Sabitra Kafle – Nari

सबित्रा काफ्ले – नारी

ऊ एउटा सपना बाँच्छे
दिनभरि जीवन बुन्छे
बाँझो खेतहरुमा
रातभर बेदनाको खेती गर्छे
सम्झौताको आलीहरुमा
र बिहानसँग पुकार गर्छे
भरेको साँझ त
जून उदाओस आँगनीमा ।

ऊ एउटा सभ्यता बाँच्छे
र समर्पणमा मौनता हाँस्छे
अन्जान परिधीहरुमा
ऊ आफू हुनुको अर्थ जान्दिन
जिउनुको सार्थकता भेट्दिन
र धिक्कार्छे हरेक सन्ध्यामा
एकजोर बत्तीको निरीह उज्यालोमा
पलायन जिन्दगी ।

ऊ मनुस्मृती जान्दिन
तर जान्दछे लुकाउन आफूलाई
आफ्नै ब्यथाहरुको चौतारीमा
उकाली चड्छे अनुरागहरुको
एउटा उत्कण्ठा बोक्छे
तर बदलामा
उभिन्छन कहालिलाग्दा आगमनहरु
भन्झ्याङमा ।

अष्ट्रेलिया