Ekraj Pradhan – Parkhai

आखिर किन दाइ हामीलाई मान्छे किन गन्दैन यो समाज किन सम्झन्छ हाँसोको पात्र दुनियाँ किन हाँस्छ हाम्रो बोलीमा हाम्रो रुपको के दोष छ जसलाई यो समाजले जनवार समान देख्छ किन दाइ किन ऊ प्रश्नमाथि प्रश्न थप्दै थियो झ्यालतिर फर्केर । म मौन छु । मसँग तत्काल उसका लागि चित्तबुझ्दो जवाफ छैन । बुझेको छु ऊभित्रको पीडा । उसभित्र दन्किएको आगो र जलनलाई । म महसुस गर्न सक्छु । मैले पनि पार गरेको छु यस्ता परिस्थिति । सान्त्वनास्वरुप बोलेँ यसमा कसैको दोष छैन सागर भाइ न हामीलाई बनाउने प्रकृतिको न हामीलाई देखेर छक्क ती मानिसको । दोष छ त केबल हेराइमा । दोष छ हाम्रो सोचाइमा । यही हेराइ र सोचाइमा हामीले परिवर्तन ल्याउनु छ । त्यसकै लागि त तिमी यहाँ छौ ।

तर दाइ थाकिसकेँ म । थकाइसक्यो यो समाजको तिरस्कारले । कति सहने कति अबुझ समाज छ यो हाम्रो । आजसम्म पनि धनीगरिब जातपात रुढीवादीमा अल्झिरहेछ । यस्तो समाजले हाम्रो मर्म कहिले बुझ्ला बजारमा गयो नौलो जनावरलाई झैँ क्वार्रक्वार्ती हेर्छन् सामान किन्न जाँदा पसले मुख छोपीछोपी हाँस्छ आखिर कति दिन सहने कसरी सहने उसले फेरि प्रश्न छरपस्ट पारिदियो मेरो सामु । सायद धेरै दुखाएछन् आज उसलाई । नत्र यसरी दुःख पोख्ने मान्छे होइन ऊ । केहीबेर सुस्तायो । लाग्यो ऊभित्रका प्रश्नहरु सकिए ।

एकछिन्मा छेउमा आएर भन्यो दाइ नरिसाउनु ल । यो समाजले दिएको घृणा र वितृष्णाले कहिलेकाहीँ यो जीवनदेखि नै रिस उठ्छ कस्तो जीवन बाँच्नै गाह्रो । अनायसै बहकिएछु ।

हो सागर तर पनि जीवन जीवन नै हो । बाँच्नका लागि हो । जुनरुपमा जसरी पनि हामीले बाँच्नु छ । कहिले भागेर कहिले लडेर दुःखलाई बाँड्दै सुखको खोजीमा डोहोर्याइरहनुपर्छ यसलाई । गन्तव्य भेटिन्छ बस् यही लक्ष्य हुनुपर्छ हामीमा । ठेस लाग्यो भन्दैमा बाटो नै मोड्नु हुँदैन ठूल्ठूला चट्टान टेकेर उक्लनुछ हामीले मैले उसलाई छोटकरीमा सम्झाउन खोजेँ । र खाटमुनी रहेको सात वर्ष पुरानो व्याग निकालेँ । जुन मैले घर छाडेको दिन बोकेर हिँडेको थिएँ ।

कपडाको त्यो कालो व्याग खुइलिएर ध्वाँसेध्वाँसे भएछ । बाँकी सबै उस्तै । खोलेँ त्यहाँ मेरो अतित उघि्रयो । अनायसै आँखा डगमगाए । हुरीको धुलोझैँ अतितका यादहरुले मेरो आँखा झ्वाप्पै पुरिदियो । छेउको सागरलाई पनि धमिलो देख्न थालेँ । विस्तारै यादहरु आँसु बनेर किनारा लाग्दै गए । सागर प्रस्ट देखिन थाल्यो । ऊ मतिर हेरेर छक्क परिरहेको थियो । मैले आँखा निचोरेर आँसु निखार्न खोजेँ । सोध्यो ुदाइ केभो अचानक तपाईंलाई केही होइन अतितका झझल्को आयो मैले सिधै भन्दिएँ ।

कस्तो अतित दाइ उसले मेरो कथालाई कोट्याउन खोज्यो । अलिकति उघ्रेको त्यो व्यागलाई मैले पूरै उघारेँ । एउटा खैरोखैरो ऊनीले बुनेको सुइटर निकालेँ र देखाउँदै भनेँ यो सुइटर मेरीले आमाले म क्याम्पस पढ्दा बुन्दिनुभाको । जाडोमा बिहानै क्याम्पस जानुपथ्र्यो हातैले बुनेको सुइटर न्यानो हुन्छ भनेर हातैले बुन्दिनु भाथ्यो उहाँले । साँच्चै न्यानोसँगै धेरै माया बुनिएको छ यसमा । खुब माया गनुहुन्थ्यो मलाई । तर खै मलाई आमाको माया किन लागेन सुइटर राखेँ ।

त्यहाँ केही तस्वीर छरिएका थिए । ुयोबीचको म अरु सबै स्कूलका साथीहरु । केटीहरु मलाई धेरै माया गर्थे । केटाचाहिँ मेरो साथी बन्नै चाहेनन् । सायद मेरो बोलीव्यवहार मननपर्दो हो उनीहरुलाई । सानो छँदा त म केटीकै जस्तो लुगा किनी माग्थेँ । कहिलेकाहीँ आमाको शृङ्गार सामग्री लगाउँथे । त्यो देखेर बुबाआमा पेट मिचिमिचि हाँस्नुहुन्थ्यो केही गर्नुहुन्नथ्यो त्यो बेला । मेरो बालमस्तिष्कमा उहाँहरुले धेरै माया गरेको लाग्थ्यो । त्यो बेला केटी जस्तै बन्न मन लाग्थ्यो । मेरो हिँडाइ बोलाइ काम गराइ सबै केटी जस्तै हुन थाल्यो । सानैछँदा मलाई प्रुक किन्दिनु भनेर आमासँग जिद्दी गर्दा नराम्ररी पिटाइ खाएको म कहिल्यै बिस्रन्न ।

सानो हुँदाको मेरो यो बानीलाई कसैले ध्यान दिएनन् । समयले मलाई बढाउँदै लगेछ जिन्दगी मोडियो । त्यही बानी समस्या बन्यो । घरको म कान्छो छोरो थिएँ । दाइ काममा लागिसक्नु भएको थियो । दिदीबहिनी थिएनन् । सायद त्यसैले मेरो व्यवहारले आमाबुबालाई छोरीको अभाव पूरा हुन्थ्यो म छोरीजस्तै बन्दा उहाँहरु रमाउनुहुन्थ्यो । तर पछि मेरो त्यही व्यवहारले उहाँको प्रतिष्ठामाथि प्रश्नचिन्ह उठाइदियो । बुबाले मलाई कैयौँपल्ट छोरा जस्तो बन्नु भनेर हकार्नु भो तर म परिवर्तन भइसकेको थिएँ । धेरै ढिला भइसकेको थियो । मैले चाहेर पनि साधारण छोरा मान्छे जस्तो बन्न सकिनँ । बारम्बार पारिवारिक यातना सहेँ । पिटिएँ बन्दी भएँ थुनिएँ । आमाले भन्नुभो गाउँलेहरु मलाई देखेर उहाँहरुलाई गाली गर्दै गिज्याउँदै हाँस्छन् रे !

क्याम्पस पढिन्थ्यो त्यसबेला । क्याम्पस पनि नजाने आदेश दिनुभो बुबाले । तर पनि जान्थेँ । जबर्जस्ती । केटाहरु मलाई जिस्काउँथे सताउँथे तर मतलब थिएन । केटीहरु मलाई सहयोग धेरै माया गर्थे । प्रविशा मेरो सबैभन्दा नजिकको साथी थिई । क्याम्पसमा मलाई जिस्काइरहने सन्देश पनि नजिकिएको थियो । हामी तीनजना आपस अत्यन्तै मिल्थ्यौँ ।

पहिला त म सन्देशलाई चिन्दिनथेँ । अचानक नजिकको साथी बन्यो । हुँदाहुँदै उसलाई म अर्कै सोच्न थालेको थिएँ । उसको व्यवहार त्यस्तै लाग्थ्यो । कहिले त सोच्थेँ प्रेम प्रस्ताव राखुँ तर ममा त्यत्रो हिम्मत कहाँ ! एउटा छोरो मान्छे । के सोच्ला उसले म रोकिइरहेँ । मनलाई थामिरहेँ ।

मन थामेको पनि ठीकै भयो । उसलाई त प्रविशा मनपर्दो रहेछ । उनकै लागि ऊ मेरो नजिक भएको रहेछ । पछि मात्रै थाहा पाएँ । मन त छियाछिया बन्यो फेरि भन्दै थियो उसलाई सहयोग गर्नु पर्ने रे मैले । प्रविशाले पनि उसलाई नै मनपराउँदी रहिछे । दुवैलाई मिलाइदिएँ ।

त्यसपछि म घरमै बसेँ । क्याम्पस जान छाडिदिएँ । साथीहरु घरमै लिन आउँथे । सबैलाई गाली गरेर धपाउनु हुन्थ्यो बुबा । एकदिन बुबा साह्रै रिसाउनु भो र भन्नुभो तँ जन्मनुभन्दा त नजन्मिएकै बेस हुने थियो कमसेकम इज्जतले बाँच्न त पाइन्थ्यो । यस्तो छोरो हुनुभन्दा त नभएकै भए हुन्थ्यो ।

मैले बुझेँ । यति नै बुझेँ म त्यो घरमा बस्नु बुबाआमालाई सताउनु हो । अनि यही आमाले बुन्नु भएको सुइटर साथीहरुका यिनै तस्वीर सँगाले । र बिदा मागेँ आमा बुबा अब म हजुरहरुलाई धेरै दुःख दिन चाहन्नँ । सुख दिन सक्ने भएँ भने एकदिन फर्केर आउनेछु ।

बुबाले रुखो बोली बोल्नुभो ुजाजा गइहाल् तर फर्केर पनि नआउनु यो घर । मेरो एउटै मात्र छोरो छ यो संसारमा । मैले मायाको आशमा आमातिर हेरेँ माया त आँखाबाट छचल्किएर पोखिन लागेको थियो । तर उहाँमा मलाई रोक्ने बोली थिएन । बुबा पनि मलाई माया नगर्ने होइन म हिँडेपछि उहाँ धेरैबेर रुनुभो । दाइले पनि मलाई धेरै खोज्यो होला । सन्तानको माया कसलाई हुँदैन र !

सागर मेरो सबै कथा सुनिसकेपछि बोल्यो त्यसपछि तपाईं घर कहिल्यै जानु भएन l

अहँ आँटै भएन । आजसम्म म उहाँहरुलाई सुख दिन सक्ने भएकै छैन । तर मलाई थाहा छ म घर फर्किने दिन आउँछ । जब यो समाजमा हामीजस्ता तेस्रोलिङ्गीलाई बुझ्ने सोचाइमा परिवर्तन हुनेछ हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनेछ हामी पनि उनीहरुजस्तै मान्छे हौँ भनेर यो समाजले हामीलाई चिन्नेछ । त्यसको लागि मैले केही गर्नुछ ।

प्रकृतिले बोली र रुप फेरिदिएको मात्र हो भनेर यो समाजले बुझ्ाउनु छ । अनि मात्र म घर फर्कनेछु । मेरो बुबाआमा आफै मलाई लिन आउनेछन् । अनि म घर जानेछु सबै साथीलाई भेट्नेछु गाउँलेहरु मलाई देखेर हाँस्ने छैनन् बुबाले ममाथि गौरव गर्नुहुनेछ । हो म त्यही दिनको पर्खाईमा छु हो त्यही दिनको ।

Dr. Kabitaram Shrestha – Tauko Pachas Lakh Ko

ऊसँग खबरपत्र किनेर पढ्ने क्षमता थिएन । जति कमाइ थियो त्यसले आफ्नो परिवार पाल्नसक्दैन ऊ । कसैले भनिदियो खबर छ रे अतङ्कवादीको टाउको ल्याएमा पचास लाख पाइन्छ । यसको पनि घटीवेसी मूल्य छ रे अलिसानो आतङ्कवादीको ३५ लाख अरे र झनै सानोको बीस लाख रे । आतङ्कवादी मास्न विदेशबाट ठूलै रकम आएकोछ रे त्यसैले यो खबर सही हो रे ।

खोलाको वालुवा खोस्रेर परिवार पाल्नपर्ने उसलाई यो समाचारले उत्ती उत्साहित बनाएन । सित्तै पाइने खोलाको वालुवासम्म लुकीलुकी चोरेर वेच्नपर्ने देशमा कसरी यत्ति ठूलो राशी पाइने व्यवसाय ऊजस्तो सुकुम्वासीको लागि हुनसक्थ्यो पेट्रोलको भाउमा केही राहत भयो रे तर उसले वास्तै गरेन किनभने ऊ पेट्रोलको उपभोक्ता थिएन । टेलीफोनको महशुलमा पनि केही राहतको व्यवस्था भयो रे त्यसमा पनि उसले कुनै वास्ता राखेन किनभने ऊ त्यसको पनि उपभोक्ता थिएन । नजीकै ठूलै नहर बन्यो रे विजुली पनि नजीकै टोलमा आयो रे सडक पनि यतै आयो रे तर ती सबैमा उसलाई चासो भएन किनभने ती कुनैको पनि ऊ उपभोक्ता थिएन । त्यस्ता कुनैपनि अवसरहरुमा उसको चाख हुँदैन किनभने ऊजस्तो निमुखाको लागि केही हुन्छ भन्ने उसलाई विश्वासै छैन । समाज र वस्तीबाटै टाढा ऊ बसेको छ खोलाको बगरमा । वस् वालुवा छ कि ऊ । आँखा छलेर खोलाबाट वालुवा चोर्नपाए उसको जीवनको सवैभन्दा ठूलो उपलव्धी भइहाल्ने । यो पचास लाखसम्मको अवसर पनि ऊजस्तो निमुखाको लागि हुनैसक्दैन भन्दै उसले त्यो खबरलाई पनि अवज्ञा गर् यो ।

एकै छिनमा एकहुल निमुखाहरु हातमा खुकुरी उठाउँदै यतै दौडदै आएका देखिए । ऊ आतङ्कित भयो- मार्छन् कि क्या हो बजियाहरुले !

ऊ बालुवाको डीलमा छलियो । त्यो हुल उसको छेउबाटै गयो तर त्यसले उसलाई मिचेन । हुलमा एउटाले भन्दैथ्यो- शहरमा बम पड्काए रे आतङ्ककारीले त्यसलाई भाग्न नपाउँदै छिनाउन पर्छ ।

अर्कोले भन्दैथ्यो- कस्सो दुइचारवटा काटेपछि एउटानएउटा पचास लाखे नपर्ला ?

उसले सोच्यो- हुलमा पसेपछि कस्सो भाग नपाइएला यो बालुवा बोक्नेजस्तो पुलिसको आँखीहुने जोखिमको काम गरिराख्न पर्छ र काटमारको कुरो परेकोले पहुँचवालाहरुले यसमा अवश्यै प्रतिश्पर्धा गर्ने छैनन् । निमूखाहरुको लागि यत्रो अवसर आएको रहेछ मैले मात्र किन छोड्ने ।

ऊ जुरुक्क उठ्यो र छाप्रोभित्र पसेर खुकुरी झिक्यो । उसले हावामा एकपल्ट सनसनी खुकुरी नचायो । स्वास्नीले आतङ्कपूर्ण विस्फारित आँखाले उसलाई हेरिन् । उसले सफाइ दियो- धन्दा नमान बुढी अव हाम्रा दिन आएछ ।
ऊ हावामा खुकुरी नचाउँदै खुकुरीदलकै भीडमा विलायो ।

भीड आतङ्ककारीको खोजमा शहरतिर जाँदैथ्यो । अन्यमनस्क उसकी स्वानीले टाढा विलाउँदै गरेको भीडलाई हेरिन् । पश्चिमतिर ढल्कँदै गएको घामको टलकमा असंख्य खुकुरीहरु हावामा चमकचमक चम्किरहका थिए ।

अब के हुने हो ?- त्यो आइमाई आतङ्कित भावले थाप्लोमा हात राख्दै उतै नियालिरहिन् । शहरभने पचास लाखे खबरले ढुक्क थियो ।

Saru Pokharel – Paraai Aama

सरु पोखरेल – पराई आमा

बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ । जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल-व्यवसायीको महत्त्वपूर्ण समय हो । दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन् ।

”बहिनी, फूल दिनोस् न ! धूपबत्ती र प्रसाद पनि राखिदिनोस् है !”

मैले प्लास्टिकको ढकीमा सबै सामग्री राखिदिई बोतलको पानी ती युवतीलाई हात धुन दिएँ । युवतीको साथमा सानो बालक पनि थियो । उनी हात धुँदै थिइन्, ढकीबाट सेता मिठाइको प्याकेट त्यो सानो बालकले टप्प टिपेर मुखले खोल्न थाल्यो ।

”छ्या, किन जुठो हालेको ? भगवान्लाई चढाउन पो किनेको त ! यो चकचके बच्चालाई त लिएर हिँड्नै मन लाग्दैन, हैरान पार्छ । आज यसैका लागि आएकी हुँदा ल्याउँनैपर्‍यो र मात्र !” उनी निधार खुम्च्याउँदै त्यो बच्चालाई हातले धकेल्दै थिइन् । उनले प्रसादका लागि अर्को चोखो मिठाइ फेरि मसँग मागिन् ।

”छोरो हो ?” मैले मिठाइको पोको दिँदै सोधेँ ।

”हो । आज यसको जन्मदिन, यसकै नाममा पूजा गरिदिऊँ कि भनेर मन्दिर ल्याएकी, दिक्क बनाइसक्यो ।”

”कति वर्षको भयो ?”

”२०६० सालको हो, आजैदेखि सात वर्ष लाग्यो नि !” उनी पूजा सामग्रीको पैसा तिरेर हातमा ढकी लिई मन्दिरतर्फ लागिन् ।

पशुपतिको प्राङ्गण बाहिर मैले यसरी फूल-व्यापार गर्न थालेको पाँच वर्ष भइसकेको छ । यो अन्तरालमा हजारौँ मान्छेलाई मैले फूल-प्रसाद बेचिसकेकी छु । आफ्नो यौवन र बाँच्नुपर्ने बाध्यता दुवैलाई मध्यनजर गरी मैले रोजेको यो व्यवसायमा एकातिर म सुरक्षित छु भने अर्कातिर यी मान्छेको हूलमा आफ्ना पीडा-व्यथाहरू भुलाउने प्रयत्न गर्दागर्दै सहजरूपमा बाँच्न सिक्दै गएकी पनि छु । म चोखी हुँ-होइन, म खुट्याउन सक्दिनँ तर मैले बेचेका फूल-प्रसाद पशुपतिनाथमा चढिरहेका छन् ।

आज २०६० माघ ९ अर्थात् आजभन्दा ठीक छ वर्ष अगाडिको त्यो दिन, मेरो जीवनको सबैभन्दा पीडादायी दिन थियो । छातीको घाउमा खाटा त्यति सजिलै कहाँ बस्दोरहेछ र ! म तीतो विगततर्फ धकेलिएँ ।

वि.सं. २०६० साल वैशाख सङ्क्रान्तिको दिन थियो । बा-आमा सङ्क्रान्ति नुहाउन बिहान सबेरै गङ्गाजी जानुभएको थियो । घरमा म एक्ली थिए । गोठमा एउटा माली गाई अनि दुईवटा बाख्रा थिए । म कक्षा १० मा पढ्थेँ तर त्यो दिन विद्यालय बिदा भएको हुँदा बिहानैदेखि गोठ र घरको धन्दा सिध्याएर दिउँसो गाईबाख्राका लागि सेउला-घाँस खोज्न म जङ्गल पसेँ ।

जङ्गलमा त्यस दिन कोही मान्छे भेटिएनन् । बाघ-भालुजस्ता जङ्गली जनावरसँग सामना हुन्छ कि भनेर मन तर्सिरहेको थियो । आफ्नै खुट्टाले खिसि्रक्क ढुङ्गो खसाल्दा पनि झसङ्ग हुन्थेँ । जङ्गलको धेरै भित्र नगई घाँस र सेउलाका भारी पुर्‍याएर र्फकनेक्रममा थिएँ । अचानक जङ्गलमा दुई जना फौजी पोसाकधारी अपरिचित मान्छे भेटिए । सायद तिनीहरू विद्रोही थिए अथवा विद्रोहीको खोजीमा हिँडेका सुरक्षाकर्मी । जङ्गलको बीचमा कुइनेटोजस्तो त्यस ठाउँमा सानो खोल्सो थियो । उक्त खोल्सामा तिनीहरू के गर्दै थिए, त्यो मैले अनुमान नलगाउँदै मेरो घाँसको भारी पछाडिबाट कसैले खोस्यो । म थरथर काँप्दै पछाडि फर्के । उस्तै पोसाकको अर्को व्यक्ति ममाथि गिद्धे आँखा गाढेर उभिएको थियो । मेरो मुटु तेज गतिमा धड्किन थाल्यो । केही बोल्नु त परै जाओस्, ओठ-मुख सुकेर सासै रोकिएला जस्तो भयो । म भाग्ने प्रयत्न गर्न थालेँ तर अगाडिका दुई जना पनि मलाई घेर्न आइसकेका थिए । एउटाले मेरो हात समातेको थियो, अर्कोले खुट्टा र तेस्रोचाहिँ मेरो कपडा च्यात्दै थियो । मैले हात जोडेर बिन्ती गरेँ, छोडिदेऊ भनेँ, रोएँ तर ती मान्छेरूपी दानवभित्र कुनै दया पलाउन सकेन । मैले जोडले चिच्याउने प्रयत्न गरेँ तर मेरो आवाज त्यहीँ घना जङ्गलको बीचबाट पहरामा ठोकिएर मैतर्फ फर्कियो । त्यसबखत मेरो अस्मिता बचाइदिने कोही भएन । आफ्नै गाउँको, आफ्नै पाखाको, आफू हुर्केको-खेलेको जङ्गलभित्रै म त्यस दिन लुटिएँ ।

मैले बेहोसीबाट आँखा खोल्दा घाम डुब्न आँटिसकेको थियो । जङ्गलका रूखपात उस्तै थिए । नजिकै खोल्सामा पानी कुलुलु बगिरहेको थियो । सबै चीज यथावत् रहे पनि म क्षत्विक्षत् थिएँ । एउटा भयानक सपनाजस्तो त्यो बीभत्स घटना यथार्थमा भइसकेको थियो । ती पापीहरू त्यहाँबाट गइसकेका थिए । मलाई उठ्न निकै गाह्रो भयो । भनभनी रिङ्गटा पनि लागेको थियो । लुगाभरि रगतका टाटैटाटा थिए । मैले बा-आमा र घरलाई सम्झेँ । छरछिमेकलाई सम्झेँ । भित्रैबाट भक्कानिएर रून मन लाग्यो । एकछिन त्यहीँ बसेर डाँको छोडेर रोएँ । आधा घाँससहितको डोको पर घोप्टिएको थियो । यही जङ्गलकै रूखमा झुण्डिएर मरुँ कि जस्तो भयो तर आफूलाई सम्हालेर कपडाको रगत सफा गरेँ । छरिएको घाँस र सेउला समेटेर डोकामा राखी सकी नसकी घरतर्फ लागेँ । बाटामा कोही नभेटिऊन् भन्ने लागेको थियो र त्यस्तै भयो । घर आइपुगेँ । बा-आमा अझै फर्किनु भएको थिएन । घरभित्र पसेपछि पुनः खप्न सकिनँ र हिक्का छुट्न थाल्यो । खाटमा घोप्टिएर रोइरहेँ । बाहिर अँध्यारो बढिसकेको थियो, बत्ती बाल्न पनि मन लागेन । बाहिरको अँध्यारोभन्दा पनि आफ्नो जीवनमा भित्रिएको अन्धकारले कहाली लागेको थियो । बाहिर मान्छे हिँडेको र बोलेको आवाज सुनियो । बा-आमा आउनुभएको थियो ।

”निर्जला, किन बत्ती पनि नबालेकी ?” आमाले ढोकाभित्र पस्दै सोध्नुभयो ।

म विस्तारै उठेँ । आमाले टुकी बालिसक्नुभएको थियो ।

”के भयो तँलाई ? सञ्चो भएन कि क्या हो ? अनुहार पनि फुलेको छ, आँखा पनि सुन्निएका छन् !” आमाले मलाई हेर्दै सोध्नुभयो ।

”अँ, टाउको दुखेर खप्नै सकिनँ, त्यसैले ओछ्यानमा पल्टिरहेकी !”

”सञ्चो भएन रे ? ज्वरो पनि छ ?” बा अत्तालिँदै मेरो टाउको छाम्न आइपुग्नुभयो ।

ममाथिका दाजु र दिदी दुवै खसेर म एक्ली बाँचेकी थिएँ । त्यसैले बा-आमाकी म ज्यादै प्यारी थिएँ । बत्तीको छेलमा मेरा आँखाबाट आँसु खसिरहेका थिए । यति धेरै माया गर्ने मेरा बा-आमाले ममाथि आइपरेको त्यो भयङ्कर घटनाको पत्ता पाउनुभयो भने कसरी सहनुहोला ?

आमाले भात पकाएर खान बोलाउनुभयो । म आमाको मन राख्न भाग मात्र बसेँ । एकातिर शरीरको पीडा र अर्कातिर हृदयको पीडाले रातभर छट्पटिइरहेँ । बा-आमा घरिघरि कस्तो भयो भनेर सोध्नुहुन्थ्यो । मैले सिरकभित्र मुख लुकाएर ‘अलि ठीक भएको छ’ भनी ढाटेँ ।

भोलिपल्ट बिहान बिरामीको बहानामा म विद्यालय गइनँ । दिनहरू बित्दै गए । पढाइमा ध्यान दिन पनि सकिनँ । कहीँ कतै आफन्त र साथीभाइलाई भेट्न पनि मन लाग्न छोड्यो तर आफ्नो बदलिएको व्यवहारले कसैमा शङ्का उत्पन्न गराउँछ कि भनेर सकेसम्म आफूलाई सम्हाल्ने प्रयत्न भने गरिरहेँ । मेरो महिनावारी नभएको दुई महिना नाघिसकेको थियो तर यस्तो तलमाथि प्रायः भइरहने हुँदा आमा सायद निश्चिन्त नै हुनुहुन्थ्यो । मलाई खानाप्रति अरूचि बढेको र वाक्वाकी पनि लाग्न थालेको थियो जसले गर्दा मभित्र एक किसिमको डर पैदा भएको थियो तर मैले यी सबै कुरा सकेसम्म अरूबाट लुकाउने प्रयत्न भने गरेकी थिएँ । मैले आफ्नो मन मिल्ने साथीसँग पनि यो कुरा खोल्न सकेकी थिइनँ । एक त आफ्नो ब्राहृमण परिवार, त्यसमाथि पनि पुरेत्याइँ गरेर बाँच्नुपर्ने बाको पेसा! मेरो आङ जिरिङ्ग हुन्थ्यो । जतिजति दिनहरू बित्दै जान्थे, त्यतित्यति नै मभित्र डर, त्रास र पीडा हुर्कंदै गएको थियो ।

एक दिन बा घरमा हुनुहुन्नथ्यो । आमाछोरी भान्छामा खाना खाँदै थियौँ ।

”निर्जला, तँ आजकाल खाना ज्यादै कम खान्छेस्, किन ?” आमाले एक्कासि सोध्नुभयो । मलाई सर्को पर्छ कि जस्तो भयो ।

”साँच्चै, तेरो नछुने नभएको पनि तीन महिना भइसक्यो । के भएको ? बैद्यकहाँ जानुपर्छ कि, क्या हो ?” आमाले फेरि ममाथि झटारो हान्नुभयो ।

मैले जानी-नजानी अनेक बहाना बुनेर आमालाई अलमल्याउन खोजेँ तर आमाले विश्वास गर्नुभयो कि भएन त्यो भने बुझ्न सकिनँ । त्यो रात कटाउन पनि मलाई साह्रै गाह्रो भयो । घरि पासो लागेर मरुँ जस्तो हुन्थ्यो, घरि ठूलो भीरबाट खसूँ जस्तो हुन्थ्यो ।

एक हप्ता जतिपछि आमालाई शङ्का नहोस् भनी मैले पर सरेको बहाना गरेँ । आमाको चिन्ता त हट्यो होला तर मेरो व्यथा झन्झन् बढ्दै गयो । न यो व्यथा म बाँड्न सक्थेँ, न आफैँ कुनै उपाय खोज्न सक्थेँ । कहिलेकाहीँ त बा-आमालाई भनिदिऊँ कि जस्तो लाग्थ्यो तर ६० नाघेका बा अनि दमकी रोगी आमालाई सम्झेर आँट गर्न सक्दिनथेँ ।

मैले जति प्रयास गरे पनि नलुक्ने भइसकेको थियो त्यो कटु यथार्थ, किनकि चार महिनाको गर्भ मेरो पेटमा हुर्किरहेको थियो । मलाई कुनै पनि मान्छेका आँखाको सामना गर्न गाह्रो हुन थालेको थियो । एक दिन आमाकै अगाडि मैले बान्ता गरेँ । आमाले अँध्यारो मुख लाएर मेरो हात चाप्प समाती भित्र लगी सोध्नुभयो- ”निर्जला, मलाई नढाँटी भन्, तँलाई के भएको छ ?”

यसपालि मैले बहाना बनाउन सकिनँ । आमाको काखमा घोप्टिएर हिक्का छोड्न थालेँ । आमा मेरो टाउको उठाएर स्वर कपाउँदै बोल्नुभयो- ”कसको पाप हो कुलाङ्गार्नी ? हामीलाई पहिले मारेकी भए हुन्थ्यो कि अघिल्ला सन्तानजस्तै तँ पनि मरेकी भए यो दिन त देख्नुपर्ने थिएन !”

आमाका शब्दले मेरो मुटुमा कीला ठोकेजस्तै भयो । आफ्नो जीवन बर्बाद पार्नमा मेरो के हात थियो र ? यदि गलत थिएँ भने म मात्र नारी शरीर हुनुमा गलत थिएँ । म केही बोल्न सकेकी थिइनँ । आमा मलाई छोडेर अर्को कुनापट्ट िसुँक्कसुँक्क गर्दै बरबराउँदै हुनुहुन्थ्यो- ”जोरीपारी, छरछिमेकका अगाडि कुन मुख लिएर हिँड्नु ? विष दिएर मार् पापिनी अब हामीलाई !”

मैले खप्न सकिनँ । आमालाई समातेर आफूमाथि भएको सम्पूर्ण घटनाको विवरण बताएँ । त्यसपछि मलाई भने आमाले केही भन्नुभएन तर त्यस रात मेरै अगाडि बालाई रुँदै त्यो कुरा सुनाउनुभयो । जीवनभर इज्जतमा कुनै दाग लाग्न नदिई बूढ्यौलीमा प्रवेश गरेका मेरा बाका त्यतिखेर हातखुट्टा थरथराएका मात्र थिएनन्, मुजैमुजा परेको अनुहारभरि पसिना उमि्रएको थियो ।

बा-आमाले रातभरि के सल्लाह गर्नुभयो कुन्नि, भोलिपल्ट बिहानै आमा मलाई मामाघरतर्फ लिएर हिँड्नुभयो । मामाकी छोरी काठमाडौँको कुनै हस्पिटलमा नर्स हुनुहुन्थ्यो । संयोगवश घर आएको मौका परेछ । आमा र माइजूले दिदीलाई सबै कुरा बताएपछि उहाँले मलाई बोलाएर बेलिविस्तार सोध्नुभयो ।

”खोइ, अब त धेरै ढिलो भएछ, गाह्रो हुन्छ होला, तैपनि नआत्तिनोस् फुपू ! म यिनलाई आफूसँगै काठमाडौँ लग्छु र हुनेसम्म कोसिस गर्छु ।” दिदीले आमालाई सान्त्वना दिने कोसिस गर्नुभयो ।

एक रात त्यहीँ बसी भोलिपल्ट बिहानै दिदीले मलाई काठमाडौँ लिएर आउनुभयो । दिदी त्यस्ता ठाउँहरू, हस्पिटलहरू सबैतिर बुझ्दै हिँड्नुभएछ तर कसैले पनि साढे चार महिना भइसकेको गर्भ फाल्ने खतरा उठाउन नसक्ने बताएछन् । दिदी पनि निराश हुनुहुन्थ्यो, म झन् पीरैपीरले सुकेकी थिएँ । बा-आमाको ज्यादै माया लाग्थ्यो । कुनै उपाय नभएपछि दिदीसँग एक दिन ‘विषालु कुनै औषधि ल्याइदिनोस्, म मर्छु’ भनेर रोएँ ।

म चिन्ताले छट्पटाइरहेकी थिएँ । दिदी ड्युटीबाट फर्किनुभयो । दिदीको अनुहार केही उज्यालो थियो त्यो दिन ।

”नानी, तिमी नआत्तिऊ । पाँच महिना पुग्न आँटिहाल्यो, अब पाँच महिना सहेर यही कोठामा यसरी नै बिताऊ । हस्पिटलमा बच्चा जन्मिनेबित्तिकै त्यसलाई हामी एक निःसन्तान दम्पतीलाई सुम्पिदिउँला । त्यसका लागि मैले सबै बन्दोबस्त मिलाइसकेकी छु ।” दिदी उत्साहित हुँदै बोल्नुभयो । मसँग अर्को कुनै उपाय थिएन ।

दस महिना पूरा भयो, एउटा प्राइभेट हस्पिटलमा मैले बच्चा जन्माएँ । मेरो छातीमा बच्चा राखियो । मेरो जीउ हलुङ्गो भए पनि मन गह्रौं भयो । म पलभरकी आमा थिएँ । केही क्षणमा नै ऊ अर्काको हुँदै थियो । उसलाई लिन बाहिर उसका भावी बाबुआमा उपस्थित भइसकेका थिए । बच्चालाई कपडामा बेरेर मेरो आडमा सुताइएको थियो । ऊ चिहाँचिहाँ गरेर आमा खोजिरहेको थियो । मैले उसको अनुहार हेर्न सकेकी थिइनँ । केही क्षणमा अर्काको हुने सहमति भइसकेको यो बच्चालाई एक झलकका लागि हेरेर म जिन्दगीभरि दुःखी कसरी बनूँ ।

”दिदी, बच्चालाई दूध खुवाउनुहोस् न ! रोइरहेको छ ।” एउटी नर्सले मलाई हेर्दै भनेकी थिई । मेरो दुई घुट्को दूधले एकछिनलाई उसको घाँटी भिजाएर के गर्नु, उसले फेरि कहिल्यै त्यो पाउँदैन, यसले बट्टाकै दूधमा हुर्किनुपर्छ । एकातर्फ बच्चा रोइरहेको थियो, उसको विपरीत दिशातर्फ फर्केर म अभागी आमा रोइरहेकी थिएँ । उसको र मेरो एकक्षणका लागि गाँसिएको नाता, यसपछि हामी आजीवन पराई बन्नेछौँ ।

केही क्षणमा मेरी दिदी आउनुभयो । ”निर्जला, छोरो त कस्तो राम्रो रहेछ ।” उहाँले अञ्जानवश मेरो चोटमा प्रहार गर्नुभयो तर तत्कालै बुझेर सान्त्वना पनि दिनुभयो- ”तिमीले यसलाई जन्माइदियौँ । हुर्काउने बाबुआमा पनि भाग्यवश यसले गतिलो पाएको छ । तिमी आफूलाई सम्हाल । तिम्रो जीवनको बोझ अब उत्रन सक्यो, यही ठूलो कुरा हो । उनीहरूले आमासँग चिनजान गर्दैनाँै भनेका छन् र तिमीले पनि उनीहरूलाई नचिनेकै राम्रो हुन्छ । एक पटक हेर्न मन छ भने यसलाई हेर, नत्र म पुर्‍याइदिन्छु” दिदी भन्दै हुनुहुन्थ्यो ।

आफ्नो मुटुको टुक्रो आफैँबाट छुट्याइने क्षण म कसरी खप्न सक्थेँ ? मैले उसको अनुहार नहेरी स्पर्श गरेँ । छातीमा टाँसे र गाला र निधारमा चुम्बनको वर्षा गरेँ । उसका कलिला हात मुसारेँ । एक मन यो बच्चा लिएर भागौँजस्तो लाग्यो तर उसको भविष्यका लागि उसलाई मैले आफूबाट छुटाउनैपथ्र्यो । हृदयमा छुरी रोपेर आफूलाई सम्हालेँ । केही क्षणमै मेरो आडको ओछ्यान चिसो भइसकेको थियो । छाती आँसुले भिजेको थियो । अघिसम्मको मेरो आफ्नो छोरो अब पराई बनिसकेको थियो । जीवनको अर्को ठूलो पीडा बोकेर हस्पिटलबाट रित्तै फर्केकी थिएँ म । त्यसपछि गाउँ नफर्की आफूलाई भुलाउन यहीँ पशुपतिनाथको मन्दिरबाहिर फूल बेचेर बाँचेकी छु ।

”बहिनी, लिनुहोस् ढकी !” ती फूल लग्ने युवती दर्शन गरेर फर्किसकेकी थिइन् । एक हातले रित्तो ढकी मतर्फ बढाउँदै थिइन्, अर्को हात उनको छोरोले च्याप्प समातेको थियो ।

”ममी, अघिको जस्तै सेतो मिठाइ, म फेरि खाने, किनिदिनोस् न !” उसले आफ्नी आमालाई अनुरोध गर्‍यो । मैले सबैभन्दा ठूलो प्याकेट झिकेर उसको हातमा थमाइदिएँ ।

”सानो दिनुहोस् न, त्यत्रो होइन !” उसकी आमाले पैसा झिक्न खोज्दै भनिन् ।

”यो बाबुको आज जन्मदिन रहेछ । मेरोतर्फबाट यही उपहार भयो, यसको पैसा चाहिँदैन ।” मेरो कुराले उनलाई अचम्मित तुल्याएछ । उनी मलाई पैसा लिन कर गर्दै थिइन् तर मैले इन्कार गरेँ । उनी धन्यवाद भनेर अगाडि बढिन् । बालक मतर्फ हेर्दै मुसुक्क हाँसेर हात हल्लाउँदै आमाको पछि लाग्यो । तिनीहरू भीडमा नहराउञ्जेल मैले हेरिरहेँ ।

मधुपर्क २०६७ असोज

Sanjay Bista – Pul

सञ्जय बिष्ट – पुल

यो गाउँको समाप्तिदेखि पूर्वतिर प्राय: एक माइल फैलिएको बाक्लो जङ्गलको समाप्तिमा एउटा खोला छ। नबगेर घरि घरि ढुङ्गादेखि ढुङ्गासम्म खस्नुपर्दा पानीले सेतो फिँज जन्माइरहन्छ। दुधजस्तै बगिरहने यो खोला पाहाड़का धेरै खहरेहरूजस्तो नभएर हिउँदमै पनि आफ्नो अस्तित्वको घोषणा गर्दै बगिरहन्छ। खोलाका दुवैतिरको कालो भित्तामा कटुस, महुवा, पिप्ली, काउँलोहरूको ठुला-ठुला छॉंयादार रुखहरू उभिएको छ, कहिल्यैदेखि। घाम लागेकै मध्य दिनको उज्यालोमा पनि सॉंझको जस्तो अँध्यारो उज्यालो हुन्छ त्यहॉं। गाउँको सॉंझ त त्यहॉं रात परिसक्छ। सेतो बगे पनि काली नाम पाएको त्यो खोलाको नामकरणको कारण खोजुपर्दा छिटो र विश्वासिलो त्यसको त्यही अँध्यारो वातावरण भेटिन्छ। अँध्यारो त्यही वातावरणमा हल्लने पुलबाट हल्लँदै-हल्लँदै खोला तरेपछि पुन: उस्तै बाक्लो जङ्गल भेटिन शुरू हुन्छ। प्राय: एक माइलजति नै फैलिएको जङ्गलको दक्षिण पूर्वतिरको समाप्तिमा एउटा घर भेटिन्छ। अर्को घर भेटिन्छ। अर्को घर, अर्को घर, अर्को गाउँ भेटिन्छ।
काका, मामा, बड़ा, फुपा, अरू साइनो र परिचयकाहरू धेरै छन् यता उताकाहरूको। त्यसैले धेरै छन् उता यताकाहरूको। तिनीहरू यिनीहरूको, यिनीहरू तिनीहरूको जन्ती पनि मलामी पनि। विवाह , मरौ, सत्यनारायण, चिन्ता, दोमाङ लामो छैन दुवैपट्टिकालाई दुई माइजजत्तिको यो सानो गोरेटो। पुललाई हल्लाएर पुलले हल्लाएर हल्लँदै-हल्लँदै यिनीहरू पारि पुग्छन् । तिनीहरू यसरी नै वारि आउँछन्।

सॉंझमा बुढ़ा भन्दा हुने एकजनासँग पैँतालिसजत्तिको एकजना र दुईजना त तन्देरी नै आँगनमा आइपुगे।
तन्देरीहरू दुवैलाई रत्नमानले कतिचोटि देखेको तर बुड़ो भन्दा हुने शमशेर र पैँतालिजत्तिको ललितलाई उसले राम्रैसँग चिनेको थियो। चिनेको, नजिकबाटै चिनको र दाजु हर्कमानले ‘‘काम गर्ने फेरि जातकै रै’छ,’’ कारण भनेर ‘‘केई नभन्नू’’ हिजै भनेको हुँदा आउनेहरूले विशेष रत्नमानबाट जुन व्यवहारको सम्भावना गरेका थिए। त्यहॉं त्यसो केही भएन।
‘‘लुला-लङ्गड़ा थिएन रै’छ। मागेको भए दिन्थेँ म। दु:ख त्यतिकै लागेको छ।’’ रत्नमानले आउनेहरूलाई भन्यो तर।
‘‘आजको केटाकेटी,’’ भन्यो शमशेरले।
आउने तन्देरीहरू एकाअर्कालाई हेरेर मुसुमुसु हॉंसे।
‘‘अबऽऽऽ’’ लेघ्रो तानेर शमशेरले नै झोलाबाट कॉंसाको ठुलो थाल झिक्यो। हात कोटको गोजीमा हाल्यो र चार-पॉंच थुँगा सयपत्रीसित निकाल्यो।
त्यो देखेर आफूछेउको झोला अघिल्तिर सार्यो ललितले। बोतलहरू ठोक्किएका भरिला आवाज झोलाभित्रबाट आए।
मिल्ने कुरा थियो। मिल्यो पनि सजिलैसित।
‘‘छुट्टी दुई महिनाको। गयोपछि फेरि कैले हो कैले। बिहा छिट्टै गरिदिने कुरा छ,’’ नभूल्नू भन्नु भनेको थियो, सम्झेर भनिहाल्यो ललितले।
भाइ रत्नमानलाई हेरेर ‘‘ठिकै छ,’’ भन्यो दाजु हर्कमानले।
‘‘दाजु-भाइको साइनो थियो सन्तकुमारसित अब सम्धी भयौँ,’’ रत्नमानले भन्यो।
खाना खाएर अलइलि मातेका तिनीहरू पुल्ठोको उज्यालोमा बाटो लागे।
‘‘पोहोर धनवीरको छोराको चोरको सोरमा गा’को दवाईपानी। तीन घण्टाजति टङ्राको छ बाइरै,’’ सम्झेर भन्यो शमशेरले बाटोमा।

एक-दुई, एक-दुई आउँदै थिए सन्तानहरू।
गाउँका स्वास्नीमान्छेहरू आफ्नो-आफ्नो घरबाट एउटा-एउटा नाङ्लो चेपेर आउन थाले।
कम्मरमा खुकुरी भिरेर आए समाजका केटाहरू।
बॉंसहरू ढालिए; तिरपाल, टेबल-चौकी, भॉंड़-वर्त्तन र धुप्पीका हरियो स्याउला पनि ओसारिए।
‘‘एक्कैजना पनि नछुटोस्,’’ भनेर रत्नमानले निम्तो बॉंड़्न जाने केटाहरूलाई ‘‘नराम्रो नहोस् कस्सैसित,’’ पनि भनेको थियो।
विवाहको रमझम पुरै शुरू भइहाल्यो रत्नमानको घर-आँगनमा।
अस्तिदेखि, सुनैकैदेखि, बुझेकैदेखि रत्नमानको एघार वर्षको छोरा उपेन्द्र साह्रै खुशी छ। घरकै बिहामा त्यसले पहिलोचोटि खुशी हुनपाएको छ। त्यसका दौँतरीहरू पनि उत्तिकै खुशी छन्। साथीहरूलाई त्यो खुशी दिने त्यसको दिदीको बिहा— खुशी त्यसलाई यसको अझ ठुलो छ।

अस्ति काटेको ठिक्कको बॉंसको टुप्पामा दुईवटा हर्न बॉंधेर दुईवटै गाउँपट्टि फर्काएर खनिराखेको खोपिल्डामा गाड़ेपछि हिजै बेलुकीदेखि बज्दैछ; क-कसलाई मन परेकोहरू कुन-कुन बजा भन्छ बजाउनेलाई— त्यही-त्यही। हिन्दी पनि, नेपाली पनि। नयॉं पनि, पुरानै पनि। आधा पनि पुरै पनि गीतहरू।
केटाकेटीहरू कराएको, स्वास्नीमान्छेहरू हॉंसेको, बात गरेकाहरू, कराएर सोधेको, कराएरै जवाब दिएको, माइकमा गीत बजेको मिसिएर हल्ला भएको छ।
एकजनालाई ‘‘कुख्राले पो पुग्ला के?’’ सोधेर पारि हेर्यो रत्नमानले अनि नाड़ीको घड़ी हेर्यो।
‘‘एघार बजी आइपुगोस् जन्ती,’’ सोधनीमा आउनेलाई भनिपठाएको थियो उसले। साढ़े एघार भइसकेको रहेछ।
‘‘काम गर्नेहरूलाई ऐले नदिनू। बेल्का खाओस् जत्ति खान्छ। अलपत्रै पार्छ फेरि।’’ भनिराखेर रत्नमान घरभित्र पस्यो।
एक छिन माइक नबज्दा सुनेछ एकजनाले, कुदेर घरमाथिको ठुलो ढुङ्गामाथि सजिलै चढ़िहाल्यो त्यो केटो।
‘‘आउँदैछ, आउँदैछ।’’ घरपट्टि फर्किएर त्यसले कराएपछि ढुङ्गामाथि थुप्रै भइहाले।
माइक बन्द गर्न लाएर एकजनाले ढुङ्गामाथि चढ़ेर सुनेको—सॉंच्चै बज्दै रहेछ सनाई खोलाछेउतिर जङ्गलबिचमा।
फर्केर त्यो मान्छे आएपछि एउटा केटाले एउटा टेबल र अर्को केटाले दुईवटा काठको बेन्ची दुईवटा हातले उचालेर घरमुन्तिर बाटोमा झर्यो। पछिपछि झरे तीन-चार केटीहरू पानी भरेकोमा फूल भरेका गाग्रीहरू र कॉंसाको थालमा बलिरहेको दियो पनि बोकेर।
सेतो फेटा बॉंधेको शमशेर र ललित माथिबाटै झरेर खोर्सानीको मालासित केराको थाम काटेर बनाएको मादल भिरेर माथि बाटो पुगेको केही समयपछि जन्ती परबाट घुमेर तल घरमुनि निस्किए।
धेरैले पहिला नदेखेको बेहुलालाई जस्तै देखेकै बेहुलीलाई पनि पुगेका सबैले नयैँ हेरे।
त्यहॉं सकिएपछि उक्लिए लहरै जन्ती आँगनमा। अब, अहिलेसम्म एउटा केटोले बोकेको थुन्चे सिङ्गारिएकी राम्री बेहुलीले बोकी। नसुहाएको देखेर वरिपरिकाहरू एकसाथ हॉंसे। लजाएकी बेहुली थप रातो, तातो अनुहारसित थुन्चे बोकेर घरभित्र पसी।
तिनीहरूकै निम्ति सजाएर बनाइएको ठाउँमा दिदी-भेनाहरू बसेपछि उपेन्द्रले दुई-तीनचोटि सिङ्गारिएकी दिदी-भेनाछेउ जाने कोसिस गर्यो। एकपल्ट छेउ पुगेको त्यसलाई दिदीले हातमा समाएर तानेपछि छेउमा बसाएकी पनि थिई। खुशीले फुलेको उपेन्द्रलाई तर ठुली फुपूले ‘‘तँ जा, तँ जा,’’ भनी। उसको हात समाएको दिदीका औँलाहरू खुकुलिए। नमिठो मानेर त्यो त्यहॉंबाट उठ्यो। प्राय: दिनभरि नै त्यसलाई आफू सबैबाट वेवास्ता भएको लागिरह्यो।
कत्ति माइल हिँड़ेजस्तो थाकेका काम गर्नेहरू पनि राति कति बजीसम्म नाचिरहेका थिए।
एक बजीतिर होला, माइक बन्द भएपछि कुनि किन रत्नमानलाई एक प्रकारको गह्रौँपनबाट मुक्त भएको लाग्यो।

बनाउनेहरूले नै थोरै समयमै आँगनका लामा-लामा टेबल-चौकीहरू भत्काए। गाड़ेका बॉंसहरू उखेले। जहॉं-जहॉंबाट बटुलिएका थिए— ठुल्ठुला डेक्चीहरू, टेबल-चौकीहरू, आवश्यक अरू के-केहरू पुर्याइए—चिह्नहरू हेर्दै।
मामा-माइजू फर्किए।
गिङको छेमा-काका पनि फर्किए।
काकाहरू पनि गए गेलका।
बिहान ठुली फुपू हिँड़ेपछि घर साह्रै सुन्ने लागेको थियो आमा-बाबुलाई भन्दा धेर उपेन्द्रलाई तर दिउँसो एक बजीतिर दिदी-भेना आइपुगे।
थोरै समयलाई फर्किआएको पुरानो सामान्यता लगत्तै फर्केर गइहाल्यो।
भर्खर आइपुगेको भेनाले दैलोमा उभिरहेको उपेन्द्रलाई ‘‘एता आऊ,’’ भन्यो।
सुनेर त्यसलाई ठुलै हर्क लागिहाल्यो।
बाहिर त्यसका साथीहरू थिए आँगनमा। त्यो भित्रै बसिरह्यो भेनासँग।
बेलुका भेनाले त्यसलाई भन्यो, ‘‘घुम्नु जाऊँ सालो।’’
‘‘कता जानु?’’ आँगनमा निस्किएर त्यसले भेनालाई सोध्यो।
‘‘परतिर,’’ हातले पनि देखायो भेनाले।
त्यसका दुई-तीन साथीहरू पनि पछि लागे।
निक्कै पर पुगेपछि भेनाले गोजीबाट सिग्रेट र माचिसको बट्टा निकाल्यो। बट्टाबाट एउटा सिग्रेट निकालेर ओठमा चेप्यो; माचिस कोरेर सिग्रेट जलायो अनि दुई औँलाले चेपेर, ओठदेखि छुटाएर, धुवॉं छाड़ेर नाक र मुखबाट सँगसँगै भन्यो, ‘‘घरमा नभन्नू नि।’’
‘‘हुन्छ,’’ त्यसले टाउको पनि हल्लायो।
अर्को दिन दिदी-भेना फर्कनलाग्दा ‘‘म पनि जान्छु,’’ भनेर उपेन्द्रले ढिपी गर्यो।
आमा-बाबु दुवैले सम्झाए।
त्यो मानेन।
आमा-बाबु दुवैले हकारे।
त्यो मानेन।
‘‘अर्कोपालि लान्छु,’’ दिदीले भनी।
त्यसले केही भनेन।
‘‘म आउँछु लिनु,’’ भेनाले भन्यो।
त्यो मान्यो।

दुई महिनाजति पछि माइत आएकी दिदीले भाइलाई आफ्नो घर लगी। कतिचोटि हिँड़िसकेको बाटोमा हिँड़्दै-हिँड़्दै उपेन्द्र अघि कहिल्यै नहिँड़ेको बाटोमा पुग्यो।
माथि पनि, तल पनि ठुला-ठुला रुखहरू भएको सानो तेर्सो बाटो जब अचानक देब्रे घुम्यो, कानमा ठुलै स्वॉं… परेर एकपल्ट तर्सियो उपेन्द्र।
‘‘के हो?’’ सोध्यो त्यसले दिदीचाहिँलाई।
‘‘खोला,’’ भनी दिदीले।
त्यसलाई लाज-लाज लाग्यो। खोला छ ठुलो—साथीले सुनाएको बिर्सेको थिएछ त्यसले।
‘‘क्या हल्लिन्छ भाइ,’’ त्यसले सम्झ्यो।
जब दिदी-भाइ पटेर ठुला-ठुला रुखहरूले घाम र उज्यालो छेलेको भित्र पुगे; एकदम लामो पुल झुन्डिएको उपेन्द्रले देख्यो।
उभिएर बाटोमाथि हेरी दिदीले। बाटोमुनि हेरी तर बाटोमाथिबाटै बुथुरे बोटबाट पॉंच-6वटाजत्ति तितेपातीका पातहरू टिपी।
दुई-तीनवटा भाइलाई दिएर दाहिने हातमा, देब्रे हातमा समाई भाइको।
पुल देखेरै जिउ गलेर आएको थियो उपेन्द्रको। तर मुटुको ढुकढुकीसित दिदीलाई हात समाउन दिएर त्यसले पहिलोपल्ट पुल टेक्यो।
दिदीको प्रत्येक पाइलामा पुल अलिक धेर, अलिक धेर हल्लिन्थ्यो। उपेन्द्रले आफ्नो शारीरिक सन्तुलन हराउँदै गयो।
पुलको मध्यतिर पुगेपछि उभिई दिदी। उभ्नै पर्यो त्यसलाई।
तलतिर हेरेर ‘‘फ्यॉंक्’’ भनी दिदीले।
तलतिर नहेरी उपेन्द्रले मुट्ठी खोल्यो।
तर अब आधा पुल हिँड़िरहेको त्यसले अघि हराएको शारीरिक सन्तुलन बिस्तारै पाउँदै गयो। जीवनमा पहिलोचोटि त्यसले त्यसरी हल्लिँदै-हल्लिँदै त्यो पुलमा हिँड़ेर जमिन टेक्यो। जमिन टेकिसकेको त्यसले तर आफूलाई हल्लिरहेकै पाएको थियो।
हप्ता दिनजत्ति दिदीघर बस्दा साथीहरू त्यसका थुप्रै भइहालेका थिए। कुदेर कस-कसका घर-आँगनमा पुग्थ्यो त्यो साथीहरूसँग। यता र उता त्यसले फरकै पाएन।
पछिबाट पनि दिदी दुई-तीनचोटि यता घर आएकी थिई। दिदी फर्किने बेलामा प्रत्येकचोटि त्यसले ‘‘जान्छु नि,’’ भन्यो।
‘‘स्कुल चैँ,’’ भनेर त्यसलाई बाबुले जानु दिएन।
दसैँमा छुट्टी आएको पल्टने भेनासित दिदी आएकी थिई। हतार-हतारमा जानैपर्ने घरहरूमा गए तिनीहरू।
‘‘पहिलो साल हो, मामाहरूको तिर गएकै छैनौँ। रिसाउँछन् फेरि।’’ ज्वाइँले सासू-ससुरालाई भने।
‘‘जानुपर्छ, पुग्नुपर्छ चाड़बाड़मा,’’ रत्नमानले भनेको थियो।
आएको दुई दिनपछि फर्किने बेलामा ‘‘जान्छु नि,’’ भनेन उपेन्द्रले दिदी-भेनालाई।
चार-पॉंचवटा चकलेट र एउटा सयपत्रीको फूल दिएर दिदीले ‘‘भाइटीकामा आउनू,’’ भनी ।
‘‘पहिल्यै आउनू, देउसी उत्तै खेल्दा पनि हुन्छ,’’ भनेर भेनाले दस रुपियॉंको नोट पक्रेको हात उपेन्द्रतिर बढ़ायो।
दिदीको ‘‘थाप्’’ सुनेर नथापी उभिरहेको त्यसले थाप्यो।
दसैँ भर्खरै सकिएर अब पटेकाहरू पड़्किन थालेका थिए। बिसाउनै नपाई मान्छेलाई तिहारले छोपिहालेको थियो। अँध्यारो अनुहारको ललित आइपुग्यो पारिबाट ज्वाइँको बाजे खसेको खबरसित। रत्नमान र हर्कमानसित ‘‘जानुपर्छ, जान्छु म पनि’’ भन्ने अरू आठ-दसजना हिँड़िहाले वारिबाट।
सोद्धा ‘‘जुठो परेको छ, किन जानु? नजानू,’’ भन्यो बाबुले उपेन्द्रलाई।
रातो पटेका पड़्कायो; झिरझिरे बाल्यो; देउसी खेल्यो; ठुलो बड़ाकी छोरी दिदीले टीका लाइदिई त्यसलाई। आफू पारि जानु नपाएको सितै दिदीको पनि यादै आएन त्यसलाई तिहारभरि।

चौध-पन्ध्र महिनाको अन्तरालमा मात्र उपेन्द्रले दोस्रोचोटि पारि दिदी-भेनाको घर जान पायो आमासित।
पुलवारि ‘‘ले झोला’’ भनेर आमाले उपेन्द्रले झुन्ड्याएको झोला देब्रे हातमा झुन्ड्याई। आफूले दाहिने हातमा झुन्ड्याएको झोला कॉंधमा भिरी। भिर्दा झोलाभित्रका मसिना दुई कुखुरा फेरि च्यॉंऽऽऽच्यॉं कराए।
‘‘हात ले,’’ छोरातिर देब्रे बात बढ़ाई ।
तेह्र टेकेको त्यसले ‘‘होस्, होस् सक्छु,’’ भन्यो।
आमाको हात नसमाई दोस्रोचोटि दिदी-भेनाका घर पुग्न त्यसले हल्लिँदै-हल्लिँदै पुलबाट तेस्रोपल्ट खोला तर्यो।
‘‘लाऽऽऽ’’ पुलपारि पुगेको त्यसले आमालाई हेरेर भन्यो।
‘‘के भयो?’’सोधी आमाले।
‘‘बिर्सेछौँ नि पात चढ़ाउनु,’’ भन्यो त्यसले।
‘‘होस् अब,’’ मुसुक्क हॉंसी आमा।
तिनीहरू पुग्दा दिदी ओछ्यानमा ढल्किरहेकी थिई। आमा र भाइलाई देखेर अलिकति उठी। कुनापटिबाट नानी उठाई। आमालाई दिन खोजी।
‘‘एक छिन’’ भनेर आमाले अघिपटिको अङ्गेटीको आगो छोई अनि छोरीको हातदेखि नाति लिई।
त्यही दिनको त्यही क्षण आमाको काखमा पहिलोपल्ट सानु भानिज देखेको हो— उपेन्द्रले।
‘‘अब एक्लै जान सक्छु,’’ फर्कँदा त्यसले बाटोमा आमालाई भनेको थियो।
पछिबाट त उपेन्द्रका छुट्टीहरू दिदीकै घरमा बित्न थाले। साथीहरू त्यसका त्यहॉं पनि थुप्रै भएका थिए।
घरिघरिको ओहोर-दोहोरमा पुलको हल्लाइबाट उत्पन्न भयहरू उपेन्द्रबाट निख्रिँदै गए। क्रमश: आनन्दको मात्रा बढ़्दै गयो हल्लाइहरूमा।

‘‘भोलि सँगै हिँड्,’’ आमाले भनेकी थिई।
‘‘जान्छु आजै,’’ त्यो मानेन।
हिँड़्यो मामा त्यो अघिल्लै दिन भानिजको छेवरमा केश काटिदिन भानिजको।
गाउँको अन्तमा पी. एच.ई.-ले बनाएको पुरानो पानीको ट्याङ्कीमा लेखिएको—बंगालमा हामी बस्दैनौं-हरू त्यसले हिँड़्दै पढ़्यो। बजार जाने सड़कका भित्तातिर पनि त्यसले यस्तै वाक्यहरू पढ़ेको थियो। किन बस्दैनौँ? चिहान कसरी?—त्यसले अलइलि बुझ्दैथ्यो।
पुलवारि बाटोमाथि चढ़ेर त्यसले तितेपातीका बोटहरूमा पात खोज्यो। नभएका बोटहरूबाट तीन-चार पातहरू टिपेर त्यो बाटोमा उफ्र ्यो।
हल्लिँदै-हल्लिँदै पुलको बिचमा पुगेर बलियो तारको लठारो बलियो समातेर एउटा हातले, त्यो उभियो। ढ़ुङ्गामा ठोक्किएर उचालिँदै बगेको पानीमा दृष्टि केन्द्रित गरिरहँदा ओह्रालो बगिरहेको पानीले उल्टो बग्नु थालेर त्यसलाई पनि उक्कालै बगाउनु थाल्यो। रिङ्गटा लाग्न थालेजस्तो लागेपछि त्यसले दृष्टि फैलायो त्यो केन्द्रदेखि। अब त्यो पुलमाथि उभिएको थियो। खोलाको पानी ठुलो आवाजसित ओह्रालो बगिरहेथ्यो। लठारो नसमाएको हातका पातहरूलाई त्यसले तलतिर खसायो। बगेको पानीले जन्माएको हावाले पातहरूलाई यता-उता, यता-उता उड़ाउँदै तर त्यसैको इच्छानुरूप पानीको मुल्कोमै खसे केही। त्यो निर्जनतामा मुसुक्क हॉंस्यो त्यो।
छेवरको दिन मामा त्यो निक्कै महत्त्वपूर्ण भएको थियो त्यहॉं । त्यो हुलमूलमा, त्यो हतारोमा उपेन्द्रले पहिला पनि देखेको व्यस्त शान्तिलाई देख्यो—अरूहरूलाई जस्तै।
अरूहरूजस्तै कुनै कारणवश उपेन्द्रसँग शान्ति एक क्षण नजिक हुन्थी, शान्तिसँग उपेन्द्र छुटिहाल्थ्यो। दिनभरिमा कतिपल्ट कारणवश नजिकिएर व्यस्ततावश छुट्टिए तिनीहरू एकाअर्कासँग दुवैले गन्ती गरेनन्।
सॉंझमा उपेन्द्र अलग्गै एउटा बेन्चीमा एक्लै बसेको थियो। नयॉं लुगामा मैला नलागोस् चाहेर कम्मरदेखि मुन्तिर पुरानो लुगा बेह्रेकी शान्ति आई।
‘‘थाक्नु भो?’’
सोधिएको एउटा थाक्ने मान्छेलाई मात्रै होइन-होइन लागिरह्यो सत्र नाघेको उपेन्द्रलाई।
मुसुक्क हॉंस्यो त्यो।
‘‘चिया पिउनुहोस्,’’ भनी।
उपेन्द्रले हेरिरह्यो शान्तिलाई।
‘‘ल्याइदिन्छु म,’’ भनी अनि गइहाली लिन पनि।
‘‘कहिले फर्किनु हुन्छ?’’ आएर चिया दिएर सोधी।
‘‘भोलि होला,’’ भन्यो त्यसले।
‘‘एक-दुई दिन बस्दा के हुन्छ?’’ अर्कैतिर हेरेर सोधी शान्तिले।
सुनेर लाटियो त्यो।
शङ्काका दृष्टिहरूले घेरियौँ—दुवैलाई लागेपछि सहज हुन खोज्दै शान्ति गइहाली त्यहॉंबाट। मुढ़ाजस्तो उपेन्द्र त्यहीँ बसिरह्यो।
नबस्दा के हुन्छ?—सबभन्दा ठिक जवाब ऐले पो प्रश्नमै आएपछि त्यसले मनमनै ‘‘थुक्क!’’ भन्यो।

यो गाउँको समाप्तिदेखि पूर्वतिर एक माइल फैलिएको पातुलो जङ्गल (?) -को समाप्तिमा एउटा खोला छ। नबगेर घरिघरि ढुङ्गादेखि ढुङ्गासम्म खस्नुपर्दा पानीले सेतो फिँज जन्माइरहन्छ। दुधजस्तै बगिरहने त्यो खोला पाहाड़का अन्य खहरेहरूजस्तो नभएर हिउँदमै पनि आफ्नो अस्तित्वको घोषणा गर्दै बगिरहन्छ। खोलाका दुवैतिरका फुस्रा भित्तामा रुखका छोटा-छोटा बुटाहरू बसेका छन्। गाउँमा घाम अस्ताएपछि पनि केही समयसम्म त्यो पाखालाई घामले हेरिरहन्छ। सॉंझ सँगसँगैजस्तो पर्छ गाउँमा र त्यहॉं । सेतो बगे पनि काली नाम पाएको त्यो खोलाको नामकरणको कारण खोज्दा अब नाममा विरोधाभास भेटिन्छ। एएएप्राय: एक माइलजत्ति नै फैलिएको पातुलै जङ्गलको दक्षिण-पूर्वको समाप्तिमा एउटा घर देखिन्छ। अर्को घर देखिन्छ। अर्को घर, अर्को गाउँ देखिन्छ।
काका, मामा, फुपा अरू साइनो र परिचयकाहरू कोही छैनन् उता यताकाहरूको। जन्ती र मलामी यिनीहरूको पनि तिनीहरूको पनि घटेको छ। फूल बोकेर सत्यनारायणको कथा सुन्नु आउँदैनन् तिनीहरू। पुल्ठो बालेर चिन्ता हेर्नु जॉंदैनन् यिनीहरू। पुलले हल्लनु छाड़ेको छ। पुलले हल्लनु नै छाड़ेको छ।

आठ बजे लागेको स्कुल बाह्र बजे छुट्टी भएर नानीहरू घर गइसकेका थिए। एउटा चौकी निकाल्न लगाएर बी. बी. सर दिउँसोको घाम तापिरहेका थिए। तिनीहरू तीनजना साढ़े बाह्रतिर आइपुगे। एक बजेसम्म पर्खँदा तिनीहरू तीनबाहेक बी.बी. सरसित गाउँका एघारजना मात्रै भए।
चौधजनामै सभा बसियो पहिलोपल्ट।
‘‘हुनुपर्छ, गर्नुपर्छ’’ भन्दा ‘‘गर्नुपर्छ, तपाईँहरू आइदिनुहोस्।’’ भन्ने बी.बी. सर थिएछन्। अलिक पाको सोझो जसवीर तामाङलाई ‘‘सभापति दाजु नै बसिदिनुपर्छ,’’ भने सरले।
‘‘हो, हो’’ भन्यो एकजनाले समर्थनमा।
अर्कोले पनि त्यसै भन्यो।
‘‘सचिव हामीले सरलाई नै सोचेका छौँ,’’ आउने एकजना बोल्यो।
‘‘हुन्छ, हुन्छ। ठिक छ।’’ भनिहाल्यो एकजनाले।
दोहोर्यायो अर्कोले।
उपसभापति, सहसचिव र कोषाध्यक्ष छानेपछि,‘‘एघारजनाको एक्जुकेटिभ बडी बनाउनुहोस् मिटिङ राखेर,’’ सल्लाह दियो आउने एकले।
शुरूमा घर-घर घुमेर एघार रुपियॉंको सदस्यता ग्रहण गराउने काम भयो। यसरी घुम्ने क्रममा दुई-तीन घर कारण बनाएर बी. बी. सर गएनन्।
राजनीति र हाम्रो सम्बन्ध बेग्ला-बेग्लै हो भन्नेहरू आफ्नो विचार भ्रमात्मक पाएर ठुलो खोलामा मिल्दै थिए भकाभक सानो खोला भएर। स्थितिसित सम्झौता गरिसकेको थियो विक्रमले पनि। आफ्नो सानो कोठेबारी भएको सानै परिवारको टाउके मान्छे विक्रम जातीय स्वार्थमा दलगत राजनीतिक स्वार्थको हत्या गरेँ भनी अब चॉंड़ै घोषणा गर्नेछु भन्ने विचारसित घरमै बसिरहेथ्यो। ‘‘भोलि पॉंच बजी स्कुलमा आउनू,’’ भन्ने पार्टी सेक्रेटेरीको हुकुमसित दुईजना टाटे-पाङ्रे लुगा लगाउने केटाहरू आइपुगे।
दिउँसो ‘‘बेलुका झर है,’’ भन्न पुगेका थिए बी. बी. सर उपेन्द्रकहॉं।
‘‘मान्छे भेला नगरेर बरू घरमै गएर सम्झाउँदा हुन्थेन?’’ विचार बताएको थियो उपेन्द्रले।
‘‘हुँदैन त्यसलाई अब। अस्ति पनि पारि पुगेर आएछ।’’ कड़ा स्वर गरे सरले।
‘‘तरै पनि फेरि पनि एकपल्ट सम्झाउँदा हुन्थ्यो कि?’’ उपेन्द्रले भन्यो।
‘‘हुँदैन त्यसलाई। हुँदैन अब। बुझ्दैन त्यसले।’’ भने सरले।
बुझाउने कोसिस नै कहिले गर्यौँ हामीले हाम्रैहरूलाई?—शब्दहरू जोड़िए उपेन्द्रभित्र। आवाज भएर बाहिर ननिस्की केही क्षणपछि भत्के भित्रै।
झर्दिनँ भरे।—निश्चयजस्तै गरेको थियो त्यसले। तर केले-केले तानेर त्यसलाई भेला हुनेहरूको समूहमा मिसायो सॉंझमा।
‘‘माटो नचाइने तिमी एक्लै रहेछौ गाउँभरिमा,’’ पनि भने सरले विक्रमलाई। थपे हॉंकसित ‘‘विरोधी तिमी नै निस्क्यौ गाउँभरिमा।’’
‘‘विरोध गरेको जस्तो त लाग्दैन सर आजसम्म त,’’ नम्रतापूर्वक भन्यो विक्रमले।
‘‘मान्छेले सर्वस्व त्यागेको बेला समर्थनसम्म नगर्नुलाई विरोध नभन्नु? समर्थनको उल्टा असमर्थन हुन्छ। असमर्थन भनेको विरोध होइन?’’ उकिल भए सर।
हो-हो लागिहाल्यो थुप्रैलाई।
‘‘रातो लुगा सुकाउँछौ जैले पनि आँगनमा। त्यसको अर्थ के हो?’’ सोधे सरले।
सुकाउनुको अर्थ सुकाउनुबाहेक अरू पनि हुनसक्छ भन्ने विक्रमलाई थाहा थिएन।
‘‘पारि घरिघरि जान्छौ तिमी। त्यसैबाट तिम्रो विचार बुझिहालिन्छ।’’
‘‘सन्तानै पारि छ,’’ विक्रमले भन्यो।
‘‘सन्तान हाम्रो छैन पारि?’’ हेरे सरले वरिपरि।
विक्रमले केही भन्नु सकेन फेरि।
केही भन्नु सकोस् चाहेर अँध्यारो अनुहारहरूले, नसकोस् एक शब्द निकाल्नु मुखबाट —चाहेर उज्यालो अनुहारहरूले उसलाई हेरिरहे।
‘‘समाज बहिष्कार गरिसकेको छ अरूतिर तिमीजस्तोलाई,’’ सरले भने।
सुनेर ‘‘अहिले केही भइहालेको छैन। हामी यसरी भेला हुनुको उद्देश्य सपार्नु हो। बिगार्नु होइन। मिलाउनुपर्छ अब। मिल्नुपर्छ।’’ पाको, सोझो र दयालु पनि सभापतिले भने।
‘‘हो-हो’’ भन्यो उपेन्द्रले।
थुप्रैले दोहोर्याए।
अन्तमा एक सय एकाउन्नको सदस्यता र एकाउन्नको झन्डा किनाएपछि कुरा मिलेको मानियो।
पुरानो रिस—कतिले मनमनै भने। कतिले मुखैले भने।
सपनामा जस्तो हिँड़ेर घर पुगेको विक्रमले अर्को दिन बिहानै धुरीमा झन्डा ठड़्यायो।
पारि गाउँका देखिइनेजति सबै घरका धुरीमा यताका ध्यान दिएर हेर्नेहरूले विपक्षी झन्डी फिलिक-फिलिक हल्लिएको देख्थे। फेरि तिनीहरूको क्रोधले चरमता प्राप्त गर्दथ्यो । राता लुगाहरू निकाल्दै निकालेनन् तिनीहरूले बाकसबाट।
सोचेहरूलाई आश्चर्य लाग्ने, परिवर्तन मौसममै जस्तो थियो।

पारिबाट आउँदैनन् भनेर थाहा थियो तिनीहरूलाई तर पर्खे तिनीहरूले। सक्तैन थिए आउन, आएनन् तिनीहरू दसैँमा। दु:ख लागेको थियो उपेन्द्रलाई पनि।
‘‘नआवोस् भाइटीका पनि त्यो,’’ कसरी हो खबर आइपुग्यो पारिबाट। सुनेर आवोस्मै पनि जान नसक्ने उपेन्द्रले धेरै दिनदेखि नदेखेको दिदीसँग साह्रै मन दुखायो।
‘‘आएछ भने काट्छु,’’ सुनाएपछि सुन्ने एकजनाले केही नबुझ्ने सोह्रको उमेरको भानिजसित त उन्तिसको बुझ्ने मामा छक्कै पर्यो।
छक्कै परेकै उपेन्द्र पुग्दा केटाहरू आइपुगिसकेका थिए, हातमा स्वनिर्मित बन्दुक नभएकाहरूले खुकुरी भिरेर।
‘‘म उतै जान्छु आजु पनि,’’ बिहारतिरबाट झिकाइएको रिवाल्भर भिर्ने नाइकेलाई उपेन्द्रले भन्यो। स्वीकृति पर्खेन; गाउँको सुरक्षालाई पूर्वतिर जाने समूहमा मिसियो त्यो। अर्को समूह पश्चिमतिर लाग्यो।
पालो आज रणवीरको थियो। चिउरा, आलुको तरकारी र चिया खुवायो उसले केटाहरूलाई । खानेहरूलाई रक्सी पनि दियो। जुठो भॉंड़ा छाड़ेर आँगनमा निस्किए केटाहरू।
‘‘आजु पुलसम्म जाऊँ,’’ साथीहरूलाई उपेन्द्रले भन्यो।
‘‘होस, होस् नजाऊँ,’’ हातमा बन्दुक र कम्मरमा खुकुरी पनि भएकोले भन्यो।
‘‘किन?’’ सोध्यो उपेन्द्रले।
‘‘सी.आर.पी. सित आउँछ हरामीहरू,’’भन्यो त्यसले।
‘‘यो साला छक्काजस्तो कुरा गर्छ जैले पनि,’’ एकजनाले भनेपछि त्यसले केही भन्नु सकेन।
बरू ‘‘जाऊँ-जाऊँ’’ नजाऊँ लाग्ने एउटाले थप्यो।
डॉंड़ा परेको नाङ्गो ठाउँमा उभिएका थिए तिनीहरू। अन्धकारले पारिका मसिना घरहरूलाई छोपिसकेको थियो। तर जुनकिरीजस्तो लालटिन र धिब्रीको मधुरो उज्यालोलाई उपेन्द्रले ‘छेउको त्यो राजमान काकाको’ मनमनै भनेर तेर्सो गएपछि ‘त्यो दिदीको’ भन्यो। दिदीको देखि ओह्रालो लागेको त्यसको दृष्टि एउटा उज्यालोमा अड़िएर ‘पवनको’ भनिराखेर छड़्के ओह्रालो झरेर मधुरो उज्यालोमा बिसाएर ‘शान्तिको’ भन्यो।
‘‘पुलसम्म जान्छु म,’’ समूहलाई भन्यो त्यसले।
‘‘पर्दैन’’ भनेर ज्ञानेनले रोक्न खोज्दा त्यसले हिँड़्न शुरू गरिसकेको थियो।
जूनको उज्यालोमा काली बग्दैथ्यो—सेतो; भय जन्माउने आवाजसित। तर भयको साटो आनन्द जन्मिएको हृदयको उपेन्द्रले पुल टेक्यो । जोड़्नीहरू बजे फलामका फलामको पुलको । हल्लँदै-हल्लँदै बिचमा पुगेर त्यो अड़ियो।
राति एघार बजीतिर लालटिन बोकेकी आमाले छोराको निम्ति दैलो खोली।
केही दिनहरू अघिसम्म मान्छेभित्रको शान्ति भङ्ग गर्ने विस्फोटहरू अब सामान्य बन्दै गइरहेथ्यो। सम्भावित आशङ्काले आशङ्कित भई आवाजलाई हेरिहाल्नेहरू अब नहेर्ने भइसकेका थिए।
दिउँसो ज्ञानेन आएर ‘‘राति जलाएको हेल्थ पोष्ट हेर्न जाऊँ,’’ भनेको थियो। जान मानेन उपेन्द्र। अस्ति राति बङ्गलो जलाएछ केटाहरूले। ब्रिटिशले बनाइदिएको उनीहरूको बुद्धि र परिश्रमको उदाहरण बङ्गलो। बिहानै हेर्न गएको थियो उपेन्द्र। कालो अवशेष र खरानीको थुप्रो हेरेर त्यो केटाहरूसित खुब रिसाएको थियो।
‘‘के कुरा गर्छस् त? हामी काम हाई कमानको अडरमा गर्छौँ बुझिस्?’’ सुनेर त्यसले केही भन्नु सकेको थिएन। अब त्यो समूहमा विचार नमिल्ने हुँदै गइरहेथ्यो।
‘‘ज्ञानेन।’’
‘‘हँ’’ आवाजतिर हेर्यो ज्ञानेनले।
‘‘एकपल्ट जानै पर्थ्यो पारि,’’ अँध्यारोमा अलिक पर बसेको उपेन्द्रले भन्यो।
बसेको ज्ञानेन अलिकति चल्मलायो। बोलेन, बोल्नै नआएर।
‘‘पॉंच महिना भयो दिदी,भानिजहरू भेटेको छुइनँ,’’ भन्यो उपेन्द्रले।
एक, दुई, तीन, चार…चार… चार… चार…पर्ख्यो त्यसले पॉंचौँ विष्फोटको आवाजलाई। केही क्षण पर्खिरहँदा पनि पड़्कने। पर्खेन त्यसले र सोध्यो, ‘‘शान्तिलाई?’’
‘‘कहॉं भेट्नु? कसरी भेट्नु?’’ गह्रौँ स्वरको त्यसले भन्यो।
सुकेका पातहरूमा टेकिँदाका आवाजसँग अलिक परतिर बसेका केटाहरू उठे। उठ्यो ज्ञानेनसँगै उपेन्द्र पनि।
फर्किँदा पछि परेका थिए तिनीहरू अरूभन्दा।
‘‘जान्छु म एकपल्ट पारि,’’ त्यही कुरा निकाल्यो बाटोमा उपेन्द्रले।
‘‘के पगलाजस्तो कुरा गर्छ यो!’’ रिसायो ज्ञानेन।
‘‘ल्याउनुपर्छ शान्तिलाई मैले। नत्र…’’
‘‘नत्र के?’’ झोक्कियो ज्ञानेन।
‘‘मर्छ झुन्डेर। त्यसै भन्थी त्यो दिन।’’ बतायो उपेन्द्रले।
‘‘लिनु जाने तँ फर्किन्छस् कि? मार्दैन तँलाई त्योहरूले?’’
बलियो विश्वासमा भन्यो त्यसले, ‘‘कसले मार्छ मलाई? दिदी छ त्यहॉं मेरो, भानिज छ। साथीहरू छ। केटाहरू नचिनेको को छ? मार्दैन मलाई आफ्नोहरूले।’’
‘‘केको भानिज? बिर्सिस् खबर पठा’को? छैन अब त्यहॉं तेरो कोई पनि। गइस् भने गइस् तँ।’’ रिसाएकै थियो ज्ञानेन।
अर्को दिन, सॉंझमा भेला हुनुपर्ने पाठशालाको मैदानमा सधैँ ढिलै आइपुग्ने उपेन्द्रलाई केटाहरूले निक्कै पर्खे।
गाउँको सुरक्षाको दायित्व वहन गरेर एउटा समूह एकतिर हिँड़िसकेको थियो।
‘‘होस्,होस् जाऊँ,’’ भन्यो एउटाले।
अर्को समूह पनि हिँड़्यो।

‘‘सुत्नु त जसरी पनि आइपुग्थ्यो घरमै। हिजो राति आएन त्यो घरमा।’’ बी. बी. सरकोमा पनि पुगेर आएको रहेछ रत्नमान।
सुन्नसाथ हात खुट्टा गलिहाल्यो ज्ञानेनको।
‘‘बिहानभरि पनि पर्ख्यौँ,’’ भन्यो रत्नमानले।
‘‘हिजो हामीसित थिएन त्यो,’’ भनेर ‘‘केटाहरूलाई सोध्छु म।’’ पनि भन्यो ज्ञानेनले।
केटाहरू भेला गर्यो त्यसले।
खोज्न जानलाई उस्तो ठाउँ नै थिएन। ‘‘पुलसम्म जाऊँ,’’ केटाहरूलाई भन्यो ज्ञानेनले।
सॉंच्चै ल्याएर बिचमा फ्यॉंकेको रहेछ। सबै गए केटाहरू, पुलवारि एकैजना पनि उभेन। हात-खुट्टामा पक्रेर उचालेर वर, निक्कै वर ल्याएर भुइँमा लड़ायो।
टॉंकहरू जम्मै चुड़िएको रहेछ कमिजको, छात्तीमा निला दागहरू। सिलाई उध्रिएर काखीसम्म पुगेको रहेछ एकपटिको बाहुलाको। त्यही हात भॉंचिएको जस्तो पनि लाग्ने। अनुहार पुरै निलो; सुन्निएको पनि। फुटेका दुवै आँखाको वरिपरि रगतको टाटा बसेको, मुखभरि माटो खॉंदिदिएको रहेछ।
‘‘कुटेरै मारेछ हरामीहरूले,’’ दारा किटेर भन्यो एकजनाले।
खबर पाएर आएको रत्नमानले ‘‘नलैजाऊँ, मर्छ आमाचैँ पनि यस्तो देखेर,’’ भन्दैथ्यो तर क्षत-विक्षत हृदय र मानसिकताको रत्नमान एउटै छोरा— उन्तिस-उन्तिस वर्षको जवान छोरा-को क्षत-विक्षत शरीरसित सॉंझमा घर पस्यो।

हिजो जे थियो, आज यो अर्कै भएर भोलि यो नरहनुले नै जीवन सन्तुलित-सञ्चालित रहेछ। स्थिरता केमा रहेछ र यहॉं? रहेनछ केही मै पनि। प्रकृतिमा जस्तै रहेछ परिवर्तन जेमा पनि। मानसिकतामा र हार्दिकतामा , सिद्धान्त र व्यवहारमा, व्यक्ति त्यसैले समाजमा, जम्मैमा।
विध्वंशी ती आवाजहरू बिस्तारै छैन जत्तिकै हुँदै अब छैन। मान्छेभित्रको मान्छेप्रतिको शक्तिशाली घृणा र शत्रुता अब मरणासन्न छ, रोगग्रस्त। गर्नैपर्ने हुन् यी सबै मैले नै, गरेर ठिक गरेँ।—लाग्नेहरू धेरैलाई नगरेको भए पनि हुने थिएछ ती सब मैले, गरेर ठिक गरिनछु।—लाग्नु थालेको छ।
नभएको छोरा सम्झेपछि, भएको छोरीको पनि घरिघरि याद आउन थालेको छ रत्नमानलाई हिजोआज। ‘‘छोरासँगै मर्यो छोरी पनि मेरो आजुदेखि, हेर्दिनँ अनुहार त्योहरूको बाचुन्जेल’’ भन्ने रत्नमानले ‘समय र स्थितिले गरायो सब’ सोचु थालेर सम्झौता गरिसकेको छ मौन रूपमा प्रत्येक कुरासित।
फेरि छोरी सम्झेपछि रत्नमानलाई नाति र ज्वाइँ पनि याद आउँछ। स्वीकार गरिसकेको रहेछ मान्छेहरूको कुरालाई रत्नमानले त्यसैकारण उसलाई आफ्नोहरूको याद आउने क्रममा सहलसिङपछि पहिला एक-दुईचोटि देखेको उसकी छोरीको याद आउँछ र देख्दै नदेखेको टुकुल-टुकुल हिँड़्ने सानो केटोको रूप रत्नमानको मस्तिष्कमा कोरिन्छ।
शान्तिसित देखेपछि, बजारबाट आइपुगेको ज्ञानेनले ‘‘काकी ठुलै भइसकेछ,’’ भनेको रत्नमानले सुनेको थियो।
‘‘को?’’ लोग्नेको प्रश्नमा ‘‘नाति’’ स्वास्नीले भनेकी थिई।
बुहारी स्वीकार नगरी नदेखेको नाति स्वीकारिसकेका रहेछन् दुवैले।
हेरूँ-हेरूँ लागेको थियो रत्नमानलाई नाति त्यो दिन पनि।

नौ बजेसम्म त कोठैमा थियो। स्वास्नी चुह्लामा थिई। सबै पाकिसकेपछि छोरालाई बोलाई उसले अनि छोरालाई ‘‘बाबालाई बोला’’ भनी।
थाकबाट तानेर छोरालाई अनि लोग्नेलाई पिरा राखिदिई। थाल-बटुका झिकी।
‘‘छैन बाबा,’’ आएर छोराले भन्यो।
‘‘अब खाने बेलामा हिँड़्यो कतातिर,’’ भनेर छोरालाई मात्रै पस्किदिई।
बाह्र बजेसम्म पर्खी लोग्नेलाई। भनेर जानु जता गए पनि—रिसाई। भोकाएकी थिई, पस्केर आफू खाई।
घर बढ़ालेर भॉंड़ा धोई सकी। दस मिनट बिसाएपछि बारीतिर झरी।
दुई-अढ़ाई घण्टाजति अदुवा गोड़ेर आइपुग्दा पनि लोग्ने त आइपुगेकै रहेनछ।
बेलुकाको मधुरो घाममा आँगनमा बोरामा बसेर नाङ्लोमा चामल केलाउँदै थिई। अघिपटि नै पो उभिरहेको रहेछ खुशी न खुशी अनुहारको लोग्ने त।
तर्सी ऊ।
दिनभरि कता हराएको रिसमा तर्सेकी थपिएकी स्वास्नी कराई, ‘‘कॉं गयौ, कॉं गयौ दिनभरि?’’
जवाब नदिएर उही अनुहारको लोग्ने उभिरह्यो।
‘‘कॉं गा’को थ्यौ?’’ कराएरै सोधी।
‘‘भनेको भा दिन्थेनौ,’’ भन्यो लोग्नेले।
झर्केरै सोधी स्वास्नीले ‘‘के?’’
‘‘जानु’’लोग्नेले भन्यो।
‘‘कॉं?’’
अनुहारै हसाएर लोग्नेले भन्यो,‘‘पारि?’’
‘‘हॉं!’’ प्राय: प्राय: चिच्याई स्वास्नी।
‘‘बॉंचेछ’’ भने थुप्रैले तर सुन्नेहरू सबैलाई आश्चर्य हर्ष मिसिएको लागेको थियो।
तर एउटा हातमा पोका बोकेर एक दिन उहिल्यै आमा मरेको वीरबहादुर आइपुग्यो यता, एउटै बुढ़ी छेमाकोमा उताबाट।
शत्रुता हामीमाझ कहिल्यै थिएनजस्तो खुशी भए वीरबहादुरलाई देख्नेहरू।
सिकुवामा गुन्द्रीमाथि बसेर हिउँदको दिउँसोको घाम तापिरहेकी छेमालाई पोका भुइँमा राखेर ढोग्यो र भन्यो, ‘‘म वीरे, पारिबाट।’’
‘‘चिनेँ। बस्।’’ भनी छेमाले र ‘‘अब नदेख्ने रै’छु भनेको थिएँ’’ पनि भनी।
माथिल्लो घरमा पारिबाट वीरबहादुर आइपुगेको सुनिहाल्यो रत्नमानले पनि। फर्किहाल्ला कि?—विचारले कुनि किन, कुनि कस्तो भय जागेपछि ऊमा, उसले स्वास्नीलाई ‘‘एक छिन है’’भनेर उक्कालो लाग्योे।
रत्नमानलाई देखेर वीरबहादुरले ‘‘ए! दाजु…,’’ भन्यो।
‘‘के छ जेठा?’’ सोधेर जवाब नपर्खी ‘‘आयौ, राम्रो भयो साह्रै।’’ भन्यो रत्नमानले।
वीरबहादुरले ‘‘नआई सकिनँ दाजु,’’ भन्यो।
छेउको मुढ़ा तानेर रत्नमान वीरबहादुरको अघिपट्टि बस्यो।
‘‘पुलले छुट्यायो यत्रो वर्ष हामीलाई।’’
‘‘छुट्यायो के छुट्याउने बनायौँ हामीले नै त्यसलाई,’’ ज्ञानी कुरा गर्यो वीरबहादुरले।
‘‘पुलको धर्म जोड्ने भन्ने भुलेर ठुलै भूल गरेछौँ हामीले,’’ दार्शनिकले जस्तै बोलेर रत्नमानले भूल स्वीकार्यो।

वीरबहादुरको आगमनले छक्कै परेको दीर्घेले, वीरबहादुर बुड़ी छेमाकोमा एक रात बसेर पनि फर्केको भोलिपल्टै दोधार दोधारमै हल्लिँदै-हल्लिँदै खोला तर्यो।
गाउँ पिट्यो फर्केर आएको त्यसले। ‘‘पैलाको जस्तै छ सब। बस भन्दैथ्यो सप्पैले। भात खाएर आएँ।’’
अब बिस्तारै पुलको हल्लाइको मात्रा बढ्दै गयो। खिया उप्किन थाले जोड्नी-जोड़्नीहरूबाट।
‘‘भोलि पुगेर आउनु पर्यो मो पनि,’’ राति रत्नमानले स्वास्नीलाई भन्यो।
सुतेकी स्वास्नी अलिकति चल्मलाई।
‘‘दिएछ भने लिएर आउँछु नाति,’’ भन्यो रत्नमानले आफैलाई जस्तो।
‘‘देला?’’ सोधेर लोग्नेतिर हेरी स्वास्नीले।
‘‘हेरूँ’’ भनेर ‘‘सम्बन्ध मात्रै सुध्रिएछ भने पनि खुशी हुनुपर्छ अब।’’ लोग्नेले भन्यो।
‘‘भेटघाट भइरह्यो भने, सन्तान भनेर चिन्यो भने, बुझ्ने भएपछि आफ्नो किन नलाग्ला त्यसलाई!’’ सानो बालकको अस्पष्ट रूप थियो रत्नमानको आँखामा।
‘‘गएर सम्झाइ हेर, होइन होलाजस्तो लाग्थ्यो पैला, अब लाग्दैन। बरू नदेखेको त्यसको माया पो लाग्छ।’’ भनी स्वास्नीले लोग्नेलाई।
‘‘बढ़्ला भनेको; घट्यो। साह्रै सुन्ने भयो घर।’’ पनि भनी।

मुहानदेखि ट्याङ्कीसम्म आएको र ट्याङ्कीदेखि गाउँ पसेको फलामको पाइप नभएको पी. एच. ई. ले बनाइदिएको ट्याङ्की बर्खाको पानीले होला मुनिबाट माटो तानिदिँदा कोल्टे परिसकेको रहेछ।
बॉंसको नालीमा पानी लगेको रहेछ कसले छेवैबाट।
दाहिने हत्केला नालीमा हालेर, पानी बाहिर झारेर देब्रे हत्केला थापेर पियो रत्नमानले।
यहॉंसम्म पनि नआको कत्ति भइसकेछ मो।—मनमनै भन्यो।
आउनु सक्थ्यो ऊ तर यता आउने उसलाई कहिल्यै इच्छा भएन।
अझ केही हिँड़ेपछि अड़िएर बाटोमाथि हेर्यो रत्नमानले। सयपत्री फुलेको रहेछ सात-आठ बोट। कपुर बनाउँदा यहॉंसम्म आएको थियो ऊ अन्तिमचोटि। कसले छर्यो? कसले रोप्यो वरिपरि फूलहरू—उसलाई थाहा छैन। गोड़्नुपर्ने रहेछ—बाक्लै झार पल्हाएको देखेर उसले सोच्यो।
जङ्गलै भएको रहेछ बढ़ेर तितेपातीका बोटहरू बाटोभरि। एक मुठै चुढ़ायो पात उसले। पहिलाभन्दा पानी निक्कै घटेको लाग्यो। जोगिएर हिँड़्नुपर्ने भएको रहेछ केही काठहरू भॉंचिएर पुलको एक-दुई ठाउँ। बिचमा पुगेर हात पुलदेखि बाहिर निकालेर मुठी खोल्यो रत्नमानले । पातहरू छरिएर झरे।
के भन्लान् तिनीहरू? छोरी कति खुशी होली उसलाई देखेर? ज्वाइँ-नातिहरू खुशी होलान्-नहोलान्। सहलसिङले के भन्ला? हेर्नै पनि नदेला कि ल्याउनै पनि देला नाति उसलाई उसको।—रत्नमानको मन-मस्तिष्कमा यस समय केही छैन। दीर्घकालीन परिश्रमपछिको फलपाप्तिको जस्तो आनन्द पुल हिँड़ेर खोला तरेको रत्नमानको मन-मस्तिष्क र अनुहारमा पनि छ अहिले; पुलमा हल्लँदै हिँड़ेर खोला तर्नै मात्र उसको लक्ष्यजस्तो।
अहिले रत्नमानले पुलपारिको जमिन टेकेको छ।

Anbika Giri – Communist

आन्विका गिरी – कम्युनिष्ट
(Source: Himal Khabar)

म कम्युनिष्ट बनूँ, उसको चाहना यत्ति थियो! मैले कस्तो लुगा लाए सुहाउँछ, कस्तो कपाल काट्नुपर्छ, दाह्री राख्न हुन्छ/हुन्न, कुन स्याम्पू लगाउनुपर्छ― यस्ता कुरा कहिल्यै भनिन। उसले मलाई सारै आग्रह गरेर एउटै कुरा भनी, “तपाईं कम्युनिष्ट बन्नुस् न है!” मैले पनि कहिल्यै उसलाई म तपाईंलाई प्रेम गर्छु भनिनँ। मैले भनेको यत्ति हो, “तपाईं मलाई राम्री लाग्छ।”

मलाई एउटी महिला मा’वादीको बारेमा विस्तृत रिपोर्ट गर्नुथियो। केन्द्रबाट उसकै नाम सिफारिस गरियो र म उसलाई भेट्न खोटाङको चुइचुम्बा पुगें। ऊ त्यति राम्री थिइन― थेप्चो नाक, स-साना आँखा, ढ्याब्रे ‘ठ! जिङरिङ्ग कपाल! काली हुन्थी भने डरलाग्दी हुन्थी, गोरी भएकीले तर्साउली जस्ती चाहिँ थिइन। मेरो पनि नाकनक्सा खास मिलेको त होइन, तैपनि नाक उसको भन्दा अलि उठेको थियो, आँखाहरू अलि ठूला थिए र ‘ठहरू अस्वाभाविक देखिने गरी ढ्याब्रे थिएनन्। छालाको रङ पनि उसकै झ्ैँ थियो, सेतो भने हुने। म सफाचट थिएँ।

उसले पढेकी थिई, बीएसम्म! त्यसैले पनि पार्टीले उसको नाम सिफारिस गरेको होला। पहिलो भेटमा उसले दह्रो गरी हात समाई, मैले अप्ठेरो मानें। कम्युनिष्ट हात मिलाई मलाई निको लाग्दैनथ्यो!
“मार्क्सवादको बारेमा थाहा छ?” उसले मलाई आफ्नोबारे केही बताउनुअघि सोधी।
“हल्का!” मैले मुस्कुराएर जवाफ दिएँ।

ऊ पनि मुस्कुराई र दोहोर्‍याई, “हल्का!”
ऊ साधारण छापामार थिई। समूहमा अरू पनि थिए। दिनभर सुत्थे र राति राति एकठाउँबाट अर्को ठाउँ जान्थे। कहिलेकाहीँ कारबाही पनि हुन्थे, तर मलाई त्यहाँ जान निषेध थियो। ऊ जाँदा म उसले दिएका किताब पढेर बस्थें, नजाँदा उसकै कुराहरू सुन्थें। ऊ जमिन्दार बाउकी छोरी थिई। बाउले किसानहरूलाई शोषण गरेको देखेर मा’वादीमा लागेकी रे। तीन वर्षदेखि मा’वादीमा थिई र एक वर्ष अगाडि आफैं पनि बाउको सफाया गर्न गएकी थिई।

कमरेड लालसँग उसको भेट दुई वर्ष अगाडि भएको थियो। लाल कैलालीका थिए। उनीहरूबीच प्रेम थियो। “कसले राख्यो प्रस्ताव?”

“खोई थाहा भएन” मतिर हेर्दै भनी, “कमरेड लाल दुई महिनाका लागि इलाम जानुभएको थियो, पत्रमा उहाँले हाम्रो प्रेम अमर छ भनेर लेख्नुभयो।”

“त्यसरी नि प्रेम हुन्छ?”
“हुँदोरहेछ।”
लालको कार्यक्षेत्र इलाम भएकोले उनीहरूको भेट सहज थिएन। आँखाहरू भित्र धस्सिएका, हल्का दाह्रीवाल थिए लाल। ठिक्कको अग्लो शरीर, लामो नाक, गहुँगोरो वर्ण! शहरिया पोसाकमा सजाउने हो भने मोडल भन्दा कम देखिँदैनथ्यो।
म हुँदा मेरै अगाडि लाल र उसको एकपटक भेट भयो। तीन पटक हात मिलाए, एकपटक एकैछिनलाई अँगालो हाले! दुवैले एकअर्कालाई पत्र लेख्न भने। बस्, यत्ति हो। उसले खिन्न मानेको पनि देखिनँ।

म उसको शब्दमा पूँजीपति वर्गमा पर्थें। केही समयको लागि गएको हुनाले मैले ऊसँग खास वादविवाद गरिनँ। जति तर्क गरे पनि मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, मा’ उसका लागि महान् थिए भने मेरा लागि हत्यारा मात्र।

“जुन दिन तपार्इंले वर्गका कुरा बुझनुहुनेछ, अनि यी सबै तपाईंलाई हिरो लाग्नेछन्। बुझनु भो!” उसले भनी।
“शायद!” मैले यत्ति मात्र भनें।
एउटी छापामारको प्रेम मेरा लागि स्कूप नै भयो। बन्दूक र प्रेमलाई उसले कसरी व्यवस्थित गरेकी थिई, मा’वादी जनयुद्धको बारेमा जान्न उत्सुक संसारलाई बताउन चाहन्थें।
“कमरेड लाल रोमान्टिक हुनुहुन्छ?” मैले सोधें।
“एकदमै” उसका आँखाहरू चम्किए, “म पनि रोमान्टिक छु।”
“हो र?” मेरा आँखाहरू पनि चम्किए।
“तपाईंकी प्रेमिकाले तिमी कत्ति राम्रो, तिमीबिना म बाँच्न सक्दिनँ, तिम्रो औधी माया लाग्छ भन्दा तपाईंलाई रोमान्टिक लाग्ला है?” उसले सोधी। तर मेरो जवाफ नपर्खी भनी, “हामी देश बनाउने कुरा गर्छौं, जुन दिन हाम्रो सत्ता हुन्छ हामी यो गर्ने, त्यो गर्ने योजना बनाउँछौं। त्यही हो हाम्रो रोमान्स!”
म जिल्लिएँ, ऊ हाँसी।
म मुसुक्क हाँसें।
मैले उसका आँखामा चमक छ भनेको थिएँ। “तपाईंलाई थाहा छ, मेरा आँखाहरू किन चम्किला छन्?” उसले प्रश्न गरी।
“किन?” मैले सोझ्ो मान्छे सुनिएँ।
“मेरा आँखामा अरूका सपना छन्, व्यवस्थित रूपमा अटाएका हजारौंका सपना। त्यसैले तिनमा प्रकाश छ”, उसले बोलीमा रस मिसाएर भनी। उसका आँखाहरू फेरि एकपटक टलक्क टल्किए।
“तपाईका आँखा किन रूखा छन्, थाहा छ?”
“किन?” मैले स्कूले बालकले झ्ैं सोधेँ।
“तपाईंका आँखामा आफ्ना लागि मात्र सपना छन्। छापामार केटीका बारेमा लेख्ने, चर्चित हुने, पैसा कमाउने, बिहे गर्ने, बाउ बन्ने― बस्! हैन र?” उसले मलाई बोल्ने ठाउँ दिई।
तर मैले “होइन!” भन्न सकिनँ।
म जाने तरखरमा झ्ोलामा लुगा हाल्दैथिएँ। ऊ अर्की एक छापामारसँगै कोठामै थिई। ढोकामा उसैको बटालियनका मैलो लुगा लगाएका एक छापामार देखापरे― कमरेड रेवती। उनी ढोकामा निकैबेर घोसेमुन्टो लगाएर उभिइरहे।
“के भयो कमरेड?” उसले सोधी।
“कमरेड लाल अब जिउँदो रहनुभएन”, उसले सुस्तरी भन्यो।
“के!” मेरो मुखबाट निस्कियो।
“कमरेड लालले पार्टीप्रति गद्दारी गर्नुभएको थियो?” उसले कडा स्वरमा सोधी।
“थिएन।”
“देश र जनताप्रति?”
“थिएन।”
“अनि किन मुन्टो झ्ुकाएर भन्नु भो, कमरेड लाल रहनुभएन भनेर। शिर उचालेर भन्नुहोस् न― कमरेड लाल शहीद हुनुभयो, देश र जनताको लागि बलिदान दिनुभयो”, ऊ यसरी बोली, मानौं कुनै फिल्मको संवाद बोल्दैछे। रेवती केही नबोली गए।
पार्टीले छिट्टै उसको र लालको विवाह गरिदिने कुरा थियो।
मैले जानु नै थियो। ऊ मलाई पुर्‍याउन परसम्म आई। बिदाइमा सबैले मलाई अबिर माला लगाइदिए। हामी एउटा डाँडामा उभियौं।
“म मर्दा पनि तपाईं रुनुहुन्न हो?” मैले सोधें।
“तपाईं मर्दा म रुन्छु”, उसले कटनको पाइन्टको दुवै खल्तीमा हात घुसार्दै भनी।
“हो र!” म खुसी भएँ।

“कमरेड लाल देश र जनताको लागि मर्नुभयो। मलाई उहाँप्रति गर्व छ। तर तपाईं, न कसैका लागि बाँच्नुभयो न मर्नुहुनेछ। तपाईंको जीवन बेकारमा खेर गएकोमा मलाई दुःख लाग्नेछ”, उसले पर हेर्दै भनी।
म चुप भएँ। जाने बेलामा उसले बन्दूक तेर्स्याएको एउटा पोज पनि दिई। उसको रिपोर्ट छापिएपछि मेरो चर्चा चुलियो। उसले पनि पत्रिका हेरिछ, फोन गरी र भनी, “फोटो त राम्रो लिनु भा रैछ!”

त्यसपछि उसले फोन गरिन। चाहेमा गर्न सक्थी, तर नगरेपछि मैले नै उसलाई चिठी लेखेँ। उसले कुनै एक व्यक्तिको ठेगाना दिएकी थिई, जसले केही समय लाग्ने भए पनि चिठी पुर्‍याइदिन्थे। मेरा चिठीहरूमा शहरका अपडेटहरू हुन्थे, तर उसले कुनैको जवाफ पठाइन। मैले अन्तिम पत्रमा लेखंे, “तपाईंको मप्रति केही आग्रह भए भन्नुस् है!” दोस्रो वार्ता चलिरहेको बेला उसको एउटा पत्र आयो।

“कमरेड, तपाईंका कुनै पत्रको मैले जवाफ पठाइनँ। यो पत्र पनि लेख्दिनथें, तपाईंप्रतिको मेरो आग्रहको प्रश्न नगर्नुभएको भए! मेरो एउटै आग्रह छ तपाईंसँग, कम्युनिष्ट बन्नुस् है! हामीले हाम्रो राष्ट्रलाई सामन्ति राजतन्त्रबाट र भारतीय विस्तारवाद तथा समग्र साम्राज्यवादबाट मुक्त पार्नै पर्छ। यत्ति हो, अरू मेरो कुनै आग्रह छैन”, उसले लेखेर पठाएकी यत्ति हो। चिठीको मुन्तिर, रातो सलाम पनि लेखेकी थिई।

म त्यसपछि मार्क्सवाद पढ्न थालें, लेनिन पढें, स्टालिन र मा’हरू पढें। गोर्की पढें, युवाका गीतहरू पढें। उसका शब्दहरू सम्झ्िएँ, तर लाग्यो कम्युनिष्ट बन्न सक्दिनँ। उसले फेरि फोन गरेर ढाडमा समस्या भएकाले उपचार गराउन काठमाडौं आउने कुरा सुनाई। हामीले पुतलीसडक चोकको एउटा सानो चियापसलमा भेट्यौं। ऊ अलि दुब्लाएकी थिई। नजिकका केही साथीहरूलाई भनेको थिएँ, तर ऊ फेरि पत्रिकामा आउन चाहन्नथी। भनी, “पार्टीलाई सोध्नुपर्छ।”

धेरै कुरा भएनन्। मैले “अब के होला?” भनेर सोधेँ। उसले सूचना त तपाईंहरूसँग पो हुन्छ भनेर जवाफ फर्काई। छुट्टिनेबेलामा उसले एउटा प्लाष्टिकको पोको दिई, “तपाईंको लागि, मैले काठमाडौंमा यही नै एउटा उपहार भेटें!”
मैले घर गएपछि खोलेर हेर्दा त्यसमा एकजोर गोल्डस्टार जुत्ता र एउटा सानो चिट थियो, “कमरेड, कम्युनिष्ट बन्नुस् है, देश र जनतालाई यतिबेला बलिदान गर्ने सपूत चाहिएको छ। गोल्डस्टार लाएर कम्युनिष्ट भइने होइन, हैसियत भएपछि हामी पनि छालाको जुत्ता लगाउँला तर अहिले हाम्रो हैसियत यही हो।”
मैले जुत्ता दराजमा थन्क्याएँ।

दोस्रो वार्ता भङ्ग भयो। संविधानसभामा कुरा मिलेन भनेर बाहिर प्रचार भयो, भित्र के भएको थियो थाहा भएन। केही दिनपछि साथीलाई भनें, “यार मलाई त्यो केटीसँग प्रेम भयो!”
“ऊ पनि तँलाई मन पराउँछे”, साथीले भन्यो।
“कस्तो राम्रो हुन्थ्यो!” म फुस्फुसाएँ।

“त्यो केटीले तँलाई मन पराउँछे क्या!” साथीले फेरि भन्यो।
“आइ विस्!” म बड्बडाएँ। “उसले तँलाई पक्का मन पराउँछे क्या!” साथीले मेरो तिघ्रामा प्याट्ट हान्दै भन्यो।
“तर म कम्युनिष्ट बनेकै छैन”, मैले खुइय गर्दै भनें।
साथी चुप लाग्यो।

उसले फोन गरेकी थिई, चिठीको पनि जवाफ दिएकी थिई। मैले “तपाईं मलाई राम्री लाग्छ” भनेर लेखेको थिएँ, जवाफको आशा पनि गरेको थिइनँ। मनमा कुरा गुम्स्याएर नराख्न उसैले भनेकी थिई, “हाम्रो मृत्युको ठेगान हुन्न, कतिबेला मरिने हो!”

बिदाको दिन थियो, घरमा लाइन थिएन। म लेनिनको राज्य र क्रान्ति पढ्दै थिएँ। साथी आएर ढोकामा उभियो।
“ऊ मरिछ!” उसले मसँग आँखा जुधाउने साहस गरेन। उसको शिर झ्ुकेको अनि गला अवरूद्ध थियो।
“के भएर?” मैले को ऊ सोधिनँ। मलाई थाहा थियो, मेरो ऊ त्यही एउटी थिई।
“नेपाल टेलिभिजनले भिडन्तमा भन्यो।”

“किन शिर झ्ुकाएर भनिस्, शिर उठाएर भन् न― ऊ शहीद भइछ”, मैले कडा स्वरमा भनें।
साथीको टाउको अचानक उठ्यो। मेरो कुराले उसको अनुहारमा संवेगका सप्तरङ्गी भाव भर्‍यो। ऊ अलिकति खुशी, अलिकति दुःखी, अलिकति अचम्मित भयो।

“तँ कम्युनिष्ट भइछस् यार!” उसले मेरो काँधमा धाप मार्दै भन्यो।
“शायद!” मैले यत्ति मात्रै भनें।