Yuddha Prasad Mishra – Launa Maile Ke Garne (Nepali Bal Kabita)

युद्धप्रसाद मिश्र – लौ न मैले के गर्ने ? (नेपाली बाल कविता)

बाबु जान्छन् दाउरा काट्न
आमा जान्छिन् मेला
घरको धन्दा गर्दा गर्दै
जान्छ मेरो बेला
लौ न मैले के गर्ने ?

मनको कुरा उर्ली उर्ली
मनैभित्र थाक्छ
ठाडै खुट्टा मुग्लान्तिर
भागौं भागौं लाग्छ
लौ न मैले के गर्ने ?

आमा भन्छिन् छोरालाई
पढाउनु पर्छ
बाबु भन्छन् आकाशबाट
बर्सिन्छ र खर्च ?
लौ न मैले के गर्ने ?

पढ्ने कुरा गर्दाखेरि
झर्को फर्को गर्छन्
मलाई र आमालाई
आँखै मात्रै तर्छन्
लौ न मैले के गर्ने ?

इस्कुल जान्छन् गाउँघरका
सबै साथी भाइ
चराउनु पर्छ मैले
जिमिन्दार्को गाई
लौ न मैले के गर्ने ?

मलाई भने सधैंभरि
पढूँ पढूँ लाग्छ
जाँचो पाँचो नमिल्नाले
मनको रहर भाग्छ
लौ न मैले के गर्ने ?

कैले काहीँ सिकाउँछन्
पुरेत बाजे आई
मनैमनले क ख भन्छु
चराउँदै गाई
लौ न मैले के गर्ने ?

बारखरी पढ्ने मेरो
सार्है ठूलो धोको
तर मैले बोक्नु पर्ने
सधैंभरि डोको
लौ न मैले के गर्ने ?