Ishwar Ballav – Ujyaloko Gufa

ईश्वर बल्लभ – उज्यालोको गुफा

प्रश्न पुरानो
प्रश्न हिंड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।
यद्यपि यात्रा प्रारम्भ भयो !

तर अमीष्ट पुगिन्छ कि पुगिदैन
पुगिंदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको Continue reading “Ishwar Ballav – Ujyaloko Gufa”

Ishwar Ballav – Hajar Sapana Haruko Maya Lagera Aaunchha

ईश्वर बल्लभ – हजार सपनाहरूको माया लागेर आउँछ

हजार सपनाहरूको माया लागेर आउँछ
बाँच्ने रहर जस्तो फेरि भएर आउँछ

मैले बाँचेको परिवेश सानो त्यति थिएन
परदेशी जस्तो कोही एक्लो पनि थिइन
अल्झें कहीं त के भो बाटो भुलेको छैन
भाँचिसकेको विश्वास फेरि भएर आउँछ

मेरा ती स्वरहरूलाई थुन्नु त्यति भएन
सबले भुलेको जस्तो भुल्नु पनि भएन
खुसी नै हो क्या हो मनमा भएर आउँछ
छिनमा लहर अनेकौं मनमा उठेर आउँछ

शब्द – ईश्वरबल्लभ
स्वर, संगीत – भक्तराज आचार्य

Ishwar Ballav – Swapna Haru

ईश्वर बल्लभ – स्वप्नहरू

त्यसो त एउटा स्वप्नजस्तो
रङ्गी-विरङ्गी
अनेकौं विम्बहरू
कति परीहरू उड्छन्,

पुतली र चराहरू
माथि, कहिले आकाशको नीलोमा
र गहिरोमा समावेश हुन्छन्
फेरि विस्तारै-विस्तारै फूल बन्दै
विस्तारै-विस्तारै झिनो पर्दा बन्दै,
पारदर्शी समायोजनको उत्सव
ओर्लिन्छन्,
उक्लिन्छन् ।
पर कतै पर्वतको फेदीमा,
जवाकुसुमको वासना
अरून्धतीको दुःख र पीडाको
उत्सव,
दुःखको वासना कि
पीडाको वासना,
र्स्पर्शको मोहसित विस्तारै, अल्झिन्छन्
त्यसो त
स्वप्नमा
बिहान हुन्छ,
साँझ पर्छ
रात पर्छ
क्षितिज र आकाशका गुम्बजले
वास बस्छन्
ती बिहान र साँझसित स्वप्नमा
ती दिन र रातसित स्वप्नमा
सूर्य उदाउँछ,
सूर्य थाक्छ र
फेरि अस्ताउँछ पनि,
यात्रा सतत् र चिन्ता भइरहन्छ
उसले उदाउने र उसले अस्ताउने
उदयाचल छुने,
अस्ताचल छुने क्रम निरन्तर
भइरहन्छ
पानीको विम्बमा सर्वाङ्ग हेर्ने क्रम,
आफूलाई ऐनामा हेर्ने र
माया गर्ने क्रम,
सधैँ भइरहन्छ
तलसम्म लत्रेर झरेको,
भुइँ नै छुन खोजेको,
उज्यालोको मजेत्रो हो कि,
अथवा अहिल्याको दुःख, अँध्यारो
प्रस्तर नै हुन परेको
अवसादले ढुङ्गा बनेको,
श्रापको मिथक र कथाले
निस्तार खोजिरहेको
त्यसो त,
एउटा असत्य जस्तो भ्रान्ति र
भ्रमहरू
अझै कति कठिन र क्रूर स्वप्नहरू ।

Ishwar Ballav – Duita Fula Deurali Ma

ईश्वर बल्लभ – दुइटा फूल देउरालीमा

दुइटा फूल देउरालीमा साथै राख्यौं जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ
देखेजस्तो पनि लाग्छ बोलेजस्तो पनि लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ

गुलाफको तरेलीमा शीतको थोपा परे जस्तो
टल्किने त्यो निधारमा पसिना
सुकाइदिए जस्तो लाग्छ पात हम्की पीपलको
बिसाउनीमा जिन्दगीको पसिना
लत्रेका ती परेलीको सम्झना छ जस्तै लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ

राति फुल्ने फूल टिपी सिउरिदिए जस्तो लाग्छ
कुनै रात बसेको त्यो बासमा
ओतमुनि आकासको छायाँमुनि धरतीको
रातमुनि बसेको त्यो बासमा
बिर्से बिर्से जस्तो लाग्छ सम्झे सम्झे जस्तो लाग्छ
कतै टाढा जाँदाखेरि सँगै हिंड्यौं जस्तो लाग्छ

शब्द – ईश्वर बल्लभ
स्वर – नारायण गोपाल

Ishwar Ballav – Marijuana Ko Lat

ईश्वर बल्लभ – मेरिजुआनाको लत

पानी रोकिदिएकै हो
तलाउले, दहले कि पोखरीले
आखिर सागर पुग्नु भनेको त हो त्यसैले
बादल भएकै हो
शिखरमा परेका साँझ र सखारका किरणहरूसित
पानीले भिजेकै हो
शीतमा थोपा-थोपा परिणत भएकै हो
यस यात्रादेखिन्
उस यात्रासम्म
यहादेखिन् पर दूरन्तसम्म
सबै दिगन्तहरूसम्म, सबै सिमानाहरूसम्म
पुग्ने र जाने इच्छाहरू र क्षितिजमा वास बस्ने इच्छाहरूसम्म ।

आकाशका नीला-नीला भुवाहरू
कहिले सपना पनि भएका हुन्
कहिले बेँसी र लेक भएका हुन् यात्रामा
कहिले कुनै बिसौनी र विश्राम भएर ठाउँ-ठाउँ
रोकिएका हुन्
त्यहाँ देखिएका विम्ब र स्वरूपहरूमा कहिले
म आफूलाई अनुवाद गर्छु यसो हुनाले
तिमी के हौ म चिन्दिन
पलाँस र गुराँसको बोट लाग्छ, राता फूलहरू
गुलाबी, सेता र बैजनी फूलहरू ।

गुम्बजहरू
छानाहरू, ओतहरू र गुफाहरू
यात्राका बिसौनी र विश्रामहरू
भइगो
म पानी हुँ भने
म बगुँला यात्रामा
तिमी पानी हौ भने
तिमी एउटा लत हौ र मेरिजुआना ।

Ishwar Ballav – Malai Jindagi Yo Lagdachha

ईश्वर बल्लभ – मलाई जिन्दगी यो लाग्दछ

मलाई जिन्दगी यो लाग्दछ, तिमी भन्दछौ यो पीर हो
जे छन् सबै ती व्यर्थ छन्, तिंमी भन्दछौ यो प्यार हो

वहकिन्छु म सन्तापले सल्केर आगो जल्दछु
खाली भएर सुन्य झैं यहाँ खण्डहर झैं जिउदछु
मेरा सारा सारा भावलाई आकाश मेरो भन्दछु
तर मोहलाई म के भनूँ तिमी भन्दछौ यो भार हो

पोखिएकै म पानी भै कहिं शीत भै म अल्झिएँ
थाम्न नसक्दा वेदना कहिं घाउ भएर बल्झिएँ
निर्दोश अनेक नजरमा म आँसु बनेर रोकिएँ
मझधारलाई म के भनूँ, तिमी भन्दछौ यो किनार हो

शब्द – ईश्वर बल्लभ
स्वर, संगीत – नारायण गोपाल

Ishwar Ballav – Mera Sapana Chhan

ईश्वरवल्लभ – मेरा सपना छन्

म भित्र फूलझै फक्रिरहेका सपना छन्
म तिमीलाई दिन सकूँ
हरेक हरियालीबाट सरसता टिपी
तिमीलाई सुम्पन सकूँ
कि मेरो निम्ति एउटा गीत बनोस्
तिम्रा कोमलताहरूले,
रसिला पातहरू बनून् प्रत्येक बुटामा
– म तिनलाई छर्न सकूँ
तिमी पानी पनि त हौ
कहिले मेरा खोलाहरूमा सग्लो बग्न सक्छौ
रेशमी थुँगा हौ भने
कहिले मेरा अग्निहरूमा मिल्न सक्छौ
तिमी बगैँचा हौ
कहिले मेरो पतझडमा फुल्न सक्छौ
कि एकछिन आऊ, मेरो आँगनसम्म
त्यहाँ एउटा गहिरो नदी बगोस्
तिमी बग फेरि म बगूँ त्यसमा
तिमीभित्र फेरि म तिमीजस्तै भिज्न सकूँ ।

Ishwar Ballav – Manis Ko Payar

ईश्वर बल्लभ – मानिसको पयर

आकाश मात्रै नहेर
धरती पनि हेर्नुपर्छ
धरतीले मानिसलाई सारै माया गर्छ
जति नै तारा आकाशमा छन्
त्यति नै थोपा यहाँ पानी पर्छ,
त्यति नै बिरुवा यहाँ सर्छ
क्षितिज जतिजति टाढिंदै जान्छ
पाइला त्यति त्यति नै यहाँ सर्छ
कहीँ बत्ती बल्दै बल्दै जान्छ,
कहीँ बत्ती निभ्दै निभ्दै जान्छ
तर पयर मानिसको सर्दै सर्दै जान्छ ।

Ishwar Ballav – Mero Behosi Aja

ईश्वर बल्लभ – मेरो बेहोसी आज

मेरो बेहोसी आज मेरो लागि पर्दा भो
जो थिए पीर सबै दुख सबै पर्दा भो

यो नशा जिन्दगीको प्यारो नशा रक्सीको
के हो यो? पिरती हो नयाँ नयाँ प्रेयसी हो
जे थिए स्वप्न सबै नै पग्लिएर पानी भो
के बिहान साँझ सबै जिन्दगी नै पर्दा भो

मेरो यो मात यहाँ के हो तिमी भनिदेऊ
मेरो यो आश यहाँ के हो तिमी भनिदेऊ
जे थिए यात्राहरु ती अल्झिएर बाधा भो
हराए गीत सबै हार सबै पर्दा भो

शब्द – ईश्वर बल्लभ
स्वर – नारायण गोपाल

Ishwar Ballav – Euta Tibra Bihana

ईश्वरवल्लभ – एउटा तीब्र बिहान

ती तीब्र उज्याला परिवेशहरू
पग्लिन्छन् रेखाहरू भएर, कि शून्य झैँ स्थिर हुन्छन्
तर पनि पग्लिनु स्थिर हुनु होइन,
पानी हुनु हो ।
परिवेश पग्लिँदा नदी हुनु हो ।
त्यसैले, बिहानदेखिन् झरेर बेलुकीसम्म
जस्तै शिखरदेखिन् तल औलसम्म,
भिज्दै पनि
हराउँदै पनि, ती उज्याला आतंकहरू
आतंकरेखा भने, केही भन्नु हुँदैन
आतंक साँझ हुनु हो
घाम हुनु हो-
पश्चिममा अल्झिरहेका ती साँझहरू
तरल हुन्छन् तीर भएर
हरेक पाइलासितै पाइला सार्दै
हरेक आघातसितै ओर्लिँदै तल
परेको तीब्र रातो बिहानजस्तो ।

Ishwar Ballav – Dhuwan Ko Jungle

ईश्वर बल्लभ – धूवाँको जङ्गल

माथि आकास हेर्नु छ
क्षितिज छुनु छ
एक जनालाई फूलको थुँगा दिनु छ
नजिकमा कोही छ कि छैन !
यदि छ भने उसलाई बोलाउनु छ

फेरि एउटा लहर र लस्कर बनाएर पर पुग्नु छ
साँझको रक्तिम कलिलो घाम
सायद कतै हराएछ
बिहानको सखार पनि देखिएन
ओरालो पनि छैन
कता गए ती बस्तीहरू ?
कता गए ती आफन्तहरू ?
यही धूँवाको जङ्गलमा सबैलाई खोज्नु छ ।