Shiva Prakash – Jaimali

उसले चारैतिर खोज्यो देखेन । अनेक निहुँले भान्सातिर गयो, पछाडि गयो, बारीतिर गयो तर कतैदेखेन । कुना कुइँनेटा सबैतिर खोज्यो, सबै छन् तर जैमली छैन ।

बीस वर्षभयो जैमलीलाई नदेखेको । उभित्र आज इच्छाको अथाह सागर उर्लेको छ जैमलीलाई भेट्ने ।

जैमली किन आइन ? त्यत्रो बिहेमा सारा मान्छे आएका छन् तर जैमली छैन ! ऊ सोध्ने आँट पनि गर्दैन कसैलाई । मान्छेको त्यो भीडमा उसका आँखाले निरन्तर जैमलीलाई नै खोजिरहेका छन् ।

प्रत्येक अनुहारमा उसले आखाँ डुलायो तर कुनै अनुहारमा जैमली देखेन । उसलाई आफैँसँग रिस उठ्छ – आखिर जैमलीलाई नभेटिने रहेछ , म किन आएको होला ? उसलाई आफ्नै आँखासँग रिस उठ्छ – जैमलीलाई हेर्ने यी आँखाको कत्रो रहर थियो, पुरा भएन !

जैमलीलाई सुम्सुम्याएका आफ्ना हातहरूलाई नियाल्छ – आफैसँग उसलाई झन्झन् रिस उठ्छ । यो शरीरले, यो मनले, यी आँखाले जैमलीलाई किन विर्सन सकेनन् ? के म बाँचुन्जेल यो मेरो शरीर, मेरो मन र मेरा अङ्गले जैमलीको सम्झना साँचेर मलाई सताइरहनेछन् ? आफ्नो प्रश्नसँग आफैं अनुत्तरित रहन्छ । ऊ आफैंसँग आगो हुन्छ ।

आफ्नै भदैको बिहे, तर जैमली छैन ! भएभरका सारा गोरुबेचे साइनोका मान्छे छन् तर जैमली किन छैन ? जैमलीलाई पक्कै केही भएको हुनु पर्छ !

एक्कासी उसको मनमा एकप्रकारको चीसो स्याठ पसेजस्तो हुन्छ – कि जैमली मरिसकी ? अघिसम्म चिस्सिएको उसको मन एक्कासी ज्वाला दन्किए जस्तो हुन्छ । केहीबेर अघिसम्म आफंैसँग उठेको भुत्भुते अब अरूतिर खनिन थाल्छ । सबैसँग रिस उठ्न थाल्छ । आगन्तुक मध्येमा ऊ नै महत्त्वपूर्ण हुन्छ । त्यो बाध्यता उसका लागि त्यहाँ ठूलो बोझ र सकस जस्तो भइरहेको छ । केही नखाइ हिँड्नु उनीहरूको सँस्कार र उसको आफ्नो निजी मान्यता विपरित भएकोले ऊ त्यहाँबाट सजिलै उम्कन सक्ने अवस्था छैन ।

उ त्यहाँ अरूभन्दा फरक देखिन्छ । अलि भिन्न खालको पहिरन र सुकिलोमुकिलो, चिल्लो अनुहार ! गाउँका दुःखबाट धेरै वर्ष टाढा भएकोले गाउँलेका फुस्रा र डडेका अनुहार भन्दा ऊ फरक छ । घेरैका आँखा उतिर नै हुन्छन् । बीस वर्षपछि ऊ आफ्नो त्यो पुरानो गाउँमा गएकोले घेरैका लागि अपरिचित पनि छ, तर कौतुहलताको विषय पनि – को होला यो भन्ने ? उसलाई रक्सी पिएर ढल्न मन लाग्छ तर त्यो पनि गर्न सक्दैन, ऊ त्यहाँ ।

केही नलागे पछि आफ्नो पुरानो घरसँगै रहेको बखुवाको घरको दलिनमा गएर गुन्द्रीमा पल्टिन्छ । गाउँका भुरेभारे धूलोमैलो जे जस्तो अवस्थामा छन् सबै छेउमा झुप्पिन्छन् ।

आँखा चिम्लिएर लामो शास फेर्छ । जुरुक्क उठ्छ । फेरि एकपटक वरिपरि आँखा डुलाउँछ … जैमली छैन । आफ्नो खल्ती छाम्छ र जैमलीले भनेको सम्झन्छ – ‘कान्छा मलाई एउटा औंठी किनेर ल्याइदे न !’ ऊ फेरि पल्टन्छ र आँखा चिम्लिन्छ । असारे रोपाइँको हिलोमा लडिबुडी गरेरको सम्झन्छ । बयल झुलेका धानबारीमा लुकामारी खेलेको सम्झन्छ । पटुवाबारीमा लाप्पा खेलेको सम्झिन्छ । घर पछाडिको मकैबारीमा लुकीछिपी भेट्ने गरेको सम्झिन्छ । उसको मष्तिष्कमा गाडिएका स्मृतिका डोबहरू एकएक आफैं उत्खनन् हुदै जान्छन् । ऊ तिनैमा उग्राएर पल्टिरहेको छ ।

गाउँको एउटा आदिवासी परिवारकी छोरी जैमली ! सलक्क परेकी गोरी, हिस्सी परेका दाँत, बाटुला हात खुट्टा ! हेर्दै लछि्छनकी लाग्ने । एक अक्षर नचिनेकी सोझी केटी ! आफ्नो मातृभाषा बाहेक भाका पुर्याएर नेपाली पनि बोल्न नजान्ने !

केटा मान्छे देखेपछि चितुवा देखेर मृग दौडे जस्तो दौडन्थी जैमली । कुनै केटामान्छेको छेउ पर्दैन थिई कहिल्यै । बाटो छेकेर जिस्क्याउन खोज्थ्यो, मृग उफ्रे जस्तो फड्को मारेर भाग्थी । जैमलीको स्वाभाव सम्झेर ऊ मनमनै हास्छ । तर उसालाई थाह छ, जबसम्म जैमलीलाई भेटेर उसको इच्छा पुरा गर्न सक्दैन तवसम्म ऊ हास्न सक्दैन । ‘यो मेरो हाँसो म आफैंलाई जिस्क्याउने हाँसो मात्र हो । जैमली सम्झेर म हास्नु भनेको म पागल हुनु हो । म पागल भएँ भने मात्र जैमलीलाई बिर्सन्छु नत्र .. असम्भव छ ।’

त्यो रात जैमली एकाएक पानीपानी भएकी थि, उसले त्यो पनि सम्झिन्छ । झुक्किएर जैमलीलाई छोइँदा ऊ थर्थर भएको सम्झिन्छ । अब जैमली चिच्याउँछे र साराका सामुन्ने मेरो बेइज्जती हुन्छ भन्ठानेर भाग्न खोजेको सम्झिछ तर परिणाम उल्टो भएको थियो !

गाउँमा नाच हेर्न जम्मा भएका ठिटाठिटीसँगै बसेकी जैमलीको कम्मरमा उसको हातले अन्जानबश के छोएको थियो, जैमली सधैं झैं प्रतिकार गर्नु साटो उसको हातलाई चुम्बकले तानेजस्तो गरी तानेर काखीमा च्यापिथी, बर्कोभित्र लुकाइथी । एकैछिन पछि बर्कोभित्र जैमलीका यौवनपुञ्जहरूसँग उसका हातहरु रमाउन थालेथे । मानौ जैमली बल्छी थापेर बसिथी ! उसलाई त्यो क्षण अहिले पनि अपत्यारिलो जस्तो हुन्छ । सम्झनाहरु उसको मस्तिष्कमा खेलिरहेका छन् । दृष्यहरू आँखाअधि नाचिरहेका छन् । ऊ त्यही गुन्द्रीमा पल्टिरहेछ । उसले आफैंलाई अर्को प्रश्न गर्थ्यो – के आइमाइ मान्छे आँधितुफान हो, भेल हा,े खहरे हो ? कतिबेला कता बहन्छ, कुन मोड लिन्छ थाह हुदैन ?

सोच्छ – मैले भन्दा उसले मलाई बढी माया गर्थी । उ, जैमलीलाई तिमी भनेर सम्बोधन गर्थ्यो तर जैमली उसलाई तँ भन्थी । अर्थात जैमली तिमी वा तपाइँ लाउन जान्दैनथी ! ‘कान्छा, तँ ठूल्लो राती मचानमा आइज, म पनि आउँछु’ वीसवर्ष अधिको जैमलीको त्यो आवाज अहिले फेरी कानमा गुन्जिए जस्तो लाग्छ । त्यो मचान भएको ठाउँतिर हेर्छे, त्यहाँ मचान छैन धान खेत छ ।

‘कान्छा, तँ बाहुनको केटा म तल्लो जातको केटी, तँ मलाई बिहे नगर्ने भए केही नगर, तरो बाउआमाले मान्दैन !’ जैमली कतै बोलिरहेकी छे जस्तो लाग्छ । जैमलीको मध्यरातको त्यो प्रस्ताव पछि ऊ जातपातप्रति धृणा गर्न थाल्छ । आफू बाहुन केटो हुनुको सजाय परिस्थितिले तोकिदिएको ठान्छ – जैमलीलाई गुमाउनु अर्थात नपाउनु !

बेहुली बनेको दिन थोरै घुम्टो उधारेर उतिर छड्के नजर लाउँदै जैमली धुरुधुरु रोएको सम्झिन्छ । जैमलीका ठूलाठूला बाटुला गाजलु ती आँखा आफ्नै आँखाका नानीमा बसिरहे जस्तो लागिरहन्छ ।

जैमली… ! जैमली …! उसको कानमा एक्कासी आवाज आउछ । जुरुक्क उठेर हेर्छ, दुइतीन वालकहरू मासु, चिउरा, तरकारी, आचारले भरिएको थाल लिएर पछाडिपट्टकिो गुवालीतिर जाँदैछन् । सोध्छ – ‘कसका लागि ल्याएको यो खानेकुरा ?’

‘जैमलीका लागि’ – भुराहरूले उत्तर दिन्छन् । ऊ तीनछक्क पर्छ । उसले नसोचेको कुरा फेरि एकपटक हुन्छ । जैमलीसँगको प्रेम, विछोड र अहिलेको भेट यो सबै उसले सोचेभन्दा भिन्न किसिमले भइरहेछ । ऊ दौडदै जैमलीतिर जान्छ ।

केहीबेर एकतमासले जैमलीलाई हेरिरहन्छ ! यहाँ पनि जैमली सोचेभन्दा फरक छे ।

‘जैमली ! जैमली, म कन्छा !’ उसले जैमलीलाई घचघच्याउँछ । जैमलीले न चिने जस्तो, न नचिने जस्तो गर्छे ! जैमली बोलिन, हाँसिरही ! जैमली हेर त यी मैले तिम्रो लागि विदेशबाट हीराको औठी ल्याएको छु । औठी देखाउँछ, बोल्दिन हास्छे मात्र ! म कान्छा हुँ, कान्छा भन्छ, बोल्दिन हाँस्छे मात्र ! ठूल्लो राति भनेर सम्झाउन खोज्छ, बोल्दिन हाँस्छे मात्र ! आफ्नो जीउको खत देखाउँछ बोल्दिन हाँस्छे मात्र ! बीस वर्षअधिको जैमलीको फोटो पर्सबाट निकालेर देखाउछ, हेर्छे बोल्दिन हास्छे मात्र ! आफ्ना् फोटो देखाउँछ, एकहोरो हेर्छे बोल्दिन, खित्का छोडर हाँस्छेमात्र ! डगर, मचान, पटुवारी, मकैबारी, धानखेत, बानडाँडा, देबीथान, ढाबी, खोरिया, माछापोखरी, केराबारी भन्छ बोल्दिन, झनझन् खित्का छोडीछोडी हाँस्छे मात्र !

‘हजूर यो त बौलाही हो यसलाई किन जिस्क्याउनु भएको ?’ छेउमा आएर कसैले भन्छ । ऊ छाँगाबाट खसेजस्तो हुन्छ ।

सोध्छ – यो कसरी बौलाई ? यसको एउटा केटासँग प्रेम थियो रे जातपात नमिलेर त्यो पनि असफल रे, र लोग्ने पनि मरेपछि सायद त्यही

तोडले… ! जैमलीका लागि विदेशबाट किनेर ल्याएको औंठी खल्तीमा राख्छ । अनि सबैसँग विदा भएर गह्रुङ्गो मन लिएर बाटो लाग्छ ।

भोलिपल्ट गाउँमा हल्ला फैलिन्छ जैमलीले आत्महत्या गरी रे ! पर्सिपल्ट जैमलीको चिहानमा गएर त्यो औंठी गाडेर ऊ शहरतिर र्फकन्छ । ‘आखिर मान्छे जातपातको रेखाभन्दा माथि र स्वतन्त्र हुदो हो त जैमलीको यो हालत हुने थिएन । म बाहुनको छोरो नभएर कामी, दमाइ, सार्की नै भएको भए पनि अहिले सायद जैमली मसँगै हुने थिई !’ उसले निष्कर्ष निकाल्छ – आजदेखि मेरो कुनै जात छैन ! अब उसले आफ्नो थर लेख्न छोडेर नाउँ मात्र लेख्न थालेको छ । शिव प्रकाश ….. जस्तै !

शनिबार, गोरखापत्र
मंसीर २७, २०६६

Meera Pradhan Rem – Devata Ma Hoina !

मीरा प्रधान रेम – देवता म होइन !
(Source of this Story: मधुपर्क जेठ, २०६८)

जाडो महिनाको मध्याहृनमा कौसीमा घाम तापिबसे छु । केही वर्ष यता प्रत्येक शरद् मनमा कहीँकता एउटा प्रश्नले गोमनले जस्तो फणा उठाएको हुन्छ, यही मेरो अन्तिम शरद् त होइन ? जीवन-यात्राको अन्तिम बिसौनी यो वृद्धावस्थामा अनेकौं रोगहरू पाली, असङ्ख्य गुनासाहरू बोकी अझै कति दिन अल्भिmने हो कुन्नि ? मृत्यु उछिनेर जीवन अँगालेर कुदिरहेका मेरा पाइलाहरू अब निक्कै सुस्काइसकेका छन् । कुनै बेला पनि यो प्राण हुरुक्क जान सकिने छ, आफूभित्र जीवन-यात्राको सहस्र अनुभूतिहरू सँगालेर, मात्र अनुभव र अनुभूतिहरू ।

कसैले सोधेको थियो, तपाईं हिजोआज कसरी दिन बिताउनु हुन्छ ? हाँसेर जवाफ दिएको थिएँ मैले । आफैँलाई विगतका कथाहरू बाँचेर । जीवनका विभिन्न शृङ्खलाहरूमा घटिरहेका असङ्ख्य घटनाउपघटनाहरूको खण्डित-विखण्डित सम्झनाहरू मस्तिष्कमा छालहरूजस्तै घरिघरि उर्लिरहन्छन्, तरङ्गिरहन्छन्, लछारिरहन्छन् र लोप हुन्छन् पुनरावृत्तका लागि ।

जानकी, आज म तिमी र रविलाई घरिघरि सम्भिmरहेछु । हिजो दिनेश आएका थिए छोरोलाई साथमा लिएर । त्यस्तै तन्नेरो छोरो थियो हाम्रो पनि हगि । सम्झन्छु कसरी हामीमाथि बजारिन पुगेको थियो अनायस एउटा अकल्पित पीडा, एउटा मर्मस्पर्शी विजोग, एउटा कहालीलाग्दो त्रासदि । राजनीतिक, सामाजिक चेतनशील छोराको अकाल मृत्यु, जुलुसमा प्रहरीको निर्मम गोलीको शिकार । छोरा सहिद भएछ भन्दै हामी एकअर्कालाई सान्त्वना दिँदै आँसुको भेल सुकाउन प्रयास गथ्र्यौं हगि । आँखाको आँसु त सुकिदियो समयको फेरोसँग तर भित्रीमनको घाउ आलै रहृयो सधैंँभरि । तिमी विक्षिप्त जस्तै भएकी थियौ, जानकी । तिम्रो ओठमा हराएको आन्तरिक सुखको हाँसो फेरि फर्किदिएन तिम्रो मृत्युको घडीसम्म पनि ।

खोई रवि, तिमीले एउटा सफल मृत्यु मरिदियो वा दिएन आज म किटेर भन्न सक्तिनँ । सुख, शान्ति र सन्तोषको सास आजको घडी पनि यो नेपाली जनताले फेर्न सकेको छैन । हामीभित्र एउटा अनिश्चित, दिशाहीन, सम्भावनाहीन देश दुखेको दुखेकै छ ।

अँ, हिजो दिनेश आएका थिएँ, छोरालाई साथमा लिएर, मेरो आर्शीवाद थाप्न भनेर । भन्दै थिए, नाउँ मात्र रामचन्द्र हैन, तपाईं पनि अब देवता हुनु भएछ । यो छोरालाई आर्शीवाद दिनुस् एस.एल.सी. जाँचमा राम्रो श्रेणीमा पास होओस् भनी ।

उनको भनाइको तात्पर्य थियो, मेरो उमेरले पनि सतहत्तर वर्ष, सात महिना, सात हप्ता, सात दिन, सात घडीको क्षणको देवरथारोहण अर्थात् बूढोपास्नी पार गरिसकेको छ । परम्परागत धारणाअनुसार म देवताको स्थानमा आसिन भई पूजा गरिनु योग्य भइदिएको छु ।

भो, मलाई कथा पुराणको देउताको उपमा दिएर बढी लज्जित नपारुन् । सोच्छु, धेरैजस्तो हामी नेपालीको ईश्वरवोध आजको युगमा पनि आदिम मान्छेको ईश्वरवोधभन्दा कति पनि विकसित भएको रहेनछ । देवतालाई हामी ईश्वरकै निम्तिभन्दा ज्यादा दैवी प्रकोपको चेतन, अवचेतन त्रासको कारण पूजा गर्छौं र एउटा भ्रष्ट अधिकृतजस्तो चाकरी, घूस, षड्यन्त्र र प्रतिशोधको योग्य ठान्छौं । देउतालाई हामी सृष्टिकर्ता मान्छौं र पनि रगत-प्यासी सम्झी मान्छेको आदिम प्रवृत्ति, आदिम प्रचलन बलीप्रथालाई प्रतिरोधबिना सहिदिन्छौं । जति विरोध गरोस् अन्तर्राष्ट्रिय पशु संरक्षक सङ्घ, हामी कान थुनेर बसिदिन्छौं ।

उफ, यी नशाहरू आज सुस्काइसकेका छन्, यद्यपि आफूभित्र विद्रोहका लाभाहरू अझै निभेका रहेनछन् ।

जानकी, तिमीलाई थाहा छ, मलाई थाहा छ, मैले एक युग अगाडि संस्कारलाई चुनौती दिई सामाजिक आस्था र मूल्य मान्यताप्रति पारम्परिकभन्दा भिन्नै दृष्टिकोण अपनाई हिँडिदिएको थिएँ ।

हो, मैले सनातन पुरुष आदर्शलाई आजको जिजीविषामा एक पक्षीय, अन्यायी र नारी विरोधी भनेर घोषित गरिदिएको थिएँ । उनीहरूले भने, म नामर्द भएँछु, नपुङ्सक बनेछु ।

आफूसँग हुर्केका पुराना थोत्रा आडम्बरहरूलाई सर्पले काँचुली फेरेजस्तो एकएक गरी फ्याँक्न खोजेँ, उनीहरूले भने, म अराजक भएँछु, संस्कृति विरोधी बनेछु ।

जसलाई मैले मेरो नयाँ आदर्श मानेँ, उनीहरूले त्यो मेरो पतन हो, पथभ्रम हो भने ।

आज म भन्छु, समयको प्रवाहसँग अरूलाई उछिनेर बगिदिन मैले सिकेको छु ।

सम्झन्छु विगतको त्यो साँझ अकस्मात् ढोका उघारेर कोठाभित्र पसेकी जानकीलाई देखेर आश्चर्यचकित हुँदै मेरो मन रिसले रन्थनिएको थियो । त्यतिबेला तिरस्कारका लाभाहरू बाहेक केही शिष्ट शब्दहरू मभित्र पलाएको थिएन । लागेथ्यो, हृदयमा बगर कतै उसमाथि मायाको शेष थिएन, कुनै आशक्ति आकर्षणको झझल्को थिएन । सबै मरिसकेका थिए, तीन वर्षको अपमान, हेला र एकाकी जीवनको मौन पीडामा डुबेर ।

राँडी, कुन नाता जोडेर फेरि आपुगेकी होला ? लाज शरम त्यागेकी बेश्ये कसरी फेरि मेरोसामु पर्न सकेकी ?

के उसले घर त्यागेकी दिन त्यति चाँडै बिर्सिएछु र ?

पुस महिनाको दिनभरि बादलले धुम्मिएको आकाश बोकेको त्यस दिनको सम्झना कहिल्यै नमेटिने गरी मस्तिष्कमा छाप मारी बसेको छ । बिहान सबेरै नुहाइधोइ बाबुको श्राद्धमा माइतीघर जान भनी काठमाडौँको बस चढ्न बस विसौनीतिर हिँडेकी थिई । साथै केही लुगाफाटाहरू झोलामा बोकेर लगेकी थिई, दुईचार दिन माइती बसेर आउँछु भनी ।

ऊ माइती आइन रे Û

नाताकुटुम्ब, इष्टमित्र कतै पनि

आइन रे Û

केही दिन सोधपुछ खोजखबरी गरिएको थियो तर सबै प्रयासहरू निष्फल रहे । मानौं अन्धकारको गर्भले निलिदिएझँै कतै केही नाम निशाना नछोडी ऊ अनन्त गायब भइदिई ।

अन्त्यमा सबैले एकै मुखलेझैँ निष्कर्ष गरे, जानकी पोइल गइछ ÛÛ लगतै नानाथरिका टीका-टिप्पणीहरू उसको चरित्रमाथि बुनि लागे ।

मान्छेहरूले भन्न लागे…..काठमाडौँ सहरकी केटी न हो, छाडा, उताउली….फेरि बाउ पनि नभएकी……व्वाइप|mेन्ड लिएर हिँड्थी…..त्यसैले कान्छा बाले टाढा भादगाउँमा बिहे गरेर पठाएछन् । ….बिहे अगाडि केटाले उसलाई लग्न चाँजो मिलेन होला, बिहेपछि उडाएर लग्यो…..होला नि कतै मधेस पहाडको मान्छे….लग्यो होला कही अन्कन्टार आफ्नै घरमा….।

र म….?

स्वास्नीबाट परित्यक्त पुरुष….।

हीनताबोध र आत्माग्लानिको विडम्बनामा धेरै दिन पिरोलिरहेँ । अथाह पीडामा भित्रभित्रै म सल्किरहेँ सडकमा फ्याँकिएको चुरोटको सल्किरहेको ठूटो जस्तो ।

परिस्थितिसँग सम्झौता गर्नुबाहेक अर्को विकल्प नै के थियो र ? यद्यपि दोस्रो बिहे गर्ने परिवारको आग्रह मैले नकारी रहेँ ।

सँघारमा उभिएकी जानकी मेरा आँखाको क्रोधाग्नि देखेर हो कि जहाँको त्यही जमिए जस्तो ठिङ्ग उभिएकी थिई ।

लाग्यो, अगाडि सरुँ या बाहिर निस्कूँको दुविधामा ऊ क्षणभर अलमल्लिरही तर एक निमेषमा हुत्तिएर मेरोसामु आई भक्कानो फुटाएर रुन लागी ।

माया र संवेदना होइन घोर वितृष्णामा मैले सोधेथें, “किन आइस् ? पोइल गएर पुगेन तँलाई Û फेरि यो के को

नौटङ्की ?”

आँसुको धारा र भक्कानोबीच उसले फलाकी, “पोइल गएकी होइन । मेरो अपहरण भएको थियो ।”

अपहरण……? छाँगाबाट खसेजस्तो क्षणभर म स्तब्ध भएथेँ । अवाक परेथेँ ।

“हो….अपहरण । किन कसैले मेरो खोजखबरी गरेन ? के स्वास्नीमान्छेको जीवन त्यति सस्तो छ ? के दिइसकेकी चेलीबेटी आफन्त कहलिन कोही छैन ? ”

आँसु पुछी केही सामान्य भइसकेपछि उसले आफ्नो कथाब्यथा सुनाएकी थिई ।

…..बस बिसौनीतिर हिँडिरहेकी थिएँ म त्यो बिहान । पातलो तुवाँलोले जमिन अझै ढाकिएको थियो । एउटा कालो गाडी मेरो छेउमा रोकी एउटा लोग्नेमान्छे र एउटी स्वास्नीमान्छे गाडीबाट ओर्ली मलाई लायकू दरबार जाने बाटो सोधे । त्यसपछि के भयो मलाई केही होस भएन । क्लोरोर्फम सुँगाएर मलाई बेहोस् पारी गाडीमा राखी लगेका थिए रे । बेलाबेलामा होस आउँदा इन्द्रीयहरू लठ्ठ पर्ने सुइ लगाएका थिए रे । मलाई राम्रोसँग होस आउँदा म मुम्बाईको कोठीमा बेचिइसकेकी थिएँ ।

त्यसपछिका दिनहरूमा यो शरीर र मनले मैले कहिल्यै कल्पनासम्म गर्न नसकिने भयङ्कर सास्ती, यातना भोग्न म लाचार परेथें । पशुभन्दा पनि मान्छे कतिसम्म निर्घिनी, निर्दयी, अधर्मी

हुँदोरहेछ भन्ने कुरा त्यतिबेला नजिकबाट जान्न, चिन्न र भोग्न म बाध्य भएँ । यो शरीरलाई कसरी सियो, पेटी, बेत र खुर्सानी आदिले सास्ती गर्दोरहेछन् र कुन हदसम्म शरीरले कष्टहरू बहन गर्न सक्दोरहेछ भन्ने निजी अनुभव गरेथेंँ । कतिपल्ट सहनशक्तिको सीमा नाघी मूर्छित परेथें । मूच्र्छाबाट बिउँझिँदा आफ्नै रगतको आहालमा, दिसा र पिसाबमा लट्पटिएको शरीर पाउँथे । के गरेनन् उनीहरूले बेश्ये बन्न मेरा अवरोधहरू तोड्न र भाँच्न । जबर्जस्ती भाङ खुवाएर इन्द्रीयहरू लठठ्याएर मेरो सामूहिक बलात्कार गरिएको थियो । त्यसपछि आफ्नै शरीर पराईझैँ लाग्न थाल्यो र शरीरमाथि बुझ्नै नसकिने घृणा र आशक्ति जाग्न थाल्यो ।

यसरी मेरा प्रतिरोधहरू एकएक गरी निर्मम भाँचेर मलाई जीवित मूर्दातुल्य बनाई कोठीवालाहरूको आत्माहीन रोबोटको स्थितिमा बाँच्न बाध्य तुल्याए । हो म बेचिसकेँ दिनरात पुरुषको बासनाको कठपुतली बनेथेँ । अपार्टमेन्ट र होटलहरूको कोठामा मेरो यौवन, मेरो देह निर्मम भोगिन्थ्यो, लुछिन्थ्यो, लुटिन्थ्यो ।

सोचेथेँ मेरो जीवन त्यही नरकतुल्य संसारमा बिस्तार बिस्तारै सडेर अन्त्य हुनेछ । संयोगवश हिजो राति होटेलको लिफ्टमा एउटा युरोपेली दम्पतिसँग अचानक भेट भयो । उनीहरू अन्तर्राष्ट्रिय मानव अधिकार सङ्घसँग सम्बन्धित रहेछन् । मेरो कथाव्यथा सुनिसकेपछि उनीहरूले मलाई काठमाडौँ जाने हवाईजहाजको टिकट किनी आफैँले एअरपोर्टसम्म पुर्‍याइदिए ।

माया मारिसकेकी अचानक प्रत्यक्ष भएकी जानकीको त्यो मुटु नै चिरिनेजस्तो टिठलाग्दो कथा सुनेर मन एक तमासले खलबलिन्छ । अनायास स्पन्दित हुन्छ मेरो छाती, अन्तरआत्माबाट पलाएर आएको महकरुणाले । आँसुले टलपलिएका आँखाहरू भुइँमा अस्तव्यस्त भई कुपि्रएर बसेकी, चुटिएर, लुछिएर आएकी त्यो युगौंयुगको यौन शोषणको प्रतीकमाथि छताछुल्ल पोखिन्छन् ।

हो, मेरोसामु दुई विकल्पहरू थिए, या त परम्परागत शैलीमा बेश्या बनिसकेकी स्वास्नीलाई निस्काशन गर्नु अथवा बुद्धको शैलीमा करुणादु भई अङ्गिकार गर्नु ।

थाहा छ, यो पितृसत्तात्मक समाजमा न अहिले लोग्नेको थरलाई आफ्नो घर ठानेर ओत लाग्ने, न माइती भनेर माइतीघरमाथि हक अधिकार जनाउन सकिन्छ उसले । जीवन र जगत्को टर्रो तीतो स्वाद चाखेर आएकी त्यो हृदयविदारक मूर्तिलाई पुरानो शैलीमा भकुरेर निकालिँदा फेरि कुन नैसर्गिक जङ्गलमा हराउने हो कुन्नि ? कुन अधर्मीको क्रूर पञ्जामा प”mसिने हो ? एउटा संरक्षणको तृष्णाले कतिओटा ढोकाहरू ढकढकाउँदै बिजोग भोग्नुपर्ने हो ?

जानकी, तिमीलाई मैले पो अङ्गिकार गरेँ तर तिमी अटाइ दिइनौ कतै एउटा पारम्परिक संयुक्त परिवारमा । ग्रहण लागेको चन्द्रमाझैँ दागी ठानियौ तिमी, त्यतिबेलाको सम्भ्रान्त समाजमा । फलतः हामी घर छोडी डेराबासी बन्न बाध्य भयौँ । आफ्नो जन्मस्थल र कर्मस्थल त्यागी हामी मधेस लाग्यौँ ।

स्मृतिहरूको अथाह सागरमा हराएको थिएँ म चुर्लम्मै, छोरीनाति आइपुगेको थाहै पाउँदिन ।

‘हजुरबा चिया……।’ भन्दा म अलि झस्केर विगतबाट वर्तमानमा झर्छु ।

उफ, यो वर्तमान, मेरो वर्तमान, चिनी नभएको तीतो चिया खानु बाध्य मधुमेहको रोगीको वर्तमान ।

मानौँ मेरो मनको कुरा बुझेजस्तो अलि मुस्कुराएर अनुप भन्छ, “आजको चिया अर्कै चिया । तीतो होइन गुलियो चिया । मधुमेहको रोगीहरूलाई पनि हुने चिनीले जस्तै गुलियो पार्ने साकरिन भन्ने चक्कीहरू बजारमा पाइँदोरहेछ । कस्तो हामीले थाहै नपाएको । सबिनले भनेर पो थाहा पाएँ ।”

गुलियो चियाको चुस्कीमा रमाउँदै म हर्षविभोर भई भन्छु, “कति दिनपछि आज मलाई चियाको स्वाद चियाजस्तै लाग्यो । के नाम रे यसको ?”

“साकरिन ।” उसले हाँसेर दोहोर्‍याउँछ ।

“साक…रिन ।” त्यो बिरानो शब्द म बिस्तारै दोहर्‍याउँछु, आभारी मनले ।

लाग्छ आजका तन्नेरीहरू हिजोका तन्नेरीहरूभन्दा बढी जान्ने, सुन्ने, बुझ्ने भएका छन् । आधुनिक सभ्यताको सकारात्मक फल चाखी निकै ज्ञानी भएका छन् ।

प्रतिदिन खस्किँदै गइरहेको मेरो शरीरको बल, जाँगरलाई यो ठिटो क्यालसियम र भिटामिन चक्कीहरूले दरिलो पार्न जमर्को गर्दछ । उफ, यो ठिटो मेरो उमेर र प्रकृतिसँग अनन्त लडिरहेको छ र मलाई बाँच्नको लोभ बाँड्दैछ ।

गार्मेन्ट कारखानामा काम गर्ने यसकी आमा सधैँभरि काममै ब्यस्त, सधैँभरि ओभरटाइम काम, सधैँभरि थाकेकी । बुबाचैँ एम.ए.को सर्टिफिकेट दराजमा थन्क्याई ट्याक्सी चलाउँछ, बाध्यताको कारण ।

भाइचैँ इन्टरनेट क्याफे भन्यो, इमेल, च्याट, साइवर गेम्स, भिडियो त्यस्तै के के न भन्यो, दिनभरि गायब बिदाको दिन । आफ्नै धुनमा मस्त हिँड्छ, अरु कसैको पर्वाह छैन ।

“हजुरबा, भोलि दिउँसो हामी दुई तीन घण्टा थापाथलीको वृद्धाश्रम जाने प्रयोजन गरौँ है । त्यहाँ नाचगानको कार्यक्रम छ रे, जलपान पनि हुनेछ रे । यहाँ एक्लै मनमा कुरा खेलाएर धुमधुम्ती बस्नुभन्दा अलिकति मन बहलिन्छ कि । सायद हजुरबाको पुराना साथीहरू पनि भेटिने छन् कि ……।”

हृदय आहृलादित हुँदै एकटक म उसको हँसिलो अनुहार र चम्किला आँखाहरू हेर्दै मनमनै हाँस्छु ।

लाग्छ, यो नाति आफ्नो तन्नेरी उत्साह र बाँच्नको रहर मलाई सापटी दिँदैछ । यो कलिलो उमेरमा यति महान् संवेदनशील हृदय यसले कहाँबाट पाएछ हँ ? यो ठिटोजस्तो मान्छे होइन मानवीय गुणहरूले निपूर्ण साँच्चैको मान्छेको सहस्त्र क्लोनिङ हुने भए यो पृथ्वी अलि बढी जिउने लायक हँुदैन र ?

आज फेरि यसले मलाई आफ्नो पिँढीप्रति कृतज्ञ बनाई छोड्यो । हृदय अवरुद्ध भई मेरा आँखाहरू रसाउन थाल्छन् ।

‘लौ न नि, हजूरबा त रुनु पो भएछ । किन हँ ? मैले अञ्जानमै केही बिराएँ कि ?” अवाक् भई अनुपले सोध्छ ।

“हैन, हैन, यी त हर्षका आँसुहरू हुन् लाटा……।” भन्दै म आँसु पुच्छु ।

Bharat Jangam – Sorha Khutte

भरत जङ्गम – सोह्रखुट्टे
(Source:मधुपर्क, चैत २०६७)

विश्रामस्थलको नजिकै आइपुगेकी छन् जमिला । जतिजति सोह्रखुट्टे नजिक पुग्यो, उनको पिठ्यूँमा भएको घाँसको भारी गरुङ्गो हुँदै गइरहेछ । सायद विश्रामस्थल नजिकिएकाले घाँसको भारी गरुङ्गिँदैछ उनको ।

सोह्रखुट्टे मचान अर्थात् सोह्रवटा थामहरूबाट निर्मित जसलाई एक छहारी, जसलाई एक बिसौनी र एक विश्रामस्थल भन्न सकिन्छ । यो सोह्रखुट्टे पाटी वा छहारी पाँच गाउँको माझको बेँसीमा निर्मित भएको हुँदा गाउँबाट ओर्लिंदा र गाउँतर्फ उक्लँदा भारी बिसाई सुस्ताउने थलो पनि हो । गाउँहरूबाट झर्दाभन्दा गाउँहरूमा उक्लँदा जोकोही पनि यो सोह्रखुट्टे छहारीमा केही क्षण सुस्ताउने गर्छन्, मौका परे घन्टौँ गीत गाएर रल्लिन सक्छन् । विश्रामस्थल न हो, आराम गर्ने क्रममा एक निद्रा झपक्क निदाउन पनि सक्छन् । वनजङ्गल नजिकै नभएको हुँदा वन्यजन्तुको भय छैन । चोरीडकैतीको कल्पनासम्म पनि गर्नुपर्दैन । मान्छेले मान्छेसँग मान्छेको व्यवहार गर्ने समाज भएको हुँदा अन्य यात्रुसँग पनि पटक्कै डर छैन । पाँचै गाउँको साझा स्थलका रूपमा निर्मित यस सोह्रखुट्टेको भुइँतलाको भुइँमा सपक्क मिलेको ढुङ्गा बिछ्याइएको छ भने लिस्नोले जोडेको माथिल्लो तला काठका फलेक टम्म मिल्ने गरी छापिएको छ । तल्लो भुइँतलामा मान्छेहरू उभिएर हिँड्न मिल्छ भने माथिल्लो तलाको बीचमा मात्र मान्छे उभिन मिल्छ, अर्थात् माथिल्लो तलामा चारैतर्फ झरुवा छाना भएको हुँदा छेउतर्फ मान्छे टुसुक्क वा पलेटी कसेर मात्र बस्न मिल्छ । रोदीको समयमा राति बस्नुपर्दा पच्चीस-तीसजना माथिल्लो तलामा बसेर कार्यक्रम गर्न सक्छन् भने तल्लो तलामा करिब पचासजना नै बसेर रात काट्न सक्छन् । यसको वरपर वरपीपलको विशाल रुख भएको र केही खाली चउर पनि भएको हुँदा यहाँ तीन-चार सयसम्मका मान्छेको जमघट हुन सक्छ । त्यसैले यहाँ वर्षमा दुईपटक मेला लाग्ने पनि गरेको छ । उत्तरदेखि ओरालिँदै दक्षिणतर्फ सुतेको लामो बेँसी भएको हुँदा हिउँद-वषर्ा दुवै समयमा वातानुकूलित वातावरण पाएको छ । दक्षिणबाट उत्तरतर्फ उक्लिने मन्द गतिको हावाले वातावरणलाई नै स्वच्छता प्रदान गर्ने गरेकाले पनि स्वर्गीय आनन्दको थलो सावित भएको छ सोह्रखुट्टे ।

जमिलाको कम्मरमा भिरेको खुर्पेठ्याकको आवाजको गति मन्द हुनुको अर्थ हो उनको हिँडाइमा कमी आउनु । हरेक पाइलाको चालमा खुर्पा हल्लने गर्दा खुर्पा र दापको जुधाइले निस्किने ‘टक्रक्ट्याक्’ को आवाजले हिँडाइको चाललाई सङ्गीतको ध्वनि प्रदान गर्ने हुनाले पनि लेक, बेँसी, जङ्गल जहाँ हिँड्दा पनि खुर्पेठ्याकको आवाजले यात्रामा सहजता मात्र प्रदान गर्दैन, गति अनुसारको ध्वनि परिवर्तनले यात्रुको मनलाई साथ पनि दिइरहेको हुन्छ । हिँडाइको बेगसँग आफैँ नियन्त्रित भएको हुन्छ । त्यसैले जमिलाको पिठ्यूँको भारी टाउकोमा नाम्लोले थेगे पनि कानमा ठोकिने अविरल आवाज उनलाई अगाडि बढाउन सहायकसिद्ध भएको छ ।

सोह्रखुट्टेको छेउमा पुगेर परिवेशलाई नियालिन् जमिलाले । त्यहाँ कोही खेतबारीमा काम गर्ने कामदार तथा यात्रु थिएनन् । मध्यदिन, भरखर समय ढल्कन थालेको छ । बिहान र साँझ त मान्छेहरू बाक्लै हुन्छन् यहाँ । दिनमा भने फाट्टफुट्ट मात्र देखापर्छन् । हिजोअस्ति साथीसङ्गीसँग घाँस काट्न आउने जमिला आज एक्लै परेकी छन् । पल्लोघरकी लप्टनकी छोरी साहिँलीसँग घाँस काट्न आउने कार्यक्रम थियो उनको तर साहिँलीको कम्मर कटक्क काटेको हुँदा उनी आउन सकिनन् । आइमाईको जात, महिनामा तीन-चार दिन त दुःख दिइहाल्छ । त्यो कुरा जमिलालाई थाहा भएर नै साहिँलीलाई छाडेर एक्लै घाँस काट्न आएकी हुन् । उनी सोह्रखुट्टेको छेउमा भारी बिसाउँछिन् र केही बेर आराम गर्ने विचार गरी लिस्नोबाट माथि उक्लिन्छिन् । तल्लो तलामा भन्दा माथिल्लो तलामा विशेष शीतल हुन्छ । त्यसैले उनले माथि गएर पोटकीमा घुसारेको बुन्दाबुन्दैको अधूरो रुमाल निकालिन्, कुर्सियो र रङ्गीन धागाहरू पनि निकालिन् । बुनिसकेको रुमालसँग सुहाउँदो रङ नीलो भएको हुँदा नीलो धागो निकालेर रुमाललाई पूर्णता दिन बुन्न थालिन् । त्यो रुमाल उनले आˆनो लोग्ने गुनेलाई उपहार दिन बुनेकी हुन् । गुने यही साल आउनेमा जमिला विश्वस्त छिन् । त्यसैले पलपल उनकै यादमा गुजारेकी छन् जमिलाले ।

गुने मुग्लान लागेको दस वर्ष भइसक्यो । विवाह भएको सातै दिनमा गाउँमा गल्ला पसेर गुनेसमेत पाँच जनालाई पक्लिहवा क्याम्प हुँदै भारतको गोरखपुर पुर्‍याएर गोर्खा सैनिकमा भर्ना गराएका थिए । विवाह हुँदा जमिला दस वर्षकी थिइन् र गुने तेह्र वर्षको थियो । गुनेको जुँगाको रेखी हो कि होइन भनेजस्तो मात्र देखिन्थ्यो नियालेर हेर्दा । जमिला पनि रजस्वला नभएकी कुमारी थिइन् त्यस समयमा । विवाहको औपचारिकता मात्र गरेर गुने मुग्लान लागेको थियो । साधारणतया दुई वर्ष रिक्रुट तालिम, चार वर्षको सेवा, छ वर्षमा तीन महिनाको बिदा लिएर घर आउनुपर्ने गुनबहादुर आले भारत-चीनको लडाइँले गर्दा निर्धारित समयमा र्फकन सकेको थिएन । चीनले लद्दाख कब्जा गरेपछि चीनका विरुद्ध भारतरक्षात्मक रूपमा उत्रिएको थियो, अर्थात् भारतको सीमामा लडाइँ चम्किएको थियो । भारतका प्रधानमन्त्री लालबहादुर शास्त्रीले ‘जय जवान जय किसान’ भन्ने नारा दिएपछि भारतमा सैनिक सेवाको गरिमा बढेको थियो त्यस बखत । मुलुकमा सङ्कट पर्दा सैनिकले नै रक्षा गर्नुपर्ने भएकाले सबै सैनिक सेवामा संलग्नहरूलाई लडाइँमा सम्मिलित गराइएको थियो ।

गुनेले लडाइँबाट र्फकनुअघि नै एक दिन साँझ आठ बजे अल इन्डिया रेडियोबाट भनेको थियो – “म पाल्पा जिल्ला हजारबतासा गाउँको जोरघरे बस्ने गुने भन्ने गुनबहादुर आले मगर बोल्दैछु । त्यहाँ मेरा घरका बाबु, आमा, दाजु तथा गाउँका जिबा, काकाहरू सबैलाई ढोग-प्रणाम छ । मभन्दा मुनिका भाइबहिनीलाई आशीर्वाद छ । साथै मेरी श्रीमती जमिलालाई प्यार छ । मनभित्र तस्बिर बनाएर सानी जमिलालाई मैले राखेको छु । म यसपटक छुट्टीमा आउन सकिनँ लडाइँले गर्दा । मेरो बहादुरीपूर्ण काम देखेर साहेबहरूले मलाई सिपाहीबाट एकैपटक सार्जन बनाइदिएका छन् । छातीमा लगाउने तक्माहरू पनि थुप्रै पाएको छु । मेरो चिन्ता नगर्नु । म छुट्टी पाउनेबित्तिकै बुटको तुना बाँध्न त्यहीँ आइपुग्छु । फेरि बाबुआमालाई ढोग र जमिलालाई प्यार छ ।”

यसरी आकाशवाणीबाट आएको खबर जमिलाले आˆनै बाबुको घरमा रहेको ट्रान्जिस्टर रेडियोबाट सुनेकी थिइन् । जुन दिन गुनेको कार्यक्रम आउने थियो, पन्ध्र दिनअगावै रेडियोबाट त्यसको सूचना गरेको हुँदा जमिलाका माइतीतर्फका पचासौँ आइमाईहरू एम. सी. मीनलाल रानामगरको आँगनभरि जम्मा भएर गाउँलेहरूले रेडियो सुनेका थिए ।

गाउँका आइमाईहरूले गुने सार्जन भएको रेडियोबाट सूचना पाएपछि जमिलालाई हवलदार्नी भन्न थालेका थिए तर जमिलालाई भने ती सबै सपना भइसकेका थिए । किनभने त्यसपछि उनले गुनेको आवाज कहिल्यै सुन्न पाएकी थिइनन् । जमिलाका लागि गुने भरखरको अल्लारे केटो थियो र गुनेका लागि जमिला एक अबोध बालिका थिइन् । गुनेको बढ्दो जवानी सैनिकी अभ्यासमा व्यतित भयो भने घरको बुहार्तन र माइतीको अप्राकृतिक तनावबाट जमिलाका दिन, महिना र वर्षहरू गुजि्ररहेका थिए दुःखपूर्ण तरिकाले । जमिला एम. सी. मीनलाल रानामगरकी जेठी छोरी थिइन् । माहिँली र कान्छीले घर गरेका थिए तर जेठीले माइतमा बस्नुपर्दा उनले भोग्नुपरेको दुःखदर्द अरू कसैले बुझ्न सक्तैनथ्यो । द्वितीय विश्वयुद्धमा एम. सी. अर्थात् महावीरचक्र पाएका मीनलालको गाउँमा विशेष इज्जत थियो । उनी गाउँका मुखिया पनि भएका थिए ।

वर्षको एकखेप अदुवा बोकेर बुटवल जानु र त्यहाँबाट नुन, मट्टतिेल, चिनी र लत्ताकपडा ल्याउनु त अनिवार्य नियम नै बनिसकेको थियो । जमिला घरबाट एकखेप र माइतबाट धेरैखेप बुटवल गएकी थिइन् । बुटवल जाने भनेको मेलापर्व र जात्राजस्तै मानिन्छ । अदुवाको भारी बोकेर हाँस्तै-खेल्दै एकै दिनमा बुटवल पुग्नु र एक दिन दुई रात बसेर बुटवलबाट दुई दिन लगाई गाउँ र्फकनु भनेको मनोरञ्जनको क्षण हुने सबै गाउँलेले बुझेकै कुरा हुन् । कान्छा मामासँग र ठूला मामाका छोरा साथमा भइदिए भने त भान्जी जमिलालाई स्वर्गीय आनन्द नै मिल्ने हुँदा त्यस्तो मेला अर्थात् बुटवलको खेपमा सम्मिलित हुन पाउँदा सबैजसो युवतीहरूलाईझैँ जमिलालाई पनि खुसी नै लाग्ने गथ्र्यो ।

जमिला पाँच वर्ष पहिले सानो कन्टरमा घिउ बोकेर जाँदा तिनाउ नदीपारि तरी खस्र्यौंलीमा मोटर हेर्न पुगेकी थिइन् । त्यतिखेर भारत नौतनवाबाट लत्ताकपडा, नुन र मट्टतिेलजस्ता पहाडका लागि चाहिने आवश्यक सामानहरू बोकेर जी. एम. सी. ट्रकहरू आउँथे र बुटवल बजारमा पहाडबाट आएको अदुवा, बेसार, घिउ र जडीबुटी बोकेर भारततर्फ जान्थे । देशी ड्राइभरले चलाउने ती ठूलाठूला पाङ्ग्रा भएका मोटरगाडीलाई जमिला र उनका साथीहरूले खुर्पाले ठकठक्याएर जाँचेका थिए भने पाङ्ग्राले छेलेको मोटरगाडीको तल्लो भाग पनि निहुरिएर हेर्न जमिलाले भ्याएकी थिइन् ।

सोह्रखुट्टेको माथिल्लो तलामा रुमाल बुनिरहेकी जमिला आराम र एकोहोरो सोचले लठ्याउँदै निद्राले झकाएकी हुँदा हातमा बुनिँदै गरेको रुमाल समातेकै अवस्थामा उनी पल्टन पुगिन् । उनी निदाएकी छैनन् र उनलाई पूर्ण होस पनि छैन । उनी टाढाबाट आएको साङ्गीतिक प्रतिध्वनि सुन्न थालिन् । बिस्तारै आवाज पनि सुनिन थाल्यो- ‘कालीपारे दाइ कति राम्रो, ढाका टोपी काँधैमा गलबन्दी ।’ नारीस्वर पहाड नै गुञ्जायमान हुने गरी नजिकिन नपाउँदै टाढाबाट आएको सङ्गीतको धुनले गर्दा जमिलालाई निद्रादेवीले लपेटिसक्छिन् ।

ट्रान्जिस्टर रेडियो बायाँ काँधमा, दायाँ काँधमा सानो झोला र पिठ्यूँमा फौजी रुकस्याक बोकेका भारतीय गोर्खा सैनिकको जङ्गी पोसाक लगाएका लाहुरे फुर्किंदै र जोसिँदै रेडियोको सङ्गीतको तालमा सोहखुट्टे आइपुगे । त्यहाँ कसैलाई देखेनन्, सिवाय घाँसको भारी । घाँसको भारी भएपछि भारी बिसाउने पथिक पनि त्यहीँ कतै हुनुपर्छ भन्ने निर्णयमा चारैतर्फ नियालेर हेरे र घुमे । कहीँ कोही नदेखेपछि मचानको पहिलो तलामा हेर्ने विचारले लिस्नोको दुई खुड्किला उक्लेर माथि हेरेपछि उनका पाइला तल झरेनन् । उनी माथि मचानमा प्रवेश गरेर मस्त निद्रामा परेकी जमिलाको छेउमा टुसुक्क बस्न पुगे । उनले आˆना झोलाहरू बिस्तारै शरीरबाट अलग गराई छेउमै राखे भने रेडियोलाई एकदमै मन्द ध्वनिमा निश्चित ट्युनिङ गरे र जमिलाको निश्छल र अबोध अनुहारलाई नियाल्न पुगे । हेर्दाहेर्दै जमिलाको अनुहारमा उनले सुन्दरता देखे, कामुकताको सङ्केत पहिल्याउन थाले र उनी वासनामयी शिखरको आरोहणको कल्पनामा रुमल्लिन थाले । शिरदेखि पाउसम्म आˆना आँखालाई बिछ्याउँदै जमिलाको शरीरका अङ्गअङ्गबाट उडिरहेको नारीगन्धमा नजिकिँदै स्वयम्मा उनी मन्त्रमुग्ध हुन पुगे ।

जमिलाले लगाएको चोलीबाट देखिने गोरा हातपाखुरा र कलेजी मखमली चोलीले आकार कायम गरेको जोर गोलाकार छातीको भाग खुलारूपमा प्रदर्शित थिए । कालो बुट्टेदार छिटको गुन्यूँले छोपेका तिघ्राभन्दा मुनिको भाग घुँडा छोपिए तापनि सेता पुष्ट पिडुँलाको पूर्ण भाग छोप्न सकेको छैन । जुत्ता नलगाएका खुट्टा पनि सलसलाउँदा नरम भएका हुँदा अङ्गका अन्य भागभन्दा फरक देखिँदैन । अनुहारमा पसिनाको केही अंश देखिए पनि थाकेको वा गलेको देखिएको छैन । निधारमा सानो टीका र नाकमा सुनको बुलाकी मात्र होइन, कानको बीच भागमा सुनको कानको आधा भाग नै ढाक्ने ढुङ्ग्रीले सजिएकी छन् जमिला । बायाँ कोल्टे परी बायाँ पाखुरीलाई सिरानी गरेर आराम गरेकी जमिलाको नाकको बायाँतर्फ लगाएको फूली नदेखिए पनि नाकको बीचको नाथ्रीमा सजिएको बुलाकीले भने उनको ओठको केही भाग छोप्न पुगेको छ ।

जमिलाका पुष्ट हात-पाखुरा र छातीले ती लाहुरेलाई आकर्षण गरेका हुँदा त्यसैतर्फको मस्त शरीरबाट उडिरहेको गन्धमा खिचिँदै निहुरिएर वास्नामयी गन्धको मीठो अनुभव गर्न थाले । यसैबीच उनको निहुरिएको टाउकोलाई जमिलाको दायाँ हातले खिचेर छातीमा टसाउन पुग्यो । उनको अनुहारले जमिलाको वक्षस्थललाई स्पर्श गर्‍यो । दुवैमा कम्पन छुट्यो र दुवै झस्किए । जमिला आत्तिएर उठिन् र गर्धनमा परेको हात फुत्त थुतेर ‘आच्चै, को हौ

तिमी ?’ भनेर झस्किइन् । उनले पनि जमिलाको छातीबाट टाउको उठाउँदै तुरुन्त जवाफ दिए – “म लाहुरे हुँ, छुट्टीमा घर आएको । भाञ्जी Û तिमी को हौ ? तिमीलाई देखेपछि त म झन्डै मूच्र्छा

परेको Û तिमीभन्दा सुन्दरी त मैले यो विश्वमा देखेकै रहेनछु ।”

उनी अलि वर सरे र जमिलाका हात स्पर्श गर्न पुगे । जमिलाले पनि हात फुत्त थुतेर लाडिँदै भनिन् – “के भनेका हौ मामा Û देशविदेश घुमेका तिमीले कस्ता-कस्ता राम्रा तरुनी देखेका हौला, म गाउँलेलाई किन फुक्र्याएका ?”

दुवैबीच ठट्टा विस्तारित हुँदै गयो । चारमिनार चुरोट जमिलाले ओठमा च्यापेर सल्काइन् । ओठमा च्यापिएको चुरोट दुई-तीन सर्को पिएपछि सोही चुरोट उनलाई दिँदै भनिन् – “ओहो Û यो त ज्यादै कडा पो रहेछ मामा Û लौ लिनुहोस् ।”

दुवैले पालैपालो त्यो चुरोट पिए । चुरोटको साटासाटले मायाको आदानप्रदान हुन्छ भन्ने बुझेका ती जोडी बिस्तारै जिस्किँदै गए र नजिकिँदै गए चुरोटको खिल्लीको टुप्पोले ओठ जुठ्याउँदै ।

वर्षौंपछि घर फर्किएका लाहुरे मदमस्त त हुन्छन् नै, त्यसमा पनि तरुनीको समीपमा केही क्षण बसेपछि युवकको अनुहार भावुक र संवेदनायुक्त हुन पुग्नु स्वाभाविकै हो । गोरो अनुहारमा कालो खुर्पे जुँगामाथि गालामा लाली चढिसकेका हुँदा जमिलालाई एकोहोरो हेरेर यौवनको जादुले जमिलालाई लठ्याउन समर्थ भए उनी । जमिलाका घोप्टिएका आँखा क्षणक्षणमा उनको नसालु अनुहार नियाल्न पुग्छन्, जो समर्पणको सङ्केत हो । विश्रामस्थल, मात्र दुई मस्त युवकयुवती, शान्त बाहिरी वातावरणले कुनै अवरोध नआएको स्थितिमा बोलीको भाषा रोकिए पनि दुवै एक-अर्कासँग सञ्चारित भइरहेका छन् ।

यस्तो सन्नाटालाई च्यात्दै लाहुरेले दुवै हात फैलाएर गम्भीर अनुहारमा आफूलाई पूर्ण समर्पित पार्दै जमिलासँग भीख माग्छन् – “भाञ्जी Û म तिमीलाई देखेपछि पागल हुन थालिसकेँ । मलाई स्वीकार । मलाई अँगाल । म तिमीलाई जीवनभरि छोड्दिनँ । कृपया ………. Û”

उनको वाक्य एकाएक अड्छ र उनी आँखा बन्द गरेर जमिलालाई अँगालोमा गाँज्न पुग्छन् । युवा जोस, आवेग र भावना मिश्रति वातावरणको सिर्जनाले दुवैलाई एकाकारमा परिवर्तित गर्छ । दुवै पसिना-पसिना हुन्छन्, पानी-पानी बन्छन् । विनाशब्द र विनासम्बोधनमा पनि सम्बोधित हुन पुग्छन् आपसमा । मौनतामा नै कहिल्यै नछुट्टनिे प्रण पनि गर्न पुग्छन् । साथै सत्य यही हो, बाहृय मिथ्या हो भन्ने पनि निर्णयमा पुग्छन् । दुवै खुसी छन्, आनन्दित छन् र खुसीका साथ स्वर्गीय वातावरणमा विचरण गरिरहेका छन् ।

दुवैको होस खुल्छ । जमिलालाई कसरी खुसी बनाउन सकिन्छ भन्नेमा तल्लीन लाहुरेले आˆनी श्रीमतीका लागि देशबाट नै किनेर ल्याएको सुनको औँठी ब्यागबाट झिकेर जमिलाको साहिँली औँलामा लगाइदिन्छन् र भन्छन् – “यो मैले घरकी स्वास्नीलाई ल्याएको हुँ । अब मैले तिमीलाई नै आˆनी स्वीकार गरेँ ।”

“आच्चै मामा Û के भनेको ? घरकी बूढी छोड्छौ कि क्या हो ?”

जवाफमा लाहुरेले तुरुन्त भने – “त्यसैले त तिमीलाई औँठी लगाइदिएको ।”

“म को, कसकी छोरी, कसकी बुहारी भन्नेसम्म तिमीले जानकारी नपाई मलाई औँठी लगाइदियौँ । यो त राम्रो भएन

मामा Û” – जमिलाले बुद्धिमत्तापूर्ण कुरा उनका अगाडि राखिदिइन् ।

“आइमाई धेरै देखेँ भारत नौतनवादेखि सुनौली, भैरहवा र खस्यौलीमा । कतै चिया पिएँ, कतै चुरोट किनेँ, कतै बियर, रक्सी र जाँड पिएँ । सबै आइमाईहरूले पैसाको मात्र भाषा बुझ्ने, मनको कुरा त बुझ्दैनबुझ्ने । मस्र्याममा आएर त म मूर्ख सावित भएँ । पिएँ एक सिसी तर पैसा तिरेँ चार सिसी रक्सीको । लाहुरेलाई त मूर्ख सम्भिmने रहेछन् बाटामा पसल थाप्ने थकाल्नीहरूले ।”

असाधारण मनस्थितिले गाँजेका लाहुरेले जमिलालाई खुसी तुल्याउने विचारमा अन्य क्रियाकलाप पनि गर्न लागे । घरि ओर्किने, घरि फर्किने, यताउता हेरी रमाउने र आफैँभित्र आनन्दको अनुभूति गर्ने गर्न थाले उनी । त्यसै खुसीको वेगमा हतारिँदै झोला खोतल्न थाले । उनले एउटा सानो विदेशी रक्सीको बोतल निकाल्दै सोधे – “भाञ्जी Û ऐरक पिउँछ्यौ ? यो विदेशी ज्यादै महँगो ऐरक हो ।”

जमिलाको सकारात्मक सङ्केतपछि झोलाबाट पानीको तुम्लेट निकाल्छन् र त्यसमाथिको बिर्कोमा भएको सानो ग्लासमा थोरै रक्सीमा केही पानी मिसाएर जम्ल्याहातले दिँदै जमिलालाई पिउन अनुरोध गर्छन् – “भाञ्जी Û यो ऐरक विदेशी हो । यसले जीउ फूर्तिलो हुन्छ ।”

जमिलाले आˆना दुवै हात अगाडि बढाएर ग्लास समाउँछिन् र बिस्तारै ओठमा लगाएर एक चुस्की लिन्छिन्् र जम्ल्याहातले उनैलाई ग्लास फर्काइदिन्छिन् । इच्छाअनुसार पिउँदै ग्लास रित्याउँछन् । यी सबै एकपछि अर्को घटना-परिघटनाले एक-अर्कालाई नजिक्याउँदै लान्छन् । जमिलालाई केके न दिऊँ जस्तो लाग्छ उनलाई, र फेरि उनी झोला खोल्न थाल्छन् । उनी सुपारी र काजुका पुरियाहरू निकाल्छन् र अँजुलीमा देखाउँदै ‘कुन मन पर्छ ?’ भनेर छान्न लगाउँछन् । जमिला सन्तुष्ट भावमा भन्छिन् – “होइन मामा Û राख, तिम्रो घरका लागि ल्याएको कोसेली घरमा नै दिनुपर्छ ।”

जमिला दाहिने हातले उनको अँजुलीको पोकालाई पन्छाइदिन्छिन् तर पनि काजुको एउटा पोको नराखी धरै पाउँदिनन् जमिला ।

बदलामा केही दिन मन लाग्यो जमिलालाई पनि । घाँस काट्न आएकी केटी, साथमा खुर्पा र बुन्दै गरेको अधुरो रुमालबाहेक उनीसँग अरू केही थिएन । अधुरो रुमाललाई बिट मारेर त्यही दिऊँ भन्ने लाग्यो जमिलालाई । त्यसैले उनले हातमा कुर्सियो लिएर अधुरो रुमालको बिट मारेर रुमाललाई पूर्णता दिइन्, अनि विदेशमा बस्ने आˆनो लोग्नेका लागि बुनेको रुमाल दिँदै भनिन् – “लौ

मामा Û यो सानो सम्झना राख है Û अरू केही छैन यतिखेर मसँग ।”

“आहा भाञ्जी Û योभन्दा ठूलो के चाहियो ? यस्तो रङ्गीचङ्गी र सुन्दर रुमाल । तिम्रा औँलाको स्पर्शले बनेको गाँठोको सञ्जाल । यसभित्र तिम्रो माया र स्नेह लुकेको छ ।” – लाहुरे बोल्छन् र रुमाल लिएर आˆनो अनुहार छोप्न पुग्छन् ।

यसैगरी प्रेमलहरी लहरिँदै जान्छ । दुवै रमाएका छन् एक-अर्कालाई पाएकोमा । दुवै दङ्ग छन् एक-अर्कालाई भेटेकोमा । जीवनभरि एकैसाथ रहने प्रण गर्छन् एकले अर्कासँग र भोलि बिहान सबेरै जतिसक्दो चाँडो यसै स्थलमा भेट्ने र तानसेन बजार घुम्न जाने कार्यक्रम तयार गर्छन् । दुवैले त्यहीँ गएर घुम्ने र वैवाहिक जीवनको सुरुआत त्यहीँबाट गर्ने निर्णय गरे ।

कुरा एकपछि अर्को सुरुआत भएको हुँदा नाउँ र गाउँ छुट्टनिे बेलामा सोधौँला भन्ने मनसाय राख्ताराख्तै पनि दुवैको प्रेमालाप नटुङ्गिएकाले भविष्यको न्यानो कार्यक्रम बनाउँदैमा समय व्यतित भयो । फेरि नाउँ-गाउँको पनि किन आवश्यकता पर्‍यो र Û सम्बन्ध जुट्ने कुरा जुटिसक्यो, मायाप्रीति पनि लागिसक्यो, एक-अर्काको जीवनसाथी बन्ने पनि तय भइसक्यो । यो त समय र जीवनको अवस्थामा निर्भर गर्छ ।

दिन ढल्किन लागेको हुँदा गाउँतर्फ लाग्ने मान्छेहरूको डोरो बाटिन थाल्यो । पाँचै गाउँ उक्लने चौराहका रूपमा रहेको सोह्रखुट्टे हुँदै गाउँलेहरूका गाउँ जान आएका जमात नजिकिन थाले । जमिला पनि उठेर तल घाँसको भारी भएको ठाउँमा आइपुगिन् । उनको पि्रय लाहुरे पनि भोलि भेट्ने वाचा गर्दै आˆनो गाउँको बाटोतर्फ लम्किए । झल्याकझुलुक देखिएसम्म जमिला फर्की-फर्की हेर्दै रहिन् । बाटो गाउँको लागे पनि मन भने सोह्रखुट्टेमै अडेको छ उनको ।

गाउँमुनिको चौतारोमा आइते भाइ बसिरहेका रहेछन् जमिलालाई भेट्न । जमिलाले भारी नबिसाएसम्म आइतेले पनि चिनेनन् । जमिलाले भारी बिसाएर टाउकाको बर्को शीतल हावा पाउन के खोलिथिन्, आइते ‘दिदी Û’ भनेर जमिलाको हात समाउन पुगिहाले । आइतेलाई देख्नेबित्तिकै खुसी भएकी जमिलाले सोधिहालिन् – “कहिले आइपुगेका तिमी ?”

आज नै आइपुगेको र भिनाजु गुनबहादुर पनि सँगै आएको कुरा बताउँदै उनले उत्तर दिए – “भिना र म सँगै आएका हौँ । उनको जमदार पदमा प्रमोसन भएको हुँदा छुट्टी मिल्न अलि ढिलो भयो । ढिलो भएको पनि फाइदै भयो । भिना र म सँगै आउने चाँजो मिल्यो ।”

“भिना कहाँ छन् त ?” – आत्तिएको अवस्थामा जमिलाले सोधिन् – “के यहीँ छन् ?”

आइतेले उत्तर दिए – “उनलाई मैले मस्र्यामको फेदीको थकालीको भट्टीमा छोडेको हुँ । उनले मलाई भने – ‘साला

नानी Û तिम्री दिदी माइतमा छिन् । उनलाई भनिदिनू म सोमबार लिन आइपुग्छु । तिमी यतैबाट गाउँ जाऊ, म केही बेर यहाँ आराम गरेर आउँछु ।’ भिनाले त्यसो भनेपछि ‘लौ त, लाहुरे मान्छे, थकाल्नीहरूसँग पनि भेटघाट गरून् न त’ भन्ने लागेर म हिँडेँ । भिना भोलि कसै गरी पनि आइपुग्छन् ।

तल सोह्रखुट्टेमा भरखर माया जोडिएका लाहुरेलाई छोडेको एक घण्टा मात्र भएको छ । मनभरि, शरीरभरि र सम्झनाभरि उनकै मायाप्रीतिले बास गरेको छ । यस्तो स्थितिमा आˆनै लोग्ने त्यसमा पनि दस वर्षपछि आउन लागेको खबर पाउँदा जमिला होस शून्य अवस्थामा पुगेकी छन् । गुनेको अनुहार जति गरे पनि दस वर्षपहिलेको नाकमुनि जुँगाको रेखीसम्म बसेको नवयुवा अर्थात् गाउँको ठिटोका अतिरिक्त अरू युवा आकृतिको सम्झनासम्म गर्न सकेकी छैनन् । मनमा तरङ्ग उठ्न थालेको छ उनको । कस्तो अनुहार होला, जुँगा छन् कि छैनन्, युवामा हुनुपर्ने सुन्दरता छ कि छैन जस्ता प्रश्नहरू रोकिँदै र फुर्दै गरेका हुँदा मन अटेसमटेस हुन थालिसकेको छ । उनी मनलाई बुझाउन आइतेसँग विस्तारै प्रश्न गर्छिन् – “तिम्रो भिना कस्ता छन् ?”

“हेर दिदी Û उनी जमदार भइसकेका छन् । उनकै प्लाटुनमा म खटिएको छु । भिनालाई साहेबहरूले मन पराएर ‘जमगुन’ भन्ने गरेका छन् । ‘जम’ को अर्थ जमदार र ‘गुन’ को अर्थ गुनबहादुर । हाम्रो प्लाटुनमा ‘जमगुन’ को विशेष अधिकार छ । बडाबा एम. सी. पनि जमदार, उनका ज्वाइँ गुनबहादुर पनि जमदार । त्यसैले एम. सी. बडाबाले तीन दिनसम्म भोज खाने आयोजना गरेका छन् गाउँमा । बीस धार्नीको च्वाँचे अहिले भर्खर किनेर एम. सी. बडाबाको घरमा छोडेर आएको हुँ । भोलि बिहान च्वाँचे काटेर खानाको परिकार बनाउन उपल्लाघरे स्याङ्तान बा र माइँला बडूलाई बोलाइएको छ । भोलिदेखि तिम्रो घरमा रमाइलो सुरु हुन्छ । भिनालाई भेटेर तिमी पनि रमाइलो गछ्र्यौ नि Û”

आइतेको कुराले घरमा विशेष कार्यक्रम हुने सङ्केत पाइन् जमिलाले, उनको कुरा पूरै पत्याउन पनि सकिनन् । आइतेको कुरा ठीक रहेछ भने आज उनले घर नगए पनि हुन्छ, किनभने भोलि बिहानै सोह्रखुट्टेमा भेटेर त्यतैबाट नयाँ जीवनको सुरुआत गर्ने निर्णय भएको छ उनको । उनले आˆनो मनलाई स्थिर राखेर सोच्न सकिनन् र फेरि सोधिहालिन् आइतेलाई – “तेरा भिना साँच्चिकै आएका हुन् र यहाँ भोलि आउँछन् ?”

“के भनेकी दिदीले पनि Û एम. सी. बडाबाले बिहानै गाउँभरि उर्दी लगाइसकेका छन् ‘एम. सी. मुखियाका ज्वाइँ जमदार गुनबहादुर गाउँमा आउँदैछन्, भेट्न इच्छा लाग्नेले मुखियाको आँगनमा आउनू’ भनेर । भोलि त गाउँका सबै बूढापाका मात्र होइन, तरुना-तरुनीहरू पनि भिनालाई हेर्न आउँछन् । भोलिको दिन भनेको त तिम्रो र भिनाको त हो Û”

आइतेले खु्सी भएर सुनाएको कुराले जमिलाभित्र चोट पुग्न सुरु भयो । उनको शरीर भित्रैदेखि नै काँप्न थाल्यो । उनका शरीर र मन एकैपटक भयभित्र डुबुल्की मार्न थाले । बिसाइएको घाँसमा आड लिएर जमिलाले भनिन् – “आइते Û तिमीसँग बिँडी छ ?”

आइतेले पनि ‘म भर्खर लाहुरबाट आएको, चुरोट नै छ नि, ल लिनुहोस्’ भनी पर्वत चुरोटको बट्टा नै जमिलाको हातमा थमाइदियो । उनको चुरोट तनाइ देखेर आइतेले जिल्ल पर्दै भन्यो – “के यस्तो विघ्न रुखिएकी चुरोटबाट ?”

औँला पोल्ने भएपछि जमिलाले चुरोटको ठुटो ओठबाट छुटाइन् । एकोहोरो तल बेँसीतर्फ हेर्न लागिन् उनी । माथि गाउँ जाऊँ कि सरसर्ती तल ओर्लेर सोह्रखुट्टेमै गएर उनलाई कुरौँ भन्ने दोधारमा उनी अलमलिन पुगिन् । आइते उनको नजिकै आएर चौतारोको ढुङ्गामा टुसुक्क बसेर भन्यो – “किन ? तिमी धेरै थाकेकी

जस्ती छ्यौँ । भिनालाई कहिले भेटौँ भएर भाउन्न भएको हो कि तिमीलाई ? चिन्ता गर्नुपर्दैन । भिना गजबका छन् ।”

जमिलाले सुनिन् बाबुको घर सजिएको रहेछ गुनबहादुरलाई स्वागत गर्नका लागि । बिहानै घाँस काट्न हिँडेकी जमिलालाई थाहापत्तो छैन किन यत्रो तामझाम गरिएको हो भनी । हो, उनले दस वर्ष कुरेकी हुन् गुनबहादुरलाई आˆनै बाबुको घर ‘माइत’ मा बसेर । यसबीचमा उनले न पैसा पठाए, न एकधरो लुगा । एकपटक आकाशवाणीबाट अस्पष्ट आवाज सुनेकी थिइन् भने तीनवटा चिठी जमिलाले पाएकी थिइन् । ती चिठीहरू पनि लेखेको मितिले पाँच-पाँच महिनापछि प्राप्त भएका थिए । उनलाई गुनबहादुर आउँछन् भन्ने त मनमा कुनै शुभशङ्का थिएन । वैवाहिक जीवन गुनबहादुरसँग नै चल्छ भन्ने त कुराको पनि उनमा यकिन थिएन । दस वर्षपछि उनी आएको खबर सुनेकी छन् जमिलाले तर आजैका दिन उनले एक होनहार युवासँग मायापिरती गाँसिसकेकी छन् ।

सायद सोह्रखुट्टेको घटना आजै नघटिदिएको भए उनीभन्दा खुसी आज कोही हुन सक्तैनथ्यो । उनका बाबु एम. सी. जमदार मीनलाल जति आज खुसी भएर घर, क्षेत्र र वातावरणको हुलिया परिवर्तन गर्दै खुसी जाहेर गरिरहेका छन्, त्यसभन्दा पनि बढी जमिला उडेर, गुडेर, नाचेर, दौडेर सङ्गिनीहरूलाई साथ लिई परीहरूको नयाँ गाउँ बनाउन सक्थिन् । गाउँभरि युवती छन् । कसैका जोडी छन्, कोही जोडीबिनाका छन् तर एक जोडीको आरिस अर्का जोडीले गर्दैनन् । बरू ती जोडी कसरी खुसी हुन्छन् भनेर अनेक क्रियाकलापद्वारा वातावरणलाई सहज, सुन्दर र उन्मुक्त बनाउँछन् उनीहरू । गाउँको यो प्राकृत नियम नै हो एक-अर्कालाई खुसी तुल्याउनु र अर्को खुसी भएकोमा त्यसमा आफू पनि सहभागी बन्दै आफूले खुसी व्यक्त गर्नु । यो स्वर्गीय नियम भएको यस गाउँमा जमिला दोधारमा उभिन पुगेकी छन् यतिखेर ।

आइतेले छोडेकै छैन जमिलालाई । भिनाकी प्रेयसी जमिलालाई आइतेले छोड्ने स्थिति पनि छैन । आज बिहानको सूचना बडाबालाई अनि साँझको सूचना दिदीलाई दिएर जसरी पनि तिनीहरूलाई खुसी तुल्याउन पाए राम्रो हुने थियो र त्यसबाट भिना खुसी भएमा प्लाटुनमा आइतेको पदोन्नति पक्का थियो ।

जमिलाले बिसाएको भारी बोकूँ वा नबोकूँ भनी यकिन गर्न सक्तिनन् यतिखेर । घरमा हुन लागेको त्यो रौनक आफूभित्र गुज्रेको ज्वारभाटाले थेग्न सक्ने हो कि होइन, कल्पनासम्म गर्न सकेकी छैनन् उनले । घर नजाऊँ भने पनि यतिखेर जाने अर्को ठाउँ छैन । सोह्रखुट्टेमा पनि रातमा कोही हुँदैनन् । उनले त बिहान मात्रै भेट्ने कार्यक्रम तय गरेका छन् । गाउँबाट एकै घण्टा पनि लाग्दैन र्झन । त्यसैले भोलि झिसमिसे अगाडि नै गाउँ छाड्ने अठोट गरेर जमिला भारी समाउन पुग्छिन् ।

आइते अघिअघि लाग्छन् र जमिला भारी बोकेर पछिपछि लाग्छिन् । यद्यपि उनलाई आज घर जाने मन पटक्कै छैन । घरमा पुग्नुभन्दा सय पाइलाजति पहिले नै बाटो सफा र राम्रो बनेको देखिन् उनले । अझ घरको आँगनमा उक्लने डिलमा त ढुङ्गाको खुट्किलोले सजिलो बनाइदिएको देखिन् । घाँसको भारी गोठको पालीमुनि बिसाई उनी पिँढीमा आएर टुसुक्क बसिन् । उनले बिहान छोडेको घरको अनुहार नै बदलिएको देखिन् । आइतेका सबै कुरामा उनलाई विश्वास भयो । हातमा लगाएको सुनको औँठी औँलाबाट खोलेर कसैले नदेख्ने गरी थैलीमा राखिन् । लाग्छ दिनको घटनालाई भुल्न र बिर्सन खोज्दैछिन् उनी ।

‘जमदार’, ‘मीन’ र ‘लाल’, यी तीन शब्दका अगाडिका अक्षरबाट ‘जमिला’ नाउँ राखिएकी जमिला गाउँका मुखियाकी जेठी छोरी हुन् । उनका बाबुले मुखियाको पद बाजे सिमलालको मृत्युपछि पाएका हुन् । उनले मुखियाको पद जिल्लाको सदरमुकाम तानसेनमा रहेको मालअड्डाबाट पाएका हुन् । मुखिया अर्थात् गाउँका मुख्य मान्छे । उनका मुनि पटवारी वा लेखनदास हुन्छन् भने सेवा गर्ने परिचरहरू पनि हुन्छन् । मुखियाको घर भनेको गाउँस्तरीय प्रशासकीय निकाय हो । उनको भनाइ, अनुरोध र आदेशलाई गाउँवासीले मान्नुपर्छ भने बेठबेगारी वर्षवर्ष नै गाउँलेहरूले उनलाई बुझाउनुपर्छ । मुखियालाई तोकिएको क्षेत्रभित्रको जमिनको पोत असुल गर्ने अधिकार पनि हुन्छ । गाउँमा पर्ने साना वा ठूला झगडाले पनि उनकै आँगनमा आएर न्याय पाउँछ । यस दृष्टिले हेर्दा गाउँका मुखिया भनेका साँच्चिकै गाउँका मुख्य मान्छे नै हुन् । आमा आँगनमा निस्किँदा जमिलालाई देख्छिन् र देख्नेबित्तिकै खुसी व्यक्त गर्दै भन्छिन् – “ज्वाइँ आउने कुरा त थाहा भयो होला नि, होइन तँलाई ?”

फेरि उनी छोरीलाई पूरक प्रश्न गर्छिन् – “किन घाँसबाट आउन ढिलो भएको ? दिउँसै खाजा खान आइपुग्नुपर्ने, किन ढिलो

गरेकी ?” आमाको प्रश्नको उत्तर जमिलाले दिन नपाउँदै एम. सी. मीनलाल आँगनमा उक्लन्छन् र छोरीलाई देखेर सोध्छन् – “किन ढिलो आयौ छोरी आज ? ज्वाइँ आउँछन् यहाँ भोलि तिमीलाई लिन ।”

खुसी व्यक्त गर्दै उनी फेरि भन्छन् – “ज्वाइँ म सरहकै जमदार भइसकेछन् । तिमी भाग्यमानी छ्यौ छोरी Û पछि त ज्वाइँ बटालियन कमान्डर हुन बेर छैन । यो तिम्रो भाग्य र हाम्रो इज्जतको कुरा हो ।”

बाबु र आमाको खुसीसँग खुसी मिलाउन उनले पनि भनिहालिन् – “सुनेँ । उनी ठूलै दर्जामा पुगेछन् । यो सबै बाआमाको आशीर्वाद हो ।”

“दिउँसै आइपुग्न आइतेलाई खबर पठाएको छु । गाउँभरिका आफन्तलाई पनि बोलाएको छु । साँझ झाम्रे गीत गाउने ठिटाठिटीहरूलाई पनि खबर गरेेको छु । तिम्रा पाउनापाछालाई तिमीले हेर्नू, मेराहरूलाई म रेखदेख गर्छु ।” – एम. सी. मीनलाल छोरीलाई विवरण सुनाउँदै घरभित्र पस्छन् । जमिला आफू सुत्ने गरेको कोठामा पुग्छिन् । कोठाको पनि हुलिया बदलिएको छ । सबै नयाँ देख्छिन् । तन्ना, सिरानीको खोल र बर्को पनि नयाँ नै सजाइएको छ । सिरानीमा सानो टा्रन्जिस्टर रेडियो र घडी पनि राखिएको छ । उनलाई आˆनो कोठा नै नौलो लाग्यो । यी सबै देखेर पनि उनको मन रमाउन सकेको छैन । मात्र उनको सोच छ भोलि सोह्रखुट्टे कसरी पुग्ने Û रातभरि निद्रा लाग्दैन ।

बिहानको कुखुराको पहिलो डाकमै उनले कोठा छोड्ने निर्णय गरिन् । तल बिस्तारै कसैले चाल नपाउने गरी उनी अगेनाको छेउमा झरिन् । उनले हिम्मतका साथ मूलढोका खोलिन् र बिस्तारै ढोका ढप्क्याइन् । त्यसपछि उनी पिँढीमा ओछ्याइएको गुन्द्रीमा गएर टुसुक्क बसिन् र केही सोच्न थालिन् । सुनसान छ । सबै सुतेका छन् तर जमिलाको मन भने सोह्रखुट्टेको वरिपरि गएर घुमिरहेको छ । उज्यालोको हिसाब मिलाउँदै केही बेर पिँढीमा, केही बेर आँगनमा त केही बेर घरवरपरको बाटोमा अलमलिँदै उनी गाउँमुनिको चौतारामा पुगिन् । कुखुराको अन्तिम डाक सुन्नेबित्तिकै उनी बिस्तारै सोह्रखुट्टेतर्फ लागिन् ।

जमिला गन्तव्यमा आइपुगिन् । अर्को गन्तव्यको उनमा कुनै सोच छैन र निर्णय पनि छैन । कहाँ जाने ? कति दिनका लागि

जाने ? किन जाने ? त्यो पनि उनको भित्री मनले अठोट गरिसकेको छैन । उनलाई यति मात्र थाहा थियो उनलाई कुनै पनि तरिकाले बिहानै सोह्रखुट्टे पुग्नुछ, पुगिन् पनि । उज्यालो भरखर फुट्न थालेको छ । चराहरूको चिरबिराहट सुरु भइसकेको छ । मन्दमन्द हावाले शीतलता प्रदान गरे पनि जमिलाको मन भने भयग्रस्त छ । छेउमै गएर उनी सोह्रखुट्टेको वरिपरि घुमिन् । तल र माथि सबैतर्फ हेरिन् उनले तर कोही देखिनन् । उनको मन खिन्न भयो चिन्ताले, त्रास उर्लियो एकान्तले र शरीर नै ओइलायो एक्लोपनले । अब के गर्ने भन्ने निर्णय लिन सक्ने क्षमता पनि उनमा हराउँदै गयो । उनी एउटा थामको आडमा गएर थुचुक्क बसिन् । यता र उता, तल र माथि, वन र डाँडाको बाटो हेरेर बसेको लामो समय भइसकेपछि टाढाबाट ट्रान्जिस्टर रेडियोबाट मधुर गीतको धुन सुुनिन थाल्यो । प्रकृतिको सन्नाटालाई चिर्दै कताकताबाट आएको सङ्गीतको धुनले उनको मनमा आशा उर्लिन थाल्यो । उनी आए कि भन्ने आभास भयो जमिलालाई । जुरुक्क उठेर गुन्यूँ र बर्को समाइन् उनले । साँच्चिकै उनी आएका रहेछन् । उनको खुसी उम्लिएर आँखा रसायो । उनी पनि जमिलालाई देखेर खुसी भए ।

दुवै लम्किए एक-आपसमा नजिकिन । जमिलाका आँखाभरि आँसु देखेर उनलाई पनि घात भयो, देख्नेबित्तिकै आँखा रसायो । झोला र ट्रान्जिस्टर भुइँमा थपक्क राखेर उनले दुवै हात फैलाए । त्यही अँगालोमा बेरिन पुगिन् जमिला । उनको छातीमा टाँसिन पुगिन् र टाउको बिसाएर घुँक्कघुँक्क रुन थालिन् । जमिलाको यो खुसीको रुवाइमा साथ दिँदै उनको पनि हिक्का छुट्न थाल्यो । दुवै एक-अर्कासँग बोल्न सकेका छैनन् । आलिङ्गनमै उनीहरूबीच वार्ता सञ्चारित भइरहेको छ – एकले भन्नुपर्ने भनेजस्तो र अर्काले बुझ्नुपर्ने बुझेजस्तो । दुवैको मुटुको धड्कन एकबाट विस्थापित हुँदै अर्कोमा प्रवेश गरेको र एकैमा समाहित भएको हुँदा आलिङ्गनबाट छुट्टिन सकेनन् । भिनालाई बोलाउन आएको आइतेले सोह्रखुट्टेको छेउमा दिदी-भिनालाई आलिङ्गनमा बाँधिएको देखे । तीनछक्क पर्दै उनले टाढैबाट त्यो दृश्य नियालिरहे । आइतेले सोच्न सकेनन् यो के हो र किन यस्तो भयो Û राति घरमा सुतेकी दिदी कसरी यहाँ आइपुगिन् Û उनको प्रश्नको जवाफ नपाउँदै आइतेको र भिनाको आँखा जुध्यो । जमिलालाई अँगालोबाट भिनाले छाडिदिए । भिनाको नजिक गएर आइतेले ‘भिनालाई लिन आएको’ कुरा बताए । साथसाथै उनले दिदीलाई सोधे – “कसरी यहाँ आएकी दिदी ?”

भिना र दिदी दुवै आइतेलाई देखेर झस्किएका हुँदा उनीहरू दुवैको बोली बन्द भएको छ । दुवै केही बोल्दैनन् । दुवैले चिने दुवैलाई । चुप रहनुबाहेक अरू केही उपाय थिएन, त्यसैले चुप रहे । दुवै अपराधबोधले थिचिएकाले पनि बोल्न र हाँस्न सकिरहेका छैनन् । आइते पनि चुपचाप दुवै दिदी-भिनालाई नियालिरहन्छन् । केही बेरपछि उनी दुवै दिदी-भिनालाई भन्छन्- जाऊँ, बडाबा कुरेर बस्नुभएको छ ।”

Rashi Pande – Singthaji

रासी पाण्डे – सिङ्गथाजी

अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएर राखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे ।
मिङमरले होटलमा चासो लिन छाडिसकेको थियो । ऊ दिनभरि रक्सीमा टिल्ल रहन्थ्यो । अनि साँझ पर्नासाथ गायब । दोर्जेकी स्वास्नीसँग लहसिएको, उससँग पल्केको अनि जारी तिरेर भए पनि नल्याई नछाड्ने निधो गरेको कुरा नीमाले कताकता सुइँको पाएकी थिई । लोग्नेलाई फकाउने, रिझाउने हर उपाय गर्दा पनि उसको बानीबेहोरामा खास सुधार हुन सकेको थिएन । दिउँसोदेखि नै नीमाको पारा तातेको थियो । डोल्माले एक डोको कुरा सुनाएर गएकी थिई । जब मिङमर ढुनमुनाउँदै मध्यरातमा आइपुग्यो । नीमा फत्फताउन लागी । ख्यारख्यारती पार्न लागी । पहिले त मिङमरले लजमा बसेका मानिसहरूको ख्याल राखेर चुपचाप लागेर सुत्ने निहुँ गरिरह्यो । तर जब नीमा ज्यादै कराउन लागी मिङमर पनि बम्कियो । दुवै चर्काचर्की गर्न लागे । झगडाको विसर्जन मारपिटबाट भयो । नीमाले भक्कु पिटाइ खाएर ।
मनमा उठेका पिर र पिटाइको पीडाले नीमा सुक्कसुक्क गरी रुन थाली । धेरै बेरपछि उसको रुवाइ शान्त भयो । मिङमर चुल्होनिर त्यसै लम्पसार परेको रहेछ – केही न ओढी । नीमाको मनको एक कुनामा माया उब्ज्यो । काम्लो ओढाइ दिऊँ कि ? तर त्यस्तो बेइमानलाई केको माया ? नीमा खाटमा पल्टी र चुरोट सल्काई । धुवाँ सँगसँगै उसका विगत सल्बलाउन लागे …
रेन्जनको घ्यावामा नीमा तिनतिन रातसम्म नाँचेकी थिई, गाएकी थिई । गाउँभरिका आफन्तहरू, उमेर पुगेका युवाहरू, युवतीहरू साँझ पर्नु अगाडि नै जम्मा भएका थिए घ्यावा हुने थलामा, सजिसजाउ भएर, झकिझकाउ भएर । नीमा पनि नयाँ आङदुङ, स्यार्मा, तोर्मा लगाएर भुटिल, ग्यान्जेन, सीतुप, झरू आदि गहनाले सिँगारिएकी थिई । मिङमरले पनि त्यस दिन लय हालीहाली गीत गाएको थियो । नक्कल पारी पारी नाचेको थियो । फुरू भरिभरि रक्सी पिउँदै –
“ से ऽ ऽ.ला ऽ ऽ.ना ङ ऽ ऽ. याला सी
काङ ऽ ऽऽ ऽ. दि ऽ ऽ. दारसिंग कमो
सून ल्याई के जे ज्याल कोरा ल्यास् ………!”

एउटै गाउँ, एउटै ठाउँका भएर पनि, बाल्यकालदेखि सँगै हुर्के बढेर पनि नीमाले मिङमरलाई चिन्न सकेकी रहिनछ । उसको भित्री मन छाम्न सकेकी रहिनछ । त्यो दिन मिङमर नीमालाई अति मन परेको थियो । दुवै जना हातमा हात जोरेर रातभरि नाँचेका थिए ।
फुलोभरि रक्सी, लामो अरमठिएको सिङ् गरेको च्याङ्ग्रा, नाङ्लाभरि सेल रोटी लिएर स्यालकर गर्न आएका थिए मिङमरका इष्टहरू, उसका आफन्तहरू, मिङमरका लागि नीमालाई माग्न । विवाहको प्रस्ताव लिएर । तर नीमाको बाउले स्यालकर स्विकारेन । मान्दै मानेन, त्यो जाबो झुत्रेलाई आफ्नी छोरी दिन्न । सुम्देनमा अझ बढी रकम र गहना गुरिया दिन्छौँ भन्दा पनि नीमाको बाउ टसमस भएन । स्यालकर फिर्ता लगियो । बिहा पक्का हुन सकेन । नीमा गोठमा थिई, पछि थाहा पाई । घरमै भएकी भए पनि के नै गर्न सक्दथी र ? मन त्यसै ओइलायो ।
उनीहरूको संस्कृति अनुसार नीमामाथि विवाहको पहिलो हक फुपूको छोरा पासाङको नै लाग्दथ्यो । बाबुआमाले पनि पासाङसँग नीमाको विवाह गरिदिने निश्चय गरेका थिए । पासाङ धनी थियो । चालिस चालिसवटा चौंरीहरू थिए । थुप्रै भेँडा च्याङ्ग्राहरू । ठुलो, कमाइ गर्न नसक्नुको खेतबारी । वास्तवमा ऊ गाउँको ‘बरू’ नै थियो । थुप्रै मुङ्गाहरू, सुनका बुटिल, तर्वेन, चाँदीका गेन्जेन थिए उसको घरमा भरिपूर्ण । पासाङ पनि उसलाई औधी मन पराउँथ्यो । नीमा बाहेक अरूसँग बिहे गर्दिनँ भन्ने अठोट गरेको थियो । खै तर यो मनको केही ठेगानै नहुने ?
नीमा घरधन्दा सघाउँथी, दाउरा, स्याउला ल्याउँथी । याक, चौंरी चराउँथी । कोदाको बारीभरि । भिर, गराहरूमा याक, नाक, चौंरीहरू चरेको हेर्न उसलाई निक्कै मजा लाग्दथ्यो । लामालामा तिखा सिङ गरेका झ््यापुल्ले काला सेता रौं भएका निरीह पशु उसको एक सुसेलीमा हर्रर जम्मा हुन्थे । नीमा तिनीहरूको आङ सुमसुम््याउँथी । माया गर्दथी । जस्तै जक्खू, जङ्गली याक पनि उसको सामु आएर पाल्तु बन्दथ्यो । सुधो बन्दथ्यो । हिउँदमा कोदो काटिसकेपछि चौंरीगोठ तल बेंसीमा सारिन्थे । गर्मी बढ्दै जाँदा गोठहरू पनि माथि लेकका खर्कहरूमा लगिन्थे । निगालाको चित्राले छाप्रो हालेर, एउटा भोटे कुकुर साथी बनाएर अलिकति मकैको पिठो अलिकति आलु, अलिकति खर्पेसासँग रक्सी र भलु, जीवन गोसाइँकुन्ड जस्तै शान्त र सुन्दर थियो । जीवन गुराँसको फूलजस्तै ताजा र स्निग्ध थियो ।
नीमा निहँु पारी पारी मिङमरलाई भेट्न जान्थी, जङ्गलमा । गोठमा । उनीहरू सँगै बाँच्ने, सँगै मर्ने कसम खान्थे । रन, बन घन्काएर गीत गाउँथे –
“मो ले ने जाना सत् जाना
एन्जेन सेम्युजाम् ब्रोले यारके काङदाना !”
लोसार नजिक नजिक आइरहेको थियो । बारीमा उब्जेको कोदाको नीगु, रक्सी बनाइन्थ्यो । चामलको घिङ, गहँुको बाइकेङ, अलुम, लट्टेको बिउबाट मेन्दो घरघरै पकाइन्थ्यो । नयाँ नयाँ लुगाफाटा । मिठो मिठो खाना । रक्सी । नीगु । भलु । नाँचगान । पूजापाठ । लोसारको विशेषता थियो । रातो, सेतो, हरियो, पहेँलो, चौपाटे कपडाहरूको झन्डा बनाएर घरघरमा फहराइन्थ्यो । ‘ओम मणि पद्मे हँु’ को मन्त्र लेखिएको धर्बुजेले वातावरणलाई नै मुग्ध बनाउँथ्यो । पाङलिङ१ ले छाएको घरको छानामाथि चढेर घरमूलीहरू करूको पिठो र रक्सी हावामा उडाउँदै “है केलो, है केलो” गर्दै एकअर्काको गालामा पनि दल्ने गर्दथे । सातसात दिनसम्म खुब रमाइलो हुन्थ्यो । नीमा लुकीलुकी मिङमरलाई सेल रोटी खुवाउँथी । थपीथपी रक्सी खुवाएर टिल्ल पार्दथी । करूको पिठो लगाई दिने निहुँले ऊ मिङमरको गालामा चिमोटिदिन्थी । दिनहरू कत्ति सुखद थिए ? कत्ति रमाइला ?
बाउले गाइँगुइँ थाहा पाएछ क्यार ? नीमालाई एक्लैएक्लै टाढा टाढा जान दिन्नथ्यो । नीमा भाग्छे कि ? उसलाई भगाउँछन् कि ? चोरेर पो यो लाबे ब्या गर्ने हुन् कि ? डर थियो नीमाको बाउलाई ।
हुन त आफूले मन पराएको केटा रोजेर जानु वा मन परेकी केटीलाई बलजफ्ती उठाएर लैजानु कुनै नौलो कुरा थिएन । चलेकै चलन थियो, तर नीमा बाबुआमाको चित्त दुखाएर भाग्न चाहन्नथी । तर केही गर्दा पनि सिप लागेन । अनि नीमा मकै पिस्ने निहुँले घट्ट जान निस्किई । मिङमर र उसका साथीहरू नीमालाई पर्खेर बसेका थिए । उसलाई एउटाले पाखुरामा समातेर काँधमा बोक्यो । अर्काले दुवै खुट्टा अँठ्यायो । देखावटीका लागि नीमा रोई, चिच्याई । सँगै आएकी बहिनी घरतिर फर्की ।
धेरै खोजे नीमाका आमाबाउले । टाढाटाढासम्म मानिस पठाए । नीमा मिङमरको भिनाजुको घरमा लुकेर बसेकी थिई स्याङगुम्बामा । पत्तो लगाउन सकेनन् । केही दिनपछि रीति अनुसार मिङमरले ससुरालीमा स्यालकर२ पठाएको थियो । लाचार भएर उनीहरूले स्विकार्नै प¥यो । त्यसपछि उनीहरूको विवाह विधिपूर्वक भएको थियो ।
मिङमर त्यति सम्पन्न थिएन । खेतबारी थोरै थियो । याक, चौंरी थिएनन् गाईहरू मात्र थिए । नीमा बिहानभरि डोकामा सिस्नाको कलिला मुन्टा र पात बटुल्थी चिम्टाले च्यापीच्यापी । ताउलोभरि सिस्नो उमालेर त्यसमा एक, दुई मुठी मकैको पिठो घोलेर ढिँडो बनाउँथी । घरमा गरिबी थियो, तर सन्तुष्ट थिई । नीमा त्रिशूलीमा भोटेकोसी मिसिएझैँ मिङमरको जीवनमा विलीन हुन पुगेकी थिई । समाहित भएकी थिई ।
बस्ती झाँगिदै थियो । बाटोघाटो, नयाँ नयाँ मानिसहरू, विदेशी पर्यटकहरू थपिँदा थिए । नीमाले पनि एउटा पसल राख्ने जोहो गरी । बुबाआमा, इष्टमित्र, सरसापट । गोसाइँकुण्डमा लाग्ने जनैपुर्णेको जात्रामा खानाको पसल राखियो । हजारांै सङ्ख्यामा आउने यात्रुहरू, धामीझाँक्री, श्रद्धालु भक्तजन अनि रमितेहरूको लस्कर । साउनको मुसलधारे पानी । चिप्लो साँघुरो बाटो । ठाडो उकालो । पातलो हावा । साढे बाह् हजार फिटको उँचाइ ……
नीमा पाटीभन्दा केही माथिको डाँडामा बसेर गोसाइँकुण्डलाई नियाल्दथी । उत्तरपूर्वको अग्लो सेतो हिमच्छादित चुचुरोको छायाँ पानीमा परेर भव्य दृश्य उत्पन्न गर्दथ्यो । कुण्डको पानीमा छाल उठेर बनेका विभिन्न आकृतिहरूबिच ऊ नीलकण्ठ महादेवलाई खोज्दथी, नागकुण्डको निलो पानीतिर उसका आँखा टिक्न सक्दैनथे । कहाली लाग्दथ्यो । डर लाग्दथ्यो । त्यहाँ अजङ्गको नाग रहेको जनविश्वासले ऊ झन् त्रस्त हुन्थी ।
नीमा लौरीविनायकको जङ्गलबाट दाउरा ल्याउँथी । तल कुण्डबाट पानी, चिया, बिस्कुट, खाना । चार पाँच दिनको जात्रामा राम्रै बिक्री भयो । राम्रो आम्दानी भयो । उसको हौसला बढ्यो । ऊ प्रोत्साहित भई, अरूले जस्तै उसले पनि एउटा स्थायी होटल चलाउने विचार गरी ।
होटलको लागि ठुलो घर बनाउने पुँजी थिएन । नजिकैको जङ्गलबाट लडेपडेका लाठाहरू ल्याएर मान्द्रो, प्लास्टिकले छाएर, एउटा छाप्रो उभ्याइछाडी, गोसाइँकुण्डबाट लाङटाङ जाने बाटाको दोसाँधमा । चिया, बिस्कुट, चाउचाउ, खाना र चार, पाँच जना सुत्न हुने निगालाको मचान । चल्यो होटल मजैले । कहिले विदेशी टुरिस्टहरू आउँथे, कहिले नेपाली कर्मचारीहरू । विदेशीसँगको व्यवहार उसलाई निक्कै मन पर्दथ्यो । टिबटन ब्रेड … चाउचाउ … एग । मसरुम सुप … पोट््याटो … वन … टु … फाइव । नीमा केही अङग्रेजी पनि बोलन लागेकी थिई ।
“मिठा, राम्रो, नमस्ते” पैसाको खिचलो छैन । जस्तो दियो उस्तै खाने यी विदेशी पर्यटकहरू ज्यादै मन पर्दथे नीमालाई । ऊ सधैँ सधैँ विदेशीहरू नै आइदिऊन् भन्ने चाहना राख्दथी ।
नीमाको होटल चलेकामा इखाउने धेरै थिए । रिस गर्नेहरूको सह पाएर पैसालोलुप कर्मचारीहरू केही झार्न पाइन्छ कि भन्ने दाउमा थिए –
– कसको अनुमतिले यो होटल खोलेको ?
– सरकारी जग्गामा यसरी होटल राख्न पाइन्छ ?
– हटा, यो होटल ।
– भत्काइदिन्छौँ यो होटल ।
मिङमर केही बोल्न सक्दैनथ्यो । ऊ लुकेर बस्दथ्यो । नीमाले नै सामना गर्नुपर्दथ्यो तिनीहरूको हप्की र दप्कीको । नीमा बिलौना गर्दथी । दुःखपुकारा गर्दथी । कुखुरा काट्दथी । रक्सी खुवाउँदथी । कर्मचारीरूलाई थामथुम पार्दथी ।
अनि एउटा पहिरो गयो नीमाको आत्मामा । उसको स्त्रीत्वमा । मिङमर पसलको सामान किन्न धुन्चे गएको थियो । नीमा एक्लै थिई । लजमा बस्न कोही टुरिस्ट पनि आएका थिएनन् । ऊ प्रतीक्षारत थिई । कोही आउँछन् कि ? साँझको झिसमिसे सुरु भैसकेको थियो । चुल्हामा दनदनी आगो बालेर ऊ मनमा अनेक थरीका कुरा गुनिरहेकी थिई । बुट बजार्दै तिन जना आइपुगे ।
“ए नाना चब मुवा ?”
“मुवा” नीमालाई आफ्नो भाषामा कुरा गरिदिएको निक्कै मन परेको थियो । ऊ खुसी भएकी थिई । “खाना पनि छ । बास पनि छ” ऊ पनि मस्किइएकी थिई ।
चुल्होमा दन्किएको आगो ताप्दै, चौंरीको घिउमा भुटेको तातो रक्सी पिउँदै उनीहरू अश्लील, अश्लील कुरा गर्न लागेका थिए । मिङमर अझै आइपुगेको थिएन । घरबाट पनि कोही साथी बस्न आइपुगेका थिएनन् । कताकता नीमालाई डर पनि लागेको थियो । ऊ सशङ्कित भएकी थिई । खाना खाएर उनीहरू सुते । नीमा पनि भकारीले दैलो ढप्काएर सुती आँसीलाई छेउमै राखेर ।
कसैको घिनलाग्दो हात नीमाको आँगमा सगबगाइरहेको चाल पाएर अचानक उसको निद्रा टुट्यो । ऊ सचेत हुनुअगावै दुवै बलिष्ट हातले उसलाई विवश पारिसकेको थियो । नीमाले आफूलाई छुटाउने, आफूलाई बचाउने अनेकौँ प्रयास गरी, तर तिन तिन जना मर्दको सामु उसको केही जोर चलेन । उसलाई क्षत्तविक्षत पारियो । उसको शरीरमा तातो भाला रोपियो, ऊ छिद्र छिद्र भएकी थिई । विदीर्ण विदीर्ण । पालै पालो घाइते तुल्याएर पापीहरू एकाबिहानै अलप भएका थिए ।
आफ्नो घाउ कसलाई देखाउने ? कोसँग पोख्ने ? न्याय कसले दिन्छ ? नीमाले पिर चुपचाप लागेर पिएकी थिई ।
होटलमा बस्दा एउटा नजानिँदो त्रासले घेरिरहन्थ्यो नीमालाई । ऊ बास बस्न आउने प्रत्येक मानिसलाई बलात्कारीको रूपमा हेर्न लागेकी थिई । कुनै रात एक्लै बस्नुपर्दा ऊ सासूलाई बोलाउँथी । ससुरालाई बोलाउँथी । तर पनि उसको सुरक्षाको अभिभारा बोक्न सक्ने सामथ्र्य उनीहरूमा छ जस्तो उसलाई लाग्दैनथ्यो । होटल छाडेर अर्कै व्यवसाय गर्ने, अर्कै ठाउँमा जाने भनेर ऊ बारम्बार मिङमरलाई भन्दथी । त्यत्ति राम्रो चलेको होटल ऊ छोड्न चाहन्नथ्यो । मिङमरलाई पैसाको चस्को पसिसकेको थियो । ऊ हरतरहले पैसा कमाउने, धन थुपार्ने जुक्ति मात्र गर्दथ्यो । बिहा भएको निकै वर्ष भैसक्दा पनि उसको गर्भ रहन सकेको थिएन ।
मिङमर केही टाढा टाढा हुँदै गइरहेको थियो । रक्सी पिएर ऊ बिहा हुनुभन्दा अघिको कुरा झिक्थ्यो । नीमाको बाउलाई गाली गर्दथ्यो । स्वेच्छाले बिहा नगरिदिएकोमा । अनि ऊ धक्कु लगाउँथ्यो । तेरो बाउसँगभन्दा बढी पैसा छ । तँ बैला होस् अर्की स्वास्नी ल्याउँछु ।
नीमा खिन्न हुन्थी, दिक्क हुन्थी । कार्सिकै चोङमाको बेला ध्याङमा गई न्यूगेन बसेर आफ्नो कुल देउता च्याङग्रीसँग प्रेम सफल होस्, लोग्नेको रूपमा मिङमरलाई पाउँ भनी व्रत लिएको कुरा सम्झन्थी । अनि रोएर आफ्नो मनको बह पखाल्ने गर्दथी । बिस्तारै बिस्तारै उसले अनेक कुरा सुन्न लागेकी थिई । जसको परिणाम आजको यो झगडा थियो ।
कुकुरको भुकाइले नीमाको तन्द्रा भङ्ग भयो । बँदेल आएछ क्यार ? ऊ चाल मारेर सुन्न लागी । औडाहा चलिरह्यो । निद्रा आएन । छट्पट छट्पट भइरह्यो । पर भाले बास्यो । बिहान हुन लागेछ ! ऊ उठी र घरधन्दामा लागी ।
धेरै प्रयास गर्दा पनि उनीहरूमा मेल हुन सकेन । फाटो झन् झन् बढ्दै गयो । मिङमरप्रतिको आस्था, विश्वास सबै धमिराले खाएको खामोजस्तो लाग्यो नीमालाई । एकोहोरो माया के लगाएर बस्नू ? मिङमर दोस्रो बिहा गर्न चाहन्छ भने गरोस् । म बाधा हुत्र । मेरा लागि पनि बाटाहरू होलान् ? नीमा माइत आएर बसी ।
गाउँका थुप्रै केटाहरूले नीमासँग बिहा गर्ने प्रस्ताव राखे । तर अर्को बिहा गर्ने इच्छा नीमामा कहिल्यै पलाएन । दोस्रो बिहा गर्ने कल्पना नै आएन ।
मिङमर उसलाई बोलाउन एक दुई पटक आयो, तर नीमा जान मानिन । एकपटक फाटेको मन जोडिँदै जोडिएन । एकपटक टुट्यो, टुटी नै रह्यो सदाका लागी ।
नीमा माइती बसेकोमा मिङमर नाना थरीका लाञ्छना लगाउँथ्यो । भए नभएको अभियोग लगाउँथ्यो । त्यो वलात्कारको घटनालाई ऊ मानिसहरूलाई सुनाइहिँड्थ्यो । नीमा झन् झन् मर्माहत हुँदै गई । भाग्यले नै छकाएपछि के गर्ने ? नीमा चुपचाप लागेर सहन्थी । कुनै विरोध गरिन ।
अन्तमा मिङमरले नीमालाई त्यागेर अर्की ल्याउने कुरा चलायो । पञ्चायत बोलायो । गाउँभरिका पञ्च, भद्र भलाद्मी, लामा झाँक्री सबै जम्मा भए । छोडपत्र नै गरिने भयो । मिलोमतो हुन सकेन । एउटा नेपाली कागत मगाइयो । छोडपत्रको मस्यौदा लेखेर दुवैले आआफ्नो औँठाको छाप लगाए । परम्परा अनुसार अलिकति काँचो धागो ल्याइयो । ती दुवैले धागाको दुई टुप्पा समाए । मुखियाले धागो बिचबाट काटिदिए । चलन अनुसार ती दुई विपरीत दिशातर्फ लागे । सिङ्गथाजी३ भयो । कानुनी र सामाजिक रीति अनुसार उनीहरूको सम्बन्ध विच्छेद भयो । दाम्पत्य जीवनको अन्त भयो । पतिपत्नीको नाता रहेन । पारपाचुके भयो । त्यसपछि नीमालाई एकक्षण पनि पन्चैतीमा बस्न मन लागेन । मन कस्तो कस्तो भारी भारी । रूँ, रूँ.जस्तो । ऊ सरासरी कोठामा पसी र घोप्टो परेर रुन लागी ।
धेरै बेरको रुवाइपछि नीमाको मन हलुँङ्गो भयो । ऊ उठी मुख, हात धुन । बाहिर उसको बुबासँग एउटा नौलो मानिस निकै घुलमिल भएर कुरा गरिरहेको थियो । नीमालाई चिनेचिने जस्तो लाग्यो । को होला ? ऊ केही नजिकै गई । पासाङ रहेछ । बौद्धमा खोलिएका आफ्नो कारखानाको लागि केरुङबाट उन लिन आजै काठमाडौँबाट आएको ।
जब नीमा केही नजिकै पुगी, पासाङले उसतिर फर्कदै भन्यो– नाना, मैले सबै थाहा पाएँ । अब तिमी नाइँ भन्न पाउन्नौ, मैसँग जानुपर्दछ । मैले अझै बिहा गरेको छुइनँ ।
अचानक नीमालाई सारा संसार सिन्दूरी भएजस्तो लाग्यो । त्रिशूली गङ्गा हाँसेजस्तो गोसाइँकुण्ड मुस्कुराएजस्तो । प्रकृति नै आनन्दातिरेकमा उन्मत्त भएजस्तो । पर…. लाङटाङको चुचुरामा सूर्यास्तको किरणले चुम्बन ग¥यो । नीमा लाजले भुतुक्क भई । उसका गाला राता भए …..

(“समयको घाउ” गरिमा, वर्ष ६, अङ्क ७, पूर्णाङ्क ६७, असार २०४५)
.

शब्दार्थः
१. सल्लाको फलेक, २.सौगात, ३.छोडपत्र

(Sent to Sanjaal Corps via Email)

Taranath Sharma – Paris Ki Pokchi

ताना शर्मा – प्यारिसकी पोक्ची (बेलाइततिर बरालिंदा)

प्यारिस टेकेको तीन घण्टापछि सेन नदीको सौन्दर्यमा आफूलाई सम्पूर्ण रुपले हराएर रु दु पोएँ नेफ्को साँघुमाथि म उभिएको थिएँ। उत्ताउला न उत्ताउला रङ्ले ठाँटिएर कुर्सी भरिभरि बसेर कराइरहेका र रक्सीले टुन्न भइरहेका असङ्ख्य पर्यटकहरुलाई जिउभरि स्याउँ-स्याउँती सलबल्याउँदै ललामा यन्त्रचालित नाउहरु ममुनिबाट ओहोर-दोहोर गरिरहेका थिए। अल्छी पाराले म असंख्य मोटरहरु दगुरेको कुरालाई ध्यानै नदिएर पेटीपेटी उत्तर फर्किंदै गएँ। अकस्मात् मेरो देब्रेपट्टिका घरको कुनामा ‘के दु लुभ्र’ (Quai du Louver) लेखेको हेर्न मेरा आँकाहरु पुगेछन्। ‘लुभ्र’ भन्ने शब्द कता कता परिचित-परिचित जस्तो, प्रख्यात-प्रख्यात जस्तो, चिनेको-चिनेको जस्तो लाग्यो। मेरा खुट्टाहरु त्यतै बाङ्गिए।

म हिंड्दै गएँ, पेटीपेटी हिंड्दै गएँ। मोटरहरु मुटु थर्काउँदै दुगुरिरहे, दुगुरिरहे। निकै हिंडेपछि मेरो दाहिने हाततिर एमानको पुरानो घर देखा पर्यो जसका भित्तामा रिङगै तेर्सा र ठाडा फलामका घोचाहरु मरम्मत गर्ने मचानको रुपमा (Scaffolding) बाँधिएका थिए। पेटी ठाउँ-ठाउँमा भत्केको थियो र एक्कासि दुइटी अमेरिकाली केटीहरु उभिएर मच्ची-मच्ची बात मारिरहेका भेटिए।

अग्ली चाहिंले भनि, ‘लुभ्र दरबार यही त हो नि!’

अर्कीले थपी, ‘यतैबाट भित्र पसे पनि हुन्छ।’

सस्यानो फाटकबाट अनि म त्यस विशाल पाले दु लुभ्र (Palais du Louver) भित्र पसें।

भित्र विस्तृत चोक रहेछ र घुइँचो घुइँचो मान्छेहरु सलबलाइरहेका रहेछन्। एक फ्र्याङ्क तिरेर भित्र पसें। निर्देशनपत्र किन्ने सुद्दी नै रहेन। धेरै वर्ष फ्रान्स बस्ने हाम्रा प्रसिद्ध चित्रकार-साहित्यकार लैनसिंह बांगदेलको एउटा लेखको सम्झना गर्दै बौलाहा जस्तो खुड्किलाहरु चढ्दै जाँदा लुभ्रको एउटो कारिन्दो उभिइरहेको भेटें र हातले सोधें, ‘मोना लिजा?’

फ्रान्सेलीमा कुन्नि के जवाफ दिंदै उसले माथिल्लो तलातिर देखाएकाले त्यतै लागें।

भित्ताभरिभरिका फ्रेम लागेका रंगीन चित्रहरु अहिले नै बोलिहाल्लान् कि जस्तो लागेर मलाई हेरिरहेका थिए। नाङ्गा आइमाईहरु मन लोभ्याइरहेका थिए र भर्खरका फ्रान्सेली, स्पेनियाँ र अमेरिकाली ठिटीहरु सगरमाथा र मकालु तेर्स्याएर मलाई सशरीर ठेल्दै आफूतिर तानिरहेका थिए। तिनीहरुको न्यानो घोचाइमा चेप्टिए पनि धेरै धेरै बेरसम्म मेरा आँखा ती रनेसँस् कालका फोटो जस्तै चित्रहरुमा टाँसिइ नै रहे। तर कसो कसो म चेप्टिंदै गएछु र थाहै नपाई कोठाहरु छिचोलिंदै गएछन्।

हठात् मेरो अगाडि कोठाको सामुन्ने भित्ताको बीचमा हरियो अगाडि बढेको भित्तो खडा गरेर अति नै महत्व दिइएको एउटा सस्यानो पोक्ची आइमाईको चित्र केन्द्रभागमा मलाई नै पर्खेर बसिरहेकी आइपर्यो। त्यसका ओरिपरि मान्छेहरुको थुप्रो थुप्रो घुइँचो थियो।

एउटा पहेंलो सारी लाउने पच्चीस वर्षे तरुनी कम्मर नांगै पारेर कामुक कामुक बीच बेन्चमा बसेर त्यस पोक्चीतिर टोह्लाइरहेकी थिई। छातीमा सुन्तला लुकाएका फुचीहरु नांगै तिघ्रा पारेर त्यस पोक्चीको फोटो खिचिरहेका थिए।

एउटी पातली आइपुगी मलाई भुतुक्कै पार्दै। दूबो रङ्को खाँडीको कुर्ता र पातलो खयर रङको सुर्वाल र पछ्यौरा लगाएकी, कालो केश कैलिन लागेकोलाई पछाडि चपक्क छोडेर सिल्पटमा खुट्टा र आधा पाखुराहरुमा सेतसेतो मलाई मन पर्ने रङ देकाउँदै आँखाले भनी, ‘म पनि तिमीलाई मन पराउँछु।” तैंले मलाई अगुल्टे नै ठानिस् र मन पराइस् तर आज मलाई के भयो कुन्नि म तँलाई अगुल्टेनी जान्दा जान्दै पनि मन पराइरहेछु। ऊ एक्लै भएकी भए सके म बोल्थें हुँला तर ऊ एउटी अक्कासे कुर्ता र सेतो सुर्वाल लगाउने गरुडको जस्तो नाक र ज्यादै लामो मुखको दुलो भएकी केटी र एउटा केटासित थिई। उनीहरु पश्चिमे हिन्दीमा कुरा गरिरहेका थिए तर मेरी केटी भने मलाई मात्रै घरी घरी पुलुक पुलुक हेरिरहन्थी र कुरा कम बोल्थी।

गरुड भन्दै गई ‘दश लाख फ्र्याङ्कमा बिमा गरेको थियो यसलाई अम्रिका पठाउँदा!’

मेरी केटी मैतिर हेर्दै थिई। म मुस्काएँ। ऊ लाजले भुतुक्क भइ र पछ्यौीको छेउ टोक्न थाली।

पोक्ची रिसले चूर भई, काली न काली भई। त्यसपछाडिको खोलो धमिंलिंदै गयो, दुईतिरका जङ्गलका थुप्राहरु कालाम्मे भए।

केटीको जिउँदो मासु-रङ, आइमाई गह्नाउने पसीनाले पूर्ण काखी, लचक्क मर्किने बारुले कम्मर, दारिम दाँत र पानी-आँखा मलाई बित्याँस पारिरहेका थिए अनि पोक्चीको कालो पछ्यौरा र पोटिला एक-अर्कामाथि राखिएका हातहरु त्यसै त्यसै विवश विवश भएझैं प्रतीत भए। पहेंलो सारीले खुट्टा चलमलाई। पोक्ची केही मुस्काउन लागेको हो कि जस्तो कोमल र उदास आँखा लिएर देखा परी। उसका पोक्चे गालाहरु कुन्नि केले गर्दा हो रातिंदै आएको मैले अनुभव गरें।

यत्तिकैमा फ्रान्सेली फुचीहरुले मलाई सुन्तलै सुन्तलाले चेप्ट्याए। ‘कस्तो लाजसरम पचेका यी कुइरिनीहरु!’ ईर्ष्याको पल्लो टुंगोमा पुगेर युवकको हात किच्न पुगी गरुडनीले अनि घाँसरङे कुर्ता चाहिं हाँस जस्तै नितम्ब नचाएर मेरो आँखालाई घरी घरी आह्वानको काणले हिर्काउँदै आप्नो त्रिदलीय संस्थासितै नचाहँदा नचाहँदै पनि मबाट चोइटिएर गई।

बल्ल पोक्चीका आँखा प्रेमले रसाएर आए। जति हेर्दै गएँ उति नै धमिलो र घुर्मैलो रङ्की पोक्ची उघ्रिंदै र उज्यालिंदै आई। बीच-टाउकामा सिउँदो काढेकी, देब्रे पाटोतिर केही ढल्केकी, दाहिने हात देब्रे हातमाथि राखेकी पोक्ची सबै सन्तुलन ठ्याक्क मिलेकी घाँसरङ्गे कुर्ता जस्ती कृत्रिम तरुनी होइन। ऊ ता प्राकृतिक पो रहिछे, कुनै पनि आइमाई, साधारण आइमाई त्यस पोक्ची झैं हुन सक्छे। तर त्यो उदास उदास, मुस्काउन आँटे आँटेझैं, प्रेम देखाउन खोजे-खोजेझैं, केही हराएको-हराएको वा पाएको-पाएको झैं भावनाहरु मिश्रित पोक्ची झैं कुनै पनि आइमाईलाई सधैं नै पाउनु असम्भव कुरो हो। तर पोक्ची भने सधैं त्यस्तै छे छे। एउटो कुरो मलाई लाग्यो। सो के भने हरेक लोग्नेमान्छेले त्यस पोक्चीको भावप्रकाशनमा आफ्नै प्रेमिकाको चित्र देख्छ, सधैं उत्सुक-उत्सुक, खिन्न-खिन्न, असहाय-असहाय, अगाध-अगाध, मायाँलु-मायाँलु, ईर्ष्यालु-ईर्ष्यालु, खिसीपूर्ण-खिसीपूर्ण, रिसालु-रिसालु, दयालु-दयालु!

पोक्चीको जन्म सोह्रौं शताब्दीमा भएको थियो। उसका पिता लोओनार्दो दा भिन्ची इटालीका थिए तर फ्रान्समा उनको मृत्यु भएको थियो। उनको मृत्यु वास्तवमा पोक्चीले हुनै दिएकी छैन र हुन दिन्न पनि।

पोक्चीभन्दा धेरै नै झिलिमिली लुगा र गहना लाउने अनि सेतो छाला भएका चम्किला तरुनीहरु भित्ताभरि र भुइँभरि छरिइरहेका थिए। पहेंला सारी पनि अझैं टोह्लाइ नै रहेकी थिई तर म भने हजारौं माइल तय गर्न हिंडेको यात्री थिएँ र त्यसैले हृदयमा भक्कानु सह्मालेर प्यारी पोक्चीसित बिदा माग्दै थिएँ।

‘तिम्रो फोटो त हेर्न पाइहाल्छु नि जाँ गए पनि।’ नेपाली शब्दहरु मेरा कामिरहेका ओठबाट फ्यास्स फुस्किए।

आश्चर्यको कुरो के थियो भने मेरो वाक्य भुइँमा खसि नसक्तै ऊ एक्कासि कालाम्मिंदै आई, धुम्मिंदै आई। मेरी पोक्ची रोई। मनै भरंग भएर आयो।

म कला जान्दिनँ, चिन्दिनँ। चित्रकलाबारे मरी जाउँ केही थाहा छैन तर यो मोना लिजा जो उति राम्री आइमाई हुँदै होइन किन मन परी मलाई।

जबर्जस्ती पोक्चीको दृष्यबाट आफूलाई च्यातें र फटाफट बाहिरतिर हिंडे- पहेंलो सारीले मैलाई पो हेरिरहेकी रहिछे। अरु वेला भए त्यससित म चिनाजानी गर्ने थिएँ, तर अहिले त पोक्ची देवीबाट छुट्टिंदै थिएँ, छाती चसचस बिझिरहेको थियो।

पोक्ची देवी! सारा शरीर काम्यो। फर्केर हेरें – ऊ मैतिर टाढा हेरिरहेकी रहिछे। ऊ मतिर त्यति सारो एकोहोरिरहेकी थिई तर कोठाभरिका मान्छेहरु भने उसैतिर हेररहेका थिए। पोक्चीले पक्षपात गरेको पनि उनीहरु सहिरहेका थिए।

अरु कोठाहरुमा इजिप्ट जम्मै रित्त्याएर भेला पारेका चित्र र मूर्तिहरु, चिहानका ढुङ्गाहरु, मरेका ममी राख्ने मनुष्याकार काठ र ढुङ्गाहरु, भाँडाबर्तन, गरगहना हेर्दै जाँदा वाक्क भएँ। एक ठाउँ मणिरत्नजडित तर्वार र दामी गहना ऐनाभित्र राखेको थिएँ। त्यहीं लुई पन्ध्रौंको र अर्को राजाका रत्नहरु-जडित श्रीपेचहरु र टुप्पोमा चौकाठ (cross) भएको नेपोलिअनले लगाएको मामूली श्रीपेच रहेछन्। नेपोलिअनका हरियो रत्न भएको र अरु औंठीहरु हेरें र थाकेर हैरान भए पछि फर्कने सुरले हिंडें।

एक ठाउँमा दुई बन्दूकहरु रहेछन्। त्यहाँ साँच्चै नै ती बन्दूक राखेझैं लाग्यो र छेउमा गएर छुन खोज्या त तस्बीर पो रहेछ, चित्रकला पो रहेछ।

अनि हिंडें, हिंड्दै गएँ। कुनामा काफे रहेछ। एक पेप्सीकोला किनेर कुर्सीमा बसें। बसिमात्र सकेको थिएँ घाँस-रङ् दुईलाई तान्दै लजाएर आइपुगी। पछ्याउँदै रहिछे मलाई। मेरै छेउमा बसी ऊ। उनीहरुले कफी खाए क्यारे। ऊ थाकेजस्तो भई, बोल्दै बोलिन् गरुडनाके चाहिं अक्कास-पत्ताल जोडिरहेकी थिई। उनीहरुले अंग्रेजी बोलेर मागेको र कर्मचारीले फ्रान्सेली बोलेर जवाफ दिएको अति रमाइलो लाग्यो।

छेउमा ऊ पसीनै पसीना भई। केश फुकाली र चिम्टीले सँगाल्ने उपक्रममा छड्के हेर्न पाएर मतिर काण हिर्काउन थाली।

पोक्चीलाई बिहे गर्नु असम्भव र अक्कासे भएझैं यस नाउँ नभएकी सुन्दरीलाई पाउनू पनि उत्तिकै असम्भव लागेर आयो। हात हेरें मोरीका कलकलाउँदा थिएँ। खुट्टा हेरें, लाम्चा थिए। गाला रातिंदै थिए, आँखा पानी थिए काला धूपीका रूखहरुद्वारा घेरिएर। कम्मर कसिंदो मर्किंदो थियो, बटारिंदो थियो। यस्ती आइमाई पाए म जीवन धन्या मान्ने थिएँ। तर झल्याँस्स सम्झें – मेरा मुलुकमा पनि त युवतीहरु यसभन्दा कम छैनन्। आ मर् है तारा, जाँसुकै मर्।

जुरुक्क उठें र सरासर पोक्चीतिर गएँ। पहेंलो सारी अझै थिई र मतिर उत्सुक उत्सुक हेर्दै मुस्काई। म त्यसलाई हेर्न आएको थिइनँ।

एउटी आइमाई फ्रान्सेली उच्चारणको अंग्रेजीमा पोक्चीलाई धुरीमा उचाल्दै थिई। थुप्रो थुप्रो उसको दलका मान्छेहरु ध्यानमग्न भएर सुनिरहेका थिए। बयान सुनिसकेपछि मैले पोक्चीलाई निकै बेर हेरें लाटाले पापा हेरेझैं। हाँसिरही। जान्छु भनें, मुस्काइरही, ट्वाल्ट्वालती हेरिरही। बोलिन।

ऊ मैतिर नै हेरिरहेकी थिई। ती मायाँलु आँखालाई कसरी बिर्सनु मैले? ती उदास आँखालाई कसरी मनबाट हटाउनु मैले? ती रुन्चे मुस्कानले टुलटुल हेरिरहने बल्ययाङ्ग्रे आँखालाई हृदयबाट कसरी हुत्त्याउनु मैले?

म गएपछि पनि मैतिर हेरिरहली ऊ, बाटो मेरै हेरिरहली ऊ। म मरें भने पनि उसले मेरो बाटो हेर्न छोड्नेछैन। कस्ती विश्वासपात्र? कति उत्सुक? कति मायाँलु? के कुनी युवती यस्ती विश्वासपात्र, उत्सुक र मायाँलु हुन सक्ली? आफ्नै हिजो सम्झें। छाती चिरिएर आयो।

हतार हतार हिजोलाई बलैले विस्मृतिको हाब्रोलाई निलिदिएँ अनि आँखाभरि-भरि हेरिरहें प्यारी पोक्चीलाई। सुन्तलेहरुले ठेलेर पोक्चीको बित्तो बारेको डोरी छोए। रक्षकहरुले फ्रान्सेलीमा केके भन्दै तिनलाई पछि हटाए। त्यस्तो ध्यान भङ्ग पार्दा पनि पोक्चीले डोरीतिर हेरिन, पटक्कै हेरिन, मैतिर एकोहोरो हेरिरही, हेरिरही।

प्रेम यस्तै अटल हुनुपर्छ, मायाँ यस्तै एकोहोरे र अमर हुनुपर्छ।

आँखा हामी दुवैका रसाएर आए! जेसुकै जोसुकैले भनोस्। मलाई कसले चिन्छ र याँ? रोएँ, तरर्र आँसु चुहियो।

अनि धमिला आँखाले मायाँलु पोक्चीलाई नमस्कार गरें र हुँडलिएको ह्याकुलोभित्र उखर्माउलोसित उफ्रिरहेको मुटुलाई मिच्तै अन्धाधुन्ध सेनतर्फ लागें।

[ग्राँदोतेल् द शाँपाइन्
१७, जाँ लाँतिए
पारो
१ जुलाई १९६३]

‘बेलाइततिर बरालिंदा’बाट
(साझा प्रकाशन)