Asha Gurung – Euta Sankalpa

आशा गुरुङ – एउटा संकल्प

म हिंड्न खोजिरहेकी छु तर कतै बिच बाटोमा आफू हराएजस्तो
म पोखन चाहन्छु आत्मबाटै तर म सकिरहेकी छैन
म आकाशमा खुल्ला सयर गर्ने प्रयास गर्छु
तर चुम्बक झै एकैठाउँ टाँसिरहेजस्तो म चल्नै सक्दिन

म आँफैलाई थाहा छैन के भैरहेको छ मलाई
कसैले अठ्याइरहे जस्तो, कसैले घाँटी निमोठिरहे जस्तो
म आँफैभित्र उकुसमुकुस हुन्छु तर ब्यक्त गर्न असमर्थ छु
म केहीसँग अल्झिरहेजस्तो,कसैको सहाराको पर्खाइमा छु

तर वास्तबमा म आँफैभित्र अल्मलिरहेकी छु
त्यसैले आँफैसँग भित्रभित्रै आफ्नै लागि लँडाइ गरिरहन्छु
म चाहँदिन म त्यही दोभानमा बाँचिरहुँ
म चाहँदिन त्यही त्रिबेणीहरुमा आफुलाई घोचिरहुँ

म निस्किन चाहन्छु त्यो भयाबहबाट
र राख्न चाहन्छु आफुलाई बिशाल आकाशको छातीभित्र
जहाँ म केबल सिमित हुँदिन म भित्रै जसरी म थिएँ
त्यसैले सकिनसकी धकेल्छु आफुलाई सकारात्मक सोचहरुसगैँ
अन्तत बिजयी पनि हुन्छु आशाहरुको नौलो किरणहरुसगैँ

जहाँ म फुल्न सक्छु,फक्रन सक्छु बिस्तारै भएपनि
म पोख्न सक्छु मेरा भावनाहरु स्वतन्त्र रुपले
जसरी चराहरु उड्छन निस्चिन्त आफ्नै वेगमा मनपरी
म बग्न सक्छु अबिरल नदीजस्तै एकैमासमा
जसरी यसको कसैलाई कुनै प्रश्न छैन,गुनासो छैन न त प्रतिकार नै

फेरी पनि मैले घचेटेँ आँफैलाई त्यो कल्पनाको संसारमा
जहाँ सपनाहरुको बास छ, जहाँ सिर्जनाहरुको भण्डार छ
जहाँ म डुबिरहन सकुँ,घोत्लिरहन सकुँ र ब्यक्त गरिरहन सकुँ निरन्तर
लीइ सुन्दर्,सभ्य अनि सन्तुष्टिको पाठहरु अबका बाँकी दिनहरुमा

बिचलित नहुँ म कहिले त्यो अन्धकारको बाटोहरुमा
म हुनेछु मेरो विश्वाशहरुको साथमा हरेक मोडहरुमा
जसरी यसले मलाई साथ दिरहनेछ,
जिउने हिम्मत म भित्र जगाइरहनेछ ।।

इजरायल

Pravin Rai Jumeli – Euti Aama Ko Smriti

प्रवीण राई जुमेली – एउटी आमाको स्मृति

जीवन र जगतमा विमर्श गरिने सफलता र सभ्यताका हजार थोकहरु छन्
आफ्नै सन्तानका कुकृत्यहरुको लेखाजोखा गर्दै हिंड्ने अनेकौं मुखहरु पनि छन्
हतार पैसा अहँकार र आत्मालापहरुले Continue reading “Pravin Rai Jumeli – Euti Aama Ko Smriti”

Bhupin Byakul – Shabdakosh

भूपिन ब्याकुल – शब्दकोश

मृत्युले कला भरेको तुइनमा अल्झिएर
कर्णाली पारि पुगेपछि
सबैभन्दा गरिब महसुस गर्छ – शब्दकोशले

कर्णालीमा शब्दकोश
केहि पानाहरु खाली छोडेर
प्रकाशित कुनै वैरागी किताबजस्तो लाग्छ
जहाँ नछुट्नुपर्ने धेरै कुराहरुसंगै
छुटेको छ कर्णालीको नाम
अथवा कर्णाली
त्यही वियोगीकविजस्तो लाग्छ
जसले आफ्नै आँखाअगाडी
कविताले आत्महत्या गरेको देखेको छ
अथवा त्यो समयजस्तो लाग्छ
जसले देशलाई अश्लील गालि गरिरहेछ !

यो शब्दकोश
जसमा अर्थको चमक हराएका शब्दहरुमात्र छन्
यो शब्दकोश
जहाँ प्राण उडेका खालीखाली पृष्ठहरु छन्
कसरी थाह पाउँछ
कि कर्णाली
कति ज्यालामा भोकभोकै कालापहाडमा भारि बोक्छ ?
कसरी ज्यान दाउमा राखेर
विलासीहरुको लागि यार्सागुम्बा टिप्छ ?
कति लामो लाइन लाग्छ खाद्य डिपोमा
सात किलो चामल वा एक पोका नुनका लागि ?

कसरी दशैं मनाउँछ
रित्तारित्ता मदुसहरुबाट हावा झिकेर ?
यो शब्दकोश
जहौँ अर्थको टलक हटाएर शब्दहरुमात्र छन् !

निश्चित छ
शब्दकोशको कुटिल सम्पादक
उसलाई कर्णालीको गीत सुनेर कुनै खतरा छैन
अझैसम्म लागिरहेकै छ उसलाई
कर्णाली एउटा असफल गायक हो मुक्तियुद्धको
र उसको सफलता
केवल करुण रसका उदास गीतहरु गाउनुमा सीमित छ !

कर्णाली
के तिमी चाहन्नौ
कि तिमीले गाइरहेको दुक्खको गीत
पृथ्वीले सुन्ने अन्तिम शोक्गीत बनोस्
र अब त्यस्तो शब्दकोश लेखियोस
जहाँ तिमीले
जीवनका किनाराहरुमा
भोकका लहरहरु लेख्नुनपरोस
अभावका लहरहरु लेख्नुनपरोस

Min Dwandi – Feri Palayeko Chha Ustai Khari Ko Bot

सयवर्ष अघिदेखिको इतिहासमा
यो देशमा कहिल्यै
इमान्दारिताको कदर हुन पाएन
यो देशमा कहिल्यै
देशभक्तिको कदर हुन पाएन
प्रभूहरूको इशारामा
सत्ता–संघर्षको काटमारमा
हरेक दिन यहाँ भिमसेन थापाहरू सेरिएका थिए
हरेक दिन यहाँ माथवर सिंहहरू मारिएका थिए ।
रगतले रंगिएको एउटा शताव्दिभरि
हरेक दिन हामी मध्येका
कोही न कोहीले जेल जानु पथ्र्यो
हरेक दिन हामी मध्येका
कोही न कोहीले गोली खानु पथ्र्यो
एउटा जंगेलाई स्थापना गर्न
एउटा खरीको बोट उमार्न
हामी नागरिकहरूलाई मूला झैं काट्न लगाइएको थियो
हाम्रो कोतमा रगतको खोलो बगाइएको थियो ।
त्यस शताब्दीको इतिहासमा
हामी जनताहरू कहींकतै
गर्वपूर्वक बाँच्न पाएनौं
हामी जनताहरू एकछिन पनि
मन फुकाएर हाँस्न पाएनौं
हाम्रै रगत र पसिनामा
हाम्रै जीवनको बलिदानमा
केवल एउटा जंगबहादुर बाँच्यो
केवल एउटा खरीको बोट बाँच्यो ।
खरीबोटे शासन रहँदासम्म
हामीले निडर भएर
एक आखर पनि बोल्न पाएनौं
गुम्सिएका बेदनाहरू
कहीं कतै खोल्न पाएनौं
बन्द मुख खोलेको आरोपमा
साँचो कुरा बोलेको अभियोगमा
हामी लखन थापाहरू मनकामनामा बली चढाइएका थियौं
हामी सुब्बा कृष्णलालहरू आजीवन जेलमा सडाइएका थियौं ।
अन्धकारमय त्यस युगमा
हामी एक निंद पनि
सञ्चोसंग सुत्न पाएनौं
हामीले एकपटक पनि
सुविस्ताको सुस्केरा हाल्न पाएनौं
त्यो खरीको बोट समक्ष
उर्दी र हुकुमहरू समक्ष
हामीले आफ्ना मुस्कानहरूको बली चढाएका थियौं
हामीले आफ्ना चाहनाहरूको बली चढाएका थियौं ।
त्यो खरीको बोटलाई मार्न
हामी धर्मभक्त र शुक्रराज भई
राजी–खुशी फाँसी चढेका थियौं
हामीले दशरथचन्द र गंगालाल भई
हाँसी–हाँसी गोली खाएका थियौं
घाँटीमा फाँसीको माला लाएर
न्यायको निम्ति गोली खाएर
हामीले अत्याचारी शासनको गर्दन रेटेका थियौं
हामीले इतिहासमा लागेको दाग मेटेका थियौं ।
हाम्रो छातीको टुंडिखेलमा
झांगिएको एउटा खरीको बोटलाई
हामी आफैंले यसरी मारेका थियौं,
एक युगपछि त्यो खरीको बोटको मृत्यु
हामी आफैंले देखेका थियौं
तर हाम्रो छातीको उही टुंडिखेलमा
अर्कै रंग तर उस्तै रूपमा
फेरि पलाएको छ उस्तै खरीको बोट
फेरि झांगिएको छ उस्तै खरीको बोट ।

Bhojraj Baral – Swambhu Ko Bandar Le Pani Ghar Basaunthyo Ki

भोजराज बराल – स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी

जोतेरनै लालपुर्जा पाइने भए
डाँडा पाखा नै किन रत्न पार्क नै जोत्थे होलान्
पोतेरनै दैलो आफ्नो हुने भए
मुखियाको किन नारायणहिटी नै पोत्थे होलान्

जोतेर, पोतेर वा गोदेर, चिथोरेर
चोरेर वा कुनियो फोरेर मात्रै आफ्नो बनाउनेहरुहो
अनी
लुटेर, भुटेर वा कुटेर
छेकेर वा टाउकामा टेकेर मात्रै अधिन चलाऊनेहरुहो
त्यो डकैतिलाई पसिना र पाखुरामा
अनी
त्यो पागलपनलाई बिबेकको टाकुरामा
एकपल्ट पुर्याइ हेरत
यो माटोको त के कुरा
तिमीले टेकेको चट्टान पनि रसाउथ्योकी
स्वयम्भुको बादरले पनि घर बसाउथ्योकी

– London

Chakendra Rai Kaidi – Ma Eklo Chhu

चकेद्र राई “कैदी” – म एक्लो छु


माटो भएर ढुङ्गा सँगै
टाँसिन जानिन ……।
किनार भएर नदी सँगै
गाँसिन जानिन……।
अन्यायको जातोमा मकै सरी
पिसिन जानिन……।
आकाश भएर क्षितिज सँग
मिसिन जानिन……।
त्यसैले….
म एक्लो छु , नितान्त एक्लो !
न बुढो राजनीतिक
इतिहासको खोल ओढेर
यथास्थितिमा लम्पसार परी
काग्रेस बन्न सकेँ…………।।
न म
दोबाटोमा दोधार दोमन लिएर
ठिङग उभी रहने दुई जिब्रे
ए.माले बन्न सके ……।
न त
मिठा मिठा सपना बाँड्दै
आशै आशाको स्वर्ग दिलाउँदै
धमासको खेती गर्ने
ए.माओवादी बन्न सकेँ ……।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!

मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…
म एक्लो छु , नितान्त एक्लो !!!

मेरो दुई खुट्टाहरु
आन्दोलनहरुमा भिड
थपी दिन मात्र काम आए ।
मेरो हातहरु
आमासभाहरुमा थपडी
मार्न मात्र लगाए ।
अलिकती बिबेक पनि
चाप्लुसी र चाकडीमा नै कजाए ।
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!

आज सोच्छु
भाग्य पनि कस्तो कस्तो ?
कोही दरबार बाट एकान्त कुना तिर बसाइ सरे
कोहि कल्पनाको आकश बाट यथार्थको धरतिमा झरे
नहुने जति नेपालमा नै हुदो रहेछ हरेकाहरुले नै चैन गरे
त्यसैले…..
म एक्लो छु , नितान्त एक्लो !!!!

Min Dwandi – Yatra

यात्रा जीवन, जीवन यात्रा
पाइताला खियाउँदै सिंचेर गोरेटो आफ्नै रगत पसिनाले
असंख्य उकाली, ओराली र जंघार निल्दै
निस्कन्छन् पाइलाहरू यात्रामा,
भेटिन्छन् थुप्रै सहयात्रीहरू
बाटो–घाटो र गोरेटोहरूमा,
सिरसिर Continue reading “Min Dwandi – Yatra”

Anmol Mani – Jaba Marchhan Mandirkai Dhoka Aghi (Nepali Gajal)

अनमोलमणि – जब मर्छन् मन्दिरकै ढोकाअघि (गजल)

जब मर्छन् मन्दिरकै ढोकाअघि भोकाहरू
सोच्नु तिम्रो लागि पनि बन्द छन् ती ढोकाहरू

पखालिन्न पीडाको खत नपुज निर्जीव ढुङ्गा
तिमीलाई नै गिज्याउँदछन् ती पीडाका Continue reading “Anmol Mani – Jaba Marchhan Mandirkai Dhoka Aghi (Nepali Gajal)”

Shekhar Dhungel – Mauka Ma Chauka Hana

भन्नेहरु भन्दै गर्छन्
सक्ने ले गर्ने हो
खाको लाको पाको
नेपाली को उखान सबै ले थाहा पाको

लुट्नेहरु निर्धक लुट
कानुन देखे पार्टी को झन्डा लुटक
हत्यारा लाई शाहीद घोषणा भएको
देश मा अपराध लाई कस्ले रोक्छ ?

माग माग आजै क्षति पुर्ती माग
जेको पनि माग्ने भए
आमाले ९ महिनासम्म पेटमा
कब्जा गरेकी थिइन त्यस्को पनि माग

खोतल खोतल मौका यही हो
जता ततै खोतल
जहाँ सम्म आफु आएको ठाउँ देखिन्न
तब सम्म खोतल

तिम्रो आँशु मात्र मोती
अरुको आँशु बर्षा को पानी
कतिसम्म लुट्छोउ लुट देश
नेता रुपी देश का बेइमानी

तोपी फालेउ दौरा फालेउ
पात्रो पनि फाल्ने भन्छोउ
फाल् फाल् पालै पालो
पशुपती बुद्ध र देशै फाल्

Abir Khaling – Pokhara Ka Kabita Haru

अबिर खालिङ्ग – पोखराका कविताहरू


देशको गौरव

आनन्दको विहार
मा
छा
पु
च्छ
रे
अनि
फेवाताल ।


सौन्दर्य प्रतियोगितामा प्रथम भएपछि
शिरमा माछापुच्छरेको ताज पहिरिएर
ग्रामीण वाला पोखरा
नौका विहार गरिरहिछ फेवातालमा ।


विदेशतिर छोराहरु रेटिएपछि
माछापुच्छरे रून्छ शुन्यतामा ।
आँसुको दह फेवातालमा
विदेशी पर्यटकहरूका
नौका विहार आनन्दिलो हुन्छ ।
छोरा हराएको सुचना बोकेर होशहीन माछापुच्छरे
पर्यटक उत्सव हेरिरहेको हुन्छ ।


बढेका छोराहरू कहाँ गए?
हुर्केकी चेलीबेटीहरु कहाँ छन?
सन्तानहीन घरमा
दशैंको भोज खानु मख्ख छ देश।
देशवासी विना पर्यटक वर्ष मनाउनुको उन्मादमा
अलमस्त छ देश ।


हिजोआज सोचमा मग्न छ माछापुच्छरे कि
आफ्नो अग्लाई देश होइन रहेछ
सुन्दरतामा आफ्नो देश छैन रहेछ ।

(Sent to Sanjaal Corps via Email)

Hari Govinda Luitel – Kath Ko Ghoda [Nepali Bal Kabita]

पुण्टे बाबु चढेको
काठको घोडा क्या राम्रो !
लगाम, काठी जडेको
काठको घोडा क्या राम्रो !

टाउको यसको सेतो छ
पिठ्यूँ यसको पहेंलो
कालो आँखा चम्किलो
पुच्छर यसको हरियो

भाग्ला भन्ने डर छैन
लड्ला भन्ने डर छैन
हुत्याई फाल्ने डर छैन
लात्तीले हान्ने डर छैन

खाना यसले खाँदैन
दाना यसले खाँदैन
पानी दिनु पर्दैन
फोहर यसले गर्दैन

यस्तो च्याण्टे घोडामा
हाम्रो पुण्टे चढेको
मावलीघर जानलाई
भनेर अघि बढेको ।

हट्हट् बाटो छोडिदेऊ
ओर्लने बेला भा’छैन
बिहानैदेखि चढेको
कैले पुग्छ था’छैन ।

Narayan Tiwari – Madhesh

नारायण तिवारी – मधेस
(मधुपर्क २०६५ चैत)

मधेसले मलाई गाली गर्छ
म भन्छु-
जसले सधैँ अँगालोमा राख्यो
उसलाई किन गाली
जसले गर्छ तिमीलाई गाली
उसलाई पो गर्नुपर्ने हो
तिमीले गाली
सायद मधेसलाई थाहा छैन
उसलाई र मलाई एकैपटक सराप्ने
गाली गर्ने
कालो रात थियो
‘निरङ्कुश’ जसको ‘जात’ थियो
मधेसलाई सायद थाहा छैन
स्नेहको,
आत्मियताको कुनै जात हुँदैन
प्रीति गाँसेपछि
त्यहाँ कुनै घात हुँदैन

-विराटनगर-७, ममतामार्ग

Komal Shrestha Malla – Dukhnu Parthyo Ra?

कोमल श्रेष्ठ मल्ल – दुख्नु परथ्यो र ?

मनमा राखु
मुटु काट्छौ
राखु आखामा
आँसुमा साट्छौ
सुन्छ र ताराहरु ?
बरु जुन लुकाउन खोज्छ
घामको नियती
के बदलिन्छ र ?
हाँस हाँस सके जती
रोक्छ कस्ले ??
अभाव खड्की रहन्छ
देख्छ कस्ले ?
मुटुमा खेल्न पाए
धुकधुकी झै बोल्न पाए
र हराउन पाए
दुख्नु परथ्यो र ?

Ratna Shamsher Thapa – Bainsh Futi Rahechha Dhungako Kaai Ma Chiplera

रत्नशमशेर थापा – वैंश फुटी रहेछ ढुंगाको काईमा चिप्लेर

टक्टकिएर बकुल्ले बादलको
प्वाँख-प्वाँखको दूधे जराबाट
केशदेखि खुट्टाको बुढी औँलासम्म
ओढाउन सेतो बर्को हरियालीलाई
अर्घ चढाउँदै सूर्यलाई
आरती उतार्न बालिएका
मन्दिर, आँगन र चोक चोकमा
कातेका बत्तीहरू निलेर सलक्क
फुलिरहेछन् हिउँका फूलहरू झपक्क

चहुरका जाँघ भरी
नर्सरीका झ्यांग भरी
पाखा र भन्ज्यांग भरी
फुसफुसाउँदै बेसुरा राग फुकेर ।

नियालेर प्रतिविम्ब
बैँश ।
निलो पोखरीमा
फुटी रहेछ
ढुंगाको काईमा चिप्लेर ।

Manu Lohorung – Jiundo Murda Ko Atmosarga

मनु  लोहोरुंग – “जिउँदो मुर्दा”को आत्मोत्सर्ग

उकालो मसानघाटबाट
सगरमा बदलिँदो
निलिमाको उद्बोध हेरेर
अब “जिउँदो मुर्दा”
आत्मोत्सर्गको
संजीवनी पिउँदैछ l

उसले उद्घोष गर्दैछ…..

म आत्माभिमानी हुँ !

उदयगिरिबाट
मृतसंजीवनी बोकेर
युग उन्मेषको लागि
गाउँको गौंडा-गौंडा हिन्छु l
जहाँ अतिक्रान्त पसिना
अझै लुटिईएका छन्,
अभावको कोर्राले
बिनाकसुर चुटिएका छन्
तिनीहरुको मोचनको निम्ति
युग क्षेपक ओकाल्दै हिड्नेछु l

शहरको कोलाहल छिचोल्दै
गगनचुम्बी भवनहरुमा पस्छु l
जहाँ लालची आँखाहरु
झुण्डमा झुण्डमा
यश भजाउदै गरेका छन् l
तिनीहरुको बिचैमा पसेर
भूतल भोग-चलनको
किराय असुल्नेछु l

मातृबलात्कारको अभियोगमा
नाङ्गो सडकमा उभ्याएर
सद्धामको मृत्युवरण अंगाल्न
बाध्य नहून् !
बिचराहरु………!!!

सडकको छातीमाथि
यामिक पहरेदार भएर
आध्यांत सम्म हिंडी रहन्छु l
अतीव उदासिनताको
खापैखापमा च्यापिएर
उच्छवृतिमा “जिउँदो मुर्दा”
रहन दिन्न, कसैलाई पनि !

यो सामरिक मरुथलका
जीवित मुर्दाहरुलाई
पैशाची प्राकृतबाट उम्काएर
सह अस्तित्वको खल्यानमा
जीवनको धिप्कोमा
दिप्ती भरण गर्न
सम्मोहित पुष्प शैय्यामा
रश्मीसंग जीवन सटाउँछु

Basanta Mohan Adhikari – Ama Ko Bani (Nepali Gajal)

बसन्त मोहन अधिकारी – आमाको वाणी

वसन्तको पासमा लाली गुराँस सधैं
हिमाल र हिमचुलीको सुनगाभा सँगै

रहेसम्म मेरो प्राण यही देह सँगै
सबै जना बास बस म नेपालसँगै ।

घैया कोदो जौ फापर तीन महिना सधैं
हिमालका नेपालीलाई जोड तराई सँगै ।

गर्मी बढ्यो मन डढ्यो खेल हिउँसँगै
दुःख पीडा हर्ष आँशु साट सँग-सँगै ।

जन्म हाम्रो मानवको मानव धर्मसँगै
बुद्ध सीता भृकुटीलाई राख मनमा सधै ।

हिमालको स्याउ टिप्न आऊ साथ-साथै
धान चामल स्याउ साट साट आफ्नो सँगै ।

तराईको गर्मी छल्न उक्ल चामलसँगै
जडीबुटी औषधी लिई झर तराईतिरै ।

दूध दही बाख्रापालन गर पहाडसँगै
जलस्रोत र पर्यटनले हुन्छ विकास सबै ।

ऐंचोपैंचो आफूभित्र तिनै जनासँगै
हिमाल पहाड तराईको नाता गाँस सधैं ।

प्रकृति र कला कृति संरक्षणमा सधैं
मेल मिलाप गरी बस जन्म दातासँगै ।

चेतनाको प्रयोग गर मानव धर्मसँगै
स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमासँगै ।

Kusum Gyawali – Shauchalaya 2

लुछेर वस्तीका हजारौं
कुमारी युवतिका कोमल अंगहरू
बटुलेपछि धार्नीका धार्नी अवैध सून
बनाउँछन् बादशाहहरूले सुनैसुनका शौचालय
अनि पार्टी कार्यालय जस्ता घरका मालिकहरू
निस्कन्छन् हरेक दिन पूजा गर्न त्यो शौचालय
सकेपछि Continue reading “Kusum Gyawali – Shauchalaya 2”

Digesh Raut – Ma Ani Mero Fursad Ko Kabi

दिगेश राउत – म अनी मेरो फुर्सदको कवी

भाग-दौडको मेरो जिन्दगीबाट
एकैछिनको बिस्राम लिन पाँउदाको कवी म
एकान्तमा बस्दाको बेला कहिले-काहीँ
अफैँ सँग गरेका भलकुसारी कोर्ने गर्दछु।।
जीवनका तिता-मिठा भोगत्याइँका
देखासिखी Continue reading “Digesh Raut – Ma Ani Mero Fursad Ko Kabi”

Rajeshwor Karki – Dantya Katha Ko Rakshas

राजेश्वर कार्की – दन्त्यकथाको राक्षस

उहिले-उहिलेको दन्त्यकथामा
पहाड उखेल्दै
नदी सुकाउँदै
सखाप पाथ्र्यो रे
यस धरतीको राक्षसले
तर अहिले
यी सबै गर्नेकै बस्तीमा उभिएर
म कविता पढिरहेछु
र कवितामा आफ्नो परिचय खोजिरहेछु…।

Manoj Bogati – Naak

मनोज बोगटी – नाक

यसपालि पनि कुहियो त्यसको नाक।

त्यसको वरिपरि उडिबस्ने झीङ्गाहरूले
वर्षौंदेखि देख्दै आएको सपना
त्यसको नाकैमा बसेर फुल्यो।

दुर्गन्धदेखि रमाउने झीङ्गाहरू
हेर न गिज्याउँदै गाइरहेको
बिजय गीत।

गीतले त वर्ग छुट्याउँदैन भन्थे
तर झीङ्गाहरूले जुन गीत हातमा बोकेको छ
त्यसले उनीहरू कै झण्डा बोकेको छ।

त्यसको नाकमाथि बसेर
तिनीहरूले गाउने गीतमा
हाम्रो मादल छैन
त्यसैमा सन्तोष छ त्यसलाई।

त्यसको कुहिएको नाकलाई छोएर आउने हावा
हतियार बोकेर गाउँ पसेको छ।
दुर्गन्धहरूको सेनापतिले
रूख छप्कायो, खोला छप्कायो, पहाड नै छप्कायो
टोपी छप्कायो, टोउको छप्कायो र झर्‍यो इतिहासको सिरान गाउँमा
अनि पालैपालो अक्षर छप्कायो।

टाउको गेंडिएका अक्षरहरू, विचरा…!
वाक्यविहीन भए
त्यसपछि ध्वनिले पनि छोड्यो साथ।
हन, एउटा युगै पो लडिबस्यो मूर्दा जस्तो
सयपत्रीको पेदमा।

निक्कै समय ह्वास्स ह्वास्स आइरह्यो
औपनिवेशिकता।

खडेरी लाग्यो
बीऊ पनि बॉंचेन।

त्यत्तिबेलै गयो बिजुली
निक्कै ढियो घर पस्यो त्यो।

त्यो आउँदा
अक्षरहरू फेदैबाट टुसाउँदै थिए
नाकमा मासु भरिँदै थियो।

अचानक गयो पैह्रो
डॉंडा नै झर्‍यो
कता पुरियोपुरियो नाक।

कस्तो हॉंस उठ्‌दो हुन्छ नी यो
नाकको फेन्टसी?