Sushma Manandhar – Chiso Raat

सुषमा मानन्धर – चिसो रात

निकै रात हामीले अनिंदै बितायौं
क्षणिक आ आफ्ना
अहम् तुष्टिका लागि
आँखाभित्र अग्ला पालहरु गाडी
सिंगो बल्दो रात व्यर्थ निभाएर
भित्र मुटुमा वेदना दन्काउंदै
तिमी जलिरह्यौम जलिरहें।

एक अर्कामा बनेको छत्तिसको आँकडामा
आ आफ्नै मात्र सुखका क्षितिज
थोरै इन्चीका यी दूरी पिन
किन यति गहिरा
नाघ्न हामी दुवैलाई
हम्मे हम्मे परेको छ
चिसो रात झैं चिसिंदै गरेको
हाम्रो माया
टाढा राखे अझ जम्नेछ
कंठ्यांग्रिएर सम्वेदनाहरु
संज्ञाशून्य बन्दै
निर्जिव मूढा झैं
न तिमीलाई दुख्लान मलाई।

हिउँदको महिना
चिसोमा अड्किंदै बगेको रात
पातहरु बजाउँदै निष्ठुर सिरेटो
ढक्ढक्याउंदै छ झ्याल
एउटा अर्को रात
टुक्राटुक्रामा हामीभित्र
डुब्नु अगाडि नै
गुनासोलाई बाहिरै छाडेर
आऊ प्रिय
एउटै सिरकमुनि
मायाका र क्षमाका आँचहरुले
शायद पगाल्लान्
हामीभित्र जमेको
भावनाको ग्लेशियरलाई।

सुषमा मानन्धर, कुमारीपाटी