Rashi Pande – Singthaji

रासी पाण्डे – सिङ्गथाजी

अनि नीमा चरचरी बाझ्न लागी । फोहर फोहर शब्दले सराप्न थाली । धेरै दिनदेखि गुम्स्याएर राखेको रिस आज पोखियो । उसका पीडाहरू, आक्रोशहरू गाली भएर निस्किन लागे ।
मिङमरले होटलमा चासो लिन छाडिसकेको थियो । ऊ दिनभरि रक्सीमा टिल्ल रहन्थ्यो । अनि साँझ पर्नासाथ गायब । दोर्जेकी स्वास्नीसँग लहसिएको, उससँग पल्केको अनि जारी तिरेर भए पनि नल्याई नछाड्ने निधो गरेको कुरा नीमाले कताकता सुइँको पाएकी थिई । लोग्नेलाई फकाउने, रिझाउने हर उपाय गर्दा पनि उसको बानीबेहोरामा खास सुधार हुन सकेको थिएन । दिउँसोदेखि नै नीमाको पारा तातेको थियो । डोल्माले एक डोको कुरा सुनाएर गएकी थिई । जब मिङमर ढुनमुनाउँदै मध्यरातमा आइपुग्यो । नीमा फत्फताउन लागी । ख्यारख्यारती पार्न लागी । पहिले त मिङमरले लजमा बसेका मानिसहरूको ख्याल राखेर चुपचाप लागेर सुत्ने निहुँ गरिरह्यो । तर जब नीमा ज्यादै कराउन लागी मिङमर पनि बम्कियो । दुवै चर्काचर्की गर्न लागे । झगडाको विसर्जन मारपिटबाट भयो । नीमाले भक्कु पिटाइ खाएर ।
मनमा उठेका पिर र पिटाइको पीडाले नीमा सुक्कसुक्क गरी रुन थाली । धेरै बेरपछि उसको रुवाइ शान्त भयो । मिङमर चुल्होनिर त्यसै लम्पसार परेको रहेछ – केही न ओढी । नीमाको मनको एक कुनामा माया उब्ज्यो । काम्लो ओढाइ दिऊँ कि ? तर त्यस्तो बेइमानलाई केको माया ? नीमा खाटमा पल्टी र चुरोट सल्काई । धुवाँ सँगसँगै उसका विगत सल्बलाउन लागे …
रेन्जनको घ्यावामा नीमा तिनतिन रातसम्म नाँचेकी थिई, गाएकी थिई । गाउँभरिका आफन्तहरू, उमेर पुगेका युवाहरू, युवतीहरू साँझ पर्नु अगाडि नै जम्मा भएका थिए घ्यावा हुने थलामा, सजिसजाउ भएर, झकिझकाउ भएर । नीमा पनि नयाँ आङदुङ, स्यार्मा, तोर्मा लगाएर भुटिल, ग्यान्जेन, सीतुप, झरू आदि गहनाले सिँगारिएकी थिई । मिङमरले पनि त्यस दिन लय हालीहाली गीत गाएको थियो । नक्कल पारी पारी नाचेको थियो । फुरू भरिभरि रक्सी पिउँदै –
“ से ऽ ऽ.ला ऽ ऽ.ना ङ ऽ ऽ. याला सी
काङ ऽ ऽऽ ऽ. दि ऽ ऽ. दारसिंग कमो
सून ल्याई के जे ज्याल कोरा ल्यास् ………!”

एउटै गाउँ, एउटै ठाउँका भएर पनि, बाल्यकालदेखि सँगै हुर्के बढेर पनि नीमाले मिङमरलाई चिन्न सकेकी रहिनछ । उसको भित्री मन छाम्न सकेकी रहिनछ । त्यो दिन मिङमर नीमालाई अति मन परेको थियो । दुवै जना हातमा हात जोरेर रातभरि नाँचेका थिए ।
फुलोभरि रक्सी, लामो अरमठिएको सिङ् गरेको च्याङ्ग्रा, नाङ्लाभरि सेल रोटी लिएर स्यालकर गर्न आएका थिए मिङमरका इष्टहरू, उसका आफन्तहरू, मिङमरका लागि नीमालाई माग्न । विवाहको प्रस्ताव लिएर । तर नीमाको बाउले स्यालकर स्विकारेन । मान्दै मानेन, त्यो जाबो झुत्रेलाई आफ्नी छोरी दिन्न । सुम्देनमा अझ बढी रकम र गहना गुरिया दिन्छौँ भन्दा पनि नीमाको बाउ टसमस भएन । स्यालकर फिर्ता लगियो । बिहा पक्का हुन सकेन । नीमा गोठमा थिई, पछि थाहा पाई । घरमै भएकी भए पनि के नै गर्न सक्दथी र ? मन त्यसै ओइलायो ।
उनीहरूको संस्कृति अनुसार नीमामाथि विवाहको पहिलो हक फुपूको छोरा पासाङको नै लाग्दथ्यो । बाबुआमाले पनि पासाङसँग नीमाको विवाह गरिदिने निश्चय गरेका थिए । पासाङ धनी थियो । चालिस चालिसवटा चौंरीहरू थिए । थुप्रै भेँडा च्याङ्ग्राहरू । ठुलो, कमाइ गर्न नसक्नुको खेतबारी । वास्तवमा ऊ गाउँको ‘बरू’ नै थियो । थुप्रै मुङ्गाहरू, सुनका बुटिल, तर्वेन, चाँदीका गेन्जेन थिए उसको घरमा भरिपूर्ण । पासाङ पनि उसलाई औधी मन पराउँथ्यो । नीमा बाहेक अरूसँग बिहे गर्दिनँ भन्ने अठोट गरेको थियो । खै तर यो मनको केही ठेगानै नहुने ?
नीमा घरधन्दा सघाउँथी, दाउरा, स्याउला ल्याउँथी । याक, चौंरी चराउँथी । कोदाको बारीभरि । भिर, गराहरूमा याक, नाक, चौंरीहरू चरेको हेर्न उसलाई निक्कै मजा लाग्दथ्यो । लामालामा तिखा सिङ गरेका झ््यापुल्ले काला सेता रौं भएका निरीह पशु उसको एक सुसेलीमा हर्रर जम्मा हुन्थे । नीमा तिनीहरूको आङ सुमसुम््याउँथी । माया गर्दथी । जस्तै जक्खू, जङ्गली याक पनि उसको सामु आएर पाल्तु बन्दथ्यो । सुधो बन्दथ्यो । हिउँदमा कोदो काटिसकेपछि चौंरीगोठ तल बेंसीमा सारिन्थे । गर्मी बढ्दै जाँदा गोठहरू पनि माथि लेकका खर्कहरूमा लगिन्थे । निगालाको चित्राले छाप्रो हालेर, एउटा भोटे कुकुर साथी बनाएर अलिकति मकैको पिठो अलिकति आलु, अलिकति खर्पेसासँग रक्सी र भलु, जीवन गोसाइँकुन्ड जस्तै शान्त र सुन्दर थियो । जीवन गुराँसको फूलजस्तै ताजा र स्निग्ध थियो ।
नीमा निहँु पारी पारी मिङमरलाई भेट्न जान्थी, जङ्गलमा । गोठमा । उनीहरू सँगै बाँच्ने, सँगै मर्ने कसम खान्थे । रन, बन घन्काएर गीत गाउँथे –
“मो ले ने जाना सत् जाना
एन्जेन सेम्युजाम् ब्रोले यारके काङदाना !”
लोसार नजिक नजिक आइरहेको थियो । बारीमा उब्जेको कोदाको नीगु, रक्सी बनाइन्थ्यो । चामलको घिङ, गहँुको बाइकेङ, अलुम, लट्टेको बिउबाट मेन्दो घरघरै पकाइन्थ्यो । नयाँ नयाँ लुगाफाटा । मिठो मिठो खाना । रक्सी । नीगु । भलु । नाँचगान । पूजापाठ । लोसारको विशेषता थियो । रातो, सेतो, हरियो, पहेँलो, चौपाटे कपडाहरूको झन्डा बनाएर घरघरमा फहराइन्थ्यो । ‘ओम मणि पद्मे हँु’ को मन्त्र लेखिएको धर्बुजेले वातावरणलाई नै मुग्ध बनाउँथ्यो । पाङलिङ१ ले छाएको घरको छानामाथि चढेर घरमूलीहरू करूको पिठो र रक्सी हावामा उडाउँदै “है केलो, है केलो” गर्दै एकअर्काको गालामा पनि दल्ने गर्दथे । सातसात दिनसम्म खुब रमाइलो हुन्थ्यो । नीमा लुकीलुकी मिङमरलाई सेल रोटी खुवाउँथी । थपीथपी रक्सी खुवाएर टिल्ल पार्दथी । करूको पिठो लगाई दिने निहुँले ऊ मिङमरको गालामा चिमोटिदिन्थी । दिनहरू कत्ति सुखद थिए ? कत्ति रमाइला ?
बाउले गाइँगुइँ थाहा पाएछ क्यार ? नीमालाई एक्लैएक्लै टाढा टाढा जान दिन्नथ्यो । नीमा भाग्छे कि ? उसलाई भगाउँछन् कि ? चोरेर पो यो लाबे ब्या गर्ने हुन् कि ? डर थियो नीमाको बाउलाई ।
हुन त आफूले मन पराएको केटा रोजेर जानु वा मन परेकी केटीलाई बलजफ्ती उठाएर लैजानु कुनै नौलो कुरा थिएन । चलेकै चलन थियो, तर नीमा बाबुआमाको चित्त दुखाएर भाग्न चाहन्नथी । तर केही गर्दा पनि सिप लागेन । अनि नीमा मकै पिस्ने निहुँले घट्ट जान निस्किई । मिङमर र उसका साथीहरू नीमालाई पर्खेर बसेका थिए । उसलाई एउटाले पाखुरामा समातेर काँधमा बोक्यो । अर्काले दुवै खुट्टा अँठ्यायो । देखावटीका लागि नीमा रोई, चिच्याई । सँगै आएकी बहिनी घरतिर फर्की ।
धेरै खोजे नीमाका आमाबाउले । टाढाटाढासम्म मानिस पठाए । नीमा मिङमरको भिनाजुको घरमा लुकेर बसेकी थिई स्याङगुम्बामा । पत्तो लगाउन सकेनन् । केही दिनपछि रीति अनुसार मिङमरले ससुरालीमा स्यालकर२ पठाएको थियो । लाचार भएर उनीहरूले स्विकार्नै प¥यो । त्यसपछि उनीहरूको विवाह विधिपूर्वक भएको थियो ।
मिङमर त्यति सम्पन्न थिएन । खेतबारी थोरै थियो । याक, चौंरी थिएनन् गाईहरू मात्र थिए । नीमा बिहानभरि डोकामा सिस्नाको कलिला मुन्टा र पात बटुल्थी चिम्टाले च्यापीच्यापी । ताउलोभरि सिस्नो उमालेर त्यसमा एक, दुई मुठी मकैको पिठो घोलेर ढिँडो बनाउँथी । घरमा गरिबी थियो, तर सन्तुष्ट थिई । नीमा त्रिशूलीमा भोटेकोसी मिसिएझैँ मिङमरको जीवनमा विलीन हुन पुगेकी थिई । समाहित भएकी थिई ।
बस्ती झाँगिदै थियो । बाटोघाटो, नयाँ नयाँ मानिसहरू, विदेशी पर्यटकहरू थपिँदा थिए । नीमाले पनि एउटा पसल राख्ने जोहो गरी । बुबाआमा, इष्टमित्र, सरसापट । गोसाइँकुण्डमा लाग्ने जनैपुर्णेको जात्रामा खानाको पसल राखियो । हजारांै सङ्ख्यामा आउने यात्रुहरू, धामीझाँक्री, श्रद्धालु भक्तजन अनि रमितेहरूको लस्कर । साउनको मुसलधारे पानी । चिप्लो साँघुरो बाटो । ठाडो उकालो । पातलो हावा । साढे बाह् हजार फिटको उँचाइ ……
नीमा पाटीभन्दा केही माथिको डाँडामा बसेर गोसाइँकुण्डलाई नियाल्दथी । उत्तरपूर्वको अग्लो सेतो हिमच्छादित चुचुरोको छायाँ पानीमा परेर भव्य दृश्य उत्पन्न गर्दथ्यो । कुण्डको पानीमा छाल उठेर बनेका विभिन्न आकृतिहरूबिच ऊ नीलकण्ठ महादेवलाई खोज्दथी, नागकुण्डको निलो पानीतिर उसका आँखा टिक्न सक्दैनथे । कहाली लाग्दथ्यो । डर लाग्दथ्यो । त्यहाँ अजङ्गको नाग रहेको जनविश्वासले ऊ झन् त्रस्त हुन्थी ।
नीमा लौरीविनायकको जङ्गलबाट दाउरा ल्याउँथी । तल कुण्डबाट पानी, चिया, बिस्कुट, खाना । चार पाँच दिनको जात्रामा राम्रै बिक्री भयो । राम्रो आम्दानी भयो । उसको हौसला बढ्यो । ऊ प्रोत्साहित भई, अरूले जस्तै उसले पनि एउटा स्थायी होटल चलाउने विचार गरी ।
होटलको लागि ठुलो घर बनाउने पुँजी थिएन । नजिकैको जङ्गलबाट लडेपडेका लाठाहरू ल्याएर मान्द्रो, प्लास्टिकले छाएर, एउटा छाप्रो उभ्याइछाडी, गोसाइँकुण्डबाट लाङटाङ जाने बाटाको दोसाँधमा । चिया, बिस्कुट, चाउचाउ, खाना र चार, पाँच जना सुत्न हुने निगालाको मचान । चल्यो होटल मजैले । कहिले विदेशी टुरिस्टहरू आउँथे, कहिले नेपाली कर्मचारीहरू । विदेशीसँगको व्यवहार उसलाई निक्कै मन पर्दथ्यो । टिबटन ब्रेड … चाउचाउ … एग । मसरुम सुप … पोट््याटो … वन … टु … फाइव । नीमा केही अङग्रेजी पनि बोलन लागेकी थिई ।
“मिठा, राम्रो, नमस्ते” पैसाको खिचलो छैन । जस्तो दियो उस्तै खाने यी विदेशी पर्यटकहरू ज्यादै मन पर्दथे नीमालाई । ऊ सधैँ सधैँ विदेशीहरू नै आइदिऊन् भन्ने चाहना राख्दथी ।
नीमाको होटल चलेकामा इखाउने धेरै थिए । रिस गर्नेहरूको सह पाएर पैसालोलुप कर्मचारीहरू केही झार्न पाइन्छ कि भन्ने दाउमा थिए –
– कसको अनुमतिले यो होटल खोलेको ?
– सरकारी जग्गामा यसरी होटल राख्न पाइन्छ ?
– हटा, यो होटल ।
– भत्काइदिन्छौँ यो होटल ।
मिङमर केही बोल्न सक्दैनथ्यो । ऊ लुकेर बस्दथ्यो । नीमाले नै सामना गर्नुपर्दथ्यो तिनीहरूको हप्की र दप्कीको । नीमा बिलौना गर्दथी । दुःखपुकारा गर्दथी । कुखुरा काट्दथी । रक्सी खुवाउँदथी । कर्मचारीरूलाई थामथुम पार्दथी ।
अनि एउटा पहिरो गयो नीमाको आत्मामा । उसको स्त्रीत्वमा । मिङमर पसलको सामान किन्न धुन्चे गएको थियो । नीमा एक्लै थिई । लजमा बस्न कोही टुरिस्ट पनि आएका थिएनन् । ऊ प्रतीक्षारत थिई । कोही आउँछन् कि ? साँझको झिसमिसे सुरु भैसकेको थियो । चुल्हामा दनदनी आगो बालेर ऊ मनमा अनेक थरीका कुरा गुनिरहेकी थिई । बुट बजार्दै तिन जना आइपुगे ।
“ए नाना चब मुवा ?”
“मुवा” नीमालाई आफ्नो भाषामा कुरा गरिदिएको निक्कै मन परेको थियो । ऊ खुसी भएकी थिई । “खाना पनि छ । बास पनि छ” ऊ पनि मस्किइएकी थिई ।
चुल्होमा दन्किएको आगो ताप्दै, चौंरीको घिउमा भुटेको तातो रक्सी पिउँदै उनीहरू अश्लील, अश्लील कुरा गर्न लागेका थिए । मिङमर अझै आइपुगेको थिएन । घरबाट पनि कोही साथी बस्न आइपुगेका थिएनन् । कताकता नीमालाई डर पनि लागेको थियो । ऊ सशङ्कित भएकी थिई । खाना खाएर उनीहरू सुते । नीमा पनि भकारीले दैलो ढप्काएर सुती आँसीलाई छेउमै राखेर ।
कसैको घिनलाग्दो हात नीमाको आँगमा सगबगाइरहेको चाल पाएर अचानक उसको निद्रा टुट्यो । ऊ सचेत हुनुअगावै दुवै बलिष्ट हातले उसलाई विवश पारिसकेको थियो । नीमाले आफूलाई छुटाउने, आफूलाई बचाउने अनेकौँ प्रयास गरी, तर तिन तिन जना मर्दको सामु उसको केही जोर चलेन । उसलाई क्षत्तविक्षत पारियो । उसको शरीरमा तातो भाला रोपियो, ऊ छिद्र छिद्र भएकी थिई । विदीर्ण विदीर्ण । पालै पालो घाइते तुल्याएर पापीहरू एकाबिहानै अलप भएका थिए ।
आफ्नो घाउ कसलाई देखाउने ? कोसँग पोख्ने ? न्याय कसले दिन्छ ? नीमाले पिर चुपचाप लागेर पिएकी थिई ।
होटलमा बस्दा एउटा नजानिँदो त्रासले घेरिरहन्थ्यो नीमालाई । ऊ बास बस्न आउने प्रत्येक मानिसलाई बलात्कारीको रूपमा हेर्न लागेकी थिई । कुनै रात एक्लै बस्नुपर्दा ऊ सासूलाई बोलाउँथी । ससुरालाई बोलाउँथी । तर पनि उसको सुरक्षाको अभिभारा बोक्न सक्ने सामथ्र्य उनीहरूमा छ जस्तो उसलाई लाग्दैनथ्यो । होटल छाडेर अर्कै व्यवसाय गर्ने, अर्कै ठाउँमा जाने भनेर ऊ बारम्बार मिङमरलाई भन्दथी । त्यत्ति राम्रो चलेको होटल ऊ छोड्न चाहन्नथ्यो । मिङमरलाई पैसाको चस्को पसिसकेको थियो । ऊ हरतरहले पैसा कमाउने, धन थुपार्ने जुक्ति मात्र गर्दथ्यो । बिहा भएको निकै वर्ष भैसक्दा पनि उसको गर्भ रहन सकेको थिएन ।
मिङमर केही टाढा टाढा हुँदै गइरहेको थियो । रक्सी पिएर ऊ बिहा हुनुभन्दा अघिको कुरा झिक्थ्यो । नीमाको बाउलाई गाली गर्दथ्यो । स्वेच्छाले बिहा नगरिदिएकोमा । अनि ऊ धक्कु लगाउँथ्यो । तेरो बाउसँगभन्दा बढी पैसा छ । तँ बैला होस् अर्की स्वास्नी ल्याउँछु ।
नीमा खिन्न हुन्थी, दिक्क हुन्थी । कार्सिकै चोङमाको बेला ध्याङमा गई न्यूगेन बसेर आफ्नो कुल देउता च्याङग्रीसँग प्रेम सफल होस्, लोग्नेको रूपमा मिङमरलाई पाउँ भनी व्रत लिएको कुरा सम्झन्थी । अनि रोएर आफ्नो मनको बह पखाल्ने गर्दथी । बिस्तारै बिस्तारै उसले अनेक कुरा सुन्न लागेकी थिई । जसको परिणाम आजको यो झगडा थियो ।
कुकुरको भुकाइले नीमाको तन्द्रा भङ्ग भयो । बँदेल आएछ क्यार ? ऊ चाल मारेर सुन्न लागी । औडाहा चलिरह्यो । निद्रा आएन । छट्पट छट्पट भइरह्यो । पर भाले बास्यो । बिहान हुन लागेछ ! ऊ उठी र घरधन्दामा लागी ।
धेरै प्रयास गर्दा पनि उनीहरूमा मेल हुन सकेन । फाटो झन् झन् बढ्दै गयो । मिङमरप्रतिको आस्था, विश्वास सबै धमिराले खाएको खामोजस्तो लाग्यो नीमालाई । एकोहोरो माया के लगाएर बस्नू ? मिङमर दोस्रो बिहा गर्न चाहन्छ भने गरोस् । म बाधा हुत्र । मेरा लागि पनि बाटाहरू होलान् ? नीमा माइत आएर बसी ।
गाउँका थुप्रै केटाहरूले नीमासँग बिहा गर्ने प्रस्ताव राखे । तर अर्को बिहा गर्ने इच्छा नीमामा कहिल्यै पलाएन । दोस्रो बिहा गर्ने कल्पना नै आएन ।
मिङमर उसलाई बोलाउन एक दुई पटक आयो, तर नीमा जान मानिन । एकपटक फाटेको मन जोडिँदै जोडिएन । एकपटक टुट्यो, टुटी नै रह्यो सदाका लागी ।
नीमा माइती बसेकोमा मिङमर नाना थरीका लाञ्छना लगाउँथ्यो । भए नभएको अभियोग लगाउँथ्यो । त्यो वलात्कारको घटनालाई ऊ मानिसहरूलाई सुनाइहिँड्थ्यो । नीमा झन् झन् मर्माहत हुँदै गई । भाग्यले नै छकाएपछि के गर्ने ? नीमा चुपचाप लागेर सहन्थी । कुनै विरोध गरिन ।
अन्तमा मिङमरले नीमालाई त्यागेर अर्की ल्याउने कुरा चलायो । पञ्चायत बोलायो । गाउँभरिका पञ्च, भद्र भलाद्मी, लामा झाँक्री सबै जम्मा भए । छोडपत्र नै गरिने भयो । मिलोमतो हुन सकेन । एउटा नेपाली कागत मगाइयो । छोडपत्रको मस्यौदा लेखेर दुवैले आआफ्नो औँठाको छाप लगाए । परम्परा अनुसार अलिकति काँचो धागो ल्याइयो । ती दुवैले धागाको दुई टुप्पा समाए । मुखियाले धागो बिचबाट काटिदिए । चलन अनुसार ती दुई विपरीत दिशातर्फ लागे । सिङ्गथाजी३ भयो । कानुनी र सामाजिक रीति अनुसार उनीहरूको सम्बन्ध विच्छेद भयो । दाम्पत्य जीवनको अन्त भयो । पतिपत्नीको नाता रहेन । पारपाचुके भयो । त्यसपछि नीमालाई एकक्षण पनि पन्चैतीमा बस्न मन लागेन । मन कस्तो कस्तो भारी भारी । रूँ, रूँ.जस्तो । ऊ सरासरी कोठामा पसी र घोप्टो परेर रुन लागी ।
धेरै बेरको रुवाइपछि नीमाको मन हलुँङ्गो भयो । ऊ उठी मुख, हात धुन । बाहिर उसको बुबासँग एउटा नौलो मानिस निकै घुलमिल भएर कुरा गरिरहेको थियो । नीमालाई चिनेचिने जस्तो लाग्यो । को होला ? ऊ केही नजिकै गई । पासाङ रहेछ । बौद्धमा खोलिएका आफ्नो कारखानाको लागि केरुङबाट उन लिन आजै काठमाडौँबाट आएको ।
जब नीमा केही नजिकै पुगी, पासाङले उसतिर फर्कदै भन्यो– नाना, मैले सबै थाहा पाएँ । अब तिमी नाइँ भन्न पाउन्नौ, मैसँग जानुपर्दछ । मैले अझै बिहा गरेको छुइनँ ।
अचानक नीमालाई सारा संसार सिन्दूरी भएजस्तो लाग्यो । त्रिशूली गङ्गा हाँसेजस्तो गोसाइँकुण्ड मुस्कुराएजस्तो । प्रकृति नै आनन्दातिरेकमा उन्मत्त भएजस्तो । पर…. लाङटाङको चुचुरामा सूर्यास्तको किरणले चुम्बन ग¥यो । नीमा लाजले भुतुक्क भई । उसका गाला राता भए …..

(“समयको घाउ” गरिमा, वर्ष ६, अङ्क ७, पूर्णाङ्क ६७, असार २०४५)
.

शब्दार्थः
१. सल्लाको फलेक, २.सौगात, ३.छोडपत्र

(Sent to Sanjaal Corps via Email)