Shekhar Dhungel – Rastriya Geet

नेपाल नेपाल नेपाल
यो मेरो नेपाल हाम्रो नेपाल
हिम्चुली को आँगन मा
मादल को ताल मा
नाच्दै हिंड्ने फुल्बारी
हो यो मेरो नेपाल हाम्रो नेपाल

कस्ट जस्तै पाए पनि
दुस्मन सीत् डटी लड्ने
हाम्रो ऊच्च वीर गाथा
राखी छाती मा चन्द्र सुर्य
गर्छौ गर्ब आफ्नै ईतिहास मा
हो यो मेरो नेपाल हाम्रो नेपाल

हामी कहिल्यै झुकेनौ
अब पनि झुक्दैनौ
हामी फस्दैनौ दुस्मन को जालमा
हिमाल पहाड तराइ गाउँछ
एकै सुर र तालमा
हो यो मेरो नेपाल हाम्रो नेपाल

Tanka Subba – Atma Bishwasko Ujyaloma

टंक सुब्बा – आत्मा विश्वासको उज्यालोमा

अन्धकार फैलिएको आत्माभित्र
विश्वासको राको बालेर
कर्तव्यलाई छाम्दा
देखिन्छन् थुप्रै हराएका गोरेटाहरु
बाधिन्छन् थुप्रै नबाधिएका लक्ष्यहरु
तर जीवनको शाश्वत पक्षलाई अङ्गालेर
प्राप्तिको लागि
गन्तव्यतिर हुइकिनु पर्दा
जतिसुकै रुझ्नु परे पनि साउने झरिमा
जतिसुकै कठाङ्ग्रिनु परे पनि हिउदको जाडोमा
साकार सपनाको पहाड
छातीमा उभ्याएपछि
अथवा युद्घभूमिको सिपाही भैसकेपछि
बाच्नु हुदैन कहिल्यै
इच्छाहरु बन्दकी राखेर
बरु कठिनले विजयका क्षणहरु उभ्याएर
बाच्नुपर्छ अटल हिमाल झै
किनकी जीवन भनेको
दीप हो उज्यालो
अन्धकारमा पनि बलिरहने
आकांक्षा हो बलिया
जीउनको लागि प्रयासरत भैरहने
यान हो जीवित
एकयुगबाट अर्को युगमा अवतरण गराउने
आभाष हो समयको
परिवर्तित अनुभूतिमा छाइरहने
तर कहिलेकही नित्य आउने दिनहरुसंग
अपरिचित बन्न पुग्दा
विना कम्पास हिडेको दिशाविहीन यात्री झै
अन्योलको भुमरीमा फस्नु पर्दा
सहासले आत्मा विश्वासको दियो लिएर
उज्यालो पाउदा
भेटिन्छन् अनगिन्ती नभेटिएका गोरेटोहरु
बाधिन्छन् अनगिन्ती नबाधिएका लक्ष्यहरु
बग्छन् अनगिन्ती नबगेका खोलाहरु
देखिन्छन् अनगिन्ती सफलतामा हिड्दै गरेका मान्छेहरु ।

Gopal Kawali – Besura Drut Raag Ma

बेसुरा द्रुत रागमा डिस्कोमा मच्चिनु भन्दा
एकान्त वागमा गई एकछिन एकाग्र बन
भमराको भुन भुन कति कर्ण प्रिय हुन्छ
कल्पनाका कथाहरुमा आधारित
कृत्रिम चलायमान चित्रहरुमा अल्झिनु भन्दा
पर्तिर जंगलमा गई एकछिन सुस्ताउ
कोइलि कण्ठको आवाज कति मधुर हुन्छ
आधुनिकताको हावा, यो त सरुवा रोग हो
कुनै रोकथाम बिनाको,कुनै निदान बिनाको
छिमेकीलाई ग्रस्त बनायो भनेर
काखी बजार्नु मिथ्या हो
कुनैपनि पल तिम्रो घर छिर्न सक्छ
सुटुक्क, कुनै चाल बिना
महंगा होटल र रेस्टुरेन्टमा गएर
पिज्जा र बर्गरमा रमाउनुको सट्टा
आफ्नै घरको कनिकाको चाम्रे चाख त
त्यसमा जिब्रो निलिने मिठास हुन्छ
आवस्यकता अनि बिलासिता फरक बस्तु हुन्
आफ्नु पन भनेको आफ्नै हुन्छ
यसो भन्दा, बिज्ञान को बिकाश नमान्नु भनेको कहाँ हो र
कसैकापनि थिति र संस्कार दुधले धुलियेका छैनन्
स्वीकार्ने र त्याग्ने बस्तुहरु पहिचान गर्न सक्नु पर्छ
अर्थ यहि हो,……….
उखु खाने हो भने
निल्ने रस र फ्याँक्ने खोयिला छुट्याउन सक्नु पर्छ!!!

जुलियन,अफगान,१८/१२/१२

Shekhar Dhungel – Aswikrit Buddha

तिम्रै देशमा हे बुद्ध!
तिमी अस्वीकृत भएका छौ
मुल्युहिन सम्झी मानव चोला
यत्र त्यत्र उस्कै बलि
सत्ता व्यापारमा साटिंदै छ
श्रेष्ठ प्राणी भएरै होला
उस्कै रगत घुम्ने कुर्सी चुस्दै छ
हाबासँगै बिलाए
कैयौं मुना चित्कार
खडेरीको जङ्गल सरी
उजाड सिउँदो रुँदैछ
लालच त्यागी राज पाठ
छोड्ने तिम्रो पवित्र भूमिमा
नयाँ बिहानीसँगै
झनै कठोर सत्ता
छातीमा परेड खेल्दै छ
अस्थिर , तरलित मानव
स्वार्थको बली चढ्दै छ
सपना का शितल सागर
क्रुर चुनामी भए
शान्तिका दूत आँसु झार्दै
रणभूमि हेरिरहे
उकुस मुकुस माहौल यो
वुद्ध तिम्रो घरमा
बन्दकी भबिस्य सुस्ताउदै छ
देब तपो भूमि नेपालमा
आन्दोलनका खेती फस्टायो
तिमी अस्वीकृत यो वर्तमान
सन्ततिलाई त्रास पस्कदै छ
कोमल मनमा
वितृष्णा बिद्रोह पोतियो
समयले बाटो बदल्यो कि ?
खन्डहरको ईतिहास रच्यो
शर्माइ चेतनाको प्रकाश
बादलमा मुन्टो छोपी
तिम्रो आगनको बाटो
भुले जस्तो
अामानवीयता को राँको बोकी
नवजात बृद्ध कोही नभनी
खाडलमा जोत्ने काम हुँदैछ
वुद्ध तिम्रो आँखामा धुलो छ्याप्ने
धुन्दकारीहरूको मौलायो खेती
मानबता बिरुद्धको अपराधले
हेर, शिखर चुम्दैछ
विवेक र सद्भावको मस्तिस्कमा
पाषविक दुस्टता भरिंदैछ
शान्तिका मलेवा, हे बुद्ध!
टायर् र बारुद को धुवाँमा
कोही छटपट्टिएर मरे
कोही बस्ती छोडेर भागे
लठ्ठी भाला र बन्दुक बाहेक
अरु भाषा नबुझ्ने भएका छौं
हे बुद्ध! तिम्रै देशमा आज
अस्वीकृत भएका छौ तिमी

Rabindra Nath Thakur – Devata Ko Dar [From Geetanjali]

देवताको डर
तिमीलाई देवता भन्ठानेर म टाढै उभिरहेको छु :
आङ्खनो झैँ सम्भेर नगीच आउँदिना ।

तिमीलाई बुवा जानेर तिम्रो चरणमा निहुरिन्छु :
साथीलाई झा तिम्रो हात समात्दिनँ ।
प्रेमवश भईकन आफैँ मेरो बनेर जुन बाटोमा तिमी मनि झर्छौ, त्यस
बाटोमा तिमीसँग हितको साथी सम्झेर हिंड्ने साहस ममा छै्रन !
नाथ !तिमी मेरा सहोदर साथी–संगी झैँ बन्धु हौ, तैपनि तिम्रो
नगीच जान सकिनँ !
म मेरा सारा धन ती साथी–संगीहरुलाई बाँडिदिन्छु अनि तिम्रो
सहभागी बन्नको निम्ति तिम्रो सामु उभिन्छु ।
म सुख–दुःखका सबै वेलामा पनि कसैसँग बस्तिन, तिमीसाग न
उभिरहन्छु ।
आङ्खनो बाटोको आखिरी नपाएर, जब म थकित हुन्छु,
त्यस अवधिमा पनि जीवन त्याग गर्ने मनसुबाले प्राणसागरमा
हामफाल्दिनँ ।
तिमीलई देवता भन्ठानेर म टाढै उभिरहन्छु, तिम्रो
नगीच आउँदिनँ ।

Ashank Upadhyaya – Kina Yesto Kura Hajur (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – किन यस्तो कुरा हजुर

किन यस्तो कुरा हजुर म त सँधै साथैमा छु
नियालेर ऐना हेर्नुस गाजलु ति आँखैमा छु

चिन्ता हैन आशा बोक्नुस संसार यो जितिन्छ नै,
छाती माथि हात राख्नुस देब्रे पट्टि पाखैमा छु

अत्तालिन्छ मन बुझ्नुस आधारमा शंका गरे,
मनैदेखी छामी हेर्नुस रेशमी त्यो काखैमा छु

हार हैन जित खोज्नुस जिन्दगीको यात्रा भरि,
पुकारेर बोलाउनुस म त हरेक रातैमा छु

टाढा हुँदा यति सोच्नुस फेरी भेट हुने नै छ,
मिलनका गीत सुन्नुस सुरिला ति भाकैमा छु

Bhupin Byakul – Ma Timilai Prem Garchhu

भूपिन ब्याकुल – म तिमीलाई प्रेम गर्छु

तिमीलाई प्रेम गर्छु
र सम्झौता इन्कार गर्छु

थाह छैन
म तिमीलाई किन प्रेम गर्छु ?
तर थाह छ
म तिमीलाई किन इन्कार गर्छु

तिमीले कुनै दिन
मैले तिर्न नसक्ने प्रेमको मोल माग्न सक्छौ
तिमीले कुनै दिन
मैले किन्न नसक्ने प्रेमको महल पनि माग्न सक्छौ
निसन्देह :
मैले तिर्न सक्नेछैन प्रेमको मूल्य
मैले किन्न सक्नेछैन प्रेमको महल
र सायद त्यसपछि
तिम्रा मप्रतिका विश्वाशहरु फाटनेछन्
तिम्रा मप्रतिका आस्थाहरु च्यातिनेछन्
धुजा-धुजा हुनेछन्
तिम्रा सुकुमार सपनाहरु
उफ !
तिमीलाई सर्वोत्कृष्ट प्रेम गर्ने
मेरो सबल पुरुषत्व
बेकाम हुनेछ कुनै नपुङ्सक रहरजस्तै
र त्यसपछि
नभएको प्रेमनगरमा
मेरो फकिरले आत्महत्या गर्नेछ !

मृत्युपर्यन्त
म तिमीलाई प्रेम गरिरहन चाहन्छु

तिमीलाई प्रेम गर्छु
र सम्झौता इन्कार गर्छु !

Basanta Mohan Adhikari – Marisakeko Chhu Jalau Aayera Aba (Nepali Gajal)

बसन्त मोहन अधिकारी – मरिसकेको छु जलाऊ आएर अब

मरिसकेको छु जलाऊ आएर अब
के चाहन्छौ मेरो घर जलाएर अब

विश्वासमा दिए संसार तिमीलाई
जलिरहेछु तिम्रो आगो पाएर अब

कुन गल्तिको सँजाए दियौ तिमीले
दिन सक्दैनौ जीवन ल्याएर अब

मानव भनौँ कि के भनौँ तिमीलाई
नजलाऊ यो मनमा छाएर अब

Min Dwandi – Gaun Sanga Gunaso

म यात्राबाट थकित फर्कें
पाएँ तिमीलाई जात्रामा चकित
कति उनिनु, कति थुनिनु
युग–युग पुरानो उही रमितामा
मेरो गाउँ, अब यसरी मौन रहनु हुन्न ।
बा¥ह वर्षमा त खोलो पनि फर्कन्छ भन्छन्
टुहुरोको पनि एकदिन त सुदिन फिर्छ भन्छन्
कम्तिमा पनि अलिकता आकांक्षा बुनौं
सुहाउँदा केही सपनाहरूको सृजना गरौं
मेरो गाउँ, अब यसरी शून्य रहनु हुन्न ।
अग्राख पलाएर फैलिइरहेको छ
रात हरायो नभन्नू
एकमुठी घाम त खोज्नै पर्छ
अब हात चलाउनू, खुट्टा चलाउनू
मेरो गाउँ, अब यसरी अचल रहनु हुन्न ।

Baldev Bhatta – Yestai Ho Bhane

बलदेव भट्ट -यस्तै हो भने

एक सय चार वर्ष राणाले देश चलाए
आफ्नो ढुकुटी भरे जनता नाङा बनाए
तीस बर्ष पञ्चे आए ती अघाए
त्यसपछि ऊ आयो सबै आए ।
तिमी जङ्लमै थियौ भन्यौ-
ती सब फटाहा हुन
देश मैले चलाउनु पर्छ
जनतालाई फकायौ
तिम्रो मुक्तिदाता मै हो भनेर
हो त , तिमीलाई पनि चुनेर पठाए
समय कुद्दै गयो
तिमी पनि
धेरै दिन सिटमा बस्न सकेनौ
तिमीले भनेऊ- फेरी हाम्लाई लखटे
अहिले फेरि उनीहरु छन
देश चलाउनमा ।

उहिले पञ्चायत कालमा ती पनि
त्यसै भनेर आएका थिए
वाचा गरेर अर्कै काम गर्नु
जनता मर्न दिएर आफू मोटाउनु
सबैले यही देखे यही सिके
प्रजातन्त्र लोकतन्त्र गणतन्त्र
गजब गर्यौ सब आफ्नै तन्त्र बनायौ
नत्र त अलिकति तिम्रा पालामा
जाजरकोटमा झाडापखालाको औषधि
पुगेको हुनुपर्ने हो
देशको सिमाना मिचिदा, तिमीलाई पनि
छटपटी हुनुपर्ने हो !

झगडा गर्नमा भागबण्डा लगाउनमा
आफ्ना पराइ छुट्याउनमा ब्यस्त रह्यौ
काम भन्दा कुरानै फलाक्यौ
यस्तै हो भने किन मान्छे मार्नु
जनतालाई दु:ख दिनु
के क्रान्तिका कुरा गर्नु
अबबाट आऊ सबै
आफू खाने कुरा गरौं
छोरा नभए छोरी खुवाऔँ
जनता मरे के भो,
देश त्यही
सत्ता चलाउनु न हो
पातकीहरुले!

Bhoj Raj Neupane – Mrityu Sparsha

भोजराज न्यौपाने – मृत्यु स्पर्श
(असोज मधुपर्क, २०६८)

कस्तो होला
मृत्युले टेकेको आँगन ?
भर्खरै पोतिएको
उजाड तुलसीको मोठ
समुद्रजस्तै छचल्किएका परिवारका आँखा
शोकाकुल आफन्तजन,
तिल, जौ र कुश छरिएको पिँढी
छरपष्ट बाँसका टुक्रा
सेतो कपडा र अलिकति पिताम्बर
पुरानो गुन्द्री र मैलो विच्छयाउना
पानी खाने करुवा, बटुको र चम्चा
यही हो मृत्युले छाडेको निशानी ।
कसले देख्न सक्छ ?
यहीं कतै बसेको छ मृत्यु
जसले भरखरै कसैलाई कुल्चेको छ ।
फूलजस्तै हो मान्छेको जीवन
अरूको इच्छामा टिपिनु पर्ने
कहिल्यै अघाउन्जेल बाँच्न नपाइने ।
कस्तो अपि्रय हुन्छ मृत्यु
र, कति भयावह हुन्छ मृत्युको खबर
त्यसैले,
मृत्युको खबरको कसैले कल्पनै नगरोस्
र, मृत्युले कसैको आँगन टेक्दै नटेकोस् ।

Yuddha Prasad Mishra – Chetana Ko Udhvab

युद्धप्रसाद मिश्र – चेतनाको उद्भव

आकांक्षा लिई निम्न वर्गहरूको आत्मा दुखेको धुने
आर्थिक संकटका अगाध दुखले पाउ अगाडि हुने
स्वाभिमान बचाउने प्रण उठी राखी ठूलो हौसला
झल्केको छ विकासशील मनमा उतिर्ण’ बन्ने कला

चुत्था कांतर राक्षसि दमनका पाई ठूलो यातना
ढाल्ने दुर्ग लिएर आँट बढ्दै छन् वीर वीरांगना
सारा शोषणका शिकारहरूका दुर्दान्त आँधी उठी
चाँडै नै अब देशद्रोहीहरूले जानू छ धर्ती छुटी

शत्रुमाथि गरी समर्पित जुनी ज्यूनू यहाँ र्ब्यर्थ छ
हाम्रो आज कुटा कुदाल हँसिया बन्दुकमा अर्थ छ
भाग्दैनौं अब तथ्यबाट पर भै आत्मा गरी साँगुरा
हो बाल्छौं जनमञ्चबाट भवमा ऐले घटेका कुरा

जाँदैनौं पुरुषार्थ केही नगरी संसारदेखि मरी
भन्दै यो तगडा विचार जनता माथि र्समर्पण गरी
आफ्ना जीवनका परिश्रमहरू पारी उज्यालो अब
आयो ब्याप्त भएर जागरणको भै चेतना उद्भव

Abhas – Maato Muni Ko Biu

म माटो मुनिको बीउ
भरखरै एउटा कोमल हातबाट रोपिएको छु
खुला आकाश र उज्यालोसित बिछोडिएको छु
सिर्जना गर्न अँध्यारो पनि पिउनु पर्दोरहेछ
म अहिले
धरतीभित्रै
अँध्यारो पिएर बाँचेको छु
यतिबेला
आफ्नो भन्नु–
आफैंभित्रको पीडा छ
मलाई थाहा छ
यही पीडाले
मलाई उमार्न सक्छ
यो पनि थाहा छ
यही पीडाले
मैलाई मार्न सक्छ ।

Shrawan Mukarung – Surya Grahan

तिम्रो सिउँदो भर्न मैले
यसरी हत्केला चिरेजस्तै
पृथिवीको सिउँदो भर्न
सूर्य–
आकाश चिर्दै–चिर्दै आउने गर्छ

यसरी निधारै भरिएर रगत
तिम्रो पाउभरि खसेजस्तै
हिउँखोलाहरू
नदी हुँदै–
समुद्रमा खस्ने गर्छन्

मेरो छातीको सिरानी लगाएर तिमी–मैले
अनेक सपना देखेजस्तै
या मन्दिर छोएर हर्षले बरबरी रोएजस्तै
सूर्य कति रोयो होला–
सूर्यग्रहणमा….।
तर, एक्कासि तिमीले झैँ पृथिवीले
सूर्यलाई छोडेर गयो– दुःखमा !
अहिले पृथिवीको सिउँदो भर्न
चन्द्रमा आकाश चिर्दै–चिर्दै आइरहेछ
मसित त न चक्कु छ न त्रिशूल !

Sarubhakta – Itar Yudda Morcha Haru

उभिण्डो टोपी लाएर
निर्वस्त्र शान्ति
रेसकोर्टका घोडाहरुझैं दगुरे
खोई, क्रयाक्पट् वुद्धहरु कता लागे ?
गडम्यानहरु
सैतानहरुका वस्तीमा छन्
हिजो हामीले प्रेमदिवस मनायौं आज
घृणादिवस मनाउँदैछौं
‘गोली ठोक्नु पर्छ त्यस्तो कविलाई !’
युगकविको युगीन वाणी हो
चरमराएका मानवविकास परिसूचकांकमा
खोई कविता कहाँ छ ?
कम्प्युटर भिजनसिन्डोम ः हामी अनलाइन
पूजामा ब्यस्त छौं
यतिखेर तुरुप हराएका जुवाडेहरु
बिरामीहरुको मौन जुलुशमा सामेल छन्
शरणार्थी देश कहाँ छ ? हृदयमा कि भूमिमा ?
आह ! शान्ति क्षेत्र नेपालमा जहिलेपनि
शान्तिवार्ताको हल्ला छ
अन्तहीन यक्षप्रश्न ः केराउवारीका सामुहिक वलात्कारहरु
हेर ! हेर ! इतिहासका झ्याक्रे अधिनायकवादीहरु
बहुरुपी नाच नाच्दैछन्
हामी कहाँ छौं ? भग्नावशेषहरुको भग्नावशेषहरुमा छौं
यसर्थ जिन्दगीका खरखडाइहरु
ग्वेवेलियन शैलीमा वेपत्ता छन्
आउ, आत्माहरुको क्लोनिङ गरौं !
कारण उता डोलीमरिछ यता हामी
स्वस्थानी व्रतकथा सुन्दैछौं
धडपकड जारी छ
धरपकड जारी छ …
अझैपनि टेरेन्टुलाहरु काशीवास गएका छैनन्
पशुवधशाला त्यहाँ छ, मानववधशाला सर्वत्र छ
आह ! यहाँ कोही गड्यौला खेती गर्दैछन्
कोही शहीद खेती गर्दैछन्
एत्तेरिलै ! गरीवीमापन गर्ने हो ? शमृद्धि मापन गरे हुन्न ?
‘आयो गोर्खाली !’ आजभोलि इतरयुद्धमोर्चाहरुमा
सर्वत्र चौकिदारीका माग वढेका छन्
ए, रुखचढ्ने गँगटाहरु !
हाम्रा देशवासीहरु के गर्दैछन्
गाँजा नभित्र्याएर ?

Bhawana Pokharel – Ghoda

भावना पोखरेल – घोडा

म तिम्रो घोडा हुँ
होलटाइमर कार्यकर्ता होइन
त्यसैले
तिम्रो आदेश भयो भन्दैमा
म अपमान गर्न सक्तिन मानवताको
जानाजान म कुल्चिन सक्तिन
सडक धर्ना दिने
जिउँदा मान्छेहरुलाई
म कोर्रा सहँन तयार छु
तर जानाजान तिमी चढेको रथसहित
म हामफाल्न सक्तिन भिरहरुबाट
म तिम्रो सुरक्षामा निष्ठावान छु
मैलै बुझि्दन
तिम्रो कुर्सी र भर्‍याङको
काइते जोड घटाऊ
किनकी म तिम्रो घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

बाधेर दुवै आँखामा ढक्कन
मलाई कार्यकर्ता बनाउन नखोज
म तिम्रो घोडा हुँ
घोडै बन्न देऊ
मलाई नसिकाउ तिम्रो काइते भाषा
म बोल्न सक्तिन तिम्रो भाषा
तिम्रा कार्यकर्ताहरुलाई जस्तै
मेरो हिनहिनाहटलाई उपहास गर्दैनन मान्छेहरु
किनकी म घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

मैले देखेको छु
युद्धहरुको बीचैमा
विश्वास घात गरेर भागेका
तिम्रो विश्वासीला कार्यकर्ताहरु
तर म भाग्न सक्तिन युद्धहरुबाट
किनकी म तिम्रो घोडा हुँ
होल्टाइमर कार्यकर्ता होइन

त्यसैले
तिम्रो आदेश भयो भने पनि
म अपमान गर्न सक्तिन मानवताको
जानाजान म कुल्चिन सक्तिन
सडक धर्ना दिने
जिउँदा मान्छेहरुलाई

Ishwar Ballav – Mera Sapana Chhan

ईश्वरवल्लभ – मेरा सपना छन्

म भित्र फूलझै फक्रिरहेका सपना छन्
म तिमीलाई दिन सकूँ
हरेक हरियालीबाट सरसता टिपी
तिमीलाई सुम्पन सकूँ
कि मेरो निम्ति एउटा गीत बनोस्
तिम्रा कोमलताहरूले,
रसिला पातहरू बनून् प्रत्येक बुटामा
– म तिनलाई छर्न सकूँ
तिमी पानी पनि त हौ
कहिले मेरा खोलाहरूमा सग्लो बग्न सक्छौ
रेशमी थुँगा हौ भने
कहिले मेरा अग्निहरूमा मिल्न सक्छौ
तिमी बगैँचा हौ
कहिले मेरो पतझडमा फुल्न सक्छौ
कि एकछिन आऊ, मेरो आँगनसम्म
त्यहाँ एउटा गहिरो नदी बगोस्
तिमी बग फेरि म बगूँ त्यसमा
तिमीभित्र फेरि म तिमीजस्तै भिज्न सकूँ ।

Durga Lal Shrestha – Jhinga Ko Jiskyayi [Bal Kabita]

घरी गाला, घरी कान,
घरी कहाँ कहाँ,
यसरी तँ खेल्छस् किन
मेरो जीउमहाँ –

धपाउँछु, उड्छ अनि
फेरि बन्दै हीरो,
जिस्क्याउँछस् मलाई किन
ए भुसुने कीरो –

जसै हान्छस् तन्काएर
नाकमा नै लात्ती,
त्यो बेला म देख्छु तँलाई
अजङ्गकै हात्ती !

झिँगो ! मलाई बिनसित्तै
किन यो हैरानी –
जाँच्या होस् कि तैँले मेरो
रिसाउने बानी –

२०५८ चैत २६

Harihar Dahal – Hosiyar Sing Le Unera Marlan Gai Harule

डाँगाहरू फुकेछन् गोठबाट
दाम्ला चुँडाएछन
बारेका चित्राहरू सखाप पारेछन् उनेर
आफू आफू लडेछन
सिंङ् भाँचेछन् गोरुहरूले
रक्ताम्मे भएछन् जुधेर गोरुहरू
गोरुहरू छाडा भएछन् फुकेर
चोरेर बाली खाने गोरुहरू
साँडे झैं मोटाएछन
भुँडी फुट्ने गरी खाएछन् गोरुहरूले
गाई चाहर्ने गतिछाडा गोरुबाट
बाच्छा-बाच्छी बचाउन हम्मे हुने भो
मिचिएर मर्ने भए बाच्छा-बाच्छीहरू
कति छिल्लिएका हुन मुर्दाहरू
हुनत, गतिलो गोठ धनी नभएपछि
गोरुहरू छाडा हुने नै भए
बालीनाली चोर्ने नै भए
साँढेझैं मोटाउने नै भए
भुँडी फुट्नेगरी नखाए के गरुन बिचरा गोरुहरू!
गाई खोज्दै नहिडे के गरुन गतिछाडाहरू!
होसियार! सिङले उनेर मार्लान् गाईहरूले।

Biplav Pratik – Mero Geet

बिप्लव प्रतिक – मेरो गीत

विधाताले दिएको भिक्षा भाग्य
मलाई कहिल्यै मन्जुर भएन
मेरो आफ्नो कर्म, मेरो भाग्य निर्माण
तिमीलाई कहिल्यै स्वीकार भएन ।

मलाई तातोसँग खेल्न मन पर्छ
त्यसैले सधैँ सुर्यको गोला चिथोर्छु
मलाई तिर्खासँग खेल्न मन पर्छ
त्यसैले सधैँ पानीको मुहान थुन्छु
मेरा उत्कण्ठा, मेरा चाहना
तिमीलाई कहिलै स्वीकार भएन ।

जिन्दगीको यात्रा, न आरम्भ न अन्त
त्यही शून्यमा बेग्लै एउटा आयाम
म खोजिरहेछु, निरन्तर खोजिरहेछु
भनेँ नि, म नयाँ बाटो पहिल्याउन खोज्दछु
मेरो जिजीविषा र मेरा बैँसका गीत
तिमीलाई कहिल्यै स्वीकार भएन
विधाताले दिएको भिक्षा भाग्य
मलाई कहिल्यै मन्जुर भएन ।

नयाँसडक, २५ सेप्टेम्बर १९८७