Saroj Dhital – Dharahara: Laas Haru Ko

सरोज धिताल – धरहरा—लासहरूको

उसलाई त मैले चिनेको छु
विगत पाँचहजार वर्षदेखि ।

हरेक युगमा ऊ यसैगरी
आफ्नो स्मारक बनाई रहन्छ
लासहरूको धरहरा ठड्याएर
आफ्नो लिप्साको लिउन लगाइरहन्छ ।
(उसलाई त मैले चिनेको छु
विगत पाँचहजार वर्षदेखि)

तर तिमी चाहिँ को हौ ?

आँखाको नानीभित्र
आफ्नो प्यारो सुन्दर सपना लिएर
यता–उता हिँडिरहने
मृदुभाषी सुकोमल सुन्दर मान्छे !
किन सघाइरहेछौ उसको त्यो स्मारक निर्माण गर्न ?

नियालेर त हेर !
तिम्रो त्यो प्यारो सपना
गजुर भएर उभिसक्यो
लासहरूको त्यो धरहरामाथि !

गृष्म, २००३

Binod Khadka – Banduk Ko Sahi Gantabya Ke Ho

बारुदका गन्धहरुमा खेल्नेहरुसंग
जीवनका परिभाषा माग्नेहरु
रगतका रंग नाप्नेहरुसंग
नाताको निचोड खोज्नेहरु
नहाँस्नु कहिले पनि

अरुका अज्ञानताहरुसंग अनभिज्ञहरु ।

के थाहा उसका पीडाहरु
जो बारुदका गन्धमा भुलिनॆ गर्छ
के थाहा उसका रमाईलोहरु
जो बन्दुकसंगै रमाउने गर्छ
या आफ्नै आँखा अगाडी
छटपटाईरहेकी आमाको पीडा
स्मरणमा दोहोर्याई रहेको हुन्छ
त्यसैले
नखोज जीवनका परिभाषाहरु
नखोज रगतका नाताहरु
बन्दुक बोक्नेहरुसंग
गोली र खोकाहरुसंग खेल्नेहरुसंग
अनि कहिले नहाँस
तीनका जवाफहरुसंग ।

किन सोध्छन मान्छेहरु
बन्दुकहरु किन बोकिएका छन
किन सोध्दैनन मान्छेहरु
बन्दुकहरु किन बोकाईएका छन
किन सोध्दैनन मान्छेहरु
अरुको खुसीहरुलाई पीडासंग पैचिनेहरुसंग
शहरका महंगा भव्यता ताक्नेहरुसंग
बन्दुकको सही गन्तव्य के हो ?
बन्दुक बोक्नेका जीवनका अर्थहरु के हुन ?

Kali Prasad Rijal – Bihana Uthne Bittikai

बिहान उठ्ने बित्तिकै हिमाल् देख्न पाइयोस
यी हातले सधैं सधैं नेपाल लेख्न पाइयोस

नेपाली श्रम र शीपको प्रभाव दिगन्त फैलियोस
मलाइ टेकी खुड्किलो यो देश माथि उक्लियोस
नेपालको म सन्तति सगर्व भन्न पाइयोस

मलाई छैन चाहना मरेर स्वर्गमा पुगूँ
छ कामना यही मेरो बरु म नर्कमै पुगूँ
जहाँ पुगे पनि तर नेपाली भेट्न पाइयोस

यो सूर्य-चन्द्र ध्वजा मेरै रगतले रंगियोस्
येहीको जल अन्जुलिभर् निलेर मर्न पाइयोस
स्वोदेशको निम्ति यो शीर चढाउन पाइयोस

शब्द – कालीप्रसाद रिजाल
स्वर – रामकृष्ण ढकाल
संगीत – आलोकश्री
एलबम – छायाँ

Bishwa Sigdel – Andhyaro Ma Basanta

विश्व सिग्देल – अँध्यारोमा वसन्त
(मधुपर्क बैशाख, २०६७)

हामीले सिर्जेको अँध्यारो
हाम्रा कुमकुमसम्म आइपुगेको छ
र आइपुगेको छ भर्खर
खर्पनभरि प्याजका बेर्ना बोकेर
वसन्त बूढो !

बाल्टिनमा पानी ओसार्दा-ओसार्दा
चाउरी फुलेको
डल्लेठोले माटाका डल्ला फुटाउँदा-फुटाउँदै
आफैँ क्रमशः
माटामा घुलेको
वसन्त बूढो
मट्टतिेलको लाइनमा एक मान्छे थप्न
आइपुगेको छ भर्खर
र आइपुगेको छ हाम्रो हातमा
टाढाबाट अनदाने झारी
पानी पटाउन जूनकीरी फूलमा
र झलमल्ल पार्न घर

सदा झैँ,
आङभरि उज्यालो उमारेर बग्दा-बग्दै
हाम्रो पानी
अन्धकारमा बिलिन हुन्छ
र समाप्त हुन्छन्
हाम्रा घर गोठका वसन्तमा फल्ने चाहना
हाम्रा आँखाका नानीका बल्ने चाहना

…………..र पनि
कसलाई प्यारो हुन्न र सिर्जना !

हामीले सिर्जेको अँध्यारो
हाम्रा कुमकुमसम्म आइपुगेको छ
र आइपुगेको छ भर्खर
खर्पनभरि प्याजका बेर्ना बोकेर
वसन्त बूढो !

हालः देहरादुन

Laxmi Prasad Devkota – Pralaya Bedana

यस दुनियाँमा सुखदुःख दुईको गहिराइमा डुबियो खरुब,
दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पु¥यायो मनसुव ।
विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी,
तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ मसरी ।
जीवात्मा यो त्यतिको पतित भो ब्रह्माण्ड यसको नरकानल,
आफ्ना भूलहरु नागिनीझैं बेरिरहेछन् वक्षस्थल ।
तिनबाट म केही मोचन पाऊँ भन्दै प्रभुजी गर्छु पुकार,
यस्तो पतित धूलिकणी भै पुग्नै सकिन नि प्रभु–पदसार ।
मानवताका भाव हजारौं मैले गाएँ कवितामा,
तर ती सारा विफल भईकन फोस्रो भए सब प्रभु श्यामा ।
होश पुगेन छन्द पुगेन हृदय पुगेन प्रभु पदमा,
अब ता मेरो आशा छैन अगाध गर्तमा छु जगमा ।
मेरो केवल साथ निराशा मेरो केवल छटपट जीवन,
मेरो मनको आकाश समूचा केवल अग्नि–तपन ।
जलको विन्दु यस सिन्धुमा मैले पाइन हाय अभागी ।
किनकि मैले अरुकन जल दी ठण्डा पार्न सकिन सुभागी ।
यस कारण मेरो तनको मनको पनि अणेव्रत ध्वंस हुन लाग्यो,
प्रलयानलले काल–स्वरुप ली विश्व जलाउन अब जाग्यो,
यसमा अब के मसीको अन्त सीमा चरम क्षतिको,
नास्तिकताले अहम्भावको गाइरहेछन् प्रभु ! यतिको ।
प्रलय नीदमा सुतिरहेछु मेरो ब्रह्माण्ड जल्यो,
आउन सक्ने प्रभुको पदमा मेरो आत्मासम्म गल्यो ।
यस कारण यो जगती–तलमा एक अभागी नष्ट भयो,
यसको औषधि केही छैन किनकि स्वयं यो प्रष्ट भयो ,
जाति बान्धव कुल ज्ञातिको निम्ति न मेरो बिन्दु झ¥यो,
सिन्धु दिएथे परमेश्वरले जल सब आगो बनी द¥यो ।
धन्य हे आत्मा ! धन्य हे ईश्वर ! तिम्रो लीला बुझिएन,
तिम्रो पदमा साथ स्मृति ली आह ! कहिल्यै भिजिएन ।
अब यसलाई केही छैन गयो कहाँ यो पुग्यो कहाँ ?
केवल विषको थोपा पिउँदै अझ जल्दैछ बसी यहाँ ।

Love Gaunle – Surya Grahan

लव गाउँले – सूर्यग्रहण

सूर्यग्रहण हेरिसकेपछि
मैले सूर्यलाई इमेल पठाएँ ?
“हे सूर्यदेव !
तपाईमाथि समय समयमा ग्रहण लागिरहन्छ,
यस्बारे तपाईको अनुभव र प्रतिक्रिया के छ प्रभू?”
सूर्यले तुरुन्तै टेलिफोनबाट जवाफ दिनु भयो ?
“हे नेपाली मनुवा !
मलाई नेपाल भन्ने देशमा उदाउनु पर्दा
सँधै ग्रहण लागेको अनुभव भइरहन्छ !”

Sudhir Chhetri – Kaksha 2007

सुधीर छेत्री – कक्षा-2007

लुगा सिलाउने मसिन जस्तो एउटा लुइरे शिक्षकले
दशपल्ट उध्रिरहने लास्ट-बेञ्चरहरूको दिमागलाई
खुटिरहन्छ।
यो कक्षाको ज्यामिति-बाकसभित्र
स-साना कम्पास र चॉंपहरू
बेमेलको बक्ररेखालाई
तन्काई-तन्काई
तेर्सो पार्ने प्रयासमा छन्।

मेरो श्रेणी कक्षा
राधाकृष्णन् र
कृष्णमूर्तिले टालेका कोटेसन चाखेर
जिब्रो पड्काइरहन्छ अनि दिनहुँ
दिमागको छानाबाट चुहिरहने
विचारका तप्कनाहरू
समयको भूईंमा पछारिइरहन्छ।
समय-तालिका चपाएर
अनुशासनको वान्ता गर्छ
उज्यालोले लाटिएका
पोल्ट्री फार्मका पङ्क्षीहरू।
जुनकिरीको रॉंको बोकेर
उमेरभन्दा अघि-अघि हिडिरहेछन्
दुबोहरू।

काठको टेबलले
आफ्नो संवेदनशीलता बचाउन
छातीभरि कोर्नदिइरहन्छ अङ्ग्रेजी गीतका स्थायीहरू।
हतास फलामका बेञ्चीहरू पनि
कनाइबस्छ ढाड
ग्रफाइटको पेन्सिलले।

इतिहासको किताबबाट
पिरियडैपछि निस्कनचाहने योद्धाहरू
भूगोल र विज्ञानको बीचमा चेप्टिएर
समय-कटनीको लागि
टिफिनको गन्ध सुँघ्दै
मुख मिठ्याइरहेछन्।

बाहिर देखेँ,
बयेरका टफी चुसेर चराहरू
मसीनका आवाजबाट
कर्कशता छिलेर
साङ्गीतिक लेप लाउनलाई
भुर्र-भुर्र हावा हम्किरहेका रहेछन्।

Basanta Mohan Adhikari – Jiwan Bhitra Ra Bahira

बसन्त मोहन अधिकारी – जीवनभित्र र बाहिर

यि आँखाहरु
यो संसार
देख्छु भन्छन्
हेर्छन्
लोभ, मोह, डाहमा
हाँसो खोजेर
आँशु दिन ।

कानहरु
बाहृय ध्वनीलाई
विश्वास गर्दै…
प्रतिफल
आँशु, रोदन र चित्कार ।

यो मुख,
आँखा र कानको प्राप्तीमा
घमण्डी भै
क्रान्ति र जेहादसंग
प्रजातन्त्र, गणतन्त्र र धर्म देखाउँदै
युद्ध, हत्या र हिंसा गर्न
चर्का आवाज निकाली रहेछ ।

यो बुद्धि
यिनै, देख्ने, सुन्ने र बोल्नेसंग
समागन भै
प्रतिष्प्रधामा
उच्च र निच देखाउदै
संसारमा हैकम राख्न
स्वयम आफ्नो र संसार विनासको लागी
बम, बन्दुक र मिसाएल बनाईरहेछ ।
सम्पुर्णको यो प्राप्ती,
जीवनको अन्त्य र
संसारकै विनास ।

बिचरा सोझा, सिधा र निरीह
जिर्बो, छाला र नाक
मिठो खाने
न्यानो पाउँने
र सुगन्धको आशमा
देख्ने, सुन्ने र बोल्नहरुसंग
हातेमालो गरिरहेछन् ।

बिगत देखी आगत सम्मको
यो यात्रामा,
आशा राख्नेहरु
उहि र उस्तै
हिजो अस्ति झैँ
भोकै,
हैजा र दुर्गन्ध बिच
चिसो सीरेठोमा
कठ्ठै,
अकाल अगालिरहेछन् ।

Abhas – Mero Gaun

[बिहान]

नारीका चुरा बज्न थाल्छन्
थुरमाथि बसेर
धोवीचरो
गीत गाउन थाल्छ
मेरो गाउँ
बिस्तार ब्यूँझन्छ
पँधेरा जान्छ
र पानी ल्याउँछ
रातोमाटो घोलेर पोतेरी ठीक पार्छ
र संघार लिप्न
मेरो गाउँ
हरेक बिहान
घामलाई निम्त्याउने गर्छ

[दिउँसो]

आमा
रछ्यान छेउका भाँडा मस्काउँछिन्
र भाँडासँगै
आफुलाई पनि खियाउँछिन्
बुद्ध
स्कुल जान्छ
र स्तुति पढ्छ
अर्जुन
धनुकाण हैन
कलम भिर्छ
र जागीरमा जान्छ
धुर्बे
कोदालीले चपरी उप्क्याउँछ
र आफैंलाई थिच्न थाल्छ
अम्बिका
घाँस काट्न जान्छे
र औंलो पनि काट्छे
आकाशको घाम
जोवनले धपक्क बल्छ
मेरो गाउँ भने
घर्ती बूढाले पिँढी कुरे झैं
पिँढी कुर्छ
र आफ्नै अतीतमा डुब्छ

[साँझ]

जसरी
कुनै तरुनी छोरी
बेहुली बनेर माइतीसित बिदा हुन्छे
त्यसैगरी
दिनभरिका असंख्य डामहरु छोडेर
घाम
यहाँबाट बिदा हुन्छ
गाईको बाच्छो
थुनमा झुण्डिए जस्तै
बुबुमा झुण्डिएको बालक च्याप्दै
आमा
चुलामा आगो जोर्छिन्
र खुईऽऽय सुस्केरा काढ्छिन्
धुवाँ
धुरीबाट बाहिर निस्कन्छ
र सायद
अँध्यारोसित साउती मार्छ
अँध्यारो
झ्यालबाट चोर पसे झैं
खुसुक्क भित्र पस्छ
र गाउँको घाँटी मचक्क कस्छ
यसरी
अँध्यारोले छापामारेको मेरो गाउँ
टुकी छेउ पढ्न बसेको बालकले झैं
टुकी निभाउनै बिर्सन्छ
र भुसुक्क निदाउँछ ।

Narendra Raj Paudel – Purana Ti Rangamanch (Nepali Gajal)

नरेन्द्रराज पौडेल – पुराना ती रङ्गमाच उठाउँदै म आएँ (गजल)

पुराना ती रङ्गमाच उठाउँदै म आएँ
नयाँ नौलो रोदीघर बसाउँदै म आएँ ।

यौवनको भेलबाढी गयो बेसै भयो
पीरतीको पहरामा रसाउँदै म आएँ ।

वैली जाने रहरहरु उखेलेर फाल्दै
वैशाखको पालुवामा पलाउँदै म आएँ ।

शून्यताको लेक बेसी धाउनु धाएपछि
मनैभरि जाई-जुही फुलाउँदै म आएँ ।

तिमीसँग यात्रा गर्ने नौलो धोको बोकी
जिन्दगीको नयाँ गाडी गुडाउँदै म आएँ ।

Bikram Subba – Shrap

बिक्रम सुब्बा – श्राप

गौँडा-गौँडामा सौन्दर्यहरु ड्युटीमा तैनाथ छन्
‍क्याप्सुलजस्ता जवानीका ओठ उघारेर
बाबरी फुलजस्ता गुरुङसेनी ङोलोस्योहरू
अन्नपूर्णको दाँत जडेर सप्फा हाँस्दछन्
बाटुलेचौरका सारङ्गीहरूलाई
भोकै परे पनि हिमालको यौवनसँग
दोहोरी गाएर सन्तुष्ट भएपछि मात्र निद्रा लाग्छ
कविहरू, माछापुच्छ्रेको फेदमा फलेको
स्नीग्ध वातावरणको पन्नामा
मुटुको टुप्पाले कविता लेखिरहेछन्
पाहुनालाई जेठाबुढाको भात र फापरको ढिँढोसँग
गोलभेडामा टिम्बुरको छोपजस्तै मुस्कान पस्कन्छ
माइली थकाल्नीको भान्छा घर

तालतालका बडेबडे प्यालामै पसेर
दिउँसै रमरम मातेर वतास
पर्यटकका गर्लफ्रेण्ड सुँघ्दै हिँड्छ
तपश्यामा मग्न पहाडहरूको ध्यान भंग गर्न
वादलले विजुलीसँगै ताण्डव नृत्य थालेपछि
हेर्दाहैर्दै पर्वत सृङखलाहरूमा उभिएका
जून ताराका आँखाबाट
झर्के थालमा सित्तल पञ्चामृत वर्षन्छ
यहाँ, जताततै रोमाण्टिक जोडीहरू
हेराहेर गर्छन्
के के सम्झन्छन् र फिस्स हाँस्छन्
अझ सुन्दर हुने होडबाजिमा
उपत्यकाका हरेक छन्द र अनुप्रासहरु
शालीग्राम जस्तै चिटिक्क चिल्लो भएर पेस हुन्छन्
ओ सौन्दर्यले भरिपूर्ण रसप्लाविता !
ओ पोखरा !!
तिमी देखेर मेरो पीताम्बर वैँस पनि हुरुक्कै भएकोले
म श्राप दिन्छु कि – ‘तिम्रो जवानी कहिल्यै नढलोस्‍!’

Dinesh Adhikari – Grey Coat Bhitra Ko Manchhe

दिनेश अधिकारी – ग्रे-कोटभित्रको मान्छे
(मधुपर्क २०६६ चैत)

केही दिन अगाडिदेखि
मेरो साथीले
ग्रे-कोट लगाउन थालेको छ
र, म अनुभव गरिरहेछु-
ग्रे-कोट लगाउन थालेपछि
उसको मुटु हराउन थालेको छ
मान्छे उही हो
पहिले पहिले
घर-परिवारका कुरा गथ्र्यो
आराम-विरामका कुरा गथ्र्यो
ऐँचोपैँचो र गर्जोका कुरा गथ्र्यो
मानवता र परम्परा सहयोगका कुरा गथ्र्यो
ग्रे-कोट लगाउन के थालेथ्यो
औचित्य विचार्दैन
मात्र आदेश गर्छ,
दर्शनका कुरा गर्छ,
नियन्त्रण र ऐन-कानुनका कुरा गर्छ
म, बिरामी छु भन्छु
ऊ, यो काम जसरी पनि अहिल्यै सकिएको हुनुपर्छ भन्छ
म, भोकाएको छु भन्छु
ऊ, यो तेरो व्यक्तिगत समस्या हो भन्छ
म, आमाको सराद्धे गर्न बिदाका लागि अनुरोध गर्छु
ऊ बिदा अधिकारको कुरा होइन भनेर मलाई दुत्कार्ने कोसिस गर्छ
ग्रे-कोट लगाउने भएपछि
कोटको इज्जत धान्न होला
उसले मोटर सुविधा पाएको छ
हिजोआज ऊ, मोटरमा सवार हुन्छ
पूर्ववत्
म दुईहात जोडेर नमस्ते गर्छु
हिजोआज उसले
हल्का टाउको हल्लाएर अभिवादन फर्काउन सिकेको छ
भेट्न पनि त्यत्ति सहज छैन उसलाई
हिजोआज
निजी सहायकमार्फत अनुरोध पुर्‍याएपछि मात्र
उसले दुई मिनेटका लागि दर्शन दिने दिन-चर्या बनाएको छ
रातोलाई मैले रातो भन्दा
त्यसमा सहमति जनाउन उसलाई हम्मेहम्मे पर्छ
र, सकेसम्म मैले भनेभन्दा
विपरीत ढङ्गमा प्रस्तुत हुने अभ्यास गर्न थालेको छ
कोटको तातो यस्तै हुन्छ कि क्या हो ?
अचेल ऊ,
कसैको कुरै नसुन्ने स्वभावमा परिणत हुन थालेको छ
अचेल ऊ
आफूलाई सर्वज्ञ ठान्न थालेको छ
उसले उपयोग गर्ने गरेको
घुम्ने मेच नै ठान्छ कि क्या हो यो संसारलाई ?
ऊ जता फर्कियो
मान्छेरूप
उतै लाम लाग्नुपर्छ भन्ने व्यवहार देखाउन थालेको छ !
यो मेरो भोगाधिकारको घर हो भन्दासम्म त
केही हदसम्म चित्त बुझाउन सकिन्थ्यो
तर ग्रे कोट लगाउन थालेको दिनदेखि
सिंहदरबारलाई उसले आफ्नो गोठ
र, त्यहाँ बस्ने अरु सबैलाई आफ्ना बस्तुभाउ जस्तो व्यवहार प्रदर्शन गर्न थालेको छ
जुनसुकै रङको होस्
कोट शरीर होइन
र, नफुकाल्दा नफुकाल्दै पनि
कुनै न कुनै दिन यो फाट्ने निश्चित छ भनेर
जति नै सम्झाउने कोसिस गरे पनि
ऊ आफूलाई पटक्कै बदल्न तयार छैन
उल्टो हिजोआज
मेरो सल्लाहलाई ऊ शत्रुको दिमागले सम्झन थालेको छ
उफ ! अब म के गरुँ ?
यस्तै चाला हो भने
पर्खाल भएर उभिने छ यो ग्रे-कोट उसको जीवनको बाटोमा
र, केही समयपछि नै
उसका लागि
खुसीमा थपडी बजाउने हातरूपको अभाव हुनेछ
दुःखमा मुख लुकाएर रुने काखरूपको अभाव हुनेछ
म, साह्रै चिन्तित छु यत्तिखेर
केही दिन अगाडिदेखि
मेरो साथीले
ग्रे-कोट लगाउन थालेको छ
र म, क्रमशः अनुभव गरिरहेछु
ग्रे-कोट लगाउन थालेदेखि
उसको मुटु हराउन थालेको छ !!

Sarubhakta – Akash Deep

सरुभक्त – आकाशदीप

जीवन अटोप्सी
त्रासद समयका गाथाहरु
प्रत्येक दिन प्रत्येक रात
विग ब्याङ घोषणाहरुको देशमा
बोक्सी घोषित आमाहरु
छोराहरुबाट गु–मुत ख्वाइएका छन्
ब्लेकहोलका आलोक
बिचरी श्रीषाहरु हराए साता गुरुत्वाकर्षणका
साना पृथ्वीहरुझैं
हेर ! एड्सग्रस्त सूर्यहरु सेता÷काला
ड्वार्फहरुमा परिवर्तित हुँदैछन्
हाइपोथर्मिया ःजीवनका गीतहरु
वदिनी पीडा विहिन पुङमाङ कान्छाहरु
सधैं विदेशी पर्वतमहोत्सवहरुमा व्यस्त छन्
कोरा गर ! कोरा गर !
डोल्मा भञ्ज्याङ पार
क्याथल्यावका सम्प्रतिहरुमा ओहोरदोहोर छन्
मौन हत्याराहरु
बबलगम एले
जीवनका प्याङहरुमा कता हराए
हाम्रा स्पाइडरम्यानहरु ?
आजभोलि डाँफेबूढाहरु
सिसायाङमा हिमालहरुतिर वसाईसराईमा छन्
आह ! अल्पाइन शैलीका हातमोलाईहरु
भूगोलको एउटा मृतदेश
सम्बैधानिक व्याख्याहरुमा अलमलिएका छन् मलामीहरु
मेथमेटा–पानी हुँडार
प्रतिगमनका सन्त्रासहरु
खोई कुन क्षेप्यास्त्रवादीलाई सोधुँ
शान्तिको रङ्ग कस्तो हुन्छ ?
क्रायोनिक्स–सामुन्द्रिक ग्वालाहरु
गाँजाखेतीमा व्यस्त छन्
हेर ! लुब्रका जियोकोन्डाहरु सधै
वाङदेलप्रजातिका प्रतीक्षामा छन्
समय ः कफ्र्यू आदेश व्यस्त छ
म छातीमा जमरा उमारेर
कुन सिरेटो स्वप्नभरी आकाशदीप वलिरहेछु ?

Rakesh Karki – Aba Deshma Arko Aandolan Chahinchha

राकेश कार्की – अब देशमा अर्को आन्दोलन चाहिन्छ

कानुन बनाउछु भन्नेले
गैर कानुनी गर्न थाले
कहिले सासु कहिले बुहारी गर्दै
कुर्सी मात्र फेर्न थाले
छसय एक भुँडी बढाएर
भोका नांगाको बली चढाएर
जनता झुक्काउनेलाई
अलमल्लाउनेलाई
सबक सिकाउने झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

विदेशीको इशारामा
देशको माटो उडाउन थाले
हिमाल तराई भनेर
हाम्रो देश टुक्राउन थाले
जनताको पसिना पिएर
सदन हल्लाउनेलाई
जनताको घोडा चढेर
कानुन समाउनेलाई
जनताकै दह्रो झापड चाहिन्छ
अब देशमा अर्को आन्दोलन चाहिन्छ

लस् एन्जेलस्

Gobardan Pooja – Jeevan Aru Ko Naam Ma

गोबर्दन पूजा – जीवन अरूको नाममा

पाँचवर्ष अघि म मरेको भए
म कसैको पति बन्न पाउने थिइन
मेरो बिहेको भोज खान चाहनेहरुको इच्छा अधुरै रहने थियो
उनीहरुको बधाइको बारी बाँझै रहने थियो

तीन बर्ष अघि म मरेको भए
मेरो बंश बिनास हुने थियो
पत्नीले बिधवाको जीवन बाच्नु पर्ने हुन्थ्यो
बूढी आमाको नाती खेलाउने चाहना तुहिन्थ्यो

आज म खुशी छु
म बाच्न पाएकोमा
तर शंका लाग्छ
भरिएको बेलुनबाट हावा निस्किए झै
शरीरबाट स्वास बाहिरियो भने
एक जना बालकले टुहुरोको नाम पाउने छ
एकजना महिलाको सिउँदोबाट सिन्दुर हराउने छ
खोसिने छ कसैको बूढेसकालको सपना

उफ
म अहिले मर्न हुँदैन
कसैगरी पनि मर्न हुँदैन
मेरा आफन्ताका लागि भए पनि
म बाँच्नु पर्छ

आफू बाच्ने चाहनाले आफ्नो आयु लम्ब्याउन चाहनेहरु
सबै यस्तै सोच्ने गर्छन्
बाँच्छन् आफू तर अरुको नाममा ।

Bhupi Sherchan – Hinda Hindai

भूपी शेरचन – हिंड्दा हिंड्दै

हिंड्दा–हिंड्दै केही सम्झेर
बटुवा बाटोमा हाँसेझैं
किसानको हृदय अन्न बनेर
खेतको माटोमा हाँसेझैं
तिमी हाँस्ता यस्तो लाग्छ प्रिय !
तिमी मेरो साटोमा हाँसेझैं ।

Bhupi Sherchan – Basanta

भूपी शेरचन – वसन्त

सारा ढोका र झ्यालहरु लातले खोलेर
डाँकाझै आउँछ हावा कोठाभित्र
र एक छिनमै दराजहरु उघारेर,
कागतपत्रहरु पल्टाई हेरेर
केही नपाउँदा रिसले रन्थनिएर
अरु झ्यालहरुबाट हाम्फालेर भाग्दछ ।
आकाशको आँखा दुखेको छ
ऊसित आँखा जुधाउँदा आफ्नै आँखा पीरो हुन्छ,
ज्वरपीडित सूर्य सकी नसकी हिडिरहेछ आकाशमा
तुवाँलो भुवाको खास्टो ओडेर
झ्यालमा उभिएर एक्लै,
म बाहिर हेरिरहेछु
हेरिरहेछु र सोचिरहेछु–यो कस्तो बसन्त
यो चैतको दिनको कस्तो उराठलाग्दो पहर हो !
यो कस्तो मुर्दा शहर हो !
सडकका दुई किनारमा वसन्तको स्वागतार्थ
हरियो सारी हतार–हतार बेरेर उभिएका झ्याङहरु
अबीरका थाल बोकेका आरुका रुखहरु,
लावाका थाल बोकेका आलुबखडाका रुखहरु
अनि स्कूलका केटाकेटीहरुझैं
सङ्गीन झण्डाहरु हल्लाइरहेका पूmलका सानासाना बोटहरु
म हेरिरहेछु
देखिरहेछु
र सोचिरहेछु
वसन्त यहाँ किन आउँछ विदेशी पाहुनाझैं
यो कस्तो औपचारिकता
किन आउँदैन ऊ त्यसरी
जसरी युवावस्थामा जुँघारेखी आउँछ ?
या हर्षमा मुस्कान
आफंै, अनायास र अनजान,
उफ् यो कस्तो वसन्त हो !
जता हे¥यो उतै देखिन्छ
भित्र ठोस हुन छाडेर
बाहिर बाहिरै मात्र बढेर अग्ला भएका
बाँसका ठानाहरुलाई नुहेर
पश्चात्ताप गरिरहेका आफ्m्नो खोक्रोपनमाथि
आफ्नो हातको बलभन्दा
ग¥हुङ्गो रातो पूmल समाएका
कल्कीका बोटहरुलाई
दुई हात तल झारेर उभिरहेका
यी लत्रेका हातहरुले रातो पूmल समात्ने के दर्कार
के अधिकार
टाढा–टाढासम्म उभिएका छन्
न्यास्रो अनुहार लाएका असङ्ख्य मौन घरहरु
प्रत्येक घरको मुखमा झुुि न्डएको छ विदेशी ताल्चा
भोटे ताल्चा अथवा हिन्दुस्तानी ताल्चा
कुनै घरको मौलिक ओठ छैन
यो कस्तो वसन्त !
खोई मानिसहरुले चोला फेरेको ?
खोई घरहरुले बोक्रा फेरेको
खोई
खोई
खोई
म चिच्याउन चाहन्छु —खोई
तर खोई मेरो आवाज किन निस्कन्न ?
के भयो मेरो आवाजलाई
यो के हो डल्लो गुच्चाजस्तो मेरो घाँटीमा
जो मैले घाँटी खोल्दा मुखमा गई अड्कन्छ
र मुख खोल्दा घाँटी थुन्न पुग्दछ
अनि यस्तो लाग्छ मानांै
अब ममा कुनै उम्लाई छैन
कुनै उत्तेजना छैन
कुनै आवाज छैन
कुनै विस्फोट छैन
मभित्रको मानिस मरिसक्यो
अब त फगत् मेरो रुपमा उभिएको छ
पड्किसकेको सोडाको एक बोतल—
एउटा खाली बोतल !

Pratisara Sayami – Jagir Le Nileko

प्रतिसरा सायमी – जागिरले निलेको

अभावको पर्खालले थिचिएर
सा“घुरो जिन्दगीको गल्लीबाट
निस्केँ- म !
आर्जेको ज्ञान, सिप
दिनभरिको समय
सब साटेँ- मैले
एउटा जागिरसँग- कामको मतलबसँग
लेनदेनको बजारमा
गृहस्थीको बलियो घेरा
तानि तानिकन लम्ब्याएर
आकाशको फराकिलो सीमामा
अरू बढी पोखिन
अरू बढी फैलिन ।
आवतजावतको
यो जिन्दगी धान्ने गल्ली !
फराकिलो गर्ने क्रममा
तर जन्तर नै भई झुण्डियो- जागिर यो
मेरो घा“टीमा ।
यसै क्रममा,
जागिर जो हो-
यसलाई मैले
समयको सुनको माला बनाउन खोजे“
गलपासो त होइन
स्वतन्त्र पथ बनाउन खोजेँ
घर र अफिसबीच मात्रको
लामो जेल होइन
आखिर म !
ऐनाको ठूलो ढोकाभित्र
९-५ भित्रको समय पिँजडामा
केवल जागिरेको लेबलमा
टाँसिएछु,
थुनिएछु ।

Durga Prasad Pokhrel – Gainda

दुर्गाप्रसाद पोख्रेल – गैडा

खाग भएर के भो गैडा !
धूर्त शिकारीले लाने भो
जुन जंंगलमा घाँस चरे नि
दुःखले जीवन जाने भो ।

गैंडा भेट्दछ शत्रु मात्रै
इष्टमित्र छैनन् बनमा
आज मार्लान् भोलि मार्लान्
सुख शान्ति छैन मनमा ।

दिन दिनको वन फडानी
डढेलो त्यस्तै फैलिएको
बाहिर लाग्दछ सभ्य जस्तो
मन मान्छेको छ मैलिएको ।

गैडा खोजिरहेछ जीवन
जीवन मास्नेहरुकै बीच
दया धर्म खै मारिरहेछौ
तस्करहरू हो ! बनेर नीच ।

गैडा मारी बनी शिकारी
चोरी जीवन बाँचिरहेछौ
हरे! मानव रुप लिएर
दानव कोही नाचिरहेछौ ।

मानवताको खाग लिलामी
भइरहेछ दिनका दिन
विचरो गैंडा खाग उचाली
मरिरहेछ छिनका छिन ॥

९ अक्टोबर २०१२ वेल्स

Dhooswan Sayami – Dhokha

धुस्वां सायमि – धोखा

तिमी
दिन्छौ धोखा
सदा मलाई

धोखा खानु
मेरो आदत हो
तर मलाई
चोट लाग्दछ
त्यससमय
जब तिमी दिन्छौ
धोखा
गलत ढङ्गबाट
सही बाटो
तिमी जान्दैनौ कहिल्यै ।
बस्यस्तो गर्नुमा तिमी
आफू Continue reading “Dhooswan Sayami – Dhokha”