Min Dwandi – Yatra

यात्रा जीवन, जीवन यात्रा
पाइताला खियाउँदै सिंचेर गोरेटो आफ्नै रगत पसिनाले
असंख्य उकाली, ओराली र जंघार निल्दै
निस्कन्छन् पाइलाहरू यात्रामा,
भेटिन्छन् थुप्रै सहयात्रीहरू
बाटो–घाटो र गोरेटोहरूमा,
सिरसिर बतास चल्ने शीतल थुम्का र देउरालीहरूमा
सुस्केरा बिसाउन
बिसिन्छ चौतारी पनि एकछिन त,
अनन्त यात्राको गन्तव्य खोज्दै बढेका आसाहरू
सुसाउँदै, रसाउँदै नदी बग्न चाहन्छन्,
कुनै उकाली, ओराली, जंघार वा भीरपहराले
यात्रा बिफल तुल्याउन सकेको ज्ञात छैन ।
यात्रा इतिहास, इतिहास यात्रा
अवरोधका साँघुरी भञ्ज्यांग र पहाडहरूका
टाउको कुल्चेर संधै–संधै
बाटो खोस्रंदै अघि बढ्छ इतिहास,
जो, जस्तोमा पनि जीवन बाँचेर दुखाइहरूको संग्रह बोकी
बढ्छ बढेको छ निरन्तर,
थकाइ विस्थापित गर्दै सुस्केराहरूमा
हावाका हरेक कण–कणमा सिंगो वर्तमान अंकन गरी
कृत्रिम लेखोटलाई मेट्ने चाहमा
सत्य–तथ्यको अभिलेख संगाल्दै
इतिहास एउटा यात्रा बन्दछ
यात्रा इतिहास बन्दछ ।
यात्रा समय, समय यात्रा
भोगाइहरू कुम्लोमा बाँधेर
वातावरणमा छाप लगाउँदै बग्ने गर्दछ समय,
गन्तव्यतिर बढ्ने समय प्रकृतिका पाइलाहरूलाई
संसारको कुनै शक्तिले पनि
अड्याएर, बाँधेर, रोकेर राख्न सकेको उदाहरण छैन,
यात्रा समयका परिवर्तनशील पूmलहरू
फुल्ने गर्दछन् जताततै
एक–दुई पूmलहरू चुँडाल्दैमा अगणित पूmलहरूलाई
फुल्नबाट रोक्न सक्दैन केहीले, कसैले
पूmलहरू मर्छन् भन्नु सबभन्दा ठूलो मूर्खता हो,
ती त नयाँ पूmलहरूलाई फुलाउन असंख्य बीऊ छोडेर
हाँसी–हाँसी बलिदान हुने गर्दछन् ।