Saroj Dhital – Dharahara: Laas Haru Ko

सरोज धिताल – धरहरा—लासहरूको

उसलाई त मैले चिनेको छु
विगत पाँचहजार वर्षदेखि ।

हरेक युगमा ऊ यसैगरी
आफ्नो स्मारक बनाई रहन्छ
लासहरूको धरहरा ठड्याएर
आफ्नो लिप्साको लिउन लगाइरहन्छ ।
(उसलाई त मैले चिनेको छु
विगत पाँचहजार वर्षदेखि)

तर तिमी चाहिँ को हौ ?

आँखाको नानीभित्र
आफ्नो प्यारो सुन्दर सपना लिएर
यता–उता हिँडिरहने
मृदुभाषी सुकोमल सुन्दर मान्छे !
किन सघाइरहेछौ उसको त्यो स्मारक निर्माण गर्न ?

नियालेर त हेर !
तिम्रो त्यो प्यारो सपना
गजुर भएर उभिसक्यो
लासहरूको त्यो धरहरामाथि !

गृष्म, २००३