Indira Gautam – Pratibimba

प्रतिविम्ब

आकाश वदलिँदै जान्छ
एक मुठि खुसी फ्याँकेर
मेरो घरको मझेरीमा
मिठो सपनाको लहलहाउँदो
रहरका बालीहरुमा।
एका बिहानै भित्तामा
आएर अल्झेको हुन्छ
म जस्तै अरुले पनि
त्यही भित्तोलाई नियाल्दै
झुन्डाएका तस्बिरसँग
रहर जन्माएका होलान्।

हिजो आज डर लाग्ने गर्छ
परिचित प्रतिविम्बसँग  पनि,
ती चञ्चल नेत्रले
मलाई गिज्याएको  लाग्छ
मलाई डोहोराएको भान हुन्छ
जम्मै कोठाको आवरण उतारि
अर्को आकृति अर्कै रंगमा
ढालि दिन मन लाग्छ
आँसुमा बगेको गाजल जस्तै
नैराश्यले फेरि बगाउँछ।

हेर्दा हेर्दै एउटा पछि अर्को
प्रतिविम्बले उद्धोषित गर्छ
कहिले निष्ठुर बनेर
कहिले आतंकी भएर
वैद्युतिक तरंगको गतिमा
महाव्याधि झै
परमाणु र एटम बम भएर
विस्फोट हुन मन लाग्छ
ह्रदय देखि तरंगित पारी
क्रान्तिको बिगुल फुक्न
अनुप्राणित गर्ने अनुभूति
जन्माउँछ प्रतिविम्बले
कहिले अगि कहिले पछि हुँदै।

Indira Gautam – Basti Basalnu Chha

इन्दिरा गौतम – बस्ती बसाल्नु छ

हिजो आज तिमी
समानताका कुरा दोहोराउँछौ
पूर्ण विकसित नभइ
छाती भित्र हजारौं, लाखौं चाहना
दबिएका हुन्छन्।
समयका हुङ्कारमा
लाचार अनि दुर्बल आत्मकथा
मर्मान्तिक पीडामा छट्पटाउँछन्।
आँसुले नुहाएर
अस्मिता लुटिएका
अघाएर फ्याँकिए
घरबार भत्किएका
विवश नारीहरु।

आरोप-प्रत्यारोपका
अशुभ र अलपत्र शब्दहरु
वर्बर नृशंसताका घटनाहरु
तेर्सिएका छन् वरिपरि।
छोरो नजन्माउँदाको उपहार
कतै साङ्लोले बाँधिएका
कतै दाईजोले पोलिएका
कतै विषाक्त तेजाबले अनुहार डढेका
कतै घाँटी च्यापिन्छ
निष्पट अँध्यारो कहाली लाग्दो जीवन।
फुल्न आँटेका कोपिला
शरद अघिनै तहस नहस हुन्छन्
पासविकता फैलिएर मौलाएका छन्
मासु लुछ्दै हिडन लागेका छन्।

मेरो मनमा आँधी चल्छ,
बारबार प्रश्न उठ्छ…
आज प्रतिवादीहरु किन मौन छन् ?
मलाई चिच्याउन मन लाग्छ
मलाई चिथोर्न मन लाग्छ
अब, अब विद्रोही कलमहरु
न्यायका आवाज खोज्दै छन्
नव युग जन्माउनु छ,
एउटा छुट्टै बस्ती बसाल्नु छ
समयको पाइला सँगै
हाम्रो पदचापले
थर्कमान हुने छ समय।
पक्षपाती समाजलाई सूर्योदय अघि नै
तहस नहस पार्नु छ।
एउटा खण्डहर युगलाई
सगोल बाहिर निकाली सिंगार्नु छ
चारैतिर बिषाक्त काँढाहुन्
ढुङ्गाको पर्खाल होस्
कसैले नाघ्न नसक्ने,
जहाँ निःसङ्कोच नारी विचरण गरुन
जहाँ परिश्रमी नारी उद्यमी बनुन्
एउटा सुरक्षित, सुन्दर शान्त
नारी शक्तिको बस्ती बसाल्नु छ।

Indira Gautam – Mrityu

इन्दिरा गौतम – मृत्यु

मलाई कोपर्न खोज्छ
लुछ्न खोज्छ
चिथोर्न खोज्छ
एउटा सिङ्गो समयले।
व्यस्तताको भीडमा
तछाड मछाड गर्दै
हतारिएको समयले,
खातामा लेखिएका
एक एक पल समाधितर्फ
लम्किरहेको छ।

भोलिको दिनमा
न म हुन्छु
न मेरो रहर
केवल अलपत्र परेको बिहानीसँग
मेरा पुराना यादहरु
ताजा हुने छन्।

एक चुट्की वायुमा अडिएको प्राण
अहिले हो या भरे?
अब त सत्य र स्वास्वत मृत्युलाई
स्विकार्न तयार छु
जीवनको अन्तिम विश्रामस्थल
समाधिमा ओच्छ्याएका फूलहरु
मेरो पर्खाइमा ताजै छन्।

ओदालगढी, असम

Indira Gautam – Lauro

इन्दिरा गौतम – लौरो

दैलाको कुनामा ऊ निर्ढुक्क छ
पुस माघको कठिड्ग्रिने जाडो
बर्षायामको घाम र पानी
केटाकेटी, जवान र बृद्धकोतनाव र सहारा
मानिसका हरेक विडम्बना सहन्छ।

खेत – बारी, गोठ, अड्डा – अदालत धाउँदा
गाउँ, बस्ती, शहर जाँदा
साहुबाट ऋण खाँदा
भन्ने गर्थे……
खै, म सँग अब यही त छ,
बाँचे तिरौला,
मरे त कस्को के लाग्छ र !

हिजो देखि बा सिकिस्त छन्
ऊ दैलाको कुनामामूकदर्शक बनि
साह्रै दुखी छ, पीडित छ।
अचानक बाको शरीर……
मानिसको घुइँचो छ।
कोही शोकमा डुबेका छन्,
कोही शुभ चिन्तक छन्,
कोही जाय जेथो सोध्ने छन्
त कोही ऋण फिर्ता माग्ने।
आमैको सहज सरल अबोध मन
मात्र आँशुका धारा बगिरहन्छन्
खै बा अझै बौरेनन?
इनै प्रश्न छन् बारबार,
सबैका नाना थरिका प्रतिकृया,
सुझाव सुन्दा सुन्दा
उसका कान थोत्रा भए।

ट्वाक्क ढाडमा कस्सेर हान्ने
बाका हात आज निर्जीव भए
शोकाकुल परिवेश
आमै करुण ब्यथा पोख्तछिन्।
शङ्ख ध्वनि भयो
अन्तिम श्रद्धान्जलीको कोकहोलो छ।

बाले चलाउने गरेका धेरै सामान
घाट लैजान तैयार गरे,
ऊ झसङ्ग झस्कियो, मनमनै सोच्यो…
म पनि बा सँगै जल्ने रहेछु
पौराणिक युगका नारी सती भए जस्तै।

आमैलाई चाहिन्छ…… भन्यो कसैले
फेरि त्यही कुनामा राखि दिए
ऊ ट्वाल्ल परेर हरि रह्यो ।

दश दिनमा गउँत खाए, छर्किए
सोझै ऊ पनि चोखियो
उसले आज लामो सास फेर्यो
अब उसो आमैको सहारा हुने भो ।
तेह्रौं दिनमा टिकोटालोमा
गुरुजीको दानमा पो परेछ-
लौ, अचम्म!
ऊ भावुक हुन्छ।

बाकोअ बुढेसकालको एकमात्र साहारा
आज श्रद्धांजलिको तस्बिरमा
आफैलाई बाको साथी देख्छ।
हो ऊ त्यही दैलाको कुनामा बस्ने
चुपचाप बिभिन्न चरित्रका मानिसलाई
नजिकबाट जान्ने नियाल्ने
अशक्तहरु अनि बाको बिश्वासी लौरो हो

आज बिधिको बिधानलाई स्वीकार्दै
गुरुजीको हातको सहारा बन्दै
आफैंलाई श्रद्धा सुमन चढायो,
लामो निस्वास फेर्दै
जिउँदो लाश सरि
नयाँ बाटो हुँदै नयाँ घरतर्फ लाग्यो।

__असम