Kishor Pahadi – Awashesh Basti (Nepali Short Story)

किशोर पहाडी – अवशेष वस्ती

पूरावस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता ।

नीलो ज्इाकेट लगाएका मान्छेहरू त्यो भूकम्पले आक्रान्त वस्तीमा शान्त मुद्रामा थिए । वस्तीका अरूहरू आतङ्कित मुद्रामा उनीहरूलाई हेरिरहेका थिए ।

भेट भयो त्यो वस्तीमा एक सुन्दर बालिका । करिब १२ वर्षकी त्यो बालिका सबैभन्दा अलि पर गुँडुल्किएर बसिरहेकी थिई ।

नीलो ज्याकेट लगाएकाहरूमध्ये अगाडिको व्यक्तिको आँखा त्यो बालिकामा पर्‍यो ।

ऊ सरासर त्यो बालिकासम्म पुग्यो तर त्यो बालिकाले उसलाई हेर्दा पनि हेरिन ।

व्यक्तिले उसलाई सोध्यो -“नानी ! तिम्रो नाम के हो ?”

त्यो बालिकाले जवाफ दिइन् “तिमी किन यहाँ बसिरहेको ?” तर पनि त्यो बालिका बोलिन । “भन न नानी, तिमी किन बोल्दिनौ ?” तर पनि त्यो बालिका चूपचाप थिई ।

“तिमीलाई के चाहियो ? खानेकुरा ? पानी ? चकलेट ? .. के चाहियो भनन ।”

अब बालिकाले मुन्टो अलिकति उठाई । ट्वाल्ल त्यो व्यक्तिलाई हेरी । बालिकाको आँखा आँसुले लथपथ थियो ।

“भन न के चाहियो तिमीलाई ?”

बल्ल त्यो बालिका बोली -“मलाई ? अंकल, मलाई मेरी आमा चाहियो । उहाँ यहँा भुइँचालोले पुरिनुभएको छ ।”

Bhairab Aryal – Jaya Bhundi (Hansya Byangya)

भैरव अर्याल – जय भुँडी (हाँस्य-व्यंग्य)

व्यास बाजेले अठार पुराण लेखे, तर सबभन्दा जरुरी एउटा पुराणचाहिं लेख्न भुसुक्कै बिर्सेछन्। वेदव्यासको युगमा बिर्सेको कुरो आज वेदनाशको युगमा तैंले कसरी सम्झिस्? भन्नुहोला, मलाई पनि हिजै मात्र आफ्नी बुढी आमाले झट्ट सम्झाइदिइन्। साथै यस पुराणको माहात्म्य पनि मैले उनैबाट दृष्टान्तसहित बुझ्ने मौका पाएकोले अरु पुराणको प्रारम्भमा ‘शारदायै नम:’ भनेजस्तै पुराणको सुरुमा म भन्दछु – बूढी आमायै नम:।

परलोकका निम्ति होइन, यसै लोकको निम्ति नसुनी नहुने र परोपकारको निमित्त होइन, आत्मोपकारको निमित्त नबुझी नहुने यो सर्वकालीन, सर्वदेशीय र सर्वधर्मीय पुराणको नाम हो – ‘भुँडीपुराण।’ भुँडी विश्वको सर्वोच्च देवी हुन्, जसलाई मान्छेले मात्र होइन, देवाधिमेव महादेवले पनि मान्नुपरेको थियो। हेरिल्याएको खण्डमा कृष्ण हुन् कि क्राइष्ट हुन्, बुद्द हुन् कि कन्फ्युसियस हुन् सबै देवात्माहरु भुँडीबाट मर्त्यलोकमा अवरोहण गरेका हुन्। महर्षि हु्न् कि मार्क्स हुन्, सन्त हुन् कि सार्त्र हुन्, सबै दार्शनिकहरु भुँडीमै निर्मित भएर देखा परेका हुन्। वाल्मीकि हुन् कि होमर हुन्, टाल्सटाय हुन् कि टैगोर हुन्, दाँते हुन् कि देवकोटा हुन्, सम हुन् कि शेक्सपियर हुन् प्रत्येक कविको जन्म भुँडीबाटै भएको हो। अलेक्जेन्डर हुन् कि चङ्गेज खाँ हुन्, लिङ्कन हुन् कि लेनिन हुन्, नेपोलियन् हुन् कि जङ्गबहादुर हुन्, बिस्मार्क हुन् कि पृथ्वीनारायण शाह हुन्; सबै नेताहरुको उद्गमस्थल भुँडी हो। त्यसैले भुँडी जीवनकी निर्मात्री र विश्वकी अधि्ठात्री हुन्, जसको पूजाआजा गर्नु प्राणीमात्रको प्रमुख कर्तव्य हो।

भुँडीको पूजाविधि देख्नलाई त्यति झन्झटिया छैन, किनभने हाम्रा अरु देवदेवीलाई जस्तो चन्दन, अबिर, फूल इत्यादिको भुँडीदेवीलाई जरुरत छैन। उनलाई त केवल जल र नैवेद्य भए पुग्छ। तर जल र नैवेद्यका प्रकार र मात्राहरुचाहिं विवेचना गर्न लाग्यो भने भुँडीपूजाजस्तो अप्ठ्यारो न भीमसेन पूजा हुन्छ, न भगवतीपूजा। जल मात्र कति थरी चाहिन्छन् कति थरी- चिसो, तातो, सेतो, रातो, चिल्लो, खल्लो, नुनिलो, गुलियो, अमिलो, धमिलो इत्यादि। अझ नैवेद्य त के कति र कस्तो भनी बयान गरेर साध्य छैन। त्यस कारण, यसबारे पूरा जान्ने इच्छा छ भने बरु कुनै नैवेद्यविशेषज्ञले लेखेको भुँडीपूजापद्धति पढ्नुहोला अथवा कुनै भुँडीवालकी बूढीसित सोध्नु भए पनि हुन्छ। यो पुराणमा त यति मात्र जनाइन्छ कि भुँडीदेवीलाई नैवेद्य चाहिन्छ। नैवेद्यको अभावमा वा कमीमा, नैवेद्यको हेलचक्र्याइँमा वा लापर्बाहीमा भुँडी रिसाइहाल्छिन्। शङ्कर रिसाउँदा संसार संहार हुन्छ भनी व्यास बाजे भन्थे भने शङ्करको पनि साख्खै आमा पर्ने महामाता भुँडी रिसाउँदा त के होला के नहोला, आफैं कल्पना गर्न सक्नुहुन्छ। विश्वामित्रजस्ता नैष्ठिकलाई कुकुरको मासु कोच्याएको कुरादेखि लिएर विश्वका कैयौं नेता र जेताको जुगमा क्रान्तिको आगो सल्काउँदै भुँडीदेवीले मच्चाएका घम्साघम्सी र ध्वांसाध्वांसी कसलाई थाहा छैन र! यसैले ज्ञानमा जति गढे पनि, विज्ञानमा जति बढे पनि, विद्यामा जति पढे पनि, बुद्धि जति जडे पनि आखिर सबै चुलिंदै गई ‘ओं’ बन्छ भनी ऋषिहरु भन्थे, तर मलाई लाग्छ- त्यो अक्षर ‘ओं’ होइन ‘आँ’ बन्छ। यसकारण प्रत्येक बिहानै ‘कुखुरी काँ’को साथै प्रत्येक घरका केटाकेटीहरु मुख बाइहाल्छन्- ‘आँ’! अनि रातोरातो जल र मीठो पीठो जेजति पाइन्छ नैवेद्य चढाउँदै भुँडीपूजाको कार्यक्रम सुरु गर्नुपर्छ। घरमा होस् कि होटलमा होस्, ब्यारेकमा होस् कि होस्टेलमा होस्, ट्रेनमा होस् कि प्लेनमा होस्, बाटैमा होस् कि घाटैमा होस्, आखिर जहाँ भए पनि हातमुख जोर्दै सम्झनुपर्छ-
“नमो देव्यै पेट देव्यै सर्व देव्यै तथेव च।
आन्द्रा आन्द्री समेतायै भुँडी देव्यै नमो नम:॥”

भुँडीपूजाको यस कार्यक्रममा अलिकति बाधा पर्यो भने आफ्नो भुँडी रिसाउनुभन्दा पहिले घरकी बुढी रिसाउँछिन् र घुर्की लाउँछिन्- तपाईंको तो सिङ्गल भुँडी त हो नि। नभन्दै उनको भुँडी साह्रै चामत्कारिक हुन्छ। आखिर गनेर ल्याउँदा बूढाबूढीदेखि लिएर भुराभुरीसम्मका सिङगा भुँडी र बूढीको भुँडीभित्रको भुँडीसमेत जोडी प्रत्येक घरमा सालाखाला साँढे सातभन्दा कम भुँडी पाइन मुस्किल छ। अनि कतिको भुँडीपूजा

कतिपल्ट गर्ने? त्यसैले कोहीकोही गुनासो गर्छन्- भुँडीपूजाको झन्झट नहुँदो हो त म केके न गर्थें। हो पनि मान्छेलाई त्यो झन्झट नपरेको भए ऊ सत्यवादी हुन्थ्यो, सदाचारी हुन्थ्यो, अणुबम बनाउने खर्चले समुद्र पुर्थ्यो, आकाश उतार्थ्यो। तर मलाई लाग्छ- यी केवल धाकै मात्र हुन्, भुँडी नभएको भए मान्छे सुत्थ्यो- कुम्भकर्ण सुतेझैं। अनि जङ्गल जङ्गलै रहन्थ्यो, मान्छे जङ्गलभित्रै हुन्थ्यो।

सबैलाई थाहै छ- भुँडी स्वयं परमेश्वरी भएकोले प्रत्येक प्राणीमा उनको अंश नभएको हुँदैन। अर्को शब्दमा प्रत्येक व्यक्ति भुँडीको एक अवतार हो। ऊसित सानो होस् या ठूलो होस् एउटा भुँडी हुन्छ। त्यसैले मान्छे उखान गर्छन्- जहाँ जान लागे पनि भुँडी सँगसँगै जान्छ। नभन्दै गोसाईंथान जाने यात्रु हुन् वा अन्तरिक्षका यात्रु हन्, सबैले सबभन्दा पहिले भुँडी जोहो गर्नै पर्छ। कोही राष्ट्रसङ्घीय काममा लागेको होस् वा कोही मल सोहोर्न लागेको होस् मुख्यत: सबैलाई भुँडीपूजाले नै प्रेरित गरिरहेको हुन्छ। गधाझैं लादिन परोस् वा गाईझैं दुहिन

परोस्, कुकुरझैं दैलैदैलो ढुक्नुपरोस् वा लाटोकोसेरोझैं रातभरि जाग्राम बस्नुपरोस्, येनकेन प्रकारेण भुँडीपूजा गर्न सकिएन भने घरबार सब पुरपार पारी कि रानीपोखरी ताक्नुपर्छ कि डाँडो काट्नुपर्छ। आखिर सत्य कुरो यही हो- ‘येनकेन प्रकारेण उदरं परिपूरयेत।’ सबैले थाहा पाएकै छन्- यही भुडीपूजाको लागि हाम्रा कैयन पुर्खाले परचक्रीको दैलो कुरे। हुक्काको नलीदेखि बन्दुकको नालीसम्म बोके। अझै कैयौं बुढिया र दुलही नानीहरु भुँडीको पूजासामा खोज्न निस्केका आफ्ना छोरा र दुलाहाहरुको प्रतीक्षामा आँखा तान्दै छन्।

त्यसैले त भनेको, प्रत्येक प्राणीमा भुँडीदेवताको अंश हुन्छ। अर्को शब्दमा प्रत्येक भुँडी मिलेर देश वा समाजको विशाल भुँडी बन्छ र विशाल-विशाल पनि जुट्दा भुँडीको विराट् रूप बोध हुन्छ। उस्तै र उत्रै भए पनि प्रत्येक भुँडीको बेग्लै आयतन हुन्छ र नैवेद्य ग्रहणका तरिकाहगरु विभिन्न किसिमका हुन्छन्।

यस दृष्टिले हेर्ने हो भने भुँडीलाई मुख्यत: चार भागमा वर्गीकरण गर्न सकिन्छ।

तिनमध्ये पहिला छ- हाँडीघोप्टे भुँडी। सकेसम्म अरु साराको बाग आफ्नै भुँडीभित्र घोप्ट्याएर दुनियाँमा भुँडीवादको सिद्वान्त लागू गर्न

हाँडीघोप्टे भुँडी सधैं हाँडीजस्तै मुख बाइरहेको हुन्छ। कर्म न कुकर्म, सर्म न बेसर्म, धर्म न अधर्म, कुनै कुराको छ्यानविचार नगर्ने हुनाले नैवेद्यका ठूलाठूला स्रोतहरु हाँडीघोप्टे भुँडीकै सामु घोप्टिन पुगेका छन्।दोस्रो छ- घ्याम्पे भुँडी। जो हाँडीघोप्टे भुँडीभन्दा अलि सानो भए पनि स्वभावमा भने प्राय: उस्तैउस्तै हुन्छ। तेस्रो हो- टाकनटुकन भुँडी। जसलाई नैवेद्य जुटाउन सत्रतिर दाह्रा ङिच्च्याई टाकनटुकन नगरी हुँदैन। यिनको अतिरिक्त अर्को छ- ठन्डाराम भुँडी जो प्राय: खोक्रै रहन्छ। हाँडीघोप्टे र घ्याम्पे भुँडीले खँगारेका यी ठन्डाराम भुँडीहरु यहाँमात्र हैइन, पृथ्वीको भुँडीभरि ‘ठाउँ न ठहर, धोको न रहर’ भै भकुन्डिरहेका छन्। कति वानरको फौजझैं धपाइन्छन् भने कति भेडाको भाउमा खरिदिन्छन् पनि। भुँडीको नैवेद्यको लोभले भुँडीवालका जुनसुकै सर्तमाथि नाकको टुप्पामा कालो दलेर ल्याप्चे सही गर्नुपर्दा कति टाकनटुकन भुँडीहरुले हाँडीघोप्टे भुँडीझैं हाउडे भुँडीमा पस्नुपरेथ्यो। यी कथाहरु सम्झेर सम्झिनसक्ना छन्। एसिया, अफ्रिकाका कैयौं टाकनटुकन भुँडीहरुले अझै पश्चिम फर्केर ‘भवतिभवति गहुँ मे देहि’ भनी प्रार्थना गर्न छुटेको छैन।

सबलाई थाहा छ- वीसौं सताब्दीको विराट् भुँडीले सुरसाको मुख बनाएको छ। मान्छे हनुमानझैं आकाशपाताल चहारेर कति नै ठूलो आङ फुलाओस् भुँडीको बढ्दो आयतनको अनुपातमा उसको शक्तिसामर्थ्य हात्तीको मुखमा जीरा हुन्छ। कसलाई थाहा छैन र? भुँडीको लागि समुद्र तरेका भारतीयहरु भुँडीकै भाग नपुगी लङ्काबाट लर्काइँदै छन् भने भुँडीकै पिरलोले जुगजुगदेखि ‘ब्रह्माको मुलुक’ पसेका नेपालीहरु भूँडीकै समस्याले बर्माबाट फर्काइँदै छन्।

भुँडीपूजाका लागि मान्छेले के सोच्यो के सोचेन, के गर्यो के गरेन, बयान गरी साध्य छैन। सुरुमा काँचो तरुल र भ्याकुरले भुँडीपूजा गर्ने मान्छेले आज पृथ्वीको कुनै छेउलाई बाँझो रहन नदिई हलो चलाई नैवेद्य फलायो। तर एकले अर्कोको अस्तित्व आवश्यक नठान्दा भुँडीभुँडी भकुराभकुर गर्न थाले। बलियो भुँडी घ्याम्पे भए, घ्याम्पाघ्याम्पा जुधे, कोही हाँडीघोप्टे हुन पुगे त धेरैजसो ठन्डाराम भुँडी भै भकुन्डिए। आखिर अरबौं ठन्डाराम भुँडीहरुले रुन्चे स्वरमा चिच्च्याउनुपर्यो। भुँडीपूजा हुन्छ भने सबैको हुनुपर्छ। फलस्वरुप मार्क्सले भुँडीपूजाको समान पद्धति सोचे, भुँडीवालहरुले उनलाई उडाए, तर आखिर कतिपय देशमा ठन्डाराम भुँडीहरुको ध्यान त्यता नगई छोडेन।यसैयसै गरी करोडौं ठन्डाराम हाँडीहरुले भारतमा सर्वोदयको सपना देखे भने लाखौं ठन्डाराम हाँडिहरुको उचित पूजाको लागि नेपालले भूमि-सुधारको योजना लागू गर्न परिरहेछ। तैपनि हाँडीघोप्टे र घ्याम्पे हाँडीहरु ङ्यारङ्यार्-ङरङर गरी भर्सेलीबाट भाग्नुपरेका बिरालाझैं नाक बजाउँदै छन्। तर नैवेद्यको जोरजामका लागि कसिएका ९५ प्रतिशत भुँडीहरुको माझमा निहुँ खोज्न लागे भने उनीहरुको जुगानुजगदेखि टन्किएको भुँडीले मादल र दमाहाझैं बज्नुपर्ने कुरा स्वत: सिद्ध भइसकेको छ। कुराको जरो यही हो।

मैले यो भुँडीपुराण पनि भुँडीदेवीकै उपासनाको लागि लेखेको हुँ। जुन दिन भूमिसुधारको महामेला सकिएर खोजेजस्तै गरी सबैले भुँडीपूजाको सौभाग्य पाउलान्, त्यसै दिन व्यास बाजेका अठार पुराणमा उन्नाइसौं महापुराणको रुपमा मेरो भुँडीपुराण कसो नजोडिएला त?

जय भुँडी।

Bhagirathi Shrestha – Bhaari

भागीरथी श्रेष्ठ – भारी
(असोज मधुपर्क, २०६८)

आज कवि भुपेनको बिहेको पार्टी । किताब पढ्दापढ्दै झलक्क सम्झन्छु । र्‍याडिसन होटलमा ५ बजे पुग्नुपर्छ मलाई ।

बिहेका पार्टीहरूमा जान तयार हुन नै गार्‍हो । दराज खोल्छु-अनगिन्ती हृयाङ्गरमा झुण्डिएका विभिन्न रङका पार्टीमा जाने सारीहरू छान्न खोज्छु-कुन रङको सारी लगाएर जाउँ ? एकएक सारीहरू छान्दाछान्दा रानी कलरकै भरेको सारी र सारीको सेट निकाल्छु । गहनाको बट्टा निकाल्छु-हीराको सेट लगाउँ कि सुनको सेट लगाउँ ? हीराकै सेट रोजेर अलग्गै राख्छु । तयार भएर श्रीमान्लाई मोटरका लागि फोन गर्छु ।

पार्टीमा पुग्दा ६ बजेको हुन्छ । साथीहरू आइपुगेका रहेछन् । त्यो बिहे पार्टीमा चार/पाँच सय उच्च व्यक्तिहरू, सभ्रान्त परिवारहरू, राजनीतिक नेताहरू, लेखकहरू, सङ्गीतकार, गायक, कलाकार, डाक्टर, इन्जिनियर, प्रोफेसर, वकिल, समाजका विभिन्न तह तप्काका व्यक्तिहरू सम्मिलित भएका हुन्छन् ।

पार्टी अत्यन्त शानदार र भव्य हुन्छ । भुपेन सम्पन्न बाबुको एउटै छोरो, सौखिन कवि, नेपाल सरकारको सहसचिव पदको जागिर । नपुग्दो केही थिएन उसका लागि ।

होटलको चारैतिर हरियाली, तह मिलाएर राखेका गमलामा फुलेका रङ्गीविरङ्गी सुन्दर फूलहरू, सानासाना हरिया बोटहरू, स्विमिङपुलको कञ्चन पानी, ढुङ्गेधाराबाट आएको कलकल धारो, साथीहरूको जमघट, भेटघाट, कुराकानीले मन त्यसैत्यसै अतिरेक आनन्दले आल्हादित भएको हुन्छ ।

रेडलेवल, हृविस्की, वियर, वाइन, फेन्टा, कोक, स्प्राइट, जुस के पिउने ? स्न्याक्सका परिकारहरू बोकेका नेपाली पोसाक लगाएका वेटरहरूका स्वागतसत्कार बिजुलीको झिलीमिली, आपसमा हुने विभिन्न विषयका संवादहरू, हाँसोठट्टा, गरमागरमी बहसहरूले वातावरणलाई मुग्ध पारिरहेका हुन्छन् । म पनि यताउती घुम्दै चिरपरिचितहरूसँग कुरा गर्दै, आफ्नो सर्कलका साथीहरू र आफूभन्दा जुनियर साहित्यकार भाइबहिनीहरूको बीचमा बसेर गफ हाँक्न थाल्छु ।

कवि बहिनी सङ्गीताले मेरो सारीलाई लक्षित गर्दै भन्छे ओ हो सदिच्छा दिज्यू Û तपाईंलाई यो सारीको रङले सार्‍है खुल्छ । हुन त जे लगाए पनि तपाईंलाई सुहाउँछ नै । कति राम्राराम्रा सारी लगाउनु हुन्छ तपाईंले, मनै लोभ्याउने गरेर ।

म हाँसीदिन्छु । अक्सर सङ्गीतालाई मैले लगाएको सारी खुबै मनपर्छ । खुब प्रशंसा गर्ने बानी छ उसको ।

कथाकार साथी सन्ध्याले मेरो हीराको गहनाको प्रशंसामा फूलबुट्टा भर्छे- ‘सदिच्छा Û होइन, तिम्रो हीराका सेट कति छन् हँ ? हरेक पार्टीमा हीराको सेट, मोतीको सेट फेरेको देख्छु । हुन त तिमीलाई जति पनि पुग्छ नी । मान्छे तनले पनि मनले पनि सुन्दर हुनुपर्छ । यस्तो बिहे पार्टीमा स्वास्नीमान्छेहरू गरगहनाले झकिझकाउ भएर आएको हेर्न मन लाग्छ । अर्की कवि साथी अलकाले दुईजनाको कुरालाई पन्छाउँदै भन्छे -‘साहित्यकार भएर पनि कति गहना, सारीहरूको कुरा गरेको ? सदिच्छाको कविता, कहानीबारे, आजको साहित्यको बारे चर्चा गर न । लेखक भएर पनि गहना र सारीको कुरा गर्न छुटेन कहिल्यै ।’

समालोचक रुबिनाले अलकाको कुरा काट्दै भन्छे-

‘यस्तो रमाइलो बिहेको पार्टीमा साहित्यको पनि कुरा गर्छ र ? साहित्यको चर्चा गर्ने सुठाउँ त विमोचन, कोठे गोष्ठी, अन्तक्रिर्या र बिचार गोष्ठीमा हुन्छ नि । यहाँ त यस्तै रमाइलो कुरा र ख्यालठट्टा गर्नुपर्छ । कहिलेकाहीँ जीवनलाई रसिलो र मुक्त पनि बनाउनु पर्छ नि ।’

म पनि उनीहरूका कुरामा सहमत-असहमत हुँदै गˆपिmएकी हु्न्छु- सुनिरहेकी हुन्छु-मस्तिएकी हुन्छु ।

कवि भाइ मुकेशले मेरो नजिक आएर भन्छ सदिच्छा दिदी Û यसपालि गरिमामा छापिएको तपाईंको कविता सार्‍है सुन्दर र उत्कृष्ट लाग्यो ।

मुकेशको मेरो कविताको टिप्पणी सुनेर मन हलक्क फुल्छ ।

कथाकार साथी अरविन आएर मेरो कथाको प्रशंसा गर्दै भन्छ-‘सदिच्छा Û मधुपर्कमा छापिएको तपाईंको कथाको विषयवस्तु नौलो र प्रस्तुति पनि गजबकै आकर्षक छ ।’

यसरी खुसीले रङ्गिएको बेला, सबैको आत्मीय स्पर्श पाएको बेला, कथाकार साथी मनीषाले मेरो मुखै नहेरी, बोल्दै नबोली, मेरो अगाडिको खाली कुर्सीमा नबसी अर्कै लाइनमा गएको देख्दा मनमा एक्कासि ठेस लाग्छ । म बोल्न खोज्दा पनि उसले अर्कैतिर मुख फर्काउँछे । म छक्क पर्छु । किन उसले यस्तो नमीठो व्यवहार गरी ? उसको त्यस्तो अभद्र व्यवहार मनमा यस्तरी गडिन्छ कि मानौँ मनीषाले मेरो मनको भित्तामा किलाले ठोक्तैछे । हुन त मेरो समकालीन मनीषासँग त्यति प्रगाढ मित्रता नभए पनि बोलचाल त हुन्थ्यो नि । अस्ति भर्खर एउटा किताबको विमोचनमा राम्ररी नै बोलेकी थिई-आज के भयो उसलाई ? किन रिसाएकी होली ? मैले के नराम्रो गरेकी छु र उसलाई । न त अगाडि उसँग झगडा नै गरेकी छु न त विवाद नै गरेकी छु ? न त उसको पछाडि कुरा नै काटेकी छु ? कसैले भएनभएको कुरा लाइदिएकी ? के भर भयो र ? हाम्रा साथीहरूमा छुल्याहा प्रवृत्ति भएका र रिस गर्ने साथीहरू नभएका होइनन् । त्यस्तो कुरा लगाएर कति साथीहरूको बीच मनमुटाव, झगडा र बोलचाल बन्द भएका घटनाहरू नभएका होइनन् । उठेर म आफैँ मनीषासँग बोल्न जान खोज्छु तर मेरो अहंको डोरीले मलाई तानेर उसको अगाडि जान दिँदैन । किन म झुकूँ उसको अगाडि जब कि मेरो कुनै गल्ती नै छैन ? यदि उसले केही कुरा सुनेकी भए सीधै मसँग भन्न आएकी भए हुन्थ्यो । सबै कुरा साफ भइहाल्थ्यो । तुस रहन्नथ्यो दुवैको मनमा ।

मनीषा नबोलेकीले जति उज्यालिन र रमाउन प्रयत्न गरे पनि मन कताकता दुःखी भइरहन्छ, पीरो भइरहन्छ । सम्पूर्ण रमाइला दृश्यहरू, गफहरू, हाँसो, ख्यालठट्टा सबै धमिलिँदै र शुष्क हुँदै जान्छन् । आत्मगौरव र खुसीले चुलिएको मन अवसादको जालोले ढाकिन्छ । मनीषाले चलाएको अपमानको कैँचीले मेरो मानमर्दन भएको अनुभूति हुन्छ । हरे, मान्छेको खुसीको आयुको कस्तो अल्पायु ? कति क्षणिक Û

मभित्र खलबलिएको मौन उद्वेगलाई कसको अगाडि व्यक्त गरुँ ? चाहेर पनि आफ्नो व्यक्तित्वमा धक्का लाग्ला भनेर चुपचाप मनीषाको उपेक्षाको विष पिइरहन्छु ।

मनीषाले मौनरूपमै युद्ध गरिरहेकी हुन्छे नबोलिकन, मलाई नहेरिकन । म मनीषासँग मानसिकरूपमा पराजित भएको महसुस गर्छु । मसँग प्रत्यक्षरूपमा विवाद गरेकी भए सामना गर्थे हुँली । पहिले मनै नबोलेकी भए मलाई यतिविघ्न छटपटी र क्लेशको आवरणले ढाक्ने थिएन । अहंमा चोट पर्नुजस्तो ठूलो पीडा अरू के हुनसक्छ र ?

हुन त यो भीडभाडमा मनीषाले मसँग बोल्न आवश्यक नठानेर हो कि नबोलेकी ? अरूसँग कुरा गर्दागर्दै मसँग कुरा गर्न बिर्सी की ? जहाँसम्म मलाई चाहिँ लाग्छ उसले जानाजान मसँग नबोलेकी नै हो । मनमा औडाहा छुट्छ ।

मेरालागि सबै बिरसिला हुन्छन्-त्यो स्वादिलो वातावरण, स्वादिलो खाना, मेरा प्रशंसाहरू । अलिकति खाएर दुलाहा भुपेन, उसकी नववधूसँग र अन्य साथीहरूसँग बिदावारी भएर चार/पाँच जना साहित्यकार भाइबहिनीहरूलाई मोटरमा घरघरमा पुर्‍याएर म घर आइपुग्छु ।

राति निद्रा कहाँ लाग्नु ? मनीषाको तीतो व्यवहार हृवारहृवारती आउँछ आँखाभरिभरि । जति पन्छ्याउन खोजे पनि म असमर्थ भइदिन्छु । मनीषा पनि राम्रै कथाकार-कवि हो । मेरा कथा-कविताको चर्चा धेरै हँुदा ईष्र्याले मसँग नबोलेकी हो कि ? मनीषाले यस्तो त गर्न नपर्ने हो । स्वस्थ प्रतिस्पर्धा साथीहरूसँग हुन्छ-ईष्र्याले जल्नु ठीक होइन नि । मनीषाको मौन उपेक्षाबाट दग्ध हुँदै पूरै रात छ्याङ्गै बित्छ ।

मलाई सहृय हुँदैन । बिहानको चीसो बतास पनि मलाई तातो लाग्छ । आरुको बोटको हाँगामा कागले काँ…काँ गर्दा पनि मन तर्सेजस्तो हुन्छ । केके हराएजस्तो, केके नपाएजस्तो, केके हँुडलो मच्चिएको जस्तो भइरहन्छ यो मनमा । फूर्ति पटक्कै छैन शरीरमा । थाकेको अनुभूति भइरहेछ शरीरमा । श्रीमान्सँग पनि मन दुःखेको कुरा गर्न मन लाग्दैन मलाई । तर कहीँ न कहीँ मन पोख्न र यो औडाहाबाट छुटकारा पाउन मन लागेको छ ।

सन्ध्यालाई दिउँसो घरमा आउन फोन गर्छु । उसले आउँछु भनेपछि मन केही हलुङ्गिन्छ ।

मलाई सन्ध्याको स्वभाव मनपर्छ । कहिलेकाहीँ कसैप्रति द्वेष भावना जाग्यो भने उसले एउटी साध्वीले जस्तै प्रवचन दिन्थी- कसैप्रति मनमा द्वेष, घृणा, रिस र क्लेशको भावना पलाउनु भनेको आफ्नै मन भारी हुनु हो । यस्तो भारी मन लिएर कसरी बाँच्न सकिन्छ ? कसरी सिर्जनात्मक काममा लाग्न सकिन्छ ? कसरी खुसी बटुल्न सकिन्छ ? मनमा कुनै क्लेशको भारी नबोकी हलुङ्गो भएर, खुला हृदय लिएर जीवन जिउनुपर्छ ।

रमाइली र मस्ताना स्वभावकी सन्ध्याको बिचार सुन्दा म अत्यन्त प्रभावित भएकी थिएँ ।

सन्ध्याको कुरा सम्भिmँदा पनि मनलाई शान्त गर्न सक्तिनँ ।

आज म त्यही क्लेशको र गुनासोको भारी बोकिरहेँछु । कसरी छुटकारा पाउँ यो भारीसँग ? कहाँ बिसाउँ यो

भारीलाई ? सन्ध्या आएपछि आफूभित्रको सम्पूर्ण

उहापोह पोख्छु । मेरो कुरा सुनेर सन्ध्या मज्जाले हाँस्छे र भन्छे-सदिच्छा ! मनीषा नबोलेर तिमीलाई के फरक पर्छ र ? तिमीसँग सबैजन्ाा बोल्नैपर्छ भन्ने कुनै जरुरी छैन । हिजो पार्टीमा सयौँजना तिमीसँग बोले, हाँसे, कुरा गरे, तिम्रो कथा-कविताको प्रशंसा गरे । के यही काफी होइन र ? किन बिर्सेकी यी सबै खुसीका कुराहरू ? मात्र मनीषा नबोलेकीमा किन यतिविघ्न चिन्ता ? त्यति धेरै खुसीका सामग्रीहरू एकातिर थन्क्याएर एउटै दुःखमा किन आफूलाई घेरेकी ? यस्तो गर्नु के मनासिव हो र ? संसारमा सबै मान्छे न त सबैका पि्रय हुनसक्छन्, न त अपि्रय नै । मान्छेले आ-आफ्नो रूचिअनुसार आफ्नो बाटो रोज्छ-आˆनो साथी रोज्छ । हरेक कुरालाई सहजताका साथ लिन सक्दा नै जीवन जिउन सजिलो हुन्छ सदिच्छा ।

कहिल्यै विवादमा नपर्ने सन्ध्याको कुरा सुनेर चकित हुँदै उसको अनुहार पुलुक्क हेरेर मुस्कुराउने प्रयास गर्छु । साँच्चै सन्ध्या कति समझदार छे । मानौँ जीवन जिउने कलाकी पाठशाला नै हो सन्ध्या ।

मनको भारी कता हराएछ कुन्नि ! बिस्तारै शान्ति र शीतलता अनुभव हुन्छ ।

Acharya Prabha – Ama Banna Nasaknu Ko Pida

सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको बालक हो र ऊ आफ्नो सन्तुष्टी र खुशी छोराछोरीहरूमाथि बर्षाइरहेछ । उता निलिमा भने पलङमा पल्टिएर आनन्दले बिभोर भै उनीहरूको रमिता हँसिलो मुद्राले हेरिरहेकी थिई।

सीमा “नारी कल्याण केन्द्रकी” अध्यक्ष जस्ले समाजका शोषित, पीडित नारीहरूकालागि आवाज  उठाएर धेरै पीडित नारीहरूको कल्याण गरिरहेकी छ । ऊ निस्वार्थ भावनाले प्रत्येक महिलाहरूको हक हितको लागि लडिरहेकी छ । आज पनि ऊ एउटा त्यस्तै घट्नाको छलफल गरेर पीडित महिलाहरूको अधिकार दिलाई दिएर आएकी जुन महिलाको विवाह भएको ६ बर्षसम्म बच्चा नभएर लोग्ने, स्वास्नी दुबै जनाको सल्लाहले दोश्रो विवाह गरेको थियो तर दोश्रो विवाह गरे पश्चात उसको श्रीमानमा परिवर्तन आयो। समयको अन्तरालसँगै दोश्री श्रीमतीबाट छोरा भयो। त्यस पश्चात झनै उसको श्रीमान स्वार्थी र कपटी अनि ऊप्रति कर्तब्यहिन बन्दै गयो । ऊ आफ्नी कान्छी श्रीमती र बच्चाप्रति मात्र समर्पित भयो । आफ्नो श्रीमानको  त्यस्तो नकारात्मक ब्यवहाँर र ऊप्रतिको हेय दृष्टिले ऊ दिन प्रतिदिन निर्बल बन्दै गैइ । उसको भावना, सपना, कल्पनामा ठुलो ठेस लाग्यो किनकि आमा हुन नसक्नु उसको कमजोरीको  कारणले लोग्नेको खुशी र सन्तानको लागि उस्ले आफ्नो श्रीमानलाई अर्की विवाह गरेर खुशी बाँड्ने सुझाउ दिएकी थिई। तर अफसोच! अनायस लोग्नेमा आएको परिवर्तन र ऊप्रतिको तिरष्कारले ऊ बिह्वल बनेर आफ्नो श्रीमानसँग माया र अधिकार माँग्न उस्ले ”नारी कल्याण केन्द्रमा” अपील गेरेकी थिई । त्यही समस्याको समाधान गरेर सीमा घर पसेकी थिई ।

ऊभित्र पनि कालो आँधीबेहरी मँडारिरहेको थियो किन कि ऊ पीडित नारीहरूको निम्ति अधिकार दिलाउन र उनीहरूको खुशी फर्काउन प्रयत्नरत थिई। तर ऊ आँफै एउटी पीडित नारी थिई जस्को प्रेम विवाह भएको ८ बर्षसम्म सन्तान नभएर उसको श्रीमानले पनि दोश्री विवाह गरेर दुइवटा छोराछोरीको आगमनमा नौलो जीवन आराम्भ गरेकाथिए। तर सीमा भने हरपल असन्तुष्टिको खण्डहरमा जकडिँदै गैरहेकी थिई। आमा बन्न नसक्नुको पश्चताप र आफ्नो श्रीमानको प्रत्एक पलको दुरीले भित्रभित्रै जलिरहेकी थिई। किनकि उसको श्रीमानको ब्यस्तता र छोराछोरीप्रतिको आकर्षणले सीमालाई आफू श्रीमानबाट टाडिएको आभास भैइरहेको थियो। अनि आफूले पाउने लोग्नेको माया अरु कसैसँग बाँडिदा ऊ भित्र पीडाको आगो सल्किरहेकोथियो। तर पनि ऊ ओँठमा फोस्रो हाँसो बोकेर आफ्नो ब्यथा ओकल्न नसकी अन्य पीडित महिलाहरूको अधिकारको लागि लडिरहेकी थिई। यसरी सीमा आफू पीडाको सागरमा पौडिएर अरुलाई किनारा दिइरहेकी थिई।

पल्लो कोठाको दृश्यले सीमाभित्र नमीठो आघात पर्यो । ऊ अतितमा डुब्न पुगी । यत्तिकैमा निलीमाको तीखो आवाजले झस्की  “तपाईं त छोराछोरी भनेपछि भुतुक्क। अरुलाई त सम्झिने फुर्सद हुँदैन हैन? आफूले चाहिं आफ्नो बुढा भनेर अघिदेखि तातो दुध ल्याएर पर्खिरहेकी छु खै आउनुहोस् छिटो । छोरा छोरीसँग भोलि पनि खेल्ने समय छ।”

निलिमाको कुरा सक्न नपाउदै श्रीमान जुरुक्क उठेर कोठाको ढोका लगाउछ। भित्र दुई लोग्नेस्वास्नी भित्रिएको आवाज सुनिन्छ नीलिमा भनिरहेकी हुन्छे । “भो छाड्नु होस् मलाई ज्यादा चेप्रो पार्नु पर्दैन! जानु नि आफ्नै बच्चाहरू सँग मात्र म त को हुँ र?”

श्रीमान पनि उत्तेजित हुँदै भनिरहेको हुन्छ “तिमी भनेकी मेरो सृष्टि बसाइदिने स्वास्नी हौ । तिमीले गर्दा त आज मेरो आँगन रमाइलो भयो। यस्ता सुन्दर बच्चाहरूसँग खेल्न पाएँ । धन्य छ तिम्रो गुण मलाई, तिमी मेरी प्रिय श्रीमती हौ । ”

ती दुइको वार्तालाप र श्रीमानको बद्लिदो ब्यवहारले सीमा खिन्न बन्छे र अतितका मीठा झल्झल्का हरू आँखाभरि साँच्दै सुस्ताएर गहभरि आसुँ पारेर ओछ्यानमा ढल्कन्छे । कुन बेला निद्रादेवीले उसलाई अंगाल्छ उसलाई पत्तो नै हुन्न।

Chiran Sharma – Afno Pan [Nepali Laghu Katha]

विदेश गएको पाँच बर्षपछि ह्यारी नेपाल फक्र्यो । नेपालमा बाले हरि-हरि बनेर बोलाउने ह्यारी नेपाल फर्कदा कसैले नचिन्ने होकी भन्ने चिन्तामा थियो उसलाई । काठमाडौं हवाइ अड्डामा कालो चस्मासहित आधुनिक क्यामरा कम्प्युटर र अंग्रेजी रहनसहनका साथ झर्र्यो । दायाँबायाँ हेर्र्यो सबै पुरानो नयाँ केही देखेन ।

छ्या कस्तो फोहोर भन्दै रुमालले नाक छोप्यो । ह्यारीको प्रतिक्षामा बसेका बाबु-आमाले छोराको लवाई खुवाई देखेर चिन्ने सकेनन् । ह्यारीले भने बाबुले आमालाई चिनी हाल्यो । हरि विदेश जाँदा बाबु किनेको कछाड र आमालाई किनेको धोती फाटेको थिएन । उसलाई ठम्माउन गाह्रो भएन । बाबु आमाका साथ गाउँघरसम्म पुग्यो । गाउँमा हरिलाई सबैले चिने तर उस्ले कसैलाई चिनेन् । आफ्नो पढेको स्कुल लथालिङ भताभुङ थियो । गुरुहरु बुढा भइसकेका थिए । घर छेउको काब्रोको रुख मरिसकॆको थियो । तल्लो गाउँमा डाँडाको डिस्को भत्केको थियो । हरि गाउँ आउँदै छ भन्ने समाचार ल्याउने कागहरु आवाज देखि उ वक्क थियो ।

मिनरल वाटरको बोत्तलमा मात्र पानी खाने भइसेको थियो ह्यारी । अग्रेजी पपमा बसेर फुटबलको आनन्द लिने ह्यारी गाउँका भट्टी देखि वाक्क थियो । गाउँ घरकॊ ढुङ्गा माटोले उसलाई चिन्यो तर ह्यारीले कसैलाई चिनेन । हरिको आगमनले सिङ्गो गाउँ रमाएको थियो । घरमाथिको ढिस्कोले अंगालो हाल्न खोज्दै थियो । घरको बारीमा रहेको मखमली फुल मस्कुराएको थियो तर खोई के भयो कुन्नी ह्यारीलाई आफै जन्मेको ठाउँ बिरानो भयो । गाउँ बस्नै मन गरेन तोकिएको समयभन्दा दुई साता पहिला विदेश फर्कने निर्णय लियो । काठमाडौं विमानस्थलसम्म राम्रोपन आफ्नोपन भेटेन ।

जब विमान उड्यो अनि ह्यारी टोलाउन थाल्यो । सोच्न थाल्यो विदेशको दुःख । मनमनै सोच्न थाल्यो अब कहिले आउने नेपाल उत्तर थिएन । सोची रह्यो अब विदेशीको हवाई अड्डामा उत्रियो । सबै बिरानो कोही थिएन आफ्नो भन्ने । न ह्यारीको भाषा विदेशीले बुझ्ने नत विदेशीको भाषा ह्यारीले । ह्यारी उत्रने हवाई अड्डामा उनको कसैले चासो राखेन । उसलाई नमाटोले चिन्यो न ढुङ्गोले नै । उनको पहिचान काठमाडौं विमानस्थलबाटै समाप्त भयो भन्ने होस् बल्ल ह्यारीलाई आयो । आउँदाका दिन देखि नै ऊ आफ्नो कर्मभूमिमा काम थाल्यो । रात दिन खटिएको छ । खाने बस्ने सुत्ने ठेगान छैन । अहिले केवल थकाई पसिना र मिहेनत उसको लागि आफन्त भएको छ ।

मृतसमानको आफ्नो पहिचान लिएर बाँची रहेको छ- ऊ । कहिलेकाही सम्झन्छ- म जन्मेको गाउँमा बस्न पाए र आफ्नो भन्ने देख्न पाए ।

– लण्डन, हन्स्लो