Dr. Raindra Sameer – Dhunga Ko Devta (Nepali Laghu Katha)

डा. रवीन्द्र समीर – ढुङ्गाको देवता (लघु कथा)
(Source: मधुपर्क)

लेउ लागेको हेर्दै घीनलाग्दो ढुङ्गो देखेर उसलाई सनक चढ्यो । अनि अलिकति अविर, अलिकति फूल, अलिकति अक्षता, दुई चारवटा सिक्का र रंगिबिरंगी ध्वजाहरु बााधेर बिरामी छोराको निम्ति भाकल गर्‍यो- हे प्रभु ! मेरो छोरोलाई निको बनाउ, सके कालो बोको नसके लोकल कुखुरो चढाउला ।

अर्कोदिन छोराको नाडी झनै पाताला हुदै गए, मुखमा हालेको पानी सररर बाहिर झर्‍यो जसरी उसले त्यो ढुङ्गामा गाईको दूध चढाउदा दूध बाहिर झरेको थियो ।

बच्चालाई कठैवरा ! विचरा !! भन्न उसको घरमा आफन्तहरुको भीड लाग्यो, त्यहा भन्दा ठूलो भीड ढुङ्गाको वरिपरि लाग्यो- पूजा गर्न, ढोग्न, फूलप्रसाद चढाउन, आर्शीवाद लिन ।

त्यही रात आकाशबाट उदीयमान एउटा तारा झर्‍यो, श्रृष्टिको रोलक्रम अनुरुप उसको पालो मिचियो । बलिन्द्र धारा आसु बहाउदै मसानघाटमा छोरालाई कणकण बनाएर ऊ रुदै फर्कियो, उसको जीवनमा सुनामी आयो ।

उसलाई दोस्रोपटक सनक चढ्यो अनि त्यो पुजित ढुङ्गा अर्थात् देवताको पखाल्यो अर्थात् पहिलेजस्तै लेउ लागेको कालो ढुङ्गो बनायो ।

भोलिपल्ट त्यो ढुङ्गामा गोठालो बसेर विरहको मुरली बजाएको सुन्यो, पर्सिपल्ट साइलो ज्यामीले त्यो ढुङ्गालाई घनले फोडेर, टुक्राटुक्रा पारेर हाटमा लागेर बीस रुपियामा बेच्यो र केटाकेटीलाई जाउलो खुवाउन चामल लिएर फक्र्यो ।

उसलाई आˆनो दोस्रो सनकप्रति गर्व लाग्यो-मैले गर्दा आज कसैको पेटमा अन्न त पर्‍यो ।

-गुल्मी, हाल पो.ब.नं. १३१४२, काठमाडौ

Ratna Prajapati – Sadakbaasi

रत्न प्रजापति – सडकबासी
(नेपाल साप्ताहिक)

“यही असार १५ गते आइतबारसम्म बाँकी सबै महिनाको भाडा चाहिन्छ । म अब अरू कुर्न सक्दिनँ । होइन भने…!”

पाँच दिनअगाडि घरबेटीले चेतावनी दिएको थियो । घरबेटीले भनेको असार १५ गते संयोगले आजै परेको छ । बितेका करबि दुई साता उसले पाँच महिनाको भाडाबापत घरबेटीलाई तिर्नुपर्ने पाँच हजार रुपियाँ सापटी खोज्दाखोज्दै बितेको थियो र ती पाँच दिन कति छिट्टै बिते उसलाई पत्तै भएन ।

आजै बिहान ऊ घरबाट निस्कने बेलामा घरबेटीको त्यो चेतावनी मनमा सम्‍झिदैँ सम्‍झिदैँ निस्केको थियो । अनि मनमनै अठोट पनि गरेको थियो- आज त जसरी भए पनि पाँच हजार रुपियाँ सापटी मागेर त्यो कन्जुस घरबेटीको घरभाडा त्यसको छातीमै फालिदिन्छु । अति नै गर्‍यो त्यसको गनगनले ।

हुन त हिजोअस्ति पनि ऊ यसरी नै मनमा अठोट गरेर निस्कन्थ्यो, जोसँग भए पनि पाँच हजार रुपियाँ सापटी मागेर घरभाडा चुक्ता गरिदिन्छु । तर, उसले त्यो पाँच हजार सापटी कसैबाट पाउन सकेको थिएन । सापटी माग्न जाँदा चिनेजानेका साथीहरूले उसलाई चियाचमेना खुवाए । कसैले भातै, कसैले टन्न जाँड पनि खुवाए तर उसलाई पाँच हजार रुपियाँ सापटी कसैले दिएनन् । सबैले एउटा न एउटा बहाना बनाएर टारे । उसलाई त्यो पाँच हजार रुपियाँ कसैबाट प्राप्त हुन सकेन । सबैतिरबाट ऊ निराश भएर फक्र्यो । कसैले उसलाई पत्याएनन् ।

अलिकति पैसा पठाइदिनू भनेर उसले घरमा खबर पनि पठाएको थियो तर त्यसको जवाफ यसरी आयो कि त्यसपछि उसले घरमा पैसा माग्नै छाड्यो । घरमा उसका बूढा बाबु, आमा र बिहे गर्न हतार भएकी एउटी बहिनी थिई । अलिकति पैसा मागेको जवाफमा बाबुले यस्तो खबर पठाएका थिए, “तँलाई जन्माएदेखि जति दिन पाल्नुपर्ने हो दुःखसुख गरेर पालिसक्यौँ । अब हामी तँलाई पाल्न सक्दैनौँ । अब त तेरो पालो हो हामी बूढाबूढीलाई पाल्ने । अब तँ हामीबाट पैसाको आश नगर बाबू † बरु सक्छस् भने अलिअलि घर्रखर्च पठाइदिनू ।”

हुनलाई त ऊ रोजगार नै थियो । एउटा प्राइभेट कम्पनीको मार्केटिङ् अफिसर थियो ऊ । तलब राम्रै पाइरहेको हुँदा उसको जीवन राम्रैसित चलिरहेको थियो । समयमा भाडा बुझाउँदा उसको घरबेटी पनि खुसी नै थियो । उसकी एउटी प्रेमिका पनि थिई, जो साँझबिहान उसलाई फोन गर्थी र कहाँ, कहिले र कतिखेर भेट्ने भनेर सोधिरहन्थी । ऊ अफिसबाट र्फकंदा उसकी प्रेमिका बाटोमा उसलाई कुरेर बसिरहेकी हुन्थी । अनि, दुवै जना कहिले कतै पार्कमा, कहिले कुनै रस्टुराँमा गएर कफी पिउँदै अथवा मःम खाँदै मीठोमीठो गफ गरेर समय बिताउँथे । यस्तो बेलामा उसकी प्रेमिका उसलाई खुब माया गरेजस्तो गर्थी । उससित लाडिन्थी । उससित टाँस्सिन्थी र उससित रत्तिन्थी । उसलाई नै आफ्नो जिन्दगी हो भन्थी र र्सवस्व उसलाई सुम्पन्थी । अनि, ऊ पनि प्रेमिकाको र्सवस्व ग्रहण गरेर त्यसको राम्रोसित उपभोग गथ्र्यो । अनि त उसकी प्रेमिका खुसी र ऊ झनै खुसी ।

जब देशमा सशस्त्र द्वन्द्व सुरु भयो, तब व्यापार व्यवसाय घट्दै गयो । चलिरहेका उद्योगधन्दाहरू क्रमशः बन्द हुनथाले । यसै क्रममा उसले काम गर्ने कम्पनी पनि निरन्तर घाटामा गएर बन्द गर्नुपर्ने अवस्थामा पुग्यो । कम्पनी बन्दसँगै उसको रोजगारी पनि बन्द भयो । कति प्रयास गर्दा पनि उसले रोजगारी पाउन सकेन । रोजगारको खोजीमा उसले निरन्तर जुत्ता खियाइरह्यो ।

देशमा चलेको सशस्त्र द्वन्द्वको प्रभाव आममानिसजस्तै उसलाई पनि पर्‍यो । मुख्य कुरो त उसको छँदाखाँदाको रोजगारी गुम्यो । यसले उसको जिन्दगीमा पनि परविर्तन आयो । शान्त र व्यवस्थित जिन्दगीमा एक्कासि अभावको आँधी चल्यो । अभावग्रस्त जिन्दगीदेखि तर्सिएर अथवा भनौँ अब ऊसँग आफ्नो भविष्य सुरक्षित हुने नठानेर अथवा आफ्नो आवश्यकता शारीरकिबाहेक अरु पूरा हुने नठानेर आफ्नो र्सवस्व सुम्पने उसकी प्रेमिका पनि परविर्तित भई । हेर्दाहेर्र्दै उसकी प्रेमिकाले कुनै एउटा प्राइभेट ब्याङ्कको जागिरे, पल्सर बाइकवाला केटालाई आफ्नो प्रेमी बनाई र उसकै अगाडि बाइकमा त्यो केटाको पिठ्यूँमा लपक्क टाँस्सिएर हुइँकिन थाली । त्यो देखेर उसलाई यति रसि उठ्यो, त्यसको घाँटी निचोरेर मारूँजस्तो लाग्यो । तर, उसले त्यसो गर्न सकेन । ऊ विवश थियो । किनभने, कमजोरी त उसकै थियो । उसको कमजोरी भनेको प्रेमिकाको भौतिक आवश्यकता पूरा गर्न नसक्नु थियो ।

समाजमा धेरै स्वास्नीमान्छेहरू यस्ता हुन्छन्, जो आफ्नो पुरुषले जतिसुकै भौतिक सुखसुविधा दिए पनि शारीरकि सुख दिन सकेन भने त्यस्ता पुरुषलाई नामर्द सम्झन्छन् । तर, उसकी प्रेमिका अलि भिन्न स्वभावकी र आधुनिक खालकी परी । उसलाई शारीरकि सुखसँगसँगै भौतिक सुख पनि बराबर चाहिने हुँदा उसबाट त्यो सम्भव नदेखेर उसले आफ्नो प्रेमी नै परविर्तन गरी । निश्चय नै दोष उसैको हो । बेलाबेलामा सिनेमा, पिकनिक र पार्टीमा जानका लागि अथवा नगरकोट, धुलिखेल र ककनीको लामो सफरमा सररर घुम्नका लागि एउटा पल्सर बाइकको त कुरै छोडौँ, जिउनका लागि नभइनहुने एउटा नाथे जागिर पनि नभएको बबुरोसित कसले प्रेम गरेर बसोस्

बेरोजगार भएपछि त साथीहरूले पनि विश्वास गर्न छाड्दा रहेछन् † पाँच हजार रुपियाँ सापटी माग्दा पनि अनेक बहाना गरेर टारे ।
मनमा यस्तै तीतो अनुभव बोकेर ऊ एउटा साथीको डेराबाट निराश हुँदै फर्किंदै थियो । हिँड्दाहिँड्दै उसलाई एक्कासि घरबेटीको चेतावनी सम्झना भयो, “असार १५ गते आइतबारसम्ममा भाडा चाहिन्छ … होइन भने… !” ऊ झल्याँस्स भयो । गर्नैपर्ने जरुरी काम गर्न बिर्सिराखेजस्तो एउटा ठूलो कर्तव्यबोध भएजस्तो भयो उसलाई । चिन्ताले ग्रस्त बनाउन थाल्यो उसलाई । चिन्तित हुँदै उसले फेरि एकपटक घरबेटीका वाक्यलाई दोहोर्‍याएर सम्झ्यो । जसरी पनि उसले आज घरभाडा तिर्नैपर्छ । होइन भने …! होइन भने के गर्छ त्यो घरबेटीले ? होइन भने उसलाई कोठाबाट निकालिदिन्छ । होइन भने उसका सामानहरू बाहिर फालिदिन्छ । होइन भने ढोका नै खोलिदिँदैन । ढोका नै खोलिदिएन भने कसरी घरभित्र पस्ने ?

यस्तैयस्तै सोच्दैसोच्दै ऊ हिँडिरहेको थियो । हिँड्दाहिँड्दै उसको मनमा यस्तो सोच आयो कि आज कोठामै नजाऊँ ! कोठामै नगएपछि टन्टै खत्तम ! भोलि जे पर्लापर्ला । तर, यसो भनेर यो राती हुँदो कसकहाँ शरण पर्न जाने ? उसको जाने ठाउँ पनि कतै बाँकी थिएन । साथीभाइ र चिनेजानेका भएसम्म सबैकहाँ उसले पाहुना लागेर रात काटिसकेको थियो । यति छिट्टै दोहोर्‍याएर पाहुना लाग्न कसकहाँ जानूँ ? कसैकहाँ जानु उचित लागेन उसलाई । त्यसैले आफ्नै कोठामा नगई सुखै भएन उसलाई ।

बाध्य भएर फेरि घरबेटीकै बारेमा सोच्न थाल्यो, कसरी मनाउने ? ऊ सडकको पेटीमा थचक्क बस्यो । तत्काल उसको मनमा केही उपाय सुझेन । भएसम्मका उपायहरूको उपयोग उसले पहिले नै गरसिकेको थियो । अब अरू केही उपाय बाँकी थिएन । ऊ डराउन थाल्यो, कतै घरबेटीले मालसामान बाहिर फालिदियो भने ? कसरी सहनु यस्तो बेइज्जती ? त्यसैले उसले अन्त्यमा हार मानेर एउटा निष्कर्षनिकाल्यो, ‘अरू केही दिन पर्खिदिनू भनेर हात जोड्छु, विनम्रतापूर्वक अनुरोध गर्छु त्यतिले पनि मानेन भने त्यो घरबेटीको पाउ पर्छु’ यस्तो सोच्दासोच्दै ऊ कल्पनामा हराउन थाल्यो । कल्पनामा उसले देख्यो, ऊ घरबेटीको खुट्टा समातेर भनिरहेछ, “घरबेटी साहुजी, अरू केही दिन पर्खिदिनूस्, म जसरी भए पनि तपाईंको भाडा तिर्छु” अनि, घरबेटीचाहिँ उसको पाखुरा समातेर उसलाई उठाउँदै भनिरहेछ, “यति सानो कुरामा पनि पीर मान्नुपर्छ र ! जतिखेर हुन्छ त्यतिखेर तिरे भइहाल्छ नि !” अनि ऊ दङ्ग पर्‍यो कति महान् घरबेटी भन्दै ।

एक्कासि उसको कल्पना भङ्ग भयो । कतिबेर अघिदेखि नै उसको एउटा साथीले उसलाई झकझक्याइरहेको रहेछ । “ओ महाशय, कुन सपनाको दुनियाँमा हराइरहेको थिइस् यो सडकको पेटीमा बसेर ?” उसको साथीले अलिकति ठट्टा गर्दै सोध्यो । साथीको ठट्टा पनि उसलाई बेसरी बिझायो र उसले गम्भीर भएर भन्यो, “के गर्नु यार, सपनामै त रमाउनु रहेछ हामीजस्ताको जिन्दगीमा, विपनाले त बिझाइरहन्छ ।”

अनि, उनीहरू यसरी वार्तालाप गर्न थाले- “कविता नसुना न यार, कविता सुन्ने मुड छैन । बरु भन् न, किन यहाँ यसरी बसिरहेको ?”

“दिक्क लागेर ।”

“किन दिक्क लाग्यो त ?”

“घरभाडा नतिरेको पाँच महिना भयो । धेरैसित सापटी मागेँ, कसैले पत्याएनन् । घरबेटीले आजै भाडा बुझाउनु भनेर चेतावनी दिएको छ । त्यसै भएर दिक्क लाग्यो ।”

“यो समस्या तेरो मात्रै होइन । मैले पनि भाडा नतिरेको तीन महिना भइसक्यो । कोठामा गयो कि घरबेटीले भाडा मागेर हैरान पार्छ । एउटा न एउटा बहाना गरेर टार्दै आएको छु । उता आफू काम गर्ने कारखानामा मजदुर हडतालले गर्दा उत्पादन बन्द भएको भन्दै तलब नदिएको पनि चार महिना भइसक्यो । यस्तै हो हामीजस्ता न्यून र मध्यम वर्गीयको समस्या ।”

“के गर्ने त यार ?”

“यसो गरौँ, आज कोठामा नजाऔँ । टन्न जाँड खाऔँ र रातभरि सडकमै सुतौँ । अनि, बिहान सबेरै उठेर हिँडौँ । सडक सबैको साझा हो, यहाँ सुतेको भाडा लाग्दैन ।”

“तर, पैसा छैन, जाँड कसले खुवाउँछ ?”

“त्यसको चिन्ता किन, उधारो खाऔँला ।”

“कसले दिन्छ उधारो ?”

“सबैले दिन्छन् । यहाँ चामल उधारो दिँदैनन्, नून उधारो दिँदैनन् तर जाँड सबैले उधारो दिन्छन् ।”

“किन ?”

“यसको उत्तर मलाई पनि थाहा छैन ।”

त्यसपछि उनीहरू कुनै भट्टीपसलमा गए । साहुनीसित जिस्किँदै टन्न जाँड खाए । जाँडले मातेर ढुनमुनिँदै सडकमा आए र सडकको एक छेउमा थचक्क बसे । अनि, कोही कसैको वास्ता नगरेर मुढाझैँ त्यहीँ लम्पसार परे ।

भोलि फेरि आउँछ, घरबेटीको भाडाको तरबार उनीहरूको घाँटीमा फेरि तेर्सिन्छ । तर, यतिखेर उनीहरू निश्चिन्त छन् । लाग्छ, उनीहरूले फेरि त्यस भोलिको सामना गर्नै पर्दैन ।

नेपाल साप्ताहिक
अंक ३०२

Devendra Koirala – Katahare Budhi

देवेन्द्र कोइराला – कटहरे बुढी

अंगेनाको डीलमा अर्धनिन्द्रमा रहेको पाटे बिरालो झसङ्ग भयो र बुर्लुक्क उपे्रुर भकारीको धान चोर्न िहंडेको मुसो समात्न दौडियो । दुई फड्का मार्नासाथ मुसोले चारैतिर गुहार माग्दै चिच्चाउन थाल्यो । पाटे मुसो बोकेर लिस्नुतिर उक्लियो र हर्केको खाटमुनी लगेर खेलाउन थाल्यो । त्यहि हल्लीखल्ली बीचमा थुन्सेले छोपेर राखेका २ दिनको जुम्ल्याहा पाठापाठीहरु भाका फिराउंदै कराउन थाले । उता खोरभित्र निदाएर बसेकी िसंगारी जुरुक्क उठेर खोरको ढोकामा आएर प्रत्युत्तरमा आफ्ना बच्चाहरुलाई बोलाउंदै फलाक्न थाली । एवं रीतले घरको शान्ति भङ्ग भयो । कटहरे बुढी आंखा मिच्दै फत्फताउंदै उठ्न थालिन । ढोकाको आग्लो खोलिन र आगनमा ओर्लिइन ।

बुढीले आकाशतिर हेरिन् । पाखुरे डांडाबाट आकाशमा तीनतारे ताराहरु ओर्लन लागेका थिए । बिहान मिर्मिरे उज्यालो हुन लागेको थियो । चन्द्रमाको उज्यालो बिस्तारै हराउंदै थियो र पूर्वबाट सूर्यले आफ्ना लालीका तीखा बांणहरु क्षीतिजतिर फाल्दै थियो । टौवाको टुप्पोमा बसेर काग मुण्टो हल्लाउंदै कराइरहेको थियो । घर अगाडि बकैनाको रुखको टुप्पोमा बसेर चिबे चरो तल र माथि गर्दै चिच्चाउंदै थियो । घर अगाडिको िगंदेरीको रुखको हांगामा धोबीचरी नानाथरी भाका निकालेर गायककारले झैं चुच्चो नचाउंदै गाइरहेको थियो । तल खोल्सातिरको बांसघारीमा डांग्रेका बथानहरु चिच्चाइरहेका थिए । पल्तीर गुरुङ्ग गाउंमा कुखुराको भाले बासिरहेको थियो । तल सालघारीमा बिभिन्न थरी चराहरु प्रभातलाई स्वागत गर्दै मीठा मीठा गीतहरु ग्ााउंदै रमाइरहेका थिए । घरको पालीमा घरजम गरी बसेका गौथलीका जोडीहरु आहार खोज्न जाने कुरामा आपसी सरसल्लाहा गरिरहेका थिए भने कटहरे बुढीको िपंढीमा परेवाका जोडीहरु फनफनी नाच्दै धुरधुराइरहेका थिए ।

गोठमा गाइ कराउन थाल्यो । गाइको साहारा पाएपछि गोरु र भैंसीहरु पनि चलवलाउंदै उठ्न थाले र आफ्नो नित्यकर्म गर्न थाले । कटहरे बुढी टौवामा हाम्फालिन र सकि नसकी पराल थुतेर सबैलाई अंशवण्डा गरिदिइन् । खोरभित्र सबै बाख्रा कराउन थाले । अघिल्लो बर्षसम्म एउटा मात्र जन्माउने िसंगारीले अहिले दुई वटा जन्माएकोमा बुढी प्रसन्न थिइन । खोरभित्रको खराने बोकोले अरुलाई देखि नसहने भएकोले सुरक्षाको दृष्टिकोणले जुम्ल्याहा पाठापाठी मान्छे सुत्ने घरको मजेरीमा नै थुन्सेमा नै कैद थिए । कटहरे बुढी बकैनाको रुखमा चढिन् र हंसियाले ४ वटा हांगा छिमलेर टाट्नोमा झुण्ड्याइदिइन । िसंगारीलाई मात्र बाहिर ल्याउने उद्येश्यले खोरको ढोका बिस्तारै खोल्न थालिन । िसंगारीले जवरजस्ती ढोका ठेलेर बाहिर आइ र बुढीले ढोका थाम्न सकिनन् । त्यस पछि खराने बोकोले फेरी बलपूर्बक ढोका ठेल्यो र बाहिर आयो । उ आएको देखेर बांकी बसेका भुराभुरी समेत गरी ९ वटा बाख्राहरु बुढीलाई हेप्दै जबरजस्ती बाहिर निस्केर िसंगारीको टाट्नोमा राखेको घांस डाईलंदै खान थाले । बुढीलाई रीसको सीमा रहेन । सबै बाख्रालाई पालैपालो सराप्दै बाध्न थालिन । यहि हल्लीखल्ली बीचमा छोरो हर्कै आंखा मिच्दै उठ्यो र सिलोटको थोत्रो भांडोमा पानी खन्याएर दिशा बस्न मड्किनाको झाडीतिर लाग्यो । बुहारी दैलो पोत्न थाली र नाती नातिनाहरु जुरुक्क ओच्छ्यानबाट उठेर रुन र कराउन थाले ।

कटहरे बुढी जसलाई ७ वर्षको उमेरमा ३५ बर्षको बुढासंग बाबुआमाले बिहे गरिदिएका थिए । गाउंलेहरुले ूमामाघर जाने है नानीू भन्दै फकाएर २ वटा सेलरोटी हातमा राखिदिएपछि उनी रमाउंदै डोली चढेकी थिइन् । घर पुगेर डोलीबाट उत्रेपछि मामा माइज्युलाई नदेखेर रोएकी उनीलाई उनकी मोटी थसुल्ली सासुले एक गिलांस दुध पिउन दिएपछि उनी फुलिएकी थिइन् । १४ बर्ष पुगेपछि हर्के जन्मियो । त्यसपछि जन्मेका ६ सन्तान मध्ये ४ सन्तान रोग नै पत्ता नलगाई खेर गए । कान्छी छोरी बाबु टोकाहामा परी र एक्लो हर्के बुढीको बुढेसकालको साहारा बन्यो । उनको लोग्ने भारततिर नोकरी गर्दागर्दै उतैतिर कान्छी देशी स्वास्नी राखेको खबर उनले पाएकी थिइन । घरमा एक पैसा पठाएको बुढीलाई थाहा छैन । तैपनि बेलाबखत उ घर आउंथ्यो र उनको पेटमा कालको नासो छोडेर जान्थ्यो । भारतमा दुर्घटनामा परी उ मरेको खबर आयो । उनका चुरा फुटे र कर्म सबै लुटियो ।

उनको पाखो बारीमा रहेको ठूलो कटहरको बोटको कारण कटहरे बुढीको नामकरण भएकी उनको बास्तबिक नाम उनको छोरो हर्केलाई समेत थाहा छैन । लोग्ने मरेपछि दिनभर चन्द्रकान्त मुखियाको घरखेतमा काम गर्ने र सांझ परेपछि उसकै ढिकी जांतो गरेर दिनरातको मेहनत स्वरुप २ मुठी कनिका घरमा लगी छोरालाई खुवाउंथिन् । बिहान बेलुका आमालाई काममा सघाउने छोरी मरेपछि बुढिलाई काममा सघाउने कोहि थिएन । एउटा छोरालाई काममा लगाउं भने खिएर जान्छ भन्ने मायांले हर्केलाई गिठा र भ्याकुर नै उसिनेर आफु भोकै बसेर भए पनि अघाउने प्रयत्न गरेकी थिइन् । त्यसो त बुढीको दशै मुखियाको घरको २ मुठी रौतुवाले टर्ने गर्दथ्यो र हर्केले पनि मुखियाको छोरोले फालेको कपडाहरुबाट नै दशै मनाउंथ्यो । लोग्ने जिवितै हुंदा पनि उनको सुत्केरी अबस्था पनि मुखिनीलॆ मुखियाको आंखा छलेर दिएको एक चौथाई ध्यु र ४ माना चामलले टर्ने गर्दथ्यो । लोग्ने मरेको बर्ष आएको बाढिले उनको गरी खाने सानो टारी खेत पनि खहरे खोलामा बिलाएपछि उनको जमिनको नाममा त्यहि ओत लाग्ने सानो घर थियो जुन घरभित्रबाट रातमा तारा गन्न पनि सकिन्थ्यो । पछि छोराले दिनभर निमेक गरेर उजिन्नीमा कमाएको टारीको पाखोले अहिले हर्केको परिवारलाई २ महिना खान पुग्ने सांगो जुटेको छ ।

कटहरे बुढी टारीको पाखोमा मकै गोड्दै थिइन । ६० बर्ष नाघेकी बुढीले कोदालो खन्न थालेको ५ घण्टा बितेछ । घरमा बुहारीले खान बोलाउली र जाउंला भनी दुखेको ढाड सोभुयाउंदै फेरी कोदालो जोत्दै थिइन । रङ्ग पनि छुटृाउन नसकिने मैलो खद्दरको पटुकाले पसिनाको धारा पुछ्दै खुइयऽऽ गर्दै सास फेर्थिन र सेतै फुलेको आफ्नो टाउको घरतिर फर्काउंछिन । नाती नातिना िपंढीमा पढिरहेका थिए । बुहारी ढोका भित्र र बाहिर गर्दै थिई । हर्के गोठ अगाडी बाचरोले दाउरा चिर्दै थियो । पल्लो डांडामा बिबाहको पाचैबाजा बजिरहेको थियो । बुढीले आंखा बारीतिर लगाइन । सन्ते कामीको छोरो पर्खालै पर्खाल चढेर बेलौंतीको बोटतिर दौडेर आयो र रुखमा चढेर कांचो पेटमा बेलौंती टिपेर खान थाल्यो । कति जतनले नाति नातिनाले खालान् भनी सांची राखेको बेलौंती कामीको छोरोले खाएकोमा बुढीलाई रीसको पारो चढ्न थाल्यो । कोदालो उज्याएर सराप्दै बुढी बेलौंतीको बोटतिर हान्निदै गइन् । बुढी त्यहां पुगिाजेल त्यसले ३ वटा बेलौंती खाएर ७÷८ वटा बेलौंती जांगेको गोजीमा कोचेर दौडिसकेको थियो ।

बिहानको दश बजिसकेको थियो । बैशाखे खडेरीमा एकतारको घामले बुढीको मुटु नै छेडिसकेको थियो । भोकले भाउन्न भएर लड्छु कि भन्ने स्थितिमा उनी पुगेकी थिइन् । भोकले सहन नसकी उनी पर्खाल नाघेर धारातिर लागिन् र पानीले भोक मेटाउने कोशिस गरिन् । कटहरको रुखको छाहारीमा एकछिन सुस्ताइन । त्यसपछि बुढिलाई कसैले उचाल्न थालेजस्तो भयो । उचाल्दा उचाल्दा उनी आकाशतिर उड्न लागिन् । उनी रमाइलो मानेर तलतिर हेरिन् । छोरो हर्के आमालाई खाना खान बोलाउंदै थियो । आमा नबोलेपछि उक्कासी उ बोलाउन छोडेर कान्ला कान्लै हाम्फाल्दै कटहरको बोटतिर हान्निदै पुग्यो र आमालाई झक्झक्याउन थाल्यो । माथिबाट बुढीले उसकी आमा उठेको देखिनन् । हर्के डांको छोडेर रुन थाल्यो । नाति नातिनाहरु हर्केसंगै रुदै थिए । बुहारी गुनियाको सप्कोले आंशु पुछिरहेकी थिई । एकै छिनमा गाउंलेहरु भेला भए र बुढीलाई तुलसीको मोठ नेर लगेर सुन पानी ख्वाउन लागे । भर्खरै धाराको पानीले अघाएकी बुढीले निकै मुस्किलले सुनपानी खाइन । त्यो दृष्य बुढीले आकाशबाट निकै रमाइलो मानेर हेरिरहिन् । भित्र चुल्होमा भात डढिसकेको थियो । खराने बोको दाम्लोबाट घांटी छिराई फुत्केर सुकाएको मकै खान थालेको थियो । गज्जुवा गोरु दाम्लो चुंडालेर मकैबारीमा पस्यो र बुढिले भर्खरै गोडेको मकै धमाधम खान थाल्यो ।

कटहरे बुढीले त्यो दृष्य रमाइलो मान्दै हेरिरहेको थिइन् । जीवनभर नर्कमा बसेकी कटहरे बुढी स्वर्ग गइन् कि नर्कमा त्यो त कसैले अनुमान गर्न सकेन । त्यतिखेरसम्म बुढीको शरिरलाई गाउंलेहरुले बाध्ने प्रबन्ध गर्दै थिए र गज्जुवा गोरुले बुढीले गोडेको आधाजसो मकै फांडिसकेको थियो । उनी चािहं अब धेरै नै माथि पुगिसकेकी थिइन् ।

R R Chaulagain – Sabthok Ramro (Nepali Laghu Katha)

आर . आर . चौलागाई – सबथोक राम्रो
(मधुपर्क साउन, २०६७)

टोलको कुनै चोकमा सहरको एउटा जगल्टे केटो बारम्बार देखिन थाल्यो । दिनदिनै उसको आवतजावत देखिरहेका मानिसहरूले ऊ आएपछि मुखामुख गर्थे, अति भएपछि केटोको गतिविधि हेरिरहेकामध्ये एउटाले केटोलाई सोध्यो

”तिमी सधैँ यता किन ?”

केटोले भन्यो – ” मलाई यताको चिया राम्रो लाग्छ ।”

अर्को दिन अर्कोले सोध्यो । केटोले रेडिमेड उतर दियो – “मलाई याताको हावापानी राम्रो लाग्छ ।”

केटोसँग थुप्रै प्रश्नहरूको उतर तयार थियो –

”मलाई यताको बाटो राम्रो लाग्छ ।”

”मलाई यताको माटो राम्रो लाग्छ ।”

”मलाई यताको पुल राम्रो लाग्छ ।”

”मलाई यताको फूल राम्रो लाग्छ ।”

”मलाई यताको कोक राम्रो लाग्छ ।”

”मलाई यताको सबथोक राम्रो लाग्छ ।”

लगतै केही दिनपछि टोलबाट एउटी केटी हराई । त्यसपछि त्यो जगल्टे केटो पनि टोलमा देखिन छोड्यो ।

Pragya Khanal – Kali Nayika

प्रज्ञा खनाल – काली नायिका
(मधुपर्क २०६६ चैत)

पशुपतिनाथको मन्दिर तल दक्षिणतिर निकैबेरदेखि एउटी नारी ठिङ्ग उभिएकी छ । निकैबेरदेखि उसका गोडा गलेका छैनन् । भर्खर कालिमाटीको खाडलबाट निकालिएको मूर्तिझैँ उसका शरीरउपर कालै वस्तुले अशोभा बढाइरहेको छ । हुन त उसका सौन्दर्यले कतै कुनै स्थानविशेष शोभा बढाउने स्तरका छैनन् । दुईखुट्टे मान्छे हुनुभन्दा अर्को सौन्दर्य उसमा छैन । निराशारूपी अन्धकारमा डुब्नडुब्न खोजेका आँखामा एउटा अभिशप्त प्रश्नवाचक चिहृन मडारिएझैँ लाग्दथ्यो ।

ऊ उभिएको नजिक एउटा फराकिलो, चिल्लो, चिप्लो ढुङ्गा फैलिएर रहेको छ । उसका कोप्चा खोरीजस्ता आँखा बरोबर त्यसैमा पुगेर अड्किरहन्छन्, किन हो । त्यहाँ त्यो जर्जर पाषाण त्यसै पसारिइरहेको थियो । त्यहाँ न कुनै कुशल शिल्पीद्वारा कमलपुष्प कुँदिएको थियो न कुनै चित्रकारको मन-कल्पनाले सारा संसारको चित्र चित्रित गर्न सकेको थियो । लाख प्रयत्नपूर्वक हेर्दा पनि त्यहाँ जीवनका रेखाहरू देखिँदैनथे, देखिन्थ्यो मात्र बागमतीका कलुषित जलबिन्दुका छिटाछाटीहरू । पवित्र बागमतीका दुर्गन्धित, धमिला, मैला छिटाहरू कुनैबेला उसका मुहारैभरि आएर उछिट्टन्िथे, ऊ भने चुपचाप थिई । तैपनि उसका मुहारभरि उहिल्यै कहिले इष्ट वस्तु वियोगबाट सहेको असहृय अन्तर्दाहका डामहरू गाढा देखिन्थे ।

साउन महिना, राताराता वस्त्र पहिरेर पशुपतिनाथको दर्शन गर्न आउने नारीहरूको घुइँचो छिचोलिनसक्नु छ । ईश्वरभक्तिको उत्कट चाहनाले कैले, कुन र कस्तो सुखद प्राप्तिमा शोभा पाउला Û हिजोसम्म झरीले आँखा उघारेको थिएन, आज भुसुनेपानी मात्र बिर्बिराइरहेको छ । वातावरणमा मनसुनी चिस्याइलो बोकेको सिरसिरे बतासले मादकता विकसित गरेको छ । साउन महिना सम्पूर्ण धर्ती पन्नैपन्नाको तन्ना ओछ्याएर राधाकृष्णलाई झुलामा झुल्दै प्रेममा विलय भएको देख्न आतुर रहन्छ । सांसारिक जीवन पनि प्रकृत प्रेरणाले वा ईश्वरीय प्रेरणाले मायाप्रेम, स्नेह, फैलाउन र हुर्काउने इच्छा राख्दछ ।

त्यहाँ उभिएकी रूपको भागै नपुगेकी त्यो कुरूपाका मुहारमा भावरेखाहरूका उतारचढाव स्पष्टै देखिन्छ । कुनै भारी वेदनाले उसका अन्तष्करण व्याकुल पारिएझैँ देखिन्छ । भस्मेश्वरघाटको छेवैमा उभिएकी त्यो काली नायिका आफ्ना विगतका धन-ऋणमा तल्लिन हुन्छे, केहीबेर । उसका ऊ आफूभन्दा कालाकाला आँखाहरू बागमती वरिपरि गर्दै चलमलाएका देखिन्छन्, नत्र उसका खोपिल्टे आँखाहरू कृष्णपक्षको चन्द्रझैँ क्षिण हुँदै गएझैँ देखिन्थे र ऊ आँखाका ढकनी उचाल्न बल गरेझैँ गरेर हेर्दथी । बखतबखतमा स्याईंस्याईं गर्दै ख्वाङख्वाङ खोक्दै लामोलामो सास फेर्दै सुस्केरा हाल्थी ‘खुइय खुइय’ । ढङ्ग नभएका मान्छेले पकाउँदा ताओमै डामि्रएको गहुँको रोटी जस्तो शरीरमा श्वासप्रश्वासको आरोहअवरोहहरू स्पष्टै देखिन्थ्यो । उसको धैर्य शिथिल भएझैँ निश्वास छोड्थी ।

बसेको खबटे कञ्चट, गालाका खोबिल्टा अत्यन्त घीनलाग्दा सोमबारे महिलाले उसलाई हेरेर दिक्क लाग्दो मुख लगाए

छि : यस्ता स्त्रीसँग यिनका पुरुषहरू कुन मोहनीमा मोहित हुँदा हुन्, अथवा यिनका पुरुष छैनन् वा भए पनि के गर्दा

हुन् आफ्नो शरीरलाई ती सोमबारे महिलाले निहुरेर छड्के, कर्के, अगाडि-पछाडि हेरेर पूर्णतृप्तिको भाव मुहारभरि चढाएर हिँडिन । सायद काली नायिकाको मिलेको कुरूपतामाथि व्यङ्ग्य गर्दै

हुन पनि त्यहाँ कल्पना गर्न सकिने ठाउँ नै थिएन । उसका खोबिल्टे गालामा पुक्कपुक्क मासु थिए । उसको डामि्रएको शरीरभरि कतै पोटिलो गोल मिलेका कमला मसल हाडलाई छोप्दै सुन्दर आकारमा विकास भएका पनि थिए । कसले सोचाइ विस्तार गरेर भन्न सक्छ र ऊ पनि कुनै बखत हिरोइन पो थिई कि झलझली परेको कालो हीरा अहिले पो उसको शरीरबाट चटक्क छाडेर अन्तै बास बस्न गएझैँ छ, यौवन ।

उसको नजिकै आएर एउटी लुत्याई बाँदर्नी अताल्ली अताल्ली आफ्ना शरीर कन्याउँदै थिई । छालाछाला मात्र बाँकी रहेझैँ त्यस बाँदर्नीको शरीर रगतपच्छे भएको छ- ऊ आत्तिँदै एता र उता गर्दै खर्‍याङ्खर्‍याङ् कन्याउँदै गर्छे । नायिकाले मुन्टो फर्काइ, दीन नजर पुर्‍याउँदै केहीबेर बाँदर्नीलाई हेरिरही । उसले आँखा चिम्म गरी र बाँदर्नीलाई भुसुक्क बिर्सी । सायद यसबखत ऊ उसका घरका मीठा स्मृतिमा हराउन चाहेकी होस्, जहाँ काठका घुमाउरे भर्‍याङ ढङढङ गरेर घरै थर्काएर तलमाथि, चोटाकोठा, दलान, मटान, चहार्दै बाल उदण्डताका दिन सल्बलाएका हुन् । अथवा उही जानोस्, बम्बैका दुर्दिनहरू भक्कानिएका हुन् । न कोक्किएका हुन् बैँसको वैशाख, काफल, चुत्रो र जमुनिमान्द्रोका अमिला, पहेँलापहेँला फूलहरू, हुनसक्छ पीपलका पात नाचेझैँ आलीआली र वनवनको नाच र प्रशंसक नजरका छड्के इसारा !

काली नायिकाका आमाबाबुको ऊ सानै हुँदा मृत्यु भयो । त्यसपछि ऊ दाजुभाउजूको कडा बुहार्तनमा हुर्किन थाली । जे गरे पनि जहिले पनि उसको मात्र अर्घेलो देखिन्थ्यो । क्रमशः घरको टोकसो बढ्दै जान थाल्यो । उमेर चढ्दै जाँदा टोकसोका विषयवस्तु फरक हुनथाले । टुहुरीका दिनदशा बिगि्रँदै गए ।

भाउजू चोथाले असाध्यै करकर गर्थी-कैले स्कुल ढिला गएको, कैले स्कुलबाट ढिलो आएको, भातमा अरुची बढेको, नौरङ्गी लुगा गहना जडेर बिदाका दिन आफ्ना प्रशंसकहरूलाई नजर गराउन हिँडेको- यस्ता कुराहरूका विषयवस्तुहरू भाउजूद्वारा दाजुमा प्रसारण भई नै रहेथ्यो । त्यस्ता प्रस्तुति दाजु कुनै प्रकाण्ड विद्वान्ले दिएको अर्तिउपदेशझँै ध्यानमग्न सुनिरहन्थ्यो र आज्ञाकारी शिष्यझैँ अक्षर नबिराई पाठ घोकेर कण्ठाग्र पार्दै उसका उपर बर्सिन्थे लबटैलबटा ।

अब घरको टोकसो खप्दाखप्दा मनले बहिर्गमनको सुखमय बाटो खोज्न थाल्यो । साँच्चै बाहिरको संसार कताकता उज्यालो र रमाइलो लाग्दैलाग्दै जान थाल्यो स्वतन्त्र सास फेर्न पाइने शान्तविश्राम ।

उमेर जतिजति बढ्दै गयो प्रशंसकहरू बेहिसाबसित हृवात्तै बढ्दै जानथाले । घर सारा निकाशा रोक्ने, विकासका सम्भावनाहरू बन्द गर्ने बोझिलो बाध्यता बन्दै जाँदा ऊ निगमनका बाटाहरू पहिल्याउन खोज्दै थिई ।

उसका विभिन्न क्रियाकलाप बढ्दै गए । जीवन भनेको सुमधुर सपनाहरूको तानावाना मात्र हैन यहाँ आँसुका दहमा आहाल बस्न सक्नुपर्छ भन्ने कुरा बु्झ्न सकेकी थिइन- ‘आपत्तिजनक क्रियाकलापमा लागेको’ दोष पारेर विद्यालयले निष्काशन गर्‍यो ।

विद्यालयले अभिभावक बोलायो, अरू मान्छे भेला गर्‍यो, पचासौँ जनाको अगाडि ठिङ्ग उभ्याएर उसमाथि विभिन्न लाञ्छना लगायो । थोरै भीडमा पनि केही सर्सराहट उठ्यो र परर्र पड्क्यो ताली । समाजलाई उज्यालोतर्फ लानेहरूले पनि मुख चपचपी मिठ्याए-गर्विलो पुरुषार्थको आभा झल्किन्थ्यो मुहारमा । तालीको मोहनी नै छुट्टै छ, ताली पाए गाली पनि तालीका गडगडाहटमा बिलाउँदो हो । त्यत्रा भद्रजनले न जीवन देख्यो न भविष्य सम्झ्यो, न आफ्ना पनि सन्तान छन् भन्ने विचार गर्‍यो । एउटा हराभरा हुनसक्ने जीवनको सम्भावित राजीनामामा हस्तखत गराइयो ।

‘स्याबास Û’ भन्यो जगतैले, विजयको मुजुरकल्की ढल्कियो समाजका शिरमा । ताली बजाउनेबाहेक अरू संसारै दुष्ट र नालयकीमा दरिने विश्वासले कसैले ताली नबजाउने आँट गरेन । डुङडुङी गन्हाइरहेका चरित्रका दुर्गन्धलाई ढाकछोप गर्न भारी पुरुषार्थ प्रयोग भयो । खाली त्यो टुहुरी एउटी विकम्मा, अरू सारा देउता भए ।

परिवारले धारेहात पुर्पुरोमा धार्‍यो, दुनियाँले गरेको तेजोवधका कारण उसभित्रका ज्ञानशक्ति यस्तो दुर्वल भएर गयो उसले केही गर्ने आँटै गर्न सकिन । उसका पानीदार टलक्क टल्केका आँखाले तरक्क आँसु काढे, उसको अन्तरआत्मादेखि उर्लियो एउटा भद्दा सराप । त्यस्तै डरलाग्दो भद्दा सराप गरेर ऊ त्यहाँबाट बिदा भई ।

काली नायिकाका जीवनजराले गडिन पाएन । रूख बनेर हाँगाबिँगा फैलाउन पाएनन्, मुजुरामा मञ्जरी लाग्न पाएनन्, खुला हावामा निर्धक्क झुल्न पाएनन् । ऊ त अब जिल्लाराम परी । घरले त्याग गर्‍यो । पीपलपाते फिफिर्रे मुटुहरू फिफिर्राउन थामिए । ऊ झस्की ‘खै त्यत्राविधि मान्छेहरू ?’ जो सदा उसका पाउको धूलो हुन तत्परता देखाउँथे, अब दुनियाँले चोरऔँला ठड्यायो ऊतिर ।

छड्के सिउँदो, कर्के नजर, लर्के जोवन विकम्मा भो यतिखेर । बरु चोर बाटाहरू पो खुल्न थाले । धमाधम । नुहेका हरेक वस्तुले उसकै पाउँ परेझैँ लाग्ने सारा भ्रम टुटे । जन्म सुधार्ने अर्ति-उपदेश जपाएर बुजु्रक बनाउन पनि नखोजेका हैनन्, दुनियाँले जप्न लगाएको जपमाला उसले ग्रहण गरिन ।

अहिले पो उसले लामो सास फेर्न पायो । सजाय तोक्नेहरूले समाजसुधारको ठूलो काम गरेर पगरी भिर्न पायो ।

एउटी अल्लारे टुहुरीलाई मान्छेको दर्जाबाट खुर्मुर्‍याउन सकेको विजयोत्सव खुसी भएर मनायो होला समाजले । आजै पनि सम्झेर ल्याउँदा उसलाई ऊ आफैँ कुनै नाटकको पात्र भएझैँ लाग्छ, जसको हिँड्दाहिँड्दै हिँडेको बाटै बिलाएर जान्छ । विद्यालयबाट निकालिँदा उसको तोकेर ठम्याउन वा औँल्याउन सकिने कुनै गल्ती थिएन । बुद्धि पुगेन, एक-दुई दिन प्रशंसकहरूका साथ लागेर घुम्न गएकी त हो नि

यस्तै साउनमास थियो, रुझ्दै विद्यालय पुगेकी थिई, पुग्नेबित्तिकै कारबाहीमा परेर ऊ फिर्ता भई । झमझम वषर्ा ओढो नहुँदा निथु्रक्क भिजेका लुगा, मनसुनी चिस्याइलो बोकेको बतास के-के न गरौँला भन्ने आँट, पीपलपाते मुटुमा विश्वास, बैँसका तोपले जगमगाएका भुइँमै नटेकिने पैतालामुनिको संसार भास्सिएर पात्ताल पुग्यो । चारैतिर जगमगाएको दरिलो विश्वास त कुहिरोको काग जस्तो पो रहेछ । त्यस्ता विश्वासको बदला उसलाई उपहार पशुभन्दा पनि तल्लो जीवन

परदेशको साँघुरो कोठामा सोह्रसिङ्गार रचेर हरेक दिन भुसतिघ्रे धुर्मुस स्याहारेरै बितेछन् जीवनका दुईबीस वर्ष ।

ऊसामु सधैँ एउटा ठाडो प्रश्नले प्रश्न गर्छ- किन घर, विद्यालय, आफन्तले त्याग गरेर विरानु दुनियाँसामु पस्केर छोडिदियो ?

काली नायिका सुस्केरा हालेर फतफताउँछे -‘उफ मलाई जीवन त्यहीँदेखि दोहोर्‍याउन मन छ ईश्वर जहाँ म गिलो माटोको अविकसित भाँडोजस्तै थिएँ । मेरो निर्धारित आकार निर्धारण नहुँदै कडा धुपमा सुकाएर कडा पारिदिए । मलाई जीवन दोहोर्‍याउन देऊ ।’

उसले भस्मेश्वरदेखि आर्यघाटसम्मका चिता हेरी, कुनै चिता खाली छैनन् । चिताबाट उठेका धुवाँको मुस्लो पशुपतिनाथको गजुरलाई फनक्क घुमेर मास्तिर मास्तिर अकासियो । उसका पानी सुकेका सुख्खा आँखाहरू मैलो बागमतीमा गएर गाडिए । उसले निहुरेर आफ्नो शरीर हेरेर फतफताई- ‘माता तिम्रो र मेरो व्यथा उस्तै छ, मेरो रङ्गमञ्चमा पनि यस्तैयस्तै फोहोर पीडाका, वेदनाका र सहनशीलताका दृश्यले भरिभराउ छ, तिम्रो अनि मेरो जीवनलाई रछ्यानै रछ्यान पारेर छाड्ने हामी हौँ त ?’

उसले ठूलै आवाजले कराई-

‘माता हाम्रा जीवनका सिर्जनाका बाटाभरि विष काँढाको काँढेदार थाँग्रो गाडेर यो निर्दयी दुनियाँले विषाक्त बनाइदियो, सो विष अहिले कयौँका जिन्दगीमा घोलेर जिन्दगी नै विषाक्त भइसक्यो र अझ कति कति जिन्दगीका रगतरगतमा विष घोलिन बाँकी छ । उसले दुवै हातले टाउको समातेर पछाडि ढल्काई ।

उसका आँखाहरू आकाशतिर फर्किए, जहाँ नीलो आकाश छेकेर घुर्मैलो बादल डम्म विराजमान थियो । उसका सुख्खा आँखाभरि अनन्त करुणाका लहरहरू छालझैँ उठ्थे, छचल्किन्थे र उछालिँदै थचारिँदै गर्थे ।

बागमतीका मैला, काला, दुर्गन्धित फोहोरी छिटाहरू ऊ उभिएको ठाउँसम्म छट्याकछुटुक् पर्दै सुक्दै, पर्दै सुक्दै गथ्र्यो ।