R R Chaulagain – Sabthok Ramro (Nepali Laghu Katha)

आर . आर . चौलागाई – सबथोक राम्रो
(मधुपर्क साउन, २०६७)

टोलको कुनै चोकमा सहरको एउटा जगल्टे केटो बारम्बार देखिन थाल्यो । दिनदिनै उसको आवतजावत देखिरहेका मानिसहरूले ऊ आएपछि मुखामुख गर्थे, अति भएपछि केटोको गतिविधि हेरिरहेकामध्ये एउटाले केटोलाई सोध्यो

”तिमी सधैँ यता किन ?”

केटोले भन्यो – ” मलाई यताको चिया राम्रो लाग्छ ।”

अर्को दिन अर्कोले सोध्यो । केटोले रेडिमेड उतर दियो – “मलाई याताको हावापानी राम्रो लाग्छ ।”

केटोसँग थुप्रै प्रश्नहरूको उतर तयार थियो –

”मलाई यताको बाटो राम्रो लाग्छ ।”

”मलाई यताको माटो राम्रो लाग्छ ।”

”मलाई यताको पुल राम्रो लाग्छ ।”

”मलाई यताको फूल राम्रो लाग्छ ।”

”मलाई यताको कोक राम्रो लाग्छ ।”

”मलाई यताको सबथोक राम्रो लाग्छ ।”

लगतै केही दिनपछि टोलबाट एउटी केटी हराई । त्यसपछि त्यो जगल्टे केटो पनि टोलमा देखिन छोड्यो ।

R R Chaulagain – Gafadi Sikshak [Nepali Laghu Katha]

आर आर चौलागाईं – गफाडी शिर्षक (नेपाली लघु कथा)

मैले प्रवेशिका दिनेबेलाको कुरा हो। हामी अखिलेश नाम गरेका शिक्षककहाँ ट्युसन पढ्थ्यौँ। पढाइबाहेक कहिलेकाहीँ अनौपचारिक गफ पनि हुन्थ्यो त्यहाँ। अखिलेश सर निकै गफ हाँक्नुहुन्थ्यो। वहाँका कतिपय कुरा त पत्याउन पनि मुस्किल पर्थ्यो। तैपनि हामी चाख मानेर सुन्थ्यौँ।

एकदिन सरले आफ्नो विगतलाई कोट्याउनुभो। वहाँले निकै फूर्तिसाथ भन्नुभो- ‘म कहाँकहाँ कति घुमेँ सुन्छौ ?’

हामीले एकै स्वरमा सहमति जनायौँ। सर धाराप्रवाह बोल्न थाल्नुभो – ‘मैले झापामा दस वर्ष पढाएँ। विराटनगरमा पाँच वर्ष पढाएँ। अझ पोखरा र काठमाडौँमा त झन् बाह्रबाह्र वर्ष पढाएँ…।’

मैले सरलाई बीचमै फ्याट्ट सोधेँ – ‘अनि सरको उमेरचाहिँ कति भयो होला अहिले ?’

सरले दाह्री सुमसुम्याउँदै निर्धक्कसित भन्नुभो- ‘कति हुनु नि ! भर्खर एकतीस लागेँ।’