Tara Mani Rai – Shadyantra

तारामणि राई – षड्यन्त्र

खट्प्वाल
लिम्सो भित्तो
झ्यालका काप
अथवा कहीँ कतैबाट
आईरहेछ-
एक तमास षड्यन्त्रको गन्ध

षड्यन्त्रको प्रपञ्च:
-मेरो थात बास उठाउनका लागि हुन सक्छ
-सर्बश्वहरणका लागि हुन सक्छ
-अथवा यसो भनौँ मलाई दुई टुक्रा पारेर
नालीमा फाल्नका लागि हुन सक्छ

जहिले पनि
षड्यन्त्रको खेती
पृथ्वी चेप्टो छ भन्नका लागि हुने गर्दछ
दिनलाई रात बनाउनका लागि हुने गर्दछ
सबभन्दा बढी
सत्यभ्रुण हत्या गर्नका लागि हुने गर्दछ

षड्यन्त्रको सिकार त
जिजस क्राईस्ट पनि भए
र भए
ग्यालिलियो
अब्राहम लिङ्कन
गान्धीहरू क्रमश:

के उसले
मलाई षड्यन्त्रको
अण्डरमाईन बिछ्याएर
शुकरात बनाउन खोजिरहेछ ?
अथवा
ग्यालिलियो वा अरू कोही ?
को बनाउन खोजिरहेछ त्यसले, हँ ?