Kumud Adhikari – Jiwan Ek Yatra

कुमुद अधिकारी – जीवन एक यात्रा

उफ् ….! यो हल्ला….! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्ने गरी “बदाम…. ए.. बदाम… ए चटपटे…नारियल…मेवा….आजको ताजा खबर….” मानौँ व्यापार भनेको यही मात्र हो र ग्राहक बसभित्र मात्र छन्। तर म निरुपाय छु। अरू मानिसहरूलाई हेर्छु, कति मज्जासँग बसेका छन्। सायद यी सबैलाई मजा लाग्दो हो यो कोलाहल। कोही त मस्तसँग निदाइरहेका पनि छन्। जे भए पनि सहनै पर्‍यो….सायद जिन्दगीमा सहनुको अर्को विकल्प छैन, कमसे कम मेरा लागि।

सुन्दर मिथिलानगरी जनकपुर। यही जनकपुरको बसपार्कमा एउटा विराटनगर जाने बसमा बसेकी छु म। बितेका वर्षहरू, महिनाहरू र दिनहरूले ममा अचम्मलाग्दो निस्सारता भरिदिएका छन्। जीवनलाई सुन्दर बाटो र त्यसको यात्रा ठान्ने मेरा विश्वासहरू केही डगमगाउन लागेझैँ हुन्छन्। विश्वास डगमगाए पनि मैले तिनलाई ढल्नचाहिँ दिएको छैन। त्यस्तै विश्वासहरू थामेर जीवनयात्रालाई निरन्तरता दिनु नै छ। निस्सारतालाई पुस्तकमा साट्ने गरेकी छु मैले अचेल। केही पछुतो पनि लाग्छ, कहिलेकाहीँ, किन बेलैमा पुस्तकहरूसँग मित्रता गाँसिनँ मैले। अहिले सम्झन्छु मैले ती दिनहरूमा पुस्तकहरूसँग मित्रता गाँसेको भए मेरो जिन्दगीको बाटो अर्कै हुन्थ्यो होला। सायद म जीवन्त जीवन जिउँथे होला। तर समयको धारलाई न कसैले बदल्न सक्यो न सक्छ। जुन कुरो हुन सकेन त्यसमा समय खेर फाल्नुभन्दा जे हुनसक्छ त्यसमा चिन्तन गर्नु नै ठीक होला ? यी कुरा पनि मैले पुस्तकहरूबाट नै थाहा पाएकी हुँ।

म जनकपुरको बसपार्कमा बसभित्र कहिले यसले यात्रा थाल्छ होला भनेर पर्खिरहेकी छु। दिएको समय त बाहिरिइसक्यो तर बस गुड्ने सम्भावना अझै देख्तिनँ। नेपाल न हो, हामीले समयलाई कहिले चिन्यौँ र ? जे भए पनि बसले विराटनगर त पुर्‍याउला नै।… अब के गर्ने त ? म मेरो छोरासँग बसको दाहिनेपट्टिको 6 नम्बरको सिटमा झ्यालनेर बसेकी छु। झ्यालबाहिर पनि हेर्दै छु र बेलाबेलामा छेउमा बसेको छोरालाई पनि हेर्दै छु। मेरो छोरो मसँग टाँसिएर बसेको छ। अब म बसभित्र र बाहिर आफ्नो जिन्दगी खोज्न थाल्छु।

उः बाहिर श्री भवनाथ झा हिँडिरहेका छन्। म झ्यालबाट स्पष्ट देखिरहेकी छु।श्री भवनाथा झा मेरा श्रीमान् हुन्। तर म उनकी श्रीमती हुँ कि हैनँ ? शङ्कै छ धेरैलाई ? म आफैँलाई ? खै कुन्नि ? उनीसँग उनको छोरो छ, म छु। कस्तो अचम्म मैले मेरा श्रीमान् र छोरासँग आफूलाई हिँडिरहेको देखिरहेकी छु। मेरो छोराले अचानक आग्रह गर्छ- “बाबा ! मलाई चाउचाउ किनिदिनुहोस् न !” म र मेरो छोरो दुवै आस गर्छौँ चाउचाउ किनिदिनुहुन्छ कि भनेर। तर छोराले त्यसो भनेपछि श्री भवनाथ झा हामीबाट अलि परपर हिँड्न थाल्नुभयो। मलाई लाग्यो चाउचाउ दोकान नभेटेर होला। तर त्यो दूरी बसपार्क आउन्जेल कम भएन। चाउचाउ त कता हो कता। छोरो रटेको रट्यै छ “चाउचाउ…..चाउचाउ….!” हेर्छु छैवैमा पसल छ। किनिदिन्छु एक प्याकेट चाउचाउ। सन्तुष्ट हुन्छ ऊ। तर मेरो सन्तुष्टि त कता गयो कता। मलाई श्री भवनाथ झाको हामीसितको दूरी राम्रो लागेन, मैले बुझ्न पनि सकिनँ। बस छेउमा पुगेपछि बर्साउँछु क्रोधका लहरहरू- “तपाईँ किन हामीबाट परपर हिँड्नुभएको ? छोराले त्यत्रो चाउचाउ किनिमाग्दा पनि किन वास्ता नगरेको ?”

उहाँको उडेको अनुहारले बतायो- “बाबुले ‘बाबा’ भनेर बोलायो क्या ! यहाँ कसैलाई थाहा छैन, मैले तिमीसँग बिहे गरेको कुरा।”

“थुक्क ! आफ्नो सन्तानलाई परिचय दिन नसक्‍ने तपाईँ कति लाछी ? के गर्नु र मैले तपाईँलाई के भन्ने? जति भने पनि जीवन उल्टा बग्दै बग्दैन।” लाग्‍नथाल्यो विवशताका पनि आआफ्नै संस्करण हुँदा रहेछन्। गोदानको होरीको विवशता र मेरो विवशता एकै नभए पनि असरहरू झन्डै एकै थिए। बिचरा होरी ! सामन्ती समाजिक रीतिरिवाजले पिल्सिएको ऊ र त्यस्तै पुरुषप्रधान सामाजिक रीतिरिवाजले पिल्सिएकी म पनि।

घ्यार्र….घ्यार्र…. ए बस स्टार्ट हुन लागेछ। अब त विराटनगर पुर्‍याउला कि ? बसको इन्जिनको घ्यार्रसँगै मेरो पनि जिन्दगीको एउटा नयाँ पाटो सुरु हुन गइरहेको छ। हेरौँ कहाँ पुगिन्छ।

बसभित्र चाहिँ उकुसमुकुस छ। म छोरासँग बसेकी छु। वरिपरि मानिसहरू छन्। दुई सिटअगाडि एउटी महिला बसेकी छन्। अगाडि फर्केर खै के हेर्दै छिन्। हेर्छु, म नै जस्तो लाग्छ। अचानक उनी पछाडि फर्किन्, अरे यो के ? उनी त म नै हुन्। म, दुई वर्ष अगाडिकी म। लुगा केही मैलो, कपाल राम्रो नकोरेकी। अनुहारबाट निराशाको झलक आउने। फेरि मैले आफूलाई नै भेटेँ बसमा। दुई वर्षअगाडि म निराश थिएँ, जिन्दगीबाट केही आस थिएन। बाच्नुको अर्थ थिएन। जीवनलाई घचेट्नुपर्ने थियो।

म दुई वर्षपहिले इलाम जिल्ला, लक्ष्मीपुर गाउँको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा प्राथमिक तहकी शिक्षिका थिएँ। त्यसो त अहिले पनि छु र त्यो पद अझै कति रहने हो थाहा छैन। तर फरक छ, त्यसबेला मैले जिन्दगी जिउनुको कारण भेटेकी थिइनँ, अहिले भेटेकी छु। अब मेरो जिन्दगीको लक्ष्य छ। मैले आफ्नै बाटो तय गरेकी छु। म छोरोसँग एउटा डेरा लिएर बसेकी छु। म, निर्मला निरौला उर्फ निर्मला झाका पति र छोरो विश्वेश्वर झाका पिता श्री भवनाथ झा जनकपुरमा बस्छन्। पहिले उनी पनि यतै थिए।

लक्ष्यहीन जिन्दगी घचेट्दाघचेट्दै एक दिन मैले विद्यालयको कहिल्यै नखोलिएको लाइब्रेरी खोल्न पुगेँ। केही भेट्‌छु भनेर त हैन तर त्यसै कुतूहल जाग्यो, हेरौँ न त के छ भनेर खोलेकी थिएँ। प्रधानाध्यापकले पहिले त साँचो दिनै मान्नुभएको थिएन। म केही गडबडी गर्दिनँ भनेर विश्वास दिलाएपछि साँचो दिनुभएको थियो। खोलेर हेरेँ। चारवटा दराजहरूमा पुस्तकैपुस्तक थिए। दराज वर्षौँदेखि खोलिएका थिएनन्। मैले यस विद्यालयमा काम गरेको पनि 12 वर्ष भइसक्यो मैले कहिल्यै यो कोठा खोलेको देखेकी थिइनँ। कोठाभरि धूलो र माकुराको जालैजालो थियो। एउटा लठ्ठी टिपेर माकुराको जालो पन्छाउँदै, भित्र पसेँ र ढोकाको छेउको दराज खोलेँ। कब्‍जामा खिया लागेकाले निकै बल लगाउनुपर्‍यो। खातका खात किताबमाथि मेरो नजर पर्‍यो। यौटा पुस्तकको धूलो यसो टकटक्याएर हेरेँ, देखेँ विश्वेश्वर लेखेको छ। अरे मेरै छोराको नाम, किताब निकालेर शीर्षक हेरेँ, विश्वेश्वरप्रसाद कोइरालाको सुम्‍निमा रहेछ। किताब लिएर त्यस कोठाको ताला लगाएर निस्केँ र पढाउन कक्षा कोठातिर लागेँ। मनमा केही नौलो अनुभूति भइरह्यो।

बेलुका घर आएर हतारहतार खाना पकाएर छोरालाई खुवाएँ, आफूले पनि खाएँ। के छ त सुम्‍निमामा, कुतूहल त छँदै थियो। तर मलाई यो के भइरहेछ ? अगिसम्म मेरा गोडाहरू घिस्रिन्थे भने अहिले हिँडिरहेका छन्। होला केही। छोरो सुताईवरी मैले सुम्‍निमाको यात्रा आरम्भ गरेँ। सुम्‍निमा….सोमदत्त….सुम्‍निमा…सोमदत्त…। समय बगेको थाहै भएन। तीन घण्टा बितिसकेछ, मेरो सुम्‍निमा र सोमदत्तसँगको यात्रा पनि टुङ्गिएछ। कस्तो अचम्म तीन घण्टाअघिकी म र अहिलेकी ममा निकै अन्तर फेला पारेँ। त्यसबेला कता जाऊँ भन्ने दुविधैदुविधाले घेरिएकी मलाई अहिले मेरो अगाडिको बाटो स्पष्ट भइसकेको थियो। सुम्‍निमा र सोमदत्तसँगको यात्रा सुरुवात थियो…………….।

म फेरि दुई वर्षअगाडिकी मबाट वर्तमानकी ममा आइपुगेँ। बसभित्र मेरो मैसित साक्षात्कार। बस जनकपुरबाट उत्तरतर्फ लागिसकेको रहेछ। हेर्छु वरिपरि सबै आफन्तैआफन्त भएझैँ लाग्छ, यो के भएको मलाई ? मेरा आफन्तहरूसित मात्रैको यात्रा हैन यो। कमसे कम अघिसम्म त त्यस्तो थिएन। हेर्दाहेर्दै ढल्केबर आइपुगेछ।ढल्किएको बर। बरमात्रै किन र मानिसको जिन्दगी पनि ढल्किन्छ यसरी नै। तर जीवनलाई कसरी र कता ढल्काउने हो भन्ने कुरो नितान्त ढल्काउने मानिसमा भर पर्छ। केटाकेटीमा ढल्काउने बाबुआमा र समाज हुन्छन् भने, मानिसको चेत फिरेपछि ऊआफैँ।

बस रोकियो केही बेरका लागि। छोराले फेरि चटपटे भन्न लाग्यो। के गर्ने, केटाकेटी हो, कति सम्झाउँछु बाटामा बेच्न राखेको खानेकुरा खानुहुँदैन भनेर तर पटक्कै मान्दैन। विशेष यात्रा गर्दा बस रोकियैपिच्छे उसलाई केही न केही खान चाहिन्छ नै। किनिदिन्छु अलिकति र आफू खाने लोभ पनि सम्हालेर राख्‍न सक्तिनँ र आफूलाई पनि किन्छु अलिकति। हरेक मानिसमा अलिकति बालापन भएकै राम्रो लाग्छ मलाई।

बसले फेरि गुड्न सुरसार कसेको छ। देख्छु अगाडिको ढोकाबाट उमेर ढल्किएका एक जोडी पस्छन्। अचम्म ! मेरा आमाबाबु। मेरा आमाबाबु मेरै सिटको दाहिनेपट्टिको सिटमा बस्छन्। मेरी आमा ! गजबकै बानी थियो उहाँको। म उहाँहरूकी एक्ली छोरी। मेरा दाजु छन् जो म सानै छँदा अरबतिर गएकाथिए रे र धेरै पछिमात्र फर्केर आएका। वास्तवमा भन्ने हो भने मेरो बालापन दाजुबिनै बित्यो। एक्लै बित्यो। मैले जान्दादेखि मेरी आमा साह्रै ढिलो काम गर्नुहुन्थ्यो। एक बिहानको भात तरकारी बनाउन उहाँलाई चारपाँच घण्टा लाग्‍ने। अर्थात् मेरी आमाको सम्पूर्ण समय घरधन्दैमा बित्यो र मैले चाहँदा पनि उहाँको केही समय म चोर्न सक्तिनँथेँ। आमामात्रै त्यस्तो भए त चित्त बुझाउने ठाउँहुन्थ्यो होला तर बुबा ! उहाँ पनि त्यस्तै तर बुबाको व्यस्तता पूजाआजा र जपमा नै सीमित थियो। बुबाको पूजाआजा बिहान एघार बजेसम्म चल्ने र फेरि दिउँसो अनि बेलुका पनि त्यही पाराको ध्यान र जप। मैले बाबुआमाको सान्निध्य कहिल्यै पाइनँ। मेरा जो थिए सङ्गीसाथी नै थिए, त्यसैले मेरो उपस्थिति आफ्ना घरमा खान र सुत्‍नका लागि मात्र हुन्थ्यो।

अहिले म बसमा मेरा बाबुआमा देखेर उनीहरूलाई धिक्कारिरहेछु। एक छाक भात-तिउन राम्ररी पकाउन नसक्‍ने मेरी आमा र अहिलेको जन्मलाई भएभरको दुःख दिएर अर्को जन्म सफल बनाउन पूजाआजा गरिरहने मेरा बा। जिम्मेवारीको बोध यदि उहाँहरूमा अलिकति भइदिएको भए मेरो यो हालत हुन्नथ्यो कि ? मैले उहाँहरूलाई दोष यस कारण दिएँ कि मैले जुन बेला बाटो बिराएँ त्यसबेला मेरो सोचाइ त परिपक्व भएकै थिएन, मैले सही र गलतको निर्णय गर्न सकेकी थिइनँ। तर उहाँहरूले त युग देख्‍नुभएको थियो,आफ्नो समय बाँच्नुभएको थियो र समाज देख्‍नुभएको थियो।

मैले त्यस दिन लाइब्रेरी नखोलेको भए, ममा यस्तो सोच विकसित हुने थिएन। न मेरो कथा म अरूलाई भन्न सक्‍ने थिएँ। मलाई लाग्छ, मेरो जन्मदिनभन्दा प्यारो दिन मैले लाइब्रेरी खोलेको दिन। मेरो पुनर्जन्मको दिन। सुम्‍निमापछि मेरो यात्रा नरेन्द्रदाइसँग भयो, हिटलर र यहुदीसँग भयो, पारिजातको शिरीषको फूल, डायमन समशेरको सेतो बाघ, वसन्ती अनि अरू सयौँ पुस्तकहरूसँग मेरा यात्राहरू हुँदै गए। मैले जिउनुको अर्थ भेट्दै गएँ। सुखको अनुभूति गर्दै गएँ।

यसपालि पनि जनकपुर यात्रामा मैले पुस्तक किन्न बिर्सिनँ। यसपालि अब गएर शरत्‌चन्द्र चट्टोपाध्यायसँग यात्रामा निस्कन्छु। अनि आँटेकी छु, आफ्ना अनुभवहरूलाई कागतमा उतार्नलाई। हेरौँ कहाँसम्म म मेरो कथा लेख्‍नसक्छु। म मेरा आमाबाबुतिर फुस्रो दृष्टि दिन्छु। हेर्छु उनीहरूको अनुहारमा पश्चातापको पीडा र मलिनता छाएको छ। तर के गर्नु पश्चाताप र मलिनताले खोलो कहिल्यै उँभो बगाउन सक्तैन। किन यस्तो भएको हो मेरा आमाबाबु म जता गयो त्यतै आउँछन्। के उनीहरू अझै पनि मेरै जीवनका पाटाहरू हुन् ? के म उनीहरूबाट अलग्ग रहन सक्तिनँ ……?

म झ्यालबाट बाहिर हेर्नथाल्छु। बाटाका छेउका रूखहरू पछाडि कुदिरहेका छन्। देख्छु अलिक परपरका घरहरू पनि पछाडि कुदिरहेका छन्। पछाडि कुद्‍ने यो क्रम यही बसमै मात्र त हो नि। बसबाहिर निस्केपछि फेरि सबैथोक अगाडिमात्र कुद्छन्। पछाडि कुद्‍ने त कल्पनामै सीमित रहने भयो।

बसको कुदाइ जारी छ। एकतमासको कुदाइ। कुदाइकै क्रममा बस कतै यात्रु चढाउन र ओराल्न रोकिएको छ। हेर्छु, बाहिर ठाउँ त उराठलाग्दो छ। फुस्रो जिन्दगी र त्यस ठाउँको रसहीनता उस्तै छन्। तर त्यहाँबाट एक हूल स्कुले केटीहरू बसमा चढे। खै कहाँ जाने हुन् ? सेतो सर्ट र नीलो जामा लगाएका नौ-दस कक्षामा पढ्ने केटीहरू। ती केटीहरूमध्ये म कतै छु कि भनी खोज्न थालेँ, अरे ! मेरो अहोभाग्य, मैले भेटेँ मलाई। मेरै पछाडि। मेरै पछाडि म उभिएकी छु। मेरा भावनाहरू उर्लंदा छन्। जीउ कसिएको छ। अङ्गहरूमा मादकता भरिएको छ। मलाई लाग्‍न थालेको छ मलाई केटाहरूले हेरिरहून्। मेरा अङ्गहरू हेरिरहून्। म उनीहरूका लागि नभई नहुने चीज बनूँ।
म लक्ष्मीपुरको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा कक्षा नौमा पढ्छु। मेरो पढाइ राम्रो नभएकाले जसोतसो कक्षा चढ्दै यस कक्षासम्म आइपुगेकी छु। खै सानैदेखि पढ्नुपर्छ भन्ने, पढाइले मानिसको जिन्दगीलाई सुबाटामा लान्छ भन्ने कुराको हेक्का रहेन र कसैले सम्झाएन पनि। हाम्रो स्कुलमा जनकपुरबाट श्री भवनाथ झा आउनुभएको छ, विज्ञान-शिक्षकको नियुक्ति लिएर। उहाँलाई बस्‍ने ठाउँको समस्या आइपरेको छ। गाउँमा छलफल भएपछि हाम्रा घरमा राख्‍ने निधो हुन्छ उहाँलाई। सायद मेरा बाबुआमाले मेरो पढाइका निमित्त त्यसो गर्न लागेका होलान्। ठीकै छ त्यसो भए पनि। तर मलाई पढ्न मन पटक्कै लाग्दैन। जीउ एकतमासको भइरहन्छ। खै कुन्नि उमेरले हो वा केले हो।

ल ! म त भूतकालमा पो यात्रा गर्न थालेँछु। भूतकालका घटनाहरूले हामीलाई किन यति साह्रो पछ्याइरहेका होलान् ? सोचिरहन्छु म। तर समाधान कहीँबाट पाउँदिनँ। त्यसै बेलादेखि नै हो मेरो अवसान सुरु भएको, जुन कुरो म अहिले थाहा पाइरहेकी छु।
मेरा घरमा बुबा, आमा र म थियौँ। दाजु कतै हराउनुभएको थियो। अरब जानुभएको छ भन्थे तर मलाई सम्झना छैन। हाम्रो तीनतले घर थियो, तल्लो तलामा दुई कोठा थिए। एउटामा भान्सा थियो र अर्को पूजाकोठा। आमा सधैँ भान्सामा र बुबा सधैँ पूजामा व्यस्त हुनुहुन्थ्यो। दोस्रो तलामा दुई कोठा थिए। एउटामा बुबाआमा सुत्‍नुहुन्थ्यो भने अर्कामा म सुत्थेँ। मुख्य घरको सिकुवामा कोठा निकालेर श्री भवनाथ झालाई दिइएको थियो। उहाँ हाम्रैमा खाना खानुहुन्थ्यो र मलाई साँझ-बिहान पढाउने गर्नुहुन्थ्यो। तेस्रो तला सबैकै जस्तो भण्डार वा बुइँगल थियो।

मेरो कोठामा म र सर बसेर पढ्थ्यौँ। वा भनौँ सरले मलाई पढाउनुहुन्थ्यो। केही दिन त मलाई नौलो लाग्यो। र अररिएको जिउ लिएर पढिरहेँ। मलाई पढ्नमा पटक्कै रुचि भएन। पहिले पनि थिएन। पढाइको महत्त्व बुझेको पनि होइन र मलाई कसैले बुझाएन पनि। बिस्तारै म सरका छेउमा गएर बस्‍नथालेँ। उहाँको जिउलाई नजानेजस्तो गरेर छुन्थेँ। उहाँले केही प्रतिवाद गर्नुभएन र मेरो आँट बढ्न थाल्यो। बिस्तारै उहाँको हात समाउन थालेँ, आफ्नो छाती उहाँमा टँसाएर बस्‍न थालेँ। हप्तौंसम्म यो क्रम जारिरह्यो। मेरो इच्छा केही होस् भन्ने थियो। यस्तै हुँदाहुँदै एक दिन अचानक म लड्ने बहानामा उहाँको काखमा पछारिएँ, उहाँले मलाई च्याप्‍नुभयो र त्यही काम भयो जुन मैले निकै अगाडिदेखि चाहिरहेकी थिएँ र सायद उहाँले पनि त्यही चाहनुभएको थियो। यहीँबाट मेरो ओरालो यात्रा सुरु भएको थियो। त्यसबेला त त्यो यात्रा ओरालो लाने हो भन्ने बुझ्ने कुरै भएन। अब सुरुवातपछि त हाम्रो नियमित काम त्यही भयो। अहा क्या मजा ! जिन्दगीभरि यस्तै गरिराख्‍न पाए त हुन्थ्यो नि जस्तो लाग्थ्यो त्यस बेला।

हामी सधैँ त्यसै गरी पढ्थ्यौँ, आमा खाना पकाइरहनुहुन्थ्यो र बुबा पूजा गरिरहनुहुन्थ्यो। अहिले मलाई रिस उठ्छ आमाबाबुदेखि, किन उनीहरूले वर्षौँ झा सरले मलाई पढाउँदा चियो गरेनन् ? किन छोरीको पढाइमा केही पनि सुधार भएको छैन भनेर सोधीखोजी गरेनन् ?
त्यसदिन देखिको मायाको खेल झाङ्गिदै गयो। खै मायाको खेल पनि के भन्ने, मायाकै खेल भएको भए त सुखदायक र दीर्घजीवी हुनुपर्ने। जे होस् त्यसबेला, त्यो सुखदेखि बाहेक अन्य केही पनि सुख हुन्छन् र जस्तो लाग्थ्यो। हाम्रा दिनहरू कति राम्ररी बित्थे, त्यसको बयान म सायद अहिले गर्न सक्तिनँ। उहाँको फुर्सत हुनासाथ हाम्रो रोमान्सयात्रा सुरु भइहाल्थ्यो। हामीले कन्यामका चियाका बुटाहरूसँग बात मार्दै अन्तुडाँडाको परिदृश्य हेर्‍यौँ, मिरिकलाई चिन्यौँ, खरसाङको चियो गर्‍यौँ। हामी एक अर्काको अँगालामा बाँधिएर चियाका बुटाहरूसँग रमाउँदै हिँड्यौ। घण्टौँसम्म उहाँका अँगालामा बाँधिएर रमिता हेर्न मलाई साह्रै मजा लाग्थ्यो। उहाँका काखमा सुतेर आकाशमा डुलिरहेका बादलहरूसँग यात्रा गर्दा लाग्थ्यो म स्वर्गमा छु। यो भन्दा बढी आनन्द के हुनसक्थ्यो होला र ?

राजदुवालीको कन्काईमाईको पुल पनि हामीबाट अछुतो रहेन। इलामको बम्बईसनले जिब्रो मीठो पार्दा मायाभन्दा मीठो अरूथोक केही छ भने त्यो बम्बईसन नै हो कि जस्तो पनि लाग्थ्यो। मूर्ति डाँडा, जौबारी भन्ज्याङहरू हाम्रा क्रियाकलापका साक्षी थिए र छन्। प्रेम र युद्धमा जे पनि जायज छ भनेझैँ हाम्रा क्रियाकलापहरूले सामाजिक सीमा पनि नाघेछन्। त्यसको हेक्का अहिले हुँदै छ।

अचानक बसलाई केही झट्‌का लाग्यो र मेरो दृष्टि फेरि पर्‍यो चुरे पहाडहरूमा। थाहा छैन मलाई यी चुरे पहाडहरू कहिलेदेखि यहाँ उभिएका छन्। यिनीहरूको जस्तो दृढताले एउटै सिद्धान्तमा अडिन सकेको भए जीवन निकै सुखी हुन्थ्यो होला। तर भन्छन् जीवन गतिको अर्को नाम हो। जीवन चल्नैपर्छ। चल्ने जीवनले बाटामा के भेट्‌छ के त्यो त कसले भन्नसक्ला र । मेरै जीवन पनि त त्यसरी नै बदलिँदै गयो। श्री भवनाथ झासँगको सम्बन्धको यात्राले थुप्रै वर्षहरू छिचोलिइसकेछन्। आनन्दमय दिनहरू कति छिटो बित्दा रहेछन्, थाहै हुन्न। असहज परिस्थितिका ज्वारभाटाहरूले हिर्काउन थालेपछि मात्रै चेत फिर्ने रहेछ।

उफ ! मैले ‘म’लाई हेरिरहन सकिनँ। दृष्ठि फेरेँ। लाग्यो म त्यही कुरामा अल्झिइरहन सक्तिनँ। बस कतै रोकियो र ती सबै केटीहरू उत्रिए। तिनीहरूसँगै मेरो बितेको केही समय पनि ओर्लियो।

त्यहाँ खाजा खाने घोषणा गरे बसका कर्मचारीहरूले। बससँगै मैले पनि केही क्षण बिसाउने निधो गरेँ र ओर्लिएँ छोरासँग । एउटा पसलमा गएर समोसाचिया खायौँ आमाछोराले। जीवनका यावत् पक्षहरू देखिन थाले। तिनै पक्षहरूसँग हातेमालो गरेर एकछिन बिसायौँ। फेरि बसमा चढ्ने उपक्रम त गर्नैपर्‍यो। हेर्छु बसभित्र एउटी गर्भवती महिला चढ्न खोज्दै छिन्। पछाडिबाट सहारा दिन्छु र चढाउँछु उनलाई बसमा। भित्र पुगेर आफ्ना सिटमा बस्छु र एउटा नजर दिन्छु ती महिलामा। ल ! म त तीन छक्क। मै पो रहेँछु ती महिला त। मैले नै मलाई सहारा दिएर बसमा चढाएकी रहिछु।

म गर्भवती। लक्ष्मीपुरमा हाम्रा घरमा श्री भवनाथ झा बस्‍नुहुन्थ्यो। म उहाँमा यतिसारो आसक्त थिएँ कि मलाई संसारको सबैभन्दा राम्रो पुरुष उहाँ नै लाग्‍नुहुन्थ्यो। मेरो आसक्तिको परिणामले नै त म गर्भवती भएकी थिएँ। मलाई थाहा थियो उहाँ विवाहित हुनुहुन्थ्यो र पहिली पत्‍नीपट्टिबाट उहाँका तीन छोराछोरी पनि थिएँ। तर प्रेमको आशक्तिले के देख्छ र ? भविष्यको कुरा त मैले सोच्न जानेकै थिइनँ। सिकाएन पनि कसैले। मलाई माग्‍न कैयौँ केटाहरू आए। तर मैले ठाडै बिहे गर्दिनँ भनेर सबैलाई टारेँ। मलाई हेर्न केटाहरू आइरहेका थिए। मेरा आमाबाबुलाई पनि मेरो बिहेको केही हतार लागेको थियो त्यसबेला। एकपल्ट एउटा केटाले मलाई मन पराएर गएछ। मेरा बाबुआमाले उससँग मेरो टीकाटालो गरिदिने भएछन्। म त्यसदिन निकै अत्तालिएकी थिएँ, किनभने मलाई त्यस कुराको जानकारी दिइएको थिएन। केटो आयो, सबै प्रक्रिया पूरा भयो। मैले लज्जावश केही गर्न सकिनँ तत्कालै। तर बेलुका केटाले दिएको सबै सरसामान एक घण्टा लाग्‍ने केटाको घरमा पुर्‍याएर, म तिमीसँग बिहे गर्न सक्तिनँ भनेर आएँ। मेरा दिमागमा भवनाथ झादेखि बाहेक कोही थिएन। उहाँदेखि बाहेक मैले अरूसँग जाने वा बिहे गर्ने कुरा कल्पना पनि गर्न सक्तिनँथेँ। उहाँ श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा विज्ञान-शिक्षक हुनुहुन्थ्यो। मेरो बिहे केही गरे अर्को मानिससँग नहुने देखेपछि उहाँले नै भन्नुभयो- “निर्मला ! तिमी एउटा छोरो पाऊ न त। हेर जिन्दगी एक्लै कसरी कट्‍छ ? म कहिलेसम्म तिमीलाई साथ दिनसक्छु थाहा छैन।” मलाई थाहा थियो उहाँको बाध्यता। बाध्यताले बाँधिएको मानिसलाई मैले कति माया गरेँ कति। मलाई त अरू के चाहिएको थियो र ? त्यस दिन उहाँले मलाई जुन सुख दिनुभयो त्यसको त म बयानै गर्न सक्तिनँथेँ। हामी एकाकार भयौँ। हाम्रा मन मिले, तन मिले। त्यस दिन उहाँ मेरो हृदयको सबैभन्दा नजिक पुग्‍नुभयो। त्यस दिन उहाँबाट छोरो निस्केर मभित्र पस्यो।

केही महिनापछि त्यही छोराले रूप देखाउन थाल्यो। अब त गाउँलेले उछितो काढ्न थाले। मेरो र उहाँको सम्बन्ध जति नै गाढा भए पनि समाजका लागि, मेरा घरका लागि सुपाच्य थिएन। सोच्यौँ, विचार्‍यौँ र एउटा उपाय निकाल्यौँ। उहाँले मलाई विराटनगरमा एउटा कोठामा ल्याएर थन्क्याउनुभयो र आफू चोखो पल्टिन गाउँ फर्किनुभयो। पछि मैले थाहा पाएँ गाउँमा गएर उहाँले गाउँलेको सातो लिनुभएछ- “मैले निर्मलालाई भगाएँ रे ? खै देखाओ ! मलाई गाउँका केटी भगाउने देख्यौ ?”

अब मेरा दुर्दिनहरू सुरु भए। नजानेका मान्छे, नचिनेको सहर। श्री भवनाथ झाले छोडेर गएका पैसाले सौदा ल्याउँदै खाना एक्लै पकाउँदै खानुपर्ने। आपत् ! ग्यासमा खाना बनाउन न कसैले सिकायो न आफूले सिक्‍ने मौका पाएँ, लक्ष्मीपुरमा ग्यास चलाउने कुरै भएन। अरूबेला बाहिर जाँदा केको चासो थियो र ? जे होस् भाँडामा हालेर ग्यास बालेपछि पाक्दो रहेछ र मात्रै नत्र काँचै खानुपर्ने। अबको काम थियो पकाउनु, खानु र कोठामा एक्लै बसिरहनु। गर्भमा शिशु छ। त्यसका लागि। मेरो भविष्यको सहारा होला कि ? छोरी जन्मी भने र मजस्तै भई भने ? चिसो पसिरहन्थ्यो मनमा। दुई महिनामा एकपल्ट मेरा उहाँ आउनुहुन्थ्यो मसँग दुई दिन बस्‍नुहुन्थ्यो र फर्किनुहुन्थ्यो। तनावैतनावमा बिते ती गर्भावस्थाका दिनहरू। मेरा आफन्तहरू आउँथे मसँग कहिलेकाहीँ भेट गर्न । अहिले म सम्झन्छु तिनीहरूको अनुहारको भाव। ती सबै अनुहारहरूमा घृणा र खुच्चिङ लुकेको हुन्थ्यो। त्यस बेला त म त्यस्ता भावहरू पढ्न सक्तिनँथेँ। म उनीहरूलाई सुखी छु भनेर देखाउन खोज्थेँ। कति गाह्रो हुन्थ्यो मलाई अभिनय गर्न। मनमा एकथोक र अनुहारमा अर्कैथोक। आखिर जिन्दगी नै अभिनय रहेछ। बस फेरि कतै रोकिएको छ। मेरा आँखाले फेरि अघि बसमा चढेकी ‘गर्भवती म’लाई खोजे। अरे ! उनी त छैनन्। कतिबेला कहाँ हो बसबाट उत्रिसकिछन्।

त्यहाँबाट एक महिला र एक पुरुष बसमा चढे। उनीहरूको कुरा सुन्दा उनीहरू शिक्षक-शिक्षिका रहेछन्। उनीहरू अहिलेका परीक्षाहरूमा हुनेगरेका विसङ्गतिका बारेमा कुरा गर्दै थिए। विसङ्गति, के हो यो ? उनीहरूले जे कुरा गरिरहेका थिए, त्यसबाट त म पहिले नै गुज्रिसकेकी छु। मलाई थाहा छ पढ्नुको साटो मैले के गरेँ श्री भवनाथ झासँग। श्री भवनाथ झाले मसँग जे गरे त्यसको क्षतिपूर्ति गर्न खोजे, मलाई एस.एल.सी पास गराएर, शिक्षा-सेवा आयोग पास गराई जागिर खुवाएर र मलाई छोरो दिएर। आज मसँग मैले आर्जन नगरेको प्रमाणपत्र छ, अर्कैद्वारा पास गराइएको जागिर छ र श्री भवनाथ झाको छोरो छ। ती शिक्षकशिक्षिकाहरूको कुरा म अहिले राम्ररी बुझिरहेकी छु। परीक्षाको विसङ्गति के हो मलाई अब थाहा भएको छ।

उः कोसी ब्यारेज पनि आइपुगेछ। कोसीको पानी सलल बगिरहेको छ, तलतिर। पानी तल बग्‍नु त प्रकृति नै हो, पानी कैले उकालो बग्दैन। तर जीवन, जीवन त ओरालो बग्‍नुपर्ने होइन। के मेरो जीवन मैले गर्दा ओरालो बग्यो त ? मैले मेरो जीवन ओरालो बगेको छ भनेर थाहा पाएदेखि उकालो लाने प्रयास गर्दै छु। तर बाटाहरू सीमित र साँघुरा छन्। जतिबेला जीवन अगाडि बाटाहरूको कमी थिएन, त्यसबेला मैले बाटो रोज्न जानिनँ। अब के गर्नु र ? समयलाई उल्टो बगाउन सकिँदैन। मैले मेरै जीवनलाई कति पटक यो यात्रामा भेटिसकेँ। अरूका नजरमा जे भए पनि, कुनै बेला लाग्छ यही त हो जिन्दगी ?

कोसी तरियो।एउटा खड्‌गो कट्यो। अब त विराटनगर पुगिन्छ छिट्टै। विराटनगर गएर फेरि पुस्तकहरू किन्नु छ। आफ्नो जीवनको बाँकी भागलाई यो छोरो पढाउन र पढ्न खर्च गर्नु छ। शिक्षिकाको जागिरले भात खान दिएकै छ। मैले जानेर वा नजानेर गरेका भूलहरूलाई कोसीपारि नै छाडेर अगाडि बढ्नु छ। यो कोसी-तराइलाई मैले ठूलो खड्‌गोको रूपमा लिएकी छु। अब म कोसी तरेर फेरि श्री भवनाथ झालाई भेट्न जनकपुर जानेछैन। मैले मेरो यात्रा अनौठो हिसाबले तय गर्नु छ। मेरा छोरालाई स्वावलम्बी बनाउनु छ, मै पनि आत्मनिर्भर बनिरहनु छ।

यी सबैभन्दा धेरै मलाई लक्ष्मीप्रसाद देवकोटासँग विचार-विमर्श गर्नु छ, गुरुप्रसाद मैनालीका कथा भन्नुछ, विश्वेश्वरप्रसाद कोइरालासँग तर्क गर्नु छ, भूपि शेरचनलाई चिन्नु छ, बालकृष्ण समसँग नाटक खेल्नु छ, रवीन्द्रनाथ ठाकुरका गीत, कथा र कवितामा नुहाउनु छ, प्रेमचन्दका कथा र उपन्यासहरूमा डुब्नु छ, चेखब, गोर्की र टोल्सटोयका रचनाहरूसँग भोदका खानु छ। मोपासा, ओ हेनरी, हेमिङ्गवे, इलियट, वर्डसवर्थसँगै बसेर सेम्पेन पिउनु छ। मिर्जा गालिबलाई पिएर मातिनु छ।

विराटनगरबाट मैले एक अर्को नवीन यात्रा सुरु गर्नु छ । जनकपुरबाट विराटनगर पुग्‍न लाग्दा जति मैले जीवनलाई भेटेकी थिएँ, त्योभन्दा अझ उच्चस्तरको जीवनलाई भेट्‍तै जानु छ। अब ममा यात्रा सुरु गर्दाको निस्सारता छैन। मैले उज्यालो बिहानी भेटिसकेकी छु।

Nayanraj Pandey – Red Wine

‘ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, हि्वस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम गर्न हामी आतुर छौँ । लालायित छौँ । व्यग्र छौँ । हामी हजुरलाई तन-मन दिएर सहयोग गर्नेछौँ ।’

‘तर, हजुरले आज अलिकति हल्का लिई दिई बक्से हामी साह्रै खुसी हुने थियौँ । यो सानो पार्टी हजुरकै स्वागतमा आयोजित गरिएको हो । नो नो हजुर, यो पार्टी हामीले धेरै खर्च गरेकै छैनौँ । हजुरको भावना बुझ्छौँ । हजुरको स्पिरिट बुझ्छौँ । इन्फ्याक्ट, हामी हजुरकै आदर्श र सिद्धान्तका फलोअर हौँ । हामीले अलि एक्सपोज्ड भएर काम गर्न नमिलेर पो । नत्र त हामी हजुरहरूकै पदचिह्नलाई …’

‘हजुर, वाइन त हल्का लिँदा हुन्छ नि । वाइन त रक्सीको क्याटेगोरीमा पर्दैन नि हजुर । वाइनमा अल्कोहल कति नै हुन्छ र ? नौ देखि एघार प्रतिशत । कुनैकुनैमा तेह्रसम्म हुन्छ । त्यति अल्कोहल त सुत्केरी आइमाईले खाने टनिकहरूमा पनि हुन्छ । वाइन त फलफूलबाट बनेको हो नि हजुर । एक-डेढ ग्लास त दिनदिनै खाँदा पनि फरक पर्दैन । स्वास्थ्यलाई बेफाइदा गर्दैन । यसले त एपेटाइजरको काम गर्छ । मुटुको रोगी हो हजुर ? केही फरक पर्दैन । रेड वाइन लिइबक्स्योस् न । रेड वाइन त मुटुको रोगीले पनि ढुक्कले खानु हुन्छ । डक्टरहरूले पनि खाए हुन्छ भन्छन् । फेरि हजुरलाई त अब देश, विदेश गइरहनुपर्छ । बेलाबेलामा स्वदेशी, विदेशी पाहुनाहरूसित भेटघाट गरिरहनुपर्छ । रात्रिभोजमा सवारी होइबक्सनुपर्छ । कहिलेकाहीँ रात्रिभोजको आयोजना पनि गर्नुपर्छ । कति ठाउँमा त कर्टेसी मेन्टेन गर्न पनि प्यूनुपर्ने हुन्छ । यस्तोमा हजुरले अलिअलि हल्का रेड वाइन लिँइबक्सँदा राम्रै हुन्छ । बानी पनि त पार्न पर्‍यो नि हजुर !’
‘गन्ध आउँदैन हजुर, वाइनको पटक्कै गन्ध आउँदैन । स्वादिलो पनि हुन्छ । गुलियो-गुलियो, अमिलो-अमिलो त हो नि हजुर ! ल हुन्छ हजुर ! अलिकति मात्र लिइबक्स्योस् । ल, हजुर । चियर्स । हजुरको कार्यकाल सफल होस् । हजुरको कार्यकालमा क्रान्तिकारी परिवर्तन होस् ।’

‘हजुरको अस्तिको लेख साह्रै गजबको । हामी सबैले पढ्यौँ हजुर ! हामीले त त्यो लेखको कटिङ पनि गरेर राखेका छौँ । हजुरको कान्तिपुरमा गत साता छापिएको भ्रष्टाचारसम्बन्धी आर्टिकल पनि साह्रै राम्रो । हामीले त्यो पनि कलेक्सन गरेर राखेका छौँ । हजुरको लेखनशैली साह्रै राम्रो । भाषा पनि कति मीठो । हजुरसित गजबको भिजन रहेछ । पहिलाकाहरूसित कहाँ यस्तो भिजन हुनु हजुर । नत्र त यो मुलुक कहाँको कहाँ पुगिसक्थ्यो । अँ साँच्ची, अस्तिको पुस्तक मेलामा हजुरको किताब कतिका बिक्री भएको । जसको हातमा पनि हजुरकै किताब । हामी सबैले त्यो किताब किनेका छौँ हजुर ! पचास-साठीजनालाई त मैले नै त्यो किताब नपढी हुन्न भनेर सिफारिस गरेको छु । साह्रै गजबको पुस्तक रहेछ । हजुरले त्यत्रा-त्यत्रा किताबहरू, लेखहरू लेख्ने फुर्सद कसरी निकालिबक्सन्छ ? राति लेखिबक्सन्छ कि बिहान ? मुडमा लेखिसिन्छ कि जस्तोसुकै परिस्थितिमा पनि लेखिबक्सन्छ ? हजुरको लेखन प्रक्रिया के हो ? ए ! हजुरको ग्लास त रित्तिएछ । अब एक ग्लास थपूँ हजुर ? यो ग्लासचाहिँ हाम्रो अनुरोधमा । वाइन त हो नि हजुर ! त्यसमाथि रेड वाइन । हल्का लिँदा केही बिगार गर्दैन हजुर !’

उहाँ सह-सचिव । अट्र्ठाईस वर्षभयो सरकारी सेवामा संलग्न हुनुभएको । मभन्दा एक ब्याच जुनियर । उहाँ पनि हजुरको गजबको फ्यान । मजस्तै । उहाँ साह्रै योग्य व्यक्ति । परराष्ट्र सेवामा पनि हुनुहुन्थ्यो । साह्रै अध्ययनशील हुनुहुन्छ । दिउँसो हामीले त्यो बोर्डको बारेमा कुरा गरेका थियौँ नि हजुर ! त्यो बोर्डमा उहाँलाई नै चेयरम्यान बनाउँदा उपयुक्त हुन्छ । हजुरलाई उहाँबाट साह्रै कोअपरेसन हुनेछ । विरोधी पार्टीले विरोध गर्लान् । तर, हजुरले पेलेर भए पनि उहाँलाई चेयरम्यान बनाइबक्सनुपर्छ । यो त हजुरको इज्जत र प्रतिष्ठाको पनि कुरा हो नि हजुर ! हैन र ? ए! हजुरको ग्लास त खालि भएछ । अब अलिकति । हाम्रो मनोबल उच्च पारिदिनका लागि । एक ग्लास । हल्का । केही फरक पर्दैन । वाइन त हो नि हजुर ! रेड वाइन ।’

हजुरले नै हैन जेलब्रेक गरिबक्सेको ? हजुर त साह्रै साहसी मान्छे । हजुरले युद्ध पनि लडिबक्सियो हगी ? अँ, हजुर गोली लागेर सख्त घाइते होइबक्सेको त हामीले पनि सुनेको हो हजुर । जे होस्, हजुरहरूले गर्दा नै देशमा यत्रो परिवर्तन आएको हो । हजुरहरूले सहयोग नगरेको भए त्यो गिरिजा र माकुनेले कहाँ गणतन्त्र ल्याउन सक्थे र हजुर ? हजुरहरूकै कारण नेपालमा गणतन्त्र सम्भव भएको हो । नत्र त हजुर ! आज पनि ज्ञानेकै शासन हुन्थ्यो । पारसेसित त मेरो पनि एकपटक झगडा परेको नि हजुर । जे होस्, देशमा परिवर्तन आयो । अब राज्यको पुनःसंरचना हुनुपर्छ हजुर । समाज रूपान्तरण हुनुपर्छ । हजुरहरूले यो सबै गर्न सकिबक्सन्छ । जनताले हजुरबाट निकै ठूलो आशा राखेका छन् हजुर । हजुरहरू अघि बढिबक्स्योस् । हामी सहयोग गर्र्छौं नि हजुर । हजुरहरू योजना बनाइबक्स्योस्, हामी कार्यान्वयन गर्र्छौं । हजुरको अभियान र लडाइँमा हामी पनि सहयोद्धा भयौँ हजुर । बाचा भयो । हजुर, हल्का थपूँ ?’

‘हो हजुर ! इन्डियासित झुक्नु हुन्न । निकै पेलिसक्यो हरामले । हामीले स्ट्यान्ड लिनै पर्छ । उसले जे-जे भन्यो ,त्यै-त्यै मान्न हुन्न । हिजोमात्र दुई सय तीसवटा सीमा स्तम्भ उखेलेर लगेछ । हामीलाई रिपोर्ट आएको छ हजुर । यो इन्डियाले साह्रै हेप्यो । सीमा अतिक्रमण पनि अति नै भयो । हजुरहरूले यस विषयमा केही गर्नै पर्छ । जनताले हजुरहरूबाट धेरै अपेक्षा लिएका छन् । ए, ग्लास खस्यो । नो प्रब्लम हजुर । हैन-हैन, हजुरले किन ग्लास उठाइबक्सनुपर्‍यो ? हामी छौँ नि । अलिकति वाइन थपूँ है ? नयाँ ग्लासमा । हजुरलाई त फिटिक्क पनि छोएको छैन । बोली कति प्रस्ट छ हजुरको । हजुरले वाइन खाइबक्सेको भनेर कसले भन्न सक्छ र ? हजुर, त्यो अघि ठेक्काको कुरा गरेको थिएँ नि । त्यो ठेक्का जगदम्बा कन्स्ट्रक्सनलाई पारौँ है ? अनि मेरो एउटा सालो छ हजुर, दुर्गममा छ । यतै सार्न पाए हुन्थ्यो ।’

‘के रे ? पन्ध्र ग्लास रे । कहाँ हुनु हजुर ? मैले त गनेको । पाँच ग्लास मात्र हो । फेरि यो विदेशी वाइन कहाँ लाग्छ र हजुर ? यो हल गुम्म परेकाले हजुरलाई रिँगटा लागेको होला । नो प्रब्लम हजुर । वाइनले सब ठीक पार्छ । रेड वाइन त स्वास्थ्यको लागि अति राम्रो नि हजुर । डा. भूषण उपाध्याय पनि सधैँ राति सुत्ने बेलामा दुई-चार ग्लास रेड वाइन खाएर सुत्नु हुन्छ ।’

“हैन-हैन, वाइनमा कुनै प्रब्लम छैन हजुर । हजुरले स्न्याक्स केही लिइबक्सेन नि, त्यसैले हजुरको पेट मडारिएको मात्र हो । वान्ता हुन लागेको हैन हजुर । हजुरलाई लागेकै छैन । अनुहार धपक्क बलेको छ । बोली कति प्रस्ट छ । हजुरको खुट्टा लर्बरिएको होइन । बरु भुइँचालोको झड्का हो कि ? नेपाल भूकम्पको दृष्टिले अति संवेदनशील क्षेत्रमा पर्छ नि । त्यसैले हामीले थाहै नपाई स-साना झड्का भइरहन्छ हजुर । त्यै भएर हजुरको खुट्टा लर्बरिएको ।’

‘हजुर नआत्तिबक्स्योस् । हामी छौँ नि । हामी हजुरको साथ छाड्दैनौँ । हजुरलाई पूर्ण सहयोग गर्र्छौं । हजुरको आदर्श, निष्ठा र सिद्धान्तमा आघात पुग्न दिन्नौँ । अँ, यो सरुवाको फाइल । यो रातोचाहिँ बढुवाको । यो टेन्डरको । यो चैँ भुक्तानीको । हुन्छ हजुर, यहीँ फाइल सदर गर्दिबक्से हुन्छ हजुर । आहा, हजुरको ह्यान्ड राइटिङ कति राम्रो । सिग्नेचर पनि साह्रै राम्रो । अब अलिकति हल्का थपूँ है हजुर ? रेड वाइन त हो नि । रातो वाइन । हजुरको प्रिय रङको वाइन ।’

‘नो प्रब्लम हजुर । यहाँ अरू कोही छैन । हामी-हामी मात्र हो । हैन-हैन, त्यहाँ नबसिस्योस् । त्यो कुर्सी होइन, त्यो त कमोड हो हजुर । वान्ता त्यहीँ वासबेसिनमा गरिबक्से हुन्छ । नआत्तिबक्स्योस् । वाइनले खराबी गर्दैन । अलिकति अपच भएछ हजुरलाई ।’

‘ला, हजुर त लडिबक्सेछ । नो प्रब्लम । हामी छौँ नि । ए, फुस्क्यो ? खै-खै हजुर, म इजार लगाइदिन्छु ।’

‘के रे ? हजुरले हि्वस्की खाने ? हुन्छ हजुर । केही फरक पर्दैन । विदेशी रक्सीले केही खराबी गर्दैन । फेरि हामी सबै ब्युरोक्रेट्स हजुरकै अनन्य सहयोगी हौँ । हामीसित अप्ठ्यारो मान्नै पर्दैन ।’
‘वेटर, मन्त्रीज्यूलाई एक पेग ब्लू लेबल । छिट्टो । रत्नजी, छिट्टो खोज्नोस् त । मन्त्रीज्यूको जुत्ता । यतै कतै होला ।’

‘के रे ??? मन्त्रीज्यूको हरायो ???………होस कि जुत्ता ?

Kumud Adhikari – Ma Samanantar

कुमुद अधिकारी – म समानान्तर

म आशुतोष, पोखराको नाम चलेको पर्यटन-व्यवसायी । अहिले म बाराही मन्दिरका तलतिर सिंढीमा बसेर पानीका छालहरूलाई नियालिरहेको छु । घरिघरि आकाशमा हेर्छु केही देख्तिनँ । शून्य, रित्तोपन । अगाडिपट्टिको माछापुच्छ्रे पनि फोस्रोपनको पराकाष्ठामा पुगेको छ । अचानक मेरो मोबाइलमा धुन बज्छ ‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ….’ कुनै समयमा एकदमै राम्रो लागेर मोबाइलमा यो धुन हालेको थिएँ तर अहिले त यसले निस्सारतामाथि निस्सारता थपेको छ ।

“बुबा ! मलाई नोकिया ७६१० किन्दिस्योस् भन्या खोइ ? सबै साथीहरूको एक से एक मोबाइल छ, मेरो चाहिं यस्तो ब्ल्याक एन्ड हृवाइट !” छोरी नीलिमा रुन्चे स्वर पारेर गन्थन गर्छे निकै पहिलेदेखि नै गरिरहेकी पनि हो । उसित एउटा मोबाइल त छ तर समयको माग अरे राम्रो क्यामेरावाला मोबाइल । छोरीको मागलाई पूरा गर्न नसकेर लाचार म मोबाइल खेलाउन थाल्छु । मेरो त उही सामसुङको पुरानो एचसी २०० मोडेलको छ । पछाडिपट्ट करेक्सन पेनले लेखेको छु ‘आशुतोष उपाध्याय’ । म कुनचाहिं आशुतोष उपाध्याय परें ? एकछिन रनभुल्लमै हुन्छु । फेरि मेरो मोबाइलमा धुन बज्छ ‘सिरीमा सिरी नि कान्छी बतासै चल्यो ….’ हेर्छु छोरा प्रमोदको रहेछ । मनमा चस्स पसिहाल्छ – अब छोराले के भन्ने हो !

“बुबा ! मेरो कम्प्युटर अपग्रेड गरिदिन्छु भन्या खोइ त ? अटोक्याड र कोरल ड्र चलाउन मेमोरीले नै पुग्दैन । बुबा पनि ! अस्तिको महिना नै बीस हजार दिन्छु भन्या हैन । इन्टेलको हाइपर थ्रेडिङवाला प्रोसेसरलाई नै झन्डै पन्द्र हजार परिहाल्छ, फेरि मदरबोर्ड, साउन्डकार्ड, ग्राफिक्सकार्ड र र्‍याम पनि ५१२ को हाल्नुपर्छ । कम्तीमा पनि पच्चीस हजार त चाहियो चाहियो । यसपालि त मलाई नदिई हुँदैन है बुबा ।”

प्रमोद र नीलिमाका मागहरूको औचित्य प्रमाणित गर्न खोजिरहेछु म अहिले । केही समय अघिसम्म उनीहरूले जे भन्यो त्यही दिन सक्थें म तर खै अहिले त सोच्नैपर्ने भएको छ । जथाभावी मसँग पैसा पनि छैन र दिने हैसियत पनि गुमाइसकेको छु । जता हेर्छु शुन्य मात्र देख्छु । मानवसम्बन्धमा यति धेरै रिक्तता पनि हुँदो रहेछ । मैले अहिले चाल पाएँ ।

——-

म आशुतोष । मेरा तीनवटा ट्राभल एजेन्सीहरू छन् । जसले ट्रेकिङ, राफ्टिङ र बन्जीका लागि कार्यक्रम बनाउँछन् र चलाउँछन् पनि । एउटा कार्यालय बसपार्क नजिक छ, अर्को लेकसाइडमा र तेस्रो चाहिं, लेखनाथ नगरपालिकामा । म विवाहित र मेरी धर्मपत्नीको नाम संयुक्ता । मेरो ससुराली आसाम । आसामको डिब्रुगड । म आसाम गएको छैन, भनौं मौका मिलेको छैन । मेरो बिहे भने बिर्तामोडको अतिथिसदनबाट भएको । संयुक्ताले धेरै पटक भनिसकिन् -“आसाम जाऊँ न ! बुबा-मुमाले कति पटक बोलाइसक्नुभयो, हजुरले पनि कति बेवास्ता गरेको ।”

म भन्छु – हैन प्रिय ! हेर न यो बिजिनेस पनि । ल ! भरसक चाँजो मिलाउँछु है त ! ” भन्न त भन्छु तर उही त हो, एकै दिन निस्कन भ्याइँदैन, संयुक्तालाई लिएर काठमाडौं त जान नसकिरहेका बेलामा, आसाम त कताबाट जाऊँ ।

मलाई जहिले पनि समयले जितिहाल्छ । मैले अहिलेसम्म यसलाई जित्न सकेको छैन । जित्न त कसैले पनि जितेको छैन तर मचाहिं नाथे नै रहेछु । समयसँग सँगसँगै दौडिन पनि सकिरहेको छैन । हेर्दा हेर्दै छोराछोरी जन्मिएर कलेज पढ्ने भैसकेछन् आफू पनि पैंतालीसको भैसकिएछ र पनि अझै पोखराका सडकहरू नापिरहेको छु । सडक नापेरै जीवनमा खुसी बटुलेकामा त्यति धेरै विचलितचाहिं पक्कै छैन । हो संयुक्तासँग आसाम जान नसक्दाचाहिं साँच्चै दिक्क लाग्छ । तर अब छोरा प्रमोदले बिजिनेस हेरिदियो केही दिनका लागि भने, बूढाबूढी बुढेसकालको हनिमुन मनाउन सुटुक्क लाग्नुपर्ला गौहाटीतिर । पैंतालीस कै भए पनि बूढो भएँजस्तो त पक्कै लाग्दैन । त्यसैले एक दिन संयुक्ताका कानमा खुसुक्क यो कुरा सुनाएको त लाजले राती भइन् । कति सुन्दर अनुहार ! म खुसीले फुरुङ्ग भएँ । जीउ बूढो भए पनि मन कहाँ बूढो हुन्छ र !

——-

म आशुतोष । आम्रपालीको प्रेमी । अचम्म ! छयालीस वर्षको उमेरमा पनि कोही कुनै महिलाको प्रेमी हुन सक्छ र ? किन नसक्नु ? एउटा जिउँदो उदाहरण त म नै हुँ । आम्रपाली ! सुरुमा त अचम्मको नाम लागेको थियो यो । तर पछि ….. । ती अचम्मका सबै कुरा गए …… कता गए गए …….. ।

एक दिन बसपार्कको अफिसमा छिरेको मात्र थिएँ, छिरिङले भनिहाल्यो – “सर ! हाम्रो घान्द्रुकको ट्रेकिङ टिमलाई त त्यो स्नोभ्यु ट्रेकले उडाइसकेछ ।”

मेरो पनि कन्सिरी तात्यो । बीसजना फ्रान्सेलीहरूको राम्रो ट्रेकिङ टिम थियो । यसबाट राम्रै कमाइ हुने आशा गरेको थिएँ । जङ्गएँ – “तिमीहरूको चाहिं काम के नि – त्यति पनि डिलिङ गर्न सक्तैनौ भने -”

कालो मुख लगाएर छिरिङले भन्यो – “सर ! भाषाले हामीलाई अंग्रेजीमात्र आउँछ, त्यो स्नोभ्युकी आम्रपालीलाई फ्रेन्च पनि आउँदो रहेछ । त्यसैले उतै गएछन् सर !”

“आम्रपाली रे ! कस्तो नाम हो, मैले त नेपालीमा यस्तो नाम सुनेकै छैन ।”

“सर ! आसामबाट आएकी रे, तर नेपाली नै हो रे ।”

“ल भैगो, अलिक चनाखो भएर काम गर्ने गर !”

आम्रपाली ! सुन्दा त नाम राम्रै लाग्छ । भेटौं न त एकपल्ट । आफ्नो ट्राभल एजेन्सीमा ल्याउन पाए त व्यवसाय निकै फस्टाउँथ्यो होला । एकपल्ट लोभ पो देखाइ हेर्नुपर्‍यो । फ्रेन्च जानेको स्टाफ भयो भने धेरैजसो पर्यटकहरूलाई समेट्न सकिन्छ ।

सर्र लागें स्नोभ्युको अफिसतिर । रिसेप्सनिस्टलाई सोधेर भित्र गएँ । भित्र रिभल्भिङ चेयरमा एकजना गहुँगोरो वर्णकी सुन्दर महिला बसेकी थिइन् ।

सोध्नै लागिरहेथें “आम्रपाली को हुनु …. -”

“ओहो ! आशुतोष सर ! आज कताबाट बाटो बिराएर – ….. म नै हुँ आम्रपाली ।”

“तर तपाईंले मलाई कसरी चिन्नुभयो -”

“पोखराको पर्यटनक्षेत्रमा तपाईंलाई नचिन्ने को होला र -”

“ठीकै हो आम्रपालीजी, तर म पो कस्तो लाटो जस्तो भएँछु, तपाईं यहाँ आएको थाहै छैन मलाई ।”

“कसरी थाहा होस् त सर ! म आएकी नै कति भएको छ र – पाँच दिन त भयो नि ! यसअघि म काठमाडौंमा यति टुर्समा थिएँ ।”

“भर्खर स्नोभ्यु जोइन गर्नुभएको रहेछ । एउटा कुरा भनौं कि जस्तो लागेको थियो -”

“भन्नुहोस् न सर !”

“यदि नराम्रो मान्नुहुन्न भने मेरो ट्राभल एजेन्सी जोइन गर्नुहोस् न ! म तपाईंलाई यहाँको भन्दा डेढा दिन्छु ।”

“सरको प्रस्ताव त राम्रै हो तर …. केही दिन सोच्ने समय दिनुहुन्न सर Û”

“हुन्छ हुन्छ ! समय लिएर सोच्नुहोला है । तर म आशावादी छु नि ।”

आम्रपालीले निर्णय लिन ठयाक्कै एक महिना लगाइन् । तर महिनै लगाए पनि उनले मेरो ट्राभल एजेन्सीमा काम थालिन् ।

यसरी हाम्रो भेटले निरन्तरता पायो । एउटै कार्यालय र तत्सम्बन्धी कामहरूले पनि हामीलाई नजिक्याउँदै लग्यो । हामी पर्यटनकै विषयमा विभिन्न कामहरू लिएर यात्रामा पनि निस्कन थाल्यौं ।

आम्रपाली आसामकी नै रहिछन् । उनको गाउँ माझगाउँ रहेछ । मेरो ससुराली डिब्रुगड भन्ने चाल पाएपछि त उनी मलाई सिधै भिनाजु भनेर सम्बोधन गर्न लागिन् । ठीकै छ, मेरा त साली छैनन्, खै संयुक्ताले कहिल्यै बहिनी छ भनेको जस्तो लागेन । तर अन्तरमुखी संयुक्ता माइतीको कुरै गर्दिनथिन् । मैले पनि साह्रै सोधीखोजी गरिनँ, सोचें केही होला दुःख जसलाई उनी भुल्न चाहिरहेकी होलिन् । ल ! साली नै सही । मलाई पनि नराम्रो लागेन । आखिर “साली आधी घरवाली” भन्छन् नै । यसरी हामी बीचमा प्रेमको मुना पलायो र झाङ्गिदै गयो । मेरी साली, मेरी आम्रपाली मेरी प्रेमिका भइन् र म उनको प्रेमी भएँ ।

——

म आशुतोष । संयुक्ताको पति । मेरी पत्नी संयुक्ता, म संयुक्तालाई असाध्यै माया गर्छु मेरी छोरी नीलिमा र छोरा प्रमोद आदर्श छोराछोरीका रूपमा देखिएका छन् । कहीं कतै पहिले भन्ने गरेको सुनेको थिएँ । आसामका केटीहरू सुसंस्कृत हुन्छन् रे , घरपरिवारको राम्रो रेखदेख गर्छन् रे … । मेरो हकमा त यो कुरा शतप्रतिशत साँचो साबित भएको छ । हरेक उतारचढावमा केही नभन्ने संयुक्ता, कहिल्यै उफ नगर्ने संयुक्ता ….. निरक्षर थिइन् तर शिक्षित थिइन् । मैले मात्र सायद छोराछोरीमा राम्रो संस्कार दिन सक्ने थिइनँ कि – संयुक्ता आइन् र मेरो घर बनियो । छोराछोरी भए, पढे बढे, सुसंस्कृत भए । छोरा प्रमोद बीसीए तेस्रो वर्षमा पढ्दै छ र छोरी नीलिमा कक्षा बाह्रमा ।

म घर गएपछि र विशेष संयुक्ताको अनुहार देखेपछि झसङ्ग हुन्छु । आफैंलाई कतै हराएजस्तो लाग्छ । आफैंदेखि घृणा लागेर आउँछ । यस्ती सुसंस्कृत पत्नी पाएर पनि मैले अम्रपालीसँग प्रेम गर्नुपर्ने – आफैंलाई धिक्कार्छु भएभरका गाली र जानेजतिका नराम्रा शब्दहरू बर्साउँछु आफूमाथि । घरमा गर्ने सम्पूर्ण कामहरूमा मलाई आफू अपराधी भएझैं लाग्छ । पत्नी समर्पित हुन्छिन् । म उनकै मायामा डुब्छु र संकल्प गर्छु भोलिदेखि आम्रपालीसँग मेलजोल बढाउने छैन ।

भोलिपल्ट नास्ताको टेबलमा सानो स्वरले संयुक्ता भन्छिन् – “एउटा कुरा भन्छु, नरिसाउनुहोस् है ।”

“अरे तिमी भन न मात्र, म किन रिसाउँछु र -” प्रेममय दृष्टिका साथ म उनलाई आश्वस्त पार्छु

“लागेको बानी के गर्नु, छुट्दैन !”

“हेर लाटी ! पतिपत्नीको जस्तो साइनो कसैको हुँदैन । मानवीय सम्बन्धमा शारीरिक र मानसिक रूपले सबैभन्दा नजिक हुन्छ, अनि त्यति नजिकको मान्छेसँग कुरा गर्न केको डर -” यी आदर्श वाक्यहरू भन्दा मेरो मनको कुनामा आम्रपाली चिसो बरफ भएर बसेको पाउँछु । डराउँछु कतै त्यही चिसो अनुहारमा त आएन । अनि फेरि हिजो बेलुकाको सङ्कल्प दोहोर्‍याउँछु ।

मेरो हँसिलो मुखतिर हेरेर उनी भन्छिन् -“बुबाले दिनुभएको सारङकोटको त्यो पच्चीस रोपनी जगामा एउटा रिसोर्ट खोलौं न है । म रेखदेख गर्छु कति घरमै बसिरहनु, अब त छोराछोरी पनि ठूला भैसके । मेरो पनि यसो समय कटनी हुन्थ्यो ।”

“ल गज्जब ! यस्तो राम्रो आइडिया रहेछ, म केको रिसाउनु नि – बरु यताका व्यवसायमा पनि तिमी सल्लाहकार बस न ।”

“हजुरले मलाई अनपढ छ भनेर जिस्क्याउनुभएको -” उनको मुख रातो हुन्छ । साँच्चै हो संयुक्ताले औपचारिक शिक्षा लिएकी छैनन् । यसैले उनका बाबुआमाले छोरीलाई केही सहयोग होस् भनेर सारङकोटमा पच्चीस रोपनी जग्गा किनिदिएका थिए ।

म उनको हात च्याप्प समाउँछु र भन्छु – “हैन संयुक्ता ! मबाट यस्तो निकृष्ट काम कहिल्यै हुनेछैन ।” तर मनभित्र कतै चिसो त फेरि पसिगयो । ।

——

म आशुतोष । आम्रपालीको प्रेमी । आम्रपालीसँगका भेटघाटहरू लम्बिँदै छन् । बेगनासको बोटिङ त हाम्रो दिनचर्या नै भैसकेको छ । आखिर आफ्नै नौका छँदै छ, मैले खियाउन जानेकै छु । म डुङ्गाको बीचमा बसेर बहना चलाउँछु, आम्रपाली मेरो काखमा शिर राखेर आकाश हेर्छिन् । हामी लगभग बेगनासको मध्यभागमा पुग्छौं । चारैतिर क्षितिजमा कतै संयुक्ता, प्रमोद र नीलिमा देखिएको भान हुन्छ, मनको एउटा कुनु चिसो हुन्छ । झवाट्ट आम्रपालीलाई हेर्छु उनी त्यसै गरी आकाशका बादलहरू हेरिरहेकी छन् । म फेरि त्यतै हेर्छु केही देख्तिनँ । कतै मैले बादल देख्न छाडेको त हैन, मभित्र केही हुन लागेको त हैन । होस्, जे होस् ।

आम्रपालीलाई हेरेर भन्छु- “आम्रपाली ! तिम्री दिदीले यो चाल पाइन् भने के गर्लिन् – मेरा छोराछोरीले चाल पाए भने के होला – म त आशुतोष रहन्नँ । तिमी पनि आम्रपाली रहन्नौ । तिमीलाई डर लाग्दैन -”

आम्रपाली निश्चिन्त भएर भन्छिन् – “आ हजुर पनि ! बेगनासका बीचमा आएर पनि यस्तो कुरा गर्ने हो – आफूलाई हजुरका काखमा सुत्न पाउँदा जन्नत प्राप्त भइराखेको छ ।”

“तिम्रो यो हिन्दुस्तानी बोली पनि म बुझनै सक्तिनँ । के हो यो जन्नत भनेको -”

“अरे …… हजुरलाई जन्नत पनि थाहा छैन ….. -” भन्दै आम्रपाली जुरुक्क उठेर अट्टहास गर्न थाल्छिन् । डुङ्गामा कम्पन हुन्छ । साथै बेगनासको पानीमा तरङ्गहरू डुङ्गाबाट निस्केर किनारतिर लाग्छन् । तर किनार नपुग्दै विलीन हुन्छन्, बेगनासकै अथाह जलराशिमा, फेरि उही समतल पानी, उही शून्यता ।

—-

म आशुतोष । संयुक्ताको पति । म घर पुग्छु । दिनभरि आम्रपालीसँग बेगनासमा बिताएर आएको कुरा यहाँ कसैलाई थाहा छैन । तर फेरि चाल पाइहालेका छन् कि भनेर भित्र पस्दा पनि मुटुले ठाउँ छोड्न खोज्छ ।

संयुक्ता बैठकमा बसेर चियाका लागि पर्खिरहेकी हुन्छिन् । उनको सोझो र निर्दोष अनुहार देख्ता मलाई फेरि ग्लानि हुन्छ । मलाई यस्तो किन हुन्छ, मैले नै बुझन सकिरहेको छैन । म संयुक्तालाई असाध्यै माया गर्छु उनी मेरो जीवनमा आउनु भनेकै मेरो परिचय बन्नु हो । म आशुतोष हुनु भनेको संयुक्ताको निस्वार्थ प्रेम हो बलिदान हो । उनको पर्खाइले मलाई पगाल्छ र सजल नेत्रले भन्छु – “लेमन टी बनाऊ न त है ।”

“हवस् ! ” हावामा पारिजातको सुगन्ध र्छर्दै उनी उठ्छिन् ।

“प्रमोद साइटमा पुगेर आयो त – ” उनले कागती चिया लिएर आएपछि सोध्छु ।

उनी मेरै छेउमा बस्छिन्, आफ्नो चियाको कप लिएर भन्छिन् – “गएर आइवरी, बजारतिर लाग्या छ, खै र्‍याम कि के चाहियो रे ।”

“काम कति भएछ त -” म सारङकोटको रिसोर्ट कन्स्ट्रक्सन साइटमा नगएको पनि तीन दिन भइसकेको थियो । दुइ दिन पर्यटन-व्यवसायीहरूको बैठकले नै खाइदियो र आज ……… ।

दसवटा मध्ये तीनवटा हटमा मात्र वाइरिङ गर्न बाँकी छ रे । अरू सबै सकियो भन्दै थियो ।” उत्साहले भरिएको स्वर छ संयुक्ताको । मलाई पनि खुसी लाग्छ, केही त दिन सकें संयुक्तालाई ….. । तर आम्रपाली ….. ।

——

म आशुतोष । आम्रपाली को प्रेमी । खै यी आम्रपाली पनि । कति हो कति लठ्ठ पारिसकिन् मलाई । आम्रपालीसँग भेट नभएको त दिनै हुँदैन । हरेक व्यस्तताहरूले पनि केही छेकेनन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं हाम्रो भेटको अवसर निस्किहाल्थ्यो ।

आज फेवामा बोटिङ गर्दै बाराही मन्दिरबाट पश्चिमपट्ट जङ्गलका छेउमा जाने निधो गर्‍यौं । तरिका उही म नाउ खियाउने र उनी मेरा काखमा शिर राखेर आकाश हेर्ने । तर आज मलाई त्यसो गर्न मन लागेन । मैले भनें – “साली आम्रपाली ! यसपाली ठाउँ साटौं है ।”

“नाइँ ! म के ! ” उनले लाडिँदै भनिन् ।

“आज एक दिन मात्रै क्या ! मेरो त्यति बिन्ती पनि मान्दिनौ -”

“ल हुन्छ । तर मैले भनेको मान्नुपर्छ । आज जति ढिलो भए पनि मेरो कथा सुन्नुपर्छ ।”

“ल बाबा ! मानें, हुन्छ …… ”

अनि त्यसपछि उनले बहना सम्हालिन् र मैले उनको काख पाएँ । सुखद काख । तर डुङ्गाको काँटीले चस्स घोचिहाल्यो । सम्झें कतै म संयुक्ताको काखमा त सुतिरहेको छैन । मलाई किन यस्तो हुन्छ – आम्रपालीसँग हुँदा म आम्रपालीकै मात्र भएर रहन किन सक्तिनँ । मेरो मानवीय कमजोरी या अरू केही –

“के सोच्न थाल्नुभयो -” बोलिन् आम्रपाली ।

“तिमीले कस्तो कथा भन्न लाग्यौ भनेर सोच्न लागेको ।”

“मजस्तीको कथा कस्तो हुन्छ र – तर पनि मेरो कथा केही अनौठो पनि चाहिं अवश्य छ ।”

“ल भन न त सुरु गरिहाल ।”

आम्रपालीले सुरु गरिन् – “तपाईंलाई थाहा छ, मैले पोखराको लेकसाइडमा एउटा राम्रो घर किनेकी छु -”

“अरे हो र – मलाई त थाहै थिएन ।”

“यो घर किनेको दुइ वर्षभैसक्यो । तर मैले कसैलाई भनेकी थिइनँ । यो पहिलोपल्ट तपाइलाई भन्दै छु । किनकि अब मलाई मेरो जिन्दगीले बाटो पक्रियो जस्तो लागेको छ । मेरो सपना पूरा हुन्छ होला जस्तो लागेको थिएन । सपना देख्नु एउटा कुरा र सफल हुनु अर्कै कुरा । तर अहिले सम्मको जीवनयात्राले अगाडिको बाटो केही मात्रामै भए पनि स्पष्ट पारेजस्तो लागेको छ ।”

“मैले त केही बुझिनँ नि तिम्रो कुरा !” म अन्योलमै थिएँ ।

उनले अगाडि थपिन् -“तपाईंलाई पहिलो पटक तपाईंको र संयुक्ता दिदीको बिहेमा बिर्तामोडमा देखेकी हुँ । तपाईंलाई देख्नेबित्तिकै म कामें । एकछिन पछि फेरि हेरें अनि हेरिरहें । तपाईंको व्यक्तित्वले मलाई लठ्ठ पार्‍यो । त्यसपछि अघिपछि गरेर तपाईंलाई हेरिरहें । धेरै हेरिरहँदा पनि साथीभाइले गिज्याउलान् भन्ने डरले लुकीलुकी हेर्न थालें । जतिपल्ट हेर्थें त्यतिपल्ट नौलो र मीठो अनुभूति हुन्थ्यो । यसै क्रममा तपाईंहरूको गोडा धुने बेलामा हाम्रो आँखा जुधे । मलाई त के भयो, के भयो । मैले त्यहाँबाट भागेर भित्र कोठामा गएर भित्तामा राखेको ऐना हेरें । आश्चर्य ! मेरो शरीरमा तपाईंको शरीर मिसिएको आकृति देखा पर्‍यो ।”

“अनि के भयो -” मेरो जिज्ञासा चरम बिन्दुमा थियो ।

“अनि के हुनु नि ! तपाईंले संयुक्ता दिदीलाई लिएर जानुभयो र हामी आसाम फर्कियौं । आसाम फर्केपछि मलाई बसिनसक्नु भयो । धेरै अत्तालिएँ, अस्थिरताको पराकाष्ठामा पुगें र ढिलै गरी भए पनि एउटा निर्णय लिएँ । एउटा सङ्कल्प गरें तपाईंलाई जसरी पनि प्राप्त गर्छु यदि प्राप्त गरिनँ भने, जीवन नै अन्त्य गर्छु त्यसपछि मेरो दिनचर्या बदलियो ।”

“कसरी -” विवाहित मान्छेप्रति कन्याकेटीले यतिसाह्रो आसक्ति देखाएको मलाई रमाइलो लागिरहेको थियो ।

“म बेस्सरी पढ्न थालें । पढेर पैसा कमाउने ममा धुन सवार भयो । पढें, मज्जाले पढें । व्यवस्थापनमा स्नातकोत्तर गरें र आमाबाबुसँग झगडा गरेर काठमाडौं भित्रिएँ । पढाइ राम्रै थियो, यति टुर्समा काम थालें । बीचबीचमा तपाईंहरूको खोजी नीति गरिरहन्थें । यति टुर्समा दस वर्ष काम गरेर पोखरा आएकी र त्यहीं कमाएको पैसाले घर किनेकी । थाहा छ मैले घर किन किनेकी -”

“किन -” मेरो बुद्धिले आम्रपालीको कथाको टुप्पो अझै भेटेको थिएन ।

“किनकि तपाईंले मलाई बिहे गर्नुहुन्छ भन्ने पूरा विश्वास जाग्यो । संयुक्ता दिदीको घरमा सौता भएर पस्न मन लागेन । सौतै भए पनि अलग्गै बस्ने निधो गरें । थाहा छ तपाईंलाई – संयुक्ता दिदी मेरी आफ्नै दिदी हुन् । पहिले तपाईंले शङ्का गर्नुहोला भनेर मेरो घर आसामको माझगाउँ भनेकी हुँ ।”

“के अरे -” डुङ्गा हल्लियो, फेवामा छालहरू उठे र म झन्डै डुबें । अगाडि हेरें माछापुछ्रेले आकाश छोएको छ, शिखरमा संयुक्ता छिन् र म कतै तल छोडिएको छु । मेरा पछिपछि आम्रपाली आउँदै छिन् ।

“संयुक्ताले त कहिल्यै बहिनी भएको कुरो गरिनन् त !” मेरा मुखबाट अनायास खुस्कियो ।

“होला ! दिदी त्यसै पनि अन्तर्मुखी हुनुहुन्छ तर त्यसभन्दा पनि ठूलो कारण अर्कै छ ।” आम्रपालीले भनिन् ।

“त्यो चाहिं के नि -” म रहस्यको खाडलमै डुबिरहेझैं लाग्यो ।

“तपाईंहरूको बिहे हुनुभन्दा एक वर्ष अगाडि मलाई उल्फाका उग्रवादीहरूले अपहरण गरेर लगेका थिए । उनीहरूले नराम्रो केही गरेनन् र पन्ध्र दिनपछि छाडिदिए । उनीहरूले पन्ध्र दिनसम्म सांस्कृतिक सचेतनाको तालिम दिइरहे र मलाई कलेजमा गएर सोही अनुसार काम गर्न अह्राए । तर यही त हो हाम्रो नेपाली समाज । मेरो विषयलाई लिएर घरमा ठूलो तनाव उत्पन्न भयो । ठूलाठालू भनाउँदाहरूले बस्न दिएनन् । हामीले ठाउँ सर्नुपर्‍यो । त्यसपछि संयुक्ता दिदीको बिहेको कुरा चल्यो र त्यसपछाडि त तपाईंलाई के भन्ने । संयुक्ता दिदीले कहिल्यै आफ्ना पिरमर्का कसैलाई भन्नुभएन । म पनि भन्दिनँ तर तपाईं अब मेरो भैसकेपछि मैले चाहिं लुकाउन उचित ठानिनँ ।”

सूर्य अस्त हुन लागिसकेछन् । डुब्न लागेका सूर्यको रातो उज्यालोले माछापुछ्रेलाई पनि रातै बनाइसकेको थियो । यस्तो रातो प्रायः सधैं देखिन्छ तर आजको रातो मलाई केही विशेष लाग्यो ।

——-

म आशुतोष । संयुक्ताको पति । आम्रपालीको कुरा सुनेपछि , मैले संयुक्तालाई अझ बढी आदरभावले हेर्न थालेको छु । उनीप्रतिको प्रेम बढेको छ । यसै बीचमा सारङकोटको रिसोट बनाउने काम पनि सकिइसकेको छ । उद्घाटन पनि गरिसकियो । संयुक्ता दिउसो सारङकोट जान्छिन्, दिनभरि अफिसमा बस्छिन् र बेलुका आउँछिन् ।

रिसोर्टको व्यवसाय राम्रै चलेको छ । संयुक्ताका अनुहारमा गहिरो सन्तुष्टि देख्छु । लाग्छ मैले केही दिन सकें उनलाई । तर आम्रपाली ……… मेरी साली …………. । संयुक्ता ………. मेरी पत्नी ………।

——–

म आशुतोष । म आम्रपालीको पति । आम्रपालीको कथा पछि मैले उनीसँग बिहे नगरी धरै पाइनँ । उनले जबरजस्ती त गरिनन् तर उनीसँग यति लामो यात्रा गरिसकेपछि मैले नै उनलाई छोड्न सकिनँ । व्यावसायिक कामका नाममा हामी पोखराबाट भाग्यौं । दिल्ली गयौं, मैले संयुक्तासँग वाचा गरेको हनिमुन आम्रपालीसँग मनाएँ । तर पनि संयुक्ताले कहिल्यै मेरो साथ छोडिनन् । पचास वर्षमा हनिमुन …. ।

——

म आशुतोष । म अहिले धेरैजसो लेकसाइडकै घरमा बस्छु । आम्रपालीको सपना पूरा भएको छ । संयुक्ता घर छाडेर रिसोर्टमै गएर बस्न थालेकी छन् । उनी मेरो अनुहार हेर्न चाहँदिनन् । छोरा प्रमोद र छोरी नीलिमा पनि रिसोर्टमै बस्छन् । अहिले मेरो व्यवसाय खस्केको छ । पहिलेको जस्तो कमाइ छैन । परिवार पनि दुइवटा भए । अहिले आएर आम्रपालीको शङ्काले विकराल रूप लिंदै छ । म घरबाट निस्किएको राम्रो लाग्दैन उनलाई । घरबाट निस्कियो कि म संयुक्ताकहाँ नै जाइहाल्छु अरे । कस्तो अचम्म ! उता संयुक्ता भने मेरो नामै सुन्न नचाहने, यता आम्रपाली घरबाट निस्कन नदिने । कुनै महिलाको सनक पूरा गर्नु मलाई के बाध्यता थियो र – मलाई निकै रित्तोपनको आभास हुन थालिसक्यो ।

आम्रपालीले पनि मलाई सन्तान दिन आँटेकी छन् । संयुक्ता भन्छिन् रे छोराछोरीको जिम्मेवारी मेरो हो । हो पनि, तर उनी पनि कमाउँछिन्, उनको पनि त केही जिम्मेवारी बन्दो हो । आम्रपाली पनि त उनकै बहिनी हुन् नि । प्रमोद र नीलिमाका फर्माइसहरू पूरा गर्न म अहिले असमर्थ छु ।

——-

म आशुतोष । म न संयुक्ताको पति न आम्रपालीको । संयुक्तासँग हुँदा आफूसँगै समानान्तर जाने आम्रपालीको विचारले कहिल्यै छोड्दैन । आम्रपालीसँग हुँदा संयुक्ताको साथले त्यसै गर्छ । म भने कहिले बराही मन्दिर, कहिले बेगनासका बीचमा गएर दुइ समानान्तर जिन्दगीहरूको बीचमा भएको शून्यलाई अनि शून्यताबाट सिर्जित रिक्ततालाई हेरिरहेको हुन्छु । मलाई लाग्छ म मेरो परिचय कहिल्यै नभेटिने समानान्तर रेखाहरूको बीचमा हराएको छ ।

२०६३ भदौ १२

Krishna Dharabasi – Hanumaneko Thela

इतिहासले कुल्चेर गएका समयका सबै क्षणहरूमा काला दागहरू मात्र छापिएका छन् । पश्चाताप, विलाप, घृणा र अविश्वासहरूको डरलाग्दो ग्रन्थ भएर उभिएको इतिहास विगतको अनुहार हुँ भन्छ । हामी हरेक वर्तमानमा खडा भविष्यको सुन्दर आकृति खिच्न व्यस्त छौँ तर के त्यो व्यस्ततामा कुनै कुटिलता नमिसिएको सादा सहजता छ –

उदार र र्सतर्क भएर पनि जीवनलाई र्छलङ्ग देख्न नसकिने गरी जीवनमा छौँ हामी । आफैँलाई देख्न खोजेर पनि देख्न सकेनौँ हामीले । सदा दौडधुप, भागाभाग, धमाधममा प्रतिस्पर्धा छ- प्राप्तिका लागि तर त्यो प्राप्ति के हो – कहाँ छ त्यो – हामीले चाहेको के तर पाइरहेछौँ के –

कुनै कविले आएर भन्छ, “त्रि्रो लक्ष्य भनेको मानवताको परम-प्राप्ति हो । तिमी विश्व आदर्शको मार्गमा बढ ।”

कुनै दार्शनिक आएर बोल्छ, “हे मनुष्य ! तिमी परमात्मा प्राप्तिको मार्गमा लाग । यो भौतिक दुनियाँ भुलभुलैया हो, यसले तिमीलाई पापको जालमा अल्झाइरहेको छ । तिमी सांसारिकताबाट मुक्त बनी परमानन्द परमेश्वरमा एकचित्त बन ।”

एउटा नेता आएर भाषण गर्छ, “प्रजातन्त्र खतरामा छ, राष्ट्र खतरामा छ । देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले हाम्रो देशभित्र षडयन्त्रको जाल बुनिरहेछन् । त्यसबाट हामीले मुक्त हुनु छ । हाम्रो सङ्र्घष्ा बाँकी छ, पर्ूण्ा क्रान्ति हुुन बाँकी छ ।”

अरू कैयौँ कैयौँ व्यक्तिहरू सदा नयाँ-नयाँ सन्देश लिएर आउँछन्, उपदेश लिएर आउँछन्, गीत, गजल, भजन र आरतीहरू बोकी आउँछन् । प्रत्येकले आफूलाई एक योग्य र समर्पित पात्र सावित गर्दै सहयात्रीको अनुरोध बोकेर आउँछन् । हामी एकै ठाउँ खडा अविचल देख्न विवश छौँ यो गति, नाटक, लीला ।

हो जस्तो, सत्य जस्तो, लागूँ-लागूँ जस्तो, हिँडिदिउFm जस्तो । कहिले जोशले चिच्याइदिऊँ जस्तो, कहिले भक्तिभावले ढोलकमा ताल हालुँू जस्तो, कहिले नतमस्तक भएर आरती गरी दिऊँ जस्तो । अनेक आकर्षा र विश्वासका बजारमा खडा भएर अलमलिएका छौँ हामी ।

आफ्ना दुःख, व्यथा, समस्या र पीडाहरूबाट मुक्तिको प्रयत्नमा व्यस्त यो थकित, गलित मनलाई यी आकर्षाका आवाजहरू कति प्रिय छन् तर, तिनले हामीलाई दिने के – तिनबाट हामीले पाउनु के – सदा अरूको हातमा लगाम पुगेको हामी घोडा, अरूका औँलाको चालमा नाच्ने हामी कठपुतली, अरूको इसारामा चट्पटाउने हामी सम्मोहित पात्रहरू । हाम्रो आफ्नो निर्ण्र्ाार आफ्नो उठाइ खै – खै हामी –

बुद्धिले काम गर्न थालेपछि मान्छे तर्कहरूका सङ्कटमा पुग्दोरहेछ । तर्कहरूले सदा सावित गर्न चाहन्छन्, जित्न चाहन्छन् । तर्क जहिले पनि बोल्न चाहन्छ । तर्कका साविती, विजय र प्रमाणहरू बीच उत्पन्न भएका भ्रम, असत्यहरू सदा हामीलाई पश्चाताप छन् । पर्ुखाहरूका मिचाहा अनुभवहरू वर्तमान पुस्तालाई कुरुप खतहरू हुन् ।

यद्यपि मुक्तिका मार्गमा हामीलाई झन् धेरै-धेरै अक्करिला भीरहरू प्राप्त छन् । जति-जति अघि जाँदैछौँ हामी, झन्-झन् तिलस्मी कुवामा फस्दैछौँ । हामीलाई मुक्तिका सपनाहरू ऐठन भइरहेका छन्, सङ्र्घष्ाका प्राप्तिहरू ठेला भइरहेका छन् । संवेदनाबाट मुक्त हुँदैन हाम्रो र्स्पर्शचेतना ।

इतिहास सदा जित्नेहरूका हातको शक्तिशाली लीला हो, जसलाई टेकेर भविष्यतिर बढ्दछ- सत्तायात्रा । इतिहासका छायाँमा परेकाहरू यस धरतीमा नजन्मिएका थिए र – वा तिनले उठाएका आवाजहरू यस वायुमण्डलमा कहिल्यै तरङ्गति भएनन् –

यत्रा ठूला-ठूला विषयहरू मेरो मथिङ्गलमा नाच्दानाच्दै एकाएक स्वाट्टै त्यसबेला हराएर जान्छन्, जब मेरा आँखाअघि हनुमाने ठेला हराएपछि बेरोजगार भएको पीडा बोल्दै हुन्छ वा धनबहादुर दर्जी आफूले भर्खरै प्राप्त गरेको धनीपर्ुजा देखाउन अन्कनाइरहेका हुन्छन् ।

६५ वर्षो उमेरमा पनि ठेला गाडीमा ४/५ बोरा माल हालेर बिर्तामोड र शनिश्चरेको कच्ची सडकमा दिनमा २/३ पल्ट ओहोर-दोहोर गरी जीविका चलाइरहने हनुमाने एकाबिहानै रुँदै घरअघि आइपुग्यो । बाटैबाट कराउँदै भन्यो –

“ओ सरबाबु ! तपाईंले सुन्नु भो आज रातमा मेरो ठेला कसैले चोरी दियो । अब म के गरी खानु लौ भन्नोस् ।”

ऊ एक्लै बरबराइरहेको थियो, “अरे साला चोर ! त्यसको मनमा अलिकति पनि धर्म रहेनछ । त्यसले चोर्दा पनि अरू हुने खानेकोबाट चोर्नु, जसको चोर्दा पनि घट्दैन त्यसको चोर्नु । ओ सर बाबु ! भन्नोस् त, अब मेरो त पेशा नै सकियो, अब के खाने -”

हनुमाने बोल्न पनि जानिरहेको थिएन । उसले कुरा मिलाउन पनि सकिरहेको थिएन । भित्रबाट भक्कानिएर आएको अव्यक्त पीडाका अघि ऊ पागल झैँ बरबराइरहेको थियो ।

उसको खेत, पसल, जागिर जे थियो सब त्यही ठेला थियो । वर्षौं पुरानो र थोत्रो । त्यसको टायर खिएर चिल्लो भइसकेको, ट्यूब त टालेकै टालेको थियो । मक्किइसकेका थिए ठेलाका काठहरू । मैले उसलाई विगत १५ वर्षेखि निरन्तर ठेला ठेलिरहेको देखेको हुँ । बाटोमा भेट हुँदा जहिले पनि “नमस्ते छ है सर बाबु !” भन्थ्यो ।

कहाँबाट आएर उसले शनिश्चरेलाई आफ्नो जीवनको अन्तिम बिसौनी बनाउन चाहेथ्यो, त्यो थाह भएन । उसको नाम के थियो – किन कसले नयाँ नाम ‘हनुमाने’ राखे – त्यो पनि थाहा छैन ।

जीवनमा उसले कसैलाई ठगेन, ढाँटेन, कसैको माल यताउति गरेन । पसिनाले लथपथ हुँदै, श्रमले थकित साँझमा एक के.जी. चामल, अलिकति तरकारी लिएर डेरा पुग्थ्यो । हर्ुर्केका सन्तानले त्यागिएकी, बृद्ध पत्नीलाई त्यो झोला जिम्मा लगाएर थ्याच्च भर्ुर्इँमा बस्थ्यो । यो बुढेसकालमा नवविवाहित दम्पतीझैँ- जन्माएका सन्तानहरूबाट परित्यक्त तिनीहरू निःसन्तान जस्ता थिए ।

सोध्दा हनुमाने भन्थ्यो, “चार भाइ छोराहरू सबैले छोडेर गए । केटी बिहे गरेपछि सबै आ-आफ्नो गरी खाने भए । तिनीहरूले आफ्नी आमाको पनि ख्याल गरेनन् । उनीहरूले आफ्ना-आफ्ना स्वास्नी मात्र जिम्मा लिएपछि मैले पनि भनिदिएँ ‘म मेरी स्वास्नी आफैँ पाल्छु । ओ हजुर ! छोराछोरी, वंश, सन्तान यो सब झूठ हो । मान्छे सबै स्वार्थी छ । शरीरमा शक्ति र बल भएपछि सबले सबलाई भुल्छ । तर हेर्नोस् न मेरो बुढी मेरो कुरा मान्दै मान्दिनँ । सधैँ छोराहरू सम्झेर रोइबस्छे । भन्छे, तिनीहरू सानै छ, बुद्धि छैन रे ! स्वास्नी, छोराछोरी भएको मान्छे सानो हुन्छ र -”

साँझमा नुन खोर्सर्ााको अचारसँग दर्ुइ ग्लास घरैया रक्सी पिएपछि अलिकति भात खाएर थाकेको जीउ ऊ मस्त निदाउँथ्यो । देख्दा जहिले पनि एउटा ठेला ठेलिरहने हुनमाने भित्रको पीडा, व्यथा र समस्याले अधिकांश गरीब र बेसहारा बृद्धहरूकै प्रतिनिधित्व गथ्र्यो । तर भएको एउटा ठेला पनि चोरी भएपछि उसको जीवनको बाँच्ने आधार नै समाप्त भयो ।

आँखाभरि आँसु भरिएको हनुमानेका ओठहरू थरथराइरहेका थिए । भन्यो, “सर बाबु ! चोर पनि गरीबै थियो होला । उसका घरमा पनि समस्या नै थियो होला । घर परिवार पाल्नकै लागि उसले पनि चोरी गरेको होला तर चोर्दा पनि त उसले विचार पुर्‍याउनुपर्ने । म जस्तो गरीबको ठेला चोरेर त्यसले के कमायो र हजूर ! बरु मलाई भोकभोकै पार्‍यो ।”

यहाँ इमान र श्रमको जीवन जिउन पनि कठिन छ, बेइमान र बेइलमको जीवन जिउन पनि कठिन छ । जीवन नै त्रास र आतङ्कभित्र गुम्सिएर छटपटाइरहेको छ । जसको जति छ, त्यसलाई त्यति नै जोगाउन पनि कठिन छ ।

हनुमानेका एक-एक शब्दहरू तीखा काँडझैँ गाडिए । मैले एउटा र्सवहारा जीवनमाथि अर्को र्सवहाराको आक्रमण देखेँ । एउटा सामन्तमाथि अर्को सामन्तको अतिक्रमण देखेँ । आफ्नै वर्गहरूका बीच द्वन्द्व र सङ्र्घष्ाको परम्परा देखेँ ।

जीवनमा सदा अग्निपरीक्षा छ । जहिले पनि आपद र कठिनाइहरू बीच खडा हुनुपरेको छ । सहनुको र धर्ैयको सीमा नाघेर पनि लाचार उभिइरहनु पर्दाका यी बाक्लै क्षणहरू सदा हीनताग्रन्थीका उत्पादक भएका छन् । एउटा मान्छे अर्को मान्छेका अघि सदा दयनीय र याचकका रूपमा खडा हुनुपर्ने बाध्यताको परम्परा कहिले कसले नष्ट गर्ने – र्

कर्मयोगका श्रीमद्भागवतहरू, साम्यवादका डास क्यापिटलहरू सब असफल छन् । यहाँ बग्ने पसिना र आँसुको मूल्य कहिल्यै तोकिएन, बग्नबाट पनि रोकिएन । पाप र पुण्यका र्स्वर्ग नर्कहरू, फूलको ओच्छ्यान र तेलको कराहीहरू सदा सक्रिय छन् । गरीब र बेसहारा हुनमानेको एउटा ठेला पनि जिउनका लागि छोडी नदिने त्योे चोरको व्याख्या हनुमानेको भागमा पुगेर जोडियो । सहानुभूति दिनेहरूले भने, “यो हुनमानेकै अभाग हो । छोराहरूले पनि छोडे, चोरी पनि लाग्यो ।” तर कसैले पनि उसको चोरको खोजी गरिदिन मद्दत गरेन ।

दाह्री पालेका सबै मानिसहरू साधु देखिन्छन् । दाह्रीभित्र लुकेको अनुहारको कुटिलता सहजै कसले देख्न सक्छ – आदर्शको व्याख्या, उपदेश, सिद्धान्त र तर्कहरूबाट सदा स्थापित र मर्यादित देखिँदै एकअर्कालाई ठग्न व्यस्त रहेको वर्तमान समाजमा एउटा ठेलावालाको ठेला चोरिनु वा हराउनु ठूलो समाचार होइन । तर हनुमानेका चुल्हामा आगो नजोरिएको साँझ उसकी बृद्ध पत्नीको आँखाको आँसु पो उसले कसरी पुछ्यो होला –

धेरै दिनसम्म मलाई हनुमानेको ठेला हराएको कुराले भित्र कता कता बिझाइरहेको थियो तर एकदिन बिहान उसले एउटा नयाँ ठेला ठेल्दै आएको देखेँ । खुशी लाग्यो । सोधेँ –

– कहाँ भेट्यौ ठेला –

– कहाँ भेट्नु हजुर ! त्यो त हरायो हरायो नि । मैले नयाँ ठेला, बनाइमागेँ साहुसँग । प्रत्येक दिन तीस रुपैयाँ उसलाई बुझाउनर्ुपर्छ ।

– नचलाएको दिन पनि –

– म कहाँ विश्राम लिन्छु हजुर – एक सास बाँकी रहेसम्म यो ठेलिरहन्छु सधैँ ।

– कुनै दिन बिरामी पर्दैनौ र –

– बिरामी त सधैँ छु नि तर, कहाँ काम छोडेको छु र ! काम छोड्यो भने पो मानिस बिरामी हुन्छ । कामले मान्छे बिरामी हुँदैन । बस्नेहरू, सुख खोज्नेहरू बिरामी हुन्छन्, हामी गरीबहरू कहाँ बिरामी हुन्छौँ – गरीबले बिरामी हुन पनि त पाइँदैन ।

हनुमाने आफ्नो ठेला हराएको दिनदेखि बेग्लै भएको थियो । उसका गफ, कुराहरू सब फेरिएका थिए ।

मलाई लाग्यो- मान्छेलाई घटनाहरूले निर्माण गर्दै जान्छन् । एक-एक घटनापछि मान्छे नयाँ-नयाँ बन्दै जान्छ । प्रत्येक नयाँपनले समाजमा चेतनाका नयाँ ढोकाहरू खोल्छ । हनुमाने जीवनका बारेमा निराश थिएन, ऊ चोरप्रति आक्रामक पनि थिएन । खाली चोरले पुरानो ठेला चोरेर उसैले पनि केही कमाउन नसकेको र आफ्नो पनि व्यवहार बिगारिदिएको गुनासो मात्र गथ्र्यो ।

जीवनलाई जसरी हेरे पनि हुन्छ । आँखा अनुसारका अनुहार, विचार अनुसारका व्याख्या, दृष्टि अनुसारका सोचहरू छन् । यो निर्विकार छ, निराकार छ । सबै अनुभूति जन्मन्छन् तर संवेदनाका ढोकामा खडा म सदा दृश्यहरूकै बीच व्यथित छु । ठूला र कडा शब्द र वाक्यहरू मेरो बुद्धिलाई खुराक छन् तर भावनाले म छु सदा हनुमानेकै नजिक ।

R R Chaulagain – Gafadi Sikshak [Nepali Laghu Katha]

आर आर चौलागाईं – गफाडी शिर्षक (नेपाली लघु कथा)

मैले प्रवेशिका दिनेबेलाको कुरा हो। हामी अखिलेश नाम गरेका शिक्षककहाँ ट्युसन पढ्थ्यौँ। पढाइबाहेक कहिलेकाहीँ अनौपचारिक गफ पनि हुन्थ्यो त्यहाँ। अखिलेश सर निकै गफ हाँक्नुहुन्थ्यो। वहाँका कतिपय कुरा त पत्याउन पनि मुस्किल पर्थ्यो। तैपनि हामी चाख मानेर सुन्थ्यौँ।

एकदिन सरले आफ्नो विगतलाई कोट्याउनुभो। वहाँले निकै फूर्तिसाथ भन्नुभो- ‘म कहाँकहाँ कति घुमेँ सुन्छौ ?’

हामीले एकै स्वरमा सहमति जनायौँ। सर धाराप्रवाह बोल्न थाल्नुभो – ‘मैले झापामा दस वर्ष पढाएँ। विराटनगरमा पाँच वर्ष पढाएँ। अझ पोखरा र काठमाडौँमा त झन् बाह्रबाह्र वर्ष पढाएँ…।’

मैले सरलाई बीचमै फ्याट्ट सोधेँ – ‘अनि सरको उमेरचाहिँ कति भयो होला अहिले ?’

सरले दाह्री सुमसुम्याउँदै निर्धक्कसित भन्नुभो- ‘कति हुनु नि ! भर्खर एकतीस लागेँ।’