Rupesh Rai – Gaun Ma Parampara Haru

रुपेश राई – गाउँमा परम्पराहरू

बसेका छन्: ‘गाउँ’मा ‘परम्परा’हरू ।

‘गाउँ’
यस्तै हो,
दु:खी पनि छन्/सुखी पनि
कसैको चुल्हा ‘हुरूरू’ बल्छ/कसैको ‘धुँवा’
कसैको भाँड़ामा ‘नुनिया’ पाक्छ/कसैको ‘अलुवा’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘खुट्टा’ तान्ने/ ‘लङ्की’ लाउने

‘गाउँ’
यस्तै हो,
पीड़ित पनि छन्/कुण्ठित पनि
कसैको घर ‘स्वर्ग’ हुन्छ/कसैको ‘नर्क’
कसैको करममा ‘कलम’ हुन्छ/कसैको ‘हतियार’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘पोलजस’ गर्ने/ ‘आगो’ लाउने
‘गाउँ’
यस्तै हो,
तिरस्कृत पनि छन्/वञ्चित पनि
कसैको मन ‘अन्धकार’/ कसैको ‘उज्यालो’
कसैको आगनमा ‘उन्नति’/कसैको ‘अवन्नति’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
मान्छे ‘भड़काउने’/ ‘आँखा’ लगाउने

‘गाउँ’
यस्तै हो,
शिक्षित पनि छन्/शाक्षर पनि
कसैको कर्म ‘ज्योतिर्मय’/कसैको ‘खोटो’
कसैको थाप्लोमा ‘गाउँ’ छ/कसैको ‘कर’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘डोको’ बोकाउने/ ‘हँसिया’ थमाउने

‘गाउँ’
यस्तै हो,
व्यवस्थित पनि छन्/अव्यवस्थित पनि
कसैको ‘महल’/कसैको ‘झोपड़ी’
कसैको ‘आधुनिक्ता’ जल्छ/कसैको ‘प्राचिन्ता’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘गधा’ बनाउने/ ‘गोरू’ बनाउने
‘गाउँ’
यस्तै हो,
आस्तिक पनि छन्/नास्तिक पनि
कसैको ‘आमिष’ पाक्छ/कसैको ‘निरामिष’
कसैको खाटमा ‘धुपौरे’ बस्छ/कसैको ‘मतौरे’
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘धर्म’ साट्ने/ ‘इमान’ बेच्ने

‘गाउँ’
यस्तै हो, यसै र ! त !!
धुलैधुलो छ/हिलैहिलो
फुस्रैफस्रो/अन्धकारै-अन्धकार !!
धर्सैधर्सा/कोत्रैकोत्रा – विश्रृङ्खलित
तर
यहाँ बसेका छन् ‘परम्परा’हरू
‘कान’ थुन्ने ‘आँखा’ चिम्लने…
(यसै र त ‘गाउँ’ ‘शहर’देखि भिन्न छ)

दार्जीलिङ