Durga Lal Shrestha – Binaya [Bal Kabita]

मेरो बिन्ती सुनिदिनुस् गुरु-गुरुमा !
चीन के हो, भारत के
कत्ति नजिक, कत्ति टाढा
बुझनुपरे बुझौंला नि

कुन फूल, कुन काँडा
ऐले नै यो बोझ किन सुरुसुरुमा –
मेरो बिन्ती सुनिदिनुस् गुरु-गुरुमा !
पैले मलाई चिनाइदिनुस्
मेरो घरको आँगन-चोक,
कहाँ के छ देखाइदिनुस्
एक-एक सबैथोक,
बुझने गरी बताइदिनुस् सुरुसुरुमा ।
मेरो बिन्ती सुनिदिनुस् गुरु-गुरुमा !
मलाई मेरो आफ्नै थलो
मेरो आफ्नै चिनारीमा,
दुःख-सुख घुम्दै गर्ने
घामछायाँ छहारीमा,
रमीरमी खेल्न दिनुस् सुरुसुरुमा ।
मेरो बिन्ती सुनिदिनुस् गुरु-गुरुमा !