Alisha Dhakal – Man Ma Udan

एलिशा ढकाल – मनमा उडान

यो चिसो गोधूलि साँझमा
मन्द हावाको मातमा
अस्ताइरहेको सुर्यको प्रकाशमा
लुकामारी खेल्दै
रमाइ रहेछन् यी चराहरु
निलो रङ्गले पोतिएको
यावन्त आकाशलाइ
आफ्नै नाम गरेर
समुन्द्रमा पौडीएझै
पौडी रहेछन् यो हावामा
बगिरहेछन् हावाको दिशामा
कुनै सांस्कृतिक गितमा नृत्य गरे झै
नाचिरहेछन् चाल मिलाएर, ताल मिलाएर
प्वाँख फिजाएर स्वतन्त्र भै
कुनै पहाडमा झै
उकाली ओराली गरिरहेछन् यो हावामा
लाग्छ, स्वतन्त्र जीवन बाची रहेका यी चराहरुको जिजीविषा कहिलै सकिदैन होला
आकाशमा
उडिरहेका, नाचिरहेका, खेलिरहेका, रमाइरहेका चराहरु
अन्ततः मेरै मनमा अवतरित हुन आउछन्