Keshar Thulung – Mera Bhagawanharu

केशर थुलुङ – मेरा भगवानहरु

आमाको गर्भबाट पहिलोपल्ट
जब धर्तीमा पाइला टेकेँ
रगताम्य भइन् मेरी आमा
मूर्छा परिन् मेरी आमा
तथापि मेरो चिच्चाहटमा
होस सम्हाल्दै
मसँगको स्पर्षमा
बिर्सिन् सम्पूर्ण कष्टहरु।

प्रगाढ प्रेममा लिप्त भएर– बुबा
मेरो आगमनसँगै
घण्टौ खटिरहे सायद
आमा र मेरो सुरक्षामा

ताते–ताते गर्दै हिँडाउने
तीनै कोमलहातहरु
मेरो आँत भरिदिने
तीनै मीठास बोलीहरु
उनैको अमूल्य चुम्वनहरु
जसले मजवूत बनायो– मलाई ।

स्पष्ट थाहा छ मैले जानेदेखि
हरेकपल घोटिरहे आफ्ना हाडहरु
बगाइरहे पसिनाका नदीहरु
म र मेरो भविष्यको निम्ति
मेरो सुरक्षाको निम्ति
मेरो खुसीको निम्ति ।

म दुख्दा निदाएनन् कति रात
पल्टेर दुखिरहे मसँगै
मेरो सफलतामा
मेरो खुसीमा खुसी साटेर
फूलजस्तै फुल्थे
संसार आफ्नै बनाउँथे
आफ्नै भन्थे ।

सताउँथे कति, घुर्काउथे कति
दिक्दार लगाउँथे कतिहो कति
तैपनिआफ्नै छातीमा टाँसेर
मायाले सुम्सुमाउँदै
जीवन्त दिव्योपदेश भर्थे
मेरो मनभरि÷मष्तिष्कभरि ।

धन्य ! धन्य !! छु म–
ममा प्राण भरिदिने
यो संसार चिनाउने
अर्जुनजस्तै खरो उतारिदिने
चुनौतिहरु चिर्न सिकाउने
मलाई ‘म’ को दर्जा दिलाइदिने
कर्मठ÷सुयोग्य योद्धा बनाएर उभाइदिने
स्वावलम्वी मेरी आमा
स्वाभिमानी मेरो बुबा
मेरा भगवानहरु भन्नु नै उनै
उनैलाई मेरो साष्टङ्ग दण्डवत
सर्वदा ! सर्वदा !!…….. ।

दिरुम न.पा.–१०, खोटाङ
हालः काठमाडौँ ।

Rabindra Mishra – Bhukampa Paschat

रवीन्द्र मिश्र – भूकम्प पछि

ईश्वर नै ईश्वरले घेरिएको आँगनमा
ईश्वर नै लडेपछि
म कसलाई पुकारूँ !
ईश्वर नै ईश्वरले भरिएको देशमा
ईश्वर नै ढलेपछि
म कसलाई गुहारूँ !
आज लाग्दैछ
ईश्वर पनि दुई थरीका छन् यहाँ
एउटा, मान्छेले बनाएको
आर्को, रहष्यमा लुकेको
मान्छेले बनाएका ईश्वर
मान्छेकै विम्व रहेछन्
ती टुट्छन्, फुट्छन्
ठडिन्छन्, ढल्छन्
मान्छेजस्तै कमजोर छन्
हेर न,
मछिन्द्रनाथ, काष्ठमण्डप, कालमोचन
ती कसरी असाहाय पछारिएका छन्!
रहष्यमा लुकेका ईश्वर चाहिँ
कहाँ छन्, कहाँ छन्
ती कहिले अनिकाल भएर उदाउँछन्
कहिले अनावृष्टि भएर अस्ताउँछन्
कहिले आँधी भएर छोप्दछन्
कहिले पहिरो भएर बग्दछन्
ती न मान्छेको प्रार्थना सुन्दछन्
ती न मान्छेको व्यथा बुझ्दछन्
‘हे राम, हे राम’को क्रन्दनमा पनि
ती रहष्यकै गर्भमा लुक्दछन्
आज मैले जसलाई पुकारेँ, ती आफैँ ढलेका छन्
आज मैले जसलाई गुहारेँ, ती मौन बसेका छन्
हे भक्तहरू हो,
भन्देउ न मलाई, साँच्चिकै ईश्वर कहाँ छन् !

– रवीन्द्र मिश्र, मध्यरात, १२ वैशाख २०७२