Ram Prasad Prasain – Prarabdha Ko Anuharma Bimba Suchi

रामप्रसाद प्रसाईं “आशुतोष आंशु” – प्रारब्धको अनुहारमा बिम्बसुची

भावोत्तोलनको वाटिकामा
सम्यक असन्तुलन भित्र,
सामयिकीकरणको कसीमा
बांच्छन् बिबश मान्छेहरू,
प्रतिविम्बित विम्ब-विम्बहरूमा।

लछार-पछार भावात्माहरू,
अक्षरहरूको तक्षशीलामा
सम्यक आर्य सत्यका
यक्ष प्रश्नहरू किन किन
लाचार लाचार हिड्दै छन्,
ना/जवाफ समयको
शैशव शव सुसेल्दै।

जनजीविकाको जोतारो
सुमेरू समय शरणागत
विम्वदेखि विम्वसम्म
एक मञ्चन नाटकीयताको
वसुन्धरा बन्छ,
जीवन रूपान्त्रण हन्छ–
बे/ढंग रंगमञ्चमा।

वास्तवमा
बांच्छन् बिबश मान्छेहरू,
प्रतिविम्बित विम्ब-विम्बहरूमा।

जुलाइ २४, सन् २०१०

रामप्रसाद प्रसाईं “आशुतोष आंशु”
कालीखोला -२(तेम्बोक), ताप्लेजुङ्ग, नेपाल।
अबुधाबी श्रमशिविरबाट।

(Sent to Sanjaal Corps via Email)