Pragya Khanal – Kali Nayika

प्रज्ञा खनाल – काली नायिका
(मधुपर्क २०६६ चैत)

पशुपतिनाथको मन्दिर तल दक्षिणतिर निकैबेरदेखि एउटी नारी ठिङ्ग उभिएकी छ । निकैबेरदेखि उसका गोडा गलेका छैनन् । भर्खर कालिमाटीको खाडलबाट निकालिएको मूर्तिझैँ उसका शरीरउपर कालै वस्तुले अशोभा बढाइरहेको छ । हुन त उसका सौन्दर्यले कतै कुनै स्थानविशेष शोभा बढाउने स्तरका छैनन् । दुईखुट्टे मान्छे हुनुभन्दा अर्को सौन्दर्य उसमा छैन । निराशारूपी अन्धकारमा डुब्नडुब्न खोजेका आँखामा एउटा अभिशप्त प्रश्नवाचक चिहृन मडारिएझैँ लाग्दथ्यो ।

ऊ उभिएको नजिक एउटा फराकिलो, चिल्लो, चिप्लो ढुङ्गा फैलिएर रहेको छ । उसका कोप्चा खोरीजस्ता आँखा बरोबर त्यसैमा पुगेर अड्किरहन्छन्, किन हो । त्यहाँ त्यो जर्जर पाषाण त्यसै पसारिइरहेको थियो । त्यहाँ न कुनै कुशल शिल्पीद्वारा कमलपुष्प कुँदिएको थियो न कुनै चित्रकारको मन-कल्पनाले सारा संसारको चित्र चित्रित गर्न सकेको थियो । लाख प्रयत्नपूर्वक हेर्दा पनि त्यहाँ जीवनका रेखाहरू देखिँदैनथे, देखिन्थ्यो मात्र बागमतीका कलुषित जलबिन्दुका छिटाछाटीहरू । पवित्र बागमतीका दुर्गन्धित, धमिला, मैला छिटाहरू कुनैबेला उसका मुहारैभरि आएर उछिट्टन्िथे, ऊ भने चुपचाप थिई । तैपनि उसका मुहारभरि उहिल्यै कहिले इष्ट वस्तु वियोगबाट सहेको असहृय अन्तर्दाहका डामहरू गाढा देखिन्थे ।

साउन महिना, राताराता वस्त्र पहिरेर पशुपतिनाथको दर्शन गर्न आउने नारीहरूको घुइँचो छिचोलिनसक्नु छ । ईश्वरभक्तिको उत्कट चाहनाले कैले, कुन र कस्तो सुखद प्राप्तिमा शोभा पाउला Û हिजोसम्म झरीले आँखा उघारेको थिएन, आज भुसुनेपानी मात्र बिर्बिराइरहेको छ । वातावरणमा मनसुनी चिस्याइलो बोकेको सिरसिरे बतासले मादकता विकसित गरेको छ । साउन महिना सम्पूर्ण धर्ती पन्नैपन्नाको तन्ना ओछ्याएर राधाकृष्णलाई झुलामा झुल्दै प्रेममा विलय भएको देख्न आतुर रहन्छ । सांसारिक जीवन पनि प्रकृत प्रेरणाले वा ईश्वरीय प्रेरणाले मायाप्रेम, स्नेह, फैलाउन र हुर्काउने इच्छा राख्दछ ।

त्यहाँ उभिएकी रूपको भागै नपुगेकी त्यो कुरूपाका मुहारमा भावरेखाहरूका उतारचढाव स्पष्टै देखिन्छ । कुनै भारी वेदनाले उसका अन्तष्करण व्याकुल पारिएझैँ देखिन्छ । भस्मेश्वरघाटको छेवैमा उभिएकी त्यो काली नायिका आफ्ना विगतका धन-ऋणमा तल्लिन हुन्छे, केहीबेर । उसका ऊ आफूभन्दा कालाकाला आँखाहरू बागमती वरिपरि गर्दै चलमलाएका देखिन्छन्, नत्र उसका खोपिल्टे आँखाहरू कृष्णपक्षको चन्द्रझैँ क्षिण हुँदै गएझैँ देखिन्थे र ऊ आँखाका ढकनी उचाल्न बल गरेझैँ गरेर हेर्दथी । बखतबखतमा स्याईंस्याईं गर्दै ख्वाङख्वाङ खोक्दै लामोलामो सास फेर्दै सुस्केरा हाल्थी ‘खुइय खुइय’ । ढङ्ग नभएका मान्छेले पकाउँदा ताओमै डामि्रएको गहुँको रोटी जस्तो शरीरमा श्वासप्रश्वासको आरोहअवरोहहरू स्पष्टै देखिन्थ्यो । उसको धैर्य शिथिल भएझैँ निश्वास छोड्थी ।

बसेको खबटे कञ्चट, गालाका खोबिल्टा अत्यन्त घीनलाग्दा सोमबारे महिलाले उसलाई हेरेर दिक्क लाग्दो मुख लगाए

छि : यस्ता स्त्रीसँग यिनका पुरुषहरू कुन मोहनीमा मोहित हुँदा हुन्, अथवा यिनका पुरुष छैनन् वा भए पनि के गर्दा

हुन् आफ्नो शरीरलाई ती सोमबारे महिलाले निहुरेर छड्के, कर्के, अगाडि-पछाडि हेरेर पूर्णतृप्तिको भाव मुहारभरि चढाएर हिँडिन । सायद काली नायिकाको मिलेको कुरूपतामाथि व्यङ्ग्य गर्दै

हुन पनि त्यहाँ कल्पना गर्न सकिने ठाउँ नै थिएन । उसका खोबिल्टे गालामा पुक्कपुक्क मासु थिए । उसको डामि्रएको शरीरभरि कतै पोटिलो गोल मिलेका कमला मसल हाडलाई छोप्दै सुन्दर आकारमा विकास भएका पनि थिए । कसले सोचाइ विस्तार गरेर भन्न सक्छ र ऊ पनि कुनै बखत हिरोइन पो थिई कि झलझली परेको कालो हीरा अहिले पो उसको शरीरबाट चटक्क छाडेर अन्तै बास बस्न गएझैँ छ, यौवन ।

उसको नजिकै आएर एउटी लुत्याई बाँदर्नी अताल्ली अताल्ली आफ्ना शरीर कन्याउँदै थिई । छालाछाला मात्र बाँकी रहेझैँ त्यस बाँदर्नीको शरीर रगतपच्छे भएको छ- ऊ आत्तिँदै एता र उता गर्दै खर्‍याङ्खर्‍याङ् कन्याउँदै गर्छे । नायिकाले मुन्टो फर्काइ, दीन नजर पुर्‍याउँदै केहीबेर बाँदर्नीलाई हेरिरही । उसले आँखा चिम्म गरी र बाँदर्नीलाई भुसुक्क बिर्सी । सायद यसबखत ऊ उसका घरका मीठा स्मृतिमा हराउन चाहेकी होस्, जहाँ काठका घुमाउरे भर्‍याङ ढङढङ गरेर घरै थर्काएर तलमाथि, चोटाकोठा, दलान, मटान, चहार्दै बाल उदण्डताका दिन सल्बलाएका हुन् । अथवा उही जानोस्, बम्बैका दुर्दिनहरू भक्कानिएका हुन् । न कोक्किएका हुन् बैँसको वैशाख, काफल, चुत्रो र जमुनिमान्द्रोका अमिला, पहेँलापहेँला फूलहरू, हुनसक्छ पीपलका पात नाचेझैँ आलीआली र वनवनको नाच र प्रशंसक नजरका छड्के इसारा !

काली नायिकाका आमाबाबुको ऊ सानै हुँदा मृत्यु भयो । त्यसपछि ऊ दाजुभाउजूको कडा बुहार्तनमा हुर्किन थाली । जे गरे पनि जहिले पनि उसको मात्र अर्घेलो देखिन्थ्यो । क्रमशः घरको टोकसो बढ्दै जान थाल्यो । उमेर चढ्दै जाँदा टोकसोका विषयवस्तु फरक हुनथाले । टुहुरीका दिनदशा बिगि्रँदै गए ।

भाउजू चोथाले असाध्यै करकर गर्थी-कैले स्कुल ढिला गएको, कैले स्कुलबाट ढिलो आएको, भातमा अरुची बढेको, नौरङ्गी लुगा गहना जडेर बिदाका दिन आफ्ना प्रशंसकहरूलाई नजर गराउन हिँडेको- यस्ता कुराहरूका विषयवस्तुहरू भाउजूद्वारा दाजुमा प्रसारण भई नै रहेथ्यो । त्यस्ता प्रस्तुति दाजु कुनै प्रकाण्ड विद्वान्ले दिएको अर्तिउपदेशझँै ध्यानमग्न सुनिरहन्थ्यो र आज्ञाकारी शिष्यझैँ अक्षर नबिराई पाठ घोकेर कण्ठाग्र पार्दै उसका उपर बर्सिन्थे लबटैलबटा ।

अब घरको टोकसो खप्दाखप्दा मनले बहिर्गमनको सुखमय बाटो खोज्न थाल्यो । साँच्चै बाहिरको संसार कताकता उज्यालो र रमाइलो लाग्दैलाग्दै जान थाल्यो स्वतन्त्र सास फेर्न पाइने शान्तविश्राम ।

उमेर जतिजति बढ्दै गयो प्रशंसकहरू बेहिसाबसित हृवात्तै बढ्दै जानथाले । घर सारा निकाशा रोक्ने, विकासका सम्भावनाहरू बन्द गर्ने बोझिलो बाध्यता बन्दै जाँदा ऊ निगमनका बाटाहरू पहिल्याउन खोज्दै थिई ।

उसका विभिन्न क्रियाकलाप बढ्दै गए । जीवन भनेको सुमधुर सपनाहरूको तानावाना मात्र हैन यहाँ आँसुका दहमा आहाल बस्न सक्नुपर्छ भन्ने कुरा बु्झ्न सकेकी थिइन- ‘आपत्तिजनक क्रियाकलापमा लागेको’ दोष पारेर विद्यालयले निष्काशन गर्‍यो ।

विद्यालयले अभिभावक बोलायो, अरू मान्छे भेला गर्‍यो, पचासौँ जनाको अगाडि ठिङ्ग उभ्याएर उसमाथि विभिन्न लाञ्छना लगायो । थोरै भीडमा पनि केही सर्सराहट उठ्यो र परर्र पड्क्यो ताली । समाजलाई उज्यालोतर्फ लानेहरूले पनि मुख चपचपी मिठ्याए-गर्विलो पुरुषार्थको आभा झल्किन्थ्यो मुहारमा । तालीको मोहनी नै छुट्टै छ, ताली पाए गाली पनि तालीका गडगडाहटमा बिलाउँदो हो । त्यत्रा भद्रजनले न जीवन देख्यो न भविष्य सम्झ्यो, न आफ्ना पनि सन्तान छन् भन्ने विचार गर्‍यो । एउटा हराभरा हुनसक्ने जीवनको सम्भावित राजीनामामा हस्तखत गराइयो ।

‘स्याबास Û’ भन्यो जगतैले, विजयको मुजुरकल्की ढल्कियो समाजका शिरमा । ताली बजाउनेबाहेक अरू संसारै दुष्ट र नालयकीमा दरिने विश्वासले कसैले ताली नबजाउने आँट गरेन । डुङडुङी गन्हाइरहेका चरित्रका दुर्गन्धलाई ढाकछोप गर्न भारी पुरुषार्थ प्रयोग भयो । खाली त्यो टुहुरी एउटी विकम्मा, अरू सारा देउता भए ।

परिवारले धारेहात पुर्पुरोमा धार्‍यो, दुनियाँले गरेको तेजोवधका कारण उसभित्रका ज्ञानशक्ति यस्तो दुर्वल भएर गयो उसले केही गर्ने आँटै गर्न सकिन । उसका पानीदार टलक्क टल्केका आँखाले तरक्क आँसु काढे, उसको अन्तरआत्मादेखि उर्लियो एउटा भद्दा सराप । त्यस्तै डरलाग्दो भद्दा सराप गरेर ऊ त्यहाँबाट बिदा भई ।

काली नायिकाका जीवनजराले गडिन पाएन । रूख बनेर हाँगाबिँगा फैलाउन पाएनन्, मुजुरामा मञ्जरी लाग्न पाएनन्, खुला हावामा निर्धक्क झुल्न पाएनन् । ऊ त अब जिल्लाराम परी । घरले त्याग गर्‍यो । पीपलपाते फिफिर्रे मुटुहरू फिफिर्राउन थामिए । ऊ झस्की ‘खै त्यत्राविधि मान्छेहरू ?’ जो सदा उसका पाउको धूलो हुन तत्परता देखाउँथे, अब दुनियाँले चोरऔँला ठड्यायो ऊतिर ।

छड्के सिउँदो, कर्के नजर, लर्के जोवन विकम्मा भो यतिखेर । बरु चोर बाटाहरू पो खुल्न थाले । धमाधम । नुहेका हरेक वस्तुले उसकै पाउँ परेझैँ लाग्ने सारा भ्रम टुटे । जन्म सुधार्ने अर्ति-उपदेश जपाएर बुजु्रक बनाउन पनि नखोजेका हैनन्, दुनियाँले जप्न लगाएको जपमाला उसले ग्रहण गरिन ।

अहिले पो उसले लामो सास फेर्न पायो । सजाय तोक्नेहरूले समाजसुधारको ठूलो काम गरेर पगरी भिर्न पायो ।

एउटी अल्लारे टुहुरीलाई मान्छेको दर्जाबाट खुर्मुर्‍याउन सकेको विजयोत्सव खुसी भएर मनायो होला समाजले । आजै पनि सम्झेर ल्याउँदा उसलाई ऊ आफैँ कुनै नाटकको पात्र भएझैँ लाग्छ, जसको हिँड्दाहिँड्दै हिँडेको बाटै बिलाएर जान्छ । विद्यालयबाट निकालिँदा उसको तोकेर ठम्याउन वा औँल्याउन सकिने कुनै गल्ती थिएन । बुद्धि पुगेन, एक-दुई दिन प्रशंसकहरूका साथ लागेर घुम्न गएकी त हो नि

यस्तै साउनमास थियो, रुझ्दै विद्यालय पुगेकी थिई, पुग्नेबित्तिकै कारबाहीमा परेर ऊ फिर्ता भई । झमझम वषर्ा ओढो नहुँदा निथु्रक्क भिजेका लुगा, मनसुनी चिस्याइलो बोकेको बतास के-के न गरौँला भन्ने आँट, पीपलपाते मुटुमा विश्वास, बैँसका तोपले जगमगाएका भुइँमै नटेकिने पैतालामुनिको संसार भास्सिएर पात्ताल पुग्यो । चारैतिर जगमगाएको दरिलो विश्वास त कुहिरोको काग जस्तो पो रहेछ । त्यस्ता विश्वासको बदला उसलाई उपहार पशुभन्दा पनि तल्लो जीवन

परदेशको साँघुरो कोठामा सोह्रसिङ्गार रचेर हरेक दिन भुसतिघ्रे धुर्मुस स्याहारेरै बितेछन् जीवनका दुईबीस वर्ष ।

ऊसामु सधैँ एउटा ठाडो प्रश्नले प्रश्न गर्छ- किन घर, विद्यालय, आफन्तले त्याग गरेर विरानु दुनियाँसामु पस्केर छोडिदियो ?

काली नायिका सुस्केरा हालेर फतफताउँछे -‘उफ मलाई जीवन त्यहीँदेखि दोहोर्‍याउन मन छ ईश्वर जहाँ म गिलो माटोको अविकसित भाँडोजस्तै थिएँ । मेरो निर्धारित आकार निर्धारण नहुँदै कडा धुपमा सुकाएर कडा पारिदिए । मलाई जीवन दोहोर्‍याउन देऊ ।’

उसले भस्मेश्वरदेखि आर्यघाटसम्मका चिता हेरी, कुनै चिता खाली छैनन् । चिताबाट उठेका धुवाँको मुस्लो पशुपतिनाथको गजुरलाई फनक्क घुमेर मास्तिर मास्तिर अकासियो । उसका पानी सुकेका सुख्खा आँखाहरू मैलो बागमतीमा गएर गाडिए । उसले निहुरेर आफ्नो शरीर हेरेर फतफताई- ‘माता तिम्रो र मेरो व्यथा उस्तै छ, मेरो रङ्गमञ्चमा पनि यस्तैयस्तै फोहोर पीडाका, वेदनाका र सहनशीलताका दृश्यले भरिभराउ छ, तिम्रो अनि मेरो जीवनलाई रछ्यानै रछ्यान पारेर छाड्ने हामी हौँ त ?’

उसले ठूलै आवाजले कराई-

‘माता हाम्रा जीवनका सिर्जनाका बाटाभरि विष काँढाको काँढेदार थाँग्रो गाडेर यो निर्दयी दुनियाँले विषाक्त बनाइदियो, सो विष अहिले कयौँका जिन्दगीमा घोलेर जिन्दगी नै विषाक्त भइसक्यो र अझ कति कति जिन्दगीका रगतरगतमा विष घोलिन बाँकी छ । उसले दुवै हातले टाउको समातेर पछाडि ढल्काई ।

उसका आँखाहरू आकाशतिर फर्किए, जहाँ नीलो आकाश छेकेर घुर्मैलो बादल डम्म विराजमान थियो । उसका सुख्खा आँखाभरि अनन्त करुणाका लहरहरू छालझैँ उठ्थे, छचल्किन्थे र उछालिँदै थचारिँदै गर्थे ।

बागमतीका मैला, काला, दुर्गन्धित फोहोरी छिटाहरू ऊ उभिएको ठाउँसम्म छट्याकछुटुक् पर्दै सुक्दै, पर्दै सुक्दै गथ्र्यो ।