Acharya Prabha – Swarthi Chahana

आचार्य प्रभा – स्वार्थी चाहाना

कान्छी छोरीको विवाह हुन नसकेकोमा उनी असाध्यै चिन्तित थिइन् । हुन पनि त हो, उमेर पुगिसक्दा समेत कुनै केटोले फर्केर नहेर्नु, माग्नसम्म न आउनु कुनै पनि आमाको लागि चिन्ताको बिषय नै बन्छ ।

एकदिन उनी दलानमा बसेर छोरीसँग कुरा गरिरहेकी थिइन् । छेउमा आफूले बच्चादेखी पालेको छाउरी कुकुर, जस्को नाम मिक्की थियो, खेलिरहेकी थिई । परबाट एउटा कुकुर लुरुलुरु कुद्दै आइरहेको देखेर मिक्की पनि पुच्छर हल्लाउँदै उक्त कुकुर भएतिर गई । आमा चाहीँले मिक्किलाई रोक्न खोजिन् । तर, मिक्की उम्किएर उक्त कुकुर भएतिर पुगी । आफूले रोक्न खोज्दा पनि मिक्की फुत्किएर भागेकिमा उनलाई खपिनसक्नु रिस उठ्यो र रिसको आवेगमा उनले एउटा बलियो लट्ठिको झट्टिले मिक्कीलाई ताकेर हानिन् । मिक्की उक्त झट्टिको प्रहारले भुतुक्क भएर भुइमा लडी । यो दृष्य देखेर छोरी रुन थालिन् । मिक्की उनको प्रिय कुकुर थिई जस्लाई उनले बच्चामा नै साथीको घरबाट ल्याएर लालन पालन गरेर हुर्काएकी थिइन् । मिक्की आँखा पल्टाएर छट्पटी रहेकी देख्दा उनको आँखाबाट अश्रुधारा बग्न थाल्यो । उन्ले रुदै भन्न थालिन् । ”आमा यो तपाईंले के गर्नु भएको ? एउटा निरीह पशुलाई तपाईंले यसरी रिस पोख्नु हुन्छ ? यस्ले त्यस्तो के बिगारेकी थिइ र तपाईंले यस्तो मरणासन्न अवस्थामा पुर्‍याउनु भयो ?”

आमाले छोरीलाई सम्झाइन्, पशुको केही अधिकार हुँदैन ऊ सधैं बन्देजमा नै रहनु पर्छ । उसका कुनै प्राकृतिक नियम र चाहना नै हुँदैनन् । ”अनि किन त अर्को कुकुर देख्न साथ कुदेर जानु ? झन मैले त्यत्रो रोक्दैछु नटेरी कुदेर गइ फेरि बच्चा जन्माउँने भइ भने कस्ले त्यस्को बच्चाहरुलाई स्याहर्छ ? बन्धनमा राख्दा पो अरु कुकुरसँग … ।” यति भन्दै आमा चुप लागिन् ।

आमाको कुरा सुनेर छोरीले ब्यङ्ग्यात्मक हाँसो उडाउदै भनिन्, ”आमा तपाईंलाई आफ्नी छोरीको विवाह नहुँदा र कुनै केटोले नहेर्दा ठूलो पीर परेको छ । जस्लाई पनि त्यही पीडा पोख्नु हुन्छ । मेरी छोरीको अझसम्म विवाह हुन सकेन घरजम बस्न सकेन भनेर । तपाईंलाई आफ्नी छोरीको भने त्यत्रो पीर छ भने मिक्की पनि त म जस्तै छोरी हो भगवानले उस्लाई कुकुरको जूनी दियो । ऊ पशुमा गनिइ तर ऊ पनि त प्रकृतिको देन हो । बोल्न ,भावना पोख्न पो सक्दिन त ! पशु नै भए पनि उनिहरुका पनि जोडी हुन्छन् ,बच्चा जन्माउने अधिकार हुन्छ उनीहरुलाई पनि स्वतन्त्रता चाहिन्छ । तपाईं मान्छे भएर पनि यो कुरा किन बुझ्नु हुन्न ? हामी मान्छे भएर गर्व गर्छौ र अर्काको अधिकारमा हस्तक्षेप गर्छौ र आफ्नो मात्र हित र स्वार्थ हेर्छौ भने हामी मानव हुनुको औचित्य नै के भयो र ? बिचरी मिक्की आफू एक्ली भएकीले साथी पाउनुको खुशीमा आज मरणासन्न अवस्थामा पुगी । तपाईंलाई भने आफुले बहादुरी गरेको भान भयो । छाडिदिनोस् अब मेरो विवाहको चिन्ता । मेरो आफ्नै केटो छ । जो भद्र र सुशील छ । हामीलाई विवाह गर्न हत्तार छैन । हाम्रा लक्षहरु धेरै छन् । विवाह हुनु नै सम्पूर्ण होइन । हामी पहिला आफ्ना लक्ष पूरा गर्छौ अनी पछि विवाह । मिक्कीमाथि अाक्रोस पोखेर अब त तपाईंलाई चित्त बुझ्यो होला तर … । हामी कोही पनि आफ्नोमात्र स्वार्थमा नलागौँ । प्रकृतिले सबैलाई जन्म,मरण र जीवनसाथी रोज्ने अधिकार दिएकी हुन्छिन् त्यसैले कसैको पनि इच्छा र आकांक्षामा कुठाराघात नगरौँ । मान्छे सर्वश्रेष्ठ प्राणी त हो तर निरिहहरुलाई आफ्नो बसमा राखेर आफू अभिमानी बन्ने मात्र खुबी हामीमा छ ।” यति भन्दै छोरीले मिक्कीलाई मुसार्न थाली मिक्कीले छट्पटाएर टाउको लरक्क पारी ।

आमाको मनमा आत्माग्लानी छायो । उनी हत्केलाले मुख छोपेर रुदै पश्चाताप गर्न थालिन् । ”साँच्चै म पनि कति निष्ठुरी र स्वार्थी भएँछु। मिक्कीले त्यस्तो के गल्ती गरेकी थिई र ? खाली आफ्नो साथीमात्र त खोजेर गएकी थिई नि ! यत्तिका बर्षसम्म घरको रखवारि गरेर बसी । आफ्नै बच्चा जस्तो लाग्थ्यो तर आज उस्को सानो खुशीमा म दैत्य बनेर उस्लाई मरण रोज्न लगाएँ । मेरा सन्तानहरु मध्येमा आज एउटा सन्तान गुमाएँ । म कति पापिनी र स्वार्थी भएँ । यत्तिकैबिचमा छोरीले मिक्कीलाई कपडामा लुटुपुटु पारेर आँखाबाट ओझेल बनाइसकेकी थिइन् ।

Acharya Prabha – Akalpaniya Nimantrana [Nepali Laghukatha]

सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मीठो गरि पकाएकि छिन् । ”

सरोज अनायास झस्किन्छ । अनि प्रश्न गर्छ “पकाश, कहाँबाट ल्यायौ त परेवा?” प्रकाश ठट्टाको साथ जवाफ दिन्छ “ख्वै? कुन धर्मात्माले के को भाकल गरेर परेवालाई पूजाआजा गरि रातो अविरको टिका लगाएर उडाएको रहेछ । कहाँबाट कसरी मेरो कौशीमा बस्न आएछ । यसो छेउमा गएको त भागेन, अनि मैले समातेर किन यसको स्वाद नलिउँ त भनेर मारिवरी श्रीमतिलाई पकाउन लगाएँ । यसै खुशीमा तिमिलाईपनि बोलाई हालेको नि । खाउ न मीठो छ । मलाई त परेवाको मासु असाध्य मीठो लाग्छ ।” यतिका गफ चुट्दै प्रकाश मासुको टुक्रा चपाउनमा व्यस्त हुन्छ । सरोज भने प्रकाशको शब्दहरुले किँकर्तव्यविमूढ बन्छ । उसलाई त्यो मासुको भाँडो नै आफुबाट टाढा हुँईक्याई दिउँ जस्तो लाग्छ । उसलाई एक पलपनि त्यहाँ बसेर अरु गाँस मुखमा लगाउन पटक्क ईक्षा हुँदैन । उ विचलित बन्छ । सरोज अनायास गम्भिर भएको देखेर प्रकाशले पुनः प्रश्न गर्छ “सरोज, के भयो ? तिमि अचानक गम्भिर भयौ । तिमिलाई परेवाको मासु मन पर्दैन ?”

प्रकाशको यस प्रश्नले सरोज अनुत्तरित बन्छ । उसलाई दिक्क लाग्छ किनकि यहि परेवालाई उसले बिहानमात्र देशको शान्तीकोलागी कामना गरेर पूजा आजा गरि उडाएको थियो । उ पश्चातापमा पर्छ अनि मान्छेको जातलाई धिक्कार्छ । जसलाई शान्तीको प्रतिक मानेर पूजा गरिन्छ उसैको मासु जिब्रोमा फडकार्दै स्वादिष्ट मानेर खाईन्छ । यो कस्तो बिडम्बना, उ अन्यौलमा पर्छ । उठेर भागुँ या साथीको निम्ता स्विकारुँ ? यत्तिकैमा उसको मोबाईलको घण्टि बज्छ । फोन रिसिभ गर्दा एक अप्रत्यासित घटनाको खबर आउँछ । दुई पार्टीबीचको झगडामा पाँचजनाको मृत्यू र ति मध्ये एक सरोजको आफ्नै भाई परेको खबरले सरोज अवाक् बन्छ र प्रकाशलाई खबरको वृत्तान्त नभनि हत्तारिँदै बाहिर निस्कन्छ ।

Acharya Prabha – Ama Banna Nasaknu Ko Pida

सीमा एक्लै कोठामा झोक्र्याएर बसिरहेकी थिई। अनायस अर्को कोठाको हाँसो र कोलाहलले झस्किइ अनि जुरुक्क उठेर नियाली । उसको लोग्ने छोराछोरीहरूसँग बच्चा झैँ जिस्किएर खेलिरहेका थिए। मानौ ऊ पनि दस, बाह्र बर्षको बालक हो र ऊ आफ्नो सन्तुष्टी र खुशी छोराछोरीहरूमाथि बर्षाइरहेछ । उता निलिमा भने पलङमा पल्टिएर आनन्दले बिभोर भै उनीहरूको रमिता हँसिलो मुद्राले हेरिरहेकी थिई।

सीमा “नारी कल्याण केन्द्रकी” अध्यक्ष जस्ले समाजका शोषित, पीडित नारीहरूकालागि आवाज  उठाएर धेरै पीडित नारीहरूको कल्याण गरिरहेकी छ । ऊ निस्वार्थ भावनाले प्रत्येक महिलाहरूको हक हितको लागि लडिरहेकी छ । आज पनि ऊ एउटा त्यस्तै घट्नाको छलफल गरेर पीडित महिलाहरूको अधिकार दिलाई दिएर आएकी जुन महिलाको विवाह भएको ६ बर्षसम्म बच्चा नभएर लोग्ने, स्वास्नी दुबै जनाको सल्लाहले दोश्रो विवाह गरेको थियो तर दोश्रो विवाह गरे पश्चात उसको श्रीमानमा परिवर्तन आयो। समयको अन्तरालसँगै दोश्री श्रीमतीबाट छोरा भयो। त्यस पश्चात झनै उसको श्रीमान स्वार्थी र कपटी अनि ऊप्रति कर्तब्यहिन बन्दै गयो । ऊ आफ्नी कान्छी श्रीमती र बच्चाप्रति मात्र समर्पित भयो । आफ्नो श्रीमानको  त्यस्तो नकारात्मक ब्यवहाँर र ऊप्रतिको हेय दृष्टिले ऊ दिन प्रतिदिन निर्बल बन्दै गैइ । उसको भावना, सपना, कल्पनामा ठुलो ठेस लाग्यो किनकि आमा हुन नसक्नु उसको कमजोरीको  कारणले लोग्नेको खुशी र सन्तानको लागि उस्ले आफ्नो श्रीमानलाई अर्की विवाह गरेर खुशी बाँड्ने सुझाउ दिएकी थिई। तर अफसोच! अनायस लोग्नेमा आएको परिवर्तन र ऊप्रतिको तिरष्कारले ऊ बिह्वल बनेर आफ्नो श्रीमानसँग माया र अधिकार माँग्न उस्ले ”नारी कल्याण केन्द्रमा” अपील गेरेकी थिई । त्यही समस्याको समाधान गरेर सीमा घर पसेकी थिई ।

ऊभित्र पनि कालो आँधीबेहरी मँडारिरहेको थियो किन कि ऊ पीडित नारीहरूको निम्ति अधिकार दिलाउन र उनीहरूको खुशी फर्काउन प्रयत्नरत थिई। तर ऊ आँफै एउटी पीडित नारी थिई जस्को प्रेम विवाह भएको ८ बर्षसम्म सन्तान नभएर उसको श्रीमानले पनि दोश्री विवाह गरेर दुइवटा छोराछोरीको आगमनमा नौलो जीवन आराम्भ गरेकाथिए। तर सीमा भने हरपल असन्तुष्टिको खण्डहरमा जकडिँदै गैरहेकी थिई। आमा बन्न नसक्नुको पश्चताप र आफ्नो श्रीमानको प्रत्एक पलको दुरीले भित्रभित्रै जलिरहेकी थिई। किनकि उसको श्रीमानको ब्यस्तता र छोराछोरीप्रतिको आकर्षणले सीमालाई आफू श्रीमानबाट टाडिएको आभास भैइरहेको थियो। अनि आफूले पाउने लोग्नेको माया अरु कसैसँग बाँडिदा ऊ भित्र पीडाको आगो सल्किरहेकोथियो। तर पनि ऊ ओँठमा फोस्रो हाँसो बोकेर आफ्नो ब्यथा ओकल्न नसकी अन्य पीडित महिलाहरूको अधिकारको लागि लडिरहेकी थिई। यसरी सीमा आफू पीडाको सागरमा पौडिएर अरुलाई किनारा दिइरहेकी थिई।

पल्लो कोठाको दृश्यले सीमाभित्र नमीठो आघात पर्यो । ऊ अतितमा डुब्न पुगी । यत्तिकैमा निलीमाको तीखो आवाजले झस्की  “तपाईं त छोराछोरी भनेपछि भुतुक्क। अरुलाई त सम्झिने फुर्सद हुँदैन हैन? आफूले चाहिं आफ्नो बुढा भनेर अघिदेखि तातो दुध ल्याएर पर्खिरहेकी छु खै आउनुहोस् छिटो । छोरा छोरीसँग भोलि पनि खेल्ने समय छ।”

निलिमाको कुरा सक्न नपाउदै श्रीमान जुरुक्क उठेर कोठाको ढोका लगाउछ। भित्र दुई लोग्नेस्वास्नी भित्रिएको आवाज सुनिन्छ नीलिमा भनिरहेकी हुन्छे । “भो छाड्नु होस् मलाई ज्यादा चेप्रो पार्नु पर्दैन! जानु नि आफ्नै बच्चाहरू सँग मात्र म त को हुँ र?”

श्रीमान पनि उत्तेजित हुँदै भनिरहेको हुन्छ “तिमी भनेकी मेरो सृष्टि बसाइदिने स्वास्नी हौ । तिमीले गर्दा त आज मेरो आँगन रमाइलो भयो। यस्ता सुन्दर बच्चाहरूसँग खेल्न पाएँ । धन्य छ तिम्रो गुण मलाई, तिमी मेरी प्रिय श्रीमती हौ । ”

ती दुइको वार्तालाप र श्रीमानको बद्लिदो ब्यवहारले सीमा खिन्न बन्छे र अतितका मीठा झल्झल्का हरू आँखाभरि साँच्दै सुस्ताएर गहभरि आसुँ पारेर ओछ्यानमा ढल्कन्छे । कुन बेला निद्रादेवीले उसलाई अंगाल्छ उसलाई पत्तो नै हुन्न।