Indra Kumar Sunuwar – Man Jhaskinchha

ईन्द्र कुमार सुनुवार – मन झस्किन्छ

तिमी छौ वारी म छु पारी बिचैमा साउने भेल
न परिवार न त समय कसैले गराएन हाम्रो मेल
मायाको डोरी फुकाउनु पर्ला गाठो नै नकसी
मेरो मनको ढोका गर्दैछु बन्द तिमी नै नपसी

जूनी Continue reading “Indra Kumar Sunuwar – Man Jhaskinchha”

Sarubhakta – Mithak Utkhanan Ra Sambodhi Ma Harayeka Buddha Haru

समय–संक्रमण
युगीन क्रान्तिका अभिछिन्न भ्रान्तिहरु
दुखेको वेला
किराँतचुलीतिर सलामाण्डरहरु
शिकार खेल्दै हिडे
जीवन अल्झेको छ
दुम्सीकाँडैमा
म प्रेमपत्रको मुठो वोकेर
‘यो जाती भागी हिड्दैन’ भन्ने
मिथक Continue reading “Sarubhakta – Mithak Utkhanan Ra Sambodhi Ma Harayeka Buddha Haru”

Chanki Shrestha – Kranti Ko Pathshala

त्यो युवतीलाई भेटेपछि
मलाई बोध भयो –
धोकापुर्ण राजनीतिविरूद्ध
वेश्यावृत्ति पनि यो देशमा सशक्त कारबाही हो ।

जोन हब्सको पुस्तकभित्र
अलंकार पहिरेर सजिएको छ संविधानको आदर्श
भाषाको सुन्दर जलप लगाएर
संविधानको पुस्तकभित्र थुनिएको छ मौलिक हक
व्यवस्था र व्रि्रोह दुवै यो देशमा
कट्टुसका त्यस्ता दाना हुन्
जसभित्र केवल ढुसी हुन्छ ।

त्यो युवतीलाई भेटेपछि
मलाई बोध भयो –
वेश्यावृत्ति यो देशमा व्यवस्थाभन्दा सुन्दर वृत्ति हो ।

देशमा बुद्धको तस्बिर र हिंसाका खबर
बिकिरहेछन् एकसाथ
एकसाथ बिकिरहेछन्
बेइमानी र संवेदनाका कविता
हो, एकसाथ चलिरहेछन्
क्रान्ति र सुरक्षाका मुनाफादायक व्यवसाय
सूचनाको हक यो देशमा
त्यत्तिकै सुरक्षित छ
जति सुरक्षित छन् यस देशका नागरिकहरू ।

इमानको परिणाम खोज्नु यो देशमा
एउटी बैँशालु आइमाईले
त्यो मानिससँग यौनसुख खोज्नु हो
जो जन्मजात हुन्छ हिँजडा
यद्यपि इमानबिना क्रान्ति हुँदैन
क्रान्ति यो देशको सबभन्दा पुरानो भोक हो ।

दुःख छ
मुटु नै कटकटी खाने दुःख छ
दुःख, वेश्यावृत्ति र इमानबीच के साइनो छ कुन्नि !
त्यो युवतीलाई भेटेपछि
मलाई अनुभव भयो –
वेश्यालय यो देशमा क्रान्तिको पहिलो पाठशाला हुनसक्छ ।

Bhimnidhi Tiwari – Adha Chha Anga Mero Ardhangini Timi Hau (Nepali Gazal)

भीमनिधि तिवारी – आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ

आधा छ अङ्ग मेरो अर्धाङ्गिनी तिमी हौ
सिन्दूर हुँ म तिम्रो सौभागिनी तिमी हौ

यो स्नेहको बिरुवा कैले पनि नसुकोस्
फूलबारीको म माली मधुमालिनी तिमी Continue reading “Bhimnidhi Tiwari – Adha Chha Anga Mero Ardhangini Timi Hau (Nepali Gazal)”

Komal Bhatta – Bharosha Garethen Dhalyo Aaja Feri (Gajal)

कोमल भट्ट – भरोषा गरेथेँ ढल्यो आज फेरी

भरोषा गरेथेँ ढल्यो आज फेरी
खरानी भएरै बल्यो आज फेरी

दियौ घात धोका कसम बिर्सनाले
विचारेर मष्तक गल्यो आज फेरी

उडाएर स्वप्ना अधिक शून्य पार्दै
मनैमा हुरी पो चल्यो आज फेरी

कपटले सबै चीज निखारेर लुट्दै
अधर्मी निठुरले छल्यो आज फेरी

विषाद धेर बढ्दा खुबै नम्र यो मन
दुखाएर”कोमल”जल्यो आज फेरी

 

पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Rakesh Karki – Gas Station

इन्जिनियर राकेश कार्की – ग्याँस स्टेशन

कल्पनामा धेरै धेरै फुल फुलाएथेँ
सपनाको रंगीचंगी दुनियाँ बसाएथेँ
आज पनि हतार हतार गरेर आएँ
उही ग्याँस स्टेशन पुगेर ठिँग उभिएँ

कहिले तेलमा डुबे झैँ लाग्छ
कहिले जेलमा थुनिए झैँ लाग्छ
उफ्रीन्छु कहिले ठानी हरीयो बन
पुछ्दै बढार्दै उही ग्याँस स्टेशन

घंटी पछि घंटी गिज्याउँछ भित्ते घडी
तेल हाल्दै गुड्कीदै थरीथरिका गाडी
घरी घरी बजाउँछु झर्को लगाउने रजिष्टर
लाग्छ यही ग्याँस स्टेशन नै हो मेरो घर

हिउँ भन्दा चिसो कुलर भित्र कहिले
डोको भन्दा गह्रुँगो उचालेर जहिले
घंटामा घंटा थपेर बटुल्नु छ धन
जुन होस् या घाम उही ग्याँस स्टेशन

पालो दिने त्यो साथी हतार गर्दै होला
यसो लन्च कुम्लाएर प्लाष्टिकको झोला
ड्याँग पडका पड्किदानी झसँग हुन्छ मन
फेरी झिस् मिसेमै आउँछु है ग्याँस स्टेशन

लस् एन्जेलस्

Rabindra Nath Thakur – Jal-Bihar [From Geetanjali]

हामी दुवैले परस्पर गुप्त प्रतिज्ञा गरेका थियौँ, एउटा डुङ्गामा
केवल तिमी र म बसेर स्वच्छन्द जल–विहार गर्नेछौ,
हाम्रो तीर्थयात्रा कुन देश अनि कुन लक्ष्यको निम्ति होला, यसको
विभिन्नता संसारभरका कसैलाई Continue reading “Rabindra Nath Thakur – Jal-Bihar [From Geetanjali]”

Dev Pathak – Ram Ra Hanuman Haru

देव पाठक – राम र हनुमानहरु

म यो युगको मर्यादा उल्लघन राम हुँ
यो त्रेता युग होईन जहाँ म मर्यादा पालक बनु
हो म त्यहि राम हुँ
त्रेतायुगमा १४ बर्ष बनबास बस्ने राम
अहिले कलियुगमा पनि बसेको छु बनबास
पूरा ११ बर्ष
त्यसैले त म कलियुगको राम हो
मर्यादा उल्लघंन राम

त्यही राम झै मेरा पनि प्रशस्त छन् वानर सेना
अनी प्रशस्त छन् राम भक्त हनुमानहरु
त्यो कालमा रावणले पुच्छरमा आगो लगाउथ्यो
अनी रामभक्त हनुमान सुनको लँका जलाउथ्यो
तर
यहाँ म आफै मेरा हनुमानहरुको पुच्छरमा आगो लगाउदै भन्छु
“जाओ देशमा आगो लगाओ”
मेरा भक्त हनुमानहरु
मेरो हुकुम शिरोधार्य गर्दै
बुर्कुशी मार्दै
देश जलाउदै हिडेका छन्
मेरा हनुमानहरु कमजोर छैनन्
ती नाथे हनुमान भन्दा पनि तगडा
मेरा भक्त हनुमानहरु
आजपनी पुच्छरमा आगो लिएरै बसेका छन्
जुन आगो जहाँपनी,
जतिबेलापनी
अनी जो सुकै माथि पर्न सक्छ
किनकी
यो उद्दन्ड रामका
उद्दन्ड वानरसेना हुन्

त्यसैले होशियार
यो कलियुगी मर्यादा उल्लघन रामको बानरसेना उद्दन्ड छ
घमन्डी छ
तर महान छ
त्यसैले त म कलियुगको महान राम हुँ
मर्यादा उल्लंघन राम

Shrawan Mukarung – Pratyagaman

कुन दुःखले उनेको यो माला पहिरिने मान्छे नफर्कदै
तिमी माटो भइसक्नेछौ
तिम्रो कोमल हृदयको अनुहार भएर
आँसुसरिको यौटा सिमल उम्रिनेछ
र त्यसको अभागी हाँगामा सधैँ घाइते चखेवाले रात काट्नेछ

तिम्रो कुमारी सपनाको सूर्यले आत्मदाह गरेको आकाशको
नेपथ्यमा
उसका आदर्शका आभाहरू चिथोरिनेछन्– प्रेमका जर्जर तारहरूले
ऊ ढल्नेछ र उसको इच्छाको समाधिबाट उठेको शोकधुन
खुनैखुन हुनेछ क्षितिजमा

तिमीलाई सम्झिनै नसक्ने गरी बिरानिएर/देख्नै नसक्ने गरी
अन्धिएर
आइपुग्नेछ : यौटा सम्भावना
र उसले तिमीलाई खोजिहिँड्नेछ–
तिम्रो जीवनका प्रत्येक विपक्षहरूलाई कुल्चिँदै
टाकुरा
गडतिर
र पनेला रातका पहाडहरूमा

रात छिप्पिँदै जानेछ
र रातले– तिम्रो सङ्गी त्यो खोलालाई बाँसुरी बनाउनेछ
पहाड टाढिँदै जानेछ
र पहाडले– तिम्रो सङ्गी त्यो गोरेटोलाई मफलर बनाउनेछ
यी रात र पहाडको निरङ्कुशतालाई
निर्दोष रुवाइको चक्कुले छेक्लाएर सोध्नेछ उसले–
‘खोइ मेरो सपनाको आधा भाग…?’
तिम्रो कण्ठ रोकिनेछ
र ऊ अथाह विपत्तिको एक बुद्धझैँ
सिमलका यी अभागी हाँगाहरू लतार्नेछ
त्यसका बैजनी पातहरूले–
आफ्नो छातीमा लागेका आँसु र खुनहरू पुछ्नेछ
मेट्नेछ : शून्यका दाग र पुर्खाका पदचिह्नहरू
र उम्रिन थाल्नेछन् फेरि फूलहरू ।

Hariprasad Bhandari – Shraddanjali

तारा चन्द्र यिनै थिए नि नभमा बग्थे नदी कल्कल
यस्तै शैल तलाउ वृक्ष झरना यस्तै थिए जङ्गल
चम्कन्थे रवि व्योममा तर यहाँ सारा अध्यारो थियो
कालो शासनको समस्त जगमा छायाँ परेको थियो।

केही कर्मठ सन्तती र बलिया यो देशका रक्षक
आफ्नो देश बचाउने प्रण गरी पारेर ठाडो शिर
गर्जे हाँक दिदै डटे समरमा उत्साहको भेलमा
‘मर्छु किन्तु म मर्न दिन्न जननी नेपाल’ भन्दै यहाँ।

‘बैरीलाई भगाउँदै जतनले रक्षा गरी देशको
आफ्नो स्वत्त बचाइ गौरव अनि झण्डा र यो देशको’
भन्थे रे― ‘तरवार बज्री शिर यो टुक्रा परे तापनि
हाँसी हाँसी म जाउला जननी यी नेपाल बाचून्’ भनी।

रातो रक्त छचल्कियो शरीरमा अल्छीपना दौडियो
यस्तो शाहस सामुमा दनुजता कापेर थर्थर् भयो
पक्री ब्यर्थ रिसाइ सत्य नचिनी अन्धाहरू वैरिए
चोखो राष्ट्रिय भावलाई सहजै फाँसी चडाई दिए।

आलै छन् पदचिन्ह ती सहिदका टाटा अझै रक्तका
आलै छन् अझसम्म नै उनीहरू लड्दा बनेका कथा
त्यस्ता वीर सुपुत्र जो मुलुकमा बाँचिरहेछन् मरी
वीरैको गति पाउने सहिदमा मेरो छ श्रद्धान्जली।

Abhas – Dristi

मैले टोपी फेरेँ
र फेरेँ मथिँगलका अनेकौँ कचिँगलहरू
सम्यक् भएर यात्रामा निस्केँ

सोचेँ—
मेरा पुराना मांसकोष मरिसके/मरिरहेछन्

म विलकुल
वर्तमान झै छर्लङ्ग छु
ताजा छु

दोबाटोमा
पुरानो मित्र भेटेँ
उसको पहिलो वाक्य—
“अरे यार तँ त जस्ताकोतस्तै छस् ।”

Ashank Upadhyaya – Kaso Gari (Nepali Gajal)

आशांक उपाध्याय – गज़ल – कसो गरि

नाङ्गो तन छ-फोहोरी, लुकाउनु कसो गरि ||
यी आँखाका बर्खे झरी, सुकाउनु कसो गरि ||

न कसैको आफ्नो भएँ, न कसैको माया पाएँ,
पुत्ला सरि ठाडोपन, झुकाउनु कसो गरि ||

गल्ति गरि जन्माएर, आफैंबाट पन्छाएर,
जाने आमा सम्झी सुक-सुकाउनु कसो गरि ||

जताततै स्वार्थ मात्र, आफु नै हो मुख्य पात्र
भन्ने जमातमा दु:ख, फुकाउनु कसो गरि ||

सडक नै आफ्नो घर, कुकुर कै लाग्छ भर,
अमुल्य यो जिन्दगानी, चुकाउनु कसो गरि ||

Hari Ghimire – Stan

हरि घिमीरे – स्तन

सृजनाको पूर्वाधार
जीवनको आधार
बैंशको प्रकटीकरण
सौन्दर्यको आभा
आकर्षणको केन्द्र
म लजाउँछु / तिमी लजाउँछ्यौ
तर सृष्टि हाँस्छ।

सुमेरु पर्वत!
देवता-दानवको मधानी
गोबर्द्धन पर्वत!
जीवनरक्षाको प्रत्याभूति
मातृत्व-कलश!
बाल-अमृतको भण्डार
हिमाली टाकुरा!

शुभ्र-स्निग्ध अजस्र प्रवाह
प्रकृति लजाउँछ / ईश्वर हाँस्छ
तर ‘म’ जीवन पाउँछु
ममतामयी जननी उजागर हुन्छिन्
धन्य सृष्ट्रि!!
म नमस्कार गर्छु।

Komal Shrestha Malla – Bhogai (Muktak)

कोमल श्रेष्ठ मल्ल – भोगाई

भोग्नै नपर्ने कति कुरा
भोग्नै पर्ने रहेछ
यो रहेछ कस्तो रहस्य ?
धेरै ठुलो रहेछ
मोल कहाँ आँसु रगतको ?
तेसै बग्दो रहेछ
देख्छ कस्ले दिल जलेको ?
बुझ्ने हुन्न रहेछ
यो रहेछ कस्तो रहस्य ?
हृदय संगै रहेछ ॥

Prakash Sayami – Ke Magchhu Ra Timi Sita [Gajal]

के माग्छु र तिमीसित घामपानी सिवाय
के नै दिन सक्छौ अनिँदो बिहानी सिवाय
मेरो कसम तिम्रा निम्ति कति जुठो भो
चोखो त क्यै छैन तिम्रो जवानी सिवाय
नबुझाउ पहेली मनको म बुझ्दिन खै
स्पष्ट त क्यै भएन उही बानी सिवाय
सपना देख्छु रंगीविरंगी मन त त्यै हो
बदल्छु सारा चीज त्यै सिरानी सिवाय
भित्ताको तस्वीरले रगतको रंग भन्छ
के नै भन्ला शहीदको कहानी सिवाय
यै जीवन काल कोठरी भो नानू
जिन्दगी क्यै हैन पुरानो बानी सिवाय

Asha Gurung – Bishwash Euta Yatri Ko

आशा गुरुङ – विश्वाश एउटा यात्रीको

म एउटा यात्री जिन्दगीको,
हिड्दैछु अझै पनि समायन्तर संगै निरन्तर-निरन्तर
कुनै दिन त्यो पर क्षितिजमा पर्खिरहेको
उदेश्यको देउरालीमा बिसाउने आशाहरुमा
हो सुरुवात त निकै अगाडि भइसकेको थियो
तर बिडम्बना !कतै आँफै होस् गुमाउन पुगेछु
पाइलाहरु त रोकिएको थिएन
केबल मडाँरिदै थिए समयको आबेगमा

गन्तब्ये नभएको पनि होइन
तर लाग्छ दासी हुन पुगेछु ती असाहाय हालतहरुमा
म आँफैमा कम्जोरी पनि त कहाँ थियो र
समर्पण गरेछु आँफैलाई त्यो विवसताको हुरीमा
अझै हिड्दै थिए बेहोशी झै
तर बलबान समयले
ल्याइपुरायो जिन्दगीको अर्कै मोड्मा
अनि बिउँझाइदियो र छडिदियो उही सपनाको संसारमा
उस्तै सपनाहरु छचल्किएकै छन
आज पनि मेरो मानसपटलमा
सपना देखनु गलति होइन न त अधर्म नै
फेरि आज एउटा पाइला अघि सारे जिबनको गोरेटोमा
जति हावा हुरी आए पनि जे-जस्तोले तगारो हालेपनि
अब हल्लाउन अनि दबाउन सक्दैन
मेरो अटुट विश्वाश अनि अपूर्ण सपनाहरुमा
म हिँद्छु र हिँडिरहनेछु
त्यो मेरो सपनाको चौतारी नभेटेसम्म
मेरो आत्माले तब सम्म शान्ति पाउँदैन
जब सम्म मेरा यी पाइलाहरुले
अनि सपनाहरुले गन्तब्यको छात्तीमा सास नफेरेसम्म …

Abhas – Hiroshima Ka Parewa

जब म
एकान्तमा बसेर
मुरली बजाउन थाल्छु
हिरोशिमाका परेवा
मेरो सामु आउँछन्
वमले छिया छिया भएका
शरीरका मासु देखाउँछन्
आँसुले भिजेका
पँखेटा फट्कार्छन्
आँसुले सेचन गरिदिन्छन्
मेरो शरीर
जब म
एकान्तमा Continue reading “Abhas – Hiroshima Ka Parewa”

Nawaraj Subba – Bachan

यहाँ फूल बर्सन्छन्
ढुङ्गा अनि तीर बर्सन्छन्
मान्छे मान्छेका मुखबाट
त्यसैले
लाग्नु अघि छेक्ने
लागे सेक्ने
केही हैन आफ्नै मन हो
ढालले नछेक्ने छाती मै ठोक्किने
अरु हैन त्यो कसैको वचन हो ।

Shyam Dahal – Laasai Laas haru

श्याम लम्साल – लासैलासहरू
(मधुपर्क जेठ, २०६८)

मलामीहरू लास बोक्न विवश नै थिए
लासैलासका चाङहरू देखेर
कसैले सोध्यो
‘यो कसको लास हो ?’
मानवीय समवेदना र संस्कृतिको
मानवीय मूल्य र मान्यताको
अबोध शिशुहरू जस्तो रोइरहेको
नेपाल आमाका उनका सन्ततिहरूको
मलामीहरू लास बोकिरहेका नै थिए
फेरि कसैले सोध्यो
यो कसको लास हो ?
‘तिम्रो आफ्नै अस्तित्वको
आफ्नै जीवनको
तिम्रो हाम्रो नाममा जन्मने भावी पिंढीहरूको
हामी सबै मानव जातिको’
लासैलासको थुप्रोभित्र आफ्नो मृत्युलाई हामी आफैँले देख्ने भए
सृष्टि कति सुन्दर, कुशल हुन्थ्यो होला ?
सृष्टि सुन्दर मात्र भएर
मृत्यु नजिक नभैदिएको भए
संसार कस्तो हुन्थ्यो होला ?
तर हामी सबैले बुझ्नै पर्ने हुन्छ कि
सृष्टिका प्रत्येक पाइलाहरू
मृत्युको घुम्टोभित्र लपेटिएकै हुन्छन्
मलामीका लास बोकाइसँगै, हामी आफँै लास हुन्छौं ।

दमक, झापा

Seema Abhash – Desh Ko Simana

मेरो देशको सिमाना हराएपछि
सप्तकोशी किनारै किनार
सगरमाथा छ छैन थाहा पाउन
बैशाखी टेकेर
म लगडो नागरिक
जादैछु नाम्चेतिर

सप्तकोशी ब्यारेजबाट हुत्तिएर
जब मेरो देश
पारिपट्टिको बगरमा पछारियो
तब दन्दनी Continue reading “Seema Abhash – Desh Ko Simana”