बितोस् सन्ध्या मेरो एक नदीको किनारमा
होला घाम पश्चिमी बादलको पुछारमा
डुबेको होला वन र पाखा झिंगुरको झङ्कारमा
डुबेको हुँला म पनि एक गहिरो विचारमा
बितोस् सन्ध्या……..
पन्छीहरु सबै जालान् आफ्नो आफ्नो वासमा
एक्लै हुँला तर म त्यहाँ टाढाको आशमा
बितोस् सन्ध्या………
चिसो बतास आई फकाउला मलाई
तब उदय होला तारा मेरो पूर्वको दुवारमा
बितोस् सन्ध्या……
बादलको झ्यालमा जून झुल्की आउनेछ
ताराहरुले गीत एक नयाँ गाउनेछन्
आएर मेरो भविष्यको संसारमा
बितोस् सन्ध्या………
गुन्गुनाउनेछु म पनि हुँदैन हार मलाई
यद्यपि बित्दछ यो जीवन मेरो हारैहारमा
बितोस् सन्ध्या……….
Tag: Nepali Poems Blog
Mahesh Regmi – Anshu Ko Rumal
महेश रेग्मी – आँसुको रुमाल
तिमीले हिँडेका बाटोहरू हेरेर चित्त बुझाउँछु
तिमीले हिँडेका बाटोहरूलाई स्पर्श गर्छु
तिमीले नाघि गएका पहाडहरूको अभिनन्दन गर्छु ।
अब पहाडहरूलाई प्रेयसी भन्न थालेको छु
रुखलाई Continue reading “Mahesh Regmi – Anshu Ko Rumal”
Rakesh Karki – Laash Haru
इन्जिनियर राकेश कार्की – लाशहरु
गरीबी भित्रका लाशहरु
कुनै मरिसके
कुनै जिउँदै छन्
तर लाश भएर
सास फेर्न पाए पो
बाँच्लान ति लाशहरु
पसिनाको मूल्य पाए पो
जन्मेलान् आशहरु
भोकै छन् लाशहरु
बाँचे पनि मरे पनि
रोएकै छन् लाशहरु
रुवाउने हाँसे पनि
लाश माथि बाँच्नेहरु
दुर्गन्धमै बाँचिरहेछन्
ऐश आरामको नशाले
गन्धलाई भुलिरहेछन्
अघाएका बलिष्ठ हात
गाँस खोस्दै घिचिरहेछन्
लाशको गन्ध झैं
डकारेर गन्हाइरहेछन्
करोडौं लाशहरु
अझ लाशै छन्
तिन्का आशहरु
पनि लाशै छन्
लाशले मसानमै
जन्म लिनु परेको छ
शक्ति सबै गुमाएर
मसानमै लड्नु परेको छ
– उपाध्यक्ष / अनेसास लस् एन्जेलस् च्याप्टर / लस् एन्जेलस्
Rajab – Kharab Satta Ko Itihas
हिजोका
समाचारका खराब मानिसहरू
सत्तामा गइसके
राम्रा भइसके
यसैले
आजका खराबहरू पनि
सत्तामा जाने छन्
र इतिहासमा राम्रा लेखिने छन्
किनभने
इतिहास लेख्नेहरू
खराबहरूले बाँडेको पदमा छन्
र पद हुनेहरू
खराब सत्ताको इतिहास
राम्रो लेख्छन्
Harihar Dahal – Bighatit Nahunu Parne Thiyo Timi
आशाले बाँचेका मनका भित्ताहरुमा-
झुटा आश्वासनका पर्चाहरु टाँगेर,
भाबाबेशमा-संबन्धका सर्तहरु बिर्सिएर
नयाँ गन्तब्य,
नितान्त फरक यात्रा थालिछौ।
बाटाहरुमा,
आहात् नेत्रले निर्निमेश हेरिरहेछु।
समय,ओईलिएर चाउरिरहेछ।
म त सम्झौतापूर्ण अनुक्रममा थिएँ।
किन भङगालिनु पर्थ्यो यात्रामा ?
अभाब र गरीबि मात्र,
जीवन कहाँ हुन्थ्यो होला र!
भरोशा गर्नु पर्थ्यो-मेरा कोशिसहरुमा।
विश्वाश गर्नु पर्थ्यो-मेरा परिश्रमहरुमा !
आत्मासँयमतालाई अलिकति,
बढाएकै भए पनी त हुन्थ्यो |
महत्वाकांक्षालाई थोरै,
दबाएकै भए पनि त हुन्थ्यो |
बिभक्त मनहरु- घायल छन
पुराना चोटहरु-
आलो घाऊ बनेर चर्किरहेछन्।
असम्मतीपूर्ण प्रस्थानले,
पिंडा भोगिरहेछु।
जीवन-दरिद्रतामा बाँच्ने निस्चितता नै के थियो र!
भबिस्य-उन्माद हाँसो हाँस्थ्यो होला!
भबिस्य-सफलताको उत्सब मनाँउथ्यो होला!
कती हाँसिन्थ्यो होला खुशीहरुमा-सँसगैं!
बिचलित् नहुनु पर्ने थियो बचनमा|
न भङ्गालिनु पर्थ्यो यात्रामा।
बिघठित् नहुनु पर्ने थियो तिमी जीवनमा ।
Komal Bhatta – Budhesh Kaal Le Chhoyo Aba (Nepali Gajal)
कोमल भट्ट – बुढेसकालले छोयो अब (गजल)
बुढेसकालले छोयो अब दुवै गाला चाउरी परे
आयु पनि सकियो कि सबै छाला चाउरी परे
सम्झनलाई गाह्रोभयो स्मरण शक्ति हराएर
विस्मृतिले गर्दाखेरी जीउका चाला चाउरी परे
आँखाभरी Continue reading “Komal Bhatta – Budhesh Kaal Le Chhoyo Aba (Nepali Gajal)”
Prakash Sayami – Ma Apad Ma Timi Sita Hinde [Nepali Gajal]
म आपदमा तिमीसित हिँडे
म सापटमा तिमीसित हिँडे
हिँड्नेहरु कहाँ कहाँ पुगे खै
म राहतमा तिमीसित हिँडे
नदीको वेगसरिको जवानी यो
म चाहतमा तिमीसित हिँडे
के नगद के बाँकी पिरतीमा
त्यै वापतमा तिमीसित हिँडे
घाउ दुखेसरिको पीडामा छुँ
म आहतमा तिमीसित हिँडे
Ashok Parthib Tamang – Timro Samu
अशोक पार्थिव तामाङ – तिम्रो सामु
भन्ने र मान्ने पद्दतिको लहलहैमा
बिना कुनै अन्वेषण समाहित भएर हावा झैं उडेको भए
हजारौं चिसा कंक्रिटका मुर्तिहरूलाई आस्थाको नाममा
यदि पुज्दै म फुलमाला र खादा लाउँदो Continue reading “Ashok Parthib Tamang – Timro Samu”
Manoj Kafle (Mansoon) – Mayako Pareli Tarera Hajurle
मायाको परेली तरेर हजुरले
मनैभरी उमंग छरेर हजुरले
टोलाएर हेरे यी मेरा नयेन
बोलाउदा सम्बोधन गरेर हजुरले
फुलको थुंगा पहिलो भेटमा
दिनु भो बेशी झरेर हजुरले
सासैमा कुन्निके भनेझैँ लाग्यो
मलाइ अंगालोमा भरेर हजुरले
आँखामा आँखा जुधाउनुभो अनी
अझ करिव मेरो सरेर हजुरले
मनसुन
Gopal Prasad Rimal – Jangi Nishan Hamro
रातो र चन्द्रसुर्जे, जङ्गी निसान हाम्रो ।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो ।।
हिमालझैं अटल यो, झुकेन यो कहिल्यै ।
लत्रेन यो कहिल्यै, जङ्गी निसान हाम्रो ।।
यो जन्मँदै जगत्मा कैयौं प्रहार आए ।
साम्राज्य दुई हारे, हारेन सान हाम्रो ।।
जबसम्म चन्द्रसुर्जे आकाशमा रहन्छन् ।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो ।।
गाईसरि छन् साधु जोजो यहाँ जगत्मा ।
सबको सरन बलियो, जङ्गी निसान हाम्रो ।।
Kshetra Pratap Adhikari – Haiku Yatra
क्षेत्रप्रताप अधिकारी – हाइकु यात्रा
थुम्का मुन्तिर-
सुरुङभित्र सानो
तामाको टुसो ।
कुरैकुरामा
तामा खाने तिर्सना
ओइलाएछ ।
ठूल्ठूला ताल –
तालमा समागम
खहरेहरू ।
अगम्य सेती –
सेतीमाथि सुकला
महेन्द्र पुल ।
गाउँलेबाला –
छातीमा चिटिक्क छ
नौगेडी माला ।
ह्याङ्जाली पाखा –
पाखामा राम्रा आँखा
आँखामा सान ।
सानको स्पर्श-
मान्छेभित्र उजेलो
नयाँ बिहानी।
सालीको भट्टी –
तातेको तिनपाने
मातेको बैंस ।
Nawaraj Subba – Chhati : Dui Abhibyakti
१
सबैको यो छाती भित्र
केही रहर हुनसक्छ
कस्तै हुरी बतासमा पनि
यही छाती भित्रै अँटाई दिनु
सायद यही छातीले नै
हरेक प्रहार छेक्न सक्छ ।
२
कसैको पीरको तीर
लागेको छ यो छातीमा
फेरि, तिमी को हौ ?
कसैको प्यारो तस्वीर
लुकाएको छु यो छातीमा ।
Tanka Subba – Ma Euta Yatri Hun
टंक सुब्बा – म एउटा यात्री हु
जन्में हुर्केर सृष्टिको श्रृखलामा
कर्तव्य बोध भए पछि
अन्तहीन सपनाको वस्तीबाट
पोख्दै रङ्गीन विचारहरु चेतनामा
गोरेटाहरु छाम्दै प्राप्तिको लागि गन्तव्यमा
सम्झौताको वेगवान नदीहरुमा
शुभमुहुर्त गरेको छु जीवन यात्रालाई
जुन यात्रा साकार पार्न
हिंडेको म एउटा यात्री
समयको तन्दुरुस्त घोडाहरु माथि
आसिन भएर
धकेल्दै जादा जीवनरथ
कहीं बग्दै जान्छ सलल पानी झै
कहीं मोडिदैं जान्छ विकट भै
कहिले उज्यालोमा कहिले अध्यारोमा
कहिले एकान्तमा कहिले समूहमा
कहिले हासोमा कहिले रोदनमा
गुज्रदैं जान्छन् ती क्षणहरु
यी क्षणहरु किन नहोस् असम्भव
चाल्न थालेको छु उत्साह वाधेर पाइलाहरु
जुनपाइला सफलतामा टेकाउन
हिंडेको म एउटा यात्री ।
असीमित यात्राहरुको दौरानमा
उभ्छन् अग्लिएर बाधाका पहाडहरु
असीम वेदनाको सागरमा
अनायस थपिनु पुग्छन् नीरका थोपाहरु
पर्खदा पर्खदैं गोधुली साझमा
अस्ताउन पुग्छन् निर्मम दिनहरु
समयको उतारचढावमा
विछोडिदै जान्छन् सहयात्रीहरु
विवशताको बज्रपातमा
टुट्दा रहेछन् धैर्यताका बाधहरु
छुट्दा रहेछन् कसम खाएका वाचाहरु
तर पनि
घाइते भएको मनलाई
घिस्याउनु पर्दोरहेछ विश्वासको वैशाखी टेकेर
असहज बन्दारहेछन् यात्राहरुमा
सहज देखिएका गोरेटाहरु
त्यसैले चपाउन थालेको छु कठिनतालाई
जुन कठिनता सहजै पार गर्न
हिंडेको म एउटा यात्री ।
बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु
टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु
भङ्ग हुने छैनन् मोहमा बाधिएका मोक्षहरु
मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु
त्यसैले बुन्न थालेको छु यावत सपना
जुन कठिनता सहजै पार गर्न
हिंडेका म एउटा यात्री ।
बढिरहे निरन्तर यसरी निःसंकोच पाइलाहरु
टाढिने छैनन् अवश्य ती गन्तव्यका गोरेटाहरु
भङ्ग हुने छैनन मोहमा बाधिएका मोक्षहरु
मरुभूमि बन्ने छैनन् आत्मामा बाचेका विश्वासहरु
त्यसैले बुन्न थालेको छु यावत सपना
जुन सपनालाई जीवन्त पार्न
हिडेको म एउटा यात्री हु ।
Yuddha Prasad Mishra – Launa Maile Ke Garne (Nepali Bal Kabita)
युद्धप्रसाद मिश्र – लौ न मैले के गर्ने ? (नेपाली बाल कविता)
बाबु जान्छन् दाउरा काट्न
आमा जान्छिन् मेला
घरको धन्दा गर्दा गर्दै
जान्छ मेरो बेला
लौ न मैले के गर्ने ?
मनको कुरा उर्ली उर्ली
मनैभित्र थाक्छ
ठाडै खुट्टा मुग्लान्तिर
भागौं भागौं लाग्छ
लौ न मैले के गर्ने ?
आमा भन्छिन् छोरालाई
पढाउनु पर्छ
बाबु भन्छन् आकाशबाट
बर्सिन्छ र खर्च ?
लौ न मैले के गर्ने ?
पढ्ने कुरा गर्दाखेरि
झर्को फर्को गर्छन्
मलाई र आमालाई
आँखै मात्रै तर्छन्
लौ न मैले के गर्ने ?
इस्कुल जान्छन् गाउँघरका
सबै साथी भाइ
चराउनु पर्छ मैले
जिमिन्दार्को गाई
लौ न मैले के गर्ने ?
मलाई भने सधैंभरि
पढूँ पढूँ लाग्छ
जाँचो पाँचो नमिल्नाले
मनको रहर भाग्छ
लौ न मैले के गर्ने ?
कैले काहीँ सिकाउँछन्
पुरेत बाजे आई
मनैमनले क ख भन्छु
चराउँदै गाई
लौ न मैले के गर्ने ?
बारखरी पढ्ने मेरो
सार्है ठूलो धोको
तर मैले बोक्नु पर्ने
सधैंभरि डोको
लौ न मैले के गर्ने ?
Krishna Bahadur Chhetri – Meri Dharti Lai
आरामदायक निद्राको सपनामा पनि
मेरी धर्तीलाई म खोज्छु
अस्थिर भएर मुटुभरि ममता सल्बलाउँछ
पातलो स्मृतिमा छुन खोज्छु
कैले हुन्छ र पानीबाट टाढा माछा !
फूलबाट सौन्दर्य सुवास खासा !
धर्ती मेरी हुन् म धर्तीको
छुट्टिन सम्भव छैन, दुई हृदयको एक भाषा
हजार जन्म मिल्छ भने पनि मलाई
मेरी धर्तीको भएर म जन्मिऊँ
पिएर आँखाले दृश्य यहींको शीतल
मानब भई म बाचूँ
के छ र दिऊँ तिमीलाई धर्ती
हृदय मात्र छ मेरो मसंग
अरु जे छ अर्काको ऋणमा अडेको
भएको हृदय तिमीलाई दिएको छु, अपनाऊ खुशीसंग
Seema Abhash – U Ishwar Futai Rahanchhe
पहिलो पटक
कुन कालिगढले उदास बनेर
भगवान कुँदयो होला ?
कुन भक्तले
कुन मितिमा
कुन फूल चढायो होला
र कस्ले राख्यो होला मन्दिरमा
चुपचाप बस्न सिकाएर,
यो निर्वासित भगवान
कहिलेसम्म
मान्छेको शरण परिरहन्छ हँ ?
रोशीको बगरमा गिट्टी कुट्ने
स्वास्नीमान्छे सोधिरहन्छे
क्षितिज नफाटुञ्जेल
सपनाभन्दा अग्लो गिट्टी थुपार्छे
थुप्रोको आडमा
अढाइ बर्षे नानी हुर्काइरहेकी छे,
बामे सर्दै रमाएर नानी पुतली पछ्याईरहेछ,
आमालाई छोडेर टाढा पुगेको छ
उस्ले गिट्टी कुट्दा बुन्ने सपना
रोशीको पानीमा झर्दै गरेको
चन्द्रमाभन्दा सुन्दर छ,
उस्को धरातल
मन्दिरको देउताभन्दा शालीन छ,
उस्को नानीले पछ्याउने बाटो
इन्द्रेणीभन्दा लामो छ ।
हत्केलाका ठेलाहरु हेरेर
फूल जस्तो कल्पनामा हराउँछे,
गिट्टी कुट्दाको टकटकसँगै
काब्य रच्छे र झयाउरेमा भन्छे
कायर बनेर ढुङ्गामा लुक्ने
यो भगवान गिट्टी बनेको छ ।
पिठ्युँमा नानी
काधमा घन लिएर
रोशीले बगाउन नसकेको
ढुङ्गा फूटाउने उ
दुनियाले पुज्ने भगवान फूटाउँछे,
दुनियाले तिरस्कार गरने
बाउ नभेटिएको नानी
भगवान मानेर हुर्काइरहेकी छे,
घरबाट निकालिएकी
गाउँबाट खेदिएकी
बिस्थापित उ
सिन्दुर इन्द्रेणीलाई बुझाएपछि
मन्दिर बनाइने ढुङ्गा गिट्टी बनाउँछे
भगवान पुजिने ढुङ्गा गिट्टी बनाउँछे
घर बनाउने ढुङ्गा गिट्टी बनाउँछे
गिट्टी बेचेर नानी पाल्ने उस्लाइ
भगवान पुजिने धेरै ढुङ्गा फूटाएपछि
यो निर्जन दुनियाँले भन्ने गरछ
उ इश्वर फूटाइरहन्छे ।
Pratima KC – Parai Ko Mato Mathi (Nepali Gajal)
प्रतिमा के.सी. – पराईको माटोमाथि
आज भोलि पर्सि भन्दै भाका सरिराछ
पराईको माटो माथि आँशु झरिराछ
अग्लो थियो आदर्शको सगरमाथा
घरि घरि ठेस लाग्दा मन मरिराछ
बाध्यताको हुरीले प्रदेशमा धकेल्यो
गाउँघर Continue reading “Pratima KC – Parai Ko Mato Mathi (Nepali Gajal)”
Bimal Giri – Yo Dhukdhuki
यो ढुकढुकी रहेसम्म तिम्रै गाथा गाइरहुँ
बादलपारी रहे पनि नेपाल भन्न पाइरहुँ
प्राकृतिको प्रतिक तिमी मेचीदेखि कालीसम्म
हत्केलामा श्रम रोपी फलाउ फल लटरम्म
साझ बिहान आमा भन्दै तिम्रै गाथा गाइरहुँ
बादलपारी Continue reading “Bimal Giri – Yo Dhukdhuki”
Biplav Dhakal – Chyau Ko Jungle
विप्लव ढकाल – च्याउको जङ्गल
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !
हतियार र औजारले पिटीपिटी
प्वाल पार्छु मस्तिष्कमा
र बनाउँछु रोटी !
त्यही रोटीको गोलाकार सुरुङबाट
बाहिर निस्केर
म उड्छु अब यो नीलो आकाशमा !
तिमीहरुले
चामलको दानामा लेखेछौ
मेरो इतिहास !
सागको पातमा लेखेछौ
मेरा गीतहरु !
मेरै विचारलाई सिक्री बनाएर
पशुको तबेलामा बाँधेछौ मलाई !
मेरै हड्डीलाई मुरली बनाएर
आवाजको विपक्षमा बजाएछौ मलाई !
म गर्छु अब समुद्रमन्थन
र पिउँछु हलाहल विष !
म खोस्छु कृष्णको हातबाट मुरली
र उठाउँछु सुमेरु पर्वत !
विष्णुलाई जमिनमा ओरालेर
म चढ्छु अब गरुडमाथि !
महादेवको घाँटीबाट निकालेर
म लउँछु अब सर्पको मफलर !
मरुभूमिमा
पसिनाले बालुवा मुछेर खाएको छु मैले !
अफ्नै रगतको घुट्काले
भिजाएको छु घाँटी !
बाँस चपाउँदै टुकीको सलेदो चुसेर बाँचेको छु म !
मेरो खप्परभित्र केही छैन – विचारशून्य छु म !
यो च्याउको जङ्गलभित्र
एउटा निर्जीव भीडको विपक्षमा उभिएर
उखेल्छु आफ्नै टाउको
र भुइँभरि टक्टक्याइदिन्छु !
केही बिस्कुटका खोल
रोटीका टुक्रा चप्पलको फिता
मृत उडुस र पुत्लीकिराहरु
खस्छन् मेरो मस्तिष्कबाट !
यति रित्तो बनेछु म
कि यो विचारशून्यता नै मेरो शक्ति हो !
यही विचारशून्यताको हतियारले
म अब आक्रमण गर्छु
र जलाउँछु तिम्रो विचारको लङ्का !
के थाहा तिमीहरुलाई-
मभित्र कसरी उम्लिरहेको छ खरानी
के थाहा तिमीहरुलाई-
म किन निदाउन सक्दिनँ रातभरि
युद्धमा मरेका केटाकेटीहरु
उखुको राइफल बोकेर लखेट्छन् मलाई
म तिम्रो तस्विरपछाडि लुकेर सास फेर्छु !
तरबारमा झुन्डिएका टाउकाहरु
गीत गाउँदै लखेट्छन् मलाई
खरानीबाट उठेर
क्षतविक्षत कङ्कालहरु
आफ्नो जीवनको मूल्य माग्दै
लखेट्छन् मलाई
म झन्डाले मुख छोपेर आँसु पुछ्छु !
संसार बदल्न िहंडेको म
अब आफैं बदलिएँ !
यो च्याउको जङ्गलभित्र
िरंगटा लागिरहेको छ मलाई !
यो मेसिनको शरीरभित्र
तरङ्गिदै छ जीवनको कम्पन !
म तिम्रा आदेशहरुलाई अस्वीकार गर्छु-
अब मान्छेको लासमा घोटेर
खुकुरीमा धार लगाउन चाहन्नँ म !
अब मान्छेको रगतको मूल्यमा
आफैंलाई गुमाउन चाहन्नँ म !
यही झन्डाबाट उखेल्छु घन
र फुटाउँछु आफ्नै निधारको चट्टान !
यही झन्डाबाट निकाल्छु हँसिया
र भत्काउँछु आफ्नै विचारको पर्खाल !!
– नयाँ बानेश्वर
काठमाडौं
Prakash Thamsuhang – Chasok
प्रकाश थाम्सुहाङ – चासोक
नयाँ दिन
नयाँ मौसम
नयाँ परिवर्तनमा
पखालेर सप्पै क्षयग्रस्त पुराना बिम्बहरू
पुरानो जग
पुरानो घर
पुरानो राष्ट्रियता
आऊ सोल्टिनीहरू
नयाँ घाम लागेको बेला
नयाँ अन्न पाकेको बेला
नाचौं उल्लासले
नाचौं उमङ्गले
च्याङ्ब्रुङ ब्रुङ
च्याङ्ब्रुङ ब्रुङ
नयाँ संरचनाका लागि
नयाँ जीवनका लागि
हामी विजयको नजिक
हामी प्राप्तिको नजिक
अब, अग्लिएर चेतनाको कञ्चनजङ्घा
डाकौँ सहस्र उत्पीडित हंसहरू
डाकौँ सहस्र सिमान्तीकृत मुटुहरू
डाकौँ सहस्र मुर्झाएका सातोहरू
भाकौँ पवित्र मनले
मुजिङनाखेयङना
र बोलाऊँ ताजा हावा
लिऽखुरी लिऽऽखुरी
लिऽखुरी लिऽऽखुरी,
यो गुम्सिएको युगमा
जन्माऊँ नयाँ भ्रुण
साक्षी छन्
यो हावा
यो पानी
यो जङ्गल
आऊ निर्वासित मनहरू
जाग पराजित आत्माहरू
लेखौँ सुनौलो इतिहास
कोरौँ आफैले आफ्नो भाग्य
च्याङ्ब्रुङ ब्रुङ
च्याङ्ब्रुङ ब्रुङ
आऊ सोल्टिनीहरू
नाचौँ उल्लासले नाचौँ उमङ्गले
नयाँ संरचनाका लागि
नयाँ जीवनका लागि ।
1. चासोक : किराँत लिम्बूहरूका एक उधौली चाड, जसमा नयाँ अन्नहरू भित्र्याइने गरिन्छ ।
2. मुजिङनाखेयङना : मेन्छामगेन याप्मी कुबोक्मा (मानिसको उत्पत्ति) मुन्धुमअनुसार लिम्बूहरू मुजिङनाखेयङनाका छोरा सुऽसुवालिऽलिम याक्थुमहाङका सन्तान हुन् । मुजिङनाखेयङना हावाबाट गर्भवती भएको हुनाले आफनो छोरालाई हावा-बतासको छोरा भनेर सुऽसुवालिऽलिम भनेर न्वारान गरिदिइन् । यो नामको अर्थ सुस्तरी चल्ने बतास लाग्छ । मुजिङनाखेयङनाले आफनो दौतरीहरू नभेटेपछि थकित उनी रूखमा चढेर लिऽखुरी लिऽखुरी भन्दै मीठो हावा बोलाएर दौतरीहरूको तिर्सना मेटिन् । आज पनि रूखको फेद वा कतै थुम्कीमा बसेर लिऽखुरी लिऽखुरी भन्दा मीठो हावा चल्ने गर्छ ।