Gopal Prasad Rimal – Prashna

नेपाली तिमी यहाँ किन आयौ ?
गो–रखाली हौ,
गो–रक्षाको भार लिई
बढ्दैबढ्दै आयौ ? नेपाली…
तिम्रै गुफा कन्दराहरुमा
देखेथ्यो जगले पहिलो सपना,
तिम्रै वनमा पलेटी कसेर
सफल भएथ्यो ऋषिहरुको जपना,
पाएथे अन्धजगत्मा
बल्दो उज्वल दीप—
के त्यही दीप लिई तिमी
बढ्दै आयौ दुनियाँमा ? नेपाली…
आदर्शझैँ उच्च,
विस्तृत विशाल हृदयझैँ,
सत्य छुन बढेका,
या सतयका रुप भै उठेका
मनका लहरझैं सुन्दर
हिमालको रुपमा
अमरापुरीको पथ तिम्रै–
के सबैले स्वर्ग पुगेर
स्वर्गको सुन्दर कहानी भनेर,
फूलको माला लिन
घुम्दै आयौ यहाँ ? नेपाली…
या बिजुलीका कणझैं प्राण वरिपरि
पञ्चभूतको आवरण बेह्री
तिमी बर्सने बादलझैँ
आह्र्लँदा कर्म–जगतमा,
कुनै विपरीत हुरीले
फेरो मार्यो र पथमा ?
नेपाली…