्यान्न पार्ने धुनमा व्यस्त रहन्थेँ। एकदिन काम गर्दा–गर्दै कुनै एउटा केटाले मेरो हातमा पत्र ल्याएर दियो। मैले पत्र खोलेर पढेँ।
प्रिय मृगनयनी
असिम प्यार,
तिमी त्यसदिनको घट्नापश्चात क्याम्पसमा उपस्थिति भइनौ। तिम्रो अनुपस्थिति मलाई शुन्य लाग्दथ्यो। मेरो कारणले तिमीलाई ठूलो चोट परेको महसुस गरेँ। क्याम्पसमा तिम्रो त्यो चन्द्रमाजस्तो मुहार हेर्न नपाउँदा मेरो जीवनमा ग्रहण लागेझैँ भयो। तिम्रो सूर्ताले कयौँ रात म अनिँदो भएँ। अहिले तिम्रो बारेमा सबै थाहा पाएको छु। तिमीले यसरी लाचार भएर बस्न हुँदैन। आवाज उठाऊ, अन्यायका विरुद्ध। अन्याय गर्नेभन्दा अन्याय सहनु पाप हो। म तिमीलाई हुदयदेखि नै माया गर्छु। तिमीले जीवनमा नपाएको प्रेम, स्नेह मबाट पाउनेछौ। मात्र मलाई विश्वास गर। म तिमीभन्दा एकवर्ष मात्र सिनियर हुँ। तिम्रो पढाइ धेरै छुटेको हुनसक्छ। मसँग नोट छन्। म तिमीलाई नोट दिइ सहयोग गनेर्छु। म हिजोपनि पुराणमा आएको थिएँ। तिमी काममा व्यस्तहुनाले देख्न सकिनौ। तिम्रो हातले दिएको पञ्चामृत खाएर मेरो आत्मा प्रेमको असीम स्वादले तृप्त भयो। त्यस्तै पुराणवाचकको कृष्ण र राधाको प्रेमको कल्पनाले मात्रपनि मैले नयाँ जीवन पाएको छु। म अलौकिक आनन्दमा डुबिरहेँ। तर तिमीले पटक्कै थाहा पाएनौ। तिम्रो अबोधता र अनविज्ञताबाट म प्रफुल्लित भएर अझ बढी स्वर्गीय अनुभूतिको रसास्वाद गरिरहेको थिए ………..
पत्र पढिनसक्दा नै म नर्भसजस्तो भएँ। पत्र कहाँ लुकाउँ? के गरुँ? भयो। कसैले देखेकी भनी चारैतिर हेरेँ।
सबै आ–आफ्ना काममा व्यस्ताफ्नो काममा व्यस्त थिए। ऊअहिलेपनि वाचनालयमा छ कि भनी चौर दृष्टि दौडाएँ। ऊ पर बसेर मलाई नै खोजीरहेको रहेछ। ऊ मुसुमुसु हाँसिरहेको थियो। मलाई यस्तो लाग्यो कि मुस्कानद्धारा ऊ प्रेमको निमन्त्रणा दिइरहेछ। म लाज र डरले पानी–पानी भएँ। त्यहाँबाट बगेर कुनबेला कोठामा आइपुगेँ थाहा पाउन सकिँन। बाहिर निस्कन डर लागेजस्तो भयो। तर कामलाई शृङ्खलावद्ध गर्न बाहिर आएँ। अहिले ऊ हिँडिसकेछ। मलाई ढुक्क भयो। उसको पत्रको जवाफ कसरी दिउँ? अरू कसैले थाहा पाए भने…..। मेरो मन अतासिएर मुटु सकेट बम फुट्लाझैँ भएको थियो। मत्र दुई–तीन पटक पढेँ। निन्द्रा पटक्कै लागेन। के मेरो उजाड मरुभूमि बनैको जीवनमा खुसीका फुलहरू फुल्न सम्भव छ? मात्र यो धोका हो कि , वा क्षणिक आवेग हो कि? म कसरी उसलाई विश्वास गरुँ। नगरेपनि मेरो मनमा उसको पत्र र व्यवहारले आस्था जमाइसकेको थियो। मेरो प्रेमलाई मुसुमुसु हाँस्दै स्वागत गरेको मुहार म कसरी भुल्न सक्छु र?
रातभर उसको अनुहार आँखा अगाडि नाचिरह्यो। जूनको मधुर प्रकाश झ्यालबाट छिरेर ओछ्यानमाथि फैलिएको थियो जूनको किरणसँगै मेरो मन रोमाञ्चित भएर आछ्यानमा लडीबडी गरीरह्यो। के उजाडभूमि बनेर उष्णिय बनेको मेरो जीवनमा जूनको किरणलेझैँ उसको पे्रमले शीतलता प्रदान गर्न सक्छ? भोलि ऊ आउनेछ। म के जवाफ दिउँ? मैले जूनसँग आन्तरिक अन्तर्लाप गरेँ। मनभित्र केके उकुसमुकुस भएर आयो। म कहिलेकाहीँ कवितापनि कोर्दथेँ। उठेर कलम र कापी समाएँ। जूनको प्रकाशमा सकिनसकी एउटा कविता कोरेँ। किनभने विहान उज्याले भएपछि यसरी एकान्तित समय पाउन गार्‍हो पर्न सक्थ्यो। कविता कोरेर लुकाएपछि निन्द्रा लागेजस्तो भयो। म निदाएछु।
बिहान झसमिसमा उठेर कौसीमा गई राती कोरेको कवितालाई स्पष्ट र राम्रा अक्षरमा लेख्न थालेँ।
यति लेखिसकेपछि हतार–हतार कविता लुकाइ आफ्नो काममा व्यस्त भएँ। मेरो मन भने सुधासुको आगमनको प्रतिक्षामा थियो। सेकेण्ड,मिनेट, घण्टा गर्दै कथावाचन गर्ने बेला भयो। धेरै मानिसहरू आउन थाले। म भने आज पानी, सर्वत बाँड्ने काममा आफैँ खटिएँ। किनभने यसमा सुधाशुसँग भेट्न र गफ गर्ने मौका पाउन सकिन्थ्यो। नभन्दै कसैलाई सर्वत दिन मात्र के आँटेको थिएँ, मेरो हात समाउने गरि कसैले गिलास माग्यो। मैले पुलुक्क हेरेँ। सुधासु रहेछ। मैले लाजले आँखा जुधाउन सकिनँ। उसले सुस्तरी भन्यो– ‘हिजोको पत्र पढ्यौ?’ मैले निहुरेर भनेँ– ‘पढेँ।’
‘जवाफ दिन्नौ?’– फेरि उसले भन्यो। म अक्कमक्क परेँ। फेरि कसैले सर्वत माग्यो। म उतैतिर गएँ। उ मलाई आँखा नझम्काइ हेरिरहेछ। मैले चोर आँखाले थाहा पाएँ। म सर्वत सकिएर भान्छाकोठातिर गएँ। ऊ पनि भित्र आयो।
उसले भन्यो – ‘पानी खान पाइन्छ?’
कोठामा अपरिचित व्यक्ति आएको देखेर जिस्काउने मूडले कसैले भन्यो –’पानी खाने होइन बाबु, पिउने हो।’। ऊ हाँस्यो मात्र। मैले ‘पाइन्छ’ भनेँ। मैले पानी दिएँ। उसले कानमा सुस्तरी भन्यो –’जवाफ पनि पाइन्छ?’। मैले भनेँ –’त्योपनि पाइन्छ।’।
यति भनेर म लजाउँदै आफ्नो कोठामा गएँ। बाहिर आएर सबैको आँखा छलेर हिजो लेखेको कविता दिएँ। ऊ शौचालयतिर गयो, सायद पत्र पढ्नलाई होला। मेरो काममा उसको उपस्थितिले बाधा दिइरहेको थियो। म भनेजस्तो गरि काम गर्न सकिरहेकी थिइनँ।
केही समयपछि भीडको पर एक्लै निकै उदास भएर ऊ बसिरहेको थियो। सायद उसले बुझ्यो होला म त्यति चाँडै उसको कुरामा विश्वास गर्दिन भनेर।
त्यसपछि ऊ कुन बेला घर गयो मैले थाहा पाउन सकिनँ। ऊ बसेको स्थान रित्तो पाएपछि मलाई आफूभित्र नै कस्तो–कस्तो रित्तो भएझैँ लाग्यो। पुराणको त्यत्रो चहलपहलमा पनि शून्यताले अधिक्रमण गरेझैँ लाग्यो मलाई। मैले गल्ती पो भनेँकी आफैँलाई डर लाग्यो। मैले किन उसको कुरामा तुरुन्त विश्वास गरिनँ। आफैँलार्ई सोध्न मन लाग्यो। तर आफैँभित्र निरुत्तर थिएँ। हाम्रो समयमा अहिलेको जस्तो मोबाइल, नेट केहीपनि थिएन। भेटबाट कि पत्रबाट मनका भावनाहरू साटासाट गर्नु पर्दथ्यो। त्योपनि कैयौँ शंकालु आँखा छलेर। भोलि ऊ पक्कै आउनेछ। उसले मलाई साँच्चै माया गर्छ भने उसले नोटकापी लिएर पक्कै आउनेछ। भोलीको प्रतिक्षाले मेरो मनलाई बेचैनलाई केही शान्त पार्‍यो।
नभन्दै ऊ भोलि साँँच्चै आयो। म फलफूल काटेर बाँड्ने काममा खटिएकी थिएँ। ऊ सिधै म भए ठाउँमा आयो र मलाई नोट दिँदै भन्यो –’तिमीलाई यो नोट ल्याइदिएको पढ। राम्रो नम्बर ल्याएर पास गर्न सक्छौ।’।
उसलाई देखेपछि किन हो मेरो विश्वासमा हजारौँ फूल ढकमक्क भएर फुल्न थाले। म नोट कापी कोठामा रोखेर पुनः फर्किएँ।
‘म पनि काम सघाउन सक्छु?’ उसले भन्यो।
‘हुन्छ’ मैले भनेँ।
पुराणमा नयाँनयाँ मानिसहरूले काम सघाउने हुनाले खासै फरक पर्दैनथ्यो। हामी दुबैजना प्रसाद मिलाउन थाल्यौँ। औपचारिक गफ गर्दै। कसरी हो म ऊसँग खुलिसकेकी थिएँ। काम गर्दा–गर्दै मेरो हात उसको हातमा ठोकिन्थ्यो। यसरी ठोक्किँदा शरिरभरी एककिसिमको रोमाञ्चकता पैदा हुन्थ्यो म लाजले धकाउँथे। ऊ भने यस्तै मौकाको खोजीमा हुन्थ्यो। अहिले वार्तालापको समय अनुकुल थियो। उसले विस्तारै मेरो कानमा भन्यो –’हामी अनौपचारिक गफ गरौँ न हुन्न?’।
अनौपचारिक भनेको मलाई थाहा थिएन। ‘के हो अनौपचारिक गफ भनेको?’– मैले सोधेँ। उसले हाँस्दै भन्यो –’अस्तिको पत्रको जवाफ भनेको’।
‘त्यो जवाफ त हिजोको पत्रमा छँदै छ नि!’।
‘त्यो जवाफ होइन त्यो त धारणा मात्र हो हामी एक भएर बाँचौँ हुन्न।’।
‘मलाई सोच्ने समय चाहिन्छ।’।
‘ठिकै छ, भोलिसम्म म पर्खनसक्छु।’।
यति अनौपचारिक गफ गरिसक्दा हाम्रो वार्तालापमा अवरोध आयो। हामी काममा व्यस्तकाममा व्यस्त भयौँ। साँझ पर्न लाग्यो उसले जाने स्वीकृति माग्यो।
‘भोलि नआउने?’।
‘के गरौँ’ उसले भन्यो।
‘मलाई किन सोधेको?’।
‘जवाफ एउटै हुनुपर्‍यो नि त!’। उसले भन्यो।
‘जवाफ एउटै हुन्छ भन्ने थाहा छ?’
‘थाहा छ’ उसले भन्यो। मलाई किन हो खित्का छोडेर हाँस्न मन लाग्यो। गुलाफको फूल हाँसेझैँ। तर परिस्थितिको प्रतिकुलताले हाँसो थामेँ। ऊ पनि निकै जोडले हाँस्न चाहन्थ्यो क्यार मेरो खुसीमा सम्मिलित हुन। म हाँस्दै भित्र पसेँ, ऊ भने बाटो लागेछ।
यसरी ऊ सात दिनसम्म आउने र हामीबीच यस्तै संवाद हुने क्रम बढी रह््यो। अरूले थाहा नपाऊन भनेर हामी दुवै सतर्क थियौँ। हामी चोर संवाद प्रयोग गर्दथ्यौँ। ऊ धेरै चलाख थियो। कुन बेला कुन संवाद बोल्नुपर्छ र कसरी मन जित्न सकिन्छ भन्ने कुरामा ठूलो उपाधि प्राप्त गरेझैँ लाग्दथ्यो। नभन्दै सातौँ दिनसम्ममा उसले मेरो मन जितिसकेको थियो। हामी एउटै आत्माका दुईवटा शरीर भइसकेका थियौँ। नोटकापीसँगै हामी पत्र र पत्रभित्र सके कविता लेखेर मनको भावना व्यक्त गर्ने गर्दथ्यौँ। हामी हरदम अनौपचारिक गफ गर्ने गर्दथ्यौँ। हामी हरदम अनौपचारिक गफ गर्ने ठाउँ र मौकाको खोजीमा हुन्थ्यौँ। जहाँ हामीलाई विचार र भावना साटासाट गर्न कुनै अवरोध नहोस्।
सप्ताहको समाप्तपछि म नियमित रूपमा क्याम्पस जान थालेँ। क्याम्पस हामी साइकलमा सँगै जान्थ्यौँ। एकदिन ऊ क्याम्पस आएन भने मलाई छटपटी हुन्थ्यो। म एकदिन गइनँ भने ऊ छटपटाउँथ्यो। त्यसैले हामी क्याम्पस नजाने भए अघिल्लो दिन नै जानकारी गराउँथ्यौँ।
एकपल्ट सिनेमाहलमा ‘लभस्टोरी’ भन्ने हिन्दी फिल्म लागेको थियो। त्यो फिल्म टिनएजर्स केटाकेटी माझ निकै हिट भएको थियो। सुधाशुले त्यो फिल्म हेरिसकेको रहेछ। उसले सँगै हेर्न जान सल्लाह गर्‍यो। मैलेपनि उसले भनेको मानेँ। हामी कसैले थाहा नपाउने गरी त्यो फिल्म हेर्न गयौँ।
फिल्म हेरुञ्जेल उसले मेरो हात समाइरह्यो। मैलै पनि उसको हात समाइरहेँ। हामी पे्रमको अलौकिक आनन्दमा डुबेका थियौँ। हामी नायकनायिकासँगै रुन्थ्यौँ, नायकनायिकासँगै हाँस्थ्यौँ, नायकनायिकाको बिछोड हुँदा जोडले हात समाएर कहिल्यै एकअर्काबाट नछुटिने प्रतिबद्धता अव्यक्त रूपमा व्यक्त गर्दथ्यौँ। अनि एकअर्कामा टाँसिन खोज्दथ्यौँ। त्यहि बेला पछाडिबाट कोही चिच्यायो।
‘ओ भाइसाहब, जुम्रा सर्लान् अलिक अलग भएर बस्नोस्।’।
‘कुन फिल्म हेर्ने होला पर्दाको कि अगाडिको?’ हामी डर र लाजले पानी–पानी हुन्थ्यौँ। अनि अनुशासित हुने असफल प्रयास गरिरहन्थ्यौँ। फिल्म हेरिसकेपछि हामी एउटा रेस्टुरेन्टमा पस्यौँ। रेस्टुरेन्ट केविनवाला थियो। उसले मःम र कोल्ड ड्रिऒ्ढस् मगायो। उसले मलाई जोडले च्यापेर अँगालो मार्‍यो। मैले नमान्दा नमान्दपनि उसले म्वाइँ खान खोज्यो। त्यहीबेला वेटरले कोल्ड ड्रिऒ्ढस् लिएर आयो। हामी अलग–अलग भयौँ।
‘मृगना(छोटकरीमा ऊ यही भन्थ्यो) हामी अब अलग भएर बाँच्न सक्छौँ?’
‘सक्दैनौँ। किन आज यस्तो कुरा गर्नुभएको?’– मैले सोधेँ।
‘मैले आज केही पैसा लिएर आएको छु। हामी कलकत्ता भागेर जाऔँ। कलकत्तामा मेरो आफ्नो मान्छेको घर छ। नत्र हाम्रो मिलन असम्भव छ मृगना। तिमी बाहुनकी छोरी म अग्रवालको छोरा। हाम्रो विवाहलाई हाम्रा बाबुआमाले मान्यता दिने छैनन्। ‘।
उसले यसो भन्दा म झसङ्ग भएँ। हो त, ऊ अग्रवालको छोरा। धनी बाबुको छोरा। मसँग कसरी मागी विहे हुन्छ। प्रेम अन्धो हुन्छ भनेको यही रहेछ। मैले अहिलेसम्म उसको जातको विषयमा सोचेको नै रहेनछु। प्रेमका मीठामीठा सपना, कहिल्यै नटुट्ने मायाको बन्धन र जीवनमा कहिल्यै नपाएको स्नेहको भोकले मलाई यी सब व्यवहारिक कुरामा ध्यान गएको नै रहेनछ। हामीले भागेर विहे गर्नुको विकल्प थिएन। तर म भागेर विहे गर्न चाहाँदिनथेँ। किनभने म मेरो कान्छो बुबा र आमाको विश्वासमा ठेस पुर्‍याउन चाहँदिनथेँ।
उसको यस्तो निर्णयले मैले तुरुन्त जवाफ दिन सकिनँ। साँच्चै म पनि ऊ विना बाँच्ननसक्ने भइसकेकी थिएँ। उसले आफ्नो गोजीबाट पाँच सय र हजारका नेपाली र भारती नोटहरू देखायो। मैले उसँग भागेर जान नसक्ने स्थिति देखेपछि उसले भन्यो –’ठीकै छ मृगना, अहिले तिमी अन्यौलमा छौ। तिमी राम्ररी सोच। म तिमीलाई पर्सी फोन गर्छु र कोडभाषामा क्याम्पस जान्छौ? भनेर सोध्नेछु। अनि भागेर हामी कलकत्ता जानेछौँ। मृगना तिम्रो र हाम्रो प्रेमको मिलनलाई हामीले यो साहसिक कदम नचाली हुँदैन। तिमीले फिल्ममा पनि हेरिसक्यौ होला। केटा र केटीको भागेर मात्र मिलन भएको।’। मेरो अन्यौलग्रस्त अवस्था सङ््ल्याउन उसले धेरै मिहेनत गर्‍यो। ऊ मेरो लागि जुसुकै खतरापनि उठाउन सक्थ्यो। मैले उसको सल्लाह स्वीकार गरेँ अनि पर्सीको लागि तयार हुने निर्णय सुनाएँ। त्यसपछि हामीले गहिरो चुम्बन साटासाट गरेर छुट्टियौँ।
दिवाकर नेपालीज्यू, यो हाम्रो प्रेमप्रसङ्गको अन्तिम दृश्य रहेछ भन्ने कुरा मैले घरमा आएर थाहा पाएँ। मेरी काकीआमा कालीमाइको रूप लिएर बसेकी रहिछिन्। म सुधाशुसँग फिल्म हेर्न गएको कुनै सुलसुलेले सुनाइदिएछ। फेरि उसँग म धेरै नजिक भएको कुरापनि सुनाइदिएछ। त्यसपछि मेरो दराज र पुस्तक सबैमा गहिरो खोजतलासी भएछ। त्यसपछि मेरो र सुधाशुको प्रेमपत्र सवुत प्रमाण भेट्टाएछन्। अनि अरू के चाहियो? मेरो चरित्रमाथि अनेकौँ लाञ्छानाका अस्त्रहरू प्र्रहार हुन थाले। धेरैचाटि पिट्न छोपिन् मेरी काकीआमाले तर मेरा काकाले बढेका छोरीलाई पिट्नु हुँदैन भने र पिट्न दिएनन्। मैले ठूलो अपराध गरेको महसुस गराउन घरका सबै लागी परे। मेरा कान्छा बुबाले मलाई धेरै सम्झउनुभयो। जुन कुरा मैले कथाको शुरुमा उल्लेख गरिसकेकी छु।
दिवाकर नेपालीज्यू, संसारमा असम्भव भन्ने कुरा केही रहेनछ। सबैभन्दा ठूलो कुरा यो तौलन नसकिने, वर्णन गर्न नसकिने र बाँध्न नसकिने मन नै रहेछ। मैले मनलाई तौलिएँ – तुलनात्मक रूपले र व्यवहारिक रूपले। नथामिने मनलाई बाँधेर नियन्त्रित बनाएँ। अब सुधाशुको प्रेम मेरो जीवनमा अतीत बन्न गयो। मेरी काकीआमाले आफ्नै काकाको छोरासँग विहे गरिदिन सल्लाह गरेकी रहिछिन्। उनको भाइ मेरो रूप र शीलस्वभावबाट प्रभावित भएका रहेछन्। त्यसैले जुनसुकै हालतमा मेरो विवाह गरिदिने कसम खाएकी रहेछिन्। नभन्दै मेरो विहे भयो म मेरो विगत्को कथा बिर्सेर वर्तामानमा रमाउन थालेँ। मेरी काकीआमा खराब भएपनि मेरा श्रीमान साह्रै असल थिए। उनले मलाई यति धेरै माया, स्नेह दिएकी मैले सुधाशुको सम्झना गर्न समेत समय पाउन सकिनँ।
कथाकार दिवाकर नेपालीज्यू मैले सुधाशुलाई धोका दिएको नठान्नुहोला। पे्रम शाश्वत हो। प्रेममा मिलन हुनैपर्छ भन्ने म मान्दिनँ। मिलनमा प्रेमको अस्तित्व समाप्त हुनुभन्दा विछोडमा अमर भएको नै मलाई ठीक लाग्छ। शायद सुधासुले पनि यही सोच्यो होला। यो त मेरो विगतको कथा थियो। कथाकार दिवाकर नेपालीज्यू, मसँग वर्तमानको पनि कथा छ। म कुनै समयमा लिपिवद्ध गरौँला।

Sharmila Khadka Dahal – Ma Harayeko Samaya

जीवन कथा हो । कथा जीवन हो । जीवनको समुद्रमा कैयौँ घटनाहरू छाल बनेर सल्बलाइरहेका हुन्छन् । म तिनीहरूलाई समेट्न खोज्छु, कहिले ती आँफै फुत्किएर जान्छन्, कहिले म आफैँ अन्तै मोडिएको हुन्छु । गतिवान् जीवन गुडिरहेको गाडीको पांग्राझैँ गुडिरहेको छ । प्रत्येक पल, प्रत्येक ठाउँ नयाँनयाँ घटनाहरूसँग साक्षात्कार हुँदै अघि बढिरहेको हुन्छ । आज म मेरो जीवनको सानो घटना कथाको महासागरमा समायोजन गर्न गइरहेकी छु ।

काम विशेषले म टेम्पो चढेर न्युरोड जाँदैछु । अफिस टाइम काठमाडौँको सडकमा गाडी जाम हुनु सामान्यजस्तै भइसकेको छ । टेम्पोमा दुई जना नवयुवती, एक जना अधबँैसे महिला, एक जना ड्राइभर, म र चार जना वयस्क केटाहरू छौँ, झन्डै १८ देखि २२ वर्षसम्मका ठिटाहरू । गाडी निकै लामो समयसम्म जाममा पर्छ । म उनीहरूको वार्तालाप सुन्न बाध्य हुन्छु । एउटा केटो जो धेरै बोलिरहेको छ, ऊ पातलो जीउ भएको गोरो चिटिक्क अनुहार परेको छ । ऊ झट्ट हेर्दा मंगोलियनजस्तो लाग्छ । अर्को पातलो अलिक अग्लो कालोकालो केटो झट्ट हेर्दा उस्तैजस्तो लाग्छ । त्यस्तै अरू दुई जो सुनी मात्र रहन्छन्, केही बोल्दैनन्, ती पनि त्यस्तै कुनै जातको जस्तो लाग्छ । म आफ्नो सिटमा बसेर मन नलागीनलागी पनि त्यो धेरै बोल्ने केटोको कुरो सुन्न बाध्य हुन्छु । ऊ भन्छ, “यार ऽ…ऽ, त्यो सहायकमन्त्री छ नि के के हो याँ…ऽ त्यो त क्रिमिनल मान्छे हो नि !”

दोस्रोचाहिँ भन्छ, “हो यस्तै क्रिमिनल त मन्त्री हुन पुग्छन् ।”

उनीहरू यस्तै राजनीति गफ गर्छन् । अनि, एकछिन पछि नगरकोट जाने कुरा गर्छन् ।

उही पहिलो केटो बोल्छ, “याँ…ऽ…ऽ… नगरकोट जाने हो याँ…ऽ केटी लिएर जाने भा पो यार ?”

दोस्रो बोल्छ, “मलाई भन न म मिलाइहाल्छु नि !”

पहिलो बोल्छ, “छोड् यार. याँ…ऽ अस्तिको कुरा सुन न क्या त्यो अनलाइन कि छे नि याँ…? त्यो केटीलाई गुह्येश्वरीमा बोलाएको याँ..ऽ आई क्या !”

अरू ध्यानमग्न भएर उसका कुरा सुनिरहन्छन् । म आफ्नो अनलाइनको घटना सम्झन पुग्छ । अहिले समय नै फेसबुक र ब्लगको छ । फेसबुकमा साथीहरूसँग एउटा घरपरविारको जस्तो गफ गर्न सकिन्छ र विश्वास पनि । फेसबुकमा नयाँनयाँ घटनाहरू थाहा पाइराखिन्छ । आफू पनि दिनको दुई घन्टा फेसबुकमा हराउने गर्छु । फेसबुकको च्याटमा मान्छे चिनिने हुनाले च्याट गर्दा पनि विश्वास हुन्छ । अनलाइनमा नचिनेका धेरैले च्याटका लागि निम्तो गर्छन्, त्यसैले म अनलाइन च्याटमा बस्न त्यति रुचाउँदिनँ र जहिले पनि इन्भिजिएवल अर्थात् अदृश्यमा बसेर काम गर्छु । तर, एकदिन के भएर हो के भिजिएवलमा अर्थात् दृश्यमा रहेछु । कसैले च्याटका लागि आमन्त्रण गर्‍यो । मैले ‘एसेप्ट’ गरिदिएँ । एक-दुईचोटिको गफमा नै उसले ‘आई लभ यू’ भनेर प्रस्ताव राख्यो । म छक्क परेँ । मैले उसलाई सोधेँ, “मलाई चिन्नुहुन्छ, म को हो ?” उसले भन्यो, “अँह !” “त्यसो हो भने यो आई लभ यू शब्दलाई किन यति सस्तो बनाउनुहुन्छ !”

उसले अन्तिममा ‘सरी’ भन्यो । मलाई लाग्यो, यो केटो पनि उही मलाई ‘आई लभ यू’ भन्ने केटोको ड्याङको रहेछ ।

ऊ आफ्नो कुरा बोल्दा नक्कली लवजले छोपुलाझैँ गरी बोल्दै थियो,

“यार ऽ..ऽ मेरो त हेर याँ..ऽ के भा’को याँ..ऽ केटीहरू त्याँ..ऽ भुतुक्कै हुन्छ । त्यस अनलाइनकीलाई याँ ऽ गुह्येश्वरी बोलाएको याँ..ऽ.. ऊ आई अनि क्या घर जान्छु भन्दै थिई …याँ ..ऽ मैले काँ..ऽ …घर जाने भनेर बोलाएको हुँ र …याँ..ऽ …गेस्ट हाउस जाने नि याँ..ऽ उसलाई लिएर म गेस्टहाउस गएँ । क्या बोर याँ..ऽ त्यहाँ त उसको गाउँको मान्छे रहेछ । याँ..ऽ … उसलाई पैसा दिएर पन्छाएँ याँ ..ऽ अनि क्या मज्जा यार !’

उसले यसरी बोल्न सुरु गर्दा नै मैले मेरो नाक, कान र मुख छोपिसकेकी थिएँ । किनभने, मलाई यस्तो कुरा सुन्नु नपरोस् जस्तो लाग्छ । त्यो बोल्ने केटो कुनै लाज, घीन, सरम नमानी आफ्नो व्यक्तिगत अश्लीलता ओकलिरहेको थियो । यो केटो कस्तो परविारमा हुर्केको होला ? किनभने, व्यक्तिको चरत्रि र आचरणमा उसको जन्मे-हुर्केको परविेशले पूरै असर पारेको हुन्छ भन्ने मैले सोचेँ । चरत्रिहीन केटाहरू यौन र वासनालाई कसरी महत्त्व दिँदै सोझासाझा केटीहरूलाई प्रेमको जालमा फसाएर यौनसुख भोगेर छोड्छन् भन्ने कुरा मलाई थाहा थियो । तर, यसरी सार्वजनिक स्थलमा आमासरहको महिला दिदीबहिनीका अगाडि यस्तो घृणित कार्यको बारे व्याख्यान गर्दा केही सरम-लाज त मान्नुपर्ने हो नि ! मैले त्यो केटोको अनुहार पुलुक्क हेरेँ । अँह ! उसको अनुहारमा लाजडरको कुनै लक्षण थिएन । ऊ लज्जास्पद वाक्यलाई केही ढाकछोप गर्ने पाराले भन्दै थियो ।

त्यसपछि मलाई हेर्न पनि लाज लाग्यो । अहिले मैले मुख सबै छोपेँ । उनीहरूको कार्यको विरोध जनाउन पनि मैले यसो गरेकी थिएँ । गाडी अझ जाममा थियो ।

“यार ऽ.. छचोटि याँ..ऽ क्या मज्जा या..ऽ च्वाँक !”

त्यसपछिका वाक्यहरू मैले सुन्न सकिनँ । उसका अभिव्यक्तिलाई पचाउन उसका साथीहरूलाई पनि सायद मुस्किल पररिहेको थियो । किनभने, उनीहरूले कुनै प्रतिक्रिया जनाएका थिएनन् ।

मलाई टेम्पोबाट ओर्लूं-ओर्लूं लाग्यो । तर, ओर्लने अनुकूलता थिएन । बाटो पूरै जाममा थियो । एक मनले लाग्यो, त्यो केटोलाई भनूँ, “भाइ हेर्नोस्, तपाइर्ंको अगाडि आमा, दिदी-बहिनीहरू छन्, यस्तो ठाउँमा यस्तो असभ्य कुरा नगर्नुहोस् । तपाइर्ंमा अलिकति सरम-लाज छैन । तपाईंका आमा, दिदी-बहिनीहरू छैनन् ।” तर, मेरो वाक्य घाँटीको कण्ठमा नै अड्किएर रह्यो । यस्ता सोमतहीन अव्यावहारकि केटाहरूलाई यसो भन्दा आफैँमाथि जाइलाग्ने हो कि ! कुनै ठोस नियम-कानुन नभएको देशमा जिल्लाको सुरक्षाका लागि खटिएको सीडीओ त कुटिनु पर्छ भने हामी सामान्य नागरकिको के मूल्य होस् र ! फेर िउनीहरू ठूलाठूला क्रिमिनल मन्त्रीहरूका बारेमा कुरो गररिहेका थिए । हे भगवान्, यो देशको हालत के हुने हो ? भोलि यो समाजको हविगत के होला नि ? म पशुहरूको पति पशुपतिको शरणमा परेँ किनभने नेपालमा मानिसहरूभन्दा पशुहरू नै सभ्य छन् जस्तो लाग्न थाल्यो मलाई ।”

म त्यो अनलाइनकी केटीका बारेमा सोच्न थालेँ, कस्ती केटी हो ! कस्तो घर-खानदानकी होली ! केटोले बोलाउनेबित्तिकै जाने ? हुन त अहिले धेरैजसो युवाहरू विदेशिएका हुनाले धेरै केटीहरू विवाह नगरी बस्न बाध्य छन् । अलिक राम्रा र पढेलेखेका केटाहरू देखेपछि केटीहरू मरिहित्ते हाल्ने गरेको कुरा मैले सुन्दै आएकी छु । पाश्चात्य खुला यौन संस्कारले प्रवेश पाइसकेको हाम्रो समाजमा यसरी धेरै केटीहरू खराब केटाहरूको मायाजालमा फसेर आफ्नो अस्तित्व लुटाउन बाध्य छन् । हुन त खराब केटीहरूले पनि केटाहरूलाई फसाउँदैनन् भन्न खोजिएको होइन् तर यो स्वतन्त्रताको सदुपयोग जति केटाहरूले लिन्छन्, केटीहरूले त्यसको कम उपभोग गरेका हुन्छन् । म सोच्छु, पूर्वीय संस्कारले पनि केटीहरू पराश्रति, बन्धित बनाएको छ । पाश्चात्य समाजमा जस्तो स्वतन्त्र हुन नसके पनि पूर्वीय संस्कारले नारीहरूलाई केही मात्रामा सुरक्षित बनाएको छ । तर, नारीहरू जसरी पनि ठगिएका छन् । यो मेरो मान्यता हो ।

त्यो केटो बोलुञ्जेल मलाई त्यो ठाउँबाट बिलाइजाऊँ, हराइजाऊँजस्तो लाग्यो । तर, त्यो सम्भव थिएन । एकछिनपछि उनीहरू सहिदगेटमा झरे, मैले राहतको सास फेरँे ।

दिनभर किनमेल गरुञ्जेल त्यो केटाले बोलेका बेसोमती कुराहरू मस्ितष्कमा घुमिरह्यो । जति बिर्सूं भन्दा पनि बिर्सन सकिनँ । त्यसपछि काम सकेर म घर फकर्ंे ।

घरको नित्यकाम सकेर म सदाझैँ कम्प्युटरमा बसेँ । कम्प्युटरमा छोरीले आफ्नो मेल साइन आउट गरेकी रहिनछ । खोल्नेबित्तिकै उसको मेल देखियो । उसको इनबक्समा दुईवटा मेल आएका रहेछन् । त्यो के रहेछ भन्ने उत्सुकताले हेरेँ । पहिलोमा हेरेँ- अंग्रेजीको रोमनमा मुस्किलले बुझ्न सकिने गरी लेखिएको थियो ।

‘मैयाँ …..याँ….क्या त्यो दिन त गेस्टहाउस गएको दिन क्या विक भएँ नि ! दिनभर घरमा रेस्ट गरेर सुतेँ । अनि, तिम्रो के खबर छ ? या फेरि भेट्ने होइन ?”

यो मेल पढेर म छाँगोबाट खसेजस्तै भएँ । तर पनि मेल अस्पष्ट भएकाले के हो के हो बुझिनँ । त्यसपछि अर्को मेल खोलेँ । अर्को मेलमा फाइल अटेच गरएिको रहेछ । त्यो फाइल खोलेँ । त्यो फाइल फोटोको रहेछ, खुल्न निकै समय लाग्यो । जब त्यो फाइल पूरै खुल्यो, तब मलाई ममुनिको जमिन भासिएझैँ लाग्यो । त्यहाँ उही केटोको फोटोसँग छोरीको फोटो थियो । फोटो उत्तेजक अवस्थामा खिचिएको थियो । तीनवटा फोटो सबै पालैपालो हेरेँ । मलाई रँिगटा लाग्दै गयो । मैले दुई दिनअगाडि मात्र ‘छोरीले साथीको घरमा पूजा छ, म त्यहीँ बस्न जान्छु’ भनेको कुरा सम्झेँ ।

मेरा अगाडिका सबै दृश्य घुम्न थाले । थामिनसक्नुको पीडाको भारी पलंगमा बिसाउन सिरक उचालेँ । सिरक पटक्कै उचाल्न सकिनँ । मेरो शरीर मलाई आफँैलाई फूलको थुँगाजस्तो लाग्यो । यो के भयो, म छक्क परेँ । आफूले आफैँलाई हेर्न ऐना अगाडि गएँ । तर अचम्म, अहँ ऐनामा मेरो प्रतिविम्ब पटक्कै देखिएन, यो के भएको ? म छक्क परेँ ।

म चिच्याएँ । म चिच्याएको कसैले सुनेनन् । ऐनामा मैले राखेको टीका र पोते देखेँ । मलाई लाग्यो, यो ठाउँमा हराइसकेकी रहेछु । यहाँ त मेरो आकृति मात्र नाचिरहेको रहेछ ।

मलाई अरू सबैभन्दा धेरै माया मेरो टीका र पोतेको लाग्यो । ऐनामा म हराएको समय नाचिरहेको थियो चलचित्र बनेर ।