Peshal Acharya – Firad Patra

पेशल आचार्य – फिरादपत्र

मान्छे भन्दा ठूलो द्रोह
यहाँ अर्को कुनै छैन
मान्छे भन्दा अर्को ठूलो
यहाँ कुनै सन्ताप छैन
चिहानबाट
फटाफट उठिरहेका छन्
हिटलर
मुसोलिनी
दादा इदि आमिन
पोलपोर्ट
र विन लादेनका
नयाँ संस्करणहरू,

सर्पहरु
घरमा पालेर
शान्ति नखोजौं कृपया
वनमा
बाघहरु बढेका छन्
दावानल
चम्केको छ वनमै
गुँड भत्किएर
एक जोडी चरी
बिलखबन्दमा छन्,

फिरादपत्र कहाँ हाल्ने
अदालतमा
या मनमा ।

Peshal Acharya – Dristikon

पेशल आचार्य – दृष्टिकोण

संसारमा
बुझ्नु भन्दा सजिलो र
नबुझ्नु भन्दा गाह्रो
अरू केही हुँदैन,

अनुकूल वस्तुहरू
अप्रतिम खुसीका
उच्छवास छर्छन्
क्रियात्मक प्रतिक्रियामा
प्रतिकूलका पहेलीहरू
अगम्य पीडाका
पर्वत ठड्याउँछन्,

सृष्टि
रोटेपिङ्झैँ
घुमिरहेको छ
अनवरत
हामी चढ्छौं
उत्रन्छौं
पालो पर्खन्छौं
एकर्कामा
रिस
आरिस
रस
विरस
सबै हुन्छौं
जीवन चलायमान
नदीझैँ
डुङ्गा
सललललअ
चिप्लिरहेको छ
गतिवान् पानीमा
क्रमशः उत्ताल ताल
बजाउँदै
नाच्दै गाउँदै
पानीमा पो जीवन छ ।

Peshal Acharya – Ichchha Ka Parswawarti Haru

पेशल आचार्य – इच्छाका पाश्र्ववर्तीहरू

भद्दा कुटिलताभन्दा
निर्दोष लज्जा प्रिय हुन्छ
वाणीले
वैखरीलाई
अन्माउन सक्नुपर्छ
शीतबिन्दु टप्किएको
फूल
विदाइमा रसाएका
गाजलु आँखाहरू
कसोकसो
चसक्क चस्किएको
वियोगको छाती
प्रियाको
अँगालोमा निस्किएको
उष्ण तापले
जीवनलाई
भँगाला भँगालामा
बाँड्न खोज्छ,
खै ! निस्तेज छन्
मनका डिमार्केसनहरू
इच्छाका
पाश्र्ववर्तीहरू
बैँसतिरै
बत्तिएछन् –क्रमशः ।

– वुधबार, 7 श्रावण, 2071