Nepali Articles

Sanjaal Corps Initiative

Suren Upreti – Teej Parva

सुरेन उप्रेती – तीजपर्व
अटवा क्यानडा

आजभोली हरेक पत्रपत्रिका टिभीका च्यानलहरु, यूटुव, फेसबुक म्यासेन्जर, भाइबर आदि सोसल मिडियाहरुलाई तीजले रातै र तातै बनाएकोछ । । तीज आउनु भन्दा महिनौ दिन अगाडि देखि घरघरमा पार्टीहरु शुरु हुन्छन् । टोल टोलमा पार्टीहरु हुन थाल्छन् । समूह समूहका तडक भडक सहितका पार्टीहरु हुन्छन । मुलुक भित्र मात्र नभएर नेपालीहरु पुगेका हरेक देश र शहरहरुमा पार्टीहरु चल्छन् । नेपालीहरुको अलि घना बसोबास भएका शहरहरुमा त प्राय हप्तान्त आउन पाउँदैन । तीजका गीत गाउनका लागि गायिकाहरु देश विदेशबाट आमन्त्रण हुन्छन् । प्रत्येक पार्टीहरुमा जाँदा फरक फरक पहिरन श्रृङगारमा महिलाहरु उपस्थित हुन्छन् । नाक कान घाँटीको अशली रुप नदेखिने गरी गहँना लगाउँछन् । ती कार्यक्रम र भेलाहरुमा कसका गहँना ठूला र राम्रा हुन भन्ने मुल्याङकन हुन्छ । त्यसका लागि अघोषित जजबनेर आँखाहरु तेर्सिएका हुन्छन् । कसले महँगा साडी लगाएको छ तुलनाका तराजुमा तौल लिइन्छ । तीब्र गतिमा बढेको सोसल मिडियाको प्रयोगले गर्दा कसै सँग केही लुक्ने सम्भावना पनि भएन । कुन ठाउँमा जाँदा कसले कुन पहिरन र गहनाहरु लगाएका थिए भन्ने भिडियो र तश्विरहरुले यत्रतत्र पुगेर वकपत्र दिइरहेकै हुन्छन् ।

हुन त यो तीजले साडीहरु कूर्ता सुरुवालहरु लेहेंगाहरु देखि बिभिन्न गरगहनाका उधमीहरु निर्यात कर्ता र विक्रिकर्ताहरुलाई राम्रै आम्दानी गराइ रहेको छ । धेरैलाई रोजगारगी दिएर खाडीमुलुकमा गएर हाँडीमा भुटेको मकै हुनबाट जोगाएको छ । तर ती सबै श्रृङगारका सामान र बस्त्रहरु छिमेकी मुलुक भारतबाट आयातित हुने गर्दछन् । यसबाट छिमेकिमुलुकले एक मुष्टरुपमा अरबौं रकमको आम्दानी गर्न सफल भएको छ । अब रह्यो गहनाको कुरा । गहनाहरु पनि बनाउँनेमात्र त नेपालमा हो ।अरु सबै आयातित हुन्छन । यी “सुन भन्दा कम छैन हराउँदामा डरछैन” भन्ने गहनाहरु पनि भारतबाट नै आयातित छन् ।बजारमा आएका यी प्लास्टिकका गुलाबका फूलझैं नक्कली सुनका गहना बनाएर भारतले निकै राहत दिएको पाइन्छ । तर सुनका पारखी महिलाहरुका चनाखा आँखाहरुका कसीमा ती गहनाहरु पनि आत्म समर्पण गर्न विवश हुन्छन् । पुलिसको पोलिग्राफ चेकिङका अगाडिको कसूरदार झैं लुगलुग काम्न थाल्छन ।

यो तीजको होडबाजीले मध्यम बर्गिय र निम्न बर्गिय आर्थिक अवस्थामा गुज्रने परिवारहरुलाई नै बढी पिडित बनाएको पाईन्छ । आफ्नो पारिवारिक अवस्थाकोको ख्यालै नगरी अरु सँग तुलना गराउँछ । पारिवारिक कलह जन्माउँछ । नेपालको कूल जनसंख्याको दुईतिहाइ जनसंख्या यही बर्गमा पर्दछन् । यो तीजको लहर, रहर, र लहडले समाजलाई कुनै विकृत र विषम परिस्थिति तर्फ उन्मुख त गराउँदै छैन । यो चिन्ताको र चासोको विषय झाँगिदै गएकोछ ।

तीज पर्वलाई नेपाली समाजले आत्मसात गर्दै मनाउँदै आएको कुरा ठ्याक्कै तीथिमिति छैन । तर यसको पौराणिक कथाहरुलाई हेर्ने हो भने हजारौं बर्षको इतिहाँस भएको अड्कल गर्न गाह्रो हुँदैन । तीज पर्वको शुरुवातका विषयमा सत्ययुगमा नै पर्वतराज राजाकी छोरी पार्वतीले भगवान शीवलाई पति पाउँ भनेर कामना गरेकी थिइन । तर पर्वतराज राजालाई शीवको भेष भुषा खानपान आनी बानी पटक्कै मन परेको हुँदैन । उनले नारदलाई बोलाएर छोरीको विवाह गर्नु पर्ने उमेर भएको बताउँछन् । नारदलाई अशल र गुणवान बर खोज्न अनुरोध गर्दछन् । नारदले केहीबेर शोचमग्न भएर सबै भन्दा अशल र गुणवान बर बिष्णुभगवान नै हुन भन्ने सल्लाह दिए । बाबु पर्वतराजलाई नारदको कुरा मन्जुर भएको देखेर पार्वतीलाई पिर पर्यो । उनले उनका सहेंलीहरुलाई आफ्नो चिन्ता व्यक्त गरिन् । उनका सखीहरुले पार्वतीलाई कसैले नभेट्टाउने ठाउँमा लगेर लुकाए । पार्वतीले त्यहीं बालुवाको शिवलिङ्ग स्थापना गरेर पूजा गर्न थालिन । उनको पूजाबाट प्रशन्न भएर शिवजी प्रकट भए । पार्वतीको कठोर तपश्या र ध्यानबाट मन्त्रमूग्ध भएर शिवपार्वतीको विवाह भयो । पार्वतीलाई लुकाउने या हरनेकामको मुख्य नेतृत्व आलिका नामक सहेंलीले गरेको थियो । त्यसैले हरत + आलिका भएर हरितालिका बनिएको हो भनिन्छ ।
यो हरितालिका भाद्रशुक्ल द्धितिया देखि शुरुभएर पन्चमी सम्म मनाउने प्रचलन बाट शुरुभएको हो । तिज पर्वलाई हिन्दु महिलाहरुको सबभन्दा ठूलो चाहाडको रुपमा मनाइन्छ । द्धितियाका दिन चेलीहरुलाई माइतिघरमा बोलाउने । मिठा मिठा कुराहरु खिर ढकने पुलाउ मोहनभोग बिभिन्न तरकारीहरु र अचार बनाएर खाने चलन छ । पाए सम्मका फलफूलहरु खान्छन । खानपिन गरेर बेलुका चाँडै सुत्ने अनि विहानको राती नै उज्यालो भूँइमा खस्न नपाउँदै ढकने तथा खिर खाने चलन छ । त्यस बेला खाने खानालाई दर भनेर चिनिन्छ । दर खाएर केहि समय विश्राम गर्दछन् । विहान झिस्मिसे उज्यालो हुँदा नुहाउँछन् र निर्जल र निराहार ब्रत बस्तछन् । दिनभर शीवजीको मन्दिर भएको ठाउँमा भेलाभएर शीव र पार्वतीको पूजा आरधना गर्दछन् । भक्ति गीत तथा नारीका बेदना युक्त गीतहरु गाएर नाचगान गर्दछन । मन्दिर नभएका गाउँठाउँहरुमा सबै दिदी बहिनीहरु पार्क तथा चउरहरुमा भेला भएर नाचगान गर्दछन् । पार्क र चौरीहरु पनि नभएका ठाउँहरुमा कुनै मानिसका घरमा भेलाभएर नाचगान गर्ने तथा घरको भित्ता र भूँइमा बिभिन्न रंगले भगवानका जनवार र मानिसहरुका चित्रहरु बनाउने प्रचलन छ । त्यो रंग पनि बिभिन्न झारपात तथा मसीहरुबाट बनाइन्छ । ती चित्र बनाउने कामलाई जिैउतीलेखने भनिन्छ । विवाह गरेर तीजमा माइती आएका चेलीहरुले आफ्ना दुख र पिडाहरुलाई पनि गीतबनाएर पोखने चलनछ । कतै श्रीमानले सताएक कुराहरु गीतमा पोख्दछन् र हलुका भएको महषुस गर्दछन्।
जाँड पनि स्वामीलाई रक्शी पनि स्वामीलाई एक पेट खाने अन्न छैन हामीलाई ।

कतै माइत जान नपाएको र काम गर्नु परेको गुनाशो गीतबाट यसरी पोख्छन् ।

तिज आयो भनेर सबै जान्छन् माईत
आफ्नो माइती मंगलान् पारी छैन साहित

यो रमाइलो बेलामा जानु पर्यो मेलामा
म चेलीको आशु झर्यो दैलो ठेलामा

कतै शिक्षा र चेतना फैलाउने गीतहरु गाउँछन् ।नारीहरु पनि सक्षम छौं ।
एउटा हात पुरुष हो अर्को हात नारी हो
केहि फरक छैन बराबरी हो ।

कति विकाश गरी सके अरु देशका नारीले
हामीलाई छोड्दैन घाँसको भारीले

जस्ता हामी पनि केहि गर्न सक्छौं । हामी पनि पुरुष सरह सामाजिक रथका एउटा पाङग्रा हौं भन्ने उत्थानका गीत बनाएर गाउँछन् ।

राता साडी कूर्ता सुरुवाल आदिमा सजिएर आफु सँग भएका गर गहनाले सजिएर दिन भरी केही नखाइ ब्रत बस्तछन् । विवाहित महिलाहरुले आफ्ना पति र परिवारको दीर्घायूको कामना गर्नुका साथ सुख र संबृद्धिको कामना गर्दछन् । अविवाहित नारीहरुले पनि शीव पार्वतीको पूजा र आराधनाले अशल र गुणी पति पाउँछन् भन्ने विश्वास छ । ब्रत बस्नाले असल र गुणी पति पाइन्छ भन्ने विश्वास गर्दछन् । बर्षदिन सम्म घरखाएर फर्किएका चेलीहरुले एक दिन नै भए पनि माइतिघरमा भेला हुन पाउँदा खुशी व्यक्त गर्दछन् । जन्मेदेखिका साथिसंगी सँग भेट भएर दुख सुखका कुराहरु बाँडेर हल्का भएको अनुभूति गर्दछन् ।

तीज पर्वले हाम्रो संस्कृति परंपरालाई निरन्तरता दिंदै आएको छ । हाम्रा परंपरा रीतिरिवाज जस्ता धेरै कुराहरुलाई लोपहुनबाट बचाएको छ । जान्दा अमृत नजान्दा मृत भनेझैं यस पर्वलाई हाम्रो आय औकात र समाजले धान्न सक्ने रुपमा मात्रै मनाउँदै गयौ भने दीर्घकालिन सकारात्मक सन्देशवाहक भएर जानेछ । यसमा देखिएका विकृत र विसंगतीहरुलाई समयमै निस्तेज गर्न नसक्ने हो भने यसले सामाजिक बैमनश्यता उब्जाउँदै गलत मार्ग तर्फ डोर्याउने खतरा बढ्दै जानेमा दुईमत नहोला । समाजका सचेत परिवर्तनकामी यूवा तथा नेतृत्व बर्गले बेलैमा ध्यान पुर्याउनु जरुरी देखिन्छ । २०७५ सालको तीजको उपलक्षमा सन्सारभर छरिएर रहेका समस्त चेलिहरुलाई हार्दिक शुभकामना ।

Leave a Reply