Kishor Pahadi – Awaj Mobile Ko (Nepali Short Story)

किशोर पहाडी – आवाज मोबाइलको
(Source: Madhupark, मंसिर २०६५)

महानगरको मध्यभागमा रहेको एउटा सानो हल ।

हलमा देशका केही रङ्गकर्मीहरू भेला भएका थिए । ज्यादै गम्भीर विषयमा उनीहरूको व्याख्यान चलिरहेको थियो- “नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका” ।

सुरेखाजी बोल्दै हुनुहुन्थ्यो- “…अब देश गणतन्त्रात्मक भइसकेपछि रङ्गकर्मीहरूले पनि आफूलाई सोहीअनुहरूप प्रस्तुत गर्नसक्नुपर्छ ।…”

बीचैमा अचानक कसैको मोबाइलको घण्टी बज्यो । श्रीधरभाइको रहेछ । खल्ती समाउँदै, कुपि्रँदै उनी हलबाहिर निस्के ।

सुरेखाजीले ३-४ मिनेटमै बोल्न सिध्याएपछि अनि विगतका राजावादी सौभाग्य थापाले रङ्गकर्मभन्दा पनि बडो गर्वकासाथ आफू लोकतन्त्र प्रेमी भएको व्याख्यान छाँट्न थाले । त्यो व्याख्यानको सुरुमै कसैको मोबाइल फेरि बज्यो । मोबाइल हेर्दै, कुपि्रँदै रघु श्रेष्ठ पनि हलबाहिर गए ।

अब बोल्ने पालो श्रीधरभाइको थियो । ज्यादै छोटकरीमा आफ्नो विचार राख्दै थिए कि एकैचोटि दुई जनाको मोबाइल बज्न थाल्यो । ध्रुव र विजयको रहेछ । दुवैले आ-आफ्नो मोबाइल अफ गरे ।

अन्तमा वरिष्ठ रङ्गकर्मी तथा त्यस समारोहका सभापति सहदेव शर्मालाई “नयाँ नेपालमा रङ्गकर्मीहरूको भूमिका” विषयमा मन्तव्यका साथ सभा विसर्जन गर्ने अभिभारा दिइयो । शर्मादाइ उठ्नुभयो र माइकको अगाडि पुगी भन्नुभयो – “म अरू केही पनि भन्दिनँ । …यत्ति भन्छु- अबदेखि यस्तो समारोहमा सबैले आ-आफ्नो मोबाइलको स्विच अफ गरिराखौँ ।… … …”

उहाँले यत्ति मात्र के भन्नुभएको थियो, वातावरणमा फेरि मोबाइलको घण्टी गुञ्ज्यो । अहिलेको यो आवाज अन्तबाट नभई शर्मादाइकै खल्तीबाट आइरहेको रहेछ । अकमकिँदै सभापति सहदेव शर्माले आफ्नो खल्तीबाट फोन निकाल्नुभयो र माइक अगाडि उभिएको उभियै फोनमा भन्नुभयो- “हैलो… …म तिमीलाई एकछिनपछि फोन गरुँला ।… …”

Kishor Pahadi – Awashesh Basti (Nepali Short Story)

किशोर पहाडी – अवशेष वस्ती

पूरावस्ती चारैतिर अस्तव्यस्त भएर थुप्रिएको थियो । नीलो हाफ ज्याकेट लगाएका केही मान्छेहरू त्यो अवशेष वस्तीम छिरेका थिए । चारैतिर शून्यता थियो कोलाहल पूर्ण भूकम्पपछिको शून्यता ।

नीलो ज्इाकेट लगाएका मान्छेहरू त्यो भूकम्पले आक्रान्त वस्तीमा शान्त मुद्रामा थिए । वस्तीका अरूहरू आतङ्कित मुद्रामा उनीहरूलाई हेरिरहेका थिए ।

भेट भयो त्यो वस्तीमा एक सुन्दर बालिका । करिब १२ वर्षकी त्यो बालिका सबैभन्दा अलि पर गुँडुल्किएर बसिरहेकी थिई ।

नीलो ज्याकेट लगाएकाहरूमध्ये अगाडिको व्यक्तिको आँखा त्यो बालिकामा पर्‍यो ।

ऊ सरासर त्यो बालिकासम्म पुग्यो तर त्यो बालिकाले उसलाई हेर्दा पनि हेरिन ।

व्यक्तिले उसलाई सोध्यो -“नानी ! तिम्रो नाम के हो ?”

त्यो बालिकाले जवाफ दिइन् “तिमी किन यहाँ बसिरहेको ?” तर पनि त्यो बालिका बोलिन । “भन न नानी, तिमी किन बोल्दिनौ ?” तर पनि त्यो बालिका चूपचाप थिई ।

“तिमीलाई के चाहियो ? खानेकुरा ? पानी ? चकलेट ? .. के चाहियो भनन ।”

अब बालिकाले मुन्टो अलिकति उठाई । ट्वाल्ल त्यो व्यक्तिलाई हेरी । बालिकाको आँखा आँसुले लथपथ थियो ।

“भन न के चाहियो तिमीलाई ?”

बल्ल त्यो बालिका बोली -“मलाई ? अंकल, मलाई मेरी आमा चाहियो । उहाँ यहँा भुइँचालोले पुरिनुभएको छ ।”