Laxmi Prasad Devkota – Pralaya Bedana

यस दुनियाँमा सुखदुःख दुईको गहिराइमा डुबियो खरुब,
दुःख भो अतिशय सुख भो अतिशय प्रभुले पु¥यायो मनसुव ।
विषको महको चाखी मिठास जगमा बसियो अन्धसरी,
तर प्रभुको क्यै चेत खुलेन अब दुःखीको लौ मसरी ।
जीवात्मा यो त्यतिको पतित भो ब्रह्माण्ड यसको नरकानल,
आफ्ना भूलहरु नागिनीझैं बेरिरहेछन् वक्षस्थल ।
तिनबाट म केही मोचन पाऊँ भन्दै प्रभुजी गर्छु पुकार,
यस्तो पतित धूलिकणी भै पुग्नै सकिन नि प्रभु–पदसार ।
मानवताका भाव हजारौं मैले गाएँ कवितामा,
तर ती सारा विफल भईकन फोस्रो भए सब प्रभु श्यामा ।
होश पुगेन छन्द पुगेन हृदय पुगेन प्रभु पदमा,
अब ता मेरो आशा छैन अगाध गर्तमा छु जगमा ।
मेरो केवल साथ निराशा मेरो केवल छटपट जीवन,
मेरो मनको आकाश समूचा केवल अग्नि–तपन ।
जलको विन्दु यस सिन्धुमा मैले पाइन हाय अभागी ।
किनकि मैले अरुकन जल दी ठण्डा पार्न सकिन सुभागी ।
यस कारण मेरो तनको मनको पनि अणेव्रत ध्वंस हुन लाग्यो,
प्रलयानलले काल–स्वरुप ली विश्व जलाउन अब जाग्यो,
यसमा अब के मसीको अन्त सीमा चरम क्षतिको,
नास्तिकताले अहम्भावको गाइरहेछन् प्रभु ! यतिको ।
प्रलय नीदमा सुतिरहेछु मेरो ब्रह्माण्ड जल्यो,
आउन सक्ने प्रभुको पदमा मेरो आत्मासम्म गल्यो ।
यस कारण यो जगती–तलमा एक अभागी नष्ट भयो,
यसको औषधि केही छैन किनकि स्वयं यो प्रष्ट भयो ,
जाति बान्धव कुल ज्ञातिको निम्ति न मेरो बिन्दु झ¥यो,
सिन्धु दिएथे परमेश्वरले जल सब आगो बनी द¥यो ।
धन्य हे आत्मा ! धन्य हे ईश्वर ! तिम्रो लीला बुझिएन,
तिम्रो पदमा साथ स्मृति ली आह ! कहिल्यै भिजिएन ।
अब यसलाई केही छैन गयो कहाँ यो पुग्यो कहाँ ?
केवल विषको थोपा पिउँदै अझ जल्दैछ बसी यहाँ ।