Hari Ghimire – Stan

हरि घिमीरे – स्तन

सृजनाको पूर्वाधार
जीवनको आधार
बैंशको प्रकटीकरण
सौन्दर्यको आभा
आकर्षणको केन्द्र
म लजाउँछु / तिमी लजाउँछ्यौ
तर सृष्टि हाँस्छ।

सुमेरु पर्वत!
देवता-दानवको मधानी
गोबर्द्धन पर्वत!
जीवनरक्षाको प्रत्याभूति
मातृत्व-कलश!
बाल-अमृतको भण्डार
हिमाली टाकुरा!

शुभ्र-स्निग्ध अजस्र प्रवाह
प्रकृति लजाउँछ / ईश्वर हाँस्छ
तर ‘म’ जीवन पाउँछु
ममतामयी जननी उजागर हुन्छिन्
धन्य सृष्ट्रि!!
म नमस्कार गर्छु।