Sarubhakta – Mahabharat

कुरुक्षेत्रमा कौरवहरू जम्मा हुन्छन्
कुरुक्षेत्रमा पाण्डवहरू जम्मा हुन्छन्
र, प्रत्येक दिन शङ्खका अहम्नादहरू गर्दै
धर्मका नाममा युद्ध गर्छन्
तर, धर्मको नाममा सुरु हुने
महाभारत युद्धहरू सधैँसधैँ
पापयुद्धहरूमा परिणत हुँदै जान्छन् ।
कुरुक्षेत्रमा जम्मा हुने कौरवहरू
अरू कोही हुँदैनन्/पाण्डवहरूका भाइ हुन्छन्
कुरुक्षेत्रमा जम्मा हुने पाण्डवहरू
अरू कोही हुँदैनन्
कौरवहरूका भाइ हुन्छन्
त्यहाँ दुवै पक्षका
बाबुबाजेहरू हुन्छन्
त्यहाँ दुवै पक्षका
गुरुहरू हुन्छन्
त्यहाँ दुवै पक्षका
बन्धुबान्धवहरू हुन्छन्
र, युद्ध सुरु हुनुभन्दा पहिले
महान्महान् धर्मका नाममा
महान्महान् घोषणाहरू गर्छन्
तर, जब युद्ध सुरु हुन्छ
धर्मका नाममा सुरु हुने
महाभारत युद्धहरू सधैँसधैँ
पापयुद्धहरूमा परिणत हुँदै जान्छन् ।
कुरुक्षेत्रमा जम्मा हुने कौरवहरू र पाण्डवहरूका साथ
देवताजस्ता मान्छेहरू पनि हुन्छन्
मान्छेजस्ता देवताहरू पनि हुन्छन्
कुरुक्षेत्रमा जम्मा हुने कौरवहरू र पाण्डवहरूका साथ
राक्षसजस्ता मान्छेहरू पनि हुन्छन्
मान्छेजस्ता राक्षसहरू पनि हुन्छन्
त्यहाँ कतिका महान्महान्
प्रतिज्ञाहरू हुन्छन्
त्यहाँ कतिका महान्महान्
विश्वासहरू हुन्छन्
तर, एकपल्ट युद्ध सुरु भएपछि
धर्मका नाममा सुरु हुने
महाभारत युद्धहरू
सधैँसधैँ पापयुद्धहरूमा परिणत हुँदै जान्छन्
सधैँसधैँ पापयुद्धहरूमा अन्त्य हुँदै जान्छन् ।