Ishwar Ballav – Ujyaloko Gufa

ईश्वर बल्लभ – उज्यालोको गुफा

प्रश्न पुरानो
प्रश्न हिंड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।
यद्यपि यात्रा प्रारम्भ भयो !

तर अमीष्ट पुगिन्छ कि पुगिदैन
पुगिंदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको Continue reading “Ishwar Ballav – Ujyaloko Gufa”

Sagar Kafle – Mero Tesro Ankha

सागर काफ्ले – मेरो तेस्रो आँखा

मेरो तेस्रो आँखा
तिम्रो दुबै आँखाले देख्दैनन् होला

म नाचि रहेको छु, दौडिरहेको छु
तिमि अगाडिनै
मैले छोई सकेँ मनहरु, आत्माहरु

तिम्रो स्वचलित साधन सँग
म पसिनाबाट दौडने व्हिलचेयरले
बाजि मारेर भन्छु
तिमि स्वबलम्बि भन्दा
‘म’ एक इन्च पछाडि छैन

Context – International Day of Persons with Disabilities (December 3rd)

 

Rajab – Shahar Ra Gaun Ma Bihana

शहरको बिहानमा
चराहरू बोल्दैनन्
त्यस कारण गाउँको र
यहाँ शहरको
बिहानमा फरक छ
गाउँको
बिहानमा
घरका खोपाका चराहरू
दैलि अगाडिको पैयुं को बोटमा
झरिसकेका हुन्छन्
र आँगनमा
फाट्टफुट्ट
छुटेका अन्नका दानाहरू
ताकिरहेका हुन्छन्
फरक छ
शहरको
र गाउँको बिहान
गाउँमा
बिहान हुनेबित्तिकै
चराहरू बोकेर रुखहरू कराउन थाल्छन्
आमाहरू कोप्रामा बच्चाहरू छोडेर
डोकोमा
गाग्री हुलेर
कुवातिर
झर्न र उक्लन थाल्छन्
सूर्यकिरण
पिंढी र तुलसी मठमा
टोलाइरहेको हुन्छ
आँगनमा
पाठा–पाठी र
घरका भुराहरू रमाइरहेका देखिन्छन्
शहरको बिहानमा त
घर–घरका सेरामिक ट्वाइलेट्सका
फ्लसहरू कराउन थाल्छन्
बाहनहरू धूवाँ उडाउन र
मानिसहरू पुनः
दिनभरिको कोलाहलको तयारी गर्न थाल्छन्
मुख्यतः गाउँको बिहानमा
चराहरू
र शहरको बिहानमा
बाहनका इन्जनहरू कराउन थाल्छन्
शहरको बिहानमा
घरघरको छानोले
घरघरलाई छेक्दै
सूर्यकिरण परै बसेको देखिन्छ

२०५२ कात्तिक

Sangeet Aayam – Pariwartan

भर्खर भर्खरै हो
मान्छेहरू नाच्दै सडकमा
विजयोत्सव मनाउदैछन्
भर्खर भर्खरै त हो
भनिन्छ, मान्छेहरू अब रैतीबाट
मालिक हुन पाएका छन्
जतासुकै हातहरू उठिरहेछन्
जुन हातहरूले सधै सधै
मुक्तिकामी गीत मात्र गाएका छन्
लाग्छ, अब तिनै हातहरूले
तानाशाहका बर्बर कथालाई
निसाना साध्नेछन्
चारैतिर खुट्टाहरू दौडिरहेछन्
जुन खुट्टाहरूले सधै सधै
इतिहास बदल्ने लडाइ“ मात्र लडेका छन्
लाग्छ, ती खुट्टाहरूमा झुक्दै
जङ्गली इतिहास घोप्टो परेर
याचना गरिरहेछ
दृश्यहरू उही रहेनन्
परिदृश्यहरू त्यस्तै छैनन् ।
के साच्चै नै अब
देशको पीडाले
निकास पाउने भयो त ?
के वास्तवमै
इतिहासको शैली अब
प्रायोजित नहुने हो त ?
के साच्चै नै अब
समयले आतङ्कका कथा
लेख्नै नपर्ने भयो त –
के वास्तवमैं
शक्तिरूपी तानाशाह बन्ने क्रम
रोकिएकै हो त ?

Bikram Subba – Okhar

छामेर हेरेँ
तिम्रो मुटु
ओक्खर आकारको छ ।

म्वाई खाएपछि था’भो
ओखरको गुदीभन्दा’नि
स्वादिष्ट रै’छ तिम्रो माँया ।

हाड नभा’कोभए ओक्खरको
स्वाद कहाँ सुरक्षित बस्थ्यो होला?
छातीभित्र मुटु नचलेकोभए
जीवन-सङ्गीत कहाँ धड्‍कन्थ्यो होला?
नारी र पुरुष नभा’काभए
मायाँको गीत कसले सुरु गर्थ्यो
र कसले अन्त्य गर्थ्यो होला?
हाम्रा यी लालावाला नभा’काभए
कुन घरले मात्र हामीलाई थुन्थ्यो होला?
घरै नभए, देश नै किन चाहिन्थ्यो?
ऊफ !
यहाँ, घर हुनेको देश छैन
देश हुनेको घर छैन
तसर्थ म एत्तिबेला
ईतिहासमा नयाँ चार किल्ला गाडेर
एकैचोटी देश र घर खोज्दै आन्दोलित भएर
रगतले नयाँ मुलुकका सिमाना लेखिरहेछु ।

मैले फेरि पनि छामेर हेरेँ
तिम्रो मुटु ओक्खर आकारको छ
म्वाई खाएपछि था’भो
ओक्खरको गुदीभन्दा पनि
स्वादिलो छ आफ्नो मुलुकको माँया ।

Ajaya Paudyal – Na Ta Bayan Garos Devkota Ko Muna Madan Le (Nepali Gajal)

अजय पौड्याल – न त बयान गरोस देवकोटाको मुना मदनले

न त बयान गरोस देवकोटाको मुना मदनले
न कलि दास को मेघदूत दूत ले गर्न सकोस
अहिले मनै तिम्रो एक मात्र साहारा भएपनी
म त्यों होइन जो तिम्रो लागी मर्न सकोस

मत सुबास हू, सोभा हू ,बिहानी को त्यों फूल को
जो मध्यान्न संगै आफ्नो महत्व गुमाईदिन्छु
नझार ति अनमोल थोपा हरु मेरो लगी भनी
मैले लड़कपन सम्झी त्यसै भुलाइँ दीन्छु

Sarubhakta – Sashakta Aina Haru : Ragatka Nadi Haru


कालो कालखण्डः दिब्योपदेशका क्षतविक्षत आत्माहरु
कुहिरो दूर्घटित छन्
अनिदो मनको देश चितास्तम्भ जलेका छन्
खोई कहाँ लागे हाम्रा राष्ट्रनिर्माताहरु ?
सम्यताहरुको युद्ध: ढुङ्गा वर्सिने घरहरु
हेर ! हेर ! वाइबल हातमा लिइहिड्ने जुगाहरु
भागवत् व्यापारमा व्यस्त छन्
ब्रेनड्रेनः गुरुकुलीय व्यामोहहरु
हामी जीउमा मइलका कत्ला बोकेर सेतो
मत्स्येन्द्रनाथको महास्नानमा ब्यस्त छौं
भुरेटाकुरे भावुकता त्रिशंकुयुगीन धुपधवाँर
मस्तिष्कहरु मस्तिष्कहरुको युद्धमा छन्
विश्वलाई हामीले सम्वुद्ध दियौ
सट्टामा विश्वले हामीलाई डलर र येन दिदैछन्
राइटर बाजेः के हाम्रो सगरमाथा विदेशतिर विक्रीमा छ ?
हामी हरुवा तर वीर सत्रुका सन्ततिहरु
कुन आठपहरिया कमाण्डो जागिरमा छौं ?
आह ! अग्निपरीक्षाहरु अग्निपरीक्षामा छन्
यसर्थ आजभोलि देशमा शक्तिहरु हिड्छन्
नागरिकहरु हिड्दैनन्
सत्रुहरुको देश कहाँ छ ? त्यही जहाँ हामी
एकअर्काका मित्र छैनौं
देशमा नरसंहार चलेको छ त्यसैले आउ
सस्ता खप्परहरुका महङ्गा प्लान्चेट खेलौं
ए ! के सुरक्षामा छन् असुरक्षित सुरक्षाकर्मीहरु ?
जाउँ वरु खाडीतिरै, भविष्य भेटिन्छ कि ?
वेल्जियमबाट आयातीत सशस्त्र ऐनाहरु
हिमालवाट बग्दैनन् रगतका नदीहरु ।

Tara Mani Rai – Shadyantra

तारामणि राई – षड्यन्त्र

खट्प्वाल
लिम्सो भित्तो
झ्यालका काप
अथवा कहीँ कतैबाट
आईरहेछ-
एक तमास षड्यन्त्रको गन्ध

षड्यन्त्रको प्रपञ्च:
-मेरो थात बास उठाउनका लागि हुन सक्छ
-सर्बश्वहरणका लागि हुन Continue reading “Tara Mani Rai – Shadyantra”

Bhupin Byakul – Ghaam Joon Ko Maajh Ma

भूपिन ब्याकुल – घामजूनको माझमा

जसरि दुइ किनारहरुको बीचमा बगिरहेको एउटा नदी हुन्छ
जसरी काँडा र पातहरूको बीचमा एउटा सुन्दर फूल हुन्छ
एउटा प्रिय जीवन हुन्छ जन्म र मृत्युको बीचमा
जसरी घाम र जूनको बीचमा एउटा उज्यालो दिन हुन्छ !

घामजून माझ अटाएको एउटा सिंगो दिनभित्र
पहाडहरु ओर्लंदै गरेको कलिलो बिहान पनि हुन्छ
सुर्यमुखी फूलझैं घामलाई पचच्याइरहने मध्यान्ह पनि हुन्छ
र हुन्छ
प्रतिक्षामा बसिरहेको एउटा उदास साँझ पनि हुन्छ |

मात्र एकदिन सग्लै बाँच्न पनि त
स्वीकार्न जरूरी हुन्छ-
अल्लारे समयका नीलानीला हस्तक्षेपहरु
फरकफरक अनुभूतिका गहिरा रंगहरु
बिचारका कलामय मृत्युउत्सवहरु / नृत्यहरु / गीतहरु ……. !

एउटा अपरिच क्षणसंग अभ्यस्त हुँदा नहुँदै
एउटा बिरानो पललाई आत्मसातगर्दा नगर्दै
खोलाको पानीलाईएक पाइला कुल्चँदा नकुल्चँदै
उपस्थित भैसक्छ्न – समयका परिचयहीन टुक्राहरु
बगिरहने पानीका अविश्रान्त तरंगहरु / लहरहरु
अजिंगरझैं गुडुल्किएर
आलस्यको गीत गाउँदै सुतिरहने भए त अर्कै कुरा
पागलखानाले झैं
मनमस्तिष्क फुकालेर बर्बराउँदै बिताउने भए त अर्कै कुरा
भोग्नको लागि
घाम र जुनको बीचमा एउटा उज्यालो दिन पनि हुन्छ |

अँध्यारोलाई घृणा नगरीकन
उज्यालोलाई मन पराउने बानी बनाएको छु मैले
मृत्युलाई घृणा नगरिकन
जीवनलाई प्रेम गर्ने आदत बनाएको छु मैले
थाह छ जीवनसंग प्रेममय युद्ध लड्दालड्दै
जीवनलाई अँगालोको लहराले बेरेर हिंड्दाहिंड्दै
मुटु र मस्तिष्कका सम्पूर्ण कमजोर हतियारसहित
मृत्युसंग आत्मसमर्पण गर्नु छ
तर जान्दाजान्दै पनि यही सत्य
उज्यालैउज्यालो बगिरहेको जीवन नदीमा
अभावहरु / सपनाहरु / उदासिहरु / उत्सवहरु
समस्त समस्तसंग
पौडिनु छ / डुब्नु छ / उत्रनु छ
डुब्नु छ / उत्रनु छ र फेरी डुब्नु छ
र प्रेम गरेको उज्यालोलाई अन्तिमपटक आँखाले चुमेर
एउटा संघर्षको किम्बदन्ती छाड्दै अँध्यारोमा डुब्नु छ
डुब्नु छ !

घाम र जूनको बीचमा एउटा उज्यालो दिन पनि हुन्छ |

Rupesh Rai – Bishwa Maanchitra Ma Timro Gaaun

रुपेश राई – विश्व मानचित्रमा तिम्रो गाउँ

ग्लोबल अर्थमा गाउँहरू
उठेकै छैन रहेछन्!

अप्डेट् गर्न भूलेको हुनुपर्छ। या त!
सेटलाइटले नतानेको हुनुपर्छ। हाम्रा गाउँ।
धेरै विकास भएको छ,
भन्छ। ग्लोबल अर्थमा Continue reading “Rupesh Rai – Bishwa Maanchitra Ma Timro Gaaun”

Sarubhakta – Itar Samaya

मृत्युमहोत्सव
पीडाहरुको कोलाहल वगेर
आखेटिक विश्वासहरुमा
धुमकेतु उदाएको वेला
म हब्वलका आँखाहरुले हेर्दैछु
मान्छेका अन्तरिक्षहरु
उन्मीलित ताराहरुको देश
च्याउ फुलेका ब्रह्माण्ड वीथीभरि
किरणस्नान गर्दै
कुन जम्बालहरुमा चिप्लन्छन्
मेरा पयरका विश्वासहरु ?
म अन्धकूप अन्तरिक्ष पोखरीमा
माछामार्न हिडेको छैन
आह ! गिद्धहरुको दाहसंस्कार
अन्तरिक्ष अकाल धर्तीभरि
म सप्रसङ्ग षड्ऋतुहरुमा
आयामहरुको टोष्ट खाँदैछु
विगब्याङ्ग
विगब्याङ्ग
सुपरनोमा विस्फोटनका हल्लाहरु
कन्ट्रोल– सिद्धान्तहरुको लाममा
म कतै तानिएको छु
ब्लेकहोल – कृष्ण विवराकृत मनहरु
आफ्नै गुरुत्वपीडित छन्
यसर्थ सापेक्षिततामा नरभक्षी बाघ आतङ्कहरु
आफ्नै आतङ्कले उत्सवित छन्
इतर समय
अन्तरिक्षमा मनहरु हराएका छन्
अझैपनि म प्रेमका कविता खोज्न अभिशप्त छु

Kshetra Pratap Adhikari – Yesto Pani Hundo Raichha

क्षेत्रप्रताप अधिकारी – तिमीले त हैन तिम्रा भाकाहरुले

तिमीले त हैन तिम्रा भाकाहरुले
मेरो मुटु छोइसकेछन्
मैले पनि हैन मेरा अँखाहरुले
तिम्रो लागि रोइसकेछन्

त्यसै त्यसै कस्तो गाढा माया बसेको
धुँदा Continue reading “Kshetra Pratap Adhikari – Yesto Pani Hundo Raichha”

Bhanubhakta Pokharel – Ma Shunya Ma Shunya Sari Bilayen

भानुभक्त पोखरेल – म शून्यमा शून्यसरी बिलाएँ

भुली स्वयं सिर्जन सावधानी
गरेर आफैँप्रति बेइमानी
बतासिई स्वप्निल कल्पनामा
न लागि हे, संयम साधनामा
गरी सधैँ हड्बड गड्गडाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

‘निर्माण हो काव्यकला, परिष्कृति-
चाहिन्छ, चिल्ल्याउनुपर्छ निर्मित
टिक्तैन रे अस्थिर, हड्बडे कवि
मैल्याइ आफ्नै कृतिकर्मको छवि,
भन्ने बुझेरै पनि गड्बडाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

हुँदाहुँदै सागरतुल्य पानी
छँदाछँदै मन्दरको मदानी
रहेन मेरो स्थिर स्वानुभाव
आँधी-समाधिप्रति भेदभाव,
जतासुकै लर्बर लर्बराएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

लगाम आफैँ नसकी समाउन
गरेर आफ्नै शतचूर्ण खण्डन
विना महामन्थन, स्वाऽनुशासन
भुल्याइ सत्सिर्जन-चेत, चिन्तन
सुरम्य सङ्लो नबनी सुसाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

‘नसङ्लिँदा भाव-विचार-पोखरी
प्रयोग यद्वा विनियोग निर्झरी-
आधाउधी घट्तछ शक्ति वीरको
प्रभाव यद्वा प्रतिभा अधीरको’
भन्ने कुराको बनियो निदर्शन-
मेरो महाप्रतिभा शक्ति, सिर्जन
बुझी-बुझी आसन डग्मगाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

बेला बिताएपछि चाल पाई
आफ्ना सबै भूल रुँदै सकारी
हेरी धरा, आँसु पिरा खसाएँ
म शून्यमा शून्यसरी बिलाएँ ।

-यो शीर्षकीय पङ्क्ति महाकवि देवकोटाको मरणासन्न अवस्थाको उद्गार हो ।

Dr. Madhu Madhurya – Chilaune Ko Hango

मधु माधुर्य – चिलाउनेको हाँगो

पीडाको काउकुतीले लखतरान पारेकोबेला
एक क्वान्टम अट्टहास –
कानका पहरा-कन्दराहरुमा
सिम्फोनी “रेक्विएम” गुन्जिरहेछ …
पीडाले मातेको जीवन –
समयको विपरित दिशामा ढुन्मुनिरहेछ

अलपत्र छाडेर घडीलाई –
नाडीमा / बुर्जामा / भित्तामा
मान्छेदेखि भागिरहेछ
समय-
नयाँ-युगको प्रस्थानद्वारतिर !

छेउमा उभेर
एउटा रुख –
चुपचाप बाटो छेकिरहेछ :
हावाको झोक्कासँग कानेखुशी गर्दै
झार्दै सुकेका पातपतिंगर
घामको रापिलो अँगालोमा बाँधिएर
कहिले
जुनको सितल प्रेम-प्रकाश पिउंदै
कहिले
असिनाले चुटिएर
वा पानीले भिज्दै
हरेक ऋतु ऐजन ऐजन
हरेक बसन्त
बाक्लो सेतो फूल फुलिरहन्छ
नौलो हाँगा पलाई रहन्छ
हाँगामा –
गुँडछ
युगको सुर्केनी छ
आदिम क्रस छ…

फेदमा बसेर लेख्दैछु
यो कविता
माथिबाट शीत खसेर
तप तप
मेटिने गर्छन अक्षरहरु

माधुर्यमा डुबेर अनुभूति
जब म मर्छु रित्तिएर
कविता बाँच्छ
र मौनताभित्र म बौरन थाल्दछु …

पूर्णविरामहरुको लाम लागेर
म अनन्त छिचोल्छु :
यो मौनता –
अस्तित्वप्रतिको
औपचारिक अस्वीकृति वा विद्रोह !

इतिहासको रुप –
गुम्सिएर विचारहरुको खोरमा
अमूर्त जीवन-कला बनेर
आँखामा बिझेको बेला पनि
देख्दैछु :
पैसाको दन्त्यकथा
यो सुन्दर शहर –
नमिठो हार मान्छेको !
पातलो / सफेद विगुतिभित्रको
राता-राता आगाका विउहरु
एक निमेष घर्षण –
आँखाहरुको / स्पर्शहरुको
प्रेम सल्किरहेको
जीवनको नाममा बाँचिरहेको
एउटा विवसताभित्र –
मृत्यु सहज भएको भए
किन बाँचिरहन्थे
स्वास-प्रस्वासको अभिनयमा
हजारौं अथकित सुस्केराहरु !
अर्थात्, जिजीविषाको डिजिटल क्लोनिंग
युगको साझा गोबरमा लत्पतिदै
कोलोराडोको किरा झैँ –
अजम्बरी परजीवी हामी
जति नै विष थपेपनि
कोकाकोला युद्ध र कलहको
स्याउँस्याउँ उम्रिरहने
उम्रिरहने स्याउँस्याउँ
जुझिरहन्छन् मनहरु
बरु अतितको बुमेरांग झरेर सत्ययुगको
मेरो छातीमा गिरेहुन्थ्यो
फैलाउंदै स्वतन्त्रताको नैसर्गिक विकिरण
म जीवनको क्वान्टम बाँच्न चाहन्छु …

स्वतन्त्रता –
अवशेषहरुमा अनुभूतिको कतै
डाईनासोरहरुको हाड्खुर फेलापरे हुन्थ्यो
डार्विन रमाउन चाहन्छु
‘इ बराबर एम सी स्क्वाएर’ को सुत्रबाहिर

उन्मुक्तिबिना –
मान्छेको घोषणा
युगीन धोका हो धोका !
मान्छे छ भने अस्तित्वमा
उसको किन उपासना गर्दैन ‘भगवान” ?

‘भगवान’ले आँक्न नसक्ने हिंसा
मानिसलाई कति सरल छ –
उसकै छोरो मारेर प्रदर्शन गर्यौं….
भगवान र मान्छेको अन्तरसम्बन्ध
अन्डा र कुखुराविचको सत्य- विवादभन्दा
अलिबढी केहि हो
शरमबाहिर –
सीता-साँहिली अक्षरसँग
मान्छेको
सम्भोग
अक्षरको
मान्छेसँग
सिर्जना जन्माउने ‘सामान्य अभ्यास’ हो फगत
र बिर्सेर त्यो
अक्षर मै खुर्मुरिन्छौँ, चोंइटिन्छौँ

जीवन => मृत्यु => जीवन …
पुनरावृत्तिको शृंखलामा
खोइ स्वतन्त्रता कहानिर छ ?
चाहनाको क्वान्टमभित्र भौंतारिंदा भौंतारिदै
कानूनको खोरमा थन्क्याएर स्वतन्त्रता
जीवन पश्चिम ओर्लिरहेको हुन्छ !

उन्मुक्ति सम्भावनाका जराहरुमा
यसरी बन्धनहरुको धमिरो लागिसकेपछि
बाँकि रह्यो मात्र भावना …
र अथाह अन्तर-उत्तेजनाले
चिलाइ रहेछ
चिलाउनेको हाँगो
चिलाइ रहेछ …!!!

Lakshmi Mali – Ma Prayatnarat Chhu

खङ्ग्रङ्ग सुकेको माटोलाई
खनजोत गरी
निलो पसिनाले सिंचेर
हरियो भविष्य उमार्ने आशमा
मैले आफ्नो वर्तमानलाई छरें
तर
कहिले घाम नलागेर
कहिले छिमेकीको भेंडाले खाइदिएर
मेरो वर्तमान
मेरो रगत पसिना
मेरो विश्वासअनुसार
मेरो भविष्य
पलाइरहेको छैन
बनमारा झारले छोप्न खोज्दैछन्
म उखेल्दै फाल्दैछु
तर मैले हार स्वीकारेको छैन
भरभराउँदो घामसँगै
लहलहाउँदो भविष्यका लागि

मेरो बूढो वर्तमान रोप्दै
नुनिलो पसिना बगाउँदै
हरियो भविष्यका निम्ति
प्रयत्नरत छु ।

Gayatri Bista – Sangharsha Ko Maidan

गायत्री विष्ट – सङ्घर्षको मैदान

नीलो आकाशमा
मडारिरहन्छन् काला बादल
युद्ध चर्किरहन्छ घनघोर ।
शुभ्र भाष्कर
चिरेर बादलको छाती
धर्तीलाई न्यानो पार्दछ
आभा छर्दछ मृत्तिका कणकणमा ।
सङ्घर्षमा उत्रनेहरूका लागि
प्रेरणा यही होइन र ?
पाइला पाइलामा कहाँ छ र ?
नीलकाँडाहरू नबिझेका
चसचस नदुखेको
कहाँ छ र घाइते मुटु ?
बग्रेल्ती छेपाराहरू मौलाएको यो युगमा
साङ्घातिक आक्रमण कहाँ हुँदैन र ?
मर्दैनन् विचारका रक्तवीजहरू
क्रूर नङ्ग्राले कोपरिएर घाइते हुँदैमा ।
असमानताको गहिरो खाडलमा
दारुण व्यथा बोकेर रुमलिनेहरूको माझ
समानताको प्रज्वलित दीप बालेर
विचारका रुक्तवीजहरू
ज्वालामुखीजस्तै विष्पोट हुन्छन्
ज्ञानका ज्योति छरेर ।
सर्वत्र गिद्देदृष्टि फैलिएको
एक्काइसौं शताब्दीको पूर्व सन्ध्यामा
यात्रामा आफूलाई बन्धकी नराखी
को सामेल हुन सक्यो ?
षड्यन्त्रको वैशाखी टेक्नुपर्ने बाध्यता
निरन्तर कायम रहन सक्दैन
पक्षघातको जालो बुन्नेहरूलाई के थाहा ?
जिन्दगीले क्रूरता फुटाल्छ भनेर ।

Tanka Subba – Akash Manchhe Ra Bwansa Haru

टंक सुब्बा – आकास मान्छे र व्वासाहरु

मौन मौन आकास
हुडुलिएर कालो बादलसंग
रोइरहेथ्यो परिवेशको माथि- माथि
थाहा थिएन कसैलाई
के भएको हो कुन्नी
रिसाएको हो कि बादल ?
भन्नेहरु भन्थे
यहाको रीत हो भनेर
व्यस्ततामा हराएका
मान्छेहरु
पर…… जंगलमा
धारिलो नड्ग्रा फिजाएर
खित्का छोड्दै थिए
हुचिलहरु
तल…….चौरभरि
त“छाड मछाड गर्दै
लुछाचुडिमा मस्त थिए
व्वासाहरु
अमुक थिए दर्शकहरु
हेर्दै सन्त्राशमय दृश्यहरु ।

Anjan Shrestha Abhagi – Tyahi Mori Kaali Ko

अजान श्रेष्ठ (अभागी) – त्यही मोरी कालीको

त्यही मोरी कालीको यादले रुवाउछ ।
तिमीसंग छुट्टिएको साथले रुवाउछ ।

त्यो जुनेली रातमा तिमी र म मात्र
भएको जुनेली रातले रुवाउछ ।

संगै जिउने मर्ने बाचा कसम
खाएको त्यो तिम्रो बातले रुवाउछ ।

तिमी र म एक भएपनि यो समाज
अनि सानो ठुलो जातले रुवाउछ ।

यो अजान भनि हप्काउछ अनि
डर देखाउछ त्यही घातले रुवाउछ ।

कुवाकोट कान्छीबजार स्याङजा / हाल (Pune) India

Sarubhakta – Surakchhit Awataran

आकाशका आँखाहरुले
आदम ब्रीजको खोजी
गर्दा नगर्दै
मैले आफैलाई खोजे
जिन्दगीको डुवानयुक्त वेवआइटहरुमा
उफ् ! साइवर क्याफेहरु
वम आक्रमण विध्वस्त छन्
म सुनौलीका नाकाभरि छारेरोगका
मुठभेडहरु पो भोग्दैछु
सुरक्षा Continue reading “Sarubhakta – Surakchhit Awataran”

Kali Prasad Rijal – Ankha Chhopi Narou Bhani

आँखा छोपी नरोउ भनि भन्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि हाँस्नु पर्‍या छ

भोली उठी कहाँ जाने केही थाहा छैन
फर्कि आउने हो कि होईन केही थाहा छैन
वाचा छिटै आउछु भनि गर्नु पर्‍या छ
मुटुमाथि ढुंगा राखि Continue reading “Kali Prasad Rijal – Ankha Chhopi Narou Bhani”