Krishna Pakhrin – Jeni Suteki Chhe Nani Suteki Chhe

कृष्ण पाख्रिन – जेनी सुतेकी छे ! नानी सुतेकी छे !

भर्खरै कोलाहल, होहल्ला गरेर
तिनको असन्तुष्टीमा एउटा नयाँ महाभारत सकेर
कसरी – कसरी
जेनी सुतेकी छे !
नानी सुतेकी छे !!
यहाँ हल्ला नगर !!!
तिमीहरुको हल्लाले ऊ ब्युंझिन सक्छे ।
तिमीहरु कोलाहल नबन !
ऊ फेरी श्री ३ भएर हल्ला गर्न सक्छे ।
आज दिनभरी नानीले
भाडाकुटी, वनभोज खेलेर
राष्ट्रिय सँस्कृतिका उदाहरणहरु
लाखेनाच, घोडेजात्रा
पल्टनजात्रा, गाईजात्रा इत्यादी
खेलहरुको लाममा
धेरै बेरसम्म
थाकुन्जेल खेलेकी छे ।
अहिले नानी सुतेकी छे ।
ए, हल्ला गर्नेहरु !
हल्लालाई लगेर खबरकागजमा देउ
त्यो राष्ट्रिय खबर हुन सक्छ ।
तिम्रा हल्लाहरु उम्मेदवारलाई देउ
आम निर्वाचनको घोडादौडमा, हल्ला दौडिन सक्छ ।
अथवा जनमतको तैयारीमा हल्लाहरु
समर्थक, विरोधी दुवैको
हल्लाको पोस्टर भएर भित्तामा टाँसिन सक्छ ।
तर जेनी सुतेकी छे !
यहाँ हल्ला गर्न मनाही छ ।
हो-हल्ला, कोलाहल ऊ आँफै नै हो ।
बन्देज छ तिमीलाई !

नानी सुतेको बेला
हिजोआज खबर केही छैन ।
त्यसैले खबर नभएको अखबारपत्रले
खबरकागजको राम्रो भ्रम दिएको छ ।
त्यो खबरकागजमा नानी सुतेको खबर छैन ।
अथवा हल्ला, कोलाहल मच्चाउने
एउटा सिंगो खबरकागज ऊ आँफै हो
कसैलाई केही थाहा छैन ।

ए सपनाहरु !
तिनको निंद्रालाई तिमीले नछेक !!
सपनाहरु, कतै तिमीले तिनको निंद्रामा
अतिक्रमण त गरेका छैनौ ?
तिनको निंद्राको स्वयत्ततामा
कतै कसैले पर्खाल लगाउनु त खोजेन ?
तिनको निंद्रामा
कतै कसैले तन्द्राका अभेद्य जंगलहरु रोपेर
बिकासका बिज्ञापन त बनाएन तिनको निंद्रालाई ?
नानी निंद्रामा मस्त छे, जेनी सुतेकी छे ।
हल्ला निषेध छ, बन्देज छ, मनाही छ ।
नानीसँगै आमा
आमासंगै परिवार
र परिवारसँगसँगै मध्यरातमा
यो देश नै सुतेको छ ।
ब्युँझाउने बिकासे भालेहरु
बेला, कुबेला बास्ने गर्छन् ।
अलार्म लगाउने थोत्रे घडी
घडीसाजकहाँ बिग्रिएर थन्केको छ ।
यी सबैको अर्थ नानीलाई के थाहा ?
जेनी सुतेकी छे, नानी सुतेकी छे ।


उनको निंद्रासँगसँगै परिवार
समाज, वातावरण र देश नै सुतेको छ ।
सावधान ! सावधान !!
यो बेला हो-हल्ला नगर, बन्देज छ, मनाही छ,
र निषेध छ ।
जेनी सुतेकी छे, नानी सुतेकी छे ।
जेनी जस्ता अहिले धेरै धेरै नानीहरु सुतेका छन् ।