म आँखा खोलेर हेर्छु
बद्लियेछ यो ठाउँ
पुरानो त केवल म मात्र रहेछु
हिजो पनि येही थिए म, भोलि नि हुनेछु
छैन कुनै गन्तब्य मेरो
न त सुरुवात छ, न त अन्त्य मेरो
मुटु पनि छैन
छैन कुनै आवाज नै
केवल छन् त यी आँखा
जस्ले देख्चन कहानी हरेक बर्गका
केवल छन् त यी आँखा
जस्ले देख्चन कहानी हरेक बर्गका
म देख्छु फोहोर टिप्द्दै हिड्ने ति बालबालिका
टप्प परेर इस्कूल जाने भोलिका कोपिला
जीवन कस्तो उमेर एयूटाई , फरक ति समस्या
म देख्छु भाईसाथी संगै हास्दै चहलपहल गरेको
अनि उता हेर्छु, देख्छु भोक ले एयूटा भाई रोएको
म देख्छु लाखौ कमाउने ति सयोउ मान्छे
अनि सय रुपैया मा दिन काट्ने ति लाखौ मान्छे
जब रात पर्छ, म जागेकै हुन्छु
म सुन्छु रातमा डराउँदो आवाज एक्लै हिड्ने नारीको
घर नभई मेरै साहारामा रात काट्ने ति बैनीको
जीवन कस्तो, उमेर छुट्टै तर समस्या उस्तै
उनको मनमा मर्दको डर
अनि ति बैनी को मनमा, सानो घर को रहर
म देख्छु कयौउले अन्तिम सास लिएको
अनि कोसैले पहिलो चोटी सास फेरेको
म देख्छु थरीथरी का गाडी
म देख्छु मान्छे का ठुला सपना को भारि
म देख्छु जैले हुने त्यो रुवाबास
सुग्न्छु नसामा चुर भएका ठिटाको बास
अनि सोच्छु
पुरानो त केवल म मात्र रहेछु
सबैको सोच बद्लियेछ
मानबताको त के कुरा
म त केवल एयूटा बाटो हुँ
न त कुनै गन्तब्य छ मेरो
Tag: 2021
Indira Gautam – Pratibimba
प्रतिविम्ब
आकाश वदलिँदै जान्छ
एक मुठि खुसी फ्याँकेर
मेरो घरको मझेरीमा
मिठो सपनाको लहलहाउँदो
रहरका बालीहरुमा।
एका बिहानै भित्तामा
आएर अल्झेको हुन्छ
म जस्तै अरुले पनि
त्यही भित्तोलाई नियाल्दै
झुन्डाएका तस्बिरसँग
रहर जन्माएका होलान्।
हिजो आज डर लाग्ने गर्छ
परिचित प्रतिविम्बसँग पनि,
ती चञ्चल नेत्रले
मलाई गिज्याएको लाग्छ
मलाई डोहोराएको भान हुन्छ
जम्मै कोठाको आवरण उतारि
अर्को आकृति अर्कै रंगमा
ढालि दिन मन लाग्छ
आँसुमा बगेको गाजल जस्तै
नैराश्यले फेरि बगाउँछ।
हेर्दा हेर्दै एउटा पछि अर्को
प्रतिविम्बले उद्धोषित गर्छ
कहिले निष्ठुर बनेर
कहिले आतंकी भएर
वैद्युतिक तरंगको गतिमा
महाव्याधि झै
परमाणु र एटम बम भएर
विस्फोट हुन मन लाग्छ
ह्रदय देखि तरंगित पारी
क्रान्तिको बिगुल फुक्न
अनुप्राणित गर्ने अनुभूति
जन्माउँछ प्रतिविम्बले
कहिले अगि कहिले पछि हुँदै।
Alisha Dhakal – Man Ma Udan
एलिशा ढकाल – मनमा उडान
यो चिसो गोधूलि साँझमा
मन्द हावाको मातमा
अस्ताइरहेको सुर्यको प्रकाशमा
लुकामारी खेल्दै
रमाइ रहेछन् यी चराहरु
निलो रङ्गले पोतिएको
यावन्त आकाशलाइ
आफ्नै नाम गरेर
समुन्द्रमा पौडीएझै
पौडी रहेछन् यो हावामा
बगिरहेछन् हावाको दिशामा
कुनै सांस्कृतिक गितमा नृत्य गरे झै
नाचिरहेछन् चाल मिलाएर, ताल मिलाएर
प्वाँख फिजाएर स्वतन्त्र भै
कुनै पहाडमा झै
उकाली ओराली गरिरहेछन् यो हावामा
लाग्छ, स्वतन्त्र जीवन बाची रहेका यी चराहरुको जिजीविषा कहिलै सकिदैन होला
आकाशमा
उडिरहेका, नाचिरहेका, खेलिरहेका, रमाइरहेका चराहरु
अन्ततः मेरै मनमा अवतरित हुन आउछन्
Peshal Acharya – Firad Patra
पेशल आचार्य – फिरादपत्र
मान्छे भन्दा ठूलो द्रोह
यहाँ अर्को कुनै छैन
मान्छे भन्दा अर्को ठूलो
यहाँ कुनै सन्ताप छैन
चिहानबाट
फटाफट उठिरहेका छन्
हिटलर
मुसोलिनी
दादा इदि आमिन
पोलपोर्ट
र विन लादेनका
नयाँ संस्करणहरू,
सर्पहरु
घरमा पालेर
शान्ति नखोजौं कृपया
वनमा
बाघहरु बढेका छन्
दावानल
चम्केको छ वनमै
गुँड भत्किएर
एक जोडी चरी
बिलखबन्दमा छन्,
फिरादपत्र कहाँ हाल्ने
अदालतमा
या मनमा ।
Peshal Acharya – Dristikon
पेशल आचार्य – दृष्टिकोण
संसारमा
बुझ्नु भन्दा सजिलो र
नबुझ्नु भन्दा गाह्रो
अरू केही हुँदैन,
अनुकूल वस्तुहरू
अप्रतिम खुसीका
उच्छवास छर्छन्
क्रियात्मक प्रतिक्रियामा
प्रतिकूलका पहेलीहरू
अगम्य पीडाका
पर्वत ठड्याउँछन्,
सृष्टि
रोटेपिङ्झैँ
घुमिरहेको छ
अनवरत
हामी चढ्छौं
उत्रन्छौं
पालो पर्खन्छौं
एकर्कामा
रिस
आरिस
रस
विरस
सबै हुन्छौं
जीवन चलायमान
नदीझैँ
डुङ्गा
सललललअ
चिप्लिरहेको छ
गतिवान् पानीमा
क्रमशः उत्ताल ताल
बजाउँदै
नाच्दै गाउँदै
पानीमा पो जीवन छ ।
Pramod Sarang – Aago
पेटमा आगो लिएर
जन्मिन्छ मान्छे-
भोक रोग र शोकको ।
ऊ चुल्होको आगो बालेर
पेटको आगो निभाउन
घर बाहिरको आगोसँगै हिँडिरहन्छ
पृथ्वीको कुना- कुना !
ऊ शान्त हुनै सक्दैन
जबसम्म पुग्दैन ऊ
चिताको आगोसम्म !
र, पिउदैन –
महाआत्मामा विलय भएर अथाह सुखको लप्का !
साँच्चै मान्छेको जीवन
आगोको वरिपरि घुम्दो रहेछ।
(२०६४,फागुन )
Pramod Sarang – Shahidko Ragat
प्रमोद सारङ्ग – शहीदको रगत
शहीद
ढले
मरे
गए।
तर
रगत
बाँचिरहेछ
कराईरहेछ
उठिरहेछ !
र,
खोजिरहेछ
शान्ति
अझै
यही
माटोमा !
ㅁ (२०७५, माघ )
Pramod Sarang – Kabita Ko Mrityu
प्रमोद सारंग – कविताको मृत्यु
कविता भोको हुन सक्छ
तर कविताको मृत्यु हुँदैन !
कविता सडक, गल्लीहरूमा देशभरि चाहारेर
आन्दोलनको भीडबाट हराएको हुन सक्छ
देशको अनुहार हेर्न फन्को मार्ने
युद्दको सारथि भएको पनि हुन सक्छ
घाम हुन सक्छ , पानी हुन सक्छ ।
एकदिन कविताको त्यागपुञ्जमा रूमल्लिएर
फिस्स मर्न सक्छ कवि
तर कविता मर्दैन/ मर्न सक्दैन
कवि मरेर जान्छ
तर कविता बाँचिरहन्छ युगौँयुग ।
ㅁ (२०७६, जेठ )
Pramod Sarang – Attar Gulaf
प्रमोद सारंग – अत्तर गुलाफ ( कविता)
म यही बतासमा अल्झिरहेको
एक मुस्कानी घामको ओठ
खोजिरहेछु पलपल वसन्तको न्यानो स्पर्श
र, प्रेमानुरागको प्रेमिल महक !
म अजयतृप्तिको प्रणय लहर
तिम्रो माधुर्यताको अनमोल कोलाजमा
भेट्न सकूँ म, रम्दै-रम्दै
जीवनको अनन्त पराग !
निर्मल नयन ओछ्याउँदै
ईन्द्रेणी मनको त्यो लालित्य साटिरहने
ए ! मायालु, भन तिमी को हौ ?
म तिम्रो ओठमा फुल्न चाहान्छु।
ㅁ (२०७७, पुष )
Pramod Sarang – Euta Kabita Ko Bayan
प्रमोद सारङ्ग – एउटा कविको बयान
कुनै गरिब देशको भोको कविले
जिन्दगीदेखि हारेर
आत्महत्या गर्नुअघि लेखेको
सुसाईड नोटजस्तो किन छ ?
यो देशमा उम्रिदै गरेका
कविताको आवाज !
बेलुकी हतार- हतार घर फर्केपछि
शुद्ध पागल भएर किन लेखिरहन्छ
भोक, महङी, लोडसेडिङ्ग
र, सरकारको विरुद्धमा निरन्तर
दुःखले पिल्सिएको कविता ?
एउटा कविले देहत्याग नगरूञेलसम्म
कति लेखिरहन्छ उदासी कविता ?
ㅁ (२०६४ ,जेठ )
Pramod Sarang – Gaun Ma
प्रमोद सारङ – गाउँमा (कविता )
जीवनको अन्तिम प्रार्थना
गरिरहेका मान्छेहरू गाउँ पुग्छ्न्,
जीवनदेखि थाकेर
अथवा, काल कुरेर बसिरहेका मान्छेहरू पनि
गाउँ नै पुग्छन् !
मेसिनसंगको युद्धमा हारेर
बैंसमै बाकसमा फर्केको लास पनि गाउँ नै पुग्छ !
शहरबाट संघर्षमा बरालिएका रहरहरू
र , बंचेखुँचेको आश पनि गाउँ नै पुग्छ।
के आपत -विपत, महामारी!
के जन्ती ,के मलामी?
टुप्लुक्कै गाउँ नै आइपुग्छन् मान्छेहरू
गाउँ छोडेर सदाका लागि जानेहरू पनि
यात्राका अनन्त घुम्तीहरू बोकेर
गाउँतिरै फर्किरहेका हुन्छन्
हैन, के छ त्यस्तो खजाना,
टाढिदै गएको गाउँमा ?
ㅁ
(२०७६, मंसीर )
Pramod Sarang – Manchhe Ra Nadi
प्रमोद सारंग – मान्छे र नदी (कविता)
टाढिएर आफैँदेखि
चट्टान र खोंचहरूसम्म
डुब्दै र उत्रिदै गन्तव्यमा पुग्न
मान्छे नदी भएको हुन्छ !
सङ्ग्ल्याएर फेरि
धमिला सम्बन्धहरू
धोएर आँशु र हाँसोका दैनिकीहरू
आशाका उही पारिला
र, उज्याला दिनहरू कुर्दै
घामका न्यानो स्पर्शहरूमा
मान्छे नदी भएको हुन्छ।
शायद,
महासागरसम्म पुग्नु छ
मान्छे र नदीलाई
गाउँदै -गाउँदै दिनरात
संघर्षका आफ्नै गीतहरू !
ㅁ
(२०७१,पुष)
Pramod Sarang – Bihani Ra Kabita Haru
प्रमोद सारङ – विहानी र कविताहरू
जब चराहरूले गाउँछन्-
जागृतिका गीतहरू
गुन्ञाएर हार्दिकताको आलाप
प्रेम र उत्साहको सिन्दुरे विहानीमा
त्यसघडी तिमीले
आँगनमा फुलेको गोदाबरी, सयपत्री पनि नियाल्नू
र, सुन्नू एउटा तरङ्गीत धून –
कसरी बोल्छ विहानीले
शितको थोपा- थोपाबाट
सुन्दर कविताको ताजगी !
जस्तो कि एउटा उल्लासको
उदय भईरहेको हुन्छ
जीवनको स्नान गर्दै प्रातगानमा
जहाँ, स्नेह र प्रेमको ताजा सुगन्धले
समातिरहेका हुन्छन् –
जीवनका अनन्त खुशी र गहिराईहरू !
(२०५७, असोज )
Pramod Sarang – Naparkha
प्रमोद सारंग – नपर्ख
नपर्ख,नपर्ख !
कतिखेर फुत्किन सक्छ
हातबाट समय!
कति खेर उड्न सक्छ
तिमीभित्रको बोलिरहने चरा
अङालेर सारा खुशी
भेट जिन्दगीलाई !
हेर त!
हिजो मस्त फुलेको फूल
आज भूँइमा झरेको छ।
आज फुलेको फूल
भोलि कतिखेर झर्न सक्छ ?
कसलाई थाहा छ र?
कुन घुम्तीमा पुगेर
रोकिने हो हाँस्ने रहर !
नपर्ख ,नपर्ख !
(२०७७,जेठ)
Aryabiman Chitrakar – Brainless Ka Inkalab
हैवान, माफ गर्नुस्, अलि बढि नै भएछ।
राक्षसी स्वभावका, बर्वर भ्याकुर
सतहहीन भई उब्जेका कन्दमुल
अमानवीय अंशका जंगली #स्वाव,
ईर्ष्यालु भाकाका माकुर माकुर घुर…
दम्भरुपि बगैंचाका शालिन माली
द्वेष एरोटिज्मका बिख्यात फ्रायद
बिखण्ड तर बैभव, व्यग्र सायद
विष वमनका रसमा कलह हालि
घुटुक्क निल्छन्, हालीमुहाली
कानोको आँखा फोड्दै ,लाटोको हात काट्दै
अनि अन्धोको जिब्रो थुत्दै, झ्याली पिट्दै भन्दे
अब इन्क्लाब हुन्नन् साहित्यका,पक्षघातका पर्याय भए सबै इन्टेन्स्ड कविहरुका गिद्दी निकालि, तहखानामा थुन्दे।।।
दिवाकार वैरोचनका आगडी, रविभ्रमको चेष्टा
आक्रान्त शिशिर माझ वरुण स्वयम् मिथ्या
मेरो सोचको गर्लाऊ अपहरण, अहम् लाई नाकाबन्दी
विचारको उर्वर भुमीमा, हुन्न एक ब्रेनलेसले कुनै मन्दी
साहित्यमा कू लगाई गर्लाऊ सिर्जनामाथी कर्फ्यू
कठ्पुटलीलाई देखाऊ यस्ता भ्रामक भ्यू
म त्यो कानो होईन जसको आँखो फोडिएको छ
म त्यो लाटो होईन जसको हात काटिएकोछ
म त्यो अन्धो होईन जसको जिब्रो थुतिएकोछ
म रचनाको त्यो गिलोटिन हुँ, धार नै काफि छ
मेरा शब्दले नै धराशयी भएका छौ
फेरि के? एक पटक बोलेर नि देखाऊँ??
Aryabiman Chitrakar – Koila Ka Attahas Haru
कोईलाका अट्टहासहरु
नमस्ते म कोईला।
कोईराला होईन के!!!
अ! हजुर त्यही कोईला
अस्ति भर्खरै तपाईंको सेतो सामाजिक भित्तामा
रिसाएको अवस्थामा
फ * यु कम्युनिज्म लेख्ने
म त्यही अबोध कोईला।
मेरा अहम् का जर्रा जर्रा माथी
पेट्रोलरुपि तिम्रा कथित स्व्यागका
झिल्का फ्याँकि, हाँस्दै छौ साथी??
मलामी ती निर्दोष वर्षा
के बुझ्थियौ, कति भो जाती
स्वान भुकाई तिम्रो , उभों उभों
भुलेछौ के? को वजिर को हाथी??
आज पनि शान्त तर सुसज्जित
मेरा अहम् का कोईला
म त जातै ले कालो
लेख्ने नै भएँ कालो
हिजो उसको त
आज तेरो पालो।
तालव्यमा लगा लगाम्
हस्तलाई भलो
चिन्दैन कोईलाले
को भेना को सालो??
कोईला हुँ, त्यसैले कालो।
खोक्रा आदर्श तिम्रा र मिथ्या छ चिन्तन
म त बुझुँला , सहुँला तर
कोईलाले गर्दैन मनन
लुरुक्क कुन ओढार कुन गुफामा
अचेल गर्दैछौ हाईवर्नेशन??
रवाफका ताँती के भएकै हो त थाँती?
कोईला जान्न चाहन्छ, के हो कारण?
कारण, बिहाईन्ड डिस आईशोलेशन
कोईला खोजी हिडिरहेछ एक्लै
कहाँ हो खोई लोकेशन???
( श्याम, कृष्ण , काला, कालो, डार्क, ब्ल्याक समिश्रणको कोईलाको अट्टहास अचेल सेता भित्ताका अभियन्ताहरुले सन्कुचित र पराजित लवजमा स्वीकार्दै छन्)
कोईला अब इन्क्लाबमा ब्यस्त छ
कालो रुपि अमिलो चोपले
तिम्रो पोल खोल्नुमा मस्त छ।
कोईला फीलिङ्ग प्राउड
इट ईश बियोण्ड क्लाउड।
हेल्लो आईम कोईला।
माफ गर्नु होला
नमस्ते म कोईला।
कोईराला होईन के
अ! हजुर म कोईला
Keshar Thulung – Mera Bhagawanharu
केशर थुलुङ – मेरा भगवानहरु
आमाको गर्भबाट पहिलोपल्ट
जब धर्तीमा पाइला टेकेँ
रगताम्य भइन् मेरी आमा
मूर्छा परिन् मेरी आमा
तथापि मेरो चिच्चाहटमा
होस सम्हाल्दै
मसँगको स्पर्षमा
बिर्सिन् सम्पूर्ण कष्टहरु।
प्रगाढ प्रेममा लिप्त भएर– बुबा
मेरो आगमनसँगै
घण्टौ खटिरहे सायद
आमा र मेरो सुरक्षामा
ताते–ताते गर्दै हिँडाउने
तीनै कोमलहातहरु
मेरो आँत भरिदिने
तीनै मीठास बोलीहरु
उनैको अमूल्य चुम्वनहरु
जसले मजवूत बनायो– मलाई ।
स्पष्ट थाहा छ मैले जानेदेखि
हरेकपल घोटिरहे आफ्ना हाडहरु
बगाइरहे पसिनाका नदीहरु
म र मेरो भविष्यको निम्ति
मेरो सुरक्षाको निम्ति
मेरो खुसीको निम्ति ।
म दुख्दा निदाएनन् कति रात
पल्टेर दुखिरहे मसँगै
मेरो सफलतामा
मेरो खुसीमा खुसी साटेर
फूलजस्तै फुल्थे
संसार आफ्नै बनाउँथे
आफ्नै भन्थे ।
सताउँथे कति, घुर्काउथे कति
दिक्दार लगाउँथे कतिहो कति
तैपनिआफ्नै छातीमा टाँसेर
मायाले सुम्सुमाउँदै
जीवन्त दिव्योपदेश भर्थे
मेरो मनभरि÷मष्तिष्कभरि ।
धन्य ! धन्य !! छु म–
ममा प्राण भरिदिने
यो संसार चिनाउने
अर्जुनजस्तै खरो उतारिदिने
चुनौतिहरु चिर्न सिकाउने
मलाई ‘म’ को दर्जा दिलाइदिने
कर्मठ÷सुयोग्य योद्धा बनाएर उभाइदिने
स्वावलम्वी मेरी आमा
स्वाभिमानी मेरो बुबा
मेरा भगवानहरु भन्नु नै उनै
उनैलाई मेरो साष्टङ्ग दण्डवत
सर्वदा ! सर्वदा !!…….. ।
दिरुम न.पा.–१०, खोटाङ
हालः काठमाडौँ ।
Marcel Mansingh Murmu – Shanti
मार्सेल मानसिहं मुर्मु – शान्ति
कसैले भन्देउ मलाई शान्ति भाववाचक कि द्रव्यवाचक?
कसैले चिनाई देउ मलाई शान्ति कर्म कि तटस्थता?
कसैले बुझाइ देउ मलाई शान्ति बाहिरी कि भित्री?
सबैले उत्तर देउ मलाई शान्ति प्राकृतिक कि मानविकी?
भाववाचक हो भने किन पार्थिव नियम र ऐन बनाउने?
होइन भने शान्तिको परिपुर्णता कसरी अनुभव गर्ने?
द्रव्यवाचक हो भने किन यो यश-विलासामा पाइन्न?
होइन भने किन हतियारले रगतद्वारा माग्न छोडिन्न?
शान्ति कर्ममा हो भने किन मजदुरको भावी अकास कालो?
होइन भने भिक्षु बनी परोपकारी गर्ने किन अास्तिक जालो?
तटस्थतामा हो भने किन बेरोजगारी अनिदो रात चहार्छ?
होइन भने किन थकित बिहार गुम्तामा तपस्या गर्छ?
शान्ति बाहिर पाइन्छ भने दौड धुप गरि किन प्राप्त गरिन्न?
होइन भने एकान्तमा गई किन टोलाई बस्न छोडिन्न?
यो अाफै भित्र छ भने किन सबै अन्तरदृष्टिले चिन्दैन?
होइन भने अन्तर-मानष किन तृष्ति हुन छोड्दैन?
यो प्राकृतिक हो भने किन प्रकोप हुदा डर नाश अाउछ?
होइन भने प्राकृतिक सुन्दरता बिच अान्नद किन खोजिन्छ?
मानवीय हो भने किन सबैले बराबर पाउदैनन्?
होइन भने किन मानव सकारात्मक हुन छोड्दैन्न्?
Puskar Bista – Swatantrata
पुष्कर बिष्ट – स्वतन्त्रता
कुवामा छोडिदियोै
कुवा नै एकदम उन्मुक्त संसार लाग्थ्यो
त्यही लाग्थ्यो सबथोक
उठाएर पोखरीमा छोड्योै
कुवा कुरुप लाग्यो
लाग्यो जीवनको बृहत् आयाम यो पोखरी रहेछ
लाग्यो पोखरी नै विशाल ब्रह्माण्ड रहेछ
फेरी पनि उठाएर नदीमा हेलिदियोै
बग्नु रहेछ जीन्दगी
यता पो रहेछ उन्मुक्त स्वतन्त्रता
बग्दा बग्दै पुगियो सागरमा
आभाष भैदियो कि
स्वतन्त्रताको महाप्रलय थाम्न कति गाह्रो हुदोरैछ ।
सल्यान , नेपाल
Suman Raj Ghimire – Nirdayi
निर्दयी
कोमल यो मन
सोजो छ चाल्
मायाले भरिएको
स्वार्थ केही छैन
तर गाह्रो छ मलाई
बाँच्न यहाँ
यो निर्दयी संसारमा
निर्दयी मान्छेहरुको माज
खुशी हुँदा नि हस्न सकिएन
ढुखमा नरोँ भन्ने मान्छें पाइयन
एकान्तमा बस्न मन ले मानेन
कस्लाई बोलाउने खै
आएर मेरो मजाक मात्र बनाउछन कि
मेरो दुखेको मनलाई सुइंरो हान्छन् कि
एक्लै बसे म
निर्दयी पो भए कि
यो निर्दयी संसारमा
जलाई आँफैलाई अरुलाई जियाउने कुरा गर्छन्
काम भने अरुलाई तल झार्ने
मान्छे मान्छे बिच नै असमानता छ
तँ ठुलो तँ सानो भनी हेप्ने चलन छ यहाँ
शायद निर्दयी भगवान नै हुनु पर्छ
उस्लाई गोरो मलाई कालो बनाउने
उस्लाई धनी मलाई गरीब बनाउने
उस्लाई चलाख मलाई सोजो बनाउने
ठिकै छ सबै
यो निर्दयी संसारमा
निर्दयी भगवानले बनएका
हामी निर्दयी मान्छेहरुको माज
म एउटा निर्दयी