Bhagirathi Shrestha – Bhaari

भागीरथी श्रेष्ठ – भारी
(असोज मधुपर्क, २०६८)

आज कवि भुपेनको बिहेको पार्टी । किताब पढ्दापढ्दै झलक्क सम्झन्छु । र्‍याडिसन होटलमा ५ बजे पुग्नुपर्छ मलाई ।

बिहेका पार्टीहरूमा जान तयार हुन नै गार्‍हो । दराज खोल्छु-अनगिन्ती हृयाङ्गरमा झुण्डिएका विभिन्न रङका पार्टीमा जाने सारीहरू छान्न खोज्छु-कुन रङको सारी लगाएर जाउँ ? एकएक सारीहरू छान्दाछान्दा रानी कलरकै भरेको सारी र सारीको सेट निकाल्छु । गहनाको बट्टा निकाल्छु-हीराको सेट लगाउँ कि सुनको सेट लगाउँ ? हीराकै सेट रोजेर अलग्गै राख्छु । तयार भएर श्रीमान्लाई मोटरका लागि फोन गर्छु ।

पार्टीमा पुग्दा ६ बजेको हुन्छ । साथीहरू आइपुगेका रहेछन् । त्यो बिहे पार्टीमा चार/पाँच सय उच्च व्यक्तिहरू, सभ्रान्त परिवारहरू, राजनीतिक नेताहरू, लेखकहरू, सङ्गीतकार, गायक, कलाकार, डाक्टर, इन्जिनियर, प्रोफेसर, वकिल, समाजका विभिन्न तह तप्काका व्यक्तिहरू सम्मिलित भएका हुन्छन् ।

पार्टी अत्यन्त शानदार र भव्य हुन्छ । भुपेन सम्पन्न बाबुको एउटै छोरो, सौखिन कवि, नेपाल सरकारको सहसचिव पदको जागिर । नपुग्दो केही थिएन उसका लागि ।

होटलको चारैतिर हरियाली, तह मिलाएर राखेका गमलामा फुलेका रङ्गीविरङ्गी सुन्दर फूलहरू, सानासाना हरिया बोटहरू, स्विमिङपुलको कञ्चन पानी, ढुङ्गेधाराबाट आएको कलकल धारो, साथीहरूको जमघट, भेटघाट, कुराकानीले मन त्यसैत्यसै अतिरेक आनन्दले आल्हादित भएको हुन्छ ।

रेडलेवल, हृविस्की, वियर, वाइन, फेन्टा, कोक, स्प्राइट, जुस के पिउने ? स्न्याक्सका परिकारहरू बोकेका नेपाली पोसाक लगाएका वेटरहरूका स्वागतसत्कार बिजुलीको झिलीमिली, आपसमा हुने विभिन्न विषयका संवादहरू, हाँसोठट्टा, गरमागरमी बहसहरूले वातावरणलाई मुग्ध पारिरहेका हुन्छन् । म पनि यताउती घुम्दै चिरपरिचितहरूसँग कुरा गर्दै, आफ्नो सर्कलका साथीहरू र आफूभन्दा जुनियर साहित्यकार भाइबहिनीहरूको बीचमा बसेर गफ हाँक्न थाल्छु ।

कवि बहिनी सङ्गीताले मेरो सारीलाई लक्षित गर्दै भन्छे ओ हो सदिच्छा दिज्यू Û तपाईंलाई यो सारीको रङले सार्‍है खुल्छ । हुन त जे लगाए पनि तपाईंलाई सुहाउँछ नै । कति राम्राराम्रा सारी लगाउनु हुन्छ तपाईंले, मनै लोभ्याउने गरेर ।

म हाँसीदिन्छु । अक्सर सङ्गीतालाई मैले लगाएको सारी खुबै मनपर्छ । खुब प्रशंसा गर्ने बानी छ उसको ।

कथाकार साथी सन्ध्याले मेरो हीराको गहनाको प्रशंसामा फूलबुट्टा भर्छे- ‘सदिच्छा Û होइन, तिम्रो हीराका सेट कति छन् हँ ? हरेक पार्टीमा हीराको सेट, मोतीको सेट फेरेको देख्छु । हुन त तिमीलाई जति पनि पुग्छ नी । मान्छे तनले पनि मनले पनि सुन्दर हुनुपर्छ । यस्तो बिहे पार्टीमा स्वास्नीमान्छेहरू गरगहनाले झकिझकाउ भएर आएको हेर्न मन लाग्छ । अर्की कवि साथी अलकाले दुईजनाको कुरालाई पन्छाउँदै भन्छे -‘साहित्यकार भएर पनि कति गहना, सारीहरूको कुरा गरेको ? सदिच्छाको कविता, कहानीबारे, आजको साहित्यको बारे चर्चा गर न । लेखक भएर पनि गहना र सारीको कुरा गर्न छुटेन कहिल्यै ।’

समालोचक रुबिनाले अलकाको कुरा काट्दै भन्छे-

‘यस्तो रमाइलो बिहेको पार्टीमा साहित्यको पनि कुरा गर्छ र ? साहित्यको चर्चा गर्ने सुठाउँ त विमोचन, कोठे गोष्ठी, अन्तक्रिर्या र बिचार गोष्ठीमा हुन्छ नि । यहाँ त यस्तै रमाइलो कुरा र ख्यालठट्टा गर्नुपर्छ । कहिलेकाहीँ जीवनलाई रसिलो र मुक्त पनि बनाउनु पर्छ नि ।’

म पनि उनीहरूका कुरामा सहमत-असहमत हुँदै गˆपिmएकी हु्न्छु- सुनिरहेकी हुन्छु-मस्तिएकी हुन्छु ।

कवि भाइ मुकेशले मेरो नजिक आएर भन्छ सदिच्छा दिदी Û यसपालि गरिमामा छापिएको तपाईंको कविता सार्‍है सुन्दर र उत्कृष्ट लाग्यो ।

मुकेशको मेरो कविताको टिप्पणी सुनेर मन हलक्क फुल्छ ।

कथाकार साथी अरविन आएर मेरो कथाको प्रशंसा गर्दै भन्छ-‘सदिच्छा Û मधुपर्कमा छापिएको तपाईंको कथाको विषयवस्तु नौलो र प्रस्तुति पनि गजबकै आकर्षक छ ।’

यसरी खुसीले रङ्गिएको बेला, सबैको आत्मीय स्पर्श पाएको बेला, कथाकार साथी मनीषाले मेरो मुखै नहेरी, बोल्दै नबोली, मेरो अगाडिको खाली कुर्सीमा नबसी अर्कै लाइनमा गएको देख्दा मनमा एक्कासि ठेस लाग्छ । म बोल्न खोज्दा पनि उसले अर्कैतिर मुख फर्काउँछे । म छक्क पर्छु । किन उसले यस्तो नमीठो व्यवहार गरी ? उसको त्यस्तो अभद्र व्यवहार मनमा यस्तरी गडिन्छ कि मानौँ मनीषाले मेरो मनको भित्तामा किलाले ठोक्तैछे । हुन त मेरो समकालीन मनीषासँग त्यति प्रगाढ मित्रता नभए पनि बोलचाल त हुन्थ्यो नि । अस्ति भर्खर एउटा किताबको विमोचनमा राम्ररी नै बोलेकी थिई-आज के भयो उसलाई ? किन रिसाएकी होली ? मैले के नराम्रो गरेकी छु र उसलाई । न त अगाडि उसँग झगडा नै गरेकी छु न त विवाद नै गरेकी छु ? न त उसको पछाडि कुरा नै काटेकी छु ? कसैले भएनभएको कुरा लाइदिएकी ? के भर भयो र ? हाम्रा साथीहरूमा छुल्याहा प्रवृत्ति भएका र रिस गर्ने साथीहरू नभएका होइनन् । त्यस्तो कुरा लगाएर कति साथीहरूको बीच मनमुटाव, झगडा र बोलचाल बन्द भएका घटनाहरू नभएका होइनन् । उठेर म आफैँ मनीषासँग बोल्न जान खोज्छु तर मेरो अहंको डोरीले मलाई तानेर उसको अगाडि जान दिँदैन । किन म झुकूँ उसको अगाडि जब कि मेरो कुनै गल्ती नै छैन ? यदि उसले केही कुरा सुनेकी भए सीधै मसँग भन्न आएकी भए हुन्थ्यो । सबै कुरा साफ भइहाल्थ्यो । तुस रहन्नथ्यो दुवैको मनमा ।

मनीषा नबोलेकीले जति उज्यालिन र रमाउन प्रयत्न गरे पनि मन कताकता दुःखी भइरहन्छ, पीरो भइरहन्छ । सम्पूर्ण रमाइला दृश्यहरू, गफहरू, हाँसो, ख्यालठट्टा सबै धमिलिँदै र शुष्क हुँदै जान्छन् । आत्मगौरव र खुसीले चुलिएको मन अवसादको जालोले ढाकिन्छ । मनीषाले चलाएको अपमानको कैँचीले मेरो मानमर्दन भएको अनुभूति हुन्छ । हरे, मान्छेको खुसीको आयुको कस्तो अल्पायु ? कति क्षणिक Û

मभित्र खलबलिएको मौन उद्वेगलाई कसको अगाडि व्यक्त गरुँ ? चाहेर पनि आफ्नो व्यक्तित्वमा धक्का लाग्ला भनेर चुपचाप मनीषाको उपेक्षाको विष पिइरहन्छु ।

मनीषाले मौनरूपमै युद्ध गरिरहेकी हुन्छे नबोलिकन, मलाई नहेरिकन । म मनीषासँग मानसिकरूपमा पराजित भएको महसुस गर्छु । मसँग प्रत्यक्षरूपमा विवाद गरेकी भए सामना गर्थे हुँली । पहिले मनै नबोलेकी भए मलाई यतिविघ्न छटपटी र क्लेशको आवरणले ढाक्ने थिएन । अहंमा चोट पर्नुजस्तो ठूलो पीडा अरू के हुनसक्छ र ?

हुन त यो भीडभाडमा मनीषाले मसँग बोल्न आवश्यक नठानेर हो कि नबोलेकी ? अरूसँग कुरा गर्दागर्दै मसँग कुरा गर्न बिर्सी की ? जहाँसम्म मलाई चाहिँ लाग्छ उसले जानाजान मसँग नबोलेकी नै हो । मनमा औडाहा छुट्छ ।

मेरालागि सबै बिरसिला हुन्छन्-त्यो स्वादिलो वातावरण, स्वादिलो खाना, मेरा प्रशंसाहरू । अलिकति खाएर दुलाहा भुपेन, उसकी नववधूसँग र अन्य साथीहरूसँग बिदावारी भएर चार/पाँच जना साहित्यकार भाइबहिनीहरूलाई मोटरमा घरघरमा पुर्‍याएर म घर आइपुग्छु ।

राति निद्रा कहाँ लाग्नु ? मनीषाको तीतो व्यवहार हृवारहृवारती आउँछ आँखाभरिभरि । जति पन्छ्याउन खोजे पनि म असमर्थ भइदिन्छु । मनीषा पनि राम्रै कथाकार-कवि हो । मेरा कथा-कविताको चर्चा धेरै हँुदा ईष्र्याले मसँग नबोलेकी हो कि ? मनीषाले यस्तो त गर्न नपर्ने हो । स्वस्थ प्रतिस्पर्धा साथीहरूसँग हुन्छ-ईष्र्याले जल्नु ठीक होइन नि । मनीषाको मौन उपेक्षाबाट दग्ध हुँदै पूरै रात छ्याङ्गै बित्छ ।

मलाई सहृय हुँदैन । बिहानको चीसो बतास पनि मलाई तातो लाग्छ । आरुको बोटको हाँगामा कागले काँ…काँ गर्दा पनि मन तर्सेजस्तो हुन्छ । केके हराएजस्तो, केके नपाएजस्तो, केके हँुडलो मच्चिएको जस्तो भइरहन्छ यो मनमा । फूर्ति पटक्कै छैन शरीरमा । थाकेको अनुभूति भइरहेछ शरीरमा । श्रीमान्सँग पनि मन दुःखेको कुरा गर्न मन लाग्दैन मलाई । तर कहीँ न कहीँ मन पोख्न र यो औडाहाबाट छुटकारा पाउन मन लागेको छ ।

सन्ध्यालाई दिउँसो घरमा आउन फोन गर्छु । उसले आउँछु भनेपछि मन केही हलुङ्गिन्छ ।

मलाई सन्ध्याको स्वभाव मनपर्छ । कहिलेकाहीँ कसैप्रति द्वेष भावना जाग्यो भने उसले एउटी साध्वीले जस्तै प्रवचन दिन्थी- कसैप्रति मनमा द्वेष, घृणा, रिस र क्लेशको भावना पलाउनु भनेको आफ्नै मन भारी हुनु हो । यस्तो भारी मन लिएर कसरी बाँच्न सकिन्छ ? कसरी सिर्जनात्मक काममा लाग्न सकिन्छ ? कसरी खुसी बटुल्न सकिन्छ ? मनमा कुनै क्लेशको भारी नबोकी हलुङ्गो भएर, खुला हृदय लिएर जीवन जिउनुपर्छ ।

रमाइली र मस्ताना स्वभावकी सन्ध्याको बिचार सुन्दा म अत्यन्त प्रभावित भएकी थिएँ ।

सन्ध्याको कुरा सम्भिmँदा पनि मनलाई शान्त गर्न सक्तिनँ ।

आज म त्यही क्लेशको र गुनासोको भारी बोकिरहेँछु । कसरी छुटकारा पाउँ यो भारीसँग ? कहाँ बिसाउँ यो

भारीलाई ? सन्ध्या आएपछि आफूभित्रको सम्पूर्ण

उहापोह पोख्छु । मेरो कुरा सुनेर सन्ध्या मज्जाले हाँस्छे र भन्छे-सदिच्छा ! मनीषा नबोलेर तिमीलाई के फरक पर्छ र ? तिमीसँग सबैजन्ाा बोल्नैपर्छ भन्ने कुनै जरुरी छैन । हिजो पार्टीमा सयौँजना तिमीसँग बोले, हाँसे, कुरा गरे, तिम्रो कथा-कविताको प्रशंसा गरे । के यही काफी होइन र ? किन बिर्सेकी यी सबै खुसीका कुराहरू ? मात्र मनीषा नबोलेकीमा किन यतिविघ्न चिन्ता ? त्यति धेरै खुसीका सामग्रीहरू एकातिर थन्क्याएर एउटै दुःखमा किन आफूलाई घेरेकी ? यस्तो गर्नु के मनासिव हो र ? संसारमा सबै मान्छे न त सबैका पि्रय हुनसक्छन्, न त अपि्रय नै । मान्छेले आ-आफ्नो रूचिअनुसार आफ्नो बाटो रोज्छ-आˆनो साथी रोज्छ । हरेक कुरालाई सहजताका साथ लिन सक्दा नै जीवन जिउन सजिलो हुन्छ सदिच्छा ।

कहिल्यै विवादमा नपर्ने सन्ध्याको कुरा सुनेर चकित हुँदै उसको अनुहार पुलुक्क हेरेर मुस्कुराउने प्रयास गर्छु । साँच्चै सन्ध्या कति समझदार छे । मानौँ जीवन जिउने कलाकी पाठशाला नै हो सन्ध्या ।

मनको भारी कता हराएछ कुन्नि ! बिस्तारै शान्ति र शीतलता अनुभव हुन्छ ।