Rajab – Shahar Ko Raat

प्रायः
वरिपरिको रात
हेर्न
घरको कौसी उक्लन्छु
अँध्यारोको
गलैंचामा
बलेर बसेका
जातजातका
अघोर बत्तीहरू
त्यसरी मलाई तान्छन्
कौसीमा
त्यसैले

साँझ सेलाइसकेपछि
अक्सर
उक्लिसकेको हुन्छु
प्रत्येक रात
कौसीमा
शहरको रात मात्र हो
यसरी
आकर्षित गर्ने मलाई
गाउँतिरको
वा पहाडी रातसँग
म त्यसरी
मोहित हुन्न
किनभने
गाउँका मानिसहरू
रातलाई
स्वाभाविक रूपमा छोड्छन् बाहिर
र शहरकाले झैँ
अघोर बिजुली बालेर
रातलाई
छेक्न खोज्दैनन्
रात गाउँ पसेपछि
ती पनि
पाठा, पाठी
माउ, बाछा
भेडी, थुमा
खोर हुलेर
लिस्नो उक्लन्छन्
किनभने
रातको साम्राज्यलाई
शहरकाले झैँ
छेक्न सक्दैनन्
गाउँका मानिसहरू

२०५२ पुस