Nira Sharma – Anurodh

आफ्नो वल्लो आँगनबाट
पल्लो आँगन चहारे झैँ
मधेस झर्न सक्दिनँ म
अचेल।
एउटै घर एउटै छानो
तर सोच फरक छ
अचेल।

सोचहरूलाई पर्खाल बनाएर
खै किन कोरिँदैछन् यी सीमारेखाहरू
सिङ्गो एउटा नेपाल नबनेर
किन भाचिँदैछन् आफ्नै भूगोलहरू
विस्मृतिका गर्भमा विलिन
नाता साइनो र आत्मियतासँगै
किन हराएका छन् अस्तित्वहरू?

पहिले पहिले मधेस जल्दा
कति सजिलै पग्लन्थ्यो पहाड
र निभाउँथ्यो आगो हिउँ बनेर
जुर्मुराउँथ्यो एकता एक ढिक्का भएर―
तर आज…..
ज्वालासँगै दन्केको छ मधेस
ह्वार्ह्वार्ती सल्केको छ।
सम्झौता र सहमतिमा मिल्ने हातहरू
भाँचिएका छन्,
काटिएका छन्
पहाड र मधेसका सेतुहरू
लत्रेका छन्,
भत्केका छन् ।

सयौँ वसन्त पार गरेकी मेरी आमा
नाति भेट्ने रहर पोको पारेर
पहाडबाट जब झर्छिन् मधेस,
डराई डराई पाइलाहरु कँपाउँदै
भन्छिन् तराईका सपुतहरूसँग
“बाबु ,मलाई मेरो नाति भेट्नुछ
नखेद,
मेरो बाटो नछेक
मलाई जान देऊ
न मधेसी,न पहाडी
मात्र एउटा नेपाली नाति भेट्न देऊ
मलाई जान देऊ।”