Sarubhakta – Time Bomb Mathi Baseko Desh

देश मृत्यु शैयामा छ
माफ गर, यो कुनै समाचार होइन
सुनाखरी नफुल्ने देश
धतुरीमैयाहरु बेचिएका छन्
भ्याकुमक्लिनर जिन्दगीका हलसाराहरुमा
बाबुहरु भैंसीसित छोरी साट्दैछन्
मुहनोचवा – आतङ्ककारी कीराहरु
एन्थ्राक्स आतङ्क ग्रस्त छन्
ए हिमालका जुनकीरीहरु ! के हामी डाइमिथाइल
मर्करीका ताण्डवपूर्ण मिनामाता रोगका खाडीमा छौं ?
हाराकारीधुनः रक्तपिपासु जीन
झड्केला बिम्बहरुको सतीगएर
भाइसभर्साउत्सवः
वाढीपीडितलाई अग्निपीडितको सहायता
अग्निपीडितलाई बाढीपीडितको सहायता
वेलिपुलहरु टुटेका छन्
पिलोले थलिएका राजागजहरु
इन्टरनेटमा साइवर आमा र वेवसन्तानहरुका करतुत हेरिरहेछन्
टाइमवममाथि वसेको देश
सुनका मृगहरु लखेटिन्छन्
ए लौहभष्मपुरुषहरु ! के हामीसित परिकल्पित जिन्दगीमात्र
वचेको छ ?
साटिएका आकाशहरुः थाकेका बिम्बहरु सिर्जना गर्छन्
छापामार आत्माहरु राष्ट्रिय तस्करी उद्योगहरुमा
कर्मचारी बोक्ने एम्वुलेन्स निर्माण गरिरहेछन्
लघुमानवहरुको वस्तीः खप्परहरुको जुलुस चलेको छ
आजभोलि मृतहरुको हत्याकाण्ड रचिदैनन्
त्यसैले एनटीसियसका शवपरीक्षा विधिहरु चल्दैनन्
संविधान कोमामा छ ?
त्यसोभए आउ, हटेरुहरुको भीड चिरेर
हुस्सुप्रदेशतिर प्रस्थान गरौं
विस्फोटक ताराहरु र च्याखुरे लेक
काकाकुल जिन्दगीका आइकनहरु
यहाँ प्रत्येक मान्छेभित्र एउटा तानाशाह वसेको हुन्छ
अभागी देशः जनताहरु सबै मरिसकेका छैनन्
ए ! उनीहरुमात्र किन सजिलैसित मरी ÷ मारिइ
भाग्यमानी बनेका छन् ?