Rakesh Karki – Gaunle Haru

इन्जिनियर राकेश कार्की – गाउँलेहरु

रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरु
जति जोताए पनि मुस्काउने गाउँलेहरु
भोकभोकै बगेका पसिना सुकाउनेहरु
मन भरीको दुःख आफैभित्र लुकाउनेहरु
तर पनि भोलीको मिठो आशमा रमाएकाहरु
एक्कैछीन आनन्दले हातगोडा फिंजाएकाहरु
आज अलपत्र यत्र तत्र छरिएका छन्
कति त माटो मुनी त्यसै पुरिका छन् ।।
मास्न सक्नेले शुरुमै जड्गल मासे
पशु पंक्षी अनि वन्य जन्तु नाशे
अहिले हेर गाउँलेहरु मासिदै छन्
गाउँ गाउँ निसास्सिदै छन् ।।
अन्तरिक्षमा घुम्दै मार्ग खोज्नेहरु
मङ्गल ग्रहमा पनि पुग्न खोज्नेहरु
यहाँ मङ्गल ग्रह पुग्नुभन्दा कति गाह्रो छ
नवैवटा ग्रह चढनुभन्दा कति साह्रो छ
आफू जन्मेको गाउँ पुग्नलाई
आफू हुर्केको आँगन टेक्नलाई
भोकै भए पनि हातगोडा फिजाउनलाई
निष्फिक्री पसिनाले शरीर भिजाउनलाई ।।
निराशा छ गाउँलेसँग अब आशा छैन
मेलापातमा रमाउने पिरतीको भाषा छैन
पसिना छ गाउँलेसँग गाउँको खेत बाँझो छ
विस्तारित परिवार अब सास धान्न गाह्रो छ
तरुल भ्याकुर खोतलुँ भने आफ्नो गाउँ छैन
अलपत्र शहरको पेटीमा, भीख मागेको हैन
बोल्दै बोल्दैन गाउँले खाली मनभित्र रुन्छ
गाउँलेले बोले पनि अब कसले पो सुन्छ ।।

लस् एन्जेलस्

Saroj Dhital – Samjhana

सरोज धिताल – सम्झना

चकचके बादल
जबर्जस्ती छेक्न खोज्छ
पूर्णिमाको जूनलाई

मायाले
विस्तारै पन्छाएर जतनका साथ
झलमल्ल लाग्छ जून
र मुसुक्क हांस्छ मतिर हेर्दै

जसरी–
वर्षौं पहिले
शिवरात्रिका दिन
बाटो छेकेर बसेका बच्चाहरूलाई
मायाले
विस्तारै पन्छाएर जतनका साथ
सुस्तरी अघि बढेकी थियौ तिमी
र मुसुक्क हांसिथ्यौ मतिर हेर्दै ।

नोभेम्बर २००१

Manoj Kafle (Mansoon) – Angana Deshki Gahana

अङ्गना देशकी गहना दास हुन नआऊ
खाडीका अजनबीसंग बास हुन नआऊ

अतेरी अगम्य पार्छन अघासुर मानवहरु
अखण्ड स्वभाव तिम्रो नास हुन नआऊ

बन अगीसरा आफ्नै देशमा छ स्वतन्त्र
पिल्सिन्छ यौवना तिम्रो लास हुन नआऊ

लागेर दामको पछी जीवन बर्वाद हुन्छ
आकुल वंशको तिमी गास हुन नआऊ

गहकिला सुकिला फेशनको लोभमापरी
खराब यो मरुभूमिको आस हुन नआऊ

मनसुन

Shashikala Tiwari – Akash Ko Khojima Niskiyen

शशीकला तिवारी – आकाशको खोजीमा निस्किएँ

स्यानो छँदा
म सपनामा उड्ने गर्थेँ
एउटा रूखबाट अर्को रूख
एउटा पहाडबाट अर्को पहाड
बादलसितै माथिमाथि उडिरहन्थेँ
तर… तर पछि एकाएक
मेरो उडान रोकियो
मैले उडेको सपना देख्न छोडेँ
तर मैले आफ्ना पखेटाहरूलाई
कुँजिन दिइन
जतनसाथ राखिरहेँ,
ती आफ्ना पखेटाहरूलाई
एक दिन अनौठो भयो…
घाममा सुकाएका पखेटाहरू हेर्दाहेर्दै
आफैँ उड्न थाले
माथिमाथि आकाशमा
फन्को लगाउन थालेँ
कावा ?… रगन थालेँ
आश्चर्यचकित भएर
उडिरहेका आफ्ना पखेटाहरूलाई
मैले हेरिरहेँ
आँखा झिमिक्कै नगरी
एक टक हेरिरहेँ
हेर्दाहेर्दै तर केही वेरमै
केही समयमै
पखेटाहरू एकाएक
अचानक काटिएको चङ्गाजस्तै
मेरो अगाडि आएर फ्यात्त खसे
काँपिरहेका भयभित
ती पखेटाहरूलाई
मैले विस्तारै उठाएँ
अनि सुम्सुमाएँ … ढाढस दिएँ..
आतङ्कित पखेटाहरूलाई
विस्तारै विस्तारै सुम्सुमाएँ
र सोधेँ…
किन डराएको ? किन फर्किएको
आज यति छिट्टै किन फर्किएको ?
चिरबिर चिरबिरको
आवाज निकाल्दै
पखेटाहरूले कम्पित स्वरमा भने
अब हामी यो आकाशमा उड्दैनौ
यो विषाक्त भयावह आकाशमा
अब कहिलै कहिलै उड्दैनौ
हामीलाई एउटा अर्कै आकाश दिनोस्
एउटा यस्तो आकाश जहाँ
मृत्युको जाल थापिएको नहोस्
जहाँ गुलेली र बन्दुकको गोलीको
त्रास नहोस्
भयमुक्त भएर उड्न सकियोस्
हामीलाई स्यानै भए पनि आफ्नै
एउटा स्वतन्त्र आकाश खोजिदिनोस्
जहाँ स्वतन्त्र भएर
निश्चितताका साथ उड्न सकियोस्
यो सुनेपछि
म स्तब्ध भएँ
मेरो उड्ने रहर पनि
एकाएक पग्लिएर आँखाबाट खस्यो
मैले आफ्ना ती पखेटाहरूलाई
चुपचाप ब्यागभित्र राखे
र नयाँ आकाशको खोजीमा निस्किएँ ।

Durga Lal Shrestha – Euta Geet [Bal Kabita]

कति हुन्थ्यो गाउन सके
यस्तो यौटा गीत,
हार्नेलाई जीत मिलोस्
रोगीलाई मीत ।

सुन्नेलाई सुन्दै मिलोस्
यस्तो यौटा दैलो,
त्यसै-त्यसै पखालियोस्
जहाँ मनको मैलो ।

छाल उर्ठाई खेलेजस्तै
बाली बयेलीमा,
हाँसो भई छाइरहून्
आँसु तरेलीमा ।

घाम लागोस् मनैभरि
झललल गीत,
कमलको पातमाथि
टलपल शीत ।

२०५९ वैशाख ७

Dr. Biswadeep Adhikari – Dhungama Thikkiyeko Paani

डा. विश्वदीप अधिकारी – ढुङ्गामा ठोक्किएको पानी

नर्तकीहरूको नाचमा
कोही छमछम नाच्छन्
कोही यताउति खुर्र दगुर्छन
सङ्गीतले कहिले
दोहोलो पारेर नचाउँछ
कहिले नाच्दा नाच्दै टक्क
अड्याइदिन्छ ।
पाखा पर्वतबाट Continue reading “Dr. Biswadeep Adhikari – Dhungama Thikkiyeko Paani”

Dr. Mohan Prasad Joshi – Bimba Banai Basauna

डा. मोहनप्रसाद जोशी — बिम्ब बनाई बसाउन

तिमी आकाशबाट ओर्लियौ
बर्सात भई |
मैले तिमीलाई
छतबाट झरेको
पानीको रूपमा हेरेँ,
तप-तप खसेका
थोपाका रूपमा सुनेँ
र माटोलाई भिजाएर
मीठो गन्ध
नाकमा पु र् याउने
प्रथम वृष्टिको रूपमा सुंघें |

तिमी पर्वत शिखरमा बस्यौ
हिमानी भई |
मैले तिमीलाई
चन्द्रकिरणमा चम्किने
पहाडको पोसाकको रूपमा हेरेँ,
पहिलो घामको झुल्का पर्दा
माछापुच्छ्रेलाई
हेम दृश्यमा परिणत गरी
अविस्मरणीय बनाउने
शृङ्गारको रूपमा देखेँ |

तिमी पृथ्वीमा फैलियौ
रसिक भई |
मैले तिमीलाई
निरन्तर बगिरहने
नदीको रूपमा देखेँ
र तिम्रो किनारमा हिँडेर
आनन्दका क्षणहरु लुटें,
अन्नपूर्णालाई आफूभित्र
उल्ट्याई बसाउने
बेगनास तालको रूपमा हेरेँ,
र सबै सरिता समेट्ने
सागरको रूपमा भेटें |

तिमी मनभित्र बसिसकेका छौ
सञ्चित भई |
मलाई थाहा छ प्रिय,
तिमी अहिले फेरि
सागरबाट उडी
बर्सातको बादल बनिरहेछौ
र मेरो घरतिर आइरहेछौ |
म प्रतीक्षारत छु,
तिमीलाई
छतको बलेंसीबाट
झरेको हेर्न,
थोपा बनी
तपतप खसेको सुन्न,
माटोसित मिलेको
गन्धको रूपमा सुँघ्न,
पुलकित हुँदै
जीउमाथि बर्साउन
र बिम्ब बनाई
मनमा बसाउन |

(डा. मोहनप्रसाद जोशीको ‘कहाँ छ ठाउँ ‘ नामक कवितासङ्ग्रहमा समावेश भएको |)

Krishna Pakhrin – Jeni Suteki Chhe Nani Suteki Chhe

कृष्ण पाख्रिन – जेनी सुतेकी छे ! नानी सुतेकी छे !

भर्खरै कोलाहल, होहल्ला गरेर
तिनको असन्तुष्टीमा एउटा नयाँ महाभारत सकेर
कसरी – कसरी
जेनी सुतेकी छे !
नानी सुतेकी छे !!
यहाँ हल्ला नगर !!!
तिमीहरुको हल्लाले ऊ ब्युंझिन सक्छे ।
तिमीहरु कोलाहल नबन !
ऊ फेरी श्री ३ भएर हल्ला गर्न सक्छे ।
आज दिनभरी नानीले
भाडाकुटी, वनभोज खेलेर
राष्ट्रिय सँस्कृतिका उदाहरणहरु
लाखेनाच, घोडेजात्रा
पल्टनजात्रा, गाईजात्रा इत्यादी
खेलहरुको लाममा
धेरै बेरसम्म
थाकुन्जेल खेलेकी छे ।
अहिले नानी सुतेकी छे ।
ए, हल्ला गर्नेहरु !
हल्लालाई लगेर खबरकागजमा देउ
त्यो राष्ट्रिय खबर हुन सक्छ ।
तिम्रा हल्लाहरु उम्मेदवारलाई देउ
आम निर्वाचनको घोडादौडमा, हल्ला दौडिन सक्छ ।
अथवा जनमतको तैयारीमा हल्लाहरु
समर्थक, विरोधी दुवैको
हल्लाको पोस्टर भएर भित्तामा टाँसिन सक्छ ।
तर जेनी सुतेकी छे !
यहाँ हल्ला गर्न मनाही छ ।
हो-हल्ला, कोलाहल ऊ आँफै नै हो ।
बन्देज छ तिमीलाई !

नानी सुतेको बेला
हिजोआज खबर केही छैन ।
त्यसैले खबर नभएको अखबारपत्रले
खबरकागजको राम्रो भ्रम दिएको छ ।
त्यो खबरकागजमा नानी सुतेको खबर छैन ।
अथवा हल्ला, कोलाहल मच्चाउने
एउटा सिंगो खबरकागज ऊ आँफै हो
कसैलाई केही थाहा छैन ।

ए सपनाहरु !
तिनको निंद्रालाई तिमीले नछेक !!
सपनाहरु, कतै तिमीले तिनको निंद्रामा
अतिक्रमण त गरेका छैनौ ?
तिनको निंद्राको स्वयत्ततामा
कतै कसैले पर्खाल लगाउनु त खोजेन ?
तिनको निंद्रामा
कतै कसैले तन्द्राका अभेद्य जंगलहरु रोपेर
बिकासका बिज्ञापन त बनाएन तिनको निंद्रालाई ?
नानी निंद्रामा मस्त छे, जेनी सुतेकी छे ।
हल्ला निषेध छ, बन्देज छ, मनाही छ ।
नानीसँगै आमा
आमासंगै परिवार
र परिवारसँगसँगै मध्यरातमा
यो देश नै सुतेको छ ।
ब्युँझाउने बिकासे भालेहरु
बेला, कुबेला बास्ने गर्छन् ।
अलार्म लगाउने थोत्रे घडी
घडीसाजकहाँ बिग्रिएर थन्केको छ ।
यी सबैको अर्थ नानीलाई के थाहा ?
जेनी सुतेकी छे, नानी सुतेकी छे ।


उनको निंद्रासँगसँगै परिवार
समाज, वातावरण र देश नै सुतेको छ ।
सावधान ! सावधान !!
यो बेला हो-हल्ला नगर, बन्देज छ, मनाही छ,
र निषेध छ ।
जेनी सुतेकी छे, नानी सुतेकी छे ।
जेनी जस्ता अहिले धेरै धेरै नानीहरु सुतेका छन् ।

Mina Bantawa ‘Mridu’ – Gurans Bhir Ma [Nepali Muktak]

“गुराँस भिरमा”

गुराँस भिरमा पनि फूल्दो रहेछ !
हाँसो पिरमा पनि खुल्दो रहेछ !!
केवल, दुःखमा साथ तिमी नभएर के भो र !
अँध्यारोमा त आफ्नै छायाँले पनि भुल्दोरहेछ !!

मिना बान्तवा “मृदु”

Govinda Singh Rawat – Timro Maya Ma

एउटा बिम्ब बनेर आयौं प्रतिविम्ब बनेर छायौं
केही क्षणको मिलापलाई माया बनायौं
कैदी बनायौ प्रेमको सजाय पाए दाम्पत्यको
परिवारको कारागारमा जन्म कैदको सजाय सुनायौं ।

एउटा अपरिचित मान्छेको आगमनले
जीवनको गणित नै सरल पारी दियो
तिम्रो स्वाभिमान र अटल निर्णयले
संर्घष गर्दै गयौं सफलताको
अनि आश्रय बनायौं बात्सल्यको
मायाको छानो र विश्वासको गारो हालेर ।

तिम्रो मायाको संसारमा रमाएर
जीवनलाई आपुनै रंगमा रंगाएर
एक आर्काको मायामा हराएको पनि
रजत वर्ष भई सकेछ ।

दिन महिना साल
ऋतुको परिवर्तित ब्यवहार
उमेरले धरहरा चढ्दै गयौं
मायाले सगरमाथा
कैदको पच्चिस बसन्तमा पुगेर आज
प्रेमको मूल्यांकन गर्न मन लागिराछ ।
के पायौ के गुमायौ
आपुना पाईतालामा कुल्चिएर हामीले
एउटा नव गनतब्य पहिल्यायौं
एउटा बेग्लै परिवेशबाट आएको मान्छेलाई
आपुनो रंगमा रंगाएर पहिचान दिलायौं
तिमीले मलाई मबाट हामी बनायौं
तिमीले मलाई मबाट हामी बनायौं ।

टोरोन्टो, क्यानाडा

Bairagi Kainla – Parbat

वैरागी काइँला – पर्वत

घरभित्र पनि सिरान ताला उक्लिँदा
डाँडा-डाँडा अग्लो डिल भरेङको प्रायजसो म उक्लिन्छु
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुन्छु !

जो झुक्दैनन् जति डाँडाहरू, पहाडहरू
टेक्दै झुकाउँछु खुट्टाले प्रत्येक पाइलाको सँघारमाथि
मेरो सडकमाथि !

उफ ! भाँच्चिएर लडिदिन्छन्
हिमालयका ढाडहरू….
आहाल-आहाल रात छादेर मेरो सडकमाथि ।

आकाशका भित्ता-भित्ता ठाकिँदै बजारिन्छ
प्रतिध्वनिको वज्र-
दौडदै गरेको रेलको छप्परमाथि मूल सडकमाथि !
ऐनाको चोइटाले थापेका रगतका टुक्राभित्र
डिब्बा-डिब्बा किच्चिएका
जिन्दगीका क्षणहरू…
भाँच्चिएको रेलको लिकमाथि
दनदनाउँदो आगोको मुस्लोभित्रबाट
म बटुल्छु, म बोक्दछु…
गोजीभित्र अनि काँधमाथि !

धेरै नानीहरूलाई स्कुलसम्म पुर्याएर
धेरै छोराहरूलाई सीमान्तको मोर्चासम्म पुर्याएर
धेरै बाबुहरूलाई अड्डादेखि घरसम्म फर्काएर
अब त थाकिसकेका बाटाहरू
अब त दुर्घटनामा टुक्रिएका सडकहरू
हो, यी सब सडकहरू
मैले मेरो काँधमाथि बोकेको छु
मेरो कुम्भकर्णको काँधमाथि जिन्दगीको लास बोकेको छु !

मेरो काँधमाथिबाट
मेरो प्रेमको घनत्व र आस्थाको उत्तापले
पाकेको जिन्दगीको लास
चोइटा-चोइटा किरणहरूमा चोइटिइएर खस्दछ
मेरो प्रत्येक पाइलाभित्र : मेरो सडकमाथि !

आँखा खस्दछ : यौटा रात सकिन्छ
अर्को आँखा खस्दछ : फेरी अर्को रात सकिन्छ
पैताला खस्दछ : एक खुट्टा बाटो भरिन्छ
पन्जा खस्दछ : पृथ्वीदेखि आकाशसम्म पुल टाँगिन्छ
दुई हात अँगालो खस्दछ :
असीमित आयतनमा धरतीमाथि
अनि इतिकासमा फेरि यौटा अर्को फाटक उघ्रिन्छ !

फाटकको निधारभरि
मानिसको जानकारीका निम्ति
धुपीका सिन्के पातहरूका माझ-माझ
हाँगाको आँख्ला-आँख्लाका आँखाहरूका अक्षरमा
समयले दौडी आएर लेखिदिन्छ : सूचनाका केही पङ्क्तिहरू

स्वागत छ- पर्वतारोहीलाई,
कलिला-कलिला पैतलालाई,
प्रत्येक जिन्दगीलाई !

अब प्रत्येक मान्छेले सुरु गरुन्
आ-आफ्नो यात्रा फेरि यहाँबाट,
यस फाटकबाट !

सूर्यलाई भरीकन
तेस्रो आँखाको ठूलो घुम्ने बल्बभित्र
उत्तानो समुन्द्रलाई दुवै हातमा टेकिदिएर
उभ्भिएको फाटकको टाङमुनिबाट
सार्क र ह्वेलको मत्स्य-आक्रमणबाट
तारतारी समुद्रिक डाँकूहरूको लुटपिटबाट
धनमाल र बचाएर जहाजलाई
अनि औंलामा उचालेर गोवर्द्धन
आफै पनि यस फाटकबाट
आजकाल सपनामा सधैं म पर्वत चढिरहेको हुनछु !

अजकाल सपनामा सधैं
म पर्वत चढिरहेको हुन्छु !

Anju Subedi – Bihanima Bhale Baasda (Geet)

अन्जु सुबेदी – बिहानीमा भाले बास्दा (गीत)

बिहानीमा भाले बास्दा
मेरै देशको गाउँ सम्झें
वर पर हरीयो बन
मेरै मनको ठाउँ सम्झें ।

मिचिगनका तलाउ यी
आफ्नै रारा हुन् कि सम्झे
रात भर आकाशमा
मेरै तारा Continue reading “Anju Subedi – Bihanima Bhale Baasda (Geet)”

Rajab – Jatti Tadha Gaye Pani

यो दुःख
म आफूसँगै
पृथ्वीबाट लैजान्छु
म आफ्ना दुःखहरू
पृथ्वीमा
छोड्न चाहन्न
जत्ति टाढा गए पनि
म आफ्नू दुःख
उतै लान्छु
फेरि मेरो दुःखले
पृथ्वीमा
दुःख नपावस्

Ram Prasad Prasain – Prarabdha Ko Anuharma Bimba Suchi

रामप्रसाद प्रसाईं “आशुतोष आंशु” – प्रारब्धको अनुहारमा बिम्बसुची

भावोत्तोलनको वाटिकामा
सम्यक असन्तुलन भित्र,
सामयिकीकरणको कसीमा
बांच्छन् बिबश मान्छेहरू,
प्रतिविम्बित विम्ब-विम्बहरूमा।

लछार-पछार Continue reading “Ram Prasad Prasain – Prarabdha Ko Anuharma Bimba Suchi”

Matrika Regmi – Barsha Ra Aanshu

मात्रिका रेग्मी – बर्षा र आँशु

आँशु र वर्षा
वर्षा र आँशु
के दुवै उस्तै हुन् ?

विचार गर्छु-
वर्षाले धर्तीको मैलो आदि पखाल्छ
आँशुले पनि त मनको पीडा हल्का पार्छ
कालो बादलमा मात्र होइन,
कहिलेकाहीँ Continue reading “Matrika Regmi – Barsha Ra Aanshu”

Bhim Darshan Roka – Nadi Kinaar Ma

बितोस् सन्ध्या मेरो एक नदीको किनारमा
होला घाम पश्चिमी बादलको पुछारमा
डुबेको होला वन र पाखा झिंगुरको झङ्कारमा
डुबेको हुँला म पनि एक गहिरो विचारमा
बितोस् सन्ध्या……..
पन्छीहरु सबै जालान् आफ्नो आफ्नो वासमा
एक्लै हुँला तर म त्यहाँ टाढाको आशमा
बितोस् सन्ध्या………
चिसो बतास आई फकाउला मलाई
तब उदय होला तारा मेरो पूर्वको दुवारमा
बितोस् सन्ध्या……
बादलको झ्यालमा जून झुल्की आउनेछ
ताराहरुले गीत एक नयाँ गाउनेछन्
आएर मेरो भविष्यको संसारमा
बितोस् सन्ध्या………
गुन्गुनाउनेछु म पनि हुँदैन हार मलाई
यद्यपि बित्दछ यो जीवन मेरो हारैहारमा
बितोस् सन्ध्या……….

Rajab – Kharab Satta Ko Itihas

हिजोका
समाचारका खराब मानिसहरू
सत्तामा गइसके
राम्रा भइसके
यसैले
आजका खराबहरू पनि
सत्तामा जाने छन्
र इतिहासमा राम्रा लेखिने छन्
किनभने
इतिहास लेख्नेहरू
खराबहरूले बाँडेको पदमा छन्
र पद हुनेहरू
खराब सत्ताको इतिहास
राम्रो लेख्छन्

Prakash Sayami – Ma Apad Ma Timi Sita Hinde [Nepali Gajal]

म आपदमा तिमीसित हिँडे
म सापटमा तिमीसित हिँडे

हिँड्नेहरु कहाँ कहाँ पुगे खै
म राहतमा तिमीसित हिँडे

नदीको वेगसरिको जवानी यो
म चाहतमा तिमीसित हिँडे

के नगद के बाँकी पिरतीमा
त्यै वापतमा तिमीसित हिँडे

घाउ दुखेसरिको पीडामा छुँ
म आहतमा तिमीसित हिँडे

Manoj Kafle (Mansoon) – Mayako Pareli Tarera Hajurle

मायाको परेली तरेर हजुरले
मनैभरी उमंग छरेर हजुरले

टोलाएर हेरे यी मेरा नयेन
बोलाउदा सम्बोधन गरेर हजुरले

फुलको थुंगा पहिलो भेटमा
दिनु भो बेशी झरेर हजुरले

सासैमा कुन्निके भनेझैँ लाग्यो
मलाइ अंगालोमा भरेर हजुरले

आँखामा आँखा जुधाउनुभो अनी
अझ करिव मेरो सरेर हजुरले

मनसुन

Yuddha Prasad Mishra – Launa Maile Ke Garne (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – लौ न मैले के गर्ने ? (नेपाली बाल कविता)

बाबु जान्छन् दाउरा काट्न
आमा जान्छिन् मेला
घरको धन्दा गर्दा गर्दै
जान्छ मेरो बेला
लौ न मैले के गर्ने ?

मनको कुरा उर्ली उर्ली
मनैभित्र थाक्छ
ठाडै खुट्टा मुग्लान्तिर
भागौं भागौं लाग्छ
लौ न मैले के गर्ने ?

आमा भन्छिन् छोरालाई
पढाउनु पर्छ
बाबु भन्छन् आकाशबाट
बर्सिन्छ र खर्च ?
लौ न मैले के गर्ने ?

पढ्ने कुरा गर्दाखेरि
झर्को फर्को गर्छन्
मलाई र आमालाई
आँखै मात्रै तर्छन्
लौ न मैले के गर्ने ?

इस्कुल जान्छन् गाउँघरका
सबै साथी भाइ
चराउनु पर्छ मैले
जिमिन्दार्को गाई
लौ न मैले के गर्ने ?

मलाई भने सधैंभरि
पढूँ पढूँ लाग्छ
जाँचो पाँचो नमिल्नाले
मनको रहर भाग्छ
लौ न मैले के गर्ने ?

कैले काहीँ सिकाउँछन्
पुरेत बाजे आई
मनैमनले क ख भन्छु
चराउँदै गाई
लौ न मैले के गर्ने ?

बारखरी पढ्ने मेरो
सार्है ठूलो धोको
तर मैले बोक्नु पर्ने
सधैंभरि डोको
लौ न मैले के गर्ने ?